फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी : ‘दुई स्वीमिङ पुलजति मापसे गरियो होला’

-  |   नवीन सुब्बा, फिल्म निर्देशक

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी : ‘दुई स्वीमिङ पुलजति मापसे गरियो होला’

Nabin_Subbaफिल्म निर्देशक नवीन सुब्बाले आफ्नो क्षेत्रमा मौलिक पहिचान बनाएका छन् । हङकङमा हुर्केका सुब्बा किशोरावस्थामा काठमाडौँ बसेर मूलधारको पत्रकारिता गर्थे । फिल्म निर्देशनसँगै कला, संस्कृति र सामाजिक विषयमाथि आलोचनात्मक अध्ययन गर्दै आएका सुब्बाको जीवनशैलीका रोचक प्रसंगबारे रातोपाटीका लागि रमन पौडेलले गरेको कुराकानी :

मेरो खाना
सबै किसिमका खाना मन पर्छ मलाई । भरसक खानामा विविधता होस् भन्ने लाग्छ । मलाई पेरिसको मोमाक्तमा पाइने ह्याम पोटाटो सलाद, कोलोराडो रक्की माउन्टेनमा पाइने रेन डियरको स्टिक, हङकङको नाइट मार्केटको सिफुड, इटालीको पिज्जो सहरको तेलमा भुटेको आइसक्रिम, सिड्नीको फिस एन्ड चिप्स वा मुम्बईको बडा पाउ सम्झिरहन्छु । त्यहाँ पुग्दा दोहोर्याएर खान मन लागेको छ ।

नेपालमा झापाको भक्का, खुम्बुको जंगली पिडालुको नुडल्समा टिमुर हालेको सुप, मैथिल क्षेत्रमा बन्ने सागपातको पकौडा वा सुदूरपश्चिमको चामलको तेलरोटी पनि उत्तिकै मन पर्छ ।

नेपाली राजमार्गमा खुवाइने खाना मलाई मन पर्दैन । प्रत्येकचोटि खाइसकेपछि खान नपरोस् लाग्छ । तर, यात्राको बेला नखाइ धरै छैन । खानकै लागि भनेर रेष्टुरेन्ट जाने बानी छैन मेरो । कहिलेकाहीँ साथीभाइसँग भेटघाटका लागि रेष्टुरेन्ट जाँदा ठमेलको चिनियाँ रेष्टुरेन्ट वा दरबारमार्गको कोरियन रेष्टुरेन्ट रोजाइमा पर्छ ।

घर बसेको बेला कहिलेकाहीँ म आफैँ पनि खाना पकाउँछु । खाना पकाउने त्यति धेरै रुचि त छैन तर बाध्यतावश पकाउनुपर्ने हुन्छ । मैले पकाएको लिम्बू अन्डाकरी र निगुरो मीठो हुन्छ भन्छन् साथीहरू ।

मेरो पोसाक

कपडामा निश्चित रोजाइ छैन, प्रायःजसो जिन्स र सर्ट धेरै लगाउँछु । मौसमअनुसार गर्मीमा लिनेन वा कटन र जाडोमा उनीका कपडा रोजाइमा पर्छन् । गर्मीको बेला घाम छेक्न बेसबल क्याप लगाउने बानी छ ।
मेरा महिला मित्र, भाइबहिनी र आमा परिवारका सबै सदस्य विदेश बस्नुहुन्छ । त्यसैले मैले लगाउने कपडा आफूले किन्न पर्दैन, बरु आएको कपडा रङ मन नपर्दा वा साइज नमिल्दा साथीहरूलाइ बाँडिदिने गर्छु । मलाई कपडा छान्न पनि आउँदैन । विदेश हुँदा किन्ने कोसिस गर्छु तर खासै भेउ पाउँदिनँ ।

फेरि अचेल प्रायः कपडा कि त चीननिर्मित हुन्छन् कि त भारत, ब्रान्डमात्र विकसित देशको हुने हो । अमेरिका भ्रमणको सिलसिलामा हतारमा साथीहरूलाई केही कपडा छानेको आधी त नेपालनिर्मित परेछन्, त्यसैले पनि किनमेल मबाट सम्भव छैन जस्तो लाग्छ । कि त डिजाइनर लाइनका पसलमा किन्न पर्यो, जुन मेरो हैसियतले पुग्दैन र फजुल खर्चजस्तो पनि लाग्छ । मलाई उज्यालो रङका कपडा धेरै मन पर्छ । कपडाको ब्रान्डमा भने मलाई धेरै विश्वास छैन । यो त एउटा व्यापारिक टुल्समात्रै हो ।

मेरो फिटनेस

नियमित रूपमा एक घन्टा मर्निङवाक गर्छु । र, हरेक हप्ताको शनिवार हाइकिङ जाने बानी छ । मिल्ने साथीहरूसँग काठमाडौँवरिपरिका डाँडा हिँडेरै जान्छु । काठमाडौँका प्रायः डाँडा घुमिसकेको छु । यसरी घुम्दा आममानिससँग अन्तत्र्रिmया गर्ने अवसर पनि मिल्छ । साथै शारीरिक रूपमा फिटनेस पनि हुन्छ । तर, पछिल्लो एक महिनायता अलि व्यस्त भएर हाइकिङ जान पाएको छैन ।
मेरो अध्ययन

म प्रायःजसो फिक्सनभन्दा ननफिक्सन पढ्दोरहेछु । टोनी मरिसनदेखि झुम्पा लाहिरीसम्म, मुराकामीदेखि पामुकसम्मका ननफिक्सन पढेको छु । कामका कारण समाज र समय बुझ्न ननफिक्सन बढी पढ्नुपर्ने हुन्छ । कतिपय त जानकारीका लागि पनि पढ्नैपर्ने हुँदोरहेछ । पछिल्लो समय धार्मिक लेखन र मिथबारे अध्ययन गरिराखेको छु । फिल्म निर्देशक इलिया कजानको आफ्नो काममाथिको नोट हिजोआज पढिराखेको छु ।

मेरो क्षेत्रको पुस्तक सजिलै बजारमा नपाउने भएकाले संकलन पनि गर्ने बानी छ । घरमा तीन बुक र्याक पुस्तकले भरिएका छन् । मेरो संकलनमा २५ सयजति पुस्तक र झन्डै १५ सयजति फिल्मका डिभिडी छन् ।

अध्ययनको साथै लेखनमा रुचि छ मलाई । हालैमात्र फिल्म स्टडीका विद्यार्थीलाई पढाउन संसारको कथ्य संरचनामाथि लामो आर्टिकल लेखेँ । फिल्मकै विषयमा पुस्तक लेखनको पनि तयारी गरिराखेको छु । पुस्तक लेखकको विषयमा भने खास लेखक यही भन्ने छैन । मेरो पढाइ ननफिक्सन भएकाले विषयवस्तुका आधारमा लेखक मन पर्ने हुन्छ ।

– मेरो जीवनशैली अलि अराजक छ
–१५/२० वर्ष भयो टाइ लगाएको छैन
–०४६ पछि अहिलेसम्म मैले भोट हालेको छैन
–सुरुमै उसले एक हुक मेरो चिउाडोमा हिर्कायो, तारा देख्दै भुइँमा ढलेँ
–एक/दुईवटा स्वीमिङ पुलजति मापसे गरियो
–अलि बढी लागेपछि भ्रष्टाचारी नेताको घरको गेटमा गएर लात्ती बजारिन्थ्यो
–सकेसम्म असल मान्छे बन्ने प्रयास
–डोयलजस्ता छायांकार, जोनी डिप, इडजानीसँग काम गर्न पाए हुन्थ्यो

मेरो घुमफिर

घुमफिरमा मलाई धेरै रुचि छ । मेरो जीवनशैली नै राउटेको जस्तो छ । कहिले यहाँ हुन्छु । कहिले कता पुगेको हुन्छु । कामको सिलसिलामा पनि घुम्नैपर्ने हुन्छ । सुदूरपश्चिमबाहेक नेपालका लगभग सबै जिल्ला पुगेको छु ।

२० जति देश पुगेँ होला । घुम्नेक्रममा सामान्यतया सबै ठाउँ मन पर्छ मलाई । कुनै ठाउँ सुन्दर हुनका लागि त्यहाँको प्राकृतिक सुन्दरता मात्रैले सबै निर्धारण गर्दैन । हालै फ्रान्सको नर्मन्डीमा थिएँ । मोने र टर्नरजस्ता चित्रकारले त्यहाँको ल्यान्डस्केप चित्र कोरेर इन्प्रसनिस्ट चित्र आन्दोलन सुरु गरेका थिए । यसैले अनुमान गर्न सकिन्छ, त्यो ठाउँ कति सुन्दर छ भनेर । अर्कोतर्फ मरुभूमिको पनि आफ्नै किसिमको सुन्दरता हुन्छ । त्यसले पनि मलाई उत्तिकै आकर्षित गर्छ । नेपाल राम्रो हो भनेर आदर्शको भ्रममा म विश्वास गर्दिनँ । नेपालको आफ्नै सौन्दर्य छ भने अरू ठाउँको आफ्नै ।

मलाई भ्लाडिभोस्टकबाट रेल चढेर साइबेरिया पुग्ने, डालियनबाट ग्वाङजाउ हुँदै छेन्दुसम्म हिचहाइकिङ गर्ने मन छ । ल्याटिन अमेरिकाको एन्डिज पर्वतमा लङ ड्राइभ गर्ने र अफ्रिकाको सारंगेटीमा वन्यजन्तुको अवलोकन गर्ने रहर छ ।

मेरो फुर्सद

हाम्रो काम नै विकेन्डजस्तो हुन्छ । सुटिङ नै विकेन्ड मनाउन गएजस्तो हुन्छ । खासगरी शनिवार आफ्नो व्यक्तिगत उद्देश्यका लागि प्रयोग गर्न मन लाग्छ । फुर्सदको समय मित्रहरूसँग भेटघाट गरेर वा काठमाडौँ र पाटनका गल्ली घुमेर बिताउँछु ।

भाइको छोरी मसँग छ । ऊसँग समय बिताउन पनि मन पर्छ । उसले पढिरहेको किताब र सुनिरहेको नयाँ गीत वा हेरिरहेको फिल्मबारे गफ गरेर समय बिताउन रमाइलो लाग्छ ।

मेरो खेलकुद

मैले बाल्यकाल हङकङमा बिताएँ । त्यो समय हङकङमा ब्रुसलीको राम्रो प्रभाव थियो । त्यसैले पनि होला म कराते खेलमा संलग्ग भएँ । म करातेको राम्रै खेलाडी थिएँ । तर, पछिसम्म खेलिनँ ।

सानैमा बक्सिङ पनि सिकेको थिएँ । तर, बक्सिङको सिकाइ भने अत्यन्तै क्षणिक भयो । किनकि बक्सिङ सिक्नेक्रममा कुटाइ खाएँ । मभन्दा अलि सिनियर एकजना साथी थिए । अभ्यासक्रममा उसले स्पाइरिङ गर्न बोलायो । म पनि तयार भएँ । सुरुमै उसले एक हुक मेरो चिउँडोमा हिर्कायो । म तारा देख्दै भुइँमा ढलेँ । त्यसपछि यो मेरो काम होइन भनेर बक्सिङ कहिल्यै खेलिनँ । हेर्नका लागि त फुटबल र क्रिकेट पनि मन पर्छ । तर, त्यस्तो क्रेजी छैन । र, रेस्लिङचाहिँ मलाई मन पर्दैन । यो खेल नाटकजस्तो लाग्छ ।

मेरो ग्याजेट

मेरो साथमा अहिले दुई मोबाइल छन् । माइक्रो म्याक्स र आइफोन–५ । पछिल्लो एक वर्षयता यी दुई मोबाइल बोक्दै आएको छु । परिस्थिति र बाध्यताले गर्दा मोबाइल नयाँ लिनुपर्ने पनि हुन्छ । तर, बजारमा आएको नयाँ मोबाइल नभई हुँदैन भन्ने कहिल्यै लागेन । पढ्नका लागि आइप्याड छ, कामका लागि म्याकबुक ल्यापटप छ ।

ग्याजेट आवश्यकताअनुसार प्रयोग गर्ने वस्तु हो जस्तो लाग्छ । र, यसमा भएका अति आवश्यक एप्लिकेसन्समात्रै प्रयोग गर्छु । फोन, इमेल, म्यासेन्जर साथै बाहिरका साथीहरूसँग भाइबरमा कुरा गर्छु । मोबाइलमा गेम कहिल्यै खेल्दिनँ ।

मेरो टेलिभिजन

टेलिभिजन हेर्न खासै रुचि छैन । घरमा पुरानो एलजी कम्पनीको टीभी छ । कहिलेकाहीँ म टीभीमा समाचार र ट्राभल शो हेर्छु । सिरियल हेरेर बस्ने बानी छैन । केही महिनाअघि भाइले सोनीको फ्ल्याट टेलिभिजन पठाइदिएको छ । तर, खासै रुचि नभएकाले खोलेर जोडेको पनि छैन ।

मेरो चलचित्र

हरेक दिन एउटा फिल्म हेर्छु म । प्रायः फिल्म घरमै बसेर हेर्छु । कहिलेकाहीँ फिल्मकर्मीले उनीहरूको फिल्म हेर्न बोलाइहाले भने बाध्यतावश मात्रै हलमा जान्छु । कोहेन ब्रदर्सको ‘हेइल सिजर’ भन्ने फिल्म मैले हेरेको पछिल्लो फिल्म हो ।

सानैदेखि हेरेको भएर होला कङ्फु फिल्म हेर्दा रमाइलो लाग्छ । त्यस्ता फिल्मलाई ‘वु जिया’ भनिन्छ । मानिस उड्ने र कोरियोग्राफी गरेको फाइट भएका तिलस्मी कथा हुन्छ त्यस्ता फिल्ममा ।

यो पनि उमेरअनुसार रुचि फरक पर्दोरहेछ । कुनै बेला ज्याङ यिमु एकदमै मन पथ्र्यो । तर, अहिले तार्कोभस्की र बेला टार मन पर्ने फिल्म मेकर हुन् । फ्रान्समा बस्ने भियतनामी फिल्ममेकर त्राङ आङ हुङ, जर्मनी बस्ने टर्किस फिल्म मेकर फति अकिन र मेक्सिकोका कार्लोस रेगाडास जो मेरै समकालीन हुन्, उनीहरूको फिल्म पनि मन पर्छ ।

केही नयाँखालका फिल्म बनाउन पाए हुन्थ्योजस्तो लाग्छ । नेपालमात्रै नभएर विश्वलाई नै मौलिक लाग्ने फिल्म होस् भन्ने लाग्छ । आफ्नै क्षमता अभाव पनि होला, त्यस्तो काम गर्न सकेको छैन । तर, हामीकहाँ धेरै समस्या पनि छ । जस्तै क्रिस्टोफर डोयलजस्ता छायांकार, जोनी डिप वा इजाबेल इडजानीजस्तासँग काम गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । तर, नेपालमा त्यसरी उत्प्रेरित गर्ने प्रतिभा अभाव छ ।

मेरो रोग

मेरो स्वास्थ्यमा गम्भीर समस्या छैन । नियमित रूपमा चेकअप गरिराखेको छु । ब्लड प्रेसर, सुगर सन्तुलनमै छ अहिलेसम्म । कहिलेकाहीँ पायल्सले दुःख दिन्छ ।

मेरो जीवन त स्ट्रेसफुल छ । तर, त्यसलाई पनि ‘इन्जोय’ गर्न सकियो भने शारीरिक समस्या हुँदैनजस्तो लाग्छ । म हेल्थ कन्सियस छु । नियमित हिँडाइ, हाइकिङ र काम गराइका कारणले मेरो स्वास्थ्यमा समस्या आएको छैन जस्तो लाग्छ । शरीरमा अलि मोटोपन बढेको छ, त्यसलाई घटाउन कोसिस पनि गर्दै छु ।

मेरो राजनीति

२०४६ पछि अहिलेसम्म मैले भोट हालेको छैन । तर, देशमा निरंकुशता लादिँदा र नागरिकको अधिकार कुण्ठित हँुदा सडकमा आएको छु । ०४६ को प्रजातान्त्रिक आन्दोलन वा २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनमा कलाकर्मीको तर्फबाट आन्दोलनको अग्रपंक्तिमा थिएँ । कलाकर्मीले राजनीतिक चेतना राख्नुपर्छ । तर, कुनै दल वा व्यक्तिविशेषको समर्थनमा जानु राम्रो हुन्छ जस्तो लाग्दैन ।

त्यसो गर्दा सम्बन्धित व्यक्ति वा दलले कुनै गल्ती कमजोरी गर्यो भने त्यसको टिप्पणी वा आलोचना गर्ने नैतिक बल कमजोर हुन जान्छजस्तो लाग्छ । वैचारिक रूपमा हेर्ने हो भने समतामूलक समाज निर्माण हुनुपर्ने भन्ने लाग्छ । कलाकार भएकाले पनि स्वाभाविक रूपमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन्छु ।

मेरो मापसे

एक/दुईवटा स्वीमिङ पुल नै मापसे गरियो होला । नेपालको ब्रोडसिट पत्रकारिताको सुरुवातकालमा हामी केही मिल्ने साथी नियमितजस्तै पिउँथ्यौँ । पिएर न्युरोडबाट जुत्ता हातमा लिएर झमझम पानीमा रुझ्दै मैतिदेवीसम्म हिँड्नु वा पाटनदेखि बाटो ढाकेर सडकमा आकलझुक्कल आउने गाडी छेक्दै डेरासम्म पुग्नु र अलि–अलि बढी चढ्दा भ्रष्टाचारी नेताको घरको गेटमा गएर लात्ती बजारिन्थ्यो । यी उटपट्याङ काम थिए । त्यसबेला बिहानको तीन/चार बजेसम्म पनि पिएको छु । तर, अचेल धेरै नियन्त्रण गरेँ । पिइहालेँ भने पनि ह्वीस्की मेरो रोजाइमा पर्दैन ।

मेरो भूल

जानेरै केही गल्ती गरेजस्तो लाग्दैन मलाई । सकेसम्म असल मान्छे बन्ने प्रयास गरियो । बाल्यकालमा निकै उपद्रो गरियो । साथीसँग बारुलाको गोलोमा औँला घोच्ने प्रतिस्पर्धा गरेर अनुहार फुलाउने काम, स्कुल बस नआउँदा कुद्दाकुद्दैको थ्री टन (ट्रक) को डालीमा झुन्ड्याएको डोरीमा पिङ खेल्नु र आर्मी क्याम्पको खाली घरकोे सिसा फुटाउने प्रतिपस्र्धा गर्नु वा चाइनिजसँग ग्याङफाइट गर्नु अहिले सम्झँदा भूल हो जस्तो लाग्छ ।

एकपटक चिनियाँसँग ग्याङफाइट गर्नलाई कङ्फु अभ्यास गर्दा हातमा भएको लाठीको चुच्चोले लागेर साथीको ओठ दुईटुक्रा पारेर वा साथीले हानेको डाटले आफ्नो कान चिरिँदा इमर्जेन्सीमा हस्पिटल पुग्नु परेको थियो ।

मेरो सौन्दर्य

मान्छेले कसरी हेर्छन् के भन्लान् भनेर म आफ्नो सौन्दर्यको ख्याल गर्दिनँ । अरू मानिस बिहेमा सुट लगाएर जान्छन् । म सुट लगाएर जान्न । मेरो जीवनशैली अराजक छ । कसैले नियममा बस्नुपर्छ भन्योे भने किन मान्ने मैले भन्नेजस्तो लाग्छ । मानिसले टाइलाई पनि सोसल फङ्सनको महत्वपूर्ण चीज बनाइसके । १५/२० वर्ष भयो मैले टाइ लगाएको छैन ।

कहिलेकाहीँ कपालचाहिँ पाल्छु र कहिले छोटो पनि बनाउँछु । यसमा राम्रो देखिन वा आकर्षक बन्न कपाल पालेको होइन । तर, कपालमा तेल वा जेल पनि लगाउने बानी छैन । मलाई सन एलर्जी छ । त्यसैले सन स्क्रिन लगाउँछु र कहिलेकाहीँ पार्टीमा जानु पर्दा पर्फ्युम लगाउँछु । अहिले डिओरको सेभाउज भन्ने पफर््युम प्रयोग गर्छु ।

मेरो सपना

पहिले धेरै गर्नुपर्छ जस्तो लाग्थ्यो । अहिले त्यस्तो लाग्दैन । यो कुरा उमेरले पनि ल्याउँदोरहेछ । फिल्म क्षेत्रमा उपल्लो उपलब्धि हासिल गर्नुपर्छ जस्तो लाग्थ्यो । अचेल अनुभवले गर्दा होला त्यस्तो होइन भन्ने लाग्छ । फिल्म भनेको आफ्नो आत्मसन्तुष्टिका लागि बनाउने चीज रहेछ । मैले जे गरिराखेको छु, त्यो कुराले समाजमा परिवर्तन नै ल्याउँछ भन्ने भ्रम पनि बाँकी छैन । नेपालमा त्यत्रो परिवर्तन गर्छु भन्नेको हालत त यस्तो छ भने हामी बबुराको त के कुरा !
पहिले लाग्थ्यो– ओस्कार वा क्यान्स किन नजित्ने ? अहिले त्यस्तो लाग्दैन । मैले आफ्नो काम गरिराख्दा अभिव्यक्त गर्न खोजेको चीजमा सफल भएँ कि भइनँ भन्ने नै मुख्य कुरा हुन्छ मेरा लागि । आफूले व्यक्त गर्न खोजेको कुरामा सफल भइयो भने त्यसबाट मिल्ने सन्तुष्टिभन्दा ठूलो पुरस्कार हुनै सक्दैन भन्ने बोध भएको छ । ओस्कारमै जानुपर्छ भन्ने पनि लाग्दैन । भलै हिँड्नेक्रममा पुगिएला पनि । तर, त्यसकै लागि फिल्म बनाउनुपर्छ भन्ने लाग्दैन ।

यी छुटे कि !

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल