यस्ता छन्– नेपाली पत्रकार महिलाका सुख, दुःख

यस्ता छन्– नेपाली पत्रकार महिलाका सुख, दुःख

निर्मला शर्मा सञ्चारिका समूहकी अध्यक्ष हुन् । शर्माको संस्थाले पत्रकार महिलाको हक–हितका लागि काम काम गर्छ । पत्रकारिता जगत्मा २० वर्ष लामो अनुभव छ उनको । पत्रकार महिलाका विषयमा उनै शर्मासँग रातोपार्टीकर्मी फातिमा बानुले गरेको कुराकानी :

Nirmala Sharma (Sancharika President) (1)
पत्रकार महिलाको वर्तमान अवस्था

२०७२ मा नयाँ तथ्यांकक निकालिएको छ । यसलाई आधार मानेर भन्ने हो भने सख्ंयात्मक हिसाबमा पत्रकार महिलाको वृद्धि भइरहेको देखिन्छ पछिल्लो समयमा २२ प्रतिशतले पत्रकार महिलाको वृद्धि भएको छ । राजनीतिक पार्टीदेखि लिएर देशका सबै निकायमा महिलाको सहभागिता कम छ । त्यस्तै पत्रकारिता क्षेत्रमा पनि महिला न्यून संख्यामा छन् । पत्रकारिता क्षेत्रमा काम गर्न आउने महिला बढ्दै छन् । यद्यपि, महिला सम्पादकजस्ता निर्णायक तहसम्म भने पुग्न सकेका छैनन् । त्यस्ता महिला गन्ने हो भने औँलामा अटाउँछन् ।

मिडिया रोजाइमा महिला

मिडिया रोज्नुपर्दा अधिकांश महिलाले टेलिभिजन रोज्छन् । आफूलाई चिनाउन छिटो र सजिलो माध्यम भएकाले उनीहरूले टेलिभिजन रोज्ने गरेको बुझिन्छ । अझ बढी त रेडियो छान्छन् । रेडियोमा काम गर्न सजिलो हुने भएकाले उनीहरूको ध्यान त्यतातिर तानिएको हो । महिलाको स्वर मीठो हुन्छ । रेडियोमा मिडियाले पनि महिलालाई नै बढी रोज्छन् । कार्यक्रम चलाउने, समाचार पढ्ने काममा महिलाको बढी आकर्षण छ । दैनिक पत्रपत्रिका र म्यागेजिनमा उनीहरूको उपस्थिति कमै छ । अहिले अनलाइन मिडिया पनि महिलाको रोजाइमा पर्न थालेका छन् । अनलाइनमा छिटो अपडेट गर्नुपर्छ । छोटो लेखे हुन्छ । यसकारण उनीहरू अनलाइन मिडिया रोज्ने गर्छन् । यो प्रवृत्ति राजधानीभन्दा पनि राजधानीबाहिरका मिडियामा बढी देखिन्छ ।

गाह्रो र जोखिमपूर्ण काम किन रोज्दैनन्

महिलाको हुर्काक, बढाइ कस्तो वातावरणमा भएको छ भन्ने कुराले उसको कामको रोजाइमा प्रत्यक्ष असर पारेको हुन्छ । उसले गर्ने साथीभाइका संगतले पनि फरक पारिरहेको हुन्छ । हाम्रो समाजमा सानैदेखि छोरीलाई पढ्नुपर्छ, काम गर्नुपर्छ र आत्मनिर्भर हुनुपर्छ भनेर सिकाइँदैन । बरु घरभित्रका काम सिक्नुपर्छ । राम्रो घर गरिखानुपर्छ भनेर सिकाइन्छ । देश चलाउने प्रधानमन्त्री होइन, घरकी स्वभाव बन्नुपर्छ भनेर सिकाइन्छ । त्यस्तो कमजोर मानसिकता भएको परिवार र समाजबाट संघर्ष गर्न आएकी महिलाले सूचना लिनका लागि सजिला काम रोज्नु स्वाभाविक नै हो । काम सिक्नमात्र के लागेकी हुन्छे, उमेर बित्यो भन्दै बिहेवारी गरिदिन्छन् । त्यसपछि त झन् महिलामाथि जिम्मेवारीका भारी थपिँदै जान्छन् । पेसाले पत्रकार भएकै भरमा महिलाले चाहेजति सूचना संकलन गर्न सक्दिनँ । समाचार स्रोतका मान्छेसँग समय बिताएर गफ गर्नुपर्ने हुन्छ । संगत गर्नुपर्छ । महिलालाई यी सबै कुराको छुट दिँदैनन् । स्वतन्त्र छाडिदिँदैनन् । महिलाले सूचनासँग खेल्न पाउँदिनन् । स्रोतसँग नजिक हुन पाउँदिनन् । स्रोत नभएपछि जति दुःख गरे पनि पत्रकारिता निखार्न सकिँदैन । एकैचोटी फिल्डमा उत्रिएर काम गर्दा महिलालाई गाह्रो भइदिन्छ । सिक्दासिक्दै आधा समय खर्च हुन्छ । अनि स्वभावैले सजिलो काम रोज्न बाध्य हुन्छन् महिला ।

Nirmala Sharma (Sancharika President) (4)
महिलाले रोज्ने बिट

मिडियाले राजनीतिक समाचारलाई बढी प्राथमिकता दिइरहेको छ । गाह्रो छ । योमात्रै मुख्य समाचार हो भन्ने गरिएको छ । जसलाई म गलत अभ्यास मान्छु । राजनीतिक बिटमा महिला काम गर्नै मान्दैनन् । राजनीतिक समाचारका महिलाका बाइलाइन आउँदैनन् । त्यस्ता समाचार स्रोतसम्म उनीहरू पुग्न सक्दैनन् । पढिने अथवा पाठकसम्म पुग्ने अधिकांश समाचार राजनीतिक बिटकै हुन्छन् । यसैकारणले पनि दैनिक पत्रिका र अनलाइन मिडियामा उनीहरू कम छन् । सामान्यतया महिला सामाजिक, आर्थिक, महिला, परराष्ट्रजस्ता बिटमा चासो देखाउँछन् ।

किन रोज्दैनन् राजनीतिक बिट

राजनीतिक समाचार भनेको पार्टीभित्रको विभिन्न गुट र उपगुटको कोठाको समाचार हो भन्ने गरिएको छ । जुन समाचार नलेख्दा पनि पाठकलाई खासै फरक पर्दैन । ती समाचारलाई मुख्य समाचार बनाइन्छ । जसको पहुँचभित्र महिला पर्न सक्दैनन् । किनभने राजनीतिक पार्टीको केन्द्रीय कार्यसमितिमा पुरुषकै बर्चस्व छ । पार्टी के हो, पार्टीको भिजन के हो त महिलाले सजिलै थाहा पाउँछन् तर पार्टीभित्रको विभिन्न गुट र उपगुटको किचन क्याबिनेटभित्र महिला पुग्न सक्दैनन् । महिलालाई त्यो पहुँचभित्र पुग्न विभिन्न कारक तत्वले रोकिरहेको हुन्छ । हाम्रो समाज त्यति फराकिलो सोचको पनि भइसकेको छैन । पुरातनवादी नै छ । जसले किचन क्याबिनेटभित्र पसेर समाचार ल्याउन सक्छ उनै राम्रो पत्रकार, बलियो पत्रकार भनेर चिन्ने चलन छ हामीकहाँ । म पटक–पटक भन्छु– यो गलत अभ्यास भइरहेको छ । महिलाले राजनीतिक बिटका समाचार लेख्न सक्दिनन् भन्ने भ्रमचाहिँ हुन भएन । त्यस्ता समाचार लेख्न महिला आफूले आफूलाई रोकेकी छैनन् । सक्षम पनि छिन् । तर, समाज बाधक बनेको छ । यदि कुनै महिला नेताका घरैमा घन्टौँसम्म समाचारका विषयमा कुराकानी गरेर बस्छे भने समाजले पचाउँदैन । दुई दिनभन्दा तीन दिन लगातार कुनै नेतालाई भेट्छे भने समाजमा नानाथरीका कुरा काट्छन् । उस्तै परे समाचार नै बनाइदिन्छन् । यस्ता कुराले महिलालाई मात्रै होइन, नेताको राजनीतिक भविष्यमाथि नै प्रश्नचिह्न लागिदिन्छ । पत्रकार महिला पुरुषको तुलनामा कम छन्, तिनै महिला बारम्बार नेताका अघि–पछि हुँदा समाजको हेर्ने दृष्टिकोण नै गलत भइदिन्छ । यस्ता केस राजनीतिक बिटमा मात्रै नभएर प्रशासनमा पनि भइरहेको अवस्था छ । जुन दिन कसले कसलाई कति बजे भेट्न गयो, कतिपटक र कतिबेला भन्ने विषयमा समाजले चासो दिन छाड्छ । दाबी गर्न सकिन्छ महिलाले पनि प्रभावकारी ढंगले राजनीतिक बिटमा काम गर्न सुरु गर्नेछन् ।

कुनै बेला म आफैँ राजनीतिक बिटमा काम गर्थें । त्यतिखेर श्री सगरमाथा दैनिकमा म काम गर्थें । सबै समाचार संकलन गर्थें । राति १२ बजे, बिहान तीन बजे केही भन्दिनथेँ । रातभरि संसद्मा बस्थेँ । पाँच वर्ष राजनीतिक बिटमै गरेँ । फलानी रातभरि अफिसमा बस्छे रे भनेर ममाथि अनेक आरोप थोपथ्र्याे समाजले । मसँग काम गर्ने अरू थुप्रै पुरुष कर्मचारी पनि हुन्थे । उनीहरूमाथि कहिल्यै कसैले आँैला उठाउँदैनथ्यो । ‘अरुण डेली’ मा मेरो बाइलाइनको समाचार आउँदा पत्रकारले नै टीका–टिप्पणी गरेको सुन्थेँ, ‘बिहान चार बजेसम्म संसद्मा बस्ने कस्ती महिला होली ?’ दिनहुँ मेरो विषयमा यस्तैखाले हल्ला हुन्थ्यो । कति दिनचाहिँ सहन सकिन्छ र ? मानसिक तनाव हुन थाल्यो । मैले सकिनँ । राजनीतिक बिटमा कामै गर्न छाडिदिएँ मैले । बिट परिवर्तन गरेर काम गरेँ ।

महिलाले राजनीतिक बिटमै काम गर्नुपर्छ भन्ने पनि छैन । गर्ने हो भने पनि पहिलेजस्तो गाह्रो छैन । राजनीति सबै नीतिको जडनीति हो । पत्रकार महिलाले राजनीतिचाहिँ बुझ्नुपर्छ । यसले अरू बिटका रिपोर्टिङ गर्न सघाउ पुर्याउँछ ।

Nirmala Sharma (Sancharika President) (2)

पत्रकार महिलामाथिको सोच

पत्रकारितामा महिलाको क्षमतालाई विश्वास गर्नेहरू पनि कम छन् । महिला भन्नेबित्तिकै ऊ कमजोर हुन्छे, आत्मविश्वास हुँदैन, राम्रो काम गर्न सक्दिनन् भन्ने मानसिकताले सिकार छ– पत्रकारिता क्षेत्र । महिलामा जति नै गुण भए पनि, महिला भएकै आधारमा उसलाई पत्याउँदैनन् । महिला कोही व्यक्तिको अन्तर्वार्ता लिन जाँदा ओहो महिला पनि भनेर हेप्न खोज्छन् । महिलाले पनि अन्तर्वार्ता लिन सक्छिन् र ? शंका गर्छन् । आफ्नो अन्तर्वार्ता दिनुभन्दा पहिले आफैँ पत्रकारको आधाघन्टे अन्तर्वार्ता लिन्छन् । अनि मात्र पत्याउँछन् । त्यही ठाउँमा पुरुष पत्रकार हुनुपर्छ ऊ जस्तोसुकै होस् यो जान्ने हो, बुझ्ने हो भन्छन् । जे–जे सोध्नु छ भन्दै सोध्न लगाउँछन् । यो अवस्था अहिले पनि छ ।

पत्रकारितामा आउने महिला

विशेषगरी कुनै न कुनै रूपमा सामाजिक कामसँग घुलमिल भएका महिलाले पत्रकारिता रोजेका हुन्छन् । त्यस्तै परिवारको राजनीतिक पृष्ठभूमि भएका महिलाको पनि पत्रकारितामा सहभागिता हुन्छ । सामाजिक काम गर्ने, अधिकारकर्मीका छोराछोरी पनि छन् । परिवारले कतै न कतै सामाजिक योगदान दिएका हुने, छोरीले केही गर्नुपर्छ भन्ने परिवारमा हुर्केका सोच छोरीहरू पत्रकारितामा आउँछन् ।

पत्रकारितामा महिला हिंसा

कुन क्षेत्रमा छैन र महिला हिंसा ? पत्रकारिता पनि अछुत भने छैन । यस विषयमा पत्रकार महिलाले अझै पनि खुलेर बोल्न, विरोध गर्न सकेको अवस्था छैन । अनौपचारिक भेट हुँदा पत्रकार महिला हिंसा हुन्छ भन्छन्, गुनासो गर्छन् । तर, सार्वजनिक रूपमा खुल्न चाहँदैनन् । सञ्चारिका समूह पत्रकार महिलाको हक–हितमा काम गर्ने संस्था हो । २० वर्ष भयो । हामीकहाँ त्यस्ता घटनाका उजुरीहरू कमैमात्र आउने गरेका छन् । वर्षमा एक÷दुई छिटपुट आउँछन् । जुन सार्वजनिक पनि भइसकेका छन् । जहाँसम्म मैले बुझेकी छु । निष्पक्ष न्याय पाइन्छ भन्ने विश्वास नभएकै कारण पत्रकार महिला आफूमाथि हुने हिंसाबारे खुलेर विरोध गर्दैनन् । कतिपय महिला कार्यालयभित्रै हुने हिंसाबारे बोल्दैनन् । जागिरबाट हात धुनुपर्ने डरले उनीहरूले यसो गरेजस्तो देखिन्छ, महिला हिंसासम्बन्धी काम गर्ने विभिन्न गैरसरकारी संस्थाले गरेको अनुसन्धानको रिपोर्टले देखाएको छ । पत्रकारितामा विशेषगरी महिलालाई डराउने, धम्क्याउनेखालका हिंसा हुन्छन् । जुन कार्यालयभित्रै सल्टाउने गरिएको छ ।

Nirmala Sharma (Sancharika President) (5)
पत्रकार महिलाका गुनासा

महिलाले पत्रकारितामा काम गर्ने अवसर नपाएको, कार्यक्षमतामा महिलालाई विश्वास नगरिएको गुनासा थुप्रै आउँछन् । परराष्ट्र र प्रशासनजस्ता उत्कृष्ट भनिएका समाचार बिटमा काम गर्न दिँदैनन् । झन् राजनीतिक बिटमा त पत्याउँदै पत्याउँदैनन् भन्नेखालका पनि गुनासो सुनिन्छ । सामाजिक र महिला बिटमा मात्रै पत्रकार महिलालाई अल्झाउन खोजिएको छ भन्छन् । कोही भन्छन्, ‘एकदमै न्यूनतम पारिश्रमिक टार्न खोजिन्छ हामीलाई ।’ अझ जिल्लाका कतिपय मिडियामा त विनापारिश्रमिक काम लगाउँछन् भन्ने गुनासा पनि गर्छन् । पहिले सिक्नुपर्छ भन्दै वर्षौंसम्म स्वयमसेवक रूपमा मात्रै काम लगाउने गरेका दुःखेसो पोख्छन् । काम सिकिसकेपछि भने उसको ठाउँमा अरूलाई काम गर्न राखिन्छ ।

पत्रकार महिलाका अवसर र चुनौती

पत्रकारिता जगत्मा पत्रकार महिलाका लागि अवसर थुप्रै छन् । तर, संघर्ष लामो गर्नुपर्ने हुन्छ । निरन्तर लागिरहनुपर्ने हुन्छ । नयाँ पुस्तामा चाँडो परिणाम खोजिहाल्ने प्रवृत्ति छ । महिलामा यस्तो समस्या व्यापक देखिएको छ । महिलाले आफूमा आत्मविश्वासी हुन जरुरी छ । म महिला हुँ, मैले लेखेको समाचार गुणस्तरीय हुँदैन भन्ने सोच बदिलिएर काम गर्ने हो भने पत्रकार महिलाका लागि अवसरका चाङैचाङ छन् । महिलाका लागि सुरक्षित र सहज वातावरण हुने हो भने जस्तासुकै चुनौती पनि पार गर्न सक्छन् महिलाले । समाचार लेखन, स्रोत जुटाउनेजस्ता कुरामा महिलाले आरक्षण खोज्नुहुँदैन । पुरुषसरह मेहनत र धैर्य राख्नैपर्छ । जुन आजका पत्रकार महिलाका चुनौती भएर तेर्सिएका छन् ।

एउटी पत्रकार महिलामात्र हुँदिनन् । कसैकी छोरी, कसैकी बुहारी, आमा, श्रीमती हुन्छिन् । त्यहीअनुसारका जिम्मेवारी निर्वाह गर्दै पत्रकारितालाई निखार्ने काम सहज भइदिँदैन । घर गए, घरको जिम्मेवारी राम्ररी सम्हालिन भन्ने आरोप खेप्नुपर्छ । अफिस गए खै महिलाले राम्रो काम गरेर देखाउन सकिनन् भन्छन् । यसरी महिलाले कतै पनि आफ्नो राम्रो प्रस्तुति दिन नसकिरहेको अवस्था छ । अहिलेको अवस्थामा महिला झनै पीडित छन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल