साताको एजेन्डा : यी हुन् नयाँ सरकारका चुनौती

साताको एजेन्डा : यी हुन् नयाँ सरकारका चुनौती

संसद्को ठूलो दल कांग्रेस र तेस्रो ठूलो दल माओवादी केन्द्रको गठबन्धनमा नयाँ सरकार गठन तयारी तीव्र छ । यससँगै लामो समय प्रतिपक्षी बनेको कांग्रेस अब सत्तामा पुग्दै छ । यही सिलसिलामा अबको सरकारका प्राथमिकता, चुनौतीलगायत विषयमा कांग्रेस नेता तथा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले रातोपाटीसँग गरेको कुराकानीको अन्तर्वार्ताको सम्पादित अंश :

अबको सरकार

कुनै एउटामात्रै पार्टीको एकलौटी सरकार बन्न नसक्ने अहिलेको वास्तविकता हो । यसरी हेर्दा गठबन्धनको संस्कृतिलाई समृद्ध र विकसित बनाउँदै लैजानुपर्नेछ । यसमार्फत समाजमा देखिएका समस्या समाधान गर्नुपर्नेछ । मुलुकको समृद्धिका लागि कांग्रेस–माओवादी गठबन्धन एउटा जगका रूपमा स्थापित हुने विश्वास छ ।

gyanendra bahdur karki (1)
यही सिलसिलामा हाम्रो समर्थनमा, माओवादी केन्द्रको अग्रसरतामा मुलुकले चाँडै नयाँ सरकार पाउँदै छ । त्यो सरकारले संविधान कार्यान्वयनलाई प्रमुखता दिएर जनताका दैनिक आवश्यकता पूर्ति गराउनेछ ।

मुलुकलाई स्थिरतातर्फ अग्रसर बनाउने काममा आफ्नो ध्यान केन्द्रित गर्नेछ । संविधान जारी भइसकेपछि मधेसमा रहेको असन्तुष्टिलाई सम्बोधन गर्दै मधेसी दललाई पनि समेटिनेछ ।

हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाले पनि संसद्मा भनिसक्नुभएको छ कि, अघिल्लो सरकारले गरेका सन्धि–सम्झौतालाई आउने सरकारले पनि पालना गर्नेछ । अघिल्लो सरकारका कामको ‘रिभ्यु’ गरी त्यसकै आधारमा आगामी दिनको मार्ग निर्धारण गरिनेछ ।

मधेसका मागलाई सम्बोधन गरी मधेसी दललाई पनि सरकारमा सामेल गराइनेछ । र, यो संविधान सबैको साझा हो भन्ने भावना जागृत गराउने हाम्रो पहल हो । यो मुलुकलाई अब हामीले अग्रसरताको दिशामा अघि बढाउँदै समृद्धितर्फ लैजानुपर्छ । यही दिशामा सरकारको ध्यान केन्द्रित हुनेछ ।

अघिल्लो सरकारका एजेन्डालाई कसरी सम्बोधन गर्ने ?

यो सरकार विगतकै निरन्तरता हो । कतिपय कुरालाई ‘रिभ्यु’ गर्ने सुविधा रहन्छ । मूलतः अघिल्लो सरकारले गरेका सबै कामलाई आगामी सरकारले अघि बढाउनेछ ।

हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाले पनि संसद्मा भनिसक्नुभएको छ कि, अघिल्लो सरकारले गरेका सन्धि–सम्झौतालाई आउने सरकारले पनि पालना गर्नेछ । अघिल्लो सरकारका कामको ‘रिभ्यु’ गरी त्यसकै आधारमा आगामी दिनको मार्ग निर्धारण गरिनेछ ।

अबको प्रतिपक्षी एमालेलाई कस्तो व्यवहार गर्ने ?

लोकतन्त्रमा पक्ष र विपक्ष हुन्छ । सरकारलाई निरंकुशताबाट रोक्न, जनपक्षीय काममा सरकारलाई अग्रसर बनाउन प्रतिपक्षले राम्रो भूमिका खेल्नु आवश्यक छ । मलाई विश्वास छ– एमालेले जिम्मेवारपूर्ण प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ । त्यो ‘डेमोक्रेसी’लाई सुदृढ गर्नका लागि आवश्यक पनि छ ।

अबको सरकारका चुनौती

सरकारका अघि धेरै चुनौती छन् । अहिलेको अवस्था हेर्ने भने सुशासन दिन नसकेको अवस्था छ । जनताको अत्यावश्यक दैनिक उपभोग्य सामग्रीसमेत उपलब्ध गराउन नसकेको अवस्था छ । कानुनी राज्यको कहीँ न कहीँ अवम्रूल्यन भएको छ । यी कुरालाई सरकारले प्राथमिकता दिएर अघि बढाउनेछ ।

gyanendra bahdur karki (3)
सरकारले गरेका काम ठीक भयो कि भएन भनेर एमालेले वा कुनै पनि प्रतिपक्षीले उठाएका कुरालाई मनन गर्दै अघि बढ्न सरकार तयार हुनेछ ।

मुलुकका समस्या समाधान गर्न केही त्यस्ता गम्भीर विषय छन्, जसमा एमाले वा प्रतिपक्षीलाई पनि सामेल गराएर अघि बढ्नेछ । यससँगै निकट भविष्यमा संविधान कार्यान्वयन, धेरै निर्वाचन सम्पन्न गराउनुपर्नेछ । स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गराउनुपर्ने अबको जिम्मेवारी छ ।

यससँगै भूकम्प प्रभावितको पुनर्बासलगायत समस्या पनि अबको सरकारको चुनौती र जिम्मेवारी हो । भूकम्पपीडितका लागि सरकारले युद्धस्तरमा काम गरी उनीहरूलाई सहज जीवनस्तरमा फिर्ता गराउनुपर्नेछ ।

जनप्रतिनिधिबाट शासन गर्ने परिपाटीलाई सुदृढ बनाउँदै, जनता र सरकारको सम्बन्धलाई अझ गहिरो बनाएर लैजानुपर्नेछ । अहिले मुलुकले भोगिरहेका समस्या, गरिबी, अशिक्षा, बेरोजगारी एकातिर छन् भने हामीसँग भएका प्राकृतिक स्रोत–साधन उपभोग गर्दै मुलुकलाई समृद्ध बनाउनुपर्नेछ ।

यससँगै भूकम्प प्रभावितको पुनर्बासलगायत समस्या पनि अबको सरकारको चुनौती र जिम्मेवारी हो । भूकम्पपीडितका लागि सरकारले युद्धस्तरमा काम गरी उनीहरूलाई सहज जीवनस्तरमा फिर्ता गराउनुपर्नेछ ।

प्रधानमन्त्रीले एक वर्षमै लोडसेडिङमुक्त बनाउने कुरा गर्नुभएको थियो । तर, अवस्था हामीले देखेकै, भोगेकै छौँ । यस्ता कुरालाई पनि ध्यान दिएर जनतालाई सेवा सुविधा दिनुपर्नेछ । अब हामी सबैले एककिसिमको राजनीतिक पद्धति अवलम्बन गरिसकेका छौँ । यो पद्धतिमार्फत देशलाई समृद्धितर्फ बढाउनुपर्नेछ ।

आन्दोलनरत दललाई कसरी समेट्ने ?

आन्दोलनरत मधेसकेन्द्रित दलसँग पनि छलफल गरी निकास निकाल्नुपर्नेछ । मधेसी मोर्चाले उठाएको सीमांकन वा अन्य कुरालाई पनि छलफल गरी साझा सहमतिको बिन्दु निर्माण गरी समेटिनेछ ।

gyanendra bahdur karki (2)
त्यसका लागि उनीहरूले एउटा सकारात्मक संकेत दिएका छन् । यो नेपाल र नेपालीका लागि सुखद कुरा हो । विलम्ब नगरीकन उनीहरूका माग सकेसम्म पूरा गरेर निकास निकालिनेछ ।

यद्यपि, आन्दोलनरत पक्षभित्रै केही इस्युमाथि विवाद होला तर मधेसी मोर्चालाई सरकारमा ल्याउनुपर्छ । जारी संविधान सबैको साझा दस्तावेज हो भन्ने भावना जागृत गराउनेछौँ । यसमा मलाई विश्वास छ ।

नयाँ गठबन्धनमाथि आरोप :

१. ‘भारतको चाहनामा नयाँ गठबन्धन’

भारतको चाहनामा नयाँ गठबन्धनको कुरा पनि सुनिएको छ । आरोपका लागि आरोप लगाउनु जे पनि सकिन्छ । मुख्य कुरा के भने, भारतको विरोध गर्नु नै राष्ट्रवाद होइन । नेपाली जनतालाई बलियो र समृद्ध बनाउने कुरा नै राष्ट्रवाद हो । यही दिशामा हामी अग्रसर हुनुपर्छ । नेपालीकै स्वार्थमा बनेको यो सरकारले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्नेछ ।

यो सरकार नेपालीको हो । नेपालीले निर्माण गरेको सार्वभौम सम्पन्न संसद्बाट सिर्जित सरकार हुनेछ । नयाँ सरकारले भारत र चीन दुवैसँग सुमधुर सम्बन्ध स्थापित गरी अघि बढ्नेछ । चीन र भारत दुवैले गरेका विकासबाट हाम्रो देशलाई पनि समृद्ध बनाउन दुवै देशबाट नयाँ कुरा सिक्न सकिन्छ ।

आरोप २ : ‘माओवादीलाई कांग्रेसले प्रयोग गर्दै’

संसद्मा तेस्रो ठूलो शक्ति माओवादी केन्द्र र हामी मिलेर अहिलेका जटिल समस्यालाई निकास दिन अग्रसर भएका छौँ । ‘प्रयोग’ भन्ने शब्द नै गलत छ । हामी मिलेर अहिलेको समस्या समाधान गर्ने हो । समाजमा सद्भाव गर्ने । राष्ट्रिय एकतालाई बलियो बनाउने । माओवादीमात्रै नभएर सबै दललाई एकताबद्ध बनाएर अघि बढ्नेछौँ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल