माओवादी कामरेडहरूले पढ्नै छाडे

माओवादी कामरेडहरूले पढ्नै छाडे

बागबजारको अद्वैतमार्गमा छ, जागरण बुक्स । त्यो यस्तो पुस्तक पसल हो, जहाँ वामपन्थी आन्दोलनसँग जोडिएका राष्ट्रिय–अन्तर्राष्ट्रिय सबै किताब पाइन्छन् । माओवादी शान्तिप्रक्रियामा आएसँगै खुलेको यो पुस्तक पसलमा सुरुका केही वर्ष सबैभन्दा बढी ग्राहक माओवादी नेता–कार्यकर्ता र शुभचिन्तक नै थिए । जतिबेलासम्म माओवादीभित्र लेखपढको संस्कृति थियो, त्यतिबेलासम्म पुस्तक पसलमा आउने–जानेको भीड भइरहन्थ्यो । अहिले अलि फरक छ, अवस्था । नेता–कार्यकर्ताले पढ्न छाडेका छन् । माओवादी आन्दोलनसँग जोडिएका किताकको बिक्री घटेको छ । भर्खरैमात्र माओवादी केन्द्रले एक हजार ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ । यसमा माक्र्सवादको आधारभूत ज्ञान नभएका पनि छन् । नपढी नै नेता हुने भएपछि समयको बर्बाद गर्न पनि परेन । पुस्तक पसलका सञ्चालक गणेश चितौरेले माओवादी नेता–कार्यकर्तामा खस्कँदो पठन संस्कृतिबारे यस्ता अनुभव सुनाए ।

२०४४ सालमा म आफू जब वामपन्थी राजनीतिमा प्रवेश गरेँ । टुटफुट भएका दलहरू मिले । मिलिसकेपछि एकताकेन्द्र बन्यो । युद्धको तयारी गर्ने कुरा उठायो । माओवादी आन्दोलनको सुरुवात भयो । ०४८ सालको महाधिवेशनपछि पार्टी युद्धमा जाने कुरा आयो । युद्धमा लाग्ने पार्टीलाई सपोर्ट गर्यौँ । त्यहीक्रममा ०५० सालमा दिल्ली गएँ । दिल्लीमा संगीत सिक्न जाँदा संगठनमा लागेँ । त्यहाँ प्रकाशनको क्षेत्र जिम्मेवारीमा आयो । त्यसपछि अध्ययन, चिन्तन विचारमा लाग्नुपर्ने भयो । म आफैँ पनि व्यक्तिगत रूपमा सानैदेखि पढ्नमा रहर गर्ने मान्छे हुँ ।

ganesh-jagard (5)
जेनएनयुमा वामदेव क्षेत्रीले काम गर्ने । उहाँ हाम्रो सिनियर नेता । उहाँमार्फत हामीलाई अध्ययन क्षेत्रमा लाग्न अझै जोड मिल्यो । ०५३ पछि प्रचण्ड–बाबुरामलगायतको मूल नेतृत्व दिल्लीमा बस्ने भन्ने भयो । त्यसपछि मलाई नेतृत्वलाई, छापामार युद्धलाई आवश्यक पर्ने किताबको खोजी गर्ने जिम्मेवारी मिल्यो । त्यो हिसाबले मैले किताब संकलन गर्थें । त्यसपछि वैधानिकता बचाउनुपर्ने भयो । नेतृत्वको माथिल्लो स्तरसँग सम्पर्कमा रहँदा केही वैधानिकता बचाउनुपर्ने भयो । म फेरि दिल्लीको एउटा पब्लिकेसनमा जागिरमा लागेँ । त्यो सिलसिलामा सैन्यविज्ञान र राजनीतिशास्त्रसम्बन्धी किताबको मार्केटिङ गर्ने मेरो जिम्मा थियो । त्यसक्रममा म विभिन्न प्रकाशनसँग किताब खोज्नुपर्ने भयो, यता पार्टीमा फेरि किताब खोज्ने जिम्मेवारी पर्यो । संयोग यसरी मिल्न गयो । मलाई पनि ज्ञान आर्जन हुँदै गयो । किताब पढ्ने बानी थियो । त्यही दौरानमा बाबुरामजी दिल्लीमा मेरो घरमा कोठा लिने कुरा भयो । मेरो दिल्लीमा आफ्नो घर छ । त्यही घरमा उहाँ कोठा लिएर बसेपछि म पनि उहाँलाई हेरेर पुस्तक पढ्ने बानी भयो । पछि अध्यक्ष प्रचण्ड कमरेड पनि नजिकै बस्न आउनुभयो । महराजी पनि आउनुभयो ।

बाबुरामजी कारबाहीमा पर्दा महराजी स्कुलिङ विभाग इन्चार्ज हुनुभयो । त्यसपछि उहाँले किताब पूरै खोज्ने काम तपाईंको भनेर मलाई जिम्मेवारी दिनुभयो । राम्रो वातावरण बनेको थियो ।
०५६ पछि राम कार्कीहरूसँग भेट भयो । उहाँ पनि अध्ययन चिन्तन गर्ने मान्छे । त्यसपछि मुमारामजीसँग भेट भयो । उनीहरूको संगतले मलाई अध्ययनशील बनाउनुभयो । राम कार्की र मुमारामजीले मलाई नेपाल जाने जोड दिनुभयो । उहाँको जोडले ०६२–६३ को आन्दोलन सफल भएपछि नेपाल आएँ ।

युद्धको बेला पठनपाठनको स्थिति राम्रो थियो । गाउँबाट सहर आएपछि के भयो भने मान्छेले एकैचोटि ह्वात्तै स्वतन्त्रताको अति अनुभूति गर्यो, समग्र पार्टीमा । त्यसपछि पढ्ने, लेख्ने बानी कम भयो, अल्छी भए कामरेडहरू । युद्धको बेलामा पनि पढ्ने, लेख्ने मान्छेले त अहिले पनि पढ्नुहुन्छ । मैले आफ्नो व्यापार पनि सुरु गरेँ काठमाडौँमा । प्रगतिशील पुस्तक तथा पत्रपत्रिकाको व्यापार । अहिले पनि मोहन वैद्य, बाबुराम भट्टराई, एमाले नेता प्रदीप ज्ञवाली, कांग्रेसका प्रदीप गिरी, छविलाल विश्वकर्मा, एमालेकै युवराज ज्ञवालीलगायतका नेता अहिले पनि आउनुहुन्छ, पढ्नका लागि ।

तर, युद्धको बेलाजस्तो अध्ययन चिन्तन अहिले न्यून छ । किन पुग्यो होला भन्नेचाहिँ स्वन्त्रतताको अति अनुभूति गर्यो, धेरै कुरा प्राप्त नगरेपछि आन्दोलनमा लागेका क्याडरमा स्वतन्त्रता प्राप्त भयो भन्ने लाग्यो । त्यो भ्रम हो । अर्को पार्टी नेतृत्वले पनि आराम गर्यो । सिद्धान्त र चिन्तन मैले मेरो पार्टीमै पनि देखिनँ । बाटो बदल्नेक्रममा बीचबाटोमा पुग्दा कता लाग्ने कता लाग्नेजस्तो भएकै छ, माओवादी मुभमेन्टमा ।
त्यही मुभमेन्टले गर्दा लेलिनले भनेजस्तो सम्पूर्ण राजनीतिले गाइड गर्छ भनेजस्तो भएको छ । हिजो जुन चिन्तनमा पार्टी नेतृत्वले जोड दिन्थ्यो, त्यो अन्त्यन्तै न्यूनमा पुगेको छ । पार्टीलाई एउटा सिष्टममा लैजानैपर्छ नेतृत्वले । नत्र माओवादी नेतृत्व अगाडि बढ्न गाह्रो पर्छ ।

ganesh-jagard (2)०६२–६३ को आन्दोलनपछि काठमाडौँ आएँ । काठमाडौँमा पनि एउटा माओवादी धाराको पुस्तकालय चाहिन्छ भने व्यापार सुरु गरेँ ।

एकचोटि सम्पूर्ण माओवादी पार्टीभित्रका पत्रपत्रिका मैले पसलमा गनेको छु, ९४ वटा निस्कन्थे । त्योमध्येमा अहिले सायदै एक-दुईवटा जिउँदो छ । त्योमध्येमा अहिले केही छैन । पार्टीका मुखपत्र नै पाँच÷दस वर्षसम्म प्रकाशित हुँदैन । यस्तो हालत छ ।

सहरमा आएपछि माओवादी टुक्राटुक्रा भयो । पार्टी स्कुलिङको व्यवस्था छैन, २० वर्षदेखि कम्युनिस्टमा स्कुलिङ व्यवस्था भएन भने निखारिएका क्याडर निस्कँदैनन् । निखारिएका क्याडर ननिस्किएसम्म त्यो कम्युनिस्ट पार्टी बन्नै सक्दैन । त्यसले गर्दा यो वा त्यो खेमामा भए पनि माओवादी नेतृत्वले गहिरो ढंगले सोच्न सकेनन् भने भविष्यको कल्पना गाह्रै छ ।

प्रकाशक मारमा परे

व्यावसायिक दृष्टिले के अप्ठेरोे परिरहेको छ भने एमाले, माओवादी, माओवादीका विभिन्न घटक, नयाँ शक्तिलगायतसँग छलफल चल्दा नेपालमा ६ लाख ५० हजार कम्युनिस्ट पार्टीका सदस्य छन्, सबै कम्युनिस्ट पार्टीका जोड्दा । त्योमध्येमा पहिलोपटक हामी किताब छाप्दा हजार कपी छाप्ने गर्छांै । हजारमध्ये पनि दुई सयदेखि दुई सय ५० कपी बिक्छ । बाँकी हामीले वर्षभरि राख्नुपर्छ, कुहिएर जान्छ । गोदाममा आजको व्यापारिक स्थिति यस्तो छ ।

पुराना केही अध्ययनशील मान्छे आउँछन्, फलानो पुस्तक चाहियो भनेर । पुस्तक छापौँ हजार कपी छाप्नुपर्छ । बिक्छ दुई सय बाँकी पुजेर राख्नुपर्छ । त्यसैले प्रगतिशील पुस्तक पत्रपत्रिकाको क्षेत्रमा काम गर्ने व्यावसायिक मान्छेलाई अहिले यो समस्याका रूपमा आइरहेको छ । ६ लाख पार्टी सदस्य भएको देशमा एक हजार किताब छाप्दा पनि ८० प्रतिशत बिक्दैन । यसैबाट अन्दाज लगाउन सकिन्छ पठन संस्कृति कस्तो छ कम्युनिस्ट आन्दोलनमा भनेर ।

कोही पढ्दैनन् ?

द्वन्द्ववादमा त्यस्तो हँुदैन । केही पढ्ने मानिस पनि छन्, सबै राजनीतिक पार्टीमा, विशेषगरी कम्युनिस्ट पार्टीमा । उहाँहरू आइरहनुहुन्छ । विशेषगरी किरण कमरेड दुई महिनामा आउनुहुन्छ, एमालेबाट देवीराम भुसाल हुनुहुन्छ, के प्रकाशित भयो खोजी गर्नुहुन्छ । उहाँ कम्तीमा पनि १० दिनमा एकपटक आउनुुहुन्छ । राम कार्की, मुमाराम खनाललगायत के छ नयाँ भनेर खोजी गर्नुहुन्छ । ऋषिराज बराल पनि आउनुहुन्छ ।

माओवादी मुभमेन्टमा विशेषगरी कलेज पढ्ने विद्यार्थी मेरा नियमित ग्राहक हुन् । त्यसमा पनि विज्ञान पढ्ने बढी आउँछन् । उनीहरूलाई राजनीति कलेजमा नपढेकाले रुचि हो वा साँच्चै नेपाल एक दिन नयाँ बन्छ भन्ने विश्वास हो, विज्ञान क्षेत्रका विद्यार्थीमा बढी रुचि छ । आजको मितिमा । आर्टस् र एजुकेसनका विद्यार्थीमा अध्ययन चिन्तनमा आजको दिनमा खास लगाव देखिँदैन ।
माओवादीका साधारण आमसभामा ६०÷६२ हजारको किताब तथा महाधिवेशनमा तीन लाखको किताब बेचेको छु । तीन लाखभन्दा माथिसम्मको बेचिएको छ । अहिले कार्यक्रममा जानै छाडे । किनभने गएको ट्याक्सी भाडा समेत आउँदैन । त्यसैले कार्यक्रममा हिँड्नै छाडेँ ।

ganesh-jagard (3)बाहिरबाट हेर्दा काठमाडौँमा चहलपहल देखिने हो । तर, गाउँमा चहलपहल छैन । रुचि छैन । सांगठनिक समस्या छ । आर्थिक हिसाबले कति सम्पन्न होलान् नहोलान् त्यो आफ्नो ठाउँमा होला । तर रुचि नै कम छ । माओवादी आन्दोलनप्रति ।

एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा राजनीति सिफ्ट हुदाँ बीचमा ग्याप छ । पुरानो भत्कियो, नयाँ निर्माण हुन पाएको छैन । कार्यकर्तालाई आवश्यक प्रशिक्षण पनि नेतृत्वले दिन सकेको छैन । नयाँ नेतृत्वले त्यो निर्माण गर्न सकेको छैन । पुरानोले सकेको छैन ।

गिजोलिएको नेपाली समाजको असर हो, सबै कन्फ्युजनमै छन् । अरू सरदर प्रकाशन एउटै हो, सबैको परिस्थिति । धेरैले प्रकाशन नै बन्द गरे जमानामा माक्र्सवादी किताब प्रकाशन गर्नेले प्रकाशन नै बन्द गरे । कम्युनिस्ट पार्टीका घोषणापत्र र आधारभूत पुस्तक पाउन छाडे, खोज्छन् कार्यकर्ताले तर पाइँदैन । किनभने व्यवसायमा लगानी गर्नेले पाँच पैसा भए पनि फाइदा खोज्छ । तर, अध्ययन चिन्तन गर्न खोज्नेले पढ्न छाडेपछि बन्दै भयो । केहीले व्यक्तिगत रूपमै पुस्तक प्रकाशन गर्छन् । अनि हामीकहाँ बेचिदिनुभयो भन्दै आउँछन् साथीहरू ।

बजारमा बिक्दै नबिक्ने भएपछि किन लेख्ने भन्ने भएको छ । नेपाली समाज रूपान्तरण भयो भन्छन् । तर, गन्जागोलमा बाँचिरहेका छन् । कता जाऊँ, कता जाऊँ छ, त्यसैले किटानीसाथ यो गर्छु भनेर कसैले भन्न सक्दैनन् ।

माओवादी धारमा क्याडरले पढ्छन् । नेताले पढ्न छाडेका छन् । एमाले नेताहरू धेरै पढ्छन् । क्याडरले फिटिक्कै पढ्दैनन् । १० वर्षको मेरो अनुभवमा अब प्रकाशन, प्रगतिशील, चिन्तन सबै कुरा आन्दोलनको सफलतासँग जोडिएको छ । यदि समाजवाद उन्मुख संस्कृति निर्माण गरेर नेपाललाई नयाँ बनाउने छाँट देखिएको भए त । यो क्षेत्र पनि उँभो लाग्ने थियो । सबै क्याडरलाई सुमार्गमा ल्याउने भए पठन संस्कृति डेभलप नगरी सुख छैन । त्यसो गर्न सक्दैन भने नेतृत्वले सबल मान्छेको साथ नपाउँदा आन्दोलन सफल हुँदैन । त्यसैले दृष्टि र सफलतासँग जोडिएको हुन्छ । अध्ययन र चिन्तन पठन संस्कृतिको कोणबाट भन्दा त नेतृत्वले भद्रगोलबीचमा गोल हान्ने भनेर धेरैपटक भन्यो । तर, भद्रगोलबीचमा गोल हुँदैन । बरु द्वन्द्व र माहोलबीचमा खेलाडीले गोल हान्छ । तर, भद्रगोलमा त गोल हुँदैन । त्यसैले यो फर्मुलै गलत छ । यो हजारजनाको कमिटी आएको छ, यो फुटेका माओवादीबीचको एकता पश्चात् । मलाई व्यक्तिगत रूपमा यो राम्रो लाग्दैन । कम्युनिस्ट पार्टीमा छलफल, बहस, अध्ययन, चिन्तन, निचोड, निष्र्कष फेरि जनताबीचमा जाने फेरि जनताबाट आएर छलफल बहस हुन्छ, निरन्तर प्रक्रिया हुन्छ । तर, यो त मिटिङ नै बस्न सक्दैन । मिटिङ नभएपछि छलफल नै हुँदैन । छलफल नभएपछि बोधो हुन्छ । बोधो बुर्जुवा कम्युनिस्ट पार्टीले के गर्न सक्छ ? यो त लेलिनवादको पनि ।

ganesh-jagard (4)
लेलिनवादी चिन्तनको सवालमा विश्वमा सानो सिद्धान्त विकास गरेको लेलिनले हो । संसारभरिका बुर्जुवा पार्टीले पनि लेलिनको सिद्धान्त फलो गर्ने हो । अझ कम्युनिस्ट पार्टीमा त त्यो आधारभूत सिद्धान्त नै हो । अब एक हजारको कमिटी बनाएपछि यो लेलिनवादको पनि प्रयोग होइन । यसलाई रमाइलो पनि के भन्ने । स्पष्ट खाकाचाहिँ छैन उनीहरूसँग पनि । अकर्मन्यता नै हो यो नेतृत्वको । माओवादीमात्रै होइन, त्यो कांग्रेसमा पनि एमालेमा पनि यस्तै परिस्थिति छ । यो समाजकै अकर्मन्यताकै कारण हो । अकर्मन्यताबीच माओवादीले पनि केही हुन्छ कि भनेर प्रयोग गर्न खोजेको हो । तर केही हँुदैन ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल