१०६ बर्षका राइटर बाजेसँग एक साँझ

-  |   कला अनुरागी

१०६ बर्षका राइटर बाजेसँग एक साँझ

‘मैले १०६ वर्षका गणेशबहादुर श्रेष्ठलाई हजुरबुबा बनाएकी छु’, कुरैकुरामा आरती पौडेलले भनिन् । उनी ज्येष्ठ नागरिकलाई सिर्जनशील ‘पब्लिक स्पेस’ निर्माण गर्ने र आवश्यकताअनुसार संरक्षणको पहलकदमी लिने संस्था ‘सार नेपाल’की अध्यक्ष हुन् । संस्थाको कार्यक्रम ‘एडप्ट द ग्राण्डप्यारेन्ट्स्’ को सुरुवात उनले बानेश्वर, थापागाउँ कार्यालयनजिकै घर भएका श्रेष्ठलाई ‘धर्महजुरबुबा’ बनाएर गरेकी थिइन् । अहिले थुप्रै युवाहरूले संस्थाको अभियानलाई सघाउँदै आफ्नो जन्मदिनमा ‘धर्महजुरबुबा–आमा’ बनाइरहेका छन् ।

writer baje (5)
एक शताब्दी जीवन भोगिसकेका ‘हजुरबुबा’ भेट्न मन लाग्यो । आरतीसँग इच्छा प्रकट गरेँ । उनले आफू जाने दिन सँगै लैजाने वाचा गरिन् । व्यस्तताका कारण केही समय कुर्नु परेपनि शुक्रबार अपरान्ह उनले हजुरबुबालाई भेट्न लैजाने भइन् । मेरो साथमा तस्बिरकार बिजु महर्जन पनि थिइन् ।

अमेजिङ् ग्राण्डपा !

आरतीसँगै श्रेष्ठ घर पुगियो । घरको गेट नजिकै गोठमा गाई पराल चपाइरहेको थियो । काठको भर्याङ उक्लेपछि दलान निकालिएको जस्तो खुल्ला थियो । श्रेष्ठ त्यहीँ बसिरहेका थिए । सँगै उनकी ठाईंली छोरी चन्द्रमाया थिइन् । सँगै बसिरहेका अर्का व्यक्ति चन्द्रमायाका भिनाजु रहेछन्, उनैले चिनाइदिइन् ।

प्लास्टिकको नीलो कुसीमा बसिरहेका श्रेष्ठलाई हामीले नमस्कार गर्यौं । नमस्कार फर्काउँदै उनी टठिलो स्वरमा बोले । आरतीसँग सञ्चोविसञ्चोको बात हुँदै गर्दा मेरो छेउमै बसेकी बिजुले भनिन्, ‘अमेजिङ ! १०६ वर्षको भनेर पत्याउनै गाह्रो ।’

हामीलाई उनले सोधे, ‘तपाईंहरू कुन पत्रिकाबाट रे ?’

‘हामी रातोपाटी अनलाइनबाट हो । कम्प्युटर र मोबाइलमा हेर्न मिल्ने पत्रिका हो त्यो ।’, सकेसम्म बुझाउन प्रयास गरेँ । अलि व्याख्या आरतीले पनि गरिदिइन् । आरतीको हजुरबुबा–नातिनीवाला भलाकुसारी सकिँदा समय साँझतिर दौडिँदै थियो । त्यसपछि म उनीसँग गफिन थालेँ । आरती भने एउटा बैठक भ्याउन हिँडिन् । बिजु तस्बिर खिच्न सक्रिय भइन् ।

आयुरेखाभन्दा धेरै पर

श्रेष्ठले कुनै पनि प्रश्नको लामो उत्तर दिँदैनन् । उनको स्मृतिशक्ति तगडै लाग्छ । तर पनि भन्छन्, ‘मैले धेरै कुरा बिर्सिसकेँ । पहिलेको कुरा सम्झेर साध्य छैन ।’ उनको जवाफमा सिलसिला र केन्द्र भने थिएन । हरेक प्रश्नको उत्तरमा ‘भगवान’को नाम ल्याइहाल्थे । सुरुमै भने, ‘जसले हात हेरे पनि मेरो आयुरेखा काटिएको छ भन्छन् । चिनामा पनि ६४ वर्षको उमेर लेखिएको छ । त्यसपछिको जीवन सबै भगवानले दिएको हो । यो बोलेको पनि मैले होइन, भगवानले हो ।’

writer baje (1)
उनलाई बानेश्वर क्षेत्रमा ‘राइटर बाजे’ भनेर चिनिन्छ । पहिले ‘राइटर’ पदमा जागीर खाएपछि सेवानिवृत्त हुनेबेलामा खरिदार भइसकेका थिए । ‘तर खरदार भनेर कसैले चिन्दैन । राइटर नै भनेर चिन्छन्’, मुस्कुराउँदै भने । केही फुक्लिए र खिइए पनि उनको मुखमा अझै दाँत देखिन्छन् ।

वि.सं. १९६७ मा रामेछापको सालुमा जन्मिएका उनी बिहाबारीपछि १९९१ मा काठमाडौं छिरेका थिए । उनका ससुरा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमसेरका हजुरिया थिए । ससुराकै आग्रहमा उनी काठमाडौं आए । गाउँमा स्कूल हुने कुरै थिएन त्यो बेला । तैपनि बनारसबाट पढेर आएका केही पण्डितसँग केही पढ्लेख सिकेका थिए । काठमाडौ आएर केही तयारी गरेपछि चार पास गरे । त्यसपछि ससुराले सेनामा लेखापढीको जागिर लगाइदिए । १९९४ सालमा लोकसेवामा नाम निकालेका उनी राइटर हुँदै खरिदारसम्म भएर ३७ बर्षपछि सेवानिवृत्त भए । सेवानिवृत्त हुनेबेला उनी सेना पायनियर गणमा थिए ।

जागीर खाएपछि श्रीमतीलाई पनि काठमाडौंमै ल्याए । बानेश्वरमा जग्गा किने । सानो घरगोठ बनाए । ससुरालीले दिएको गाई पाले । छ छोरी र एक छोराका पिता उनका अहिले खनातीसमेत भइसकेका छन् । आफ्ना शाखासन्तान कति छन् भन्नेसम्म उनलाई पत्तो छैन ।

जीवनसाथी भने २०३३ सालमै गुमाए । उनका दुई दाजुभाइबाट जन्मेका ६ भतिजामध्ये दुई जनामात्रै जिवीत छन् । गाउँको जायजेथा तिनैलाई जिम्मा लगाएका छन् उनले ।

श्रेष्ठसँग अहिले ठाईंली छोरीको परिवार बस्छन् । नजिकै घर बनाएका ६७ बर्षका छोरालाई विभिन्न रोगले च्यापेको छ, तर उनलाई भने औषधी खानुपर्ने कुनै रोग छैन ।

यो बानेश्वर, त्यो बानेश्वर

श्रेष्ठ काठमाडौं आउँदा बानेश्वर एउटा फाँट थियो । दुवैतिर खरेटो हल्किरहेका साँघुरा बाटा थिए । गाडी फाट्टफुट्ट देखिन्थे ।

‘यहाँ पाटनका ज्यापूहरूको घैया रोप्थे ।’, उनले भने ‘त्यतिबेला जग्गा सस्तो थियो । अहिले त छोइ नसक्नु छ ।’

त्यतिबेलै उनले आफ्नो लागि केही रोपनी जग्गा जोडेका हुन् । अहिले छोराछोरीलाई बाँडिदिएका छन् । तैपनि उनको घरपछाडि खाली जग्गा बाँकी नै छ । जहाँ हुर्किरहेका मकै भर्खरै गोडिएको छ । गत साल बैशाखमा भूकम्प आएपछि टोलबासीले आफूलाई सुरक्षित पार्ने खाली ठाउँ त्यहीँ भेटे ।

यो भूकम्प, त्यो भूकम्प

वि.सं. १९९० को भूकम्पमा उनी रामेछापमै थिए । उनले सम्झिए, ‘हामी उभिन नसकेर भुईंमा सुतेका थियौं । घर त भत्कियो नै पाखै पुरै भत्किएर बङ्बङ धूलो उडेको थियो । अहिलेजस्तो घना बस्ती थिएन । त्यसैले मान्छे भने कमै मरे ।’

writer baje (2)
यसपालीको भूकम्पमा भने उनी बानेश्वरकै घरमा बसिरहेका थिए । उनले भूकम्प आएको थाहा पाए । ‘तर मलाई डर लागेन । सबै कुरा भगवानकै खटन हो । लान मन लागे लैजान्छन् भनेर कोठामै बसिरहेँ ।’, उनले भने ।

‘मैले जबजस्र्ती बोकेर बाहिर ल्याउन लगाएँ’, छेवैमा बसिरहेकी उनकी छोरी चन्द्रमायाले भनिन् । त्यसदिन चार बजेसम्म उनले ९० सालको भूकम्पको बर्णन गरिरहनुपर्यो टोलवासीलाई । ‘हामी त बोल्दा थाक्छौं, उहाँ त थाक्नु पनि हुन्न । त्यो दिनभरि उहाँ बोलिरहनुभयो ।’, उनले सुनाइन् । भूकम्पले उनको घरलाई पनि क्षति पुर्यायो । त्यही घर मर्मत गरेर अहिले बसिरहेका छन् ।

त्यो समय, यो समय

आफ्नो युवाकालमा भोगेको समय र अहिले धेरै फरक रहेको उनको अनुभूति छ । ‘दुःख ऊबेलामा बढी । अभाव पनि त्यो बेला बढी नै । मानिसहरू नांगै पनि हिँड्थे कपडा नभएर । मेरी जहान पनि राम्ररी उपचार पाउन नसकेरै बितिन् । त्यसरी हेर्दा अहिले समय राम्रो छ, तर उबेला यस्तो महँगी थिएन ।’, उनले भने ।

त्यतिबेला आफूलाई सजिलै भएपछि आफ्नो मान्छे नहुनेहरूलाई जागिर खान निकै गाह्रो हुने गरेको उनले बताए । ‘आफ्नो मान्छे छैन भने जागीर खान निकै धौ पथ्र्यो । चाकडीको चलन थियो । वर्षौं राणाहरूकोमा चाकडी गर्न धाउनुपथ्र्यो ।’, उनले भने, ‘सामान्य जनतामात्रै होइन, त्यतिबेलाका श्री ५ पनि श्री ३ को चाकडीमा जानुपथ्र्यो । पाँच रुपैयाँको बकस पनि श्री ३ को अनुमतिबिना श्री ५ ले दिन पाउँदैनथे ।’

तत्कालीन राजा राणको दर्शन गर्न सिंहदरबार जाँदा जनता भने राजाको दर्शन गर्न टुँडिखेलको बाटोमा बस्ने गरेको दृश्य उनी अहिले पनि सम्झन्छन् । राजा सिंहदरबार जाने चाल पाएपछि बाटो कुरेर बस्ने सर्वसाधारण उनलाई देखिसकेपछि भन्थे, ‘राजाको दर्शन पाइयो । अब हाम्रो पाप कटनी भयो ।’

सरल दैनिकी, साकाहारी खानपान

श्रेष्ठको दिन बिहान ६ बजेबाट सुरु हुन्छ । बिहान व्यूँझिएपछि भगवानको नाम जप्दै भजनकीर्तन गाउन थाल्छन् । सात बजेतिर गाईको दूधसँग हर्लिक्स खान्छन् । टेलिभिजनमा समाचार हेर्छन् ।

प्रसंगमा अम्बर गुरुङको कुरा निस्कियो । उनले उत्साहित भएर भने, ‘अम्बर गुरुङ त गायक हो नि रेडियो नेपालको । अस्तितिरमात्रै उपचार गरेर आएको थियो ।’ हामीले कुराकानी सुरु गर्नुभन्दाअघि उनले सिमेन्टको भाउबारे टिभीमा हेरेको भन्दै ज्वाइँलाई बताइरहेका थिए ।

writer baje (4)
‘हरेक दिन बिहान र बेलुकाको समाचार टिभीमा हेर्नुहुन्छ । हामीलाई थाहै नभएको र वास्तै नभएको विषयमा पनि उहाँलाई चासो हुन्छ । अनि हामीलाई बताउनुहुन्छ ।’, छोरी चन्द्रमायाले भनिन् ।
दिउँसो भेट्न आउने मान्छेसँगको कुराकानी गरेरै दिन बित्छ । पछिल्लो समय गोडा राम्ररी थिरिँदैन, त्यसैले घरबाहिर भने निस्कन सक्दैनन् ।

दिउँसो दुई बजे उनको खाना खाने समय हो । उनको पाचन शक्ति अझै तगडा छ । उनैलाई भनेर छुट्टै खाना बनाउनुपर्दैन । दूधसँग भात खान्छन्, तरकारी छुट्टै खान्छन् । पहिलेचाहिँ दाल पनि खान्थे । अहिलेचाहिँ दाल खान छोडेका छन् ।

०४७ सादेखि उनी शाकाहारी हुन् । ‘०४७ साल तिहारको भाइटिकापछि मेरो खानपान शाकाहारी छ ।’, उनले सुनाए ।

अहिले उनको बस्दा ढाड दुख्छ र गोडा राम्ररी थिरिँदैन । त्यो उमेरजन्य समस्या हो । तर औषधी खानुपर्ने कुनै रोग छैन । केही समयअघि प्रेसरको समस्या थियो । त्यसैले नियमित औषधी खानुपथ्र्यो । तर त्यसको कारण ग्यास्टिक भएको पत्ता लागेपछि डाक्टरको सल्लाहमा औषधी छोडेका छन् । अहिले खाना खाँदा घाँटी अलि चर्चराउँछ । तर परीक्षण गर्दा घाँटीमा कुनै समस्या नभएको डाक्टरको भनाइ छ ।

नटुटेका गाई

श्रेष्ठको घरमा अहिलेसम्म दुहुनू गाई टुटेको छैन । अहिले पनि उनको गोठमा एउटा गाईले उनलाई बिहान–बेलुकीलाई पुग्ने दूध दिन्छ । त्योबाहेक उनका दर्जनभन्दा बढी गाई विभिन्न ठाउँमा छन् । तिनीहरू कहिले घर आउँछन्, कहिले आउँदैनन् ।

उनले बानेश्वर बसेदेखि नै गाई पालेका हुन् । अहिले भएका सबै गाई सासूआमाले दिएको गाईकै सन्तान हुन् । ‘न मैले किनेँ, न बेचेँ । तर गाई टुटेको छैन । सडकमा बाधा गर्यो भनेर पुलिसले कतिवटा लगिसक्यो । तैपनि सकिँदैन ।’, उनले भने ।

उनको युवाकालीन समयमा बबरमहल गाई चराउने ठाउँ थियो । त्यसैले गाई पाल्न सजिलो थियो । अहिले पनि उस्तो गाह्रो छैन । घाँस नपाइए पनि पराल किन्न पाइन्छ । तर धेरैजसो टोलका मानिसले ल्याइदिएको पीठो, खोस्टा र अन्नले नै गाईको पेट भरिन्छ । हिन्दू धर्माबलम्वीले गाईलाई पवित्र मान्छन्, त्यसैले उनीहरूको श्रद्धाकै कारण गाई पाल्न उनलाई सजिलो भएको छ । किनकि सहरमा गाइ पाल्नेको संख्या नगण्य नै छ ।

धार्मिक स्वभाव

श्रेष्ठ धार्मिक स्वभावका छन् । नातिनी आरती भन्छिन्, ‘हरेक पटक भेट्न जाँदा उहाँलाई गीताका केही श्लोक भनेर व्याख्या गर्नैपर्छ ।’

श्रेष्ठ पुष्टि गर्छन्, ‘गीता त मेरो मनमै छ । म निदाए पनि मेरो तनमन भगवानमै छ ।’ विभिन्न हिन्दू धार्मिक ग्रन्थको श्लोक उनलाई कण्ठै छ ।

‘धीरा भै रहनू विपत्ति सहनु, कष्टै परोस् ता पनि

कहिल्यै मोहविषे नफस्नू, है मिथ्या छ संसार पनि’

उनले दोहोर्याइरहने श्लोक हो यो । उनी आफू लोभदेखि पर रहेको बताउँछन् ।

उनी व्रत बस्न पाउँदा खुसी हुनछन् । कुनै धार्मिक दिवसको दिन उनलाई हर्लिक्स दिन खोज्दा भन्छन्, ‘आज त फलानु दिन हो, म खान्नँ ।’

उनलाई घरमा गरिने कुनै पनि धार्मिक कार्य पनि विधि पुर्याएर गर्नुपर्छ । सक्ने हुँदा त विभिन्न मन्दिर आफैं धाउँथे । अहिले भने अरूलाई सुझाउँछन् ।

writer baje (3)

अजीव सपना

यसो आँखा चिम्लेपछि श्रेष्ठ स्वप्निल संसारमा पुगिहाल्छन् । ‘आँखा चिम्लिनेबित्तिकै आफैंले आफैंलाई देख्छु । घुमिरहने झल्लरी ओढाएर मलाई कुर्सीमा राखिएको हुन्छ । म ढाकाको दौरासुरुवाल र टोपीमा हुन्छु ।’

त्यस्तै उनको सपनामा भगवान आएर भन्छन्, ‘तँलाई मबाहेक अरू कोही पनि लिन आउँदैन ।’ र, ओछ्यानवरिपरि रायो–सस्र्यूं छरेर जान्छन् ।

यस्ता सपनाले आफूलाई भगवानले बचाइराखेको भन्ने उनको धारणा बलियो बनाउँछ । आखिर सपना आफ्नै मनोदशाको प्रतिविम्बन न हो ।

कहिलेचाहिँ उनी ‘ठाउँ खाली भयो । आउनुपर्छ’ भनेको पनि सुन्छन् । नाम लिएरै बोलाएको पनि सुन्छन् । तर उनी विश्वासमा छन्, ‘भक्तको समय नआइ भगवानले लैजादैनन् ।’

बोल्ने देवता !

काशीको धार्मिक भ्रमण गएर आएका एकजना उनीकहाँ आएर भनेछन्, ‘नबोल्ने सबैजसो देवताको दर्शन गरेर आएँ । अब बोल्ने देवता दर्शन गर्न आएको हुँ ।’

यसरी उनलाई भेट्ने कतिले ‘बोल्ने देवता’को संज्ञा दिन्छन् र सम्मान गर्छन् । हिन्दू धार्मिक ग्रन्थहरूमा मानिसको अधिक आयु सय बर्ष उल्लेख गरिएका कारण पनि सय बर्ष नाघेका उनलाई त्यस्तो संज्ञा दिने गरिएको हो ।

त्यसो त उनी कहिलेकाहीं टोलबासीसँग भन्छन्, ‘अब त म मर्छु होला ।’ तर उनीहरूको जवाफ हुन्छ, ‘कहाँ मर्नुहुन्छ र ? हामीले देखेदेखि नै यस्तै हुनुहुन्छ । बाँच्नुहुन्छ अझै ।’

साउनबाट १०७ बर्ष लाग्ने श्रेष्ठलाई चाहिँ न धेरै बाँचेकोमा उत्पात खुशी छ, न त मर्नुपर्ला भन्ने चिन्ता । त्यसो त कतिपय ज्येष्ठ नागरिकले भन्ने गरेजस्तो ‘अब त मर्न पाए पनि हुन्थ्यो नि यो दुःख भोग्नुभन्दा’ भन्ने गुनासो नै छ । उनी भन्छन्, ‘म न विद्धान छु, न त मूर्ख नै । मलाई कुनै लोभ पनि छैन । त्यसैले मलाई कुनै चिन्ता पनि छैन ।’

०००

श्रेष्ठसँग उनको समयबारे धेरै कुरा गर्ने इच्छा थियो । तर झण्डै डेढ घन्टाको कुराकानीमा अनुभूत भयो कि एकै भेटमा उनीबाट धेरै कुरा खोतल्न सकिँदैन । त्यो भेट उनको स्मृतिका केही झिल्का र उनले गरिरहेका केही अनुभूति खोतल्नमात्रै पर्याप्त थियो । तर एक शताब्दी समयलाई बोध गरेरै भोगेका व्यक्तिको सशरीर आवाज सुन्नु र नजिकै बस्नुको अनुभूति बेग्लै हुँदोरहेछ । बाटोमा फर्किंदा बिजुले पनि त्यसै भनिन्, ‘अर्कै खालको आनन्द आयो ।’

तस्बिर : बिजु महर्जन

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल