एउटी महिला जसले १८ वर्षदेखि श्रीमान् पर्खिरहेकी छिन्

-  |   आस्था केसी

एउटी महिला जसले १८ वर्षदेखि श्रीमान् पर्खिरहेकी छिन्

बेपत्ता पारिएकाको सम्झनामा पेरिसडाँडामा बेपत्ता नागरिक स्मरण दिवस मनाउने कार्यक्रम थियो । करिब सयभन्दा बढी नै मानिसको उपस्थिति देखिन्थ्यो । अघिल्लो दिनमात्र १० पार्टीबीचमा एकता भएर विभिन्न नामका माओवादी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको छातामुनि गोलबन्द भएका थिए ।

तीमध्ये अलि टाढा–टाढाबाट आएका केन्द्रीय सदस्य पनि बेपत्ता स्मरण दिवस मनाउन आइपुगेका थिए । केही सहिद परिवार र बेपत्ता परिवारका सदस्य त्यहाँ उपस्थित थिए । मञ्चमा कार्यक्रमको ब्यानर टाँगिएको थियो भने मञ्चको दायाँपट्टि भित्तामा बेपत्ता पारिएका नागरिकको फोटा भएको ठूलो र लामो पोस्टरजस्तो ब्यानर थियो । बेपत्ता पारिएकाको हजारजनाजति नागरिक त्यो ब्यानरमा फोटोभित्र अटाएका थिए ।

तत्कालीन नेकपा माओवादी केन्द्रीय सदस्य दण्डपाणि न्यौपानेकी श्रीमती शान्ता न्यौपानेको अन्तर्वार्ता लिने योजनामा म त्यहाँ पुगेकी थिएँ । कार्यक्रम नसकिउन्जेल उनीसँग भेट्न सकिएन । निर्धारित समयमै कार्यक्रम सुरु भयो । करिब दुई घन्टाजतिमा कार्यक्रम सकियो । बेपत्ता परिवारका गोपाल न्यौपाने र रुवी श्रेष्ठले बोले । नेताको तर्फबाट अध्यक्ष प्रचण्ड र रामबहादुर थापा ‘बादल’ले बोले ।

bimala dhakal
कार्यक्रम सकिएलगत्तै शान्ता न्यौपाने र मिलन नेपालीकी श्रीमती सविता बस्नेतसँग आधा घन्टाजति समय लिएँ । पानी छिटाउन लाग्दै थियो ।

हतार–हतार निस्कन लाग्दै थिएँ । एउटी ४५ वर्षजतिकी महिलाले मेरो पाखुरामै समातेर रोकिन् । कलेजी रङको कुर्ता लगाएकी उनी पातली थिइन् । उनको गहुँगोरो अनुहारमा चाउरी परेका धर्सा प्रस्ट देखिएका थिए ।

के हो पत्रकार नानी, कुरा त निकै लामो गर्यौ नि । उनले मलाई व्यंग्य गर्दै उपेक्षित तरिकाले मुस्कुराइन् । केमा काम गर्छौ तिमी ? मलाइ छड्के आँखाले हेर्दै आफ्नी साथीतिर हेरेर आँखा झिम्क्याएको देखेपछि यिनी अलि ‘साइको टाइप’की महिला रहिछिन् भन्ने लाग्यो ।

जति लामो कुरा गरे पनि छापिने बेलामा एउटा वा दुइटा अनुच्छेदमा त छापिने होला । सम्पादकले कतिसम्म समाचार कटौती गर्छन् भन्ने हामीलाई पनि थाहा छ नि । उनले यसो भनेपछि मलाई पनि उनकोबारे थाहा पाउन खसखस लाग्यो ।

दिदी म रातोपाटीमा काम गर्छु । त्यहाँ आवश्यक कुरा काटिँदैन । मैले उनलाई भनेँ । कथाले मागेजति लेख्न पाइन्छ तर अनावश्यक कुरा त जहाँ पनि फालिन्छ । प्रिन्ट मिडियामा जस्तो समस्या अनलाइनमा उति हुँदैन । मैले उनलाई यसरी सम्झाएँ ।

उसो भए हाम्रो पनि अन्तरवार्ता गर न । उनले अनुरोध गरिन् । मैले हुन्छ भनेँ । कलर्स मोबाइलमा उनको साउन्ड रेकर्ड गर्नपट्टि लागेँ । तपाईंको बारेमा केही बताइदिनुस् न । मैले यति सोध्न के भ्याएकी थिएँ उनी परररर बोल्न सुरु गरिन् ।
मेरो नाम बिमला ढकाल हो । गोरखा जिल्लाको हर्मी गाविसमा मेरो घर थियो । श्रीमान् शिक्षक हुनुहुन्थ्यो । उहाँको नाम राजेन्द्र ढकाल हो । तीन स–साना छोराछोरी थिए । नपुग्दो केही थिएन । म घरको काम गर्थें । श्रीमान् जागिर गर्नुहुन्थ्यो । हामी दुःख सुख बाँडेर शान्तिले बाँचिरहेका थियौँ ।

सर्वोच्चले मेरो श्रीमान्को खोजी गर्नू, सत्यतथ्य जवाफ दिनू भनेर मुद्दा फैसला गरिदिएको थियो तर सरकारले त्यो फैसला कहिल्यै कार्यान्वयन गरेन । यसो भन्दै गर्दा बिमला एकछिन रोकिइन् । उनका गाला राता भएका थिए । उनले लामो सास तानिन् र फेरि बोल्न थालिन् । उहाँलाई बेपत्ता पार्ने त्यतिबेलाको प्रहरी इन्स्पेक्टर कुशविक्रम राणालाई भेटेर सोध्ने मन छ । राज्यका रक्षक भनिने सुरक्षाकर्मीले जनताको छोरालाई गिरफ्तार गरेर कहाँ लुकाएर राख्नुभएको छ ?

जनयुद्ध सुरु भएपछि उहाँ पनि भूमिगत हुनुभयो । पार्टीले उहाँलाई तनहुँ जिल्लामा जिम्मेवारी दिएर खटायो । उहाँ त्यहाँको सेक्रेटरी हुनुभएको थियो । यो २०५४/०५५ तिरको कुरा हो ।

बिमलाले यसरी आफ्नो जीवनकथा भन्न सुरु गरिन् । मलाई यस्तो लाग्दै थियो उनले बोलेकी होइनन् मनमा लेखिएका किताब वाचन गरेर सुनाएकी हुन् ।

२०५५ चैत २४ गते श्रीमान् साथीसँग राम्दीखोलामा नुहाउँदै हुनुहुन्थ्यो । त्यहीँबाट प्रहरी इन्स्पेक्टर कुशविक्रम राणाको नेतृत्वमा आएको टोलीले उहाँहरूलाई वारेन्ट पुर्जीविना नै पक्राउ गरेको थियो । तनहुँको खैरेनीटार प्रहरी चौकीमा राखेको छ भन्ने खबर लिएर दुई दिनपछि उहाँका दुई साथी घर फर्केका थिए ।

एक वर्षको छोरा, पाँच र सात वर्षीया दुई छोरी लिएर म उहाँलाई खोज्न प्रहरी चौकी धाउन थालेँ । उहाँसँगै गिरफ्तारीमा परेर तीन दिनपछि छाडिएका प्रेमबहादुर थापा र मीनदत्त अधिकारी दुई शिक्षकको जाहेरीमा मैले अदालतमा मुद्दा दायर गरेँ । सर्वोच्चले मेरो श्रीमान्को खोजी गर्नू, सत्यतथ्य जवाफ दिनू भनेर मुद्दा फैसला गरिदिएको थियो तर सरकारले त्यो फैसला कहिल्यै कार्यान्वयन गरेन ।

यसो भन्दै गर्दा बिमला एकछिन रोकिइन् । उनका गाला राता भएका थिए । उनले लामो सास तानिन् र फेरि बोल्न थालिन् । उहाँलाई बेपत्ता पार्ने त्यतिबेलाको प्रहरी इन्स्पेक्टर कुशविक्रम राणालाई भेटेर सोध्ने मन छ । राज्यका रक्षक भनिने सुरक्षाकर्मीले जनताको छोरालाई गिरफ्तार गरेर कहाँ लुकाएर राख्नुभएको छ ? कृष्ण सेनलाई जस्तै कुटेरै मार्नुभएको पो हो कि ? किन सत्य कुरा बोल्न डराइरहेको छ सरकार ? मेरो श्रीमान् कहाँ हुनुहुन्छ ? कहिलेसम्म उहाँ आउने आशामा बसिरहने हो ? सुन्दै छु कुशविक्रम अहिले रिटायर्ड भइसकेका छन् रे । पोखरामा घर बनाएर बस्छन् रे । अरूको शान्तिले चलेको जीवनमा आगो लगाएर कसरी आनन्दले बस्न सक्दो हो मान्छे मलाई अचम्म लाग्छ ।

बिमलाले अगाडि सुनाइन्, ‘एकपटक म कामविशेषले दुई छोराछोरी लिएर कतै जाँदै थिएँ । ४ र ८ वर्षका छोराछोरी लिएर गाडीमा बसिरहेकी थिएँ । चेकजाँच गर्ने ठाउँ आएछ । सबै यात्रु गाडीबाट ओर्लेर चेक गर्ने लाइनमा उभिए । म पनि उभिएँ । सबैलाई चेक गरेर छाडिदियो तर मलाई एकछिन सोधपुछ गर्नु छ भनेर रोकिन भन्यो ।

म रोकिएँ । मेरा लागि भनेर गाडी रोकिएन । दुई स–साना मेरा छोराछोरीसमेत लिएर मैले हेर्दाहेर्दै गाडी हुइँकियो । म यता कराउने नानी उता चिच्याउने गरे पनि न गाडी रोकियो, न चेकिङमा उभिएको प्रहरीले नै मलाई जाने आदेश नै दियो । अनेकथरि बेतुकका प्रश्नको जवाफ दिँदादिँदा म थाकिसकेकी थिएँ । अर्कोतिर बच्चाहरू कता अलपत्र परे भन्ने चिन्ताले पनि सताएको थियो । त्यतिबेला अहिलेजस्तो मोबाइल सुविधा थिएन ।

बेलुकी सात बजेतिर बल्ल म प्रहरीको फन्दाबाट मुक्त भएँ । दुई घन्टा लगाएर हिँड्दै, लड्दै फेरि उठेर हिँड्दै, रुँदैरुँदै मामाघर पुगेँ । बाटोमा देख्नेले मलाई बौलाही भने होलान् । बच्चाहरू कता गए, केही थाहा पाउन सकिनँ । एकातिर श्रीमान् बेपत्ता, अर्कोतिर बच्चा बेपत्ता । कठै मेरो जीवन देखेर आफँैलाइ बैराग लागेर आयो । तीन दिनपछि बल्ल छोराछोरीसँग भेट भयो ।

संयोगले त्यो दिन गाडीमा मसँगै पढेको एकजना साथी रहेछन् । उनले मेरा छोराछोरीलाई मेरो माइतीघर पुर्याइदिएछन् । धन्न, त्यो दिन यसरी मेरा बच्चाहरू सुरक्षित मामाघर पुगेछन् । म भगवान्माथि विश्वास त गर्दिनँ तर त्यस दिन ती साथी भगवान्जस्तो भएर आएका थिए । उनी नहुँदा हुन् त मेरा स—साना केटाकेटीको के हालत हुँदो हो । यत्तिका वर्षपछि आज पनि त्यो दिन सम्झिँदा मनमा त्यसैत्यसै अत्यास लागेर आउँछ ।

ती दिन निकै कष्टपूर्ण थिए । म नजिकैको महेन्द्र माविमा पढाउँथेँ । प्रहरीको अति नै ज्यादती थियो । जतिबेला मन लाग्यो उतिबेला स्कुल आँउथे । ‘एकछिन कुरा गर्नु छ’ भनेर मलाई जंगलतिर लिएर जान्थे । मेरा साना छोरीहरू आएर मेरो सारीको सप्को समाउँथे, रुन्थे तैपनि ती प्रहरीको मन कहिल्यै पग्लिएन । स्कुलका शिक्षक शिक्षिका आएर हात जोड्दा पनि मलाई कहिले जंगल, कहिले चौकी लिएर जान्थे र केही दिनपछि मात्र फर्काउँथे ।

त्यतिबेला मेरो काखमा एक वर्षको दूधे बच्चा थियो । उसलाई काखमा लिएर दूध खुवाइरहेको बेला पनि बच्चा छाडर हामीसँग हिँड भन्दै प्रहरीले बन्दुकको कुन्दाले हान्न खोज्थे । म छिमेकीलाई बच्चा जिम्मा लगाएर लुरुलुरु तिनले जता लैजान्छन् त्यतै जान्थेँ ।

मैले आँगनमा सुकाएको बिस्कुन उठाउन पनि पाउँदिनथँे । बिस्कुन छिमेकीले उठाइदिन्थे । गोठमा भैँसी कराइरहेको हुन्थ्यो, घाँस छिमेकीले हालिदिन्थे, भैँसी उनैले दुहुन्थे । मेरा छोराछोरीलाई उनैले खान दिन्थे, स्याहार गरिदिन्थे, श्रीमान्लाई आतंककारी आरोपमा बेपत्ता पारेका थिए । प्रहरीको नजरमा आतंककारीकी श्रीमती म पनि खुंखार आतंककारी बनाइएकी थिएँ ।

१८ वर्षदेखि बेपत्ता पारिएका श्रीमान्सँग फेरि भेट होला कि भन्ने झिनो आशा बोकेर बाँचिरहेकी उनी आफ्नो जीवनमा घटेका ती काला दिन कुनै भयानक सपनाजस्तै बिर्सिदिन चाहन्छिन् । जीवनका सुख दुःख सँगै काट्ने र सँगै जिउने मर्ने कसम खाएको जीवनसाथीलाई १८ वर्षदेखि खोजिरहेकी बिमलाजस्ता कति महिला कष्टपूर्ण जिन्दगी बाँचिरहेका होलान् ?

मलाई दिनदिनै तारिख धाउनुपर्ने भयो । प्रहरी दमन अति चर्को भयो । एकपटक त महिना दिनसम्म मलाई चौकीमै राख्यो । मानसिक र भौतिक यातना कति दियो दियो, साध्य नै भएन । कपालबाट पानी खन्याइदिन्थे । आँखामा पट्टी बाँधिदिन्थे । कुटिरहन्थे । लुछिरहन्थे । लतार्दै चौकीमा भित्र र बाहिर गराइरहन्थे । घरमा भएको बेला पनि रात दिन आएर मलाई धेरै मानसिक यातना दिइरहन्थे । बुटजुत्ता लगाएर सबैतिर चाहार्ने, भकारीको धान पनि फालिदिने, पकाएको खाना पनि फालिदिने गर्थे ।

यस्तो ज्यादती भएपछि म हर्मीको घर, पायक पर्ने जागिर र सबै थोक छाडेर बच्चामात्र काखमा च्यापेर काठमाडौँ आइपुगेँ ।

लमजुङको साइँलीटारमा माइती भएकी बिमलाले आफ्नो जीवनमा आइपरेका यी वज्रपात कसरी सहन सकिन् होला भन्ने सोच्दा मेरो मनमा उनीप्रति आदरको सगरमाथा चुलियो । अहिले उनका छोराछोरी हुर्किसकेका छन् । पढेर जागिर पनि गरिरहेका छन् । अहिले उनी आफैँ पनि गोरखापत्र संस्थानका जागिरे छिन् । १८ वर्षदेखि बेपत्ता पारिएका श्रीमान्सँग फेरि भेट होला कि भन्ने झिनो आशा बोकेर बाँचिरहेकी उनी आफ्नो जीवनमा घटेका ती काला दिन कुनै भयानक सपनाजस्तै बिर्सिदिन चाहन्छिन् । जीवनका सुख दुःख सँगै काट्ने र सँगै जिउने मर्ने कसम खाएको जीवनसाथीलाई १८ वर्षदेखि खोजिरहेकी बिमलाजस्ता कति महिला कष्टपूर्ण जिन्दगी बाँचिरहेका होलान् ?

अब त उहाँलाई सम्झनभन्दा बिर्सन सजिलो भएको छ । उनी सुनाउँछिन्, ‘तैपनि कुनै दिन टुप्लुक्क आउनु पो हुन्छ कि भन्ने लागिरहन्छ ।’

पार्टीप्रति उनको गुनासो छ, ‘पार्टीले मन लगाएर बेपत्ताको खोजी गरिदिएन । अलि जोडतोडले लागेको भए केही हुन्थ्यो कि । सहिदकै जस्तो ‘क्याटोगरी’मा बेपत्तालाई नराखिदिए हुन्थ्यो ।’ बेपत्ता त बेपत्ता नै हो नि कुनै दिन फर्किन सक्छन्, भेटिन पनि सक्छन् ।

सिमसिम पानी परिरहेको थियो । बेपत्ता दिवसमा नेताले बोलेका कुराको समाचार सम्प्रेषण गर्न हतार थियो । म रातोपाटी कार्यालय भनिमन्डलतिर लागेँ ।

यो पनि : १७ वर्षसम्म बेपत्ता परिवारको पीडा : भन्छन्– बलिदान केका लागि ?

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल