अरु पहिरनभन्दा बुर्का नै राम्रो लाग्छ

अरु पहिरनभन्दा बुर्का नै राम्रो लाग्छ

सीमा खान मुस्लिम महिला कल्याण समाज अध्यक्ष हुन् । खान देश–विदेश बुर्का लगाएरै हिँड्छिन् । उनको बुर्का अनुभवबारे रातोपार्टीकर्मी फातिमा बानुले गरेको कुराकानी :

burka seema khan (2)मेरो बालपन हेदरावादमा बितेको हो । हामी सपरिवार उतै थियौँ । म स्कुल जाने उमेरकी भएँ । स्कुल आउँदा–जाँदा म देख्थेँ, महिलाहरू पूरै शरीर ढाकिने कालो भ्याङल्याङ परेको लुगा लगाएर बाटो हिँडिरहेका हुन्थे । उनीहरूका अनुहार पनि देखिन्थेन । त्यस्तो के हो, किन हो मैले बुझ्दिनथेँ । स्कुलबाट हामीलाई लिन घरसम्मै रिक्सा आउँथ्यो । हामी रिक्सामा चढेपछि रिक्सावालाले चारैतिर पर्दा लगाइदिन्थ्यो । हामीलाई पर्दा उघारेर बाहिर हेर्न दिइँदैनथ्यो । म अरू महिलाले झैँ बुर्का लगाउँदिनथेँ । गम्लङ्ग हिजाब पनि लगाउँदिनथेँ । घरमा पनि कसैले लगा भन्थेनन् ।

म एक्ली छोरी हुँ । मैले बुर्कासम्बन्धी बुझ्न पाइनँ । सलको सप्कोमात्रै लगाएर स्कुल जान्थेँ । बच्चाको चञ्चले मन हो, पर्दाबाहिरको दुनियाँ कस्तो होला भन्ने कौतूहल लागिरहन्थ्यो । रिक्सावालाले थाहा नपाउनेगरी हामी पर्दाबाट बाहिर चिहाएर हेथ्र्यौं । थाहा पाएको दिन रिक्सावालाले किन बाहिर हेरेको ? केटी मान्छे भएर बाहिर हेर्नुहुँदैन भनेर हप्काउँथे । हामीले नटेरेको दिन घरमा गएर भनिदिन्थे ती रिक्सावाले । अनि खाइन्थ्यो नराम्ररी बुवाको गाली । हाम्रो स्कुलमा इस्लामिकस्तरकै पढाइ हुन्थ्यो । मैले स्कुलबाटै थाहा पाएँ । केटीहरूले बुर्का हिजाब लगाएरमात्र बाहिर हिँड्नुपर्छ ।

हैदरावादमा मुस्लिमको छुट्टै समुदाय थियो । महिलालाई कडा नियममा बाँधेर राखिन्थ्यो । बुर्काविना कोही पनि महिला बाहिर निस्कँदैनथे । सबैले इस्लामिक हिसाबले जीवनयापन गर्नुपर्ने हुन्थ्यो । केटाकेटीको शैक्षिक थलो एउटै हुन्थेन । म कन्या स्कुलमा पढ्थेँ । त्यहाँ पढाउने महिला नै हुन्थे । स्कुलभित्र पुगेपछि भने नियम कडा हुन्थेन । स्कुलमा बुर्का अनिवार्य थिएन । घरको नियम कडा हुनेले बुर्का लगाएर आएका हुन्थेँ । ठूला कक्षाका दिदीहरूले बुर्का नै लगाएका हुन्थे । हामीलाई गणित पढाउनेचाहिँ पुरुष शिक्षक थिए । उहाँको कक्षामा हामीले सलको सप्कोले टाउको छोप्थ्यौं । त्यहाँ छोरीलाई घरबाहिर एक्लै जान छुट थिएन । घरबाट सिधा स्कुल अनि स्कुलबाट सिधा घर गर्नु नै हाम्रो दिनचर्या हुन्थ्यो । साथीहरूसँग बाहिर घुम्ने चलन थिएन । घरबाहिर जानुपरेमा घरका पुरुष सदस्य साथी लिएरमात्रै जान पाइन्थ्यो ।

हैदरावाद धार्मिक हिसाबभन्दा सामाजिक हिसाबले बढी चल्थ्यो । एउटा अचम्मको प्रतिस्पर्धा थियो । जुन घरको छोरीले कडा नियममा आफूलाई बाँध्छे त्यो घरलाई बढी सम्मानसाथ हेरिन्थ्यो । सामाजिक प्रतिष्ठा बढ्थ्यो । छोरीलाई बुर्का नलगाइदिए समाजभरि नानाथरीका कुरा काट्थे । समाजको डरका कारण बुवाआमाले छोरीलाई कर गरेर हिजाब या बुर्का लगाइदिन्थे । विशेषगरी महिनावारी भइसकेकी महिलाले अनिवार्य बुर्का लगाउनुपथ्र्याे । घरको चौखटभित्र रहुन्जेलसम्म भने बुर्का लगाउनुपर्दैनथ्यो । जसरी बस्दा पनि हुन्थ्यो । मैले पछि मात्र बुझेकी हुँ– इस्लाममा बुवा र दाजुभाइका अगाडि बुर्का लगाउनुपर्दैन ।

म कक्षा नौमा पढ्थेँ । हामी नेपाल फर्किने भयौँ । सपरिवार नेपाल आयौँ । हेदरावादमा बसुन्जेल मैले बुर्का लगाइनँ । इस्लामिक कुरामा मेरो बुवा असाध्यै कडा हुनुहुन्थ्यो । छोरीका लागि नेपालको खुला वातावरण बुवालाई मन परेन । म पढ्न चाहन्थेँ तर मलाई स्कुल जान दिनु भएन । अनेक बिन्ती गरे पनि बुवा मान्नु भएन । दाइहरू भने स्कुल जान्थे, म घरमै बस्थेँ । छोरीलाई स्कुल होइन सम्पन्न घर हेरेर बिहे गरी पठाइदिनुपर्छ भन्ने बुवाको सोच थियो । म ठूली हुँदै गएँ । मेरा लागि नियम बढ्दै गए । घरबाहिर निस्कने अनुमति थिएन । घरको झ्यालबाट बाहिर चिहाउनसमेत बन्देज थियो । घरमा फोन थियो तर मलाई फोन उठाउन दिन्थेनन् । कोही आयो भने ढोका खोल्न पनि पाइँदैनथ्यो । मेरो जीवन बन्दीजस्तै थियो । कथमकदाचित कहिले बुवाको इच्छाविपरीत काम भयो भने बुवा धेरै रिसाउनुहुन्थ्यो । म निकै डराउँथेँ । म शिक्षित हुन चाहन्थेँ, आत्मनिर्भर हुन चाहन्थेँ, स्वतन्त्र भएर उड्न चाहन्थेँ ।

काठमाडौँमा बुर्का सिष्टम कडा थिएन । हाम्रो घरमा पनि कसैले लगाउँदैनथे । लगाएर हिँडिहालेमा पनि बाटोमा कुकुरले लखेट्थ्यो । मेरा फुपूहरूलाई धेरैपटक यस्तो परेको थियो ।

burka seema khan (3)

बिहे गरे पनि म काठमाडौँमै गर्छु, श्रीमान्लाई मनाएर म पढ्छु भन्ने मैले सोचेकी थिएँ । २०४९ मा मेरो विवाह भयो । श्रीमान् कुरा बुझ्ने थिए । मलाई साथ दिए । पढाइ सुरु भयो । मैले प्राइभेट एसएलसी दिएँ । म घरबाहिर हिँड्न थालेँ । तर, म अनिवार्य रूपमा बुर्का लगाउँदिनथेँ । कहिलेकाहीँ मात्रै । टाउकोमा सल पनि बेर्दिनथेँ । मुस्लिम महिलाले बुर्का लगाउनुपर्छ भन्ने थाहा थियो तर किन हो भन्ने मैले राम्ररी बुझेकी थिइनँ । अरूले लगाउनुपर्छ भनेकै भरमा मात्र म बुर्का लगाउँथेँ ।

घरमा भने ससुरा, जेठाजु, देवरका अगाडि म टाउकोमा सल बेर्थें, कपाल छोप्थेँ । नयाँ–नयाँ बुहारीलाई कपाल छोपेर बस्नु अनिवार्य गरिन्छ । बुर्का सिष्टम ठाउँअनुसार फरक पर्छ । त्यतिखेर काठमाडौँका मुस्लिम महिला बुर्कामा हिँडेको यदाकदा मात्रै देखिन्थ्यो । काठमाडौँमा बुर्का सिष्टम कडा थिएन । हाम्रो घरमा पनि कसैले लगाउँदैनथे । लगाएर हिँडिहालेमा पनि बाटोमा कुकुरले लखेट्थ्यो । मेरा फुपूहरूलाई धेरैपटक यस्तो परेको थियो ।

कहिलेकाहीँ बुर्का लगाएर हिँड्दा बाटोमा मानिस अचम्म पर्थे । आँखा चौडा पारीपारी हेरिरहन्थे । कोही त अगाडि नै भनिदिन्थे, ‘अबुई के लगाएर हिँडेको होला ।’ त्यतिखेरका मानिसमा बुर्कासम्बन्धी जानकारी थिएन, ज्ञान थिएन । जानकारी हुने माध्यम पनि थिएन । काठमाडौँमा बुर्का लगाएर हिँडनु भनेको अचम्मको पोको बोकेर हिँडनुझैँ हुन्थ्यो । आफ्नै संगतका मानिसले पनि बुर्काबारे बुझेका हुन्थेनन् ।

बुर्का लगाएको दिन उनीहरू भन्थे, ‘विचरा तिमीमाथि कति अन्याय भइरहेको छ ।’ कोही सोध्थे, ‘आफूलाई ढाक्नैपर्ने, कालो नै लगाउनुपर्ने ?’ बुर्का लगाएर हिँड्नुको चिन्ता हुन्थेन । बुर्का लगाएपछि हामीमाथि तेर्सिने प्रश्नले दिक्क बनाउँथे । आज पनि अनेक प्रश्न सोध्छन्, हामीलाई सहानुभूतिको नजरले हेर्छन् । कोही भन्छन्, ‘जेठको गर्मीमा पनि कालो न कालो लुगाले पोल्दैन ?’ उनीहरूलाई थाहा नहोला, कालो रङमा पनि शीतल दिने कपडा पाइन्छन् । म त्यस्तैखालको जवाफ दिएर हिँड्छु । नेपालबाहिर ५० डिग्रीको गर्मीमा पनि महिला बुर्का लगाएर हिँड्छन् । समयअनुसार अनुकूलका कपडा बनेका छन् ।

०६२–६३ को जनआनदोलपछि मैले संस्था स्थापना गरेँ– मुस्लिम महिला कल्याण समाज । भर्खर–भर्खर काम सुरु भएको थियो । एउटा कार्यक्रमबाट मलाई निमन्त्रणा आयो । संविधानमा मुस्लिमका मुद्दा समेट्ने विषयक कार्यक्रम थियो । म साडी लगाएर कार्यक्रममा सहभागी हुन गएँ । टाउकोमा सल पनि थिएन । पुग्दा मैले देखेँ, सबै महिला बुर्का लगाएर आएका थिए । त्यहाँ देशका ठुल्ठूला मौलाना (धार्मिक गुरु) को पनि उपस्थिति थियो । कार्यक्रम त्यति भव्य होला भनेर मलाई त थाहा पनि थिएन । भित्र छिरौँ कि नछिरौँ भयो । जेसुकै होस् भनेर म भित्र पसेँ ।

मेरो बोल्ने पालो आयो । म स्टेजमा गएँ । तलाक (सम्बन्धविच्छेद) बारे म बोल्दै थिएँ । भीडबाट कुनै मौलानाले मलाई रोक्नुस् भन्दै औँला ठड्याए । म झसंग भएँ । खैलाबैला मच्चिन थाल्यो । कमसेकम भाषण गर्न आएपछि बुर्का त लगाएर आउनुपर्छ नि भन्दै मेरो आलोचना गर्न थाले । मिडियाले पनि मलाई घेर्न थाले । बुर्का नलगाई मौलानाबीचमा जानु मेरो गल्ती थियो । ग्लानि भयो । म त्यहाँबाट हिँडिहालँे । त्यो दिनदेखि मैले बुर्कासम्बन्धी अध्ययन गर्न थालेँ । अनिवार्य रूपमा मैले बुर्का लगाउन सुरु गरेँ । संस्थाको प्रतिनिधि भएर धार्मिक कार्यक्रममा जानुपथ्र्यो । संगत पनि मौलानासँगै हुन थाल्यो । नजरुल हुसैन, अलाउद्दिन, फैजान अहमदजस्ता देशका ठूला मौलानासँग रुबरु भइरहन्थ्यो । सामान्यदेखि ठुल्ठूला कार्यक्रममा पनि बुर्का लगाएर जान थालेँ । आज पनि म त्यही अभ्यासमा छु । देश–विदेश घुम्छु । बुर्कामै हुन्छु । अरू पहिरनभन्दा मलाई बुर्का नै राम्रो लाग्छ । सजिलो लाग्छ । अनुहारचाहिँ छोप्दिनँ । मैले राम्ररी बुझेँ इस्लाममा बुर्काको अर्थ ।

साधारणतया नेपालमा बुर्कालाई महिलाको बाधकका रूपमा हेरिन्छ । बुर्काले नै नेपाली महिलालाई पछाडि पारेको हो भनेर पनि व्याख्या गरिरहेको सुनिन्छ ।  बुर्कामा लुकाएर महिलालाई उसको अधिकारबाट वञ्चित गराउन खोजिएको हो भन्छन् । यो गलत हो ।

साधारणतया नेपालमा बुर्कालाई महिलाको बाधकका रूपमा हेरिन्छ । बुर्काले नै नेपाली महिलालाई पछाडि पारेको हो भनेर पनि व्याख्या गरिरहेको सुनिन्छ । यो गलत हो । बुर्कामा लुकाएर महिलालाई उसको अधिकारबाट वञ्चित गराउन खोजिएको हो भन्छन् । कोही भन्छन्, ‘बुर्काले महिलाको स्वतन्त्रतामा प्रतिबन्ध गरेको छ । बुर्काप्रति समाजको दृष्टिकोण मैले नियालिरहेकी छु । मुस्लिम समुदायलाई छोडेर हेर्ने हो भने ८० प्रतिशत मानिस उही सोचले ग्रसित छन् । विशेषगरी गैरमुस्लिम महिलाबाट यस्ता प्रश्न आउँछन् । सायद इस्लामसम्बन्धी ज्ञान कमीले होला । सबैका धारणा उस्तै छैनन् । समाजमा यस्ता बुद्धिजीवि पनि छन्, जसले बुर्कालाई राम्ररी बुझेका छन् । जसले इस्लाम धर्मबारे अध्ययन गरेका छन् तिनीहरूले बुर्का के हो किन हो बुझेका छन् । गलत भनेका छैनन् । त्यस्ता मानिसले ममाथि प्रश्न उठाउनेभन्दा पनि अझै बढी सम्मानजनक व्यवहार गर्छन् । जुन तहका मानिससँग म उठबस गर्छु, ती सबैले बुर्काबारे राम्ररी बुझेका छन् । मसँग प्रश्न गरेर उनीहरू प्रस्ट भइसकेका छन् । हिजोआज उनीहरू मसँग बुर्काबारे बहस गर्दैनन् ।

burka seema khan (1)
मेरो व्यक्तिगत धारणाको कुरा गर्ने हो भने बुर्का महिलाको बाधक कुनै पनि कोणबाट होइन । बुर्का भनेको एउटा धार्मिक पहिरनमात्रै हो । यसले महिलाको शरीर ढाक्छ । उसलाई आत्मविश्वास दिन्छ । आफू सुरक्षित छु भन्ने विश्वास दिलाउँछ । बुर्का महिला घरबाहिर निस्कने विकल्पमात्रै हो । इस्लाममा महिलालाई बुर्का लगाऊ भनेको छ तर बुर्का लगाउँदैमा उसलाई अरू अधिकारबाट वञ्चित गरिएको छैन । शिक्षा प्राप्त गर्न, रोकिएको छैन । काम गरेर आफ्नो खुट्टामा आफैँ उभिन रोक लगाइएको छैन । यदि कसैले मुस्लिम महिलालाई पर्दाको नाममा घरभित्रै थुन्छन् भने त्यो बुर्काको गलत व्याख्या हो । फेरि कुरानमा महिलाले बुर्का नै लगाउनुपर्छ, त्यो कालो रङको नै हुनुपर्छ भनेर पनि कतै लेखिएको छैन । फिलिपिन्स र मलेसियाका मुस्लिम सेतो रङका बुर्का लगाउँछन् ।

खुकुलो लुगा लगाऊ । शिरदेखि पाउसम्म आफूलाई छोप । आफूलाई पुरुषको आकर्षणको केन्द्र नबनाऊमात्र भनिएको छ । बुर्का लगाएर घरमै लुक्नुपर्छ त कतै पनि भनिएको छैन ।

त्यस्तै एकपटक म हज गर्न मक्का पुगेकी थिएँ । श्रीमान् बिरामी थिए । म औषधि लिन मेडिकल खोज्न थालेँ । म पुगेको मेडिकलमा आँखासमेत छोपेर बसेकी महिला थिइन् । डाक्टर रहिछिन् । मैले सोधिहालेँ, ‘कहाँ पढ्नुभएको नि ?’ जवाफ दिइन्, ‘इन्डिया गएर पढेकी ।’ फेरि सोधेँ, ‘बुर्का नै लगाएर ?’ ‘अँ बुर्कै लगाएर हुर्किएँ, पढँे र काम पनि गर्दै छु ।’

बुर्का लगाउने महिलाले शरीर त छोपे, अनुहार पनि कि छोपेका होलान् भनेर हामीलाई प्रश्न गर्न गरिन्छ । एउटा उदाहरण दिन्छु– केही वर्षअगाडि म हेदरावाद पुगेकी थिएँ । त्यहाँ आजात मुस्लिम युनिभर्सिटीमा मेरो प्रस्तुति थियो । युनिभर्सिटीभित्र सबै महिलाले बुर्का लगाएका थिए । आँखा मात्रै टिलपिल, टिलपिल भएका थिए । त्यो वातावरण देख्दा मैले सोचेँ, यति ठूलो युनिभर्सिटीमा त महिला बुर्का लगाएर आउँछन्, कति पछाडि रहेछन् मुस्लिम महिला । देख्दा उच्च शिक्षा प्राप्त गरेका ती महिला अझै पनि परम्परावादी सोचले ग्रसित रहेछन्झैँ मलाई लाग्यो । पछि मैले थाहा पाएँ ती महिला सबै पीएचडी डाक्टर रहेछन् । उनीहरूको प्रस्तुति पनि उस्तै थियो । गज्जबको । म आश्चर्यमा परेँ । बुर्काले अशिक्षा झल्काउँदैन ।

नेपालमा महिला अधिकारको क्षेत्रमा बुर्कालाई नकारात्मक हिसाबले बुझिन्छ । बुर्का लगाएका महिलालाई परम्परावादी र अविकसित भनेर उपमा दिइन्छ । पिछडिएका भनिन्छ । अझै पनि घुम्टोमै सीमित छन्, कहिले अगाडि बढ्लान् भनेर आलोचना गर्छन् । यी सबै सोच भ्रममात्रै हुन् ।

त्यस्तै एकपटक म हज गर्न मक्का पुगेकी थिएँ । श्रीमान् बिरामी थिए । म औषधि लिन मेडिकल खोज्न थालेँ । म पुगेको मेडिकलमा आँखासमेत छोपेर बसेकी महिला थिइन् । डाक्टर रहिछिन् । मैले सोधिहालेँ, ‘कहाँ पढ्नुभएको नि ?’ जवाफ दिइन्, ‘इन्डिया गएर पढेकी ।’ फेरि सोधेँ, ‘बुर्का नै लगाएर ?’ ‘अँ बुर्कै लगाएर हुर्किएँ, पढँे र काम पनि गर्दै छु ।’ जसले बुर्काको अर्थ राम्ररी बुझेका छन्, तिनीहरूले महिलालाई घरका चार भित्तामा सीमित राख्दैनन् । त्यस्ता परिवारका महिला शिक्षित छन् । देश विकास र सामाजिक उत्थानका लागि सक्रियसाथ लागेका छन् ।

यो पनि 

पाँच सय वर्ष पुरानो जामेमस्जिदमा एक दिन

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल