महाधिवेशनमा हारेपछि रामचन्द्रका अगाडि आए यी ७ अप्ठ्यारा

महाधिवेशनमा हारेपछि रामचन्द्रका अगाडि आए यी ७ अप्ठ्यारा

काठमाडौँ – मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सकेर सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पुगेका कांग्रेस नेता रामचन्द्र पौडेलले त्यहाँका कर्मचारी विष्णुभक्त सितिखूलाई भन्दै थिए, ‘सभापतिजीको नेमप्लेट झुन्ड्याएको अर्कोतर्फको कोठामा मेरो नेमप्लेट झुन्ड्याएर मलाई बस्ने कोठा बनाइदिनपर्यो ।’

पौडेलको आग्रहपछि सितिखूले जवाफ फर्काए, ‘दलको नेता, प्रमुख सचेतक, र सचेतकको निर्देशनविना नेमप्लेट र कोठाको व्यवस्था गर्न सकिन्न । उहाँहरूलाई मैले यो विषयमा जानकारी गराउँछु । निर्देशन भयो भने हुन्छ ।’

ramchandra poudel (1)

पौडेलले आफ्नो नेमप्लेट झुन्ड्याउन लगाएको कोठामा पहिला तत्कालीन सभापति तथा संसदीय दलका नेता सुशील कोइराला बस्थे । कोइरालाको निधनपछि भएको दलको नेताको निर्वाचनमा शेरबहादुर देउवा निर्वाचित भएका थिए ।

कोइराला दलको नेता हुने बेलामा पार्टी उपसभापतिको समेत बोर्ड टाँगेर संसदीय दलको कार्यालयमा हैकम जमाएका पौडेलले अहिले नेताको बोर्ड टाँग्नलाई नायब सुब्बासरहका कर्मचारीलाई हार–गुहार गर्नुपर्ने अवस्थामा पुगेका छन् । कोइराला भएकाले बेलामा दलको नेताकै हैकमका काम गर्ने पौडेललाई अहिले त्यहाँ पुगेर कहाँ बस्ने भन्ने चिन्ता भएको छ ।

२४ फागुनमा सकिएको पार्टी महाधिवेशनमा नेता देउवासँग पराजित पौडेल दलको नेतामा पनि तिनै देउवासँग पराजित भएका थिए ।

पार्टीको १३औँ महाधिवेशनको प्रक्रिया सुरु भएर इकाइ र क्षेत्रको अधिवेशन सकिएको बेला २६ माघमा तत्कालीन पार्टी सभापति कोइरालाको निधनपछि विधानतः कार्यवाहक सभापति बने । त्यसपछि उनको सभापतित्वमा २० देखि २४ फागुनसम्म १३औँ महाधिवेशन सम्पन्न भयो । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले सभापतिमा होमिएका पौडेल नेता देउवासँग पराजित भए । जब उनी पार्टी सभापतिमा पराजित भए, कांग्रेसमा जमाइरहेको उनको हैकम पनि अन्त्य भयो । अघिल्लो दिनसम्म दिने हैसियतमा रहेका पौडेल त्यस दिनबाट माग्ने हैसियतमा पुगे ।

पौडेलका चुनौती

(१) २०५८ मा नेता देउवाले फुटाएको पार्टी २०६४ मा एक हुँदा ६०÷४० को हैसियतमा भागबन्डा गरिएको थियो । पार्टी एक हुँदा निर्माण गरिएको एकीकृत केन्द्रीय समितिले २०६७ असोज पहिलो साता गराएको महाधिवेशनमा पनि ६०/४० कै हैसियतमा निर्वाचनको परिणाम आएपछि पार्टी पार्टी त्यसैगरी चलेको थियो । तर, १३औँ महाधिवेशनमा त्यो नतिजा उल्टिएको छ । ४० को हैसितयमा रहेका देउवा संस्थापन भनेका छन् भने पहिलाको संस्थापन अहिले पार्टी नेतृत्वबाट विस्थापित भएको छ ।

विस्ताथितमात्रै होइन, नतिजाअनुरूपको भागबन्डा लगाउने हो भने ४० प्रतिशत पनि भाग नपर्ने स्थितिमा विस्थापित पक्षको नेतृत्वमा रहेका पौडेलले पु¥याएका छन् । १२औँ महाधिवेशनमा देउवा सभापतिमा सुशील कोइरालासँग ३३५ मतले (कोइराला १६५२, देउवा १३१७) पराजित भएका थिए । अहिले पौडेल देउवासँग ५२६ मतले (देउवा १८२२, पौडेल १२९६) पराजित भएका छन् ।

deuba ramchandra
पार्टीमा मात्रै होइन, संसदीय दलमा पौडेल त्योभन्दा झन् कमजोर देखिएका छन् । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनपछि भएको संसदीय दलको नेता छान्ने निर्वाचनमा सुशील कोइरालासँग देउवा १६ मतले पराजित भएका थिए । अहिले पौडेल देउवासँग त्यसको दोब्बरभन्दा बढी मत (देउवा १३९, पौडेल ६७) अन्तरले पराजित भएका छन् । दलमा पाएको मत प्रतिशत हेर्ने हो भने देउवाले ६७.७४ प्रतिशत मत पाएका छन् । तसर्थ, आफ्नो पक्षको गुमेको साख पुनः फर्काउन नेतादेखि कार्यकर्तासम्म संगठित गर्ने चुनौती गुटको नेतृत्वकर्ताका हैसियतले पौडेलसामु देखिन्छ ।

(२) १३औँ महाधिवेशनमा तीन पदाधिकारीसहित निर्वाचित हुने ६४ सदस्यमा देउवाले सभापतिसहित ३६ सदस्यमा जित हात पारेका छन् भने पौडेलपक्षका २८ जनामात्रै केन्द्रीय समितिमा पुग्न सकेका छन् । १२औँ महाधिवेशनमा अल्पमतमा रहेर पनि देउवाले आफ्नो पक्षलाई एकढिक्का बनाएर पार्टी पदाधिकारीमा मनोनीत गर्ने उपसभापति, महामन्त्री र सहमहामन्त्रीमध्ये सहमहामन्त्री आफ्नो भागमा पारेका थिए भने भिडेर भए पनि ६०/४० को हैसियत कहीँ पनि गिर्न दिएका थिएनन् ।

पार्टीको केन्द्रदेखि इकाइसम्मका कार्यसमिति र विभाग तथा समितिमा आफ्नो भाग लडेर लिएका थिए । सुशील कोइराला नेतृत्वमा कांग्रेस सरकारमा जाँदा पनि देउवाले पार्टीभित्र ६०÷४० कै हैसियतमा मन्त्री बनाउन सफल भएका थिए । अब पौडेलले देउवासँग भिडेर गुटको नेतृत्वकर्ताका हैसियतले त्यो गर्न सक्छन् कि सक्दैनन् ?

(३) फुटेको पार्टी एक भएपछि भएको १२औँ महाधिवेशनमा तत्कालीन संस्थापनले आफूले हार्ने आँकलन गर्दै पदको लालचा देखाएर देउवाका हस्तीका रूपमा चिनिएका तत्कालीन उपसभापति प्रकाशमान सिंह, केन्द्रीय सदस्य बलबहादुर केसी, दीपकुमार उपाध्याय, डा. नारायण खड्कालगायतलाई आफ्नो पक्षमा तानेको थियो ।

जसले सुशील कोइरालाको नेतृत्वमा प्यानल बनाएर चुनाल लडेको संस्थापनलाई परिणाम आफ्नो पक्षमा पार्न सजिलो भएको थियो । अहिले १३औँ महाधिवेशनअघि देउवाले त्यसबेलाको संस्थापन र अहिलेको पौडेल गुटबाट चन्द्र भण्डारी, फरमुल्लाह मन्सुर, श्याम घिमिरे, केशवकुमार बुढाथोकी, विश्वप्रकाश शर्मा, कुलबहादुर गुरुङ, गोविन्दराज जोशी, सूर्यमान गुरुङ, लक्ष्मण घिमिरे, तारानाथ रानाभाटलगायत नेतालाई विभिन्न लालचा देखाएर आफ्नो पक्षमा ताने । जसले नेतृत्व आफ्नो पक्षमा पार्न सहज बनाइदियो ।

अब आफ्नो पक्षमा रहेका नेतालाई आफ्नै पक्षमा राखेर गुट सुदृढ गर्दै १४औँ महाधिवेशनमा देउवापक्षबाट नेता तान्न सक्छन् कि सक्दैनन्, त्यो पनि हेर्न बाँकी छ ।

(४) पौडेलले सभापतिमा पराजय भोगे पनि उनको प्यानलबाट महामन्त्रीमा कांग्रेस संस्थापक विश्वेश्वरप्रसाद कोइरालापुत्र डा. शशांक कोइरालाले जितेपछि अब गुट कसको नेतृत्वमा सञ्चालित हुने भन्ने चर्चा परिचर्चा सुरु भएको छ । पार्टी संगठनमा त्यति मजबुत नरहेका पौडेललाई भन्दा शशांकलाई नै गुटको नेतृत्व गर्न दिनुपर्नेमा कार्यकर्ताहरू नै देखिन्छन् । त्योमात्रै होइन, निवर्तमान महामन्त्री प्रकाशमान सिंह पनि २०४६ को जनआन्दोलनका नेतृत्वकर्ता लौहपुरुष गणेशमान सिंहको लिगेसी देखाउँदै आफूले नेतृत्व गर्ने भन्दै केही नेतालाई बोकेर हिँड्न थालेका छन् । सबै नेतालाई आफ्नै नेतृत्वमा गोलबद्ध गर्दै गुटको नेतृत्व गर्ने क्षमता पौडेलले राख्छन् कि राख्दैनन् त्यो पनि हेर्न बाँकी छ ।

ram chandra (2)
(५) कांग्रेस पुँजीवादी पार्टी हो । पुँजीवादी पार्टीका कार्यकर्ताले नेताबाट केही आस गर्छन् । काम र अप्ठ्यारो पर्दा न्यूनतम आवश्यकता परिपूर्ति गर्ने दामको आशा नेताबाट कार्यकर्ताले गर्नु स्वाभाविक हो । तर, पौडेल त्यो मामलामा ज्यादै कन्जुस छन् । उनीसँग भएको जिनिस बाँड्न चाहँदैनन् । उनले महाधिवेशनमा सभापतिमा पराजय भोग्नुका कारण एउटा त्यो पनि भएको कांग्रेस नेता कार्यकर्ता नै स्वीकार्छन् । अब एकपटक चेतेपछि त्यो बानीमा सुधार्ने चुनौती पनि उनीमाथि छ ।

(६) पौडेलको सबैभन्दा ठूलो इच्छा एकपटक मुलुकको प्रधानमन्त्री हुनेछ । पहिलो संविधानसभाका बेला १७ पटकसम्म प्रधानमन्त्रीमा लडेर पनि जित्न नसकेका पौडेललाई अब पुनः प्रधानमन्त्रीको उम्मेदवार बन्ने धोको भएको उनका निकटवर्तीहरू बताउँछन् । तर, कांग्रेस दलको विधानअनुरूप प्रधानमन्त्रीको उम्मेदवार हुन दलको नेता हुनुपर्छ, त्यो क्लजबाट पौडेल बाहिरिएका छन् । तर, राजनीति न हो, पार्टीभित्र सहमति गरी केन्द्रीय समितिबाट निर्णय गरेर उम्मेदवार बनाउन सकिन्छ । त्यसका लागि वातावरण तयार गर्ने त पौडेल स्वयमले हो । उनले त्यस विषयमा क्षमता प्रदशन गर्न सक्छन् कि सक्दैनन् ?

(७) पौडेलमा रहेको समस्या भनेको उनी आफैँ अघि लागेर कुनै काम गर्दैनन् । अरूले वातावरण मिलाइदियोस् र आफूले त्यसको नेतृत्व गर्न पाउनुपर्छ भन्ने धारणा सदैव हुन्छ । त्यो बानीका कारण पनि धेरै नेताहरू उनीसँग चिढिएका छन् । दलीय वार्तामा पनि उनी नेतृत्व गरेर जाने तर पार्टीको अडान अन्य नेताले राख्ने गर्दा हैरान नै परिने उनीसँग दलीय वार्तामा जाने एक नेताले बताए । राजनीतिमा नेतृत्वमा पुग्ने मान्छेले तर्क र विचारले अरूलाई प्रभावित गर्ने विषयको पनि नेतृत्व लिनुपर्छ । देउवासँग महाधिवेशनक्रममा पनि उनी आफूले कुरा नगर्दा धेरैले त्यसको फाइदा लिएका विषय बाहिर आएका थिए ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल