एउटी छापामारले पढ्नका लागि गरेको विद्रोह

एउटी छापामारले पढ्नका लागि गरेको विद्रोह

कमला रोका २०५२ फागुन १ गते जनयुद्ध सुरु गर्दा पश्चिम नेपालमा गरिएको एउटा मुख्य कारबाही राडिजिउला प्रहरीचौकी रेड गर्ने माओवादी छापामारकी एक सदस्य हुन् । उनले युद्धकालमा ब्रिगेड कमिसार र शान्तिकालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा युवा तथा खेलकुदमन्त्रीको भूमिका कुशलतापूर्वक निर्वाह गरेकी हुन् । अहिले एमाओवादी केन्द्रकी सचिवालय सदस्य र महिला संगठनकी फ्याक्सन इन्चार्जको भूमिकामा रहेकी रोकासँग रातोपाटीकर्मी आस्था केसीले व्यक्तिगत र राजनीतिक जीवनका अनुभूतिबारे कुराकानी गरेकी छन् ।

kamala roka
स्कुल गएबापत आमाको यातना

म हुर्किएको समाजमा छोरीले पढ्नुहुन्न भन्ने मान्यताले जरो गाडेको थियो । रुकुमको विकट गाविस प्वाङमा त्यतिबेला एसएलसीसम्म पढेका छोरी कोही थिएनन् । हामी छोरीहरू खर्कमा बस्तुभाउ हेर्न जान्थ्यौं । छोराहरू चाहिँ स्कुल पढेर पनि क्याम्पस पढ्न दाङ, पोखरा, काठमाडौँ पुगेका हुन्थे । म गोठमा गाईबस्तु हेरेर बसेको बेलामा मेरो दाइ पोखराको पीएन क्याम्पसमा आईएड पढिरहेका थिए ।

११ वर्षको उमेरमा आमाबुवाले मलाई बिहे गरिदिन खोजेका थिए । तर, मलाई पढ्ने रहर थियो । बिहे गरिदिएमा आत्महत्या गर्ने धम्की दिएकी थिएँ । २०४६ सालमा देशमा बहुदल आएपछि हाम्रो गाउँमा पनि राजनीतिक गतिविधि बढ्न थालेको थियो । म पनि राजनीतिक गतिविधिमा सहभागी हुन थालेँ । बहुदल आएकै कारण सायद मैले बिहे र आत्महत्या गर्नुपरेन ।

घरदेखि दुई घन्टा टाढा मुसीको भन्ने ठाउँमा हाम्रो गाइगोठ थियो । म त्यहीँ गोठमा मेरै गाउँकी दलित समुदायकी बहिनीसँग बस्थेँ । नजिकै घर बनाउने काम भइरहेको थियो । त्यही ठाउँमा मैले दुई हजारमा रुपैयाँमा ढुंगा बोक्ने कामको ठेक्का लिएँ । यसरी मैले दुई हजार रुपैयाँ जुटाएँ र आमाबुवासँग सल्लाह नगरी स्कुल जाने ड्रेस र झोला किनेकी थिएँ ।

आमा निकै पुरानो सोचकी थिइन् । छोरी भनेको अर्काको घर जाने जात हो, किन पढ्नुपर्यो भनेर मलाई स्कुल जान कहिल्यै दिइनन् । म स्थानीय महिला कमिटी सचिव भइसकेकी थिएँ, जसले गर्दा ममा स्कुल जाने तीव्र लालसा थियो । म कुरा बुझ्ने भइसकेकी थिएँ । त्यसैले जसरी पनि स्कुल जानुपर्छ भन्ने सोच आएको थियो । गाई, बाख्रा हेर्दाहेर्दै, धूलोमाटोमा लेखेर मैले अक्षर चिन्न थालेकी थिएँ ।

२०४७ फागुन १९ गतेबाट म स्कुल जान थालेँ । म स्कुल जान थालेको कुरा घरमा कसैलाई भनेकी थिइनँ । तीन दिनपछि आमाले थाहा पाएर मलाई खोज्दै आएकी थिइन् । म स्कुलबाट फर्किरहेकी थिएँ । आमाले मलाई बाटोबाटै तानेर छिमेकी ठूलीआमाको घरतिर ल्याइन् । स्कुल पढ्न गएका कारण उनी मसँग रिसाइरहेकी थिइन् । अनि कुन्नि केको लठ्ठी हो, अहिले बिर्सिएँ, त्यसैले समातेर मलाई कुट्न थालिन् । प्रत्येकपटकको चुटाइमा उनी मलाई सोध्थिन्, ‘अब स्कुल जान्छेस् कि नाइ ? स्कुल जाँदिन भन् म चुट्दिनँ ।’ तर, मैले स्कुल जान्न भनेर क्यै गरी भन्न सकिनँ । जसरी भए पनि पढ्न जान्छु भनिरहेकी थिएँ ।

आमा आफैँ थाकेर लखतरान परिन् तर म रुने, कराउने, चिच्याउने गरिनँ । आमाले जता लतार्छिन् त्यतै लतारिएँ । जता पल्टाउँछिन् त्यतै पल्टिएँ तर स्कुल जान छाड्छु, भैगो नपिट्नुस भनेर भन्न सकिनँ । त्यो बेला म त्यस्तै १२ वर्षकी हुँदी हुँ । ‘कि स्कुल जान छाड्, स्कुल जाने भए मलाई आमा भन्न छाड्,’ आमाले यसो भनेर मेरो कान तानेर घरतिर गएको हिजैजस्तो लाग्छ ।

त्यो दिन म तिनै ठूलीआमाको घरमै बसेँ । ठूलीआमाले मलाई सम्झाउँदै जाउलोजस्तो केही पकाइदिएकी थिइन् । मेरो जिउ दुखिरहेको थियो । लठ्ठीले चुटेका निलडाम शरीरभरि थिए । ज्यान अधमरोजस्तो भएको थियो तर मेरो पढ्ने चाहना अझै मजबुत भएको थियो । आमा गएपछि कुन्नि के–के सोचेर हो म भक्कानो छाडेर रोएकी थिएँ ।

भोलिपल्ट बिहानै म आफ्नो गोठ गएँ । आमाले मेरा किताब, कापी सबै च्यातेर धुजाधुजा बनाइदिएकी रहिछन् । धेरै दुःख गरेर किनेका कापी, किताब यसरी च्यातिएको देख्दा मलाई धेरै दुःख लागेर आयो । छोरीलाई स्कुल पढाउन हुन्न भन्ने सोच मेरी आमामा मात्र होइन, त्यतिबेलाको समाजको परम्परावादी सोच थियो । मैले जसरी पनि छोरी भनेको अर्काको घर जाने जातमात्र होइन, छोरी पनि एउटा सग्लो मान्छे हो भन्ने प्रमाणित गर्न चाहन्थेँ । त्यसैले पनि म पुनः भोलिपल्टबाटै स्कुल जान लागेँँ । म पनि मेरो दाइभन्दा कुनै हालतमा कम छैन भनेर म त्यो समाजलाई देखाउन चाहन्थेँ । दाइले जस्तै पोखराको क्याम्पसमा पढ्ने मेरो आफ्नै रहरले मलाईजस्तै अप्ठ्यारो परिस्थितिसँग पनि सामना गर्न हौसला दिइरहेको थियो । जब आफूलाई भित्रबाट इच्छा लागेर आउँछ, आफैँलाई केही गर्छु भन्ने आँट आएपछि कसैले पनि रोक्न सक्दोरहेनछ ।

मैले पूर्णबहादुर खड्कालाई सबै कुरा सुनाएँ । त्यतिबेला उनी स्कुलको हेडसर थिए । अहिले उहाँ पीएचडी गरिसकेर पनि सुर्खेत क्याम्पसमा पढाइरहेका थिए । उनलाई म जसरी पनि पढ्न चाहन्छु सहयोग गर्नुस् सर भनेँ । सरले अरू साथीसँगै डेराको व्यवस्था गरिदिए । म डेरामा बसेर स्कुल जान थालेँ । एक हप्तापछि बुवा मलाई खोज्दै आइपुगे । सरकै सल्लाहमा घर फर्केर म स्कुल जान थालेँ । पढ्नका लागि पूर्णबहादुर सरले लगाउनुभएको गुन म जिन्दगीभरि बिर्सिन सक्दिनँ ।

आमाको देहान्त

आमा मसँग त्यति बोल्दै थिइन् । सकेसम्म कसरी स्कुल छुटाएर बिहे गरिदिन सकिन्छ भन्ने सोचिबस्थिन् । म भने बुवाआमालाई कसरी खुसी पारेर स्कुल गइरहन सकिन्छ भनेर घरको काम मरिमेटेर गर्थें । बिहान चार बजे नै उठेर घरको काम सकेर मकै गोड्न जान्थेँ । स्कुलको होमवर्क पनि त्यहीँ गर्थें । हतार–हतार स्कुल पुग्थेँ । यति गर्दा पनि मेरी आमाले मलाई कहिल्यै राम्रो काम गरिस् छोरी भनेर भनिनन् । पछि पक्षघातको रोग लागेर आमा सधैँका लागि हामीलाई छाडेर गइन् । बुवाले घरपरिवारकै सल्लाहमा अर्की आमासँग बिहे गरे । मैले पढाइलाई निरन्तरता दिँदै गएँ ।

kamala roka
मैले श्री हिमालयन माविमा पढेकी हुँ । स्कुल पुग्न घरबाट एक घन्टाको बाटो हिँड्नुपथ्र्याे । पछि म अलि नजिकैको स्कुलमा पढ्न थालेँ । त्यो स्कुलको नाम प्रावि दटकुना हो । त्यहाँ जान आधा घन्टा जति हिँडे पुग्थ्यो । त्यहाँ म कक्षा पाँचमा स्कुलभरिकै प्रथम भएर निस्किएँ । कक्षा ६ मा पढ्ने बेला माओवादी पार्टीको ‘पार्टटाइमर कार्यकर्ता’ भएकी थिएँ । संगठनको काम गर्दै पढाइलाई निरन्तरता दिँदै कक्षा १० सम्म पुगेँ । १० कक्षामा पढ्ने बेला एम्बुसको घटनामा मलाई प्रहरीको केस लागेकाले एसएलसी दिन पाइनँ । पढाइ छाडेर हिँड्नुपर्यो । पढाइप्रतिको आफ्नै सपना, मलाई शिक्षा दिएका गुरु र साथीको प्रेरणाले नै पार्टी शान्तिप्रक्रियामा आएपछि पुनः एसएलसी दिएँ । अहिले पनि पढाइलाई निरन्तरता दिइरहेकी छु । धेरैजसो पार्टीको काममा व्यस्त भइरहनुपर्छ । अहिले जिम्मेवारी पनि थपिइराखेको छ । अनेमसंघ क्रान्तिकारी फ्र्याक्सन इन्चार्ज, माओवादी केन्द्रको सचिवालय सदस्यलगायतका जिम्मेवारीमा छु ।

महिला छापामार हुने सपना

चीनको जनवादी क्रान्ति र नेपालकै झापा आन्दोलनमा सहभागी भएका महिला छापामारका कुरा सुन्दा मलाई पनि छापामार बन्ने प्रेरणा जागेको थियो । आफू पनि त्यस्तै हुने रहर जागिरहन्थ्यो । नेपालमा बहुदल आइसकेपछि र जनयुद्धको तयारी गरिरहँदा आफू छापामार भएर, कम्ब्याट ड्रेस लगाएर बन्दुक समातेर जनताको मुक्तिका लागि लडेको कल्पना गरिरहन्थेँ । जनयुद्धको सुरुवात हुनुअगावै रुकुममा भएका ग्रामीण वर्गसंघर्षका कार्यक्रममा सहभागी हुँदै गर्दा छापामार भएको रोमाञ्चक अनुभूति हुन्थ्यो ।

जनयुद्धको पहिलो कारबाहीमा सहभागी

जनयुद्धको घोषणा गर्ने दिन २०५२ फागुन १ गते रुकुमको राडिजिउला प्रहरी चौकी कब्जा गर्न जाने छापामार टोलीमा म पनि सहभागी हुने मौका पाएँ । त्यो टोलीमा ३८ देखि ४० जना छापामार थियौं । रुकुमकै नारायणी शर्मा, लालकुमारी रोका र म आफैं गरी तीनजना मात्र महिला छापामार थियौं । यसरी महिला छापामार बनेर पहिलोपटक बन्दुक बोक्न पाउँदा उन्मुक्त भएको आभास मिलेको थियो ।
डोल्पा, जाजरकोट र रुकुमको सिमानामा पर्ने राडिजिउला निकै विकट ठाउँमा थियो । त्यहाँ पुग्न निकै अप्ठेरो र लामो बाटो हिँड्नुपथ्र्याे । गाढा अँध्यारोले भरिएको कालो रातमा सानीभेरी नदीको किनारैकिनार हिँड्दै, हिउँले भरिएको दुलीको पहाड चढेर रुकुमको पिपल गाविसबाट हिँडेको तीन दिनपछि हामी राडिजिउला पुगेका थियौं ।

उज्यालोका लागि लाइट बाल्ने अनुमति हामीलाई थिएन । कडा भूमिगतकालमा थियौं । एक–अर्काले बोकेका बन्दोबस्तीका झोला पछिल्तिर सेतो कागज या सेतो कपडा बाँधेर एक–अर्काको हात समाउँदै हामी राडिजिउला पुगेका थियौं । त्यसरी एउटा युगान्तकारी परिवर्तनका लागि सुरु गरिएको जनयुद्धको पहिलो दिन गरिएको त्यो छापामार कारबाहीले एउटी सामान्य गाउँले केटीलाई अदम्य साहसले भरिएकी छापामार महिला बनाइदिएको थियो । त्यतिबेलाको रोमाञ्चकतालाई म शब्दमा व्यक्त गर्न सक्दिनँ । त्यो कारबाहीको कमान्ड मेरा श्रीमान् गणेशमान पुन ‘रश्मी’ले गरेका थिए भने कमिसार हेमन्तप्रकाश वली ‘सुदर्शन’ थिए ।

प्रेम, विवाह र गिरफ्तारी

यो ०५३ सालको कुरा हो । गणेशमान पुन रुकुमको पार्टीमा जिल्ला सेक्रेटरी थिए । म जिल्ला सदस्य । उनले प्रेम प्रस्ताव गरे मैले सहर्ष स्वीकार गरेँ । माक्र्सवादी तरिकाले प्रेम गरेपछि करिब तीन वर्ष पछाडि पार्टीकै निर्देशनमा जनवादी विवाह गरियो । त्यसको ११ महिनापछि पार्टी कामकै सिलसिलामा नेपालगन्ज गएको बेला हामी दुवैजना प्रहरीको गिरफ्तारीमा पर्यौं । एक हप्ताको हिरासत बसाइपछि म बिरामीको बहाना पारेर बाहिर निस्किएँ । तर, उनलाई विभिन्न मुद्दा लगाएर कहिले रुकुम त कहिले नेपालगन्जमा जेल सारिरह्यो ।

एपेन्जाइटिस भन्ने रोग लागेका कारण गणेशमानलाई उपचारका लागि प्रहरीले नेपालगन्जको एक अस्पतालमा भर्ना गरेको थियोे । त्यतिबेला नेत्रविक्रम चन्द दाइ पश्चिम कमान्ड इन्चार्ज थिए । चन्दसँग सल्लाह मिलाएर छापामार शैलीमा जनसेनाको एक टोलीले उनलाई प्रहरीबाट कब्जा गरेर पार्टीमा ल्याएको हो ।

केही दिन अगाडिदेखि जनसेनाका साथीहरूले उहाँको उपचार प्रक्रिया नियालिरहेका रहेछन् । प्रहरीले हत्कडी फुकाएर बाथरुम लैजाँदै गरेको समय पारेर साथीहरू त्यहाँ पुगे । प्रहरीलाई बाथरुममा हुलेर चुकुल लगाइदिए र गणेशमानलाई मोटरसाइकलमा राखेर गाउँतिर भगाए । यी सबैको कमान्ड बटालियन कमान्डर सन्तोष चौधरीले गरेका थिए ।

भूमिगतकालमा आमा बन्दाको क्षण

२०५९ सालमा आठ महिनाकी गर्भवती म प्युठानमा जिल्ला इन्चार्जको जिम्मेवारीमा थिएँ । अर्घाखाँची सदरमुकाम रेडको तयारी प्युठानमै भएको थियो । कारबाहीपछि त्यहाँका घाइतेको व्यवस्थापनका लागि आर्मीको गस्ती र हेलिप्याड आक्रमणको निशाना छल्दै हामी रुकुम पुगेका थियौं । त्यतिबेला नै पैदल गस्तीमा आएको सेनाले महतमा ११ जना साथीको हत्या गर्दा हामी नजिकै थियौं । संयोगले बाँचियो । केही बिरामीलाई रुकुमको मैकोटमा साथीहरूको जिम्मा लगाएर गम्भीर घाइतेको उपचारको सिलसिलामा भारत पठाउनका लागि म पनि नाका पुगेकी थिएँ ।

मंसिर ७ गते १८ घन्टाको सुत्केरी व्याथापछि दाङको पटौली नाकामा म सुत्केरी भएँ । छोरा जन्मिएको थियो । त्योे दिन मौसमले साथ दिएको थिएन । पानी परिरहेको थियो । दिनभरि साल नझरेकाले निकै गाह«ो भइरहेको थियो । जनमुक्ति सेनाका स्वास्थ्यकर्मी साथीले मलाई बोकेर राति १० बजेतिर भारतको बलरामपुर अस्पतालसम्म पुर्याए । अनि अप्रेसन गरेर साल निकालेपछि बल्ल मैले पुनर्जीवन पाएँ ।

पाँच दिनसम्म नाकातिरै बसेँ । पाँच दिनपछि बच्चासहित दिनभरि हिँडेर रोल्पाको हान्निङमा हुन लागेको पश्मिाञ्चल क्षेत्रीय व्युरोेस्तरीय बैठकमा पुगेकी थिएँ । नेत्रविक्रम चन्दकी श्रीमती शोभा चन्दले मलाई र मेरो बच्चालाई त्यतिबेला गरेको सहयोगको गुन कहिल्यै तिरेर सक्दिनँजस्तो लाग्छ ।

त्यतिबेला एउटै प्रशिक्षण या बैठक छुटाएमा आकाश खस्छ कि जस्तो अनुभूति हुन्थ्यो । मरिमेटेर पनि जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने स्कुलिङ हुन्थ्यो । जसरी पनि क्रान्तिका लागि योगदान गर्नुपर्छ भन्ने महान् भावनाले सदैव उत्प्रेरित गरिरहन्थ्यो । पार्टीको काम नै मुख्य लाग्थ्यो । व्यक्तिगत समस्या तपसिलका कुरा हुन् भन्ने लाग्थ्यो । उतिबेला त्यसरी हामीजस्ता कार्यकर्ताले पार्टीका लागि जिउज्यान अर्पेर काम गरेका हुनाले देशमा परिवर्तन आएको हो ।

सक्दै नसकेपछि केही समय आराम गर्छु भनेर संगठनसँग बिदा माग्दा बिदा त मिल्थ्यो तर सकेसम्म किन बिदा लिनु भन्ने हुन्थ्यो । त्यतिबेला उमेर थियो, देश र जनताका लागि लडेका छौं भन्ने एउटा आत्मविश्वास थियो । हामी दुनियाँ परिवर्तन गर्न हिँडेका मान्छे हौं भन्ने सम्झेर ल्याउँदा अदम्य साहस र ऊर्जा पैदा हुन्थ्यो । त्यसैले पनि म पाँच दिनकी सुत्केरी काखमा नवजात बच्चा च्यापेर दिनभरि भोकभोकै हिँड्दा पनि कमजोरी महसुस नगरी हिँडिरहेकी हुन्थेँ । अहिले आएर सम्झँदा मैले त्यो सब कसरी गर्न सकेकी थिएँ होलाजस्तो लाग्छ ।

नीति निर्माण तहमा सहभागिता

अहिले आएर टाठाबाठा मान्छे मात्र संगठनमा अगाडि बढ्ने प्रवृत्ति विकास भएको छ । हिजो पार्टीमा काम गर्ने इमानदार महिलाले अहिले संगठनमा ठाउँ पाउन सकेका छैनन् । आर्थिक, पारिवारिक सबै जिम्मेवारी महिलाकै काँधमा आइपुगेको छ । यी सबै अप्ठ्यारामा जुधेर आफूलाई खरो उतार्न सकेका महिला आज पनि जिम्मेवारीको अग्रपत्तिंmमा छन् । तर, जसरी महिला हिजो अग्रपंक्तिमा लडेका थिए, आज त्यो अनुपातमा अग्रभागमा आउन सकेका छैनन् ।

संविधानले जे–जति अधिकार दिएको छ, त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न दबाब दिनुपर्छ । अधिकार पाउनका लागि नीति निर्माण तहमा महिला सहभागिता अनिवार्य सर्त हो । त्यसैले पनि अबको हाम्रो आन्दोलन नीति निर्माण तहमा समान सहभागिताका लागि हुनुपर्छ । स्थानीय निकायमा ५०, प्रदेशमा ४० र केन्द्रमा ३३ प्रतिशत महिलाको उपस्थिति गराउन हामीले आवाज उठाइरहेका छौं । हिजो जनयुद्धमा लागेका सबै महिलालाई संगठनको उचित जिम्मेवारी दिएर पार्टीमा जोडिरहने योजना बनाउन आवश्यक छ । जनवादी क्रान्तिका केही कार्यभार पूरा भएका छन् । जनयुद्धले केही उपलब्धि जरुर हासिल गरेको छ । तिनै उपलब्धिको रक्षा गर्दै समाजवादी क्रान्तिका लागि सबै महिला लागेरमात्र हामीले चाहेजस्तो महिला मुक्ति सम्भव छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल