दृष्टिविहीनका अक्षर : ब्रेललिपिको पुस्तक नेपालमा कसरी बन्छ ?

दृष्टिविहीनका अक्षर : ब्रेललिपिको पुस्तक नेपालमा कसरी बन्छ ?

तीस वर्ष अगाडिदेखि सञ्चालनमा आएको नेपाल दृष्टिविहीन कल्याण संघले दृष्टिविहीनका लागि ब्रेललिपिमा पुस्तक छाप्दै आएको छ । १५ सयको हाराहारीमा रहेका दृष्टिविहीन विद्यार्थीले पढ्ने ब्रेललिपिको पुस्तक नेपालमा कसरी बन्छ ? ब्रेलप्रेसको अवस्था के छ भनेर संघका कार्यकारी निर्देशक ओम बम मल्लसँग रातोपाटीकर्मी आस्था केसीले खोतलखातल पारेकी छन् ।

braile book (4)
तीनपटक प्रिन्ट र रि–प्रुफिङ

सबैभन्दा पहिले नेपाली भाषाका अक्षरलाई ब्रेललिपिको सफ्टवेयरमा टाइप गरिन्छ । त्यसलाई प्रिन्ट गरेर प्रुफ हेर्ने काम हुन्छ । प्र्रुफ गरेको सामग्री फेरि कम्प्युटरमा मिलाउने काम गरिन्छ । पुनः रिप्रुफिङ गरिन्छ । यो प्रक्रिया तीनपटकसम्म दोहोरिन्छ र अन्त्यमा फाइनल प्रिन्टिङ गरिन्छ । प्रुफ रिडिङकै लागि एकजना कर्मचारी राखेका छौं । उनी आफैं पनि दृष्टिविहीन हुन् । उनले छामेर नै प्रुफरिडिङ गर्ने गर्छन् । सुन्ने बेला उही सुनिए पनि कहिलेकाहीं प्रुफ रिडिङ गर्ने मान्छेले गल्ती गरिदिन्छ । सकेसम्म यस्तो गल्ती नहोस् भनेर हामी सचेत छौं । अहिले हाम्रो ब्रेललिपि प्रेसमा सातजना कर्मचारीले काम गरिरहेका छन् । तीनजना लो भिजन भएका कर्मचारी छन् भने अरू सामान्य व्यक्ति छन् ।

braile book (1)
बे्रल लिपिका लागि चाहिने कागज नेपालमा अहिलेसम्म बनेको छैन । त्यसैले कागज भारतबाट ल्याउने गरेका छौं । एक पाना कागजको २ रुपैयाँ ८० पैसा पर्छ । यसलाई ब्रेल प्रिन्टिङ पेपर भनिन्छ । दृष्टिविहीनले हातले लेख्ने कागजचाहिँ छुट्टै किन्नुपर्छ । सामान्य ए फोर कागज त नेपालमा पाइँदैन भने यो ब्रेल लिपि लेख्ने कागज त झन् पाउन सकिन्न । त्यसैले महँगो हालेर भए पनि भारतबाटै लिने गरेका छौं ।

२० वर्ष पुरानो ब्रेलो मेसिन

२० वर्षअगाडि जापानी दूतावासले दिएको र अर्को नेदरल्यान्डको एक संस्थाले दिएको गरी दुई मेसिन छन् । ती मेसिनले अहिले जति काम गर्नुपर्ने हो, त्यति गर्न सक्दैनन् । समय–समयमा बिग्रेर दुःख हुने गरेको छ । मर्मत गरेर चलाइरहेका छौं । यी मेसिन आउनुअगाडि ब्रेल लिपिका पुस्तक भारतबाट छापेर ल्याउनुपथ्र्याे । हामीले टाइपिङ गरेर पठाएको महिनौंपछाडि मात्र बैंग्लोरको क्रिस्टोफर नामक संस्थाले छापेर नेपाल ल्याइदिने गथ्र्यो । यो आजभन्दा २५ वर्षअगाडिको कुरा हो ।

braile book (2)
ती मेसिन ब्रेलो नर्वेले बनाएको हो । ब्रेलो नर्वे भनेको नर्वेको दृष्टिविहीनका लागि काम गर्ने संस्था हो । अहिले यस्तो मेसिनलाई किन्ने हो भने ६० लाखजति लाग्छ । एकैपटक दुईतिर छाप्न सकिने हुनाले पनि होला यो मेसिन महँगो पर्छ । हुन त अहिले ‘ब्रेलो सिक्स हन्ड्रेड’ मेसिन बनिसकेको छ तर हामीले पुरानै ब्रान्डको ‘ब्रेलो टु हन्ड्रेड’ मेसिन नै प्रयोग गरिरहेका छौं । मेसिन अभाव भए पनि हामी आफैंले किन्न सक्ने अवस्था छैन । मेसिनका लागि जापानी दूतावासलाई पुनः अनुरोध गरेका छौं । नयाँ मेसिन आउन पनि सक्छ, नआउन पनि सक्छ । यसबारे अहिल्यै केही भन्न सकिने अवस्था छैन ।

नेपाल नेत्रहीन संघ नामक अर्को संस्थाले पनि ब्रेल लिपिका पुस्तक छाप्ने गरेको छ । नेपालमा दृष्टिविहीन विद्यार्थीका लागि हामी दुई संस्था मिलेरै ब्रेललिपिका पुस्तक छाप्ने गरेका छौं ।

लोडसेडिङका कारणले सबैभन्दा बढी समस्या हुने गरेको छ । त्यसपछि कागज उत्तिकै महँगो छ । एउटा पूर्ण आकारको पुस्तकलाई पुनः दोहोर्याएर ब्रेल लिपिमा टाइप गर्दा समय खेर जान्छ । त्यसैले सकेसम्म इ—कपीमा पाण्डुलिपि पाउन सकेमा टाइप गरिरहनुपर्ने झन्झट हुँदैन ।

braile book (3)
इ–कपीमा सामग्री पाउन सकेमा सफ्टवेयरबाट एकैपटकमा प्रिन्ट गर्न सकिन्छ तर विडम्बना जनक शिक्षा सामग्री केन्द्रले हामीलाई इ–कपी दिन अस्वीकार गर्दै आएको छ । जब कि अन्तर्राष्ट्रियस्तरमा दृष्टिविहीन विद्यार्थीका लागि ब्रेललिपिमा कुनै पनि पुस्तक छाप्न कपिराइटको अधिकार सुरक्षित गरिएको हुन्छ । यसमा नेपाल सरकारले अन्तर्राष्ट्रियस्तरमा हस्ताक्षर गरिसकेको त छ तर राष्ट्रियस्तरमा लागु गरेको छैन ।

मन्त्रीज्यू, दृष्टिविहीन विद्यार्थीले पुस्तक कहिले पाउँछन् ?

नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । सामान्यतयाः यतिबेला विद्यार्थीका हातहातमा पुस्तक पुगिसक्नुपर्ने हो । तर, विडम्बना दृष्टिविहीन विद्यार्थीको हातमा किताब पुग्नु त परको कुरा छाप्ने सुरसारै छैन । ब्रेललिपिका पुस्तक छाप्न शैक्षिक सत्र सुरु हुनुभन्दा एक महिनाअगाडि चैतमा मात्र आएर मन्त्रालयले टेन्डर आह्वान गर्ने गरेकाले विद्यार्थीको हातमा समयमै पुस्तक पुग्न नसकेको नेपाल दृष्टिविहीन कल्याण संघ कार्यकारी निर्देशक ओम बम मल्लले रातोपाटीलाई बताए ।
braile book (5)
उसो त हामीले दृष्टिविहीन बिद्यार्थीका कोर्सका किताब छाप्ने तयारी अवस्थामा राखेका छौं । मल्लले अगाडि भने, ‘तर टेन्डर आह्वान र त्यसपछि मन्त्रालयसँग गर्नुपर्ने सहमतिका कारण काम अगाडि बढाउने अनुमति आइसकेको छैन । जसले गर्दा यो वर्षको कोर्सको किताब छाप्ने काम असारतिर मात्र सुरु हुने देखिन्छ ।

हाम्रो पहिलो प्राथमिकतामा कोर्सको किताब पर्छ । त्यसबाहेक दृष्टिविहीनका लागि केही साहित्यिक पत्रिका पनि निकाल्ने गरेका छौं । ज्ञानचक्षु ब्रेल म्यागेजिन छाप्ने गरेका छौैं । अहिले ९१औं अंक पुगेको छ । ज्ञानचक्षु म्यागेजिन जम्मा १४० प्रति छापिन्छ । दृष्टिविहीनले पढ्ने स्कुललाई पठाउने गरेका छौं । अहिले नेपालका विभिन्न सहरमा १५ सय दृष्टिविहीन बिद्यार्थीले स्कुल र क्याम्पस तहमा अध्ययन गरिरहेका छन् ।
नयाँ शैक्षिक सत्र सुरु भइसक्दा समेत दृष्टिविहीन विद्यार्थीका हातहातमा एउटै पनि पुस्तक पुग्न सकेको छैन । शिक्षा मन्त्रालयको लापरबाहीका कारणले ढिलासुस्ती भएको हो । मन्त्रालयले यदि समयमै पुस्तक छाप्न टेन्डर आह्वान गर्छ भने हामीले समयमै पुस्तक दिन सकिन्थ्यो तर हरेक वर्ष मन्त्रालयले नै दृष्टिविहीन विद्यार्थीका लागि छापिने पुस्तकमा लापरबाही गर्दै आएको छ ।

वैशाखबाट सुरु हुने शैक्षिक सत्रलाई दृष्टिगत गरेर मंसिरमै पुस्तक छाप्न मन्त्रालयले टेन्डर आह्वान गर्ने हो भने वैशाखबाटै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन आफूहरूलाई समस्या नहुने निर्देशक मल्ल बताउँछन् । कम्तीमा तीन महिनाको समय दिएर वैशाखको पहिलो हप्ता किताब पाउनुपर्नेगरी सूचना प्रकाशन गरेमा विद्यार्थीको हातमा समयमै पुस्तक पर्ने उनको भनाइ छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल