मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

लेखक तथा आख्यानकार राजन मुकारुङ साहित्यिक अभियन्ता पनि हुन् । पहिचानको मुद्दालाई साहित्यमा समेट्नुपर्ने भन्दै मुकारुङले सृजनशील अराजकताको नेतृत्व गर्दै आए । मदन पुरस्कार प्राप्त उपन्यास ‘दमिनी भीर’ का लेखक मुकारुङले हालै दुई उपन्याससँगै लेख्दै छन् ।
हकी स्वभावका मुकारुङको प्रेम, मदिरा, भूलसहित जीवनका रोचक पक्षमाथि रातोपाटीकर्मी रमन पौडेलले गरेको कुराकानी :

IMG_0759मेरो खाना

मलाई सबैभन्दा मनपर्ने खाना कोदोको ढिँडो । मन नपर्ने खाना मकैको ढिँडो । काठमाडौँ बस्दा रेस्टुरेन्ट पनि जान्छु । साथमा पैसा हुनासाथ रेष्टुरेन्ट जाने बानी छ । स्न्याक्सका रूपमा पोर्क सेकुवा मलाई साह्रै मन पर्छ ।
घरमा बस्दा पकाउने पनि गर्छु । विशेष मासुका परिकार म राम्ररी पकाउने गर्छु ।

मेरो पोसाक

प्रायः सर्ट, पाइन्ट र कोट मैले नियमित लगाउने पहिरन हुन् । वार्षिक ४० देखि ६० हजार कपडामा खर्च गर्छु ।

नीलो र बैजनी मेरो ‘फेभरेट कलर’ हो ।

धेरैजसो सिलाएका कपडा लगाउने बानी छ । सिलाउनुपरेमा बागबजारको श्रेष्ठ टेलरिङ जान्छु । कोटचाहिँ सधैँजसो रेडिमेड नै लगाउँछु । तर, खासै ब्रान्ड कन्सस छैन म । टोपी लगाउने बानी छैन । टाउकोमा अनावश्यक भारी बोकेजस्तो लाग्छ ।

मेरो फिटनेस

फिटनेसका लागि बिहान सामान्य तानाकतुनुकमात्रै गर्छु । योगा वा मर्निङवाक गर्दिनँ । बरु बिहान उठेर लेख्छु म ।

गाउँमा हुँदा भने अलैँचीबारीमा यताउता डुल्छु । यसो गर्दा शरीर फुर्तिलो पनि हुन्छ । र, काम पनि हुन्छ । प्रायः बेलुका भात खान्न । यसले पनि फिटनेस मेन्टेन हुँदोरहेछ ।

मेरो अध्ययन

पछिल्लो समय पढ्नुभन्दा लेख्नुमा बढी व्यस्त छु । दुई उपन्याससँगै लेखिरहेको छु, ‘अयोग्य’ र ‘पानी पतिया’ । ‘पानी पतिया’ को काम लगभग सकिनै लागेको छ तर नाम फेरिन पनि सक्छ ।

लेखिरहँदा पनि सुधीश पचौरीको ‘उत्तरआधुनिक मिडिया विमर्श’ नामको किताब अलि–अलि हेरिरहेको छु ।

विषयको गहनताका आधारमा सबै किसिमका पुस्तक पढ्छु म । ननफिक्सन वा फिक्सन दुवैखाले पुस्तक मेरो रुचिमा पर्छन् ।

इन्द्रबहादुर राई र चिनुवा अचिवे मलाई मनपर्ने लेखक हुन् ।

पुस्तक संकलन गर्ने मेरो पुरानै बानी हो । गाउँ र काठमाडौँ गरी संग्रहमा दुई हजारजति पुस्तक छन् । पुस्तकमा मासिक दुई हजारभन्दा बढी खर्च हुन्छ ।

मेरो घुमफिर

घुमफिरकै लागि त्यति गएको छैन । कार्यक्रममा जाँदामात्रै हो ।

नेपालका १९ जिल्ला पुगेको छु । चार देश पुगेँ, भारत, हङकङ, कतार र बेलायत । चीनको खासा पनि पुगेँ ।

घुम्दा सबैभन्दा मन परेको ठाउँ कतारको सनैया मरुभूमि हो । तिब्बत घुम्न असाध्यै मन लागेको छ ।

मेरो फुर्सद

शुक्रवार प्रायः म फुर्सदमै बस्छु । पुस्तक प्रेसमा गएपछि छापिएर नआएसम्म आराम गर्ने हो । फुर्सदका समय साथीभाइसँग भेला हुने, साहित्यकाबारे छलफल गर्ने, रक्सी पिउने गरिन्छ ।

भ्याएसम्म घरपरिवारलाई समय दिन्छु । तर, तालिकाचाहिँ बनाउने गरेको छैन ।

श्रीमती र सन्तानसाथ घुम्न, रेस्टुरेन्टमा खान वा चलचित्र हेर्न जाने बानी पनि छैन । फिल्म ‘कबड्डी–कबड्डी’ हेर्न भने परिवारका सबैसँगै गइयो ।

मेरो खेलकुद

मलाई सबैभन्दा मनपर्ने खेल चेस हो । सबैभन्दा मन नपर्नेचाहिँ रेस्लिङ ।

कहिल्यै खेलाडी नै त भइएन । तर, केही मन पर्ने टिम छन् । क्लब गेममा मनाङ–मस्र्याङ्दी र बार्सिलोना । देशमा ब्राजिल ।

मनपर्ने क्रिकेट टिम नेपालको राष्ट्रिय टिम । त्यसपछि जिम्बाबे ।

मेरो मोबाइल

अहिलेसम्म आइफोन फोरले नै काम चलाइरहेको छु । केही वर्षअघि बाहिरबाट उपहार आएको हो । आफैँ मोबाइल किन्ने गरेको छैन, उपहारले नै चल्दै आएको छ । साथमा भएको मोबाइलको मूल्य कति पर्छ भन्ने थाहा छैन ।

सुरुमा सोनी इरिक्सन बोकेँ । त्यसपछि यही आइफोन हो । नबिग्रेसम्म फेर्ने चलन छैन । मोबाइलका एप्लिकेसन सामान्यमात्रै चलाउँछु ।

फेसबुक चलाउँछु । ट्वीटर आक्कलझुक्कलमात्रै । मेल गर्ने र आफूलाई चाहिएको म्याटर खोज्ने काम कम्प्युटरबाटै गर्छु । मोबाइलमा गेम पनि खेल्छु म । फुटबल र स्नुकर छ भने छोराहरूको मोबाइल मागेर खेल्छु ।

मेरो टेलिभिजन

टीभीमा म धेरै समाचार नै हेर्छु । पहिले–पहिले टक शो पनि हेर्थें । अचेल त तिनै मान्छेको कति कुरा सुन्नु भनेर मन लाग्दैन । सिरियलचाहिँ हेर्दिनँ । टीभी हेर्ने समय बेलुका आठ बजे हो । प्रायः कान्तिपुर टीभीको समाचार हेर्छु ।

सामसुङको ३६ इन्चको टीभी छ– गाउँको घरमा । काठमाडौँमा त पुरानो डेउ २१ इन्चको छ, ११ वर्षे आयुको । बिग्रेको छैन अझै । मनपर्ने टीभी कलाकार तक्मे बूढा हो ।

मेरो चलचित्र

पछिल्लोपटक हेरेको चलचित्र ‘तिलहरी’ । २०४८ मा हल गएर हेरेको थिएँ । अचेल प्रायः टीभीमा आउने र भिसिडीमा धेरै हेर्छु । कहिलेकाहीँ ल्यापटपमा छोराहरूले लगाइदिन्छन् ।

सबैभन्दा मन परेका चलचित्र तिलहरी, नुमाफुङ र कबड्डी हुन् भने सबैभन्दा मन पर्ने कलाकार दयाहाङ राई र नसरुद्दिन साह ।

मेरो रोग

मलाई पिनास छ । टाउको पछाडिको दायाँ भाग बेलाबेला दुखिरहन्छ । अन्य दीर्घरोग छैन ।

गत वर्षको साउनमा पूरा शरीर चेक गरेको थिएँ नर्मल नै थियो । रक्तचाप सामान्य छ ।

सामान्यतया म तन्दुरुस्त नै छु । गाउँमै हुर्किएँ । पछिल्लो समय गाउँमै बसेर काम गर्छु, त्यसैले पनि शरीरमा फुर्ती नै छ ।

काठमाडौँ बसाइक्रममा धूलोमैलोले होला पिनास लागेको । यसले पनि गाउँमा रहँदा खासै सताउँदैन ।

–काठमाडौँमा एक क्वार्टर सिग्नेचर, गाउँमा तीन माना लोकल
–मन पर्ने नेता प्रचण्ड, युवा नेता विश्वप्रकाश
–अहिलेसम्म सातपटक भोट खसालेँ
–मेरो त ट्रिक म्यारिज हो
–गाउँको घरमा किराती स्टाइलको ‘होम बार’ छ
–झापड हिर्काएपछि प्रेम बस्यो
–सफल लेखकसहित किसान बन्ने सपना

मेरो राजनीति

मलाई मन पर्ने नेता प्रचण्ड हुन् । युवाहरूमा भने विश्वप्रकाश शर्मा मन पर्छ । उनको अध्ययन, वैचारिक लेखन र साहित्यिक ज्ञान गज्जबको लाग्छ ।

राजनीतिमा सक्रिय हुने चाहना खासै छैन मलाई । तर उत्पीडित, सीमान्तकृतको पहिचानको मुद्दालाई बंग्याइएकोमा भने उछित्तैगरी राजनीति गरुँजस्तो लाग्छ ।

स्थानीय र राष्ट्रिय निर्वाचन गरी सातपटक मतदान गरेँ । दुईपटक स्थानीय र पाँचपटक राष्ट्रिय । स्थानीय चुनावमा मैले मतदान गरेका नेताले दुवैपटक जिते । राष्ट्रिय चुनावमा भने तीनपटक मात्रै जिते ।

मेरो मापसे

मापसे त निकै पो गर्छु त । काठमाडौँ बस्दा मेरो ब्रान्ड ‘सिग्नेचर’ हो । गाउँमा बस्दा घरेलु कोदोको रक्सी ।

गाउँमा त किरातीशैलीको होमबार नै छ । दिनमा म पिउँदिनँ । साँझ पेरपछि भने काठमाडौँमा सामान्यतः एक क्वाटर, गाउँमा एक माना । मदिराको ह्याङ किल गर्न पानी प्रशस्तै पिउँछु र मही पनि ।

मेरो संगीत

गीत–संगीत कहिलेकाहीँ सुन्छु । पुराना गायक नारायणगोपाल र अरुणा लामा हुन् भने नयाँमा राजेशपायल राई र आस्था राउत मन पर्छ ।

विदेशीमा सुरेश वाड्कर र आशाभोसले । मेरो मन छुने गीत ‘बैगुनी रै’छौ मायालु, मीठो बोली बोल्ने…’ । प्रायः गुनगुनाउँछु पनि । मलाई गाउन पनि आउँछ । निकै राम्रो पो गाउँछु हौ । साहित्यमा नलागेको भए त गायक नै हुन्थेँ नि ।

बाथरुममा नुहाउँदा चिसो पानीले गुन्गुनाउने बनाइहाल्छ । जाडोको याममा बढी नै गुन्गुनाइन्छ । खासमा चाहिँ म किचनमा काम गर्दा धेरै गुनगुनाउँछु ।

मेरो भूल

सानै छँदा छिमेकीको काँक्रा चोरिखाएँ । आमाले असारेको लौरोले बेस्मारी पिट्नुभएको थियो । स्कुल पढ्दा भने खासै कुटाइ खानु परेन ।

काठमाडौँ आएपछि एक साँझ ललितपुरको सेकुवा कर्नरमा अरूले झगडा गर्दा पुलिसले मलाई पनि पक्रेर लग्यो । रातभरि राख्यो । जब कि, मैले केही गल्ती नै गरेको थिइनँ ।

जीवनमा केही गल्ती गरेँ । जो गर्नु हुँदैनथ्यो । जस्तो गीतकार टीका चाम्लिङसँग मैले ठूलै झगडा गरेँ । जुन घटना अहिले सम्झिँदा नमीठो लाग्छ । त्यो गल्ती नै थियो ।

मेरो घर

आफ्नै गाउँ भोजपुरको दिल्पामा २०७० मा घर बनाएँ । घर बनाउँदाको जमिन पुख्र्यौली हो । घर निर्माणमा लागेको खर्चचाहिँ मेरो ‘दमिनी भीर’ उपन्यासको रोयल्टीबाट र केही थपथाप रकमले निर्माण खर्च थेग्यो ।

घरको स्टाइल वा डिजाइन नेपालीपाराको तीनधुरे छ । तीनतले । हरियो रङको टिनले छाएको, कम्तीमा वातावरण मैत्री हुन सकोस् भन्ने सोचर त्यस्तो बनाएँ ।

वास्तुशास्त्र मिलाएर बनाएको होइन । र, म अन्य अवस्थामा पनि वास्तुशास्त्र हेराउँदिनँ । मेरो डिजाइनअनुसार काठको प्रशस्त प्रयोग छ, भूकम्प प्रतिरोधक । पोहोरको भूकम्पले सिन्कोजति पनि असर गरेन । २६ लाख खर्च भयो ।

राशि

यसमा खासै विश्वास छैन । आमाले बनाइदिनुभएको चिनामा सिंह छ रे । ग्रहदशा राम्रै होला । ग्रह शान्ति गराउने बानी छैन । चाँदीको एउटा औँठी लाएको छु । यो पनि मन परेरमात्रै । ग्रह र नक्षत्रको फलप्रति पटक्कै विश्वास लाग्दैन ।

मेरो सौन्दर्य

कपालमा क्लियर भन्ने तेल सधैँ प्रयोग गर्छु । अरू केही गर्दिनँ । मेरो कपाल आजसम्म एउटा पनि फुलेको छैन । ६ महिनामा एकचोटि फेसियल गर्छु । अनुहारमा क्रिम लगाउने बानी छैन । शरीरमा सेन्ट छर्कने र प्रर्फ्युम प्रयोग गर्ने बानी पनि छैन ।

IMG_0762मेरो प्रेम

पहिलो प्रेम गौतम थरकी युवतीसँग भयो । नाम नभनौँ । १३ वर्षको उमेरमै पो । उनी साह्रै छुच्ची थिइन् ।

एक दिन म उनकै बारीको उखु चोरी खाँदै थिएँ । उनले भेट्टाइन् । ‘किरुवा’ र ‘सिरुवा’ भन्दै गाली गरिन् । हाम्रो झगडा नै पर्यो । मैले उनलाई बेस्सरी झापड हानेँ । उनी रुन थालिन् । तब माया लागेर आयो, पछि फकाएँ ।

उनी फकिइन् पनि । त्यसपछि फेरि मिल्न थाल्यौँ । प्रेमको प्रस्ताव नै त्यहीँ भयो ।

म आफैँले प्रेम प्रस्ताव गरेको थिएँ । कसैलाई एकतर्फी पनि मन पराएँ । म विवाहित भइसकेकाले भन्न मिल्दैनथ्यो । मनमात्रै पराएँ । प्रस्ताव गरिनँ । अहिले पनि मन पराइरहन्छु, उनको नाम भने नभनौँ ।

उनको बिहे भइसकेपछि पनि पुरानो प्रेमिकासँग दुई वर्ष त हामी सँगै पढ्यौँ । त्यसपछि उनी श्रीमान्सँग पल्टन (इन्डिया) गइन् । परारको वर्ष भेट भएको थियो । सामान्य सन्चो–बिसन्चो र पारिवारिक प्रसंग सोधासोधमात्रै भयो ।

मेरो त ट्रिक म्यारिज हो । प्रगती राई, मेरो माइला मामाकी छोरीकी साथी । उनी मेरोमा मामाकी छोरीसित आएकी थिइन् । मामाकी छोरीले मलाई बिहे गराइदिन्छु भनेर जिस्काइन् । मैले पनि मन पराएँ । त्यसै पनि मेरी पहिली प्रेमिकाको बिहे भइसकेकाले म प्रेमविहीन नै थिएँ । तर, प्रगतीलाई मैले प्रस्ताव गरिनँ, मेरो आमा र मामाकी छोरी बहिनीले नै फकाइदिएको । त्यसपछि उनलाई फर्केर जानै पो दिइएन ।

मेरो सपना

राजनीति गरेर मन्त्री, प्रधानमन्त्री बन्ने चाहना छैन मलाई । विश्वलाई नेपाली साहित्यमार्फत नेपाली समाजको संस्कृति, सभ्यता र दार्शनिक पक्ष अध्ययन गर्न आकर्षित गर्न सक्ने कम्तीमा एउटा पुस्तक लेख्न सकियोस् र एउटा सफल किसान बन्न सकियोस् ।

म जन्मेको गाउँमा पानीको स्रोत राम्रो छ । विशेषगरी अलैँचीको खेती गर्नलाई उपयुक्त ठाउँ हो । आफैँ अलैँची खेती सुरु गरेको छु ।

अलैँचीको आयबाट गाउँलाई परिवर्तन गर्न सक्षम हुन सकिन्छ । त्यहीँ रोजगारी सिर्जना गर्न सकिन्छ । गाउँका मानिसलाई किसान हुनु भनेको गर्वको कुरा हो भन्ने मानसिकता जगाउन सकूँ । विदेश जाने युवा गाउँमा नहुन्, गाउँमै अडिनसक्ने स्थिति निर्माण गर्न सकूँ । गाउँकै आयले अस्पताल, राम्रो शैक्षिक संस्था, बिजुली निकाल्न सकिन्छ । त्यही गर्न सकूँ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल