EXCLUSIVE : यस्तो बन्ने भयो बाबुरामको नयाँ शक्ति

जेठ ११  |   नेत्र पन्थी

EXCLUSIVE : यस्तो बन्ने भयो बाबुरामको नयाँ शक्ति

काठमाडौँ– नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो नेतृत्वमा घोषणा हुन लागेको पार्टीको राजनीतिक–वैचारिकदेखि संगठनात्मक रोडम्याप तयार पारेका छन् । आजबाट सुरु नयाँ शक्ति नेपाल केन्द्रीय सचिवालय बैठकमा उनको रोडम्यापमाथि छलफल सुरु भएको छ ।

स्रोतका अनुसार भट्टराईले नयाँ शक्ति नेपालको राजनीतिक प्रतिवेदनको प्रारम्भिक मस्यौदामाथि सचिवालय तहका नेताको सुझाव लिनेछन् । ‘नयाँ शक्तिका आधारतत्व’ नाम दिइएको प्रतिवेदन ४३ पृष्ठ रहेको बताइएको छ ।

naya shakti
आवश्यक छलफलपछि केन्द्रीय सचिवालयले यो प्रस्ताव परिमार्जनसहित पारित गर्नेछ । सचिवालय बैठकबाट पारित प्रस्तावलाई जेठ ३१ र ३२ मा हुने राष्ट्रिय भेलामा पेस गरिनेछ र त्यहाँबाट छलफल गरेर पारित गर्ने नयाँ शक्तिको तयारी छ ।

पार्टी घोषणा तथा भेलाबारे जानकारी दिन नयाँ शक्तिले गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय भेलाका लागि तीन प्रतिवेदन तयार भइरहेको जानकारी दिइएको थियो ।

एक नेताले बताएअनुसार यस्ता छन्, नयाँ शक्तिको प्रतिवेदनका केही हाइलाइट :

–नेपाली इतिहासमा पहिलोपटक संविधानसभामार्फत जारी नेपालको संविधानमा लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्याय, समावेशीता, समानुपातिकता र समाजवादउन्मुख जस राजनीतिक सिद्धान्त स्थापित भएका छन् ।

–नेपाली समाजको लोकतान्त्रिककरण र आधुनिकीकरणका दृष्टिले यो एउटा युगान्तकारी परिघटना हो ।

–कतिपय अपूर्णता र कमजोरी बाबजुद नयाँ संविधानलाई कुनै पनि निहुँमा न्यूनीकरण गर्न हुँदैन । यसो गर्नु नेपाली समाजको संघर्षशील परम्पराको अपमान हुन्छ ।

–नयाँ संविधानमा स्थापित उपलब्धि कलमको मसीले सजिलै लेखिएका निष्प्राण शब्द होइनन्, हामी सबैको रगत, पसिना र आँसुले लत्पतिएका भावनाका ढिक्काहरू हुन् ।

Naya-Shakti-party-document-front
–विभिन्न कालखण्डमा राणा शासनविरोधी जागरण अभियान, प्रजा परिषद्, काँग्रेस, एमाले, माओवादी र मधेसवादी–जनजाति दल नयाँ शक्तिका रूपमा उदाए । अहिले उनीहरू सबैको अस्तित्व समाप्त भएकाले नयाँ शक्ति खाँचो परेको हो ।

–नयाँ संविधान घोषणापछि पुराना अन्तरविरोध हल भएका छन् । यसकारण अबको राजनीतिक धु्रवीकरण विगतका आधारमा होइन, नयाँ अन्तरविरोधका आधारमा, भविष्यका सम्भावनाका आधारमा हुनुपर्छ ।

–विकास, समन्याय, सुशासन र समृद्धिको नयाँ एजेन्डामा, स्वाधीनता, समानुपातिक समावेशी/सहभागितामूलक लोकतन्त्रका लागि, आर्थिक पारदर्शिता र सदाचार प्रवद्र्धन गर्न नयाँ शक्ति चाहिएको हो ।

नयाँ शक्तिले लिएको विचार र दर्शनबारे ती नेताले रातोपाटीलाई सुनाएका हाइलाइट हुन्

–नयाँ शक्तिले द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण अपनाउँछ ।

–द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण आत्मसात् गर्दा तीन चीज बिर्सन हुँदैन । यसमा पहिलो–प्रकृति स्वयम्सिद्ध एक आदि तत्व हो । दोस्रो– कुनै पनि अस्तित्व, एकाइ वा परिघटनालाई दुवै कोण र बहुआयामबाट विश्लेषण गर्ने । तेस्रो– भौतिकशास्त्रको क्वान्टम संस्करण ।

–भौतिकवादको अन्धदौडमा लागेर पूर्वीय दर्शनका कैयौँ सकारात्मक पक्ष योग, ध्यान, विपश्यना, मनोक्रान्ति, दानपरोकार, मनोसाधना, चैतन्य, अनुसन्धान आदि छाडनुहुँदैन । योगपद्धतिमा आधारित चिन्तन परम्परा उपयोगी छ ।

–नयाँ शक्ति फरक, वैकल्पिक धारको, नयाँ वामलोकतान्त्रिक (लेफ्ट–डेमोक्र्याटिक) राजनीतिक दल निर्माणको अभियान हो ।

Naya-Shakti-party-document-front-2
–राजनीतिक प्रवृत्तिका हिसाबले नयाँ शक्ति वामलोकतान्त्रिक हुनेछ । सारतत्वमा ‘लेफ्ट’ हुनेछ । विधि, पद्धति र प्रक्रियामा डेमोक्र्याटिक हुनेछ ।

–कार्यदिशाका हिसाबले वामकेन्द्रवादी हुनेछ ।

–वामकेन्द्रवादी कार्यदिशाको मुख्य पक्ष निरन्तर प्रगति, सुधार, परिमार्जन, परिवर्तनको पक्षपोषण गर्नुहुनेछ ।

–वामकेन्द्रवाद सरल अर्थको मध्यमार्ग होइन ।

–नयाँ शक्ति नेपालले ‘शक्ति सन्तुलनमा’ आधारित भएर कार्यनीति र ‘गतिशील सन्तुलनमा’ आधारित भएर रणनीति तय गर्नेछ ।

–विकास र परिवर्तनकारी शक्तिको काम सुरुमा अल्पमतमा रहेको/रहने सत्य र न्यायको पक्षमा सचेत ढंगले जनमत निर्माण गर्नु र अल्पमतलाई बहुमतमा परिणत गरी परिवर्तनको नेतृत्व गर्नु हो । यो नै वाम केन्द्रवाद हो ।

–चिन्तन प्रणालीको क्षेत्रमा नौलो पद्धतिको सुरुवात गर्न चाहन्छ, विगत शताब्दीका अधिकांश भौतिकवादी दर्शन त्रिआंगिक थिए । दर्शनशास्त्र, समाजशास्त्र र अर्थशास्त्रलाई तीन संघटक अंग मानिन्थ्यो । यसमा नयाँ शक्तिले पंचागिंक सिद्धान्तको खाँचो देखाएको छ । राजनीतिशास्त्र र मनोबनोटशास्त्र थप्ने नयाँ शक्तिको प्रस्ताव छ ।

–नयाँ शक्तिले कुनै निश्चित मार्गनिर्देशक सिद्धान्तमा सीमित नहुने भनेको छ । नयाँ–नयाँ ढंगले सोच्न, अध्ययन र अन्वेषण गर्न, नयाँ मान्यता विकास गर्न प्रेरित गर्ने बताएको छ ।

–नयाँ शक्ति सोच, विचार, दर्शन र चिन्तनको एकात्मक÷एकमनावादमा आधारित राजनीतिक संगठन हुँदैन । यो विचारमा स्वतन्त्रता (फ्रिडम इन एक्सप्रेस) र कार्यको एकका (युनटी इन एक्सन) मा आधारि दल बन्नेछ ।

naya shakti dharna (5)
ती नेता राटोपाटीसँग भन्छन्–

–नयाँ शक्ति अभियान उद्देश्यमूलक कार्य हो । नेपालमा नयाँ, वैकल्पिक, पछिल्लो युगको चिन्ता, चासो र सरोकारलाई सम्बोधन गर्न सक्ने, आधुनिक सुशासित र समृद्धशाली नेपाल निर्माणमा योगदान गर्न सक्ने वैचारिक तथा राजनीतिक शक्ति निर्माण गर्नु यसको उद्देश्य हो । ‘थिंक ग्लोबल्ली, एक्ट लोकल्ली’ को समय हो ।

पाँच अन्तरविरोध र पाँच ‘स’

–नयाँ शक्तिले नेपाली समाजका पाँच अन्तरविरोध हल गर्ने उपायलाई पाँच ‘स’ का रूपमा सूत्रबद्ध गर्ने कोसिस गरेको छ ।

–नयाँ शक्तिका बुझाइमा पहिलो– पिछडिएको आर्थिक आधार र विकसित राजनीतिक उपरीसंरचनाबीचको अन्तरविरोध मानेको छ । समतामूलक समृद्धिले यसको हल गर्ने उसको बुझाइ छ ।

–दोस्रो– औपचारिक लोकतन्त्र र वास्तविक लोकतन्त्रबीचको अन्तरविरोध हो । यसलाई समानुपातिक/समावेशी/सहभागितामूलक लोकतन्त्रले हल गर्ने नयाँ शक्तिको बुझाइ रहेको ती नेताले रातोपाटीलाई बताए ।

–नयाँ शक्तिको नजरमा भूराजनीतिक जटिलता, भूमण्डलीकरण र राष्ट्रिय हितबीचको अन्तरविरोध तेस्रो अन्तरविरोध हो । यसलाई आफूहरूले अंगीकार गरको ‘स्वाधीनता/सार्वभौमसत्ता’ ले हल गर्ने उसको विश्वास देखिन्छ ।

–नयाँ शक्ति सभ्य, सुशासित राज्यको अपेक्षा र भ्रष्ट राज्ययन्त्र/संस्कृतिबीचको अन्तरविरोधलाई चौथो अन्तरविरोधका रूपमा लिएको छ । यसलाई आफूहरूले अंगीकार गरेको सुशासन÷सदाचार नीतिले हल गर्ने उसको विश्वास छ ।

–वैचारिक जड र बदलिएको वस्तुगत परिस्थिति/राजनीति चेतनाबीचको अन्तरविरोधलाई नयाँ शक्तिले पाँचाँै अन्तरविरोध मानेको छ । यसलाई समुन्नत समाजवादको नाराबाट हल गर्न सकिने उसको बुझाइ छ ।

–‘सम्भव छ, हाम्रै जीवनकालमा समृद्धि’ नयाँ शक्तिको नारा छ । १० वर्षभित्र अल्पविकसित, २० वर्षभित्र मध्यस्तरको आर्थिक स्थिति भएको देश र ३० वर्षमा विश्वकै अति विकसित देश बनाउन सकिने उसको दाबी छ ।

naya-sakti-white-cap-4-001
–प्रतिनिधिमूलक लोकतन्त्र संसद्वाद स्थापित भएको छ । यसलाई सहभागितामूलक लोकतन्त्र विकसित र रूपान्तरण गर्न खाँचो छ ।

–सहभागितामूलक लोकतन्त्रले विधिको शासन, बालिक मताधिकार, आवधी निर्वाचन, बहुमतको सरकार, अल्पमतको वैधानिक संरक्षण, प्रेस–विचार, अभिव्यक्ति र संगठनको स्वतन्त्रताजस्ता गुण छाड्दैन ।
– ती नेताले रातोपाटीसँग बताएअनुसार विशेष महत्वका मुद्दामा नागरिकले जनमत संग्रहबाट निर्णय लिन पाउनुपर्छ ।

–प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रणालीको साथमा सम्पूर्ण व्यवस्थापिका संसद्को निर्वाचन समानुपातिक विधिबाट गर्न राष्ट्रिय अभियान चलाउनुपर्छ ।

–विचार प्रवाहमा स्वतन्त्रता र कामकारबाहीमा एकरूपता अन्तरपार्टी लोकतन्त्रको आधार स्तम्भ हुन्छ ।

–नेपाली राष्ट्रियताको पहिलो आधार नेपालभित्रका बहुराष्ट्रिय वा बहुसमुदायबीचको आन्तरिक एकता नै हो । दोस्रो बाह्य राष्ट्रियताको पुर्नव्याख्या हो, जहाँ दुई ठूला अर्थतन्त्रबीचको गतिशील पुल बन्नुपर्छ । तेस्रो– स्वाधीनता र सार्वभौमसत्ता हो ।

–राजनीतिलाई भ्रष्टाचारमुक्त नयाँ शक्ति नेपालको पहिलो प्राथमिकता बन्नेछ ।

–प्रशासनलाई कर्मचारीतन्त्रबाट कार्यगत एकाइ प्रणालीमा ढाल्न सक्नुपर्छ ।

–अख्तियारको संगठन संचरना, सम्बन्धित कानुन र विधिको परिवर्तन सुशासनको एउटा पाटो हो ।

–वामलोकतन्त्र हुँदै समाजवादसम्म पुग्ने नयाँ शक्तिको लक्ष्य हो ।

–ती नेताले रातोपाटीसँग बताएअनुसार नयाँ शक्तिले समुन्नत समाजवादका १० आधार देखाएका छन् ।

–नयाँ शक्तिले संकुचित जातिवादी र क्षेत्रीयवादी राजनीतिमा विश्वास गर्दैन ।

–संगठन प्रणालीमा समानुपातिक समावेशी सिद्धान्त लिनुपर्छ । मूलतः तीन क्लस्टर आदीवासी जनजाति, तराईवासी–मधेसी र खस–आर्यको समानुपातिक सहभागिता नयाँ शक्तिमा हुन्छ । २५ प्रतिशत युवा चाहिन्छ ।

–नेपालमा पाँच प्रवृत्तिका राजनीतिक शक्ति छन् ।

naya shakti ghoshana (4)
–पुरानो सत्ताका विरासत बोकेको राप्रपाधारा । यो नेपाली राजनीतिकको मरणशील प्रवृत्ति हो ।

–उदार लोकतान्त्रिक प्रवृत्ति, काँग्रेसमा छ । लोकतन्त्रका नाममा यसले सीमित लोकतन्त्रको कुरा गर्छ ।

–तेस्रो धार कम्युनिस्टको हो । यो धारमा निकै ठूलो निराशा आउनेछ । सबै कम्युनिस्टलाई एउटै डालोमा हालिएको छ ।

–चौथो धार– मधेसी–जनजाति धार हो । यो असाध्यै टुटफुट र विभाजन छ । नेतृत्वपंक्तिमा सत्तालिप्सा, अवसरवाद र धोकाधडी छ । यो राष्ट्रिय विकल्प बनेर आउन सक्दैन ।

नयाँ शक्ति सबैभन्दा पछिल्लो धार हो । यसले विकास, समन्याय, समृद्धि, स्वाधीनता, समावेशीता, सहभागितामूलक लोकतन्त्र, सदाचार, मानवीय खुसीजस्ता कुरा अंगीकार गरेको छ ।

पार्टी निर्माणका १० आधार, दुई वर्षभित्र पाँच लाख अभियन्ता बनाउने लक्ष्य छ ।

–नयाँ संविधान बनेलगत्तै मधेस आन्दोलन र भारतीय नाकाबन्दी संयोगमात्रै हो । यीसँग नयाँ शक्ति गठनको कुनै साइनो छैन ।

–सरकारले राम्रो काम गरे राम्रो भन्नेछाँै । नराम्रो गरे नराम्रो भन्नेछौँ । तर, सरकारमा कुनै प्रस्ट नीति, संहिता र कार्यक्रम देखिँदैन ।

–‘मिलिजुली बसौँ, बाँडीचुँडी खाँऔँ’ भन्नेबाहेक सरकारको कुनै नीति छैन । सरकार जनजीवनको समस्या हल गर्न पूर्णतः असफल छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल