लागुऔषध अनुसन्धानको २० वर्षे अनुभव : ‘माफिया र पुलिसको खेल मुसा र बिरालाको जस्तै’

जेठ २५  |   राजेश भण्डारी

लागुऔषध अनुसन्धानको २० वर्षे अनुभव : ‘माफिया र पुलिसको खेल मुसा र बिरालाको जस्तै’

जनआन्दोलको रापले राजधानी धपक्कै बलेको थियो । कुरा २०४६ सालको हो । कृष्णगोपाल पनेरू असईको बर्दी भिरेर न्युरोडतिर निस्किए । प्रजातन्त्र प्राप्तिको आन्दोलनले हरेक दिन नयाँ उचाइ चुम्न थालेको थियो, ठीक त्यतिबेला प्रहरी हेडक्वार्टरबाट आदेश आयो, ‘पाडाचाके झोला भिरेका, झुस्स दाह्री पालेका र चप्पल लगाएर हिँड्नेहरू नेता हुन्, तिनीहरूलाई देख्नासाथ नियन्त्रणमा लिनू ।’

न्युरोडको सालिकबाट असनतिरको चियापसलमा त्यस्तै हुलियाको मानिस चियाको चुस्कीसाथ स्थानीयसँग सोधेर केही कुरा टिप्दै थिए । कृष्णगोपालको कमान्डमा रहेको प्रहरी टोलीले उनलाई समात्यो । चियापसलबाट बाहिर आएपछि झुस्स दाह्री पालेका युवाले कृष्णगोपालको कानमा फुसफुसाउँदै भने, ‘असई साप, म तपार्इंहरूकै मान्छे, राष्ट्रिय अनुसन्धानको इन्सपेक्टर हुँ । परिचयपत्र हेर्ने हो ?’

‘सरी, भनेर तत्काल छाडिदिएँ,’ प्रहरी इन्सपेक्टर कृष्णगोपालले कुराकानी सुरु गरे । देशमा प्रजातन्त्रको घाम उदाएको एकाध महिनापछि नै तत्कालीन लागुऔषध कानुन कार्यान्वयन इकाइ (हालको लागुऔषध नियन्त्रण व्युरो) मा सरुवा भएका पनेरू अहिलेसम्म त्यहीँ छन् । असईबाट इन्सपेक्टर भएँ, लागुऔषधसँग सम्बन्धित सयौँ फाइल सफल अनुसन्धान गर्दै व्युरोमा २० वर्ष बिताएँ । उनको लगनशीलतालाई सम्मान गर्दै यस वर्ष गणतन्त्र दिवसको अवसरमा सरकारले ‘नेपाल प्रताप भूषण’ पदकले सम्मान गरेको छ ।

Inspector Krishna paneru (7)
रामकाजी बान्तवादेखि जयबहादुर चन्दसम्म

कृष्णगोपाल पनेरू ककनी तालिम केन्द्रबाट हनुमानढोका सरेको डेढ महिना पुग्दै थियो । लागुऔषध नियन्त्रणसम्बन्धी ऐन बनिसकेको थियो तर कार्यान्वयन गर्ने इकाइ नहुँदा कानुन किताबमै सीमित थियो ।

एसएसपी रामकाजी वान्तबाको कमान्डका गठन भएको ‘लागुऔषध नियन्त्रण कानुन कार्यान्वयन इकाइ’ आज ‘लागुऔषध नियन्त्रण व्युरो’ को नामले क्रियाशील छ । सुरुवाती चरणमा गृह मन्त्रालयको प्रत्यक्ष निगरानीमा रहनेगरी गठन गरिएको इकाइमा प्रहरीसहित भन्सार विभाग र अध्यागमन विभागका कर्मचारी पनि समाहित थिए । अन्य निकायका कर्मचारी फिर्ता भएपछि प्रहरीको एउटा इकाइका रूपमा विकास भएको व्युरोलाई हाल डीआईजी जयबहादुर चन्दले कमान्ड गरेका छन् ।

व्युरोका प्रमुखहरू पटक–पटक सरुवा भए तर पनेरू २० वर्षदेखि जहाँको तहीँ छन् । गत बिहीवार लागुऔषध नियन्त्रण व्युरोको मुख्यालय कोटेश्वर पुगेर कुराकानीको प्रस्ताव राख्दा उनले भने, ‘माथि नसोधी बोल्न मिल्दैन ।’

एसपी धीरजप्रताप सिंह र डीआईजी जयबहादुर चन्दसँग अनुमति लिएर रातोपाटीसँग प्रस्तुत भएका पनेरूले सचेततापूर्वक नेपालमा फस्टाउँदै गएको लागुऔषधको धन्दा, माफियाले अपनाउन थालेका नयाँ प्रविधि र प्रहरी सक्रियता किस्साबारे मुख खोले ।

डेनमार्क लैजाने ढोकामा चरेस भेट्नसाथ प्रमोसन !

कृष्णगोपालको जीवनमा एक घटना सधँै अविस्मरणीय भएर आउने गर्छ । कुरा २०५४ सालको हो । उनी एयरपोर्टमा खटिएका थिए । पुरानो शैलीबाट बनेको १८ जोर झ्यालढोका डेनमार्क पठाउन भन्दै भन्सार जाँचपास हुँदै थियो । एयरपोर्टको गोदाममा भन्सारका अधिकारी, लागुऔषध नियन्त्रण व्युरोका प्रहरी र एयरपोर्ट प्रहरी संयुक्त रूपमा खटिएका थिए । ‘हामीलाई त्यस दिन जस पाउन लेखेको रहेछ’ त्यो खुसीको दिन सम्झँदै पनेरू भन्छन्, ‘अग्राखको मूल्य लगाइको झ्याल ढोकामा कमसल काठ प्रयोग भएको देखेपछि मैले टोलीलाई सचेत गराएँ, ड्रिल मेसिनले झ्याल खोप्दा २०३ किलो चरेस भेटियो ।’

ड्रिल गर्दासम्म अफिसमा कुनै कुरा नभनेका पनेरूले ठ्रूलो परिणाममा चरेस फेलापरेपछी मात्रै व्युरोमा खबर गरे । झ्यालढोकाभित्र चरेस लुकाएर डेनमार्क सप्लाइ गर्न खोज्नेलाई रंगेहात समाते । ‘यसरी बिग भोल्युममा चरेस समातेको २४ घन्टामा मेरो प्रमोसन भयो,’ गर्वले छाती चौडा बनाउँदै पनेरूले थपे, ‘विभागले सिंगल प्रमोसनको निर्णय गर्दा निकै खुसी लाग्यो ।’ त्यसपछि पनेरूको बर्दीमा फुली थपियो, असइबाट सइसा’ब भए ।

५० सालदेखि विदेश जान्थ्यो, नेपाली चरेस

आजभन्दा २० वर्षअगाडिदेखि नै धादिङ, मकवानपुरका पहाडी क्षेत्र, म्याग्दी, बाग्लुङ, बारा, पर्सा र रौतहटमा गाँजा खेती हुन्थ्यो । त्यही गाँजाबाट बन्ने चरेस तिनै जिल्लामा उत्पादन भएर भारत, क्यानडा, जापान, डेनमार्क तथा युरोपियन देशमा जाने गरेको थियो । आज पनि गइरहेको छ । २०५६ सालसम्म त्रिभुवन विमानस्थलको बाटो हुँदै बिदेसिने नेपाली चरेस पछि भारतको बाटो हुँदै निर्यात हुन थाल्यो ।

लागुऔषध नियन्त्रणका लागि सरकारले छुट्टै इकाइ गठन गर्दा प्रहरीसँग सामान्यखालका साधन स्रोतसमेत थिएन । ‘त्यतिबेला हिँडेर, सुधार गृहमा भेटिएका प्यासेन्टबाट सूचना फुत्काएर कारोबारीको निगरानी गथ्र्यौं,’ पनेरू भन्छन्, ‘कसैले बेच्छ भन्ने सूचना पाएपछि हामी उसलाई तीन÷चार महिनासम्म आई कन्ट्याकमा राख्थ्यौँ अनि बल्ल समात्थ्यौँ, अहिलेको अनुपातमा काम गर्न कठिन थियो ।’

०५१÷५२ सालतिर मेडिकल ड्रग्स थिएन । खुला सिमानाका कारण भारतबाट ब्राउन सुगर नेपाल भित्रिन्थ्यो । ह्वाइट सुगर नेपाललाई क्षणिक विश्राम बिन्दु बनाएर निकै कम मात्रामा भित्रिन्थ्यो । नेपालमा उत्पादन हुने चरेस त्यतिबेला त्रिभुवन विमानस्थल हुँदै विदेशी मुलुकमा जान्थ्यो । ‘एयरपोर्टबाट कतिपय मान्छेले चरेस निलेर जान्थे, कतिपय कारोबारीले कार्गो कुरियरलाई झुक्याएर बाहिर पठाउँथे ।’ पनेरू भन्छन्, ‘त्यतिबेला क्यानडा र डेनमार्क पठाउन लागिएको चरेस ठूलो परिणाममा समातेपछि बल्ल हाम्रो आँखा खुल्न थाल्यो कि, लागुऔषध माफियाले ठूलो मात्रामा यहाँबाट चरेस लैजान्छन् ।’

विदेशी नागरिक पनि नेपाल आएर चरेस कारोबारमा संलग्न हुने गरेको थाहा लागेसँगै प्रहरी त्यस्तो कारोबारको नियन्त्रणमा सक्रियतापूर्वक लाग्न थाल्यो ।

‘त्यतिबेला मोबाइल थिएन, ल्यान्डलाइन फोनका भरमा अनुसन्धान गर्दा निकै अप्ठेरो हुन्थ्यो,’ २० वर्ष अगाडिको दुःख सम्झदै पनेरूले भने, ‘बीच–बीचमा अपरेसन चलाउँदा पेजरको सहयाताले काम गर्न थाल्यौँ, जब मोबाइल आयो त्यसपछि काम गर्न धेरै सजिलो हुन थाल्यो ।’

नेपाल प्रहरीले निगरानी बढाएसँगै लागुऔषध कारोबारी नयाँ टेक्नोलोजीको प्रयोग गरेर आफ्नो कारोबारलाई निरन्तरता दिन थाले । प्रविधि दुरुपयोग गर्दै माफियाहरू प्रहरीको आँखा छल्थे, प्रहरी संगठन तिनलाई चक्मा दिने अपरेसन चलाउन पारंगत भइसकेको थियो ।

प्रहरी र माफियाका खेल मुसा र बिरालाको खेल हो । पनेरू भन्छन्, ‘मुसा लुक्न खोज्छ, बिरालाले उसलाई आक्रमण गर्न खोज्छ । यो दुइटाको खेल हो, प्रहरी र माफियाको खेल । यो खेलमा जो सफल हुन्छ, त्यसैले जित्छ ।’ मुसा र बिरालाको खेलमा माफियाले प्रहरीलाई यसरी झुक्याउन खोजे, जुन कुरा सामान्य दिमागको कल्पनाबाहिरको कुरा थियो ।

‘बहिर हेर्दा सग्लो सुन्तला थियो, भित्र चरेस’ एयरपोर्टमा चेकजाँचक्रममा त्यस्तो भेटियो, जुन कुरा हामीले अनुमानै गर्न सक्दैनौँ,’ उनी भन्छन्, ‘आफ्नो शरीरलाई हत्केलामा राखेर चरेस निलेर पनि लागुऔषध कारोबारमा मानिस संलग्न भएका छन् ।’ पनेरूका अनुसार महँगो बजार मूल्य भएकाले मान्छे जस्तासुकै हथ्कन्डा प्रयोग गरेर पनि नशा दिने पदार्थ कारोबार गर्न गराउन तल्लीन छन् ।

Inspector Krishna paneru (3)
चरेस : कसरी निल्छन्, कसरी निकाल्छन् ?

सूचना र प्रोफाइलका आधारमा पक्राउ गरेमा चरेस निलेर बेच्न हिँडेकाबाट प्रहरीले विशेष चिकित्सकीय पद्धतिबाट पेटको चरेस निकालेर कानुनी कारबाही अगाडि बढाउने गरेको छ । तर, निलेको चरेसका साथमा कोही जापान वा डेनमार्क पुगेमा त्यस्तो व्यक्तिको शरीरबाट चरेस निकालेर कसरी बिक्री गरिन्छ भन्ने विषय आश्चर्यजनक हुन सक्छ । इन्सपेक्टर पनेरूका अनुसार कोकाकोला र केराको सहायताले प्लास्टिक कोटेड चरेस निल्ने यदि त्रिभुवन विमानस्थलबाट उम्किन सफल भएमा उनीहरूले लागुऔषधबारे जानकारी राख्ने निजी चिकित्सकको सहायताले त्यस्तो चरेस निकाल्छन् । ‘जुस वा औषधिको सहायताले गोप्य कोठामा ट्वाइलेट गराएर चरेस छुट्याउँछन्,’ उनी भन्छन्, ‘यो ट्रेन्ड तीन वर्ष अघिसम्म थियो, अहिले घटेको देखिन्छ ।’

कच्चा अफिम ब्राउन सुगर बनेर नेपाल फर्किन्छ

नेपालबाट गाँजा र चरेस विदेशी मुलुकमा जान्छ । ब्राउन सुगर र फर्मास्युटिकल्स ड्रग्स भारतको खुला सिमाना हुँदै नेपाल आउँछ । गाँजा र चरेसबाहेक नेपालबाट भारततिर अफिम पनि निकासी हुन्छ । रुकुम, रोल्पा, दाङ, प्युठान, मकवानपुर र धादिङका पहाडी गाविसमा अफिम खेती हुन्छ । त्यही कच्चा अफिमलाई लागुऔधष कारोबारीले भारत पठाउँछन् । ‘कच्चा अफिमलाई प्रशोधन गरेर ब्राउन सुगर बनाएपछि नेपाल ल्याउने गरेको पाइन्छ,’ पनेरू भन्छन्, ‘भारतबाट आउने ब्राउन सुगर केही नेपालमा खपत हुने गरेको देखिन्छ केही अन्य मुलुकमा जान्छ ।’

नेपालमा कमसलखालको ब्राउन सुगर, खैरो हिरोइन र विशेषगरी नोर्फिन, डाइजेपाम, फेनार्गन धेरै खपत हुने प्रहरी अनुसन्धानक्रममा देखिएको छ । काठमाडौँलगायत मुख्य सहरका लागुऔषध प्रयोगकर्ताले नोर्फिम, डाइजेपाम र फेनार्गन माग गर्छन् ।

नेपाली प्रयोगकर्ताले रुचाउने डाइजेपाम, नोर्फिम र फेनार्गन फर्मास्युटिकल्स ड्रग्स हुन् । डाइजेपाम नोर्फिम र फेनार्गन विशषेगरी प्रसूति हुने समयमा दुखाइ कम गर्नका निमीत्त प्रयोग गरिने इन्जेक्सन हो । तर, कारोबारीले मिसयुज गरेर यस्ता तत्वलाई ड्रग्सका रूपमा बजारमा ल्याए । त्यसैकारण नेपाल सरकार यसलाई प्रतिबन्धित ड्रग्समा राख्न बाध्य भयो । पनेरू भन्छन्, ‘त्यसकारण औषधि ऐनअनुसार डाक्टरको स्वीकृतिविना कसैले यस्ता पदार्थ बेच्छ या उपभोग गर्छ भने त्यसलाई गैरकानुनी परिभाषित गरिएको छ ।’

चरेस बेच्नेको भव्य बंगला

आजभन्दा चार वर्ष अगाडिसम्म सीतापाइला बस्दै आएका देवेन्द्र छापाली लाइसेन्स राखेर लागुऔषध कारोबार गर्थे । लागुऔषध नियन्त्रण ऐन २०३३ आउनुअघि नै उनले लिएको लाइसेन्स बेकामे भइसकेको थियो तर प्रमाण अभावमा व्युरोले छापालीलाई पक्राउ गर्न सकेको थिएन ।

drug
छापालीको नाम विगत १४ वर्षदेखि चरेस कारोबारीका रूपमा जोडिएको थियो । भारत र युरोयिन देशमा चरेस सप्लाइ गर्ने छापाली ६ रोपनीको कम्पाउन्ड रहेको सीतापाइलास्थित भव्य महलमा बस्थे । विदेशीको आवतजावत बढी हुने भएकाले स्वयम्भू क्षेत्रमा चक्लेटजस्तो डल्ला बनाएर चरेस व्यापार गर्थे । विदेशीसँगको हिमचिमकै कारण उनले आफ्ना बालबच्चालाई क्यानडामा सेटल गरिसकेका थिए । घरमा गाई पालेका छापाली गाईको दूध खाएर शानदार जीवन जिउँदै थिए ।

सिरक बनाउँदा भित्र चरेस फिट गरेर धन्दा फैलाएका छापाली आजभन्दा दुई वर्षअघि प्रहरी फन्दामा परे । ‘मलाई लाग्छ– चरेस कारोबारमा संलग्न अहिलेसम्मको ठूलो मान्छे छापाली नै होला,’ पनेरू भन्छन्, ‘२०७० मा पक्राउ गरेर हामीले उसलाई मुद्दा चलायौँ ।’

बाहिर स्वेटर–मफलर, भित्र चरेस !

आजभन्दा आठ वर्षअघि नेपालबाट क्यानडा पठाउन लागिएको ६६९ केजी चरेस व्युरोले फेलापारेको थियो । कार्गोमार्फत पठाउन लागेको चरेस व्युरोबाट खटिएका प्रहरीको कमन सेन्सका सहायताले फेलापरेको थियो । ‘तल फल्स बटन बनाएको थियो, माथि स्वेटर र मफलर थियो, मफलर र स्वेटरको तौलको तुलनामा कार्गोमार्फत पठाउन लागिएको बाकस निकै गहकिला थिए,’ इन्सपेक्टर कृष्णगोपाल पनेरूले भने, ‘हामीले कमन सेन्स लगाएर बाकसमा खोल्दा हेरक बाकसको लेयरमा छपक्कै १५ देखी २० किलो चरेसको प्याकेट भेट्टायौँ ।’ त्यतिबेला दुईजना पक्राउ परेका थिए, पछि कागजातका आधारमा खुलेका डीबी गुरुङलाई समात्यौँ ।

इन्सपेक्टर पनेरूका अनुसार व्युरोले हालसम्म पक्राउ गरेका डीबी गुरुङ, देवेन्द्र छापाली, पूर्ण गुरुङ, उत्तम पाण्डे र युरोपमा चरेस पठाउने अग्निकुमार भट्टचन ठुला कारोबारी हुन् । त्यस्तै हेरोईन कारोबारी मानसिंह घलेलाई पनी व्युरोले ठूलो कारोबारी सूचीमा राखेको थियो । विदेशमा हेरोइन पठाउने कार्यमा संलग्न घलेले बालीमा भएको मुठभेटमा ज्यान गुमाए ।

लागुऔषध माफियाले अशिक्षित, गरिब र कानुनको ग्राभिटी थाहा नहुनेलाई प्रयोग गर्दै आएका छन् । ‘२० हजार कमाउने र विदेश घुम्न पाउने भएपछि एउटा सामान्य मान्छे हङकङ जान तयार भइहाल्छ,’ पनेरू भन्छन्, ‘यसरी सर्वसाधारण नेपालीसमेत यो अवैध धन्दामा संलग्न हुने गरेका छन् ।’

घिउमा छिपाउनेदेखि लट्टाइमा लुकाउनेसम्म

औषधिको चक्कीजस्तो आकारका डल्ला बनाएर निल्ने र विदेश गएर चरेस निकाल्ने कारोबारीको पुरानै तरिका हो । अहिलेजस्ता किसिमका सामग्रीमा पनि माफियाले चरेसलगायतका लागुऔषध छिपाएर नेपाल भित्र्याउने र बाहिर पठाउने गर्न थालेका छन् ।

इन्सपेक्टर पनेरूका अनुसार कारोबारीले जुत्ताको तलुवा, अचार, घिउ, महमा छिपाएर कारोबार गर्ने गरेको भेटिएको छ । ‘अस्तिमात्रै हामीले अपरेसन फिस चलाएका थियौँ, बाहिर पूरै लट्टाइ धागो थियो भित्र प्लास्टिकमा कोकिन राखेर नेपाल ल्याइएको थियो,’ उनले भने, ‘पानी भरिएको नरिवल भित्र पानी फ्याँकेर चरेस फिट गरेपछि जस्ताको तस्तै बनाउँछन्, झट्ट हेर्दा थाहै हुँदैन ।’

त्यसबाहेक बुद्धिस्ट किताबको गाता, चप्पल, जुत्ता, सुटकेसमा फल्स बटन, खेलौना र ल्यापटपका ब्यागमा लागुऔषध लुकाएको हालसम्मको अनुसन्धानक्रममा फेलापरेको छ । त्यसबाहेक तिब्बतियन ड्रमसेट, मादल, तबला, इलेक्ट्रिक सामान र सुन्तलाको बोक्राभित्र लुकाएर यस्तो कारोबार हुने गरेको छ ।

नशा दिने पदार्थमध्ये कोकिन र हिरोइन कारोवारमा अधिकांश विदेशी संलग्न रहेका हुन्छन् । चरेस कारोबारमा विदेशीभन्दा नेपाली नागरिक धेरै हुने गरेका छन् । कतिपय अवस्थामा विदेशीले नेपालीलाई प्रयोग गरेर चरेस सप्लाई गर्छन । जस्तो : देवेन्द्र छापाली आफैँ चरेस उत्पादक हैनन्, अरूसँग किनेर विदेशीलाई बेच्थे ।

Inspector Krishna paneru (1)
छुट्टै छ, कोकिनको कथा

कोकिन उच्चकोटिको लागुऔषध हो । हार्ड ड्रग्सका रूपमा परिचित कोकिन नेपालमा उत्पादन हुँदैन, ब्राजिल र पेरु हुँदै नेपाल आउँछ । अन्य लागुऔषध भन्दै निकै महँगो बजार मुल्य भएको कोकिन नेपाली बजारमा प्रतिकेजी करिब ४५ लाख सम्ममा विक्री हुन्छ । अन्य मुलुकमा यसको अवैध बजार मुल्य डेढ देखी दुई करोड सम्म रहेको छ ।

इन्सपेक्टर पनेरूका अनुसार कोकिन अत्यधिक महँगो हुनाले नेपालमा खपत हुँदैन । एक/दुई व्यक्तिले प्रयोग गर्लान् तर सामान्यतया नेपालमा कोकिनका ग्राहक छैनन् । महँगो छ र त्यति सजिलैसँग पाउन सकिँदैन । विगत पाँच ५/६ वर्षको अवधिमा प्रहरीले फेलापारेको कोकिन नेपालमा खपत गर्नका निम्ति आएको होइन, कारोबारीले नेपाललाई रुटमात्रै बनाएका हुन् । पछिल्लो ५/६ वर्षको अवधिमा लागुऔषध नियन्त्रण व्युरोले २५ किलो चरेस बरामद गरेको छ । नेपाललाई बिसौनीका रूपमा प्रयोग गर्न आइपुगेको २५ किलो चरेस चीन र युरोप जाने तयारीमा थियो ।

cocaine
कोकिनको लास्ट डेस्टिनेसन युरोप हो । थाहा नहोस् भन्नका लागी कोकिन कारोवारीहरूले रुट परिवर्तन गरिरहन्छन् ।

अर्को कुरा नेपालमा ड्रग्सको डेथ पेनाल्टी छैन । हामीकहाँ मेक्सिमम पाँचदेखि २५ लाख जरिवाना र १५ देखि २० वर्ष या जन्मकैदको व्यवस्था छ । त्यसो हुनाले यहाँको कानुन कमजोर छ भन्ने कुरा यस्तो कारोबार गर्ने जानकार छन् ।

अपराधको दुनियाँ ठूलो भइसक्यो । लागुऔषध एउटा व्यक्ति या एउटा समूहले मात्रै गर्ने कारोबार होइन । संगठित अपराध भएकाले यहाँ विभिन्नस्तरका मान्छे मिलेका हुन्छन्, एकले अर्कोलाई चिनेको हुँदैन ।
उत्पादन एउटाले गर्छ, आर्थिक सपोर्ट गर्ने मान्छे, ओसारपसारको काम गर्ने समूह, ग्राहक खोज्ने समूह र लागुऔषध बोक्ने भरिया अर्कै हुने हुनाले पोल खुल्ने डरले एक–अर्काबीचमा चिनिन चाहँदैनन् । किनकि अन्य अपराधभन्दा यसमा सजाय बढी छ ।

जक्सन : मकालु पेट्रोल पम्प

बल्खुस्थित मकालु पेट्रोलपम्प लागुऔषध कारोबारीको जक्सन बन्दै गएको छ । बस, ट्रक र गाडीमा आउने ड्रग्स प्रायः मकालु पेट्रोलपम्पको आसपासबाटै हस्तान्तरण हुने गरेको पाइन्छ । पूर्व, पश्चिम र इन्डियाबाट ड्रग्स बोकर आउने यात्रु मकालु पम्पतिर ओर्लने र सम्पर्क व्यक्तिलाई त्यतै सामान दिने हुनाले बल्खु क्षेत्र लागुऔषध कारोबार गर्नेहरूको जक्सन बन्दै गएको बताउँछन् कृष्णगोपाल ।

प्रहरी अनुसन्धानक्रममा काठमाडौँबाट दिल्ली जाने बसमा बौद्ध धर्मसम्बन्धी किताबको गातामा चरेस सेट गरेर पठाउने गरेको पाइएको छ ।

पनेरूका अनुसार २०५०/०५१ को तुलनामा हिजोआज ड्रग्सको अवैध धन्दामात्र बढेको छैन । नेपाली समाजको यसको प्रयोग गर्नेको संख्या पनि दिनानुदिन बढिरहेको छ । नेपाली समाजका सम्भ्रान्त भनिएका परिवार, मध्ममवर्गीय र निम्नवर्गका युवकयुवती पनि ड्रग्स लिने गरेका छन् । ‘तर, धेरै मध्यमवर्गका मान्छे संलग्न भएको देखिन्छ,’ उनी भन्छन्, ‘१४ देखि २५ वर्षका युवकयुवतीले ड्रग्स खानुको पहिलो कारण चाहना, दोस्रो साथी संगति र तेस्रो फ्रस्टेसन हो ।’

(फोटो : बिजु महर्जन)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल