रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

एमालेका लोकप्रिय नेता तथा सांसद रवीन्द्र अधिकारी २०२६ वैशाखमा कास्कीको भरतपोखरीमा जन्मिए । माध्यमिक तहसम्म स्थानीय विद्यालयमै पढेर क्याम्पस पढ्न पोखरा ओर्लिए ।
पृथ्वीनारायण क्याम्पस (पीएन) बाट व्यवस्थापन र त्रिवि कीर्तिपुरबाट समाजशास्त्रमा स्नातकोत्तर अधिकारी विद्यार्थी राजनीतिबाटै उठेका नेता हुन् ।
पीएनमा छँदा स्ववियु सभापति, त्रिविवि कीर्तिपुरको स्ववियु सभापति हुँदै अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बने उनी । एमालेबाट दोस्रोपटक सांसद बनेका उनले पछिल्लो समय विकाससम्बन्धी मुद्दामा पैरवी गर्दै आएका छन् । ‘समृद्ध नेपाल’ पुस्तकका लेखक अधिकारी व्यवस्थापिका संसद्अन्तर्गत विकास समिति सभापति हुन् । अधिकारीसँग रातोपाटीका लागि रमन पौडेलले गरेको अन्तरङ कुराकानीको सम्पादित अंश :

rabindra adhikari (6)
मेरो खाना
दूधभात र केरा मन पर्छ मलाई । मासुका परिकार पनि मीठो लाग्छ । नियमित खाने त दालभात तरकारी नै हो ।
बिहान १० बजेभित्र खाना खाइसक्छु । बिहानको खाना परिवारसँग खान पाइँदैन । बाबुहरूको स्कुल र म्याडम (श्रीमती) को अफिसले गर्दा पनि बिहान सँगै खान पाइँदैन ।
बेलुकाचाहिँ सबैसँगै बसेर खाने अवसर मिल्छ । खाजाका रूपमा मःमः मन पर्छ । रेष्टुरेन्ट जाने चलन छैन । वर्षमा मुस्किलले तीन÷चारपटक परिवारसाथ रेष्टुरेन्ट जाने चलन छ । नियमित जाने फुर्सद पनि हुँदैन ।
खाना प्रायः सबै खान्छु तर केही सानैदेखि कर्कलो मन पर्दैनथ्यो । कोक्याउँछ भन्ने लागेर होला । अचेल अलिअलि गर्दै बानी भयो । पकाउने रुचि र समय हुँदैन तर जानेको छु । मासु, खीर, तरकारी धेरै चीज पकाउँथेँ । चियाचाहिँ बनाउँछु । साथीहरू आएको बेला कहिलेकाहीँ मैले नै बनाएर खुवाउँछु ।
मेरो पोसाक
टी–सर्ट र प्यान्ट लगाउँथेँ पहिले । सांसद भएपछि सर्ट–प्यान्ट र कोट लगाउँछु । अलि फर्मल पनि बन्नुपर्दोरहेछ । प्रायः सिलाएका कपडा धेरै छन् । नियमित सिलाउने ठाउँ त छैन धेरैजसो अनुपम र रेमन्डमा सिलाउने गरेको छु ।
कपडामा बजेटिङ गर्ने, मनमौजी छैन म । आवश्यकताअनुसार किन्ने गर्छु । ब्रान्डमा पनि खासै कन्सस छैन । बरु कलरचाहिँ पाएसम्म रोज्छु । ‘डार्क कलर’ मेरो फेभरेट हो । चेक सर्ट पनि मन पर्छ । क्याजुअल टाइपको कपडा ।
योजनाअनुसार कपडा किन्ने बानी छैन । वर्षको एक सेट वा कहिले त दुई÷तीन वर्षमा एक सेट कपडा किन्छु होला । वर्षौंअघि सिलाएका कोट अझै लगाउँदै छु ।

म मोटो छु । फिट छु भनौँ भने मान्छेले पत्याउँदैनन् होला । तर, फिटनेसमा कन्सस छु । पाँच बजेतिर उठेर दौडन्छु ।

rabindra adhikari (1)मेरो फिटनेस
म मोटो छु । फिट छु भनौँ भने मान्छेले पत्याउँदैनन् होला । तर, फिटनेसमा कन्सस छु । पाँच बजेतिर उठेर दौडन्छु । बर्खाको ठूलो पानी र अत्यधिक चिसोबाहेक अन्य अवस्थामा नियमित हुन्छ ।
हिँड्ने होइन । नियमित एक घन्टासम्म दौडन्छु म । हेर्दा यति मोटो छु, तैपनि मज्जाले दौडन्छु ।
कहिलेकाहीँ क्लब पनि जान्छु । साउना, स्टिम, जिकुजी लिन्छु । १० वर्षअघि ‘आर्ट अफ लिभिङ’को योगा गर्थें । नाकको एलर्जी थियो त्यही योगाबाट हट्यो । अचेल पनि कहिलेकाहीँ गर्छु । पहिले एक घन्टा गर्थें भने अचेल ३० मिनेट पनि मुस्किल हुन्छ ।
खानामा मुख बार्ने बानी छैन । अगाडि आइपरेका सबै चीज खान्छु । तर, फिट नै छु अहिलेसम्म ।
मेरो अध्ययन
स्कुलको बेलामै अत्यधिक पुस्तक पढेँ । आमा, अग्निदीक्षा, मोदनाथ प्रश्रित, प्रदीप नेपालका त्यसबेला निस्केका सबैजसो पुस्तक पढेँ । तिनैले हो हामीलाई यहाँसम्म डोर्याएको ।
खगेन्द्र संग्रौलालगायत सबै प्रगतिशील लेखक साहित्यकारका पुस्तक पढियो सानैमा । लु सुनका कथा, चिनियाँ साहित्य, रसियन साहित्य, अन्य दर्शनशास्त्रका पुस्तक धेरै पढेँ । प्रगतिशील साहित्य र सामाजिक उत्तरदायित्वबोधमा लेखिएका पुस्तकमा मेरो रुचि हो । माक्र्स, लेनिनका त्यतिबेला आउने पुस्तक अझै याद छ । रातो गातोमा आउने किताब । एंगेल्स, स्टालिन, माओ सबैजसो पढियो ।
मेरो बुवा शिक्षक हुनुहुन्थ्यो । ठूलो बा पनि शिक्षक, टेकनाथ रिजाललगायत मेरा पारिवारिक दाइबाटै पढ्ने प्रेरणा मिल्यो ।

पीताम्बर शर्मा, चैतन्य मिश्र मनपर्ने लेखक हुन् । उहाँहरूका सबैजसो लेख छुटाउँदिनँ । उहाँहरूलाई सुन्न पनि आनन्द आउँछ । पढ्नेमात्रै नभएर केही समय बिताउनुपर्यो भने पनि उहाँहरूसँग बसेर गफ गर्दा मात्रै धेरै सिकिन्छ ।

उहाँहरूले पुस्तक किनेर ल्याउनुहुन्थ्यो । म आफैँ पनि बजार गएको बेला किताब किन्थेँ । दर्शन, राजनीतिबारे धेरै पढियो पहिले । पछिको केही समय अटोबायोग्राफी पढियो । अहिले पनि राम्रा अटोबायोग्राफी पढ्छु । बीपीको आत्मवृत्तान्तलगायत । बिहे, बर्थ डेलगायत विशेष समारोहमा जाँदा पनि पुस्तक उपहार दिने गर्थें । पछिल्लो समय विकाससम्बन्धी अध्ययनमा चासो छ । भिजन २०÷२०, बिल क्लिन्टनको ब्याक टु वर्क पढिसकेँ । अन्य केही विकाससँग सम्बन्धित पुस्तक पढिरहेको छु अहिले । आर्टिकल पनि इतिहास, विकाससम्बन्धी धेरै चासो हुन्छ ।
घरमा संकलनमा दुई हजारजति राम्रा पुस्तक छन् । कति त पोखरामै छन् । मेरो जीवनमै प्रभाव पारेको पुस्तक अग्निदीक्षा हो । यसका कैयौँ हरफ पनि कण्ठस्थ आउँछ अझै ।
पीताम्बर शर्मा, चैतन्य मिश्र मनपर्ने लेखक हुन् । उहाँहरूका सबैजसो लेख छुटाउँदिनँ । उहाँहरूलाई सुन्न पनि आनन्द आउँछ । पढ्नेमात्रै नभएर केही समय बिताउनुपर्यो भने पनि उहाँहरूसँग बसेर गफ गर्दा मात्रै धेरै सिकिन्छ ।
मैले पनि पुस्तक लेखेँ राजनीतिक किसिमको थियो त्यो ‘संविधानसभा र राज्यको पुनःसंरचना’ । पछिल्लो पुस्तक ‘समृद्ध नेपाल’ । आर्टिकल लेखेपछि केही सरले किताबका रूपमा निकाल्नुपर्यो भनी सुझाव दिनुभयो । त्यसपछि किताब प्रकाशित गरेँ ।
लेखनमा पनि विकासको मुद्दालाई प्रमुखता दिँदै आएको छु । म प्रायः १० बजेपछि मोबाइल अफ गरेर लेख्न बस्छु । अहिलेसम्म मैले लेखेका लेख वा किताब नै राति १० बजेदेखि चार बजेबीचमा लेखेका हुन् । सानैदेखि पढ्ने, लेख्ने रातिको समय भयो । स्कुल, कलेज युनिभर्सिटी पूरै राति पढेरै बित्यो । अहिले त्यही बानी भयो ।
rabindra adhikari (2)मेरो घुमफिर
नेपालका ७४ जिल्ला पुगेँ । आफ्नै अञ्चलको जिल्ला मनाङ पुग्न बाँकी छ । जहाँ जान्छु, त्यहाँको सामाजिक महत्वबारे चासो राख्छु ।
२४ देश घुमेको छु । अन्य देश जाँदा पहिले राजनीतिक व्यवस्था कस्तो होला भन्ने चासो हुन्थ्यो । अचेल विकाससम्बन्धी व्यवस्था कस्तो, कसरी विकास भयो भन्ने बुझ्छु । डेभलपमेन्ट एजेन्सी, पार्लियामेन्टको फङ्सन, डेभलपमेन्ट पोलिसी कस्तो रहेछ भन्ने बुझेर आउँछु ।
विकास गरेरमात्रै पनि नहुने पनि त्यहाँको मान्छे ठीक हुनुपर्दोरहेछ । हरेक विकासमा त्यहाँका मान्छेको भूमिका महत्वपूर्ण हुन्छ । प्रविधि हिसाबले टोकियो, कोरियामा द्रुत गतिमा विकास भएको देखेँ । अमेरिका जाँदा त्यहाँको आफ्नै शैलीको विकास छ । तर ‘पब्लिक ट्रान्स्पोर्टेसनको ल्याक’ छ फेरि ।
क्युबा, रसिया, चीनलगायत ठाउँ पनि मन पर्यो । त्यहाँको इतिहास र आफ्नै सौन्दर्य छ । सबै ठाउँको आ–आफ्नै महत्व छ । सुन्दर ठाउँ त सबै ठाउँमा हुन्छन् । जान चाहेर पनि नपाएको ठाउँ स्वीट्जरल्यान्ड हो । सुनिराखेको छु तर जान पाएको छैन ।
मेरो फुर्सद
अति कम फुर्सद हुन्छ । सेड्युलमा हिँड्नुपर्छ । विभिन्न पेसा व्यवसायका मानिस, कार्यकर्ता, विद्यार्थीसँगको भेटघाटले गर्दा पनि फुर्सद हुँदैन । सँगै भएकाले परिवारका लागि विशेष समय दिनुपर्नेजस्तो लाग्दैन ।
मेरो आफ्नै स्वास्थ्यका लागि बिहानको समय छुट्याएको छु, दुई÷तीन घन्टा । दैनिक कामकाजबाट केही समय बच्यो भने लेखपढमै लगाउँछु । रेष्टुरेन्ट जाने, सिनेमा हेर्न भ्याइँदैन । बरु दसैँ, तिहारजस्ता चाडबाडमा अलि फुर्सद निस्किन्छ ।

अर्जेन्टिनाको फुटबल फ्यान म । म्याराडोनाका कारणले फ्यान बनियो । अर्जेन्टिनाको अन्तर्वार्ता आयो । ‘को मन पर्छ ?’ भन्दा ‘चे ग्वेभारा’ भन्यो ।

मेरो खेलकुद
सानो छँदा डन्डिबियो, कपर्दी, भलिबल, फुटबल खेल्थेँ । स्कुल पढ्ने बेला झुम्राको बल बनायो, हत्यौडीको नेट टाँगेर भलिबल खेलियो । खेलाडी बन्ने भनेर त होइन रमाइलोका लागि मात्रै ।
पछि ब्याडमिन्टन पनि राम्रो खेल्थेँ म । कलेज पढ्ने बेला खेल्नेभन्दा पनि खेल खेलाउनेमा परियो । कलेज युनियनमा हुँदा सबैजसो खेल हामी खेलाउँथ्यौँ ।
दर्शकको हिसाबले भलिबल र फुटबल खुबै मन पर्छ । अर्जेन्टिनाको फुटबल फ्यान म । म्याराडोनाका कारणले फ्यान बनियो । अर्जेन्टिनाको अन्तर्वार्ता आयो । ‘को मन पर्छ ?’ भन्दा ‘चे ग्वेभारा’ भन्यो ।
क्याबात् । हामीलाई के चाहियो र । त्यसैले अर्जेन्टिनाको फ्यान भइयो । असल दर्शकका रूपमा हेर्ने हो भने खेल त ब्राजिलको खेल पनि राम्रो भन्नुपर्छ ।
मेरो मोबाइल
आइफोन सिक्स र सामसुङ मोबाइल छ साथमा ।
२५ हजारको सामसुङ र ९० हजारको आइफोन । सामसुङ र आइफोन फोर एस उपहार पाएको थिएँ । आइफोन फोर एस एक्सचेन्ज गरेर सिक्स किनेको । हरेक दसैँको बेला तीन÷चार मोबाइल गिफ्ट आउँछन् । कलेजका साथी र शुभचिन्तक अधिकांश विदेशमा छन् ।
म पीएनमा सभापति, टीयुको सभापति, अखिलको केन्द्रीय अध्यक्ष बनेँ । त्यतिबेलाका अधिकांश साथी बाहिर छन् । उनीहरूले बिदामा आएको बेला ल्याइदिन्छन् ।
म विदेश जाँदा भन्दै नभनीकन एयरपोर्टमा आउँछन्, नभनीकन गिफ्ट दिन्छन् । राम्रा–राम्रा मोबाइल हरेक वर्ष गिफ्ट आउँछन् । नपठाउनुस् भन्दा नि पठाइदिन्छन् । पहिलोपटकचाहिँ ०५९ मा सात हजारमा आफैँ किनेको ।
मोबाइलमा धेरै एप्स चलाउँछु । केही न्युज एप्ससहित फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल पनि चलाउँछु । तर, गेम खेल्ने बानी छैन । बरु कहिलेकाहीँ आर्टिकल समेत मोबाइलमै लेख्छु ।
rabindra adhikari (3)मेरो टीभी
२२ हजार पर्ने एलजीको टीभी छ घरमा । म एकदम कम हेर्छु । टीभीभन्दा किताब राम्रो छ भने त्यसले तान्छ मलाई । यद्यपि, केही समाचार र समाचारमूलक कार्यक्रमचाहिँ हेर्छु । प्रायः बेलुकाको समाचार नछुटाउँजस्तो लाग्छ ।

नेपाली कलाकार राजेश हमाल, भुवन केसी, दयाहाङ राई, करिश्मालगायत कलाकार मन पर्छ ।

मेरो चलचित्र
फिल्म खासै हेर्दिनँ म । कलेज पढ्ने बेलादेखि नै फिल्म हेर्ने बानी भएन । त्यतिबेला फिल्म हेर्ने काम राम्रो मानिदैनथ्यो । खासगरी हाम्रो संगठनमा फिल्म हरेपछि चरित्रको कुरा उठ्थ्यो । हेरेको बेला हलमै गएर हेर्छु । पछिल्लोपटक मैले हेरेको सिनेमा ‘पीके’ हो, राम्रो लाग्यो ।
केहीअघि सिडीमा ल्याएर पनि हेरिन्थ्यो । बागवान, भानुभक्तले पनि प्रभावित पारे मलाई । त्यो हेर्न बुझ्न हिन्दी जान्नु पर्दैनथ्यो । नेपाली कलाकार राजेश हमाल, भुवन केसी, दयाहाङ राई, करिश्मालगायत कलाकार मन पर्छ ।

मेरो स्वास्थ्य
कहिलेकाहीँ दाँत दुख्छ । दाँतेकीरोका कारण । ब्लड प्रेसर, सुगर, युरिक एसिड केही समस्या छैन अहिलेसम्म । सबै ठीक छ । पछिल्लो एक वर्षमा दुईपटक बडी चेक गरेँ ।
तन्दुरुस्त हुनुका कारण सबैभन्दा बढी रमाउनु हो भन्ने लाग्छ । एक्सरसाइजले तन्दुरुस्त हुने कुरामा पनि सधैँ विश्वास गर्दिनँ म । कति साथी इक्सरसाइज त गर्छन् तर पनि चिन्तित हुन्छन् अनेक रोग लागिरहेको हुन्छ । मानसिक रूपमा खुसी भइयो भने स्वस्थ बनिन्छ । अरूबाट खुसी खोज्ने होइन कि, आफैँ खुसी सिर्जना गर्ने र अरूलाई बाँड्ने हो ।
मेरो भाषण
मेरो भाषण राम्रो छैन । प्रवचन वा प्रशिक्षण किसिमको भाषण गर्छु म । फररर्र भाषण दिन होइन, तालिम दिने काममा राम्रो छु म । म हुनुपर्ने नै प्रोफेसर हो । खोजी गर्ने, पढाउने काममा राम्रो छु जस्तो लाग्छ ।
भाषणको तयारी गर्दिनँ । तयारी गरेर लगेँ भने हेर्न भ्याइँदैन पनि । मञ्चमा गएर क्रिएसन गर्ने कुरा नै मेरो तयारी हो । कति लामो भाषण गर्ने थाहै हुँदैन । बढी बुझाउन खोज्छु भाषणमा । मेरो नराम्रो बानी नै यही हो । मैले भाषण गर्दा सुन्ने मानिस हाइ काड्ने र आँखा झकाउन थाले भने सकेसम्म छोट्याएर धन्यवाद भनेर बिदा हुने गर्छु ।
थेगो पनि आउँछ कहिलेकाहीँ । ‘चाहिँ’ भन्छु होला । तर्क र तथ्यविना चाहिँ बोल्दिनँ । धेरैअघिका भाषण पनि ल्याएर तथ्यहीन र तर्कविना बोलिस् भनेर कसैले ल्यायो भने पनि म स्पष्टीकरण दिन तयार छु ।
सकेसम्म झुट बोल्ने बानी छैन, भलै भाषणको शैली नराम्रो नै होस् । तर, विवादमा परेका त होलान् । कुतर्क ल्याएर भाषण गर्न सक्दिनँ । त्यसैले नि ‘पावर प्लेयर’ होइन म ।
०४७ मा विद्यार्थी नेता थिएँ । तनहुँ बोलाइयो भाषण गर्न । तीन हजार मान्छेको अगाडि बोल्नुपर्ने भयो । त्यहाँका मानिसलाई भाषण भनेको के हो थाहै रहेनछ । म त विद्यार्थी नेता भएकाले प्रशस्त सूचना थिए । तथ्य र तर्क पनि थियो । एक घन्टा भाषण गरेँ । अझै गर्नुपर्छ भन्न थाले । फेरि तन्काएँ एक घन्टा । त्यतिले पनि पुगेन फेरि बोल्नुपर्छ भन्न थाले । मेला भर्न गएजस्तो पो भयो । मैले सम्झिएअनुसार तीन साढे तीन घन्टा भाषण गरेछु । तनहुँको फिरफिरेको कार्यक्रम थियो त्यो ।
मेरो मदिरा
ड्रङ्कर्ड होइन म । सोसल ड्रिंकर हो । पिउनुपर्यो भने बियर रोज्छु । एक बोटल बियर भयो भने पुग्छ । काल्सबर्ग मेरो राजाइको बियर हो । साथीभाइबीचमा खाउँ न भन्दा ह्वीस्की पनि लिन्छु कहिलेकाहीँ । तर, जहिलेसुकै पिए पनि राति १० बजेपछि लेखपढ गर्न भुल्दिनँ । ड्रिङ्क्सले मेरो दैनिक तालिका तलमाथि पर्दैन ।
rabindra adhikari (5)मेरो संगीत
म पहिलेदेखि नै नाच्ने–गाउने मान्छे । घाँसपातमा पनि गाउने नाच्ने गर्थें । कविता, गीत, नाटक लेख्थें । जनवादी गीत त सबै कण्ठ गाइन्थ्यो ।
अतिरिक्त कार्यक्रममा सधैँ पहिलो हुन्थेँ । बाहुनको छोरोले गायो भने त जातै फेरेजस्तो पो हुन्थ्यो । म मादल बजाउँथेँ, बाहुनको छोरोले मादल बजायो भन्थे । गितार बजाउँथेँ बाहुनको छोरो यस्तो गर्ने भन्थे ।
देशभक्ति पूर्णगीत, मायाप्रेम वा सरल तरिकाले जनजीवनलाई बताएका गीतले छुन्छ मलाई । मञ्जुल, रामेश, रायन, शम्भु राईदेखि नारायण गोपालका गीत मन पथ्र्यो । खासगरी मलाई त दोहोरी मन पर्छ ।

अचेल पनि म गीत–संगीतमा रमाउँछु । लौ, दोहोरीमा गायो भनेर पो भनियो त । नेताहरूले नाच्ने गाउने गर्नुहुँदैन भन्ने टिप्पणी भयो ।

डिस्कोमा गयो भने चाहिँ माथिल्लो सभ्यता भन्ने, लोकगीत, दोहोरी नराम्रो ठान्ने चलन राम्रो लाग्दैन मलाई । हो, यसलाई कसैले बिगारे होलान् तर मलाई लोकगीत, संगीत नै मन पर्छ ।
अचेल पनि म गीत–संगीतमा रमाउँछु । लौ, दोहोरीमा गायो भनेर पो भनियो त । नेताहरूले नाच्ने गाउने गर्नुहुँदैन भन्ने टिप्पणी भयो ।
देश र राष्ट्रियता राम्रो हुनुको पछाडि गीत–संगीत, संस्कृतिको ठूलो महत्व हुन्छ । देशको गीत–संगीत, संस्कृति राम्रो भयो भनेमात्रै देशको राष्ट्रियता बलियो हुने हो ।
स्कुल, कलेजमा झैँ अचेल नाचगानमा हिँड्न सम्भव हुँदैन । राम्रो लाग्ने गीत गुनगुनाइरहन्छु । फूलको आँखामा फूलै संसार, न बिर्सें तिमीलाई न पाएँ तिमीलाई, मैले गुनगुनाउने गीत हुन् । बाथरुममा बसेर पनि गुनगुनाउँछु । पहिले त बाथरुमै नयाँ सिर्जना हुन्थ्यो । अचेल गुनगुनाउँछुमात्रै ।
मेरो भूल
मान्छेको जीवनमा गल्ती हुन्छन् नै । मैले पनि गरेँ होला । तर, गल्ती नगरेरै सजाय पाएको याद छ मलाई । म विद्यार्थी नेता थिएँ कास्कीमा । पार्टी भूमिगत थियो । हडतालको बेला म पर्चा लिन गएको थिएँ । तर, पर्चा छापिन ढिलो भएपछि म ढिलो आएँ । फिल्म हेरेर आयो यो भनेर मलाई आरोप लगाइयो ।
प्रेसमा बसेर आएको मलाई, फिल्म हेरेर आयो भनी आरोप लगाइयो । भोलिपल्ट बैठक बस्यो । मैले होइनभन्दा विश्वास गरिएन । कसोकसो भयो, रुँदैरुँदै आत्मालोचना गरेछु । दुई हप्तापछि थाहा भयो सत्य कुरा ।
स्कुलमा त्यस्तै भयो । म प्रायः फस्र्ट, सेकेन्ड भइराख्ने । एक दिन एउटा सानो गल्तीमा सरले मलाई आफैँ पिट्न लगाउनुभयो । मैले नै एउटा हातले अर्को हातमा पिट्नुपर्ने भयो ।
सरले त माया गरेर सजायस्वरूप त्यसो भन्नुभएको थियो । म यति मुर्ख भएछु, एउटा हातले अर्को हातमा मज्जाले पिटेर रोएँ । सरले पिटेको भए त्यति पिट्नुहुन्नथ्यो । किनकि म अति इमानदार विद्यार्थी थिएँ ।
मेरो घर
०६५ मा हाउजिङको घर किनेको हो । मेरो भाइ संलग्न हाउजिङ ग्रुपले बनाएको घर हात्तीगौँडामा । परिवारबाट बुवाको केही पैसा परेको होला । मूलतः भाइले किनेको हो । आमाको नाममा छ त्यो ।
भाइ विदेशमा छ अहिले । पोखराको घरचाहिँ बुवाले शिक्षणबाट रिटायर्ड हुनेबित्तिकै गाउँको केही जग्गा बेचेर किन्नुभयो ।
मेरो आफ्नै सम्पत्तिका रूपमा त छैन । म कस्तो भने घरका लागि चिनी पनि किन्दिनँ । यस्तो व्यवहारमा आफैँ संलग्न हुनुपर्दैन । यो मेरा लागि राम्रो सुविधा हो ।
मेरो गाडी
अहिले छैन गाडी । पहिले नौ लाखमा सेन्ट्रो किनेको थिएँ, ६ लाखमा बेचेँ । संसद्बाट सुविधाको गाडी पाउने भएपछि बेचेको हुँ । सांसद हुनेबित्तिकै किनेको पछि सुविधाको गाडी पाउने भएपछि बेचेको हुँ ।

हामी विद्यार्थी युनियनमा भएकाले अभिभावकजस्तो हुनुपर्यो । सबै विद्यार्थीले अभिभावकजस्तै ठान्थे । मेरो पनि एउटा मिसन थियो । चरित्रको पनि मूल्यांकन हुन्थ्यो संगठनमा ।

rabindra adhikari (7)मेरो राशि
मेरो वृश्चिक राशि । ग्रहदशाबारे केही थाहा छैन । राम्रो छ भन्लान् म चासो दिन्नँ । धेरै ज्योतिषीले त बितेका कुरा मात्रै भन्दारहेछन् । विश्वास पनि छैन मलाई ।
कुनै किसिमको मणि, रत्न लगाउने बानी पनि छैन । औँठी पनि बिहेको दिनमा दुई घन्टा मात्रै टिक्यो, औँलामा पछि लगाइनँ ।
मेरो सौन्दर्य
कपालमा कालो मेहेन्दी लगाएको छु हल्का । फेसमा केही लगाउने बानी छैन । फुर्तिलो कपडामा हिँड्न मन पराउँछु । तन्दुरुस्ती र फेयरनेसमै सुन्दरता खोज्छु म ।
फेसियल्ली राम्रो मान्छे होइन म । जतिखेर पनि हाँसिराख्छस् भन्छन् । तर, ह्याप्पिनेसले मान्छेलाई सुन्दर बनाउँछ ।
मेरो प्रेम
अचेल भन्नेजस्तो लभ अफेयर्समा परिनँ कहिल्यै । मन पर्ने त हुन्थे । स्कुलमै पनि मन पराउने हुन्थे । म पनि मन पराउँथेँ । ती प्रेम विवाहका लागि थिएनन् ।
सम्झँदा पनि अनौठो लाग्छ । कलेजमा दुई सय ५० भन्दा बढी केटीका चिट्ठी आए मलाई । २७ पेजसम्मको चिट्ठी आएको छ । केही त पढ्न पनि भ्याइएन । कलेजमा चिट्ठीपत्र राख्ने ठाउँ हुन्थ्यो । टिकट टाँस्यो त्यहीँ हालिदिने । कसैले बाटो हिँडेको बेला पनि दिन्थे ।
ती प्रेमपत्र पठाउने कोही विदेशमा छन्, कोही यतै छन् । कोहीसँग कुराकानी पनि हुन्छ । कसैलाई त चिन्दै चिन्दिनँ । मैले पनि मन पराएँ, कसैलाई तर मन पराउँछु भन्न सकिनँ ।
हामी विद्यार्थी युनियनमा भएकाले अभिभावकजस्तो हुनुपर्यो । सबै विद्यार्थीले अभिभावकजस्तै ठान्थे । मेरो पनि एउटा मिसन थियो । चरित्रको पनि मूल्यांकन हुन्थ्यो संगठनमा ।
१९ वर्षदेखि नै सभापतिको कार्यभार सम्हालेको थिएँ मैले । २२ वर्षमा निर्वाचित सभापति भएँ । त्यही अवधिमा सबैभन्दा बढी प्रेमपत्र आए । अचेल कतै राजनीतिक कार्यक्रममा जाँदा मलाई चिट्ठी पठाउने केटी साथीहरू भेटिन्छन् । कोही लजाएर नजिकै आउँदैनन् । कोही त्यो कुरा निकाल्दैनन् ।
लजाएर मेरो नजिकै आउन चाहेन भने सोच्छु, पक्कै यो मान्छेले पनि चिट्ठी पठाएको हुनुपर्छ । कोही म आफैँ सम्झन सक्दिनँ । मलाई मन पराउने धेरैजसो बजारका थिए ।

प्रधानमन्त्री, राष्ट्रपति बन्छु भन्ने सपना पालेर बसेको छैन । ठूलो सपना देखाउनेमा विश्वास पनि गर्दिनँ । सक्ने साना काम नगर्ने, सपना ठूला देखाउनु राम्रो होइन । आफूले सक्ने साना–साना काममा न्याय गर्दै अघि बढ्ने हो ।

rabindra adhikari (4)मेरो विवाह
साथीले आफ्नै सर्कलबीचमा विद्यासँग मेरो स्वभाव पनि मिल्ने र वैवाहिक सम्बन्ध पनि राम्रो हुने भनेर मिलाइदिए । ०५६ को असारमा विवाह भयो । हाम्रो चिनजान पनि भएकाले विवाहको वातावरण पनि सहज भयो ।
मन पराउने त भयो नै तर त्यो पूर्ण लभ म्यारिज थिएन । उनी पीएनको स्ववियु सभापति थिइन् । पद्मकन्यामा सभापतिको उम्मेदवार भइन् । खासमा उनी राजनीतिक व्यक्ति नै थिइन् । अहिले प्राध्यापनमा छिन्– विद्या । हाम्रा दुई छोरा छन् । एउटा १२ मा पढ्छ र अर्को दुई कक्षामा ।
मेरो सपना
प्रधानमन्त्री, राष्ट्रपति बन्छु भन्ने सपना पालेर बसेको छैन । ठूलो सपना देखाउनेमा विश्वास पनि गर्दिनँ । सक्ने साना काम नगर्ने, सपना ठूला देखाउनु राम्रो होइन । आफूले सक्ने साना–साना काममा न्याय गर्दै अघि बढ्ने हो ।
हामी सत्तामा थिएनौँ, त्यसैले गर्न सकिन भन्ने होइन । स–साना कुरामा परिवर्तन गर्दै जाने हो । म एक नागरिकका रूपमा पनि धेरै काम गर्न सक्छु ।
यही सांसद पनि बनौँला भन्ने थिएन । मलाई यही चीज चाहिन्छ । यही बन्नु छ भनेर आशक्ति राख्दिनँ । यसको मतलब फेरि म प्रधानमन्त्री बन्नै चाहन्न भन्ने पनि होइन । त्यो ठाउँमा पुग्नका लागि साम, दाम, दन्ड, भेद प्रयोग गर्नेमा विश्वास गर्दिनँ ।
रवीन्द्रजी यो सत्ता हो, सबैथोक प्रयोग गरी यस्तो बन्नुपर्छ भन्छन् साथीहरू । मलाई त्यसो गर्नु छैन । गर्दै जाउँ पुगे ठिकै छ । नपुगे पनि ठिकै ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल