Reality Test : ‘आमा सुरक्षा कार्यक्रम’ मा यसरी हुँदै छ लुट

-  |   मदन ढुंगाना

सुत्केरी र राज्य दुवै ठग्दै निजी अस्पताल

Reality Test  : ‘आमा सुरक्षा कार्यक्रम’ मा यसरी हुँदै छ लुट

ठगी प्रकरण १ :  देशमा बढ्दै गएको मातृ मृत्युदरमा कमी गर्न भन्दै सरकारले २०६५ देखि निर्देशिका नै बनाएर आमा सुरक्षा कार्यक्रम लागू गर्यो । ०६५ मा प्रत्येक एक लाख आमा सुत्केरी हुँदा एक सय ७० महिलाले ज्यान गुमाउनुपरेको थियो । यो डरलाग्दो अवस्था कम गर्न सरकारले ०६५ देखि आमा सुरक्षा कार्यक्रम ल्यायो र अस्पतालमा आएर सुत्केरी हुनेलाई निःशुल्क सेवामात्रै होइन, हिमाली क्षेत्रमा एक हजार पाँच सय, पहाडी क्षेत्रमा एक हजार र तराई क्षेत्रमा पाँच सय यातायात खर्चसमेत दिन थाल्यो ।

सुरुमा सरकारी अस्पतालबाट सुरु गरिएको यो सेवा अहिले केही निजी अस्पताल र गैरसरकारी स्वास्थ्य संस्थाले पनि सञ्चालन गरिरहेका छन् । मुख्यतः मातृ मृत्युदर कम गर्न र अस्पतालमै आएर बच्चा जन्माउने संस्कार विकास गर्न यस्तो कार्यक्रम ल्याइएको बताउँछन् स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ ।

कार्यक्रमको सुरुवात सरकारी अस्पताल वा स्वास्थ्य संस्थाबाट गरिए पनि अहिले यो केही निजी तथा स्वास्थ्य संस्थालाई पनि दिइएको छ । मुख्यतः मेडिकल कलेजले यस्तो सेवा प्रदान गरिरहेका छन् ।

के हो ‘आमा सुरक्षा कार्यक्रम’ ?

सरकारले ०६५ मा कार्याविधि बनाएर सञ्चालनमा ल्याएको आमा सुरक्षा कार्यक्रम मातृ मृत्युदर घटाउने र सुरक्षित तथा निःशुल्क प्रसूति सेवा दिने उद्देश्यले ल्याएको कार्यक्रम हो । सुरुमा सरकारी अस्पतालमा मात्रै उपलब्ध यो सेवा ०६६ देखि केही निजी अस्पताल र मेडिकल कलेजबाट पनि सञ्चालनमा ल्याइयो । यो सेवा उपलब्ध गराएबापत निजी अस्पताल र मेडिकल कलेजलाई पनि सरकारले पैसा दिन थाल्यो ।
‘आमा सुरक्षा कार्यक्रम’ लिएका अस्पताल वा मेडिकल कलेजले सरकारसँग सामान्य प्रसूति सेवा दिएमा एक हजार पाँच सय, जटिलतायुक्त प्रसूति सेवा दिएमा तीन हजार र अपरेसन गरेर प्रसूतिसेवा दिएमा सात हजार रुपैयाँ पाउँछन् । त्योबाहेक प्रत्येक सुत्केरी डिस्चार्ज भएर घर फर्कने समयमा यातायात खर्चबापत एक हजार रुपैयाँ सरकारले दिने गरेको छ ।

न्यूनतम मापदन्ड पुगेका स्वास्थ्य संस्थाले स्वास्थ्य सेवा विभागबाट स्वीकृति लिई जिल्ला जनस्वास्थ्य कार्यालयसँग प्रत्येक वर्ष सम्झौता गरी यो सेवा लिनुपर्छ । यो सेवा लिएपछि अस्पताल वा मेडिकल कलेजले गर्भवती वा सुत्केरीबाट थप रकम लिन नपाइने कार्याविधि निर्देशिकामा उल्लेख छ ।

कुनै महिला सुत्केरी गराउनका लागि अस्पतालमा भर्ना भएदेखि डिस्चार्ज नभएसम्मको अवधिमा यो सेवा लिएका अस्पतालले निःशुल्क उपचार र प्रसूति सेवा दिनुपर्नेछ । तर, यदि कोही सुत्केरी सामान्य शय्यामा नबसेर क्याबिनमा बसेमा, आफूले चाहेको डाक्टरको सहयोग वा आफूले चाहेको समयमा अपरेसन गरी बच्चा जन्माउन चाहेमा भने त्यो सुविधा नपाइने उल्लेख छ । साथै आमा सुरक्षा कार्यक्रममा नवजात शिशुका लागि भने केही पाइने छैन ।

त्यतिमात्रै होइन, यदि सुरुवातबाटै जुन अस्पतालमा गर्भवतीको नियमित चेक–जाँज गराइएको हो, त्यही अस्पतालमा सुत्केरी गराएमा सुत्केरीलाई थप चार सय रुपैयाँ दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

काठमाडौं जिल्लालाई हेर्ने हो भने पाँच निजी तथा सामुदायिक स्वास्थ्य संस्थाले पनि यस्तो सेवा लिएका छन् । काठमाडौंको नेपाल मेडिकल कलेज, अत्तरखेल, काठमाडौं मेडिकल कलेज, सिनामंगल, शंकरापुर अस्पताल, जोरपाटी, जनस्वास्थ्य सरोकार ट्रस्ट कीर्तिपुर अस्पताल, कीर्तिपुर र मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङले यो सुविधा लिएका छन् । तर, पाँच निजी अस्पताल वा मेडिकल कलेजले यो सुविधा लिए पनि सेवा भने निःशुल्क दिएका छैनन् । रातोपाटीको विशेष खोजमा निजी मेडिकल कलेज तथा अस्पतालको घोटाला फेलापरेका छन् ।

kmc

काठमाडौं मेडिकल कलेजको दोहोरो ठगी

सिनामंगलको काठमाडौं मेडिकल कलेज एन्ड हस्पिटलले नेपाल सरकारसँग सम्झौता गरेर ‘आमा सुरक्षा कार्यक्रम’ लिएको ६ वर्ष भयो । यो अस्पतालले जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंसँग सम्झौता गर्दा पनि निःशुल्क प्रसूति सेवा दिन्छु भनेर नै सम्झौता गरेको छ । तर, यस अस्पतालले आमा सुरक्षा कार्यक्रम लागू गरे पनि सेवा भने निःशुल्क दिएको छैन ।

सुत्केरी गराउन वैशाख ३ गते अस्पतालमा भर्ना भएकी नयाँठिमी भक्तपुर बस्ने लक्ष्मी थापाले अस्पतालमै करिब ११ हजार रुपैयाँ बुझाइन् । अपरेसन गरेर बच्चा जन्माएकी थापाले वैशाख ३ गतेदेखि नै काठमाडौं मोडल अस्पताललाई विभिन्न शीर्षकमा करिब ११ हजार रुपैयाँ तिरिन् । ल्याब टेस्ट, औषधि आदि नाममा उनका परिवारसँग अस्पतालले रकम असुलेको छ । लक्ष्मी भन्छिन्, ‘भन्न त सित्तैमा अपरेसन हुन्छ भनेको थियो तर खै के–के चेक–जाँच र औषधि भन्दै अस्पतालले ११ हजार रुपैयाँ लिएको छ ।’

आमा सुरक्षा कार्यक्रम लिएबापत अस्पतालले सुत्केरी हुन भर्ना भएदेखि डिस्चार्ज नभएसम्म कुनै पनि शीर्षकमा थप रकम लिन मिल्दैन र पाइँदैन । यदि सुत्केरीलाई आईसीयूमा राख्नुपरे पनि वा अन्य केही जटिलता आए पनि ती अस्पतालले सरकारसँग लिएको पैसामै बिरामीको उपचार गराउनुपर्ने हुन्छ । तर, न लक्ष्मी क्याबिनमा बसिन् न त उनले उपलब्ध नभएको सेवा नै लिइन् तर पनि काठमाडौं मेडिकल कलेज सिनामंगलले उनीबाट थप रकम असुल गर्यो ।
वैशाख ३ गते भर्ना भएर ४ गते अपरेसन गराएकी लक्ष्मीका लागि वैशाख ४ गते नै अस्पतालले औषधि किन्न लगाएको थियो । स्लाइन पानीदेखि औषधि र सुत्केरी गराउँदा आवश्यक अन्य सरसामान लक्ष्मीलाई किन्न लगाइएको छ । जब कि ती औषधि अस्पतालले निःशुल्क उपलब्ध गराउनुपर्ने हुन् ।

 Bill-1,2,3

 

वैशाख ८ गते अस्पतालबाट डिस्चार्ज भएकी लक्ष्मीलाई उनी आफंैले खाने विभिन्न थप औषधिसमेत किन्न लगाइको छ । तर, उनलाई अपरेसन चार्ज र अपरेसन गर्दाको अन्य खर्च भन्दै सात हजार ६ सय ६० रुपैयाँको बिल दिइएको छ । त्यसमा सात हजार तीन सय ५० रुपैयाँ छुट दिइएको भनिएको छ । तर, उक्त छुट कुन आधारमा किन गरियो भनेर सुत्केरी वा सुत्केरीका आफन्तलाई जानकारी दिइएको छैन । बरु अस्पतालले नै उक्त रकम छुट गरिदिएको आसय व्यक्त गरिएको छ ।

KMC Operation Bill (1)

लक्ष्मी भन्छिन्, ‘हामीलाई अस्पतालले अपरेसन सित्तैमा गरिदिएको भनेको छ । तर, किन सित्तैमा गरिदिएको हो केही थाहा छैन । सरकारले निजी हस्पिटललाई पनि पैसा दिन्छ भन्ने हामीलाई के थाहा ।’
Laxmi Thapa-001

बिरामीलाई दिने गरिएको सात हजारको छुटबारे अस्पताल प्रशासनले कुनै जानकारी दिने गरेको छैन । त्यतिमात्रै होइन, सम्झौता गर्दा अस्पतालमा प्रसूति वार्ड, जचाउने स्थान आदि स्थानमा यहाँ आमा सुरक्षा कार्यक्रम छ र यहाँ निःशुल्क प्रसूति सेवा दिइन्छ भन्ने बोर्ड राख्नुपर्नेमा काठमाडौं मेडिकल कलेज एन्ड हस्पिटलमा त्यो बोर्डसमेत राखिएको छैन । यता, अस्पतालले पनि बिरामीलाई त्यो छुट किन दिइएको हो, त्योबारे जानकारी दिने नगरिएको स्वीकार गरेको छ । अस्पतालकी प्रसूति विभागप्रमुख डा. रचना साह भन्छिन्, ‘बिरामीलाई त्यो सबै जानकारी दिनु आवश्यक पनि छैन र हामीले त्यस्तो जानकारी दिने गरेका छैनौं ।’

हुन त निजी अस्पताललाई सरकारले दिएको सात हजारले अपरेसन गरेर सुत्केरीलाई घर पठाउन पैसा नपुग्ला । तर, ६ वर्षअघि सम्झौता गर्दा पनि उनीहरूले त्यही रकम लिएका थिए, जुन मनग्य थियो । तर, निजी अस्पतालले यो सेवा लिनुको मुख्य कारणचाहिँ विद्यार्थीलाई प्राक्टिकल गराउनु हो । डा. साह भन्छिन्, ‘नाफाभन्दा पनि हामीलाई केस चाहिएको हुन्छ । हाम्रा विद्यार्थीलाई प्राक्टिकल गराउनुपर्ने हुन्छ । त्यही भएर हामीले यस्तो सेवा लिएका हौं ।’

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज एन्ड हस्पिटलले सरकारसँग सम्झौता गरेर आमा सुरक्षा कार्यक्रम लिए पनि सुत्केरीलाई पूर्ण रूपमा निःशुल्क सेवा भने दिएको छैन । अपरेसन चार्जमात्रै छुट गरिदिएर अन्य शीर्षकमा अस्पतालले सुत्केरीसँग थप रकम असुलिरहेको छ ।

अस्पतालले सरकारसँग सम्झौता गरेर आमा सुरक्षा कार्यक्रम सुरु गरेको भए पनि अपरेसनमा छुट भन्दै सात हजार छुट दिए पनि यो वा त्यो शीर्षक बनाएर सुत्केरी र तिनका आफन्तसँग थप पैसा असुलिरहेको छ । तर, ‘आमा सुरक्षा कार्यक्रम’ कस्तो भइरहेको छ भनेर हेर्ने सरकारी संयन्त्र भने टुलुटुलु हेरिरहेको छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल