अनशनले अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुन्छ : कार्यकारी निर्देशक, टिचिङ अस्पताल

असार १९  |   प्रा.डा. दीपकप्रकाश महरा, कार्यकारी निर्देशक, टिचिङ अस्पताल

अनशनले अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुन्छ : कार्यकारी निर्देशक, टिचिङ अस्पताल

DIPAK-MAHARAडा. गोविन्द केसीले सुरुको दिनमा टिचिङ अस्पताल र इन्स्टिच्युटभित्रका समस्या दर्साउँदै सुधारका विषयमा सरकारसँग माग गर्नुभएको थियो । जहाँसम्म त्यसमा धेरैको साथ समर्थन रहेको देखिन्थ्यो । उहाँले उठाएका विषयहरु अस्पतालको सुधारका लागि थिए । तीमध्ये केही सुधार पनि भएका छन् । एमबीबीएस पठन पाठनमा निजी कलेजको शुल्क निर्धारण, वार्षिक सिट सङ्ख्या तोक्ने कुरा, प्रभावकारी र गुणस्तरीय शैक्षिक वातावरणका साथै सहज, सर्वसुलभ स्वास्थ्य सेवाका विषयमा केही सुधार भएको पनि देखिन्छ । तर उहाँले यतिबेला नेसनल लेभलमा गएर थप धरै विषयहरु प्रवेश गरेर माग उठाउनुभएको छ । त्यसमा कति ठीक वा बेठीक भन्नुभन्दा पनि हामी चिकित्सकले गर्नुपर्ने मुख्य जिम्मेवारी के हो भन्ने कुरा बढी महत्वपुर्ण हुन्छ भन्ने मलाई लाग्छ ।

उहाँले उठाउनुभएको कदम उहाँको व्याक्तिगत स्वतन्त्रताको कुरा पनि होला तर डाक्टर केसीले गरेका हरेका कामहरु टिचिङ हस्पिटलसँग जोडिनु हुँदैन भन्ने मेरो भनाइ हो । उहाँले सिङ्गो स्वास्थ्य क्षेत्रमा सुधारको कुरा गरिरहनु भएको छ, त्यो राम्रो पक्ष पनि हो । तर बिरामीलाई स्वास्थ्य सेवा दिने काम नै जुनसुकै डाक्टरको पहिलो कार्तव्य हुन्छ । एउटा हस्पिटलको डाक्टरले सिङ्गो स्वास्थ्य क्षेत्रको सुधारका लागि सुन्दर माग राखेर पटक पटक आन्दोलित हुँदा त्यस्ले चिकित्सा क्षेत्रमा नकारात्मक असरहरु समेत पार्न सक्छ । यसबारे सबैले सचेत हुनु जरुरी हुन्छ । कतिपय अवस्थामा डाक्टरको पदीय मर्यादा र कर्तव्यका कुराहरु गरिरहँदा हामी आफै पनि कतै चुकेका हुन्छौँ । हाम्रै कारणले एउटा बिरामी उपचारबाट वञ्चित भइरहेको हुन्छ । समयमै उपचार नपाए ज्यान जोखिममा पर्न सक्छ । यस्तो संवेदनशील क्षेत्रमा काम गर्ने हामी डक्टरहरुले आन्देलनको बाटो भन्दा आफैबाट सुधारको अभियान चलाउनु राम्रो विकल्प हुनसक्छ ।

स्वास्थ्य क्षेत्रमा तमाम विकृतिहरु रहेका छन्, त्यो सत्य हो । के त्यसमा हाम्रो जिम्मेवारी छैन ? हामीले नै पो स्वस्थ्य सेवामा कही बदनामी गरेका छौँ कि ? आफ्नो जिम्मेवारी र मर्यादा बिर्सेर अर्कै बाटोमा दौडिएका छौँ कि ? हामी सबैले आफ्नो जिम्मेवारी सही तरिकाले बहन गर्ने हो भने मात्र पनि स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन हुन्छ । मलाई लाग्छ त्यसका लागि बारम्बार आन्दोलन मात्रै गर्नुभन्दा व्यावसायिक सुधारको अभियान चलाउनु जरुरत छ । हामीले राज्यसँग माग्ने मात्र होइन, राज्यलाई राम्रो काम गरेर उसलाई पाठ सिकाउन सक्नुपर्दछ । त्यसका लागि हामीले सुरुवात हाम्रै कार्यक्षेत्रबाट गरेर स्वास्थ्य सुविधालाई सफलतापूर्वक प्रदान गर्ने कोशिस किन गर्दैनौँ ? यो प्रश्न गम्भीर रुपमा हामीबीच यतिबेला उठेको देखिन्छ ।

डा. गोविन्द केसी टिचिङ अस्पतालको डक्टर हुनुहुन्छ । उहाँ अनशनमा बसेको बेलाबाहेक अरु बेलामा आफ्नो काममा खटेर लाग्नुहुन्छ । उहाँले विभिन्न मागहरु राखेर सात पटकसम्म अनशन बस्ने काम गर्नुभएको छ । बाहिर सुनिएअनुसार उहाँ फेरि आठौं पटक अनशन बस्दै हुनुहुन्छ रे । व्यक्तिगत स्वतन्त्रताका हिसाबले उहाँलाई राज्यसँग माग राख्ने, आन्दोलन गर्ने सबै छुट होला तर अस्पतालको स्वास्थ्य सेवा वितरणको आधारमा हेर्ने हो भने यसबाट धेरै बिरामीहरुलाई प्रत्यक्ष असर पर्दछ । सेवा दिने डाक्टरकै आन्दोलनका कारण बिरामीहरुले समयमा सम्बन्धित रोगको लागि तोकिएको योग्य, क्षमतावान डाक्टर पाउन नसक्ने अवस्था सिर्जना हुनु पेसागत मर्यादा विपरीतको अवस्था हो ।

स्वास्थ्य क्षेत्रको दिगो परिवर्तन गर्ने हो भने पहिले हामी हरेकले आफ्नो काम, कर्तव्य र पदीय मर्यादाको पालना गर्नैपर्दछ । एउटा इन्जिनियरले इन्जिनियरकै जिम्मेवारी लिनु पर्दछ । जसरी सुरक्षाको जिम्मेवारी सुरक्षा निकायहरुले नै लिनुपर्छ त्यसैगरी जनताको स्वास्थ्य सेवाका लागि हामीले नै सबैभन्दा महत्वपूर्ण जिम्मेवारी लिने हो । आफ्नो ठाउँबाट सकेजति स्वास्थ्य सेवा प्रदान गर्नु नै हाम्रो काम हो । त्यसलाई भुलेर हामीले अर्को भूमिका निर्वाह गर्दा यस क्षेत्रमा थप उल्झन, समस्या आउन सक्छन् । एउटा डक्टरको लागि आफ्नो कार्यक्षेत्रमा बसेर स्वास्थ्य सेवा प्रदान गर्नुभन्दा बढी जिम्मेवारी अरु काम हुन सक्दैन । हामी अरुलाई आरोप र आलोचित गर्नुको साटो आफूले राम्रा कुराहरु लागू गरेर पनि सुधार गर्न सकिन्छ भन्नेतिर सोचिरहेका छैनौँ । तर सबैभन्दा महत्वपूर्ण कुरा भनेकै सुधारका लागि सुरुवात आफूबाट गर्नु हो ।
हस्पिटलमा बिरामीहरुको चाप बढेसँगै स्वास्थ्य सेवा दिने डाक्टरहरु आन्दोलित हुँदा निश्चित रुपमा सेवा प्रभावकारी हँुदैन । त्यसबाट कति बिरामी सेवा पाउनबाट वञ्चित हुन्छन होला, हामीले यो दृष्टिकोणबाट पनि सोच्नुपर्दछ । जनताले कुनै दिन हामी डाक्टरसँग तपाईंहरुको काम स्वास्थ्य सेवा दिने कि आन्दोलन गर्ने भनी प्रश्न गर्ने अवस्था आउनु हुँदैन । हामीमाथि कर्तव्य र जिम्मेवारीको प्रश्नसमेत उठ्नु हुँदैन । यसले चिकित्सा क्षेत्रको ठूलो कमजोरी प्रदर्शन गर्दछ ।

टिचिङमा राजनीतीकरण भएको छैन
टिचिङको विषयमा भन्नुपर्दा मैले यहाँ कुनै राजनीतिक पार्टीको प्रभाव वा दबाब महशुस गरेको छैन । मैले २०७१ जेठदेखि यस अस्पतालको कार्यकारी निर्देशक भएर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छु । यो दुई वर्षको दौडानमा कसैको सरुवा, बढुवा, सेवा, सुविधा लिने दिने विषयमा राजनीतिक भाग बन्डा भएको थाहापाएको छैन । म आफ्नो काम र जिम्मेवारी इमानदारीतापूर्वक गर्नुपर्छ भन्ने मान्यता राख्दछु । परिवर्तन आफूबाट सुरुवात गर्नुपर्छ भन्ने मेरो धारणा छ । मैले कुनै राजनीतिक पार्टीको टीका लगाएकै भरमा स्वास्थ्य नीतिविपरीत कोही कसैलाई कुनै पदमा राखेकोे छैन । मन्त्रालयले नियम प्रकृयाअनुसार नै मेरो र अरु सबै डिपार्ट मेन्ट चिफ अनि डाक्टरहरुको नियुक्ति भएको हो ।

तसर्थ अस्पतालमा राजनीतीकरण छ भन्ने कुरा जसले भनिरहेको छ । उसले किन भन्यो, उसको असन्तुष्टि के हो त्यो मलाई थाहा भएन ।
अर्को कुरा संस्थाको नीतिमा व्याक्ति, कर्मचारी चल्नुपर्ने हो कि एउटा व्यक्तिको भनाइमा संस्था चल्ने हो ? त्रिभुवन विश्वविद्यालयको रातो किताबले तोकिएको नीति बाहिरबाट टिचिङ अस्पतालमा कार्यरत कोही पनि राजनीतिक भाग बन्डाबाट आएको मलाई थाहा छैन ।

डा. केसीकोे अनशनले अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुन्छ

डा. गोविन्द केसी टिचिङ अस्पतालको डक्टर हुनुहुन्छ । उहाँ अनशनमा बसेको बेलाबाहेक अरु बेलामा आफ्नो काममा खटेर लाग्नुहुन्छ । उहाँले विभिन्न मागहरु राखेर सात पटकसम्म अनशन बस्ने काम गर्नुभएको छ । बाहिर सुनिएअनुसार उहाँ फेरि आठौं पटक अनशन बस्दै हुनुहुन्छ रे । व्यक्तिगत स्वतन्त्रताका हिसाबले उहाँलाई राज्यसँग माग राख्ने, आन्दोलन गर्ने सबै छुट होला तर अस्पतालको स्वास्थ्य सेवा वितरणको आधारमा हेर्ने हो भने यसबाट धेरै बिरामीहरुलाई प्रत्यक्ष असर पर्दछ । सेवा दिने डाक्टरकै आन्दोलनका कारण बिरामीहरुले समयमा सम्बन्धित रोगको लागि तोकिएको योग्य, क्षमतावान डाक्टर पाउन नसक्ने अवस्था सिर्जना हुनु पेसागत मर्यादा विपरीतको अवस्था हो ।

निश्चितरुपमा अस्पतालको सेवा सुविधामा यसले असर पर्दछ । यसले स्वास्थ्य क्षेत्रको पठनपाठनमा, बिरामीहरुको स्वास्थ्य सेवामा नकारात्मक असर पार्दछ । हामीले यो विषयमा पटक पटक छलफलसमेत गरेका छौँ । अस्पतालको डाक्टर अनशनमा बसेको छ भन्ने कुराको म्यासेज जनतामा, हस्पिटलमा आन्दोलन चलेको छ भन्ने ढङ्गले परेको हुन्छ । त्यति बेला बिरामीहरुले सरकारी स्पतालबाट सहुलियतमा स्वास्थ्य सुविधा पाउने अवस्थाबाट वञ्चित हुनुपर्ने हुन आउँछ र बिरामीहरु महँगो शुल्कमा सेवा लिन बाध्य हुन्छन् । यो कुरा सम्बन्धित साथीहरुले बुझ्नु पर्दछ ।

TEACHING-DOCTERडाक्टरको पहिलो जिम्मेवारी स्वास्थ्य सेवा दिनु हो
म अर्थोपेडिक डक्टर हुँ । मलाई कुनै पनि डक्टरको पहिलो जिम्मेवारी स्वास्थ्य सुविधा दिनु नै हो भन्ने लाग्छ । अस्पतालले बिरामीहरुकोे विभिन्न रोग र अङ्गहरुको स्वास्थ्य उपचारका लागि, विभिन्न डिपार्ट मार्फत वरिष्ठ, अनुभवी डक्टर उपलब्ध हुने गरी सेवा प्रवन्ध मिलाएको हुन्छ । अस्पतालको सेवा समूहिक प्रकृयाद्वारा मात्र प्रभावकारी र सफल हुन सक्दछ । उपचारका क्रममा जिम्मेवारी लिएको एक जना डक्टर मात्र सिरियस भएन र अरु काम वा भूमिकामा अल्झियो भने त्यसको प्रत्यक्ष असर स्वास्थ्य सेवाको प्रभावकारितामा पर्न जान्छ । डाक्टरले बिरामीको उपचार र स्वास्थ्य सेवा प्रदान गर्नु आफ्नो परम कर्तव्य नसम्झेसम्म स्वास्थ्य क्षेत्रमा नीति र प्रकृया जे लेखे पनि केही सुधार हुँदैन ।

समाजमा हरेक क्षेत्रका मानिसहरुको आआफ्नो जिम्मेवारी हुन्छ । हाम्रो आधारभूत जिम्मेवारी स्वास्थ्य सेवा दिनु हो । असल र मर्यादित चिकित्सकले स्वास्थ्य सेवा प्रभावित हुने काममा नलागी आफ्ना व्यक्तिगत सोच र चाहनाभन्दा माथि उठेर हाम्रो चिकित्सकीय भूमिका निर्वाह गनुपर्दछ ।

अस्पतालमा भएका सुधारहरु
१. करिब ३४÷३५ वर्षको उमेरमा पुगेको अस्पताल ३०१ बेडबाट आफ्नो क्षमता बढाउदै ७०० बेड विस्तार गर्न सफल भएको छ ।
२. दरबन्दी सङ्ख्या कम रहेकाले हामीले पहल गरेर अहिलेको अस्पतालको सेवा, सुविधा, आवश्यकता र बेडको क्षमता अनुसार डाक्टरको दरबन्दीबारे सरकारसँग गत वर्ष एउटा अध्यन रिपोर्ट तयार गरी माग गरेका थियौँ । त्यसको आधारमा केही दरबन्दी सङ्ख्या त्यति बेला थपिएको छ र यस वर्ष पनि सङ्ख्या थप्न माग गरेका छौँ ।
३. अस्पतालमा सेवा लिन आएका बिरामीहरुले कुन डाक्टर कति नम्बर कोठामा बस्नुहुन्छ, कुन कोठा कता छ, कुन सेवाको कति शुल्क पर्छ भन्ने बारेमा सहज जानकारी पाउन भनेर ठाउँ ठाउँमा बोर्डहरु राख्ने काम गरेका छौँ ।
४. हस्पिटलको मेडिकल रेकर्डलाई सुरक्षित राख्न र सूचना दिने कामलाई व्यावस्थित गर्नका लागि हामी आईटी प्रविधिमा जाने तयारी गरिराखेका छौँ । टेन्डर प्रकृयामा छौँ ।
५. अस्पतालबाट निस्कने सबैखाले फोहोरलाई स्वास्थ्य मन्त्रालय र डब्लुएचओको मापदण्डअनुसार व्यावस्थित गर्न वैज्ञानिक प्रविधिको प्रयोग गर्दैछौँ ।
६. अस्पतालको अन्य व्यावस्थापनका लागि बेला बेलामा छलफल गर्ने गरेका छौँ ।
७. अस्पतालमा १.४ मेगावाट विद्युत प्रतिदिन खपत हुन्छ, लाइन नभएको बेलामा विद्युतकै कारण सेवा प्रवाहमा समस्या हुने भएकाले हामीले सरकारलाई ध्यानाकर्षण गरायौँ । सरकारसँग छलफल गरी वैकल्पिक ऊर्जामार्फत तीन फेजमा लाइन वितरण हुने गरी सोलार जडान गरिएको छ ।
८. सरकारसँग स्वास्थ्य सेवालाई थप प्रभावकारी गराउन आर्थिक सहयोगको माग गरेका छौँ ।
९. अस्पतालमा आवश्यक पर्ने इक्युप्मेन्ट र स्वास्थ्य प्रविधिहरुका लागि जापान सरकारसँग एक अरब बराबरको सामग्रीको सम्झौता गरेका छौँ । २०१७ अगस्टसम्म नयाँ एमआरआई लगायतका मेसिनहरु ल्याउने कुरा भएको छ ।
१०. अस्पतालमा बिरामीलाई सबैखाले सुविधा दिने गरी व्यावस्थापन गरिएको छ ।

अस्पतालमा अनशन नबस्न आग्रह
डा. गोविन्द केसीलाई अस्पतालको डाइरेक्टरको हैसियतले मैले उहाँका सुरुवातका अनशनदेखि नै अस्पताल क्षेत्रमा आन्दोलनका कुनै पनि कार्यक्रम नगरिदिनुस भन्दै आएको छु । म डाइरेक्टर भएपछि उहाँ ३ पटक अनशन बस्नुभयो मैले तीन पटक नै पत्र काटेर उहाँलाई त्यस व्यहोराको अनुरोध गरेको थिएँ । उहाँ अस्पताल हाताभित्र नै अनशन बसिसकेपछि पनि मैले उहाँलाई अस्पताल हातामा कुनै पनि आन्दोलनका कार्यक्रम गर्न नपाइने भएकाले छोड्न चिठी लेखेको थिएँ । अब फेरि पनि उहाँको आन्दोलन कतै बाहिर गर्नुस, अस्पतालका काम प्रभावित हुने गरी अस्पताल क्षेत्रमा नगर्न उहाँलाई अनुरोध गर्दछु ।
मैले उहाँलाई तपार्इंले सरकारसँग गर्नुभएको मागका विषयमा अरु नै बाटो खोज्नुस् । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा तपाईंको आन्दोलनले नराम्रो प्रभाव पार्ने भएकाले वार्ता वा अरु माध्यम रोज्नुस भन्दै आएको छु । उहाँको पदीय जिम्मेवारी त्रिवि टिचिङ अस्पतालको प्राध्यापक डा. भएकाले उहाँले गर्ने आन्दोलनबाट अस्पतालका कामहरु प्रभावित हुनु हुँदैन, यो उहाँले पनि बुझ्नुपर्ने कुरा हो । यहाँको त्यो आन्दोलन टिचिङ अस्पतालसँग सम्बन्धित छैन ।

(टिचिङ अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दीपकप्रकाश महरासँग रातोपाटीकर्मी लोकराज जैसीले गत शुक्रबार गरेको कुराकानीमा आधारित)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल