कथा : आमा

कथा : आमा

-रेशा सापकोटा

चकमन्न रातमा लक्ष्यहीन पाइलाहरु चालिरहेको हुन्छ । जीवनको अर्थहरु पनि कति रहस्यमय हुँदा रहेछन् । आकाशतर्फ हेरेर मेरा आँखा टोलाउँछन् । रातको गाहिराइलाई छाम्ने कोसिस गरिरहेको हुन्छु । कसैलाई प्रश्न साध्ने मन लाग्छ । वरिपरि हेर्छु, त्यहाँ कसैलाई देख्दिन केवल म हुन्छु र हुन्छ शून्य रात ।

सानी थिएँ जब गहभरि आँशु बोकेर यो विचित्र संसारमा देवतासरी मेरी आमाले मलाई ल्याइन् । सानो हुँदा एक पाइला हिँडेर जब म लड्थेँ र चोट लाग्थ्यो तब मभन्दा बढी मेरी आमा रुन्थिन रे । जब पहिलो पटक आफ्ना मुख खोलेर ‘मामा’ भनेकी थिएँ, तब आँखाका डिल भत्किएर ससाना मोतीका दाना भरिएर मेरी आमा खुशीले पागलझैँ उफ्रेकी थिइन रे । विद्यालयको पहिलो दिन मभन्दा मेरी आमा डराएकी थिइन् रे । मेरो दुःख उनको दुःख थियो । मेरो खुशी उनको खुशी । मेरो हार उनको हार र मेरो जित उनको जित थियो ।

बिस्तारै बिस्तारै ठूली हुँदै गएँ । हरेक केटी झैँ म पनि रजस्वलाको पीडाबाट गुज्रिएँ । मलाई संसारका नयाँ रङ्गहरु देखिन थालो । यो पापी संसारका छायाँले मलाई छोप्न थाले तब पनि मेरी रक्षक बनेर मेरो पछिपछि पछ्याउँदै गइन् मेरी आमा । म लड्दा मलाई उठाउने प्रेरणाकार थिइन् मेरी आमा । म रुँदा मेरो रुमाल, म हाँस्दा मेरो ऐना र म अब्बल हुँदा मेरो बिजक थिइन् मेरी आमा । म हारेर बस्दा मलाई उठाउने महान गुरु थिइन् मेरी आमा । म अँध्यारोमा हिँड्दा मेरो लाल्टिन थिइन् उनी । जब कलेजबाट थाकेर घर पुग्थेँ, तब सास पनि नफेरी मेरो कपडा र खाजा तयार पर्थिन् मेरी आमा ।

म बड्दै गएँ र म र मेरी आमा बीचको दूरी पनि बड्दै गयो । म अब १७ वर्षकी युवतीतर्फ लाग्न मात्र एक दिन बाँकी थियो । मेरो जन्म दिन भोलि थियो । मलाई खुशी पार्न मेरो जन्मदिनका लागि पाहुना बोलाएर भोज गर्ने निर्णय गरेकी हुनुहुँदो रहेछ मेरी आमा । मेरो जन्मदिनको दिन जब म बिहान उठेँ तब मैले आफूमा परिवर्तन देखे । मैले आफू र बुझ्ने भएको आभाष गरे । उठेर मैले मुख धोएँ र नयाँ कपडा लगाएर कोेठाबाट बाहिर निस्किएँ । कोठाबाट निस्किनसाथ मेरी आमा मभन्दा बढी खुशी भएर गहभरी आँसु बोक्दै आइन् । मेरासामु आएर उनले मलाई अँगालो हालिन् र भनिन् ‘ह्याप्पी बड्डे’ । मैले साधरण रुपमा ‘धन्यवाद’ भने । मेरो जन्मदिन भएकाले मेरी आमाले मलाई टीका लगाएर ‘सधैँ सुखी रहनू’ भनेर आशीर्वाद दिइन् । करिब १० बजेतिर भुजा खाएर म राम्रो कपडा लगाएर घरबाट निस्किन तयार भए ।

छोरी ः ढोकाको छेउमा पुगेर मैले ठूलो स्वरमा भने ‘आमा, म गए है ।’
आमा ः दौडिँदै आउनुभयो र सोध्नुभयो ‘कता जान आँटेकी’ ।
छोरी ः मैले फर्काए, “आज मेरो जन्मदिन त्यसैले साथिहरुसँग घुम्न जान लागेकी ।”
आमा ः आमाले भन्नुभयो “ए ! तर चाँडै घर आइज है, तेरा लागि उपहार छ ।” र मुसुक्क हाँस्नुभयो ।
छोरी ः “म त आज साथीकै घर बस्छु ।”
आमा ः यो सुनेर आमा अकमक्क हुनुभयो र भन्नुभयो ।” त्यस्तो नभन न । मैले तेरो जन्मदिनका लागि घरमा भोज राखेकी छु ।
छोरी ः यो सुनेर म रिसाएर भने, “ह्या ! मलाई सोध्नुपर्थेन । म त आज घर आउँदिन ।”
यति भनेर घरको ढोका बेस्कन ढप्काएर म गएँ ।

बुबा भन्दै हुनुहुन्थ्यो, म गए पनि आमा ढोका बन्द गरेर दुई घण्टा रुनु भयो रे । म जब भोलिपल्ट घर फर्किएँ तब पनि मलाई नराम्रो नलागोस् भनेर “रमाइलो भयो त ?” भनेर हाँसोको पर्दामुनि पीडा लुकाएर आइन् मेरी आमा । यसरी नै म २० वर्ष हुँदासम्म मैले मेरी आमाको मुटुको छियाछिया पारिरहेँ ।
म २० वर्ष लागेर ५ महिना बितेको थियो । त्यो दिन आमा खुवाउने औँशी थियो । मेरी आमा त्यो दिन बिरामी परेर बिस्तारामा पल्टेकी थिइन । म बिहान उठेर मुख–सुख धोएँ, अनि आमाको कोठामा गएँ । मैले मेरी सिकिस्त आमालाई ‘ह्याप्पी मदर्स डे ।’ भनेर एउटा महँगो घडी उपहार दिएँ । मेरी आमा खुशी थिइन् । बुबा भने त्यो दिन कामका कारण सहर बाहिर हुनुहुन्थ्यो । त्यो दिन आमाको अवस्था मलीन थियो र त्यसै दिन म र मेरा साथीहरु बाहिर घुम्न जाने निर्णय थियो । बुबा घरमा नभएको बेलामा पनि आफ्नी सिकिस्त जननीलाई त्यस अवस्थामा छाडेर घुम्न जाने निर्णय लिइयो, मेरो जवानीको नसामा खोएको यो होसले मैले आफ्नी जननी र साथीमा, साथीलाई चुने ।
म बाहिर घुम्न गएको बेला घरबाट फोन आयो । म जिउँ छोडेर घर पुगेँ । आकाश भुइँमा खसेको, सागर सुकेको र पहाड ढलेको आभास भयो । जब मैले आफ्नी आमालाई विस्तारामा सास नभएको देखेँ । ममा अब ढोकालेखि बिस्तारासम्म जाने आँट पनि आएन । म भुइँमै पच्छारिएँ । ‘आमा’ भन्ने शब्द मुखबाट जब निस्कन्थ्यो मुटु छियाछिया भयो । मैले मेरो पूजनीय आमा गुमाए ।
आमा पल्टेको बिस्तारामुनि मैले एउटा कागज पाए जसमा “सुखी रहनु, मेरो आशीर्वाद सधैँ तँसँग हुन्छ ।” लेखेर छोडेकी थिइन् मेरी आमाले । आमा भनेको त आमा नै हो ।
आमा बितेको तिन दिनपछि बल्ल थाहा भयो । आमालाई त क्यान्सर रहेछ । आमालाई पनि थाहा रहेछ, यो कुरा तर उनले कहिलै हामीलाई यो कुरा भनिनन् । उनी ब्रेस्ट क्यान्सरको लास्ट स्टेजमा रहेछिन् । सायद उनी हामीलाई दुःखी देख्न चाहन्न थिइन् । मैले सधैँ उनलाई नकारात्मक रुपले हेरे । सधैँ उनलाई नराम्रो सोचे । यो नयाँ युग, नयाँ रहनसहनले मलाई अन्धो पो बनाइ दिएछ ।
मैले पनि बल्ल चेत पाए, कि मैले दिएको त्यो महँगो घडीभन्दा मेरो आमाका लागि बढी महत्वपूर्ण रहेछ । आमा खुवाउने औँशी जस्तो शुभ समयमा आफ्नी आमा गुमाउने अभाग्यमानी मैले जीवनमा आमाको महत्व बुझेँ । मैले भौतिक उपहारभन्दा, मायाको उपहारको महत्व बढी हुने कुरा बुझेँ ।
आज उनको वार्षिक पुण्य तिथि हो । मैले जे गरे, मैले त्यसको सजाए जीवनभरि पाउने छु । हरेक दिन चकमन्न रातमा पहिलाझैँ मेरी आमा मेरो हात समाउन आउछिन् कि भन्ने पर्खाइमा हुन्छु तर पीडा र एक्लोपनले मात्र मेरो अँगालो हाल्न खोज्छ । दिन्छु मेरी आमाको त्यो अनुहार सम्झेर रुन्छु म । जे मसँग भयो, त्यो कसैसँग नहोस् ।

-बानेश्वर

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल