महिला अधिकारकर्मी रेणु राजभण्डारीको प्रश्न : इच्छा, स्वीकृति र विभेद बिनाको सम्बन्धमा टाउको दुखाई किन ?

महिला अधिकारकर्मी रेणु राजभण्डारीको प्रश्न : इच्छा, स्वीकृति र विभेद बिनाको सम्बन्धमा टाउको दुखाई किन ?

डा.रेणु राजभण्डारी बेचविखन तथा ओसारपसार, घरेलु हिंसा र यौन हिंसामा परेका महिलालाई समाजमा पुनस्र्थापना गर्ने उद्देश्यले गठित महिला पुनस्र्थापना केन्द्र (ओरेक) की अध्यक्ष हुन् । केही समय अगाडि दासत्वविरोधी संयुक्त राष्ट्रसंघीय कोषको सदस्यमा निर्वाचित राजभण्डारीले रातोपाटीकर्मी आस्था केसीसँग आफ्नो जीवनका आरोह–अवरोह र संस्था गठन आवश्यकताबारे यसरी सुनाइन् :

विद्रोही बाल्यकाल

सिरहाको एउटा गाउँमा जन्मेर विधवा हजुरआमासँग हुर्किएकी हुँ । त्यसैले होला, महिलामाथिको उत्पीडन मैले हजुरआमाको माध्यमबाट राम्रोसँग नियालेँ । महिला त्यसमाथि पनि एकल महिलामाथिका सामाजिक विभेद र अत्याचार देख्दा त्यसको विरोध गर्न मन लाग्थ्यो । अहिले आएर हेर्दा लाग्छ– यो समाजका गलत मान्यताविरुद्धको मभित्र त्यतिबेलै विद्रोह पनि मसँगै हुर्किरहेको रहेछ । हुनेखाने सम्पन्न परिवारमा जन्मिएको भए पनि १३ वर्षमा एसएलसी सकेपछि अब अगाडि नपढाउने बरु बिहे गरेर पठाइदिने परिवारको मान्यताविरुद्ध मेरी आमा एक्लै खडा हुनुभएको थियो । मेरी आमाको त्यो साहसले गर्दा नै आज म डा.रेणुराज भण्डारी भएर यहाँसम्म आइपुगेकी हुँ ।

photo : http://www.kios.fi

photo : http://www.kios.fi

ओझेलको जिन्दगी

मेरी आमाले परिवारसँग विद्रोह गरेर मलाई काठमाडौं लिएर नआएको भए मभित्रकी विद्रोही केटीले के गर्थी कुन्नि म यसै भन्न सक्दिनँ । तर, कति पनि नपढेकी मेरी आमा समाज र परिवारको अगाडि यसरी एक्लै उभिनुभयो कि उहाँको अडानले नै म काठमाडौंको पढाइ सकेर रसिया गएर पढेँ । पछि सँगै पढेको केटासँग परिवारको सहमतिमै बिहे पनि गरेँ । जतिवेला म गर्भवती थिएँ, त्यतिवेलै मेरो श्रीमानको मोटरसाइकल र्दुघटनामा मृत्यु भएको थियो । मैले छोरीलाइ निकै दुखका साथ हुर्काएँ । पछि नेवार थरका एक प्रोफेसरसँग दोस्रो बिहे गरेँ । पछि मेरो एक छोरा जन्मियो ।  बाहुन नेवारको अन्तरजातीय सम्बन्धमा एकातिर म बिधवा हुनुको पीडा र अर्कोतिर मेरो केही फरक काम गर्ने अडानबीचमा आइपुगेपछि हाम्रो दाम्पत्य सम्बन्ध राम्रो हुन सकेन । बितेका दुई वर्षदेखि हामी छुट्टाछुट्टै बसिरहेका छौँ । अब म उहाँलाई डिभोर्स दिने तयारी गरिरहेकी छु । छोराछोरी आ–आफ्नो खुट्टामा उभिएका छन् । फरक पहिचानका साथ बाँचिरहेका छन् ।

कहिलेकाहीँ असफलताले पाठ सिकाएर जान्छन् । जिन्दगीमा धेरै कुरा एक्लै भोग्नुपर्छ । कहिलेकाहीँ एक्लो महसुस भए पनि मेरो उद्देश्यप्रतिको प्रतिबद्धता र समर्पणले फेरि व्युँझिन्छु । मैले कसैको भत्किएको जिन्दगी सम्हालिदिएकी छु, कसैलाई नयाँ जीवन दिएकी छु भन्ने कुराले एउटा भिन्नै गर्वबोध हुने गर्छ । अनि अरू धेरै काम गर्नका लागि आफैँभित्र नयाँ ऊर्जा सँगाल्छु । र, फेरि काममा लाग्छु । एउटा नयाँ दृढतासाथ योजना बनाउँछु र सफलताको अर्को शिखर चुम्नका लागि लालायित हुन्छु । मानिस आफ्नो कामप्रतिको समर्पणले नै सफल हुने गर्छ ।

एक दिन कसैले खबर ल्यायो– नुवाकोटमा एउटी महिला बम्बईको कोठीबाट फर्किएकी छन् रे । खबर पाउनु के थियो । म ती महिलाको खोजीमा झोला बोकेर नुवाकोटतिर हान्निएँ ।

संघर्षपूर्ण यात्रा थालनी

२६ वर्षअगाडिको कुरा हो । त्यतिबेला स्वास्थ्य विभाग टेकुमा डाक्टरका रूपमा कार्यरत थिएँ । हामीलाई एचआईभी एड्ससम्बन्धी रगत परीक्षण गर्नु थियो । धेरै समयदेखि हामीले यस्तो रगत भएको मानिस खोजिरहेका थियौँ । बम्बईको कोठीबाट फर्किएकामा एचआईभी पोजेटिभ हुन्छ रे भन्ने हामीले सुनिरहेका थियौं तर आफैँले त्यस्तो व्यक्ति भेट्टाइरहेका थिएनौँ ।

एक दिन कसैले खबर ल्यायो– नुवाकोटमा एउटी महिला बम्बईको कोठीबाट फर्किएकी छन् रे । खबर पाउनु के थियो । म ती महिलाको खोजीमा झोला बोकेर नुवाकोटतिर हान्निएँ ।

यस्तो थियो बेचिएकी चेलीको कथा

उनी एक दलित परिवारकी केटी थिइन् । उनकी आमाको गर्भमै छँदा उनले दुःख पाउन सुरु गरेकी थिइन् । उनकी आमाको मानसिक अवस्था ठीक थिएन । यत्तिकै बरालिँदै हिँडेकी उनकी आमालाई कसले बलात्कार गरेर उनी गर्भमा आइन्, त्यो कसैलाई थाहा थिएन । जब उनकी आमा गर्भवती छन् भन्ने वरपरकाले थाहा पाए, उनकी आमालाई माइती पुर्याइदिए । माइतीले ‘कसको पेट बोकेर आइस्’ भनेर उनकी आमालाई घरभित्र पस्नै दिएनन् । गोठमा उनको जन्म भयो । उनी गोठमा जन्मिन् र त्यहीँ बामे सर्दै हुर्किन् ।

उनी जब १२ वर्ष टेकिन्, उनका मामाले उनलाई फकाउन सुरु गरे । भान्जी यस्तो दुःखी जिन्दगी के बाँच्छौ, हिँड म तिमीलाइ काठमाडौँ लैजान्छु । उतै काम गर्नु, सिलाइ सिक्नु, पैसा कमाउनू भन्न थाले । धेरै दिन यसरी नै फकाइफुल्याइ गरेपछि एक दिन उनी मामासँग काठमाडौं जान राजी भइन् ।
मामाले उनलाई काठमाडौँ लैजाने भनेर बम्बई पुर्याए । एउटा ठूलो घरमा कोठीवालीकहाँ लगेर फुपू भन्न सिकाएर भने, ‘ल यहीँ बस्नू । म पछि आउँछु ।’ फुपूले जे काम लगाउँछिन्, त्यो गर्नु भनेर उनलाई त्यहीँ छाडेर फर्किएँ ।

केही दिनपछि फुपू भन्नेले ग्राहकको घरमा पठाइदिई । उनले कहिल्यै नचिनेको मान्छेसँग यौनसम्पर्क गर्नुपर्ने भयो । त्यसपछि मात्र उनले थाहा पाइन् कि उनी बेचिएकी थिइन् । उनले यौनसम्पर्क गर्न नमानेपछि उनलाई त्यो ग्राहकले धेरै ठूलो त्यो घरको झ्यालबाट सडकमा फालिदियो । त्यही फुपूले उनलाई अस्पताल लगेर उपचार गराई । ‘बाँच्नु लेखेको रहेछ, त्यसैले नमरेकी रहेछु,’ टाउकाको लामो खत देखाउँदै उनले मलाइ भनेकी थिइन् । त्यसको ६ महिनापछि अस्पतालबाट फर्केर उनै फुपूकहाँ गएकी उनले देहव्यापार सुरु गरेकी रहिछन् ।

करिव ६ वर्ष बाध्यताको यौनधन्दा गरेपछि उनी आफ्नो गाउँ नुवाकोट फर्किएकी थिइन् । यो समाजले आफूलाई अस्वीकार गरेको हुनाले उनी जाने ठाउँ कतै थिएन । उनी फर्केर बम्बई जान पनि चाहँदैनथिन् । तर, बस्ने ठाउँ र गर्ने काम केही थिएन । सबैले उनलाई सार्वजनिक रूपमा वेश्या भनेर गिज्याउँथे । एकान्तमा यौनसम्पर्क गर्न खोज्थे । कोही उनलाई आश्रय दिन तयार थिएन ।

नुवाकोटकी ती महिलाले मलाई सोधिन्– म अपराधी होइन । बाध्यतामा परेर मैले देहव्यापार गर्नुपर्यो । अब म कहाँ जाने ? के तपाईं मलाई संरक्षण गर्न सक्नुहुन्छ ? त्यसपछि म छाँगाबाट खसेजस्तै भएँ ।

जिन्दगीको टर्निङप्वाइन्ट

नुवाकोटकी ती महिलाले मलाई सोधिन्– म अपराधी होइन । बाध्यतामा परेर मैले देहव्यापार गर्नुपर्यो । अब म कहाँ जाने ? के तपाईं मलाई संरक्षण गर्न सक्नुहुन्छ ? त्यसपछि म छाँगाबाट खसेजस्तै भएँ । मैले मानिस यतिसम्म दुःखी र विवश पनि हुँदारहेछन् भन्ने थाहा पाएँ । त्यस्ता दःुखीका लागि म केही गर्न सक्दिनँ भन्ने पिरलोले सतायो । ती महिलालाई केही किनेर खाऊ भनेर पाँच सय रुपैयाँ दिएर रुँदैरुँदै काठमाडौं फर्किएँ ।

नुवाकोटबाट फर्केर म १० दिनसम्म कोठा थुनेर रोइरहेँ । सानो छोरा दुई वर्षको थियो । उसलाई हेर्न मन पनि नलाग्ने, खाना खान पनि मन नलाग्ने, श्रीमान्को अनुहार हेर्न पनि मन नलाग्ने, कसैसँग बोल्न मन पनि नलाग्ने भइरह्यो । त्यस्ता सहाराविहीन पीडित महिलालाई केही गर्न नसक्नुको पीडाले मलाई हीनताबोध गराइरहेको थियो । मलाई केही गर्न नसक्नुको पीडाबोधमात्र भइरहेको थियो ।

एक दिन श्रीमान्ले मेरा केही साथीलाई घरमा बोलाउनुभएछ । त्यहाँ मसँग टेकुमा काम गरिरहने सहकर्मी साथीहरू हुनुहुन्थ्यो । त्यसमध्येका एकजना प्रशासकीय अधिकृत आत्माराम पाण्डेय मेरो निकै आत्मीय सहकर्मी हुुनुहुन्थ्यो । मैले केही गर्न सकिन भनेर उहाँलाई अँगालो हालेर रोएपछि उहाँले नै महिला पुनस्र्थापना केन्द्र खोलेर त्यस्ता महिलाको पक्षमा काम गर्न सुझाउनुभयो । मलाई उहाँको सुझाव राम्रो लाग्यो । २६ वर्ष अगाडि यसरी झोला बोकेर हिँडेकी म आजसम्म पनि हिँडिरहेकै छु ।

यसरी गरियो सुरुवात

म त्यतिबेला ३० वर्षकी थिएँ । एनजीओबारे केही थाहा थिएन । तीन स–साना छोराछोरी थिए । त्यतिबेला पैसा पनि थिएन । मैले भनेको मान्ने सातजना महिला साथीले सबै गहना बैंकमा बन्धकी राखेर ६० हजार ऋण निकालेका थियौँ । महिनाको १२ हजार भाडा तिर्नेगरी शंखमुलमा एउटा घर भाडामा लिएर पाँचजना त्यस्तै पीडित र सहाराविहीन महिलालाइ राखेर २०४७ चैत १९ गतेबाट महिला पुनस्र्थापना केन्द्रको विधिवत् सुरुवात गरेकी हुँ ।
त्यसपछि मैले नुवाकोटकी ती महिलालाई खोजेँ तर भेट्न सकिनँ । स्पष्ट थियो, उनी यता कतै बाँच्न नसकेर फेरि बम्बईतिरै फर्किएकी होलिन् । अरू त्यस्तै महिला आउने जाने गरिरहन्थे । सुरु–सुरुमा पैसाको निकै संकट परिरहन्थ्यो । तर पनि जसोतसो गरी चलाएर आजको अवस्थासम्म पुगेको हो । अहिले बालकुमारीमा आफ्नै भव्य घर बनेको छ । देशका मुख्य–मुख्य १२ ठाउँमा महिला पुनस्र्थापना केन्द्रका शाखा कार्यालय सञ्चालनमा रहेका छन् ।

समाजमा महिलालाई हेर्ने दृष्टिकोणले गर्दा महिला बेचविखन हुने गरेको हो । महिलालाई जे गरे पनि हुने परम्परावादी, पितृसत्तावादी र पुरुषवादी हैकमले नै आज महिलाको यो गति भएको हो । गरिब र दलितलाई हेर्ने हाम्रो समाजको दृष्टिकोणले पनि त्यहाँ काम गरेको छ । हामीले मुख्य कारणलाई पहिचान गरेर त्यसैको विरुद्धमा लाग्न जरुरी छ ।

जटिल बन्दै बेचविखन

नेपालमा खुला सीमाका कारण महिला बेचविखन बढेको होइन । खुला सीमाका कारण बरु महिला बेचविखन गर्ने अपराधीलाई चिन्न सजिलो भएको हो । खुला सीमाका कारण बरु नेपाली महिलाले बाँच्नका लागि जीविकोपार्जन गर्न केही सहज भएको छ । उताबाट केही रुपैयाँ सस्तोमा लिएको तरकारी यता केही रुपैयाँ बढाएर बिक्री गरेका छन्, आम्दानी गरेका छन् । जसले उनीहरूलाई बाँच्न केही सहज भएको छ । खुला सीमाका कारणले महिला वेचबिखन बढेको छ भन्नु सरासर गलत छ ।

महिला बेचविखन रोक्ने बहानामा सीमामा बसेर सुकिला लुगा लगाएका महिलालाई जान दिने तर मैला लुगा लगाएका महिलालाई रोकेर प्रश्न गर्ने अधिकार कसले दिएको हो, यो उदेकलाग्दो कुरा हो । कतिपय संस्थाले यसरी सीमामा चेकप्वाइन्ट नै राखेर बसेको देख्दा अचम्म लाग्छ । उनीहरू अलि बोल्न सक्ने र हुनेखानेजस्तो देखिने महिलालाई सजिलै जान दिन्छन् तर गरिब परिवारका जस्ता देखिने महिलालाई रोकेर प्रश्न गर्छन् । काम गर्ने यस्तो तरिका गलत होइन र ।

समाजमा महिलालाई हेर्ने दृष्टिकोणले गर्दा महिला बेचविखन हुने गरेको हो । महिलालाई जे गरे पनि हुने परम्परावादी, पितृसत्तावादी र पुरुषवादी हैकमले नै आज महिलाको यो गति भएको हो । गरिब र दलितलाई हेर्ने हाम्रो समाजको दृष्टिकोणले पनि त्यहाँ काम गरेको छ । हामीले मुख्य कारणलाई पहिचान गरेर त्यसैको विरुद्धमा लाग्न जरुरी छ । सीमा बन्द गरेर बेचविखन बन्द हुने भए आज अफगानिस्तान र इराकमा नेपाली मर्नुपर्ने थिएन । सरकारले प्रतिबन्ध गरेका देशमा पनि मानिस पुगेकै छन् त । मानिसको अवस्था के छ त भन्ने नबुझीकनै उनीहरूलाई सीमामा समात्नु भनेको मानवअधिकारको गम्भीर उल्लंघन हो । हामीले गर्ने भनेको त उनीहरूको गरिबी हटाउने हो । महिलालाई बलियो बनाउने हो । उनीहरूलाई सचेतना दिने हो । उनीहरूको आत्मविश्वास जगाउने काम गर्ने हो ।

अहिले सबैभन्दा धेरै बेचविखन गल्फ कन्ट्रीमा भइरहेको छ । बेचविखन खालि देहव्यापारका लागि मात्र होइन अरू प्रयोजनका लागि पनि हुने गरेको छ । अहिले सरकार सबैभन्दा ठूलो बेचविखनकर्ता बनेको छ । आज विदेशमा लाखौं नेपाली बेचिइरहेका छन् । यो खुला सीमाका कारण होइन, सरकार निकम्मा र गैरजिम्मेवार भएर भएको हो ।

बितेका २६ वर्षमा देशमा धेरै परिवर्तन भएको छ । महिलाको जीवनमा परिवर्तन भएको छ । पहिलेभन्दा महिला धेरै सचेत भएका छन् । पढेलेखेका छन् तर रोजगारीको विकल्प केही छैन । अहिले त हाकाहाकी पैसा तिरेर महिला बेचिइरहेका छन् । महिलाले कुरो नबुझेर, गरिब भएर वा काम गर्न नसकेर बेचविखन भएको होइन, महिलालाई जसरी पनि प्रयोग गर्न मिल्छ भन्ने सोचले बेचविखन बढेको हो ।

महिला घरबाहिर निस्कनबित्तिकै यौनसम्पर्क गर्न जान्छन् भन्ने बुझाइ हटाउनुपर्छ । महिलाले कसैसँग आफ्नो इच्छा, स्वीकृति र विनाकुनै विभेद यौनसम्पर्क नै गरिन् भने पनि संसारलाई टाउको दुख्नुपर्ने कुनै कारण छैन । हाम्रो समाजले परिवारको इज्जत महिलाको योनीमा लगेर राखिदिएको छ । महिलाको योनीले परिवारको इज्जत थेग्नुपर्ने भएको छ ।

बेचविखन एउटा प्रक्रिया हो । कति रोजगारीका बहानामा बेचविखनमा परेका छन् । कोरियामा कति महिला बिहे गरेरै बेचिएका छन् । कामको क्षेत्र हेर्नुपहिले प्रक्रिया हेर्नै जरुरी हुन्छ । जुन प्रक्रियामा महिला बेचविखनमा परेर दासत्वपूर्ण जिन्दगी बाँच्न विवश हुन्छन् । त्यो बेचविखन पनि बेचविखन हो ।

कसरी रोक्न सकिन्छ बेचविखन

यसलाई रोक्ने भनेको व्यापक महिला सशक्तीकरणबाटै हो । महिलाको कामलाई सम्मान गर्नुपर्यो । महिलाको शरीरलाई हेर्ने दृष्टिकोण बदलिनुपर्छ । यो खालि उपभोगको वस्तु हो भनेर हेर्नु भएन । काम स्थापित हुनुपर्छ ।

महिला घरबाहिर निस्कनबित्तिकै यौनसम्पर्क गर्न जान्छन् भन्ने बुझाइ हटाउनुपर्छ । महिलाले कसैसँग आफ्नो इच्छा, स्वीकृति र विनाकुनै विभेद यौनसम्पर्क नै गरिन् भने पनि संसारलाई टाउको दुख्नुपर्ने कुनै कारण छैन । हाम्रो समाजले परिवारको इज्जत महिलाको योनीमा लगेर राखिदिएको छ । महिलाको योनीले परिवारको इज्जत थेग्नुपर्ने भएको छ । यस्तो वातावरण अन्त्यका लागि स्वयम् महिला जागरुक बन्न जरुरी त छ । सरकारले नै यसका लागि गम्भीर भएर नीति बनाउन आवश्यक छ । महिलाले गरेका कामको सम्मान गर्ने वातावरण बनाउन सरकारका निकाय नै लाग्नुपर्छ । पुरुष र महिलालाई उनीहरूको क्षमता र योग्यताअनुसारको रोजगारी दिने हो भने महिला बेचविखनमात्र होइन, महिलामाथिको उत्पीडन अन्त्य हुने विश्वास मलाई छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल