आफ्नै जीवनदर्शनमा अमर अम्बर

–  |   कला अनुरागी

आफ्नै जीवनदर्शनमा अमर अम्बर

‘मरिगए सम्झना छ,
बाँचे भेट होला
कत्ति नाजुक छोटो छ
यो मानिसको चोला
गहिरो कुरा नबुझे पनि
जिन्दगी जिन्दावाद, जिन्दावाद’

ambar-gurung-003

अम्बर गुरुङले मृत्युको सत्यलाई स्वीकारेकै थिए, तर उनको जीवन दर्शनले जिन्दगी जिन्दावाद भनिरह्यो । उनको मंगलबार बिहान २ बजेर ३७ मिनेट जाँदा निधन भयो । कुनै विशेषण नलगाइकन पनि चिनिने नाम अम्बरको निधनपछि पनि उनको जीवन–दर्शन बाँचिरहनेछ । उनको श्वर, संगीत र शब्दमा । संघीय गणतन्त्र नेपालको नेपालको राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति गुरुङले जीवनको अन्तिम समयमा मधुमेह, उच्च रक्तचाप र पार्किन्सनजस्ता रोगसँग लड्नुपर्यो । ७९ वर्षको उमेरमा उनलाई रोगले जित्यो ।

दुई साताअघि अम्बरलाई सम्मान गरिने कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले भनेका थिए, ‘अम्बरले नौलाख तारा उदाए भन्दै जातीय जागरणका गीत गाउनुभयो । रातो र चन्द्रसूर्य भन्दै राष्ट्रिय जागरणको गीत गाउनुभयो । त्यस्तै उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरू को होला भन्नेजस्ता प्रणयभावनाका गीत गाएर जनमनमा छाउनुभयो । र, गणतन्त्र नेपाल बनेपछि तयार भएको राष्ट्रिय गानमा संगीत भर्नुभयो । यसरी उहाँ नेपाली संगीतको स्तम्भ बन्नुभएको छ ।’

हजारभन्दा बढी गीतमा संगीत गरेका उनको संगीत जीवनमा तीन चरण निकै महत्वपूर्ण रहे । ‘नौलाख तारा’को चरण, ‘रातो र चन्द्रसूर्य’को चरण तथा ‘राष्ट्रिय गीत’मा संगीत दिँदाको चरण । यी तीन चरणले उनलाई नेपाली संगीतका विभिन्न भंगालाहरू जोडिएर आएका नदीको पनि त्रिवेणी बनाइदिएको छ ।

०००

१९९४ फागुन १४ गते दार्जिलिङको लालढिकीमा जन्मिएका अम्बरको पुख्र्यौली घर गोरखाको रिसिङ हो । उनका हजुरबुबा भारतीय सेनामा जागीर खान भारत गएका थिए । हजुरबुबाको बाटो उनका बुबा उजिरसिंहले पनि पछ्याएका थिए ।

बीस वर्षको उमेरदेखि उनको सिर्जनात्मक जीवन सार्वजनिक हुन थालेको हो । ‘म अम्बर हुँ’ र ‘सम्हालेर राख’ उनले लेखेर सार्वजनिक गरेका पहिला दुई गीत हुन् । उनले रेकर्ड गरेको पहिलो गीत भने साहित्यकार अगमसिंह गिरीको गीत ‘नौलाख तारा उदाए’ हो । यो गीत रेकर्डगर्नुअघि नै दार्जिलिङमा भने चोक–चोकमा गाइने भइसकेको थियो । गीत रेकर्डिङपछि अम्बरलाई सिन्दूर जात्रा गरेर कालिम्पोङ घुमाउँदै सम्मान गरिएको थियो । तत्कालिन राजा महेन्द्रले यसको धून सुनेपछि ०२५ सालमा आफ्नो जन्मोत्सव मनाउन दार्जिलिङबाट संगीत टोली बोलाए । त्यसमा अम्बरसहित गोपाल योञ्जन, अरुणा लामा, शान्ति ठटाललगायत थिए ।

ambar gurung (1)

file photo

तर यो गीत भारतमा प्रतिबन्धित भयो । गीतले भारतमा रहेका नेपालीलाई हुने गरेको थिचोमिचोविरूद्ध जागरण पैदा गर्यो भन्ने आरोप लागेको थियो । भारतले गीतमात्रै प्रतिबन्धित गरेन, अम्बर गुरुङमाथि सुरक्षा निगरानी पनि बढायो । त्यस्तो अवस्थामा उनलाई त्यहाँ बसिरहन सकस भयो । त्यसैबेला महेन्द्रले उनलाई नेपाल बोलाए र प्रज्ञा प्रतिष्ठानमा संगीत विशेषज्ञको रूपमा जागीर दिलाए । तथापि उनले आफ्नो सिर्जनालाई जोड दिए । सम्पत्तिको लोभलालचमा लागेनन् । त्यसैले राजासँग त्यस्तो खास केही मागेनन् पनि ।

०००

‘आमाको सपना’मार्फत क्रान्तिको शंखघोष गर्ने कवि गोपालप्रसाद रिमालले लेखेका गीत ‘रातो र चन्द्र सूर्य’ले उनलाई अर्को उचाइ दियो । गीत सुन्दा हर नेपालीको रोमरोममा नेपाली हुनुको गर्व सञ्चार हुन्छ । जोश पैदा हुन्छ र देशप्रेम उर्लिआउँछ । त्यसैले यसलाई नेपाली सेनाले यसलाई आफ्नो गान बनायो । रचनाकार रिमाल र संगीतकार÷गायक गुरुङलाई महासेनानीको मानार्थ सम्मान पनि दियो ।

त्यसो त उनले यो धेरै लामो समय लगाएर संगीत गरेको गीत पनि थिएनन्, बरु जीवनकै सबैभन्दा कम समयमा संगीत गरेका थिए– दश मिनेटमा ।

०२० को दशकको अन्तिमतिरको कुरा हो । अम्बर दार्जिलिङबाट नेपाल आएर तत्कालिन प्रज्ञा प्रतिष्ठानमा काम गरिरहेका थिए संगीत विभागमा । एकेडेमीका सह–सदस्य साहित्यकार श्यामदास वैष्णव आफूलाई मन पर्ने गीत अम्बरलाई दिन्थे । एक दिन उनले रिमालको ‘रातो र चन्द्रसूर्य’ दिए ।

गीत पढ्ने बित्तिकै अम्बर यति प्रभावित भए कि सहनै सकेनन् । तुरुन्तै संगीत गरिहाले । उनी भन्थे, ‘कोठाबाट ट्वाइलेट जाँदा संगीत फुरेको थियो, आउँदा त पूरा भैसकेको थियो ।’ रेकर्डिङचाहिं अलि पछि भएको थियो ।

त्यतिबेला रेडियो नेपालमा गीत गाउन समय लाग्थ्यो । ‘कन्ट्रयाक्ट’का आधारमा गीत गाउन पाइन्थ्यो । पालो पर्खनुपथ्यो । तर ‘रातो र चन्द्रसूय’ गाउन अम्बरले न ‘कन्ट्रयाक्ट’को झन्झट ब्यहोर्नुप¥यो, न त पालो पर्खन नै । गायक फत्तेमान राजभण्डारी रेडियो नेपालमा थिए । त्यो गीतबाट उनी पनि असाध्यै प्रभावित भए । उनले सिधै अम्बरलाई रेकर्ड गर्ने व्यवस्था मिलाइदिए ।

गीतको प्रतिक्रिया तुरुन्तै त आएन । त्यतिबेला न अहिलेजस्तो बिज्ञापनको जमाना थियो, न त संगीत सुन्ने साधनको सर्वसुलभता नै । राम्रो कुरा फैलिन समय लाग्छ भनेझैं गीत बिस्तारै लोकप्रिय भयो । गीतमार्फत उनले असीम वाहवाही पाए । दार्जिलिङमा समेत उत्तिकै लोकप्रिय भयो गीत । पछि त नेपाली सेनाले त्यसलाई आफ्नो गान बनायो ।

साभार : ट्वीटर

साभार : ट्वीटर

०००

०६२÷६३ को आन्दोलनले राजतन्त्रको अन्त्य गरेपछि झन् चर्चामा आयो ‘रातो र चन्द्रसूर्य’ । यसलाई राष्ट्रियगान बनाउनुपर्छ भन्ने आवाज पनि उठ्यो । अम्बरले पनि यो कुरा सुने । तर उनले नै भनिदिए, ‘यो राष्ट्रियगान बन्ने प्रकृतिको होइन । यो राष्ट्रिय गीतमात्रै हो । राष्ट्रगान त संक्षिप्त हुनुपर्छ । त्यो त संकेत न हो । त्यसैले त त्यसलाई सङ भनिदैन, एन्थम भनिन्छ ।’

संयोग, पछि उनले नै नेपालको राष्ट्रियगान संगीत गर्ने मौका पाए । त्यसमा पनि उनले आफ्नो संगीत–साधना र दर्शन प्रयोग गरेका छन् । नेपालीपनको गहिराइ दिएका छन्, राष्ट्रियगीतको मर्मलाई पक्रेका छन् । त्यसैले नयाँ राष्ट्रिय गान छोटो समयमा नै जनमनमा बस्न सफल भयो । उनी भन्थे, ‘राष्ट्रिय गानमा मैले धेरै मेहनत गर्नुप¥यो ।’

०००

हजारभन्दा बढी गीतमा संगीत भरेका अम्बरका कतिपय गीत त रेकर्ड भएका छैनन् । तथापि जति छन्, त्यसैले पनि उनको उचाइलाई आकार दिएको छ । पूर्वीय संगीतमा पश्चिमा शैलीलाई ‘फ्युजन’ उनले नेपाली संगीतलाई नयाँ मार्गमा हिँडाइदिए । उनले विभिन्न साहित्यकारका गीति नाटकमा पनि संगीत थिए । त्यसो त उनी गायन, संगीत र गीत लेखनका साथै साहित्य लेखनमा पनि सक्रिय थिए । उनको ‘कहाँ गए ती दिनहरू’ नामक संस्मरणात्मक निबन्ध संग्रह प्रकाशित छ । जगदम्बाश्री पुरस्कार, छिन्नलता गीत पुरस्कार, गोरखा दक्षिणबाहु, इन्द्रराज्यलक्ष्मी पुरस्कारलगायत प्राप्त गरेका उनलाई हङकङमा बस्ने नेपालीहरूले आयोजना गरेको कार्यक्रममा ‘महासंगीतकार’समेत घोषणा गरिएको थियो ।

०००

एक दशकअघि गायिका झुमा लिम्बु अम्बर गुरुङकहाँ पुगिन् संगीतज्ञानको खोजीमा । अम्बर गुरुङले सोधे– संगीतले के दिन्छ ? उनले आफ्नो उमेरजन्य उत्ताउलोपना देखाउँदै हत्त न पत्त जवाफ दिइन्– मनोरञ्जन । तर अम्बरले समुद्रजस्तो शान्त र गहिरो उत्तर दिए, ‘यही त भ्रम छ ।’ उत्तरले रन्थन्यायो झुमालाई । अम्बरले भने– संगीतले दिने आत्मरञ्जन हो । संगीतलाई मनोरञ्जनका रूपमा मात्रै लिनुहुन्न । अम्बरको यही जवाफले झुमाको उमेरजन्य उत्ताउलोपन गायब गरायो । गम्भीरता दिनानुदिन बढ्यो । दशकको संगीतसाधनापछिमात्रै उनले एल्बम निकालिन्– ‘अम्बर संगीत’ । अम्बरकै रचना र संगीतमा । यो नै अम्बरको पछिल्लो कृति बन्यो । त्यही एल्बममा संलग्न छ उनको जीवन दर्शन बोक्ने गीत– जिन्दगी जिन्दावाद । अम्बर अब हामीमाझ छैनन् । तर उनी आफ्ना रचनाले अमर छन् । हामीमाझ जीवनगीत सुनाइरहन्छन्–

‘कतै अपार सागर होला
कतै सानो खोला
सागर हो कि जिन्दगी हाम्रो
हो कि सानो खोला
यही सोचेर बाँचेको छु म
जिन्दगी जिन्दावाद, जिन्दावाद ।’

पण्डितले निकाले अम्बरको पार्थिव शरीर निकाल्ने साइत, आजै अन्त्येष्टि गरिने

रहेनन् वरिष्ठ संगीतकार अम्बर गुरुङ

ग्राण्डी परिसरमा अम्बर गुरुङको परिवार तथा शुभचिन्तक (तस्बीरहरु)

Archive: अम्बर अझै गाउन चाहन्छन्, अझै बोल्न चाहन्छन्

 

 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल