रीता साह मधेसी उत्पीडन र अधिकार क्षेत्रमा कलम चलाइरहेकी अधिकारकर्मी हुन् । ६ महिनासम्म चलेको मधेस आन्दोलनमा भएको महिला सहभागितालाई नजिकबाट अध्ययन गरिरहेकी साह भन्छिन्, ‘अहिले मधेस आँधी आउनुपूर्वको सन्नाटा बोकेर उभिएको छ । लामो समयदेखि मधेस र मधेसी महिलाको क्षेत्रमा कलम चलाइरहेकी उनीसँग रातोपाटीकर्मी आस्था केसीले मधेस आन्दोलनमा देखिएको महिला सहभागिताबारे खोतलखातल पारेकी छन् ।
आन्दोलनमा जे देखियो
यसपालिको मधेस आन्दोलनमा म विराटनगरदेखि वीरगन्जसम्म पुगेँ । एकपटक आन्दोलन चर्किरहेको समयमा र अर्कोपटक आन्दोलनको अन्त्य–अन्त्य तिर । आममधेसी महिला यसपटकको मधेस आन्दोलनमा सहभागीमात्र भएका थिएनन्, प्रत्यक्ष मोर्चामा नेतृत्व पनि गरिरहेका थिए । मधेसी दलले विभिन्न स्वरूपका आन्दोलन गरेका थिए । तीमध्ये कैयौं कार्यक्रम महिलामात्रको नेतृत्व र सहभागितामा भएका थिए । कैयौं आमसभा, कोणसभा, टोलसभा, सिठ्ठी जुलुस, कुचो जुलुस आदिमा त महिला अग्रपंक्तिमा थिए नै । त्योबाहेक दिन र रात गरी २४ घन्टासम्म नेपाल–भारत सीमाक्षेत्रमा गरिएको धर्ना कार्यक्रममा समेत महिला अग्रपंक्तिमा उभिएका थिए ।
प्रशासनले दंगा ग्रस्त भनेर निषेधित घोषणा गरेको क्षेत्रमा पनि महिला पुगेका थिए । घर र समाजका विभिन्न हिंसा सहेर (प्रहरी प्रशासनको) पनि मधेसी महिला आन्दोलनमा सहभागी थिए । ६ जना महिलाले यो आन्दोलनमा ज्यान गुमाए । सयौं मधेसी महिला थुप्रै दुव्र्यवहार र हिंसामा परेर, प्रहरी प्रशासनको धरपकड, यातना, कुटपिट आदि सहेरै पनि निरन्तर आन्दोलनमा सहभागी भए ।
२०७२ भदौ १ गतेदेखि मधेस आन्दोलन घोषणा भएको हो । सुरु–सुरुमा पार्टीमा संगठित र केही सहरिया टाठाबाठा महिलामात्र आन्दोलनमा सहभागी थिए । जति–जति प्रहरी प्रशासनले आन्दोलनलाई दमन गर्न लाग्यो, उति नै मधेसका आमउत्पीडित सर्वसाधारण महिला आन्दोलनमा सक्रिय हुनेक्रम बढ्न थाल्यो । गाउँ–गाउँबाट उत्पीडित महिला जोसँग राजनीतिक चेतना थिएन । उनीहरू पनि आन्दोलनमा आइरहेका थिए । मैले नाकामै गएर कुरा गरेकी थिएँ । जोगबनी नाकामा चलेको आन्दोलनमा सहभागी हुन आएका महिला तीन प्रकारका थिए ।
पहिलोथरिका महिला जो पार्टी राजनीतिमा सक्रिय थिए । राजनीतिले मात्र आफ्नो अधिकार स्थापित गराउन सक्छ भन्ने कुरा बुझेका थिए । दोस्रोथरि महिला जो राजनीतिमा प्रत्यक्ष जोडिएका थिएनन् तर मधेस आन्दोलनलाई सहयोग गरिरहेका थिए र तेस्रोथरि महिला जो निकै टाढा–टाढाबाट आएका थिए । तिनीहरूलाई न त राजनीति थाहा थियो न त अधिकारकै बारेमा थाहा छ । आफ्ना पति, भाइ र छोरा आन्दोलनमा सहभागी भएका र उनीहरूमाथि प्रहरी प्रशासनको दमन भइरहेकाले उनीहरू नै नरहे आफूहरू पनि नरहने चेतना बोकेर स्वतस्फूर्त रूपमा आन्दोलनमा सहभागी थिए ।
हुन त महिला, केटाकेटीलाई अगाडि बढाउँदा प्रशासनले केही कम दमन गर्ला कि भन्ने पनि आन्दोलनका अगुवाले सोचेको हुन सक्छ तर शतप्रतिशत त्यही कुरा नै होइन । स्वतस्फूर्त हामी पनि आन्दोलनमा सहभागी हुनपर्छ केही न केही योगदान गर्नपर्छ भनेर नै महिला सहभागी भएका थिए ।
श्रेय जनयुद्ध
नेपालजस्तो देशमा राजनीतिमा उल्लेख्य महिला सहभागिता आज पनि बहसकै विषय भइरहेको छ । राजनीतिमा मात्र होइन, समाजका हरेक क्षेत्रमा आज पनि महिलामाथि अनगन्ती विभेद भइरहेका छन् । त्यसमाथि मधेसको कुरा गर्ने हो भने पछिल्ला केही वर्षयता मात्र राजनीतिमा मधेसी महिलाको सहभागिता हुन थालेको हो । पहिले–पहिले औपचारिकताका लागि मात्र राजनीतिक पार्टीले महिलालाई संगठनमा आबद्ध गराएका थिए ।
१० वर्षे माओवादी जनयुद्धले महिलाले पनि राजनीति गर्न सक्छन्, परिआएमा सबै प्रकारका जिम्मेवारी पूरा गर्न सक्छन् भन्ने कुरा प्रमाणित गरेर देखाएको हो । माओवादी जनयुद्ध पछाडि मात्र मधेसी महिला राजनीतिमा खुलेर लाग्न थालेका हुन् । अहिले मधेसमा चलेको आन्दोलन र त्यसमा बढिरहेको महिला सहभागिताको श्रेय १० वर्षे माओवादी आन्दोलन, १९ दिने जनआन्दोलन, ६२–६३ को मधेस आन्दोलनलाई दिनुपर्छ भन्ने मलाइ लाग्छ ।
राजनीतिक चेतना
मधेसी महिलामा वास्तवमै राजनीतिक चेतना बढेको छ । गणतान्त्रिक नेपालको सरकारले जारी गरेको नयाँ संविधानमा मधेसी जनतामाथि जुन विभेद देखियो, त्यो विभेदविरुद्धमा आन्दोलन नै गर्नुपर्छ भन्ने चेतना तिनीहरूमा जबर्जस्त रूपमा बढेको छ । २०६३ को अन्तरिम संविधानमा लेखिएका कतिपय अधिकार पनि नयाँ बनेको संविधानमा कटौती गरिएपछि र मधेसी नागरिकलाई दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गरेपछि मधेस आन्दोलन चर्किएको हो ।
मधेसमा बस्ने सबै नेपालीको यसमा सक्रिय सहभागिता रहेको थियो । समानुपातिक समावेशीको कुरा पनि पछि संशोधन गरेरमात्र मिलाइएको हो । त्यस्तै केन्द्र, प्रदेश र स्थानीय निकायमा मधेसी महिलाको ३३ प्रतिशत सहभागिताको कुरा पनि सुनिश्चित गरिएको छैन । जनसंख्याका आधारमा निर्वाचन प्रणालीका कुरा, सीमांकनका कुरा आदि केही पनि मिलाइएको छैन । नागरिकतामा विभेद गरिएको छ । त्यसैले गर्दा पनि यो संविधानप्रतिको असन्तुष्टि बढ्दै गएर महिला स्वतस्फूर्त रूपमा आन्दोलनमा सहभागी भएका हुन् ।
यसपटकको मधेस आन्दोलनमा आममहिलाको सहभागिता बढी हुनुका कारण व्यापक प्रहरी प्रशासनको दमन पनि हो । अब हाम्रो श्रीमान् र छोराछोरी नै रहेनन् भने हामी रहेर के अर्थ भन्ने सोचेर पनि आन्दोलनमा महिला सहभागिता बढेको हो । दबाबका कारणले एक÷दुई दिनमात्र मान्छे आन्दोलनमा आउँछ तर मधेसी महिला ६÷७ महिनासम्म चलेको आन्दोलनमा सक्रिय सहभागी भए । यसको अर्थ प्रस्टै छ कि मधेसी महिलामा क्रमशः राजनीतिक चेतना बढ्दै गएको छ ।
जुन महिला आन्दोलनमा प्रत्यक्ष सहभागी हुन सकेका थिएनन्, ती महिलाले अरू हिसाबले सहयोग गरिरहेका थिए । आन्दोलनकारीलाई खाना खुवाउने, पानी खुवाउने, चिउरा, खाजा खुवाउने आदि गरेका थिए । जसरी भए पनि आन्दोलनमा सहभागीको मनोबल उँचो बनाइराख्न अरू महिलाले पनि भूमिका खेलेका थिए ।
संघीय समाजवादी फोरमकी नेतृ रेणु यादव, सोही पार्टीकी करिमा बेगम, सद्भावना पार्टीकी नेतृ राधा कायस्थ आदि आन्दोलनमा सक्रिय रूपमा खटिएका थिए । यसैगरी, तराई–मधेस लोकतान्त्रिक पार्टीकी चन्दा चौधरी, जनकपुरमा रेणु कर्ण, रेखा झा, वीरगन्जमा पिंकी यादव, रेखा साह, मुन्नी श्रीवास्तव, सप्तरीमा गीता यादव, सुनिता साह, पुनमकुमारी यादव, विराटनगरमा सदिना खातुन, शोभा साह, मञ्जु साह, रञ्जु वर्मा लगायतका महिलाले आन्दोलनमा हुने कार्यक्रममा महिलाको नेतृत्व गरेका थिए । मधेसका वीरगन्ज, विराटनगर, जनकपुर, बारा, पर्सा, रौतहट, सिरहा, धनुषा आदि सबैजसो जिल्लामा सशक्त रूपमा महिला सहभागी थिए । कलेज पढिरहेका युवा महिलादेखि लिएर स्थानीयस्तरका संघ–संस्थामा आबद्ध भएका र गुहस्थी धानिरहेका पाका मधेसी महिला सबै आन्दोलनमा उत्तिकै मात्रामा सहभागी देखिन्थे ।
आँधी आउनुपूर्वको सन्नाटा
मधेसवादी दल अहिले राजधानी छिरेका छन् । राजधानीकेन्द्रित आन्दोलन गरिरहेका छन् । अहिले मधेसमा आन्दोलन केही सेलाएजस्तो देखिन्छ । अहिले मधेस शान्त भएको छ । यो आँधी आउनुपूर्वको सन्नाटाजस्तै हो ।
संविधानमा भएका कमीकमजोरी सच्याएर मधेसी दलका जायज माग सम्बोधन गरिएन भने मधेसमा फेरि अर्को आन्दोलनको आँधीबेहरी सिर्जना हुने छैन भन्न सकिन्न । के महिला, के जनजाति, के दलित, के युवा सबैमा अहिले राजनीतिक चेतनाको माहोल बढेको छ । मधेसले अहिलेसम्म जति विभेद खप्यो, त्यसको क्षतिपूर्तिसहितको अधिकार चाहन्छ । दाइजोप्रथा, छुवाछूतप्रथा र छोरीलाई स्कुल नपठाउने गलत संस्कार त्यहाँ छन् तर पनि आफ्नो अधिकार खोजीमा मधेसी महिला घरबाहिर निस्किरहेका छन् । मधेसी महिला घुम्टोबाहिर निस्केका छन् ।
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..