मेरी आमा : उहाँ भन्नुहुन्थ्यो, ‘बरु मेरो रगत खाएस्, रक्सी नखाएस्’

–  |   श्यामल, कवि

मेरी आमा : उहाँ भन्नुहुन्थ्यो, ‘बरु मेरो रगत खाएस्, रक्सी नखाएस्’

shyamal (8)-001
मेरी आमाको नाम कलावती । यस्तो राम्रो नाम कसरी राख्नुभयो होला हजुरबुबाले ! मलाई अचम्म लाग्छ । अहिले मैले मेरो घरको नाम आमालाई नै समर्पित गरेर ‘कलावती’ राखेको छु ।

वि.सं. १९७४ मा जन्मनुभएका २५ बर्षका बुबासँग १९८७ साल असोज ३० मा जन्मेकी आमाको १३ बर्षको उमेरमा विवाह भयो । सुनेको थिएँ, त्यसअघि आमाले लिएको स्थानमा अर्कै महिला हुनुहुन्थ्यो । तर मैले उहाँलाई देख्न पाइनँ । नेपालगञ्जको खजुरातिर कतै हुनुहुन्छ भनिन्थ्यो । कुनै मगरसँग विवाह गर्नुभएको छ भन्ने सुनिन्थ्यो । सुनेअनुसार मेरो पिताजीभन्दा दुई वर्ष जेठी पनि हुनुहुन्थ्यो, माइती सुर्खेत जिल्लाको पूर्वी छेउमा गाउँ सन्तोला । त्यतिबेलाको चलनअनुसार माइत जाँदा नसोधी जानु ठूलो कुरा बन्थ्यो । पहाड, खोलानाला आदि काटेर जानुपर्ने भएकाले त्यस्तो कुरालाई ठूलो मानिँदो हो । उहाँको माइती पुग्न हाम्रो घरबाट दुई दिन लाग्थ्यो । उहाँ बुबा र अरू कसैलाई पनि नसोधिकन माइत हिँड्नुभएछ । त्यसपछि मेरो पिताजी कहिल्यै लिन जानुभएन । लिन आउँछन् कि भनेर धेरै वर्ष पर्खिनु पनि भयो रे भन्ने सुनियो । पिताजीलाई त्यतिबेलाको पुरुष चेतनाले पनि दिएन होला, जानुभएन । तर पछिसम्म पनि मेरो पिताजीले उहाँको कुरा गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘तैंले सक्छस् भने भेट् न एकचोटी ।’

मैले खोजेँ पनि । नेपालगञ्जको खजुरा भन्ने ठाउँमा हुनुहुन्छ भनेर गएँ, तर उहाँको पत्तो लागेन ।

बुबासँग मेरी आमाको बिहे २००० सालमा भयो, आजभन्दा झण्डै त्रिहत्तर वर्षअघि । उहाँको माइती दैलेखको पूर्वी सीमान्त गाउँ मेहेलतोली हो । हाम्रो घरबाट अढाइदेखि तीन घन्टासम्म लाग्छ त्यहाँ पुग्न । म उहाँको चौथो सन्तान तर तेस्रो छोरा हुँ । २००६ सालमा जेठो दाइ जन्मनुभयो । त्यसपछि दिदी जन्मनुभयो । तर उहाँ नौ वर्षको उमेरमै बित्नुभयो । त्यसैले अहिले पनि म तिहारमा टीका लगाउँदिनँ । म बुझ्ने नहुँदै दिदी बित्नुभयो । त्यसपछिका हरेक तिहारमा आमा रूने हुनाले खासगरी म टिका नलगाउने भएँ । उहाँको नाम पनि टीका नै थियो । टीका नै बितेपछि केको टीका लगाउनु जस्तो लाग्यो । दिदीपछि माइल्दाइ जन्मनुभयो । त्यसपछि म जन्मेँ । हामी छ भाइ छौं ।

shyamal (2)-001
०००

मेरी आमा त्यागी खालको, अत्यन्त कम महत्वाकांक्षा भएकी महिला हुनुहुन्थ्यो । उहाँको एउटा मात्रै चाहना थियो– छोराहरू नबिग्रिउन्, पढून् । त्यसको लागि ठूलो त्याग गर्नुभएको छ उहाँले । सात सन्तान जन्माएर हुर्काउनु पढाउनु सामान्य थिएन । म जुन गाउँमा जन्मेँ, त्यहाँ स्कूल थिएन । मेरा जेठाबाले ०१८ सालमा स्कुल सुरू गर्नुभएको थियो । तिदुको रूखमुनिको बडेमाको ढुंगामा बसेर पढ्न जाँदा म केवल चार बर्षको थिएँ । बिस्तारै त्यहाँ सानो दुई कोठे स्कूल बन्यो । पाँच कक्षासम्म मैले त्यहीँ पढेँ । त्यसपछि दैलेख सदरमुकाम, अहिलेको नारायण नगरपालिकामा पढ्न गएँ । त्यहाँ पनि हाम्रो घर थियो, दाइ त्यहीँ पढ्नुहुन्थ्यो ।
त्यो कठिन परिस्थितिमा पढाउनु भनेको निकै गाह्रो कुरा थियो । तर आमाले त्यो कठिन परिस्थितिलाई हाम्रो भविष्यको निम्ति सहजै पचाइदिनुभयो । त्यतिका छोराहरूलाई पुग्ने पिठो पिँधेर, चामल कुटेर तरकारीसहित पठाउनुहुन्थ्यो । हाम्रो परिवार ठूलो थियो, तर त्यतिबेलासम्ममा छिन्नभिन्न भइसकेको थियो । आमामाथि ठूलो भार थियो परिवारको । त्यो भार उहाँले उठाइरहनुभयो । त्यति नजिकैको माइती पनि उहाँ वर्षौसम्म जानुहुन्थेन । उहाँले बुबाप्रतिको प्रेम र आफ्ना सन्तानको विकासका निम्ति आफ्ना निजी रहर र सपना त्यागिदिनुभयो ।

कहिलेकाही म आमालाई सोध्थेँ, ‘तपाईंलाई कुन छोराको माया बढी लाग्छ आमा ?’
उहाँको उत्तर हुन्थ्यो, ‘त्यो भन्न सकिन्न बाबु । सबै उस्तैजस्तो लाग्छ ।’
त्यतिबेला उहाँले भन्नुभयो, ‘अगाडि भएकोलाई बिर्सन्छु । नभएकोलाई सम्झन्छु ।’

हरेक आमामा एउटा चेतना हुन्छ– मेरा छोराछोरी महान् बनुन् भन्ने । तर छोराछोरी आफ्नै वरिपरि बसुन् भन्ने पनि हुन्छ । तर उहाँमा त्यस्तो भावना थिएन । मैले दुःख गरेर पढाउन सकें भने यिनीहरूलाई ठूलो बनाउन सक्छु भन्ने थियो । उहाँको ठूलोको अर्थ बेग्लै थियो । पढेर इज्जत राख्ने, नाम राख्ने भन्ने हुन्थ्यो ।

Shyamal-Motherउहाँले एउटी छोरी पनि मरेपछि जिन्दगीभर बिर्सन सक्नुभएन । दैलेख बजारतिर जाँदा हाम्रो गाउँको फेदमा बगिरहेको कट्टीखोलाको गन्मखाडानिर पुगेर उहाँ रोइदिनुहुन्थ्यो । किनभने, त्यहीँ मेरी दिदीको शरीर विसर्जन गरिएको थियो । पहिले मेरो परिवारका कोही दिवंगत हुँदा दाह संस्कारका लागि एक दिनको बाटो श्रीस्थानमा लैजाने चलन थियो तर मेरा बुबाले आफ्नो शरीरलाई छोरीलाई बिसर्जन गरेकै ठाउँमा विसर्जन गर्न आग्रह गर्नुभएको थियो र हामीले त्यस आग्रहलाई शिरोपर गरेका थियौं । यस पछाडि अर्को तर्क थियो उहाँको, गाउँका दाजुभाइलाई दुःख नहोस् भन्ने । आमा पनि यसमा सहमत हुनुहुन्थ्यो । उहाँका विचारमा मृत्योपरान्त बाबुछोरीको आत्मा सँगै हुनुपर्छ । आमा छोरीको भने त्यसो हुन पाएन । आमा कान्छो भाइको घर सुर्खेतमै रहँदा बित्नुभयो र भेरी नदीको किनारमा उहाँको शरीरको विसर्जन गर्नुप¥यो । मुखाग्नि दिनुअघि मैले चितामा उक्लेर उहाँलाई अन्तिमपटक म्वाईं खाएँ, चरण स्पर्श गरेँ । यसरी एक महान् आत्मा हामीबाट बिदा भयो ।

०००

आमालाई सम्झँदा एउटा विशाल क्यानभास मेरो अगाडि आउँछ । सानो छँदा म उहाँसँग जंगलमा घाँस काट्न जान्थेँ, भारी बोकेर घट्ट जान्थेँ । एकपटक घट्ट जाँदा खोलाको छेउमा चितुवा आएर हामी आमा छोरालाई झण्डै खत्तम गरिदिएको थियो । त्यो कुरा उहाँले पनि सम्झिराख्नु हुन्थ्यो ।

मेरी आमाले विल्कुल अक्षर चिन्नुभएन । उहाँ निरक्षर हुनुहुन्थ्यो, तर शिक्षित हुनुहन्थ्यो । ०४४ सालमा मेरो पहिलो कविता संग्रह ‘तपाईहरु मार्फत्’ मा जब मैले समर्पणमा बुबा र आमाको नाम छापिएकोे देखाएँ, उहाँ निकै खुशी हुनुभयो । भन्नुभयो– मेरो नाम कहाँ छ, देखाइदे त ! उहाँको मुहारमा निकै खुशी थियो त्यस बेलामा ।

मैले पैसा कमाएन, बिहा गरेन, राजनीतिमा लाग्यो, कहिले पुलिसले थुन्छ भन्ने गुनासा थिए त्यसअघि । तर मैले किताब देखाएर भनें, ‘मैले कुनै बदमासी गरेको छैन । ल किताब निकालेको छु ।’ पिताजी पनि निकै खुशी हुनुभयो, जब किताबमा ‘उदय र कला’ लेखिएको देख्नुभयो । आमाले त खुसीले मलाई म्वाईं खानुभयो । त्यस्तो चेतना थियो मेरो आमामा ।

म आमासँग कम बस्न पाएँ । बीस सालदेखि नै उहाँको त्यति नजिक बस्न पाइनँ । उहाँको एउटै गुनासो हुन्थ्यो, ‘योसँग त्यति बस्न पाइनँ ।’

०३२ सालमा म शिक्षक भएँ । त्यतिबेला पनि बाहिर भएँ । राजनीतिमा सक्रिय भएपछि त झनै पक्राउ पर्थें । उहाँलाई चिन्ता हुन्थ्यो । उहाँलाई चिन्ता नपरोस् भनेर, म कसैलाई पनि थाहा नहोस् भनेर लुकाउने कोशिस गर्थें । म राजनीतिमा लागेँ, जनताको मुक्ति आन्दोलनमा । तर आमा नलाग् भनेर रुनुहुन्थ्यो । उहाँको काइँलाबाको छोरा मायाराम रेग्मी कांग्रेस हुनुहुन्थ्यो, जसलाई ०१८ सालमा राज्यको बडाहाकिमले निकै यातना दिएर हत्या गरेको थियो । । आफ्नो दाइ त्यसरी मारिएको कारण मलाई जोखिमको राजनीतिमा नलागोस् भन्ने उहाँको चाहना थियो । तर म लागेँ । पक्राउ पर्थें । आमालाई थाहा नहोस् भन्ने मेरो चाहना हुन्थ्यो । तर आमालाई कसो–कसो थाहा भइहाल्थ्यो ।

मैले श्रीमती लिएर घर गएँ । उहाँले मरेकी छोरी फर्केर आएको जस्तो व्यवहार गर्नुभयो । र, भन्नु नै भयो, ‘मेरी छोरी थिइन, मेरो छोरी भएर आइस् ।’ उहाँ बुहारीलाई म्वाईं खाएर माया दर्शाउनुहुन्थ्यो ।

०००

Shyamal-Mother-2हरेक आमामा मेरा छोराछोरी खास हुन् भन्ने आडम्बर हुन्छ । मेरो आमामा त्यस्तो थिएन । उहाँ जेठाबाका छोराछोरीलाई पनि आफ्नै छोराछोरी भन्नुहुन्थ्यो । मर्ने बेलामा पनि उहाँले मेरा जेठाबाका छोरा नारायणलाई खोज्नुभयो । तर उहाँ आउनुभएन । आमाको निधन भएको दस दिनपछिमात्रै आइपुग्नु भयो ।

उहाँ गाउँमा अरूका छोराछोरीलाई पनि आफ्नै सन्तान जस्तो व्यवहार गर्नुहुन्थ्यो । मसँग गएका साथीलाई पनि उस्तै व्यवहार गर्नुहुन्यो । निर्मोही व्यासको छोरा कुमारी बैंकको मेनेजर भएर गएका थिए सुर्खेतमा । उनीसँग सिताराम उप्रेती भन्ने झापाको भाइ पनि थिए । उनीहरु श्यामल दाइको घर भनेर गएछन् । आमाले छोरै आएको व्यवहार गर्नुभएछ । खगेन्द्र संग्रौला गएर हात मागेर ढोगे, पछिसम्म पनि त्यो कपाल फुलेको बाबु कहाँ छ भन्नुहुन्थ्यो । विमल निभालाई तेरा साथी नेवार बाबु कहाँ छन् भनेर सोधिरहनुहुन्थ्यो ।

०००

म कहिल्यै पनि जेल परिनँ, हिरासतमा मात्रै परेँ । तर उहाँले कहिल्यै पनि पत्याउनुभएन । जेल नै परेको हो भन्ने ठान्नुहुन्थ्यो । अनि सोध्नुहुन्थ्यो, ‘कस्तो हुन्छ त्यहाँ ?’

‘केही फरक पर्दैन आमा । पछि पछि त सबै साथी भइसकेका हुन्छन्’, म भन्थेँ ।

एक दिन उहाँले सोध्नुभयो, ‘तँ त्यहाँ के गर्थिस् ?’

‘केही भएन भने कैदीको चित्र बनाउँथे आमा ।’, मैले भनेँ ।

उहाँलाई मैले चित्र बनाएको थाहा थियो । मेरो पिताजीले पनि अंगारले भित्तामा चित्रजस्तै केही बनाउनुहुन्थ्यो । म पनि भित्तामा ढुकुर, मान्छे, गाई आदिको चित्र बनाउँथेँ ।

आमाले भन्नुभयो, ‘तँ बनाउँछस् है । सानैदेखि बनाउँथिस् ।’

मैले उहाँसँग कुरा गर्दागर्दै ‘पेन्सिल स्केच’ गरेँ । उहाँ धेरै नै खुसी हुनुभयो र भन्नुभयो, ‘मजस्तै छ है । कस्तो मिलाएर बनाएको !’

तर मैले त्यो स्केच राखिरहन सकिनँ । कता पर्यो, पर्यो ।

कहिलेकाही म आमालाई सोध्थेँ, ‘तपाईंलाई कुन छोराको माया बढी लाग्छ आमा ?’

shyamal (1)-001
उहाँको उत्तर हुन्थ्यो, ‘त्यो भन्न सकिन्न बाबु । सबै उस्तैजस्तो लाग्छ ।’

त्यतिबेला उहाँले भन्नुभयो, ‘अगाडि भएकोलाई बिर्सन्छु । नभएकोलाई सम्झन्छु ।’

उहाँको उत्तरले मलाई निकै भावुक बनाएको थियो ।

हाम्रोतिर राती तन्नेरीहरूको समूह बसेर गीत गाउने चलन हुन्छ । त्यहाँ युवायुवतीको प्रेम पनि हुन्छ, भाग्छन् पनि । म पनि जान्थेँ । मलाई केटीहरुले खुप मन पराउँथे । त्यो बेलामा सायद म राम्रै पनि थिएँ । तर आमाले म त्यसरी गएर नबिग्रियोस् भनेर यस्ता खालका कथा चुनेर भनिदिनुहुन्थ्यो कि हिँड्नै डर लाग्ने बनाइदिनुहुन्थ्यो ।

०००

उहाँसँग निजी फोनसेट त थिएन, तर नातिनीहरूलाई सम्पर्क गर्न लगाएर बेला¬–बेला फोन गर्नुहुन्थ्यो । अझ बिरामी परेको बेला फोन गर्नुहुन्थ्यो । म उहाँको स्वास्थ्यको चिन्ता गर्थें, उहाँ भने मेरो चिन्ता गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘बरु मेरो रगत खाएस् रक्सी नखाएस् है बाबु । तैले खान्छस् भन्ने सुन्छु हो ?’

‘होइन आमा, कसले भनेको र ? बुहारीले हो ?’, म भन्थेँ ।

‘होइन । त्यो त मसँग केही कुरै गर्दिनँ । भन्दिन’, उहाँ बुहारीलाई बचाएर कुरा गर्नुहुन्थ्यो ।

‘अनि नातिले भनेको हो त ?’

‘होइन, मसँग कहाँ तेरो बारेमा कुरा गर्छ त ! म मेरो छोरालाई चिन्दिनँ र ? तँ खान्छस् ।’, उहाँको कुराले म नाजवाफ हुन्थेँ । उहाँ भन्नुहुन्थ्यो, ‘अब नखा त बाबु ।’

‘होइन आमा, कहिलेकाहीँ साथीभाइहरूसँग, पार्टीमा मात्रै हो ।’

‘होइन तँ नखा । बरु मेरो रगत खा’, आमाले यति भनेपछि म स्तब्ध हुन्थेँ । आमाले यति धेरै मेरो चिन्ता गर्नुहुन्थ्यो ।

उहाँले पैसा कहिल्यै चलाउनुभएन । पूँजी सञ्चयको लोभ पनि थिएन उहाँसँग । ०३४ सालमा म नेपालगञ्जमा पक्राउ गरेँ । कुनै बेला उहाँले चेप्टे सुन निकालेर दिनुभएको थियो । पिताजीलाई पनि थाहा नदिएर । भन्नुभएको थियो, ‘तँ कहाँ जान्छस्, कहाँ जान्छस् । अप्ठ्यारो पर्ला ।’ त्यतिबेला दुई सय रुपैयाँ तोलामा बेचेँ मैले नेपालगञ्जको त्रिभुवन चोकमा । त्यतिबेला अढाइ सयसम्म पथ्र्यो, तर दुई सयमै बेचेँ ।

shyamal (4)-001
०००

मैले ढिलो विवाह गरेको । आमालाई मैले विवाह गरेन भन्ने खुप चिन्ता थियो । ३३ बर्षको उमेरमा मैले विवाह गरेँ । मेरो विवाहको जन्ती नारायण ढकाल, राजव र गोपाल गुरागाइँ, तीनजना मात्रै हो । तनहुँमा मैले विवाह गरेँ । घरमा खबरै गरिनँ । तर मैले विवाह गरेको भनेर खबर पाउनेबित्तिकै आमा धेरै खुसी हुनुभएको थियो रे । मैले श्रीमती लिएर घर गएँ । उहाँले मरेकी छोरी फर्केर आएको जस्तो व्यवहार गर्नुभयो । र, भन्नु नै भयो, ‘मेरी छोरी थिइन, मेरो छोरी भएर आइस् ।’
उहाँ बुहारीलाई म्वाईं खाएर माया दर्शाउनुहुन्थ्यो । यस्तो व्यवहार विरलै हुन्छ । मसँग त्यस्तो फोटो पनि छ । गाउँमा उहाँले बुहारीलाई माया गरेको देखेर मानिसहरु चकित् हुन्थे ।

०००

उहाँ ८४ वर्ष पुग्नलाई केही दिन बाँकी थियो । उहाँलाई कसैले ‘चौरासी’ गर्नुपर्छ भनेर लगाइदिएछ । त्यसपछि भन्नुभयो, ‘चौरासी गर्नु ठीक लागेन बाबु मलाई त ।’

‘मलाई त झन् मनै पर्दैन । तपाईंलाई मर् भनेको हो त्यो । साराको अगाडि गौदान गरिदिने ? त्यस्तो ठीक हुँदैन आमा । तपाईंको चौरासी गर्ने होइन नि त । तपाईं त अझ बाँच्नुपर्छ ।’

उहाँले मेरो कुरामा सहमति जनाउनुभयो । उहाँमा त्यस्तो सुषुप्त बौद्धिकता थियो ।

मेरो माइलादाइले गल्ती गरे । कान्छो भाइसँगको अलिकति असमझदारीले गर्दा नौ वर्षपछिमात्रै आमालाई भेट्न गए, जतिबेला आमा गलिसक्नुभएको थियो । तैपनि आमाले क्षमा गर्नुभयो । पछि दाइले पनि निकै पश्चाताप मान्नुभयो ।

०००

०५४ सालमा मेरो पिताजी बित्नुभयो । त्यसरी बित्दा हाम्रो गाउँघरमा महिलाको चुरा फुटाउने मान्छे आउँछन् । सिन्दुर पुछ्ने महिलाहरु आउँछन् । तर मैले अरूलाई उहाँको चुरा फुटाउन, सिन्दुर पुछ्न दिइनँ । मैले काइँली बुहारीलाई भनेँ, ‘तिमी यहाँ बस, मेरो आमाको हात कसैले छोयो भने म पिट्दिन्छु । आफैं जे गर्नुहुन्छ, गर्नुहुन्छ ।’

हामीले पिताजीको पार्थिव शरीर बाहिर निकाल्यौं । उहाँले सिन्दुर, चुरा, मंगलसूत्र आफैँ निकालेर बुबाको छातीमा राखिदिनुभयो ।

त्यसपछि मैले भनेँ, ‘तपाईं अलिकति मात्रै रुनुहोला । धेरै नरुनुहोला ।’ उहाँले मान्नुभयो ।

०००

उहाँ गीत असाध्यै राम्रो गाउनुहुन्थ्यो । ‘राइझुमा’ अझ राम्ररी गाउनुहुन्थ्यो । अहिले रेडियोमा बज्ने राइझुमा गीतमा त खास राइझुमा भाकाको छेउ पनि छैन । त्यसमा अद्भूत गाथा छ । जाजरकोटबाट बाउआमाले हुम्लाको ठकुरीलाई छोरी बेचेको कथा हो त्यो । मलाई त्यो गीत भूपी शेरचन र ईश्वर बल्लभले संकलन गर्ने जिम्मा पनि दिनुभएको थियो । त्यो गर्न मैले सकिनँ ।

shyamal (9)-001
आमाले त्यो निकै राम्रो गाउनुहुन्थ्यो, त्यसैले बुबाले गाउन लगाउनुहुन्थ्यो । खाना खाइसकेर बत्ती निभाएपछि अँध्यारोमा उहाँ गाउनुहुन्थ्यो । अर्कै संसार बन्थ्यो अनि । मैले त्यो रेकर्ड गरेर राखेको भए ठूलो सम्पत्ति हुन्थ्यो जस्तो लाग्छ । मेरो रेकर्डर थियो, त्यसमा रेकर्ड पनि थियो । तर पुलिसले लग्यो ।

मेरी आमामा लोककथा भन्ने गुण पनि थियो । त्योचाहिँ उहाँको आमाबाट पाउनुभएको थियो होलाझैं लाग्छ । हाम्रोतिर राती केटीहरूसँग गीत गाउन जाने चलन हुन्छ । तन्नेरीहरूको एउटा समूह हुन्छ । गीत गाउँछन् । अनि प्रेम हुन्छ, भाग्छन् पनि । म पनि जान्थेँ । मलाई केटीहरुले खुप मन पराउँथे । त्यो बेलामा सायद म राम्रै पनि थिएँ । तर आमाले म त्यसरी गएर नबिग्रियोस् भनेर यस्ता खालका कथा चुनेर भनिदिनुहुन्थ्यो कि हिँड्नै डर लाग्ने बनाइदिनुहुन्थ्यो ।

त्यहाँ भेटेका एक¬–दुई जना केटी त मलाई भेट्न भनेर आमालाई भेट्न पनि आएछन् । तर आमाले छोरीकै जस्तो व्यवहार गरिदिए पछि लत्र्याकलुत्रुक भएर गएछन् ।

०००

मैले दुनियाँलाई खुसी पार्न कहिल्यै लेखिनँ । त्यसैले मेरो आमासम्बन्धी कविता छैनन् । तर छोरासम्बन्धी कवितामा आमा आउनुभएको छ । ‘तिम्रो आमा शारदाजस्तै, मेरो आमा कलावतीजस्तै’ भन्ने छ । तथापि उहाँबारे लेख्न सकिने धेरै छ । हामीकहाँ सामान्यजनका बारेमा लेख्ने चलन छैन । मेरी आमाजस्तै मान्छेको बारेमा लेख्ने चलन छैन ।

मेरी आमालाई म अशिक्षित मान्दिनँ, तर अघि नै भनें, उहाँ निरक्षर हुनुहुन्थ्यो । उहाँ निरक्षर हुनुहुन्थ्यो, तर अशिक्षित भने हुनुहुन्नथ्यो । साक्षरता र शिक्षा फरक कुरा हो भन्ने लाग्छ मलाई । मैले आमालाई सिधै सम्बोधन गरेर कहिल्यै चिठी लेख्न पाइनँ । किनकि आमाले पढ्न जान्नुहुन्नथ्यो । बुबालाई चिठी लेख्दा नै आमालाई सम्बोधन गर्थें । उहाँलाई सिधै सम्बोधन गरेर पत्र लेख्न नपाएकोमा मलाई ठूलो पश्चाताप हुन्छ । एउटा कविको जीवनमा यो भयानक डरलाग्दो यथार्थ हो जस्तो लाग्छ ।

मलाई गोपालप्रसाद रिमालको ‘आमाको सपना’ निकै मन पर्ने कविता हो । यसबारे पनि निजी संस्मरण छन् मेरा ।

०००

मेरो आमा बित्नुभएको डेढ बर्ष भयो । दशैंको भोलिपल्ट, असोज १८ गते बित्नुभएको हो । त्यसैले धेरै सम्झना ताजै छन् । सबैको आमाको जस्तै सामान्य हो मेरी आमा पनि । तर उहाँ सामान्यभित्रको असामान्य आमा हो ।

मलाई लाग्छ, मेरी आमा बीरेन्द्र, ज्ञानेन्द्र, देउवा, माधव नेपाल, प्रचण्डको आमाभन्दा धेरै फरक हुनुहुन्थ्यो । समानता के छ भने प्रचण्डको आमाले आफ्नो छोरालाई जति माया गर्नुहुन्थ्यो, त्यो उहाँले पनि गर्नुभयो । तर उहाँले आफूमा भएको प्रेमको पूँजी प्रच्छन्न तरिकाले सबैलाई बाँड्नुहुन्थ्यो ।

मैले लाखौंकी आमालाई देखेको छु । नेपालका ७४ जिल्लामा घुमेको छु । ती जिल्लामा सायद ७४ हजार जनालाई चिन्छु, तिनका आमालाई भेटेको छु । तीमध्येमा मेरी आमालाई खोज्दा टड्कारो कहीँ देख्छु । स्पष्ट अनुहार भएको, स्पष्ट प्रवृत्ति, हास्यचेत र संवेदना भएको । झण्डै तीन करोड नेपालीकै आमा छन् । विना आमाको यो पृथ्वी र दुनियाँको कल्पना गर्न सक्दैनौं । तर म ती सबै आमाबीच मेरी आमालाई टड्कारो देख्छु । यसको अर्थ अरूको आमाको अपमान होइन । अरूले पनि त्यस्तै देखिरहनुभएको होला । तर म अलि फरक ढंगले सोच्छु । मैले छोरो भएरमात्रै होइन, उहाँको गुणको आधारमा अर्को पुस्ताको नाताले पनि उहाँको अनुहार टड्कारो देख्छु ।

प्रस्तुति : कला अनुरागी
तस्बिर : बिजु महर्जन
आमाको तस्बिर : श्यामल

यो पनि छुटाउनुभयो कि ?

मेरी आमा : सन्तानसँग सधैँ हार्छिन् आमा

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल