कोइराला परिवारको विरासत : ८० वर्षमा समेत लीलाको सक्रिय राजनीति

कोइराला परिवारको विरासत : ८० वर्षमा समेत लीलाको सक्रिय राजनीति

लीला कोइराला काँग्रेस नेतृ हुन् । कोइरालाका श्रीमान् सरोज कोइरालाको २०३० मा तत्कालीन पञ्चायती सरकारले षड्यन्त्रपूर्वक हत्या गरेको थियो । २०१५ का सांसद, जनकपुरका लोकप्रिय नेता कोइरालाको हत्यापछि उनको सपना पूरा गर्न राजनीतिमा होमिएकी लीला ८० वर्षकी भइन् । पटक–पटक मन्त्री र सांसद भएकी उनी अहिले सांसद छिन् । पाको उमेरमा पनि सक्रिय राजनीति गरिरहेकी कोइरालासँग रातोपाटीकर्मी आस्था केसीले व्यक्तिगत र राजनीतिक जीवनका अनुभूतिबारे कुराकानी गरेकी छन् ।

lila koirala (1)श्रीमान्को हत्यापछि राजनीतिमा

कक्षा आठमा पढ्ने बेला जनकपुरका सरोज कोइरालासँग बिहे भएपछि भने राजनीति बुझ्दै गएँ । मातृका, बीपी र गिरिजाप्रसाद मेरो काका ससुरा पर्नुहुन्थ्यो । घरमा जहिल्यै पार्टीका मान्छेको जमघट भइरहन्थ्यो । उहाँहरूको कुरा सुन्दासुन्दै ममा राजनीतिक चेतना बढ्दै गएको थियो । श्रीमान्ले पनि धेरै कुरा सिकाउने, बुझाउने गर्नुहुन्थ्यो ।

श्रीमान् धेरैजसो पार्टीका काममा हिँडिरहनुहुन्थ्यो । किसान र मजदुरका हक–अधिकारका कुरा गरिरहनुहुन्थ्यो । जेल पनि परिरहनुहुन्थ्यो । उहाँ परिवारको एक्लो छोरा हो । आमा वृद्धा अवस्थामा हुनुहुन्थ्यो । बुवाको धेरै पहिले निधन भइसकेको थियो । मैले कष्टसाथ सासुआमालाई स्याहारेकी थिएँ ।

श्रीमान्को हत्या गरिएपछि ममाथि धेरै जिम्मेवारी थपिए । पहिले त उहाँ हुनुहुन्छ भन्ने आशा थियो । उहाँ नभए पनि मलाई उहाँको भरोसा थियो । कहिलेकाहीँ जब उहाँ घर आउनुहुन्थ्यो, सुखदुःखका कुरा हुन्थे । नेपालमा प्रजातन्त्र आइसकेको भए पनि जनताले मुक्ति पाइसकेका छैनन्, जनताको जीवनमा परिवर्तन आएको छैन । त्यसैले वास्तविक प्रजातन्त्रका लागि निरन्तर आन्दोलनमा लाग्नुपर्छ भन्नुहुन्थ्यो । मैले उहाँलाई घर छाडेर राजनीतिमा नलाग्नुस् भनेर कहिल्यै भन्न सकिनँ । जति अप्ठ्यारा आए पनि म एक्लै समाधान गर्छु, उहाँलाई राजनीति गर्नु नै ठीक छ भन्ने लाग्थ्यो । जब डाँकाले उहाँको हत्या गरे, तब म सबै हिसाबले एक्ली भएँ । यस्तो अवस्थामा पार्टीमात्र मेरो अभिभावक थियो । ०३० बाट मैले पनि राजनीति सुरु गरेकी हुँ ।

श्रीमान्को षड्यन्त्रपूर्वक हत्या

काँग्रेसको बिर्ता उन्मूलन अभियानको नेतृत्वकर्ता मेरो श्रीमान् सरोज कोइराला हुनुहुन्थ्यो । त्यतिबेला किसानले उत्पादनको १६ मध्ये नौ भाग भूमिपतिलाई बुझाउन बाध्य थिए । ती उत्पीडित किसानको हक स्थापनाका लागि मेरो श्रीमान्को नेतृत्वमा ‘खडे बटैया’ आन्दोलन भएको थियो । यो आन्दोलन किसानको नेतृत्वमा मोहियानी हक स्थापना गर्ने नेपालको पहिलो किसान आन्दोलन थियो । यसैको परिणामस्वरूप किसानले उत्पादनमा आधा अर्थात् ५० प्रतिशत हक पाएका थिए ।

उहाँले ०१५ को आमनिर्वाचनमा महोत्तरीबाट अत्यधिक बहुमत ल्याएर जित्नुभएको थियो । ००४ मा विराटनगरमा भएको मजदुर आन्दोलनका कारण राणाले उहाँलाई जेल हालेका थिए । पार्टीले राणा शासनविरुद्धमा क्रान्तिको शंखघोष गर्ने बेला उहाँ जेलमै हुनुहुन्थ्यो । क्रान्तिमा लागेर जनताको मुक्तिका लागि लगाउनुपर्ने महत्वपूर्ण समय जेलमा बिताउनुपर्दा उहाँलाई जेल विद्रोह गर्न मन लागेको रहेछ । त्यसैले सशस्त्र क्रान्तिको आह्वान भएको छैंटौं दिन पाँचजना साथीसहित जेल तोडेर जयनगर पुगी पार्टी काममा लाग्नुभयो ।

lila koirala 3
उहाँकोे हत्या ०३० कात्तिक २ गते भारतको मधुवनीमा भएको हो । निर्वासनमा रहेको बेला तत्कालीन अञ्चलाधीश लीलाराज विष्टको योजनामा जेलबाट भगाइएका केही आपराधिक डाँकाले उहाँको हत्या गरेका थिए । त्यो हत्यासम्बन्धी मुद्दा भारतीय अदालतमा अझै अनिर्णित नै छ । उहाँको हत्या भएको चार दशकभन्दा बढी भइसकेको छ । हत्यारालाई अझै कारबाही हुन सकेन ।

हत्या भएको दिन पार्टीकै केही मान्छेले उहाँ सिकिस्त बिरामी हुनुहुन्छ, तपाईं जानुपर्यो भनेर खबर ल्याएका थिए । चार छोराछोरी र बूढी भएकी सासुआमालाई लिएर म उहाँलाई भेट्न जाँदा हत्या भइसकेको थियो । उहाँको ‘डेथ बडी’ आफ्नै गाउँ ल्याएर दाहसंस्कार गर्ने मन थियो तर उहाँको लोकप्रियताबाट डराएको तत्कालीन पञ्चायती सरकारले अनुमति दिएन । भारतको कमला नदीमा उहाँको दाहसंस्कार गरियो । काका गिरिजाप्रसाद कोइरालाले उहाँलाई दागबत्ती दिनुभएको हो ।

किरियाकर्म आफैँले गरेँ

त्यतिबेला महिलालाई किरियाकर्म गर्न दिने चलन थिएन । मलाई पनि आफन्त र पण्डितले किरियाकर्म गर्न दिएनन् । मेरो श्रीमान्को किरियाकर्म आफैँले गर्ने इच्छा थियो । त्यसैले उहाँको किरियाकर्म म आफैँलाई गर्न दिइयोस् भनेर अड्डी कसेँ । पण्डितले शास्त्रले दिँदैन जिद्दी नगर भनेर गर्न दिएनन् । म पनि पछि हट्नेवाला थिइन । कुन शास्त्रको कुन ठाउँमा महिलाले किरियाकर्म गर्नुहुँदैन भनेर लेखेको छ ? मलाई देखाउनोस् भनेर अडान लिएँ ।

उहाँहरूले कुनै शास्त्र देखाउन सक्नुभएन । शास्त्रमा महिलाले यो काम गर्नुहुँदैन भनेर लेखिएको थिएन । यो त तत्कालीन समाजका नाइकेले महिलामाथि शासन गर्न बनाएको चलन थियो । महिलाले गरेको किरियाकर्म शुद्ध हुँदैन भनेर बाहुन राख्ने चलनको मैले बहिष्कार गरेँ । यस्तो गलत चलनविरुद्ध लागिरहेँ र अन्ततः म सफल भएँ । त्यतिबेलाको समाजमा त्यसो गर्नु एउटी महिलाका लागि निकै ठूलो संघर्ष थियो ।

पहिलो महिला मन्त्रालयको मन्त्री

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय गठनपछि पहिलो महिला मन्त्री हुन पाएँ । पार्टीले विश्वास गरेर मलाई महिला मन्त्रालयको जिम्मेवारी दिएको थियो । त्यतिबेला शेरवहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो । मन्त्री भएपछि महिला अधिकारसम्बन्धी एउटा विधेयक पास गर्न लगाएकी थिएँ । तर, संसदबाट पास गर्न कहिल्यै सकिएन ।

lila koirala (2)
काँग्रेस सभापति गिरिजाबाबु, एमालेका मनमोहन अधिकारी, सूर्यबहादुर थापा, नारायणमान बिजुक्छेलगायत सबै पार्टीका नेतालाई भेटेर यो विधेयकलाई समर्थन गर्नुस् है भन्दा हुन्छ, भइहाल्छ नि भन्नुभयो तर सदनमा कहिल्यै पास गर्दिनुभएन । म फाइल बोकेर सबै नेताको घर–घर पुगेँ । घर–घर जाँदा हुन्छ भन्ने तर हाउसमा पार्टीले भनेको हुनुपर्छ भनेर पास गरिदिएनन् । मुखले एउटा भन्ने व्यवहार अर्कै देखाउने ‘कन्जरभेटिभ’ सिस्टम त्यो बेला थियो ।

०४८ को चुनावमा काँगे्रसले १० महिलालाई टिकट दिएको थियो । शैलजा आचार्य, मैयादेवी श्रेष्ठ, मीना पाण्डे, उमा अधिकारी र मसहित पाँजना महिलाले मात्र चुनाव जित्यौं ।

मधेसको माग सम्बोधन होस्

म ८० वर्षकी भएँ । स्वास्थ्यमा खासै समस्या छैन । राजनीतिमा निरन्तर लागिरहेकी छु । केही दिनपछि जिल्ला जाँदै छु । जहिलेसम्म सक्छु, पार्टीको काम गर्छु । जनताको काम गर्छु । पार्टीको काम नै मेरो काम हो ।

श्रीमान्को हत्यापछि सासुआमालाई स्याहारेँ । छोराछोरी हुर्काएँ । आफ्नो खुट्टामा उभिन सक्षम बनाएँ । राजनीतिमा पनि निरन्तर लागिरहेकी छु । मन्त्री भएँ । चारपटक सांसद भएँ । जनताले तीनपटक जिताए । दुईपटक त हराइदिए । पार्टीले विश्वास गरेर महत्वपूर्ण जिम्मेवारी दिइरहेको छ । अहिले समानुपातिकबाट सांसद भएकी हुँ । नत्र सधैँ चुनाव जितेर, प्रतिस्पर्धाबाटै आइरहेकी छु । पटक–पटक गरेर चार वर्षजति जेल बसेँ ।

म विराटनगरमा जन्मेकी हुँ । मधेसकै मानिससँग विवाह गरेँ । मैथिली भाषा राम्रो आउँछ । मैले भाषण गर्दा मैथिलीमै गर्छु । त्यहाँका मधेसी र पहाडी सबैसँग मेरो राम्रो सम्बन्ध छ । अहिले मधेसी दलले आन्दोलन गरेका छन् । सरकारले यसलाई सकारात्मक रूपले मिलाउनुपर्छ । मधेसका जायज माग सम्बोधन हुनुपर्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल