दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

कुनै समय माओवादीका प्रभावशाली नेता दीननाथ शर्माको व्यक्तिगत जीवनमा साहित्यिक लय हावी छ अचेल ।

यही भदौ १ गते उनको ११औँ कृति बजारमा सार्वजनिक हुने तयारीमा छ । साहित्यमा सक्रिय हुनुको मतलब राजनीतिमा निष्क्रिय नै होइन । तर पहिलेभन्दा कम भूमिकामा छन् उनी । तत्कालीन एकीकृत नेकपा माओवादी प्रवक्ता उनी माओवादी केन्द्रको पोलिटब्युरोमा सीमित छन् ।

२०२१ सालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय बनेका शर्माको जीवन सङ्घर्षपूर्णसँगै रोचक पनि छ । खाना, मदिरा, विवाह, गाडीलगायत चिजसँग शर्माको रोचक सम्बन्ध छ । तिनै विषयमा केन्द्रित रहेर रातोपाटीका लागि रमन पौडेलले गरेको अन्तर्वार्ताको सम्पादित अंश :

dinanath-sharma4मेरो खाना

पछिल्लो केही वर्षयता सात्विक भोजनामा जोड दिएको छु । बिहान मर्निङ वाकबाट फर्केर आएपछि कागती पानी, एकपोटी लसुन, रातो चिया (जस्मिन) चिनीबिनाको चियाको साथमा दुई पाता बिस्कुट खान्छु ।

नास्तामा बिहान ब्रेड, अन्डालगायत हल्का ब्रेकफस्ट खान्छु । साढे १० बजेतिर हल्का खाना खान्छु । कहिले उसिनेको भात, कहिले ढिँडो, आटो वा भात सन्तुलित रुपमा खान्छु । ४ बजेतिर खाजा खान्छु । बेलुका २ वटा रोटी र एक गिलास दूध पिउँछु ।

१ वर्षदेखि माछा मासु छोडेँ । उमेरको हिसाबले पनि जीवनशैलीलाई सात्विक बनाउने प्रयास गर्दैछु ।

गह्रौँ चिज खान्न । दिउँसो पाएसम्म फलफूल खान्छु । यही खाना खानुपर्छ भनेर विशेष रुचि छैन । खाने कुरामा सौखिन कहिल्यै भइन ।

स्वास्थ्यलाई पनि फाइदा हुने भएकाले ढिँडो खाँदा कोदो, मकै, जौ, फापरका परिकार खान्छु ।

जीवनको अति कम बाहिर होटलतिर खानेमध्ये म एक हुँ । सांसदमा हुँदा पनि सकेसम्म क्यान्टिनमा पनि गएर खाइनँ । त्यस्तै तारे होटलमा केही कार्यक्रममा खानुपर्ने भयो भने सामान्य फलफूल लिन्छु ।

भूमिगत कालमा जे पाइयो त्यही खानुपर्ने थियो । सामान्यतः खानामा यस्तै हुनुपर्छ भन्ने लागेन । बरु एक छाक नखाएर के फरक पर्छ र जस्तो लाग्छ । नराम्रो खानुभन्दा बरु एक छाक नखानु नै राम्रो ।

जीवनको अधिकांश समय आफैँ पकाएर खाएँ । विद्यार्थीकालमा, मास्टरी गर्दा, पञ्चायत कालमा काठमाडौंमा भूमिगत बस्दासमेत मैले आफैँ पकाएर खाएँ ।

पछिल्लो समय ०६२/०६३ सालपछि परिवारमा बस्न थालेपछि पकाउने क्रम अलि कम भयो । श्रीमती, छोरी, बुहारीहरुले नै पकाउँछन् । यद्यपि, पकाउनै पर्यो भने त पकाउन आउँछ मलाई ।

मेरो पोसाक

कपडा जे भए पनि सफा लगाउनुपर्छ भन्ने हुन्छ । अधिकांश रेडिमेड कपडा नै लगाउँछु । थोरै मात्र कपडा आफैँ सिलाएर लगाएको छु । पछिल्लो समय एउटा इस्टकोट सिलाएको छु, पुतलीसडकको डोरमेनमा गएर सिलाएको ।

ब्रान्ड कन्सस छैन म । ब्रान्डेड कपडा हो कि होइन ख्याल गर्दिन । छोराछोरी, बहिनीहरुले चाडपर्व र अन्य समयमा पनि ल्याइदिन्छन् । पछिल्लो समयमा आफैँले पैसा तिरेर किन्नु परेको छैन । हरियो र रातो कमै लगाउँछु । अरु रङ लगभग उस्तै लाग्छ ।

मेरो घुमफिर

घुम्न मन लाग्छ । ३ जिल्ला बाँकी छन् । मुगु, दार्चुला लगायत ३/४ जिल्ला पुगेको छैन ।

आधा दर्जनभन्दा बढी देश पुगेँ, चिन, रुसलगायत भारतका लगभग सबै ठाउँ पुगेको छु । तर फर्केर आउँदा नेपाल नै मन पर्छ । मुस्ताङ र पोखरा असाध्यै मन पर्छ । चार पटक गएँ मुस्ताङ । तर त्यता घुमेर कहिल्यै अघाउँदिन ।

छोटो दूरी र समयमै फरक मौसम, विविधता देख्न पाइन्छ । यस्तो कतै देखिन्नँ । युरोपतिर कहिले अँध्यारो मात्रै हुन्छ । कतै चिसो मात्रै । नेपाल जस्तो सुन्दरता कतै देखिन मैले ।

अझै केही ठाउँ जान चोहर पनि जान मिलेको छैन । दामोदर कुण्ड लगायत केही ठाउँ घुम्ने चाहना छ । प्रत्येक वर्ष योयो ठाउँ घुम्छु भन्ने योजना बनाउँछु । तर योजना पूरा हुन सकिरहेको छैन ।

मेरो फुर्सद

पछिल्लो चरणमा त्यति व्यस्त हुनुपरेको छैन । हल्का किसिमको जिम्मेवारी छ अहिले । सामान्य राजनीतिक भेटघाटबाहेक त्यस्तो बेफुर्सदी हुनुपरेको छैन ।

यद्यपि राजनीतिक भेटघाट त हुन्छ नै । फुर्सदको समयमा लेखपढ गर्ने । यसबाहेक, सङ्गठनकै काम पारेर काठमाडौं बाहिर घुम्न पनि निस्केको हुन्छु ।

फुर्सदको समय निस्किरहेको हुन्छ । जहाँ पुग्छु, त्यहाँको इतिहास, संस्कृति, वस्तुस्थिति बुझ्ने गर्छु ।

बागलुङको घरमा ठूलो लाइब्रेरी थियो । थुप्रै पान्डुलिपि पनि थिए । पहिले लेखेका चिजहरु प्रकाशित नगर्नु नै भूल भयो भन्ने लाग्छ । केही कथाहरु चितवनको एक प्रेसमा छाप्न दिएको थिएँ । तर त्यो प्रेसलाई सेनाले जफत गरेपछि मेरो सङ्ग्रह हरायो । ०५८ साल असार ८ गते बागलुङको घरमा भएका किताब पूरै जलाइदियो । त्यसबेला पनि थुप्रै पान्डुलिपिहरु नष्ट भए ।

dinanath-sharma3मेरो अध्ययन

पछिल्लो २ वर्षयता साहित्यमा लागेको छु । नेपाली भाषा, साहित्यमा काम गरिरहेको छु । मेरो रुचिको विषय निबन्ध साहित्य हो । अघिल्लो वर्ष युरोप भ्रमणबाट फर्केपछि दुई पुस्तक पनि सार्वजनिक गरिसकेँ ।

‘हिम फुलेको रात’ निबन्ध सङ्ग्रह निकालेँ । त्यसअघि ‘यात्रा र अनुभूति’ निकालेँ । त्यसअघि कविता सङ्ग्रह प्रकाशित गरेको थिएँ ।

यस वर्ष यही भदौ १ गते अर्को पुस्तक सङ्ग्रह निकाल्ने तयारीमा छु । ११औँ कृति हो यो ।

देवकोटा, गोर्की, लु सुनले मेरो जीवनमा निकै प्रभाव पारे । संस्कृत साहित्यमा कालीदासको मेघदूत उत्कृष्ट लाग्छ । साहित्यको सर्वोत्कृष्ट नमुना लाग्छ यो । मेरो पढ्ने समय बिहान बेलुका नै हो ।

बागलुङको घरमा ठूलो लाइब्रेरी थियो । थुप्रै पान्डुलिपि पनि थिए । पहिले लेखेका चिजहरु प्रकाशित नगर्नु नै भूल भयो भन्ने लाग्छ । केही कथाहरु चितवनको एक प्रेसमा छाप्न दिएको थिएँ । तर त्यो प्रेसलाई सेनाले जफत गरेपछि मेरो सङ्ग्रह हरायो । ०५८ साल असार ८ गते बागलुङको घरमा भएका किताब पूरै जलाइदियो । त्यसबेला पनि थुप्रै पान्डुलिपिहरु नष्ट भए ।

मेरा बुवा, आमा बित्दा आँखाबाट आँशु आएन । तर जब मेरो लाइब्रेरी सेनाले जलाइदियो भन्ने खबर पाएँ त्यसपछि मन थाम्नै सकिनँ ।

त्यसबेला म इन्डियामै भूमिगत थिएँ । ३ हजारको सङ्ख्यामा रहेका पुस्तक सेनाले जलाइदिएपछि रोएँ ।

बाहिर बजारमा खासै खर्च गर्ने बानी छैन मेरो जति खर्च हुन्छ किताबमै हो । बजारमा राम्रो आयो भन्नेजस्तो लाग्यो भने किन्छु ।

मेरो खेलकुद

सानोमा स्कुल छँदा भलिबल खेल्थेँ । त्यसैबेला मेरो घरमा घोडा पनि थियो । घोडा खुब चढ्थेँ । रमाइलो लाग्थ्यो । एकचोटि घोडाबाट लडेर दुवै हात भाँचियो ।

दर्शकको रुपमा अचेल म क्रकेटको दर्शक हुँ । विश्व प्रतिष्पर्धामा इन्डियाको समर्थक हुँ । तर श्रीलङ्का, पाकिस्तान, बङ्लादेश वा इन्डियाबीच प्रतिष्पर्धा भयो भने इन्डियाको सट्टा अर्को कुनै सानो देशले जितोस् भन्ने लाग्छ ।

मेरो सङ्गीत

जीवनमा एउटा कमजोरी नै मान्नुपर्ला, गीत सङ्गीतमा रुचि नै भएन । सामान्य लोकदोहोरी त सुनिन्छ । तर म गीत सङ्गीतको राम्रो श्रोता होइन ।

मेरो चलचित्र

चलचित्रमा पनि त्यस्तै भयो । इन्डियन फिल्महरु यदाकदा हेरेको छु । जस्तै ‘नायक’ लगायत केही फिल्म इन्डिया बस्दा हेरेँ । तर योजना बनाएर होइन । नेपाली फिल्म त खासै हेरेकै छैन । त्यसतर्फ ध्यान नै गएन ।

मेरो मोबाइल

पहिलो चोटि दिल्लीमा नोकिया मोबाइल किनेको ६७ सय आइसीमा । अहिले आइफोन सिक्स प्रयोग गर्दैछु ।

मेरो क्यानडा बस्ने आफन्तले ७÷८ महिनाअघि गिफ्टका रुपमा पठाइदिएका हुन् ।

यसअघि थाइल्यान्ड गएको बेला ६ हजार नेपालीमा सामसुङ मोबाइल किनेको थिएँ ।

मोबाइल फेर्ने रुचि हुँदैन । यद्यपि पछिल्लो आइफोन लिने चाहिँ रुचि नै थियो । किनकि सबैले आइफोन भन्छन् के कस्तो हो भन्ने लाग्थ्यो ।

मोबाइलमा फोनबाहेक इमेल, फेसबुक, ट्विटर चलाउँछु । गेम चाहिँ खेल्ने बानी छैन ।

मेरो घर

बुहारीको विवाह हुँदा बिहेमा खर्च गर्नुभन्दा उपयोगी कामका लागि भनेर केही रकम दिइएको थियो । त्यो रकमसहित यो घर किनियो ।

मेरा ज्वाइँका दाजुले ४ लाख आनाको हिसाबले ४ आना यही जग्गा किनेका रहेछन् । उनी जापानमा होटल व्यावसाय गरी बस्छन् ।

६/७ वर्षअघि ज्वाइँका दाजुले यो घर बनाउँदै थिए । त्यही बेला मेरो छोराको बिहे पनि भयो । छोराको बिहेपछि हामीलाई पनि घरको आवश्यकता भयो ।

ज्वाइँले बनाउँदै गरेको यो घर हामीले लिने भन्ने कुरा भयो । सुरुमा १५ लाख दिइयो । पछि ४५ लाख दिने भनेर ६० लाखमा सहमती भयो । अझै ३० लाख बाँकी छ ।

dinanath-sharmaमेरो गाडी

मसँग बोलेरो गाडी छ । शान्ति वार्तामा आएपछि सबैले लिने भन्ने निर्णय भएको थियो । त्यसैअनुरुप पार्टीले दिएको गाडी हो ।

८ वर्ष जति भयो यो गाडी लिएको । पहिले ड्राइभर थियो । अहिले छोराले ड्राइभ गर्छ । धेरै थोत्रो भएको छ ।

अस्ति अध्यक्षलाई भनेको थिएँ, यो कबाडीमा दिनुपर्यो कि बेचिदिनुपर्यो । केही साता अघि मात्रै १ लाखभन्दा बढी खर्च गरेर मर्मत गरेको । पार्टीले खर्च गर्न पनि सक्दैन ।

अध्यक्षले त सोध्नुभएको थियो मर्मत गर्दा कति खर्च हुन्छ भनेर । नियमित तेल भरिराख्ने, आफैँ चलाए पनि बिग्रिराख्छ, मर्मत गरिरहँदा महँगो खर्च । के गर्नु, बेच्न पनि गाह्रो । गाडी पाल्नै सकिएन ।

मेरो राशि

मिन राशि हो मेरो । रेवती नक्षत्र । मैले कहिल्यै कहीँ हेराएको छैन । घर जल्दा जन्मकुन्डली पनि नष्ट भयो ।

पहिले आमाले हेराउनुहुन्थ्यो । फुडुल्के नामको ज्योतिषकहाँ पुगेर आमाले हेराउनुहुन्थयो ।

मलाई ठूलो मान्छे बन्छ भन्थ्यो रे । ठूलो मान्छे भए पनि दुस्मन बढी हुन्छन् भन्थे रे । म आफैँले न कहिल्यै भविष्यवाणी सोधेँ न विश्वास नै गरेँ । परिवारमा कसैले पनि यसबारेमा चासो दिँदैनन् ।

पछि बनारस गएँ म । पुष्पलालसँग सङ्गत भयो । प्रगतिशील भइयो । हजुरबालाई पीडा थियो कि एउटै नातिको बिहे धुमधामसाथ गराउने । तर हजुरबा ०२५ सालमा बित्नुभयो मेरो बिहे २६ सालमा भयो ।

मेरो धर्म

म हिन्दु परिवारमा जन्मिए पनि पछिल्लो समय बौद्ध धर्म अध्ययनमा रुचि छ । भौतिक दर्शन हो यो ।

बाआमाको एउटै छोरा भए पनि बाआमाको काजकिरिया पनि गरिन मैले । जनै लगाएको छैन ।

छोराहरुको व्रतबन्ध पनि गराइएन । आफैँले बिहे गरे । छोरीहरुको विवाह पनि प्रगतिशील तरिकाले नै भयो ।

उनीहरु आफैँ प्रेम गरेर विवाह गरे । धार्मिक मान्यतालाई खासै पालना गरिएन ।

मेरो प्रेम

राजनीतिमा यति सक्रिय भइयो कि प्रेम, सम्बन्ध, परिवारप्रति समय नै भएन । ०२१ सालमा मैले पार्टी बनाएँ । फुर्सद भयो कि पार्टीका कुरा गर्ने । पार्टी निर्माण गर्ने । सङ्गठनको कुरा गर्ने ।

०२६ सालसम्म थुप्रै साथीहरुको अन्तरजातीय विवाह गराएको थिएँ । म आफैँ पनि अन्तरजातीय विवाह गर्ने सोचमा थिएँ । प्रेमप्रति समय भएन वा चासो भएन ।

मेरो विवाह

१५ वर्षको छँदा हजुरबाले मेरो बिहेका लागि गाउँमा केटी खोज्नुभयो । तर गाउँमा हामी अलि विद्रोही स्वभावको भएकाले गाउँमा हलो जोतियो ।

विवाहको महत्व पनि खासै लागेन । माघमा बिहे गर्ने भनिएको थियो । तर मङ्सिरमै हलो जोतियो । हलो जोतेकै कारणले केटी दिइएन । हलो जोतेर जात गयो भनियो । आलोचना भयो ।

पछि बनारस गएँ म । पुष्पलालसँग सङ्गत भयो । प्रगतिशील भइयो । हजुरबालाई पीडा थियो कि एउटै नातिको बिहे धुमधामसाथ गराउने । तर हजुरबा ०२५ सालमा बित्नुभयो मेरो बिहे २६ सालमा भयो ।

बिहे गर्ने बेला पनि श्रीमतीलाई हेरेर, प्रेम गरेर बिहे गरेको होइन ।

बिहेमा रुचि नै थिएन । तर श्रीमतीका मामा र मेरो बुवाको राम्रो सम्बन्ध रहेछ । सदरमुकाम नजिकै श्रीमतीको माइती थियो । उनका मामाले मेरो बुवा सदरमुकाम गएको बेला भान्जी मसँग बिहे गराइदिने कुरा गर्नुहुँदोरहेछ ।
१२ तोला सुन किनेर, बिहेको तयारी भयो । १ तोला सुनको मुल्य ३ सयको दरले सुनको मूल्य ३६ सय परेको थियो ।

केटी पक्षतिर सबैले भव्य तयारी गरेर बसेका थिए । मलाई खासै चासो नै थिएन । पछिसम्म बिहे गर्ने मनस्थितिमा थिइन म । मैले बिहे नगर्ने भए बाले काली नदीमा हाम फाल्ने भनेर धम्की दिएपछि बिहे गर्न तयार हुनै पर्यो । जबर्जस्ती नै भयो । बिहेपछि सम्बन्धमा केही नराम्रो भएन ।

मेरो भूल

जे गरियो त्यस्तो बेठिक गरेँ भन्ने लाग्दैन । आरोप आलोचना त हुन्छ ।

ठूलो मान्छे त हुन्छस् तर दुस्मन हुन्छन् भनेर आमाले पहिल्यै भन्नुहुन्थ्यो ।

मलाई अहिले पनि अचम्म लाग्छ, मैले कहिल्यै नभेटेको, नचिनेको मान्छेले पनि मेरो विरोध गरेको हुन्छ । उसको हानि नोक्सान गरेको हुँदैन । लेनदेन पनि हुँदैन तर त्यस्तै मान्छेले विरोध गरेको पाउँछु ।

यस्तो किन हुन्छ अचम्म लाग्छ । बरु जसको बारेमा केही सहयोग गरिरहेको हुन्छु त्यही विरोधी हुन्छ । किन यस्तो हुन्छ थाहा छैन । जसको भलाई गर्न खोज्यो उही विरोधी हुन्छ । जस पाउँदैन भनेर भनिन्थ्यो रे भन्न त । अहिले सम्झन्छु त्यस्ता कुरा ।

dinanath-sharma1मेरो स्वास्थ्य

स्वास्थ्यमा म सचेत छु । सन् २००० देखि प्रेसर र सुगरको औषधि सेवन गर्दैआएको छु । सुगर सन्तुलनमै छ अहिले । सन्तुलित खाना खान्छु । नियमित व्यायाम गर्छु । बिहान ५ बजेदेखि १ घण्टा हिँड्छु । घरमै ट्रेडमिल पनि छ । पानी पर्यो भने ट्रेडमिलमा हिँड्छु । योगा गर्छु । राति ठीक ८ बजे खाने, १० बजे सुत्ने नियमित तालिका हो ।

भूमिगत कालमा धेरै तनाव ब्यहोर्नुपर्यो । म त भूमिगत भएँ, घरतिर सेनाले ध्वस्त बनायो । आफैँले भूमिगत बनाएको भाइको छोरालाई सेनाले मारिदियो । सालोलाई पनि सेनाले मार्यो ।

छोरो अस्कलमा पढ्थ्यो । उसका सबै साथीलाई मार्यो । आमा रोएर अति गरेपछि । परीक्षा नै छोडेर इन्डिया लैजानुपर्यो ।

ज्वाइँ शुभशङ्करलाई बामदेवले बचाए त्यसबेला । बामदेवले तीन दिनपछि मलाई खबर गरेर सुरक्षित छन् भनेका थिए ।

अहिले स्वास्थ्यमा असर पर्नुको कारण तिनै तनाव पनि हुन् भन्ने लाग्छ ।

मैले त्यही दिनदेखि अब खान्न भनेर छोेडेँ । अरुले पत्याएनन् । चित्रबहादुर र रामसिंहकै अघि बसेर छोडेँ भनेको हो । तर पत्याएनन् ।

मेरो मापसे

पहिले मापसे गर्थें । चुरोट पनि असाध्यै पिउँथेँ । जतिबेलादेखि कम्युनिस्ट पार्टीमा लागियो त्यसैबेलादेखि जाँडरक्सी पिउन पनि सिकियो ।

कुखुरा खाएन भने, हलो जोतेन भने, टुप्पी काटेन भने, जात फालेन भने कहाँ कम्युनिस्ट बनिन्छ र ? भनिन्थ्यो ।

मेरो गाउँ बाहुन क्षत्रीको बाहुल्य भएकाले मैले रक्सी खाएको भनेर चाहिँ कसैले विश्वास गर्दैनथे ।

गायक जीवन शर्माहरुको घर भएतिर जनजाति बाहुल्य भएको क्षेत्रमा पार्टी निर्माण गरिन्थ्यो । पढाइ पनि त्यतै थियो । त्यता गएर खाइन्थ्यो ।

हाम्रो पार्टीको सेक्रेटरी चित्रबहादुर केसी थिए । रामसिंह सिरिषको घरमा सधैँ रक्सी पार्थे । प्रायः उनकै घरमा बैठक हुन्थ्यो ।

रामसिंहकी आमाले खुवाउँथिन् । ‘गोर डुई–गोर डुई चाख ट बाबु’ भन्थिन् । मगर भाषाअनुसार थोरै–थोरै चाख त बाबु ।

सदरमुकाममा हामीले रक्सी खाने एउटा गोप्य होटल/भट्टी थियो । होटलवालालाई सबैले कुखुरे बाहुन भन्थे ।

त्यहाँ गएर प्रायः एक गिलास कोदाको लोकल रक्सी खाइन्थ्यो । ०३६ सालको एक दिन कुखुरे बाहुनकहाँ गएर २ गिलास खाएर सुतेको थिएँ ।

एक जना साथी गएर मलाई उठायो । र भन्यो, ‘उठ् तेरो नेता आएको छ ।’ नेता म आफैँ थिएँ । त्यसबेला यताबाट निर्मल लामा गएका रहेछन् ।

मलाई यति अप्ठ्यारो भयो कि असाध्यै ह्युमिलिएट भयो । निर्मल लामाको अगाडि उभिएर बोल्नै सकिन । हुन त लामा आफैँ रक्सी खान्थे । तर मलाई असाध्यै अप्ठ्यारो भयो ।

मैले त्यही दिनदेखि अब खान्न भनेर छोेडेँ । अरुले पत्याएनन् । चित्रबहादुर र रामसिंहकै अघि बसेर छोडेँ भनेको हो ।

तर पत्याएनन् । त्यसपछि पनि मलाई यस्तो अप्ठ्यारो भयो कि एक्लै बसेर खाऊँ भने लुकेर खान्छ भन्लान् भन्ने डर थियो । साथीहरुसँग बसेर खाउँ भने दुई लाइन सङ्घर्ष हुन्थ्यो । यसको बोलीको भरै छैन भन्लान् भन्ने डर थियो ।
त्यही बेलादेखि रक्सी छोडेँ ।

तर धेरैपछि केही महिनाअघि मात्रै युरोप गएको बेला मेरै लागि होटलमा डिनर आयोजना गरियो । वर्षौँदेखि नछोएको रक्सी इटलीमा गएर खानुपर्यो ।

मेरो सौन्दर्य

अरुले के भन्छन् भन्दैनन् थाहा छैन । म सामान्य मान्छे हुँ भन्ने लाग्छ । धेरै राम्रो स्मार्ट भन्ने अनुभूति हुँदैन । मेकअपमा पनि ध्यान दिन्नँ । एकपटक लेखराज भट्टजीको परिवारसँग लखनौमा बसेको बेला उनको श्रीमतीले मलाई पनि रातो लगाउन भनिन् ।

त्यसबेला कपालमा रातो लगाएँ । सामान्य अवस्थामा दाह्री काट्छु । सौन्दर्यका लागि अरु केही गर्दिनँ ।

मेरो भाषण

कहिलेकाहीँ भाषण गरिसकेपछि आत्मसन्तुष्टि हुन्छ । कहिले चित्त बुझ्दैन । मानसिक तयारी त गरिन्छ नै । विशेष तयारी गर्ने चलन छैन मेरो ।

१८ वर्ष मास्टर भएँ । ४५ मिनेटको पिरियड कतिबेला गयो पत्तै हुँदैनथ्यो । भाषण सामान्यत १/डेढ घण्टा गर्छु म ।

भाषण गरिराख्दा कसैले ध्यान दिएको छैन जस्तो लाग्यो भने छोट्याउँछु । मेरो जीवनमै सबैभन्दा राम्रो लागेका भाषण छन् ।

काठमाडौंमा पहिलोचोटि २०६३ मा सार्वजनिक हुँदाको दिन । अर्को विराटनगरमा । त्यहाँ पनि म पहिलो चोटि सार्वजनिक भएर १ लाख मान्छेको बीचमा भाषण गरेको थिएँ । ती दुई भाषण अहिलेसम्म पनि सम्झिराख्छु ।

मेरा भाषण विवादमा परेको खासै याद छैन । तर केहीअघि प्राध्यापकहरुको कार्यक्रममा शिक्षा विधेयकको विषयमा बोल्दा पूर्वराष्ट्रपतिको आलोचना गर्ने क्रममा ‘भैँसी नै रैछन्’ भनेको थिएँ ।

बोल्ने क्रममा त त्यस्तो अप्ठ्यारो भएन । तर मधेसका साथीहरुले ठ्याक्कै कुरो समाते । मलाई पछि त्यसो नभन्नुपर्ने लाग्यो ।

मेरो सपना

क्रान्ति खोज्दै गएको म । कसैले डाकेको पनि होइन । युद्धमा लागियो । शान्ति प्रक्रियाको चरण पार गर्दै यहाँसम्म आइयो ।

पछिल्लो पटक मन्त्री भएको म आफैँलाई चित्त बुझेको थिएन । कामको राम्रो प्रस्तुति पनि भएन । मैले त पोस्टबहादुर बोगटीलाई भनेको पनि थिएँ, छोड्नुपर्छ कि भनेर ।

लाग्छ, अझै काम गर्न बाँकी छ । समाजवादी रणनीतिमा काम गर्नु बाँकी छ । यो जिम्मेवार नेतृत्वको पनि सपना हुनुपर्छ ।

मेरो अबको व्यक्तिगत जीवन साहित्यमा सक्रिय हुनेछ । पछिल्लो डेढ वर्षयता नै साहित्य लेखनमा सक्रिय छु । यो मेरो विधा पनि हो । अध्ययन र लेखन अबको बाँकी जीवन ।

यी जीवन कथा पनि पढ्नुहोस्

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी : ‘दुई स्वीमिङ पुलजति मापसे गरियो होला’

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल