महिलाको पेट चिर्ने अस्पतालको कमाउधन्दा : साइत हेरेर जबर्जस्ती अपरेसन !

जेठ १८  |   मदन ढुंगाना

महिलाको पेट चिर्ने अस्पतालको कमाउधन्दा : साइत हेरेर जबर्जस्ती अपरेसन !

पैसा कमाउन सी सेक्सन !

काठमाडौँका निजी अस्पतालको सिजेरियन सेक्सन अर्थात् अपरेसन गरी बच्चा जन्माउने दर ४८ प्रतिशतको हाराहारीमा छ । निजी अस्पतालका डाक्टर वा सञ्चालक काठमाडौँमा रेफरल र क्रिटिकल केस बढी आउने भएकाले सिजेरियन दर बढी भएको दाबी गर्छन् । तर, कारक यतिमात्रै छैन, प्रसूति गृह अस्पताल निर्देशक डाक्टर जागेश्वर गौतम भन्छन्, ‘कहीँ–कहीँ पैसाको लोभमा पनि डाक्टरले अपरेसन गरिदिन्छन् । तर, यति धेरै सी सेक्सन बढ्नुमा पैसामात्रै कारक छ भन्नचाहिँ मिल्दैन ।’

त्यसो त गौतमजस्तै ओम अस्पतालका निर्देशक डाक्टर भोला रिजाल पनि यो सत्यलाई स्वीकार गर्छन् । कतिपय डाक्टर वा अस्पतालले पैसाकै लागि पनि अनावश्यक रूपमा अपरेसन गरी बच्चा जन्माउने गरेको हुन सक्ने भन्दै त्यसलाई कडाइ गर्नुपर्ने बताउँछन् डाक्टर रिजाल ।

operation2
‘नो रिस्क’ मेन्टालिटी

अहिले निजी अस्पतालले कुल संख्याको ९३ प्रतिशतसम्म अपरेसन गरी बच्चा जन्माउनुको अर्को कारण डाक्टर र अस्पतालको असुरक्षा पनि हो । सुत्केरी गराउँदा हुन सक्ने दुर्घटनामा डाक्टर तथा अस्पतालमाथि दोष आउने गरेकाले कुनै पनि डाक्टरले जोखिम लिन नचाहँदा अपरेसनको दर बढिरहेको छ ।

नेपालमा अहिले पनि एक हजार महिलाको सुत्केरी गराउँदा १७ जना सुत्केरीको मृत्यु हुने गरेको तथ्यांक छ । त्योबाहेक शिशु मृत्युदर उस्तै बढी छ । यदि सुत्केरी गराउँदा आमा वा बच्चालाई केही भएमा अस्पताल र डाक्टरलाई दोषी देखाई तोडफोड र प्रदर्शन तथा विरोधमा उत्रने मानसिकताले गर्दा डाक्टरले कुनै जोखिम मोल्न चाहँदैनन् । जसकारण अहिले सिजेरियन सेक्सनको दर बढिरहेको छ ।

कति पैसा लिन्छन् अस्पतालले ?

अहिले निजी अस्पतालले अपरेसन गरी बच्चा जन्माएबापत ५० हजारदेखि तीन लाख रुपैयाँसम्म पैसा लिने गरेका छन् । राजधानीको भ्याली मेटरनिटी अस्पताल, ओम अस्पताल, कान्तिपुर अस्पताल, हिमाल अस्पताल आदिले अपरेसन गरी बच्चा जन्माएबापत ५० हजारदेखि १ लाख ५० हजारसम्म पैसा असुल्ने गरेका छन् । त्यसैगरी बयोधा अस्पताल, ग्रिनसिटी अस्पताल, काठमाडौँ मोडल अस्पताल आदिको अपरेसन र अन्य शुल्क गरी १ लाख ५० हजारदेखि २ लाखसम्म शुल्क लिने गरेका छन् । सुविधासम्पन्न भनिएको नर्भिक अस्पतालले त अपरेसन गरी बच्चा जन्माइदिएपछि विभिन्न शीर्षकमा ३ लाख रुपैयाँसम्म शुल्क लिने गरेको छ ।

यसरी अहिले राजधानीमा आवश्यकताभन्दा पनि गर्भवती वा उनको आफन्तका माग, पैसाको लोभ, जोखिम नलिने मानसिकता आदिका कारण दिनानुदिन अपरेसन गरी बच्चा जन्माउने विधि विकास भइरहेको छ । जसले आमा र बच्चा दुवैलाई असर गरिरहेको छ ।

हुर्काइँदै छ डरलाग्दो प्रवृत्ति : बच्चा जन्माउन धमाधम पेट चिर्दै निजी अस्पताल !

आमा र बच्चा दुवैलाई उत्तिकै खतरा

सामान्य अवस्थामा अपरेसन गरी बच्चा जन्माउनु राम्रो होइन । तर, अचेल आवश्यकताभन्दा पनि लहडमै अपरेसन गरी बच्चा जन्माउन खोज्ने धेरै छन् । अस्पताल र डाक्टरको पैसा कमाउने मेसोदेखि सौन्दर्य जोगाइरहने तरिका भन्ठानेर पनि अपरेसन गर्ने धेरै छन् । तर, अपरेसन गरी बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउन सक्ने बताउँछन्– प्रसूति गृहका निर्देशक डाक्टर जागेश्वर गौतम र ओम अस्पतालमा निर्देशक डाक्टर भोला रिजाल । गौतमका अनुसार अपरेसन गरी बच्चा जन्माउँदा स्वास्थ्य समस्या झन् बढी हुन्छ । सामान्य प्रसूति गर्दा केही समय प्रसव पीडा हुने भए पनि त्यसपछि स्वास्थ्यमा खासै असर नपर्ने उनको भनाइ छ । तर, अपरेसन गरी बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउन सक्ने उनको चेतावानी छ ।

c-section-reprot-2
अपरेसन गर्दा आमाको पेट चिर्नुपर्ने भएकाले लामो समयसम्म पनि घाउ दुखिरहने गौतमको भनाइ छ । अपरेसन गरेको स्थानमा दुख्ने भएकाले लामो समयसम्म पनि गह्रौं काम गर्न नमिल्ने, बच्चा जन्मेपछि पेटमा बोसोको मात्रा बढ्दै गएपछि अस्वाभाविक रूपमा पेट बढ्नेलगायतका धेरै समस्या आउने उनको भनाइ छ । साथै बच्चालाई पनि सास फेर्न गाह्रो हुने, तत्कालै बाहिरी वातावरणमा घुलमिल हुन नसक्दा स्वास्थ्य समस्या आउने र मितिअगावै अपरेसन गरी बच्चा जन्माएमा मानसिक विकास पनि राम्रोसँग हुन नसक्ने गौतमको चेतावनी छ । कसैकसैले राम्री देखिरहनसमेत आफूखुसी अपरेसन गर्ने गरेको भन्दै अपरेसन गर्नु र नगर्नुले कुनै पनि महिलाको सुन्दरतामा फरक नपर्ने उनको भनाइ छ ।

साइत हेरेर जबर्जस्ती अपरेसन !

पछिल्लो समय बच्चा जन्माउन पनि साइत हेर्न थालिएको छ । कतिपय परिवारले कुन बेला बच्चा जन्मदा राम्रो हुन्छ भनेर ज्योतिषीलाई साइत जुराउन लगाएर राम्रो साइतमा बच्चा जन्माउन लागिपरेका छन् । ज्योतिषीलाई साइत हेराएर त्यही समयमा अपरेसन गरी बच्चा जन्माइदिनसमेत कतिपय गर्भवती र तिनका आफन्तले आग्रह गर्ने गरेको बताउँछन् नेपाल मेडिकल कलेजका एक चिकित्सक ।

त्यस्तै कतिपयले सामान्य अवस्थामा बच्चा जन्माइसकेपछि हुने यौन सम्पर्कमा पूर्ववत् आनन्द नमिल्ने तर अपरेसन गरेर बच्चा निकाल्दा योनीको आकारमा कुनै असर नपर्ने भएको भन्दै पनि अपरेसन गर्ने गरेको पाइएको छ ।

यसरी अहिले राजधानी काठमाडौँमा यो वा त्यो बहानामा आवश्यकताभन्दा अपरेसन गरी बच्चा जन्माउने धन्दा चलिरहेको छ । अपरेसन गर्दा आमा र बच्चाको स्वास्थ्यमा समेत समस्या आउनसक्ने भएकाले यसबारे थप सजग हुनुपर्ने बेला आएको छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल