मान्नुहुन्छ ?, नेपालमा अन्डाको आयु नै छैन !

जेठ २३  |   मदन ढुंगाना

मान्नुहुन्छ ?, नेपालमा अन्डाको आयु नै छैन !

अन्डालाई पौष्टिक तत्वका पूर्ण स्रोत मानिन्छ । एउटा अन्डामा भिटामिन ‘ए’, ‘बी–२’, ‘बी–५’, ‘बी–६’, ‘बी–१२, भिटामिन ‘डी’, ‘इ’, ‘के’, क्याल्सियम, जिंक, ल्युटिन, ओमेगा थ्री, फोसफोरस, आइरन, सेलेनम आदि पाइन्छ । मानव जीवनलाई चाहिने अधिकांश तत्व पाइने भएकाले अन्डालाई प्रोटिनको पूर्ण स्रोत मानिन्छ । अझ बालबालिकाको विकासका लागि त दैनिक अन्डा प्रयोगलाई झनै महत्वपूर्ण मानिन्छ । तर, अन्डा मानव जीवनका लागि जति आवश्यक र महत्वपूर्ण छ, यसको सही र वैज्ञानिक प्रयोग गर्न नसके त्यत्तिकै हानिकारक र घातक पनि छ ।

egg-818191_1280
अन्डाको प्रयोगबारे के भन्छ– विश्व स्वास्थ्य संगठन र एफडीए ?

विश्व स्वास्थ्य संगठन भन्छ, ‘अन्डालाई उत्पादन भएको मितिले २१ दिनभित्र खाइसक्नुपर्छ ।’ अनि २१ दिनभित्र खाने अन्डालाई पनि कम्तीमा चारदेखि बढीमा १८ डिग्री सेन्टिग्रेड तापक्रममा बाकसभित्र फ्रिजमा राख्नुपर्छ । त्यस्तै मानव स्वास्थ्यमा काम गर्ने अर्को सम्मानित संस्था एफडीएले पनि अन्डालाई १० देखि १३ डिग्री सेल्सियस तापक्रममा राखेर उत्पादन मितिले अधिकतम २८ दिनमा खाइसक्नुपर्ने भनेको छ ।

नेपालमा अन्डाको आयु नै छैन ?

अन्डा प्रयोगबारे विश्वका सम्मानित संस्थाले जस्तो नियम बनाएका छन्, नेपालमा भने त्यसको एकरत्ति पनि नियम पालना गरिएको छैन । न त अन्डा उत्पादन हुने स्थानमा अन्डाको उत्पादन मिति राखिएको छ न त वितरकले नै प्याकिङ भएको स्थानमा मिति उल्लेख गरेका छन् । गर्मी समयमा त २१ दिनमा बिग्रने अन्डा खुद्रा पसलमा खुल्ला रूपमा बिक्री गरिएको हुन्छ । यतिसम्म कि घाम आएर अन्डामै परे पनि पसलेलाई त्यसको कुनै मतलब हुँदैन, न त उपभोक्ताले त्यसबारे बुझेका नै हुन्छन् । घाम होस् या पानी, कुनै मतलब नगरी पसलमा बेच्न राखिएका अन्डा कति दिन पुराना हुन्, स्वयम् व्यापारीलाई नै थाहा हुँदैन ।

अन्डा खाँदा जति नयाँ भयो त्यति नै राम्रो हो । उत्पादन भएका मितिले एक हप्ताभित्रै खाएमा अन्डामा पाइने सम्पूर्ण पोषणतत्व पाउन सकिन्छ । तर, अन्डा उत्पादन हुने स्थानबाट उपभोक्ताको घरसम्म पुग्न कम्तीमा १४ दिन लाग्ने गरेको बताउँछन्, भेटेरिनरी गुणस्तर तथा औषधि व्यवस्थापन कार्यालय डा. मुकुल उपाध्याय । अनि उपभोक्ताले पनि क्रेट नै किनेर महिना दिनसम्म घरमै राखेर खाँदा अन्डाको गुणस्तरमात्रै सकिएको हुँदैन, यसले अन्य स्वास्थ्य समस्या पनि ल्याउन सक्छ ।

– साल्मोनेलाले ज्यान लेला
– गर्मीमा २१ र जाडोमा २८ दिनभित्र खाइसक्नुपर्ने अन्डा ६० दिनसम्म पनि प्रयोगमै !
– किन एक्सपायर मिति छैन अन्डामा ?
– अधिकतम १८ डिग्री तापक्रममा राख्नुपर्ने अन्डा कहाँ कसरी राखिएका छन् ?
– उपभोग्य मिति राखे पनि लेबल निकालेर पुनः बजारमा बिक्री !

२१ दिनमा मिति गुज्रने अन्डा दुई महिनासम्म प्रयोगमा

इचंगुस्थित एक अन्डा उत्पादक किसानका अनुसार अन्डा उत्पादन भएको एक सातापछि मात्रै वितरकले उक्त अन्डा लैजान्छन् । अनि वितरकबाट खुद्रा बिक्रेताका पसलमा पुग्न कम्तीमा अर्को सात दिन लाग्ने गरेको छ । अनि खुद्रा व्यापारीले आफ्नो पसलबाट उपभोक्तालाई बेचेर सकाउन अर्को दुई सातासम्म लाग्ने गरेको छ ।

how_to_peel_a_hard-boiled_egg_1_horiz

यसरी हेर्दा एकैमात्र डिलर भए उत्पादक र उपभोक्ताको घरमा अन्डा पुग्न करिब २८ दिन लाग्ने गरेको छ । उपभोक्ताले पनि एक एउटा नलगेर कैयन् उपभोक्ताले एक क्रेट नै अन्डा लैजाने भएकाले त्यो सकिन पनि अर्को करिब महिना दिन लाग्छ । यसरी उत्पादन भएको मितिले अन्डाको अन्तिम उपभोग हुँदा करिब ६० दिन लाग्ने गरेको छ ।

अन्डा बिग्रन्छ भन्ने त सबैलाई थाहा छ तर कसरी बिग्रने हो वा कस्तोचाहिँ बिग्रेको हो भन्ने धेरैलाई थाहा छैन । अन्डा हल्लियो वा फुटाउँदा गन्हायो भनेमात्रै त्यस्तो अन्डालाई बिग्रेको अन्डा भनिएको छ । अन्डाको पनि एक्सपायर डेट हुन्छ भन्ने धेरैलाई थाहा छैन । नेपालमा त्यसको प्रयोग नै भएको छैन ।

न उत्पादन र उपभोग्य मिति, न त उचित तापक्रम

ढिलोमा पनि २८ दिनमा खाइसक्नुपर्ने अन्डा ६० दिनमात्रै पुगेको छैन, नेपालमा अन्डा भण्डारण गर्न उचित तापक्रमको पनि व्यवस्था छैन । विश्व स्वास्थ्य संगठनले ४ देखि १८ डिग्री सेन्टिग्रेड तापक्रमसम्मलाई ठिकै माने पनि राम्रो तापक्रम भने १० देखि १३ डिग्री सेन्टिग्रेड भनेर एफडीएले भनेको छ । तर, नेपालमा न त उत्पादकले उचित तापक्रममा राखेका छन् न त वितरकले । खुद्रा व्यापारीको कुरा गर्ने हो भने त अवस्था अझै नाजुक छ । उत्पादकलाई यतिमात्रै थाहा छ कि अन्डा चिसोमा राख्नुपर्छ । तर, चिसो भनेको कति तापक्रम हो कसैले भन्न सक्दैनन् ।

बालबालिकाको मानसिक वा शारीरिक विकास र युवा वा वृद्धको शक्तिका लागि हरेक दिन अन्डा खाइन्छ । तर, यो अन्डा कति स्वस्थकर छ भन्नेचाहिँ धेरैलाई थाहा नहुन पनि सक्छ । अन्डा हल्लिएन वा फुटाउँदा गन्हाएन भने त्यो अन्डालाई गुणस्तरीय अन्डा भन्ने भ्रम अहिले पनि यथावत् छ । विश्व स्वास्थ्य संगठनले अधिकतम उपभोग्य समय २८ दिन र भेटेरिनरी गुणस्तर तथा औषधि व्यवस्थापन कार्यालयले बनाएको मापदण्डले ३० दिन भने पनि नेपालमा दुई महिनासम्म अन्डाको उपभोग भइरहेको छ । राम्रो देखिएपछि गुणस्तरीय हुन्छ भन्ने सोच भने गलत भएको बताउँछन् वीर अस्पताल इमरजेन्सी इन्चार्ज डा. न्हुच्छेमान डंगोल ।

eggs

अन्डामा पानी वा अन्य केही तरल पदार्थ प¥यो भने पनि बिग्रन्छ, अलिकति चर्कियो वा फुट्यो भने बिग्रन्छ । १८ डिग्री वा सोभन्दा माथिको तापक्रममा निरन्तर रह्यो भने पनि बिग्रन्छ । २८ दिन कटेपछि त झनै बिग्रन्छ । तर, नेपालमा उत्पादित वा वितरीत सबैजसो अन्डामा उत्पादन मिति र उपभोग्य मिति उल्लेख नगरी खुला रूपमै अन्डाको बिक्री वितरण भइरहेको छ । जसकारण अन्डा खान योग्य छ कि छैन भनेर छुट्याउनै गाह्रो हुने गरेको छ ।

स्वस्थ र ताजा अन्डा मानव स्वास्थ्यका लागि उपयोगी त छन् तर यसको सही उत्पादन, भण्डारण, वितरण र प्रयोग भएन भने यो विषसमान हुन सक्छ । अन्डाको दैनिक प्रयोग गर्नेले अब अन्डा खानुभन्दा पहिले धेरै कुरा सोच्नुपर्ने भएको छ । कतै हामीले विष पो खाइरहेका त छैनौँ ?

नेपाल विश्व स्वास्थ्य संगठनको सदस्यराष्ट्र हो । तर, यहाँ अन्डाको सन्दर्भमा एक वर्षअगाडि मापदण्ड आए पनि त्यसको पालना भएको छैन । यो वा त्यो बहानामा मापदण्ड कार्यान्वयन सम्भव छैन भनिरहेका छन् । जसकारण आममानिसले अस्वस्थ, मिति गुज्रिएका र सडेगलेका अन्डा किनेर खाइरहेका छन् । रोग किनिरहेका छन् ।

यदि ताजा र मापदण्ड मिलेको अन्डा खाएमा स्वास्थ्यका लागि राम्रो हो । तर, हामीले जुन तरिकाबाट अन्डा खाइरहेका छौँ, अब भने सोच्ने बेला आएको छ ।

अन्डाको पनि ‘एक्सपायर डेट’ हुन्छ र !

नेपालमा अन्डाको खपत धेरैजसो साना बालबालिका र वृद्धवृद्धाका लागि हुने गरेको छ । धेरैजसो घरमा क्रेट किन्दा केही सस्तो पाइने भन्दै महिना दिनका एकैपटक अन्डा किन्ने गरिएको छ । किनभने उपभोक्तालाई अन्डाको ‘डेट एक्स्पायर’ हुन्छ भन्ने नै थाहा छैन । १५ वर्षदेखि खुद्रा पसल गर्दै आएका वनस्थलीका रवीन्द्र श्रेष्ठ भन्छन्, ‘अहिलेसम्म कुनै पनि उपभोक्ताले कहिलेसम्म खान हुन्छ भनेर सोधेका छैनन् ।’ जब उपभोक्ता नै सचेत छैनन् भने उत्पादक, वितरक र खुद्रा व्यापारीलाई जनताका स्वास्थ्यको के चिन्ता ? तर पनि कहिलेकाहीँ अन्डा खाएपछि बान्ता भयो, पेट दुख्यो भन्दै पसलमा आएर गुनासो भने गर्ने गरेको बताउँछन्, व्यापारी श्रेष्ठ ।

अन्डाको साल्मोनेलाले ज्यान लेला

बिग्रेको वा मिति गुज्रिएको अन्डा खाएमा मानव स्वास्थ्यमा गम्भीर असर गर्न सक्छ । अन्डामा जति भिटामिन र पोषणतत्व पाइन्छ, बिग्रँदा त्यति नै खतरनाक जीवाणु पनि हुन्छ । जब अन्डा पुरानो हुन थाल्छ, तब अन्डामा साल्मोनेला भन्ने ब्याक्टेरिया बढी विकास हुन थाल्छ । साल्मोनेलाको वृद्धि भएको अन्डा खाएमा मानिस गम्भीर बिरामी पनि पर्न सक्छन् । बालबालिकालाई हुने फुड प्वाइजनिङको मुख्य कारण साल्मोनेलायुक्त अन्डा नै हो भन्छन् वीर अस्पतालका डा. न्हुच्छेमान डंगोल । कतिपय पसलेले त केही सस्तो मूल्यमा चर्केको अन्डा पनि बेच्ने गरेका छन् । चर्केको अन्डा त आधा घन्टामै बिग्रने र त्यो ज्यादै घातक हुने डंगोल बताउँछन् ।

मिति गुज्रिएको वा बिग्रिएको अन्डा खाएमा बढी असर बालबालिका वा वृद्धवृद्धालाई नै हुन्छ । किनकि उनीहरूको रोगसँग लड्ने प्रतिरक्षा क्षमता वयस्कको तुलनामा कमजोर हुन्छ ।

broken-egg

बिग्रेको अन्डा खाए के हुन्छ ?

यदि गुणस्तरीय अन्डा खाइएन भने मानव स्वास्थ्यलाई गम्भीर असर गर्न सक्छ । यसले फुड प्वाइजनिङ, झाडाबान्ता हुने, ज्वरो आउने, पेट दुख्ने आदि समस्या हुन सक्छ । यसको असर तुरुन्तै नभएर १२ देखि ७२ घन्टासम्ममा देखापर्छ । तर पनि यसमा अनुगमन र नियन्त्रण हुन सकेको छैन ।

मिति राखे पनि लेबल निकालेर पुनः बजारमा बिक्री !

केही राम्रा भनिएका डिपार्टमेन्टल स्टोरमा बेच्न राखिएका अन्डामा २१ दिनको उपभोग्य मिति राखिएका छन् । तर त्यस्ता पसलमा पनि उचित तापक्रमको भने व्यवस्था गरिएको छैन । अनि के २१ दिनभित्र यी अन्डा बिकेन भने नष्ट गरिन्छ त ? मनमैजुका एक अन्डा बिक्रेता भन्छन्, ‘लेबल निकालेर पुनः बजारमा बेच्न लगिन्छ ।’

अन्डा मिसावटमुक्त गुणस्तरीय खाद्य पदार्थ त हो तर यसको सही उपभोग भने गर्न जान्नुपर्छ । राम्रो वा सफा देख्दैमा अन्डा खाए यसले गम्भीर स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ । यदि सरकार, उत्पादक, वितरक र उपभोक्ताले अन्डाको गुणस्तरमा ध्यान नदिने र अहिलेकै अवस्थामा छाडिदिने हो भने भोलि यसले गम्भीर समस्या निम्त्याउन सक्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल