बादलको राजनीति यात्रा : ‘आफ्नै घर फर्की आएँ’

जेठ ५  |   नेत्र पन्थी

बादलको राजनीति यात्रा : ‘आफ्नै घर फर्की आएँ’

Badal-Front
सीमाना चलचित्रमा राजेश हमालले ‘आफ्नै गाउँ फर्की आएँ’ बोलको गीतमा नृत्य गरेका छन् । यो फिल्मी गीत, अहिले रामबहादुर थापा बादलको जीवनसँग मेल खान गएको छ । पेरिसडाँडालाई ‘बाई–बाई’ गरेर निस्केका बादल चार बर्षपछि फेरि पेरिसडाँडा फर्केका छन्, बुद्धनगरलाई ‘बाई–बाई’ भनेका छन् । औपचारिक रुपमा जेठ ६ गते उनी पेरिसडाँडाका नेता हुुनेछन् ।

हुन् त बुद्धनगर र पेरिसडाँडाबीचको दूरी त्यति लामो छैन, केही मिनेटको मात्र हो । तर, बादललाई बुद्धनगरबाट पेरिसडाँडा पुग्न चार बर्ष लाग्यो । आफ्नो राजनीति जीवनमा बादलले प्रचण्डसँग ‘लभ, हेट, डिभोर्स र पुनर्मिलन’ बाटो तय गरे । यहीँक्रममा उनी बुद्धनगरबाट पेरिसडाँडा पुगे । बानेश्वरबाट ओरालो लागेर बुद्धनगर पसेका बादल तीनकुनेबाट उकालो चढेर पेरिसडाँडा फर्किए ।

०६९ असार ५ मा प्रचण्डसँग डिभोर्स गर्दै मोहन वैद्य किरणको नेतृत्वमा बादल बुद्धनगरतिर लागेका थिए । बुद्धनगरमा पहिला थियो, नेकपा–माअ‍ोवादीको हेडक्वाटर र अहिले छ परिवर्तित नाम नेकपा क्रान्तिकारी माओवादीको हेडक्वाटर । बादलले आफुसहित नेकपा क्रान्तिकारी माओवादीका बहुमत केन्द्रीय तथा तल्लातहका कमिटिका सदस्य लिएर पेरिसडाँडा फर्केका छन् ।

प्रचण्डले लड्डु खुवाएर बादललाई स्वागत गरिसकेका छन् । पहिला विप्लव र अहिले बादलले आफुलाई ‘बाई–बाई’ गरेकोमा बुद्धनगरमा वैद्यचाहिँ निकै तनावमा छन् । बादलमाथि मन्त्रीपथमा लागेको आरोप लगाएका छन् । ‘हाम्रो पार्टीले यस गुटलाई नवसंशोधनवादपरस्त पुच्छर प्रवृत्तिमा आधारित अवसरवादी गुटका रूपमा लिएको छ ।’ बादलको कदमवारे वैद्यको भनाई छ ।

जतिबेला वैद्य र बादलले प्रचण्डलाई ‘बाई–बाई’ गर्ने निर्णय लिएका थिए, त्यतिबेला प्रचण्ड देशको सवैभन्दा ठूलो पार्टीको नेता थिए । संविधान निर्माण र शान्ति प्रक्रियामा प्रचण्डले बाटो बिराएको वैद्य र बादलको बुझाई थियो । यही बुझाई डिभोर्सको तहमा पुग्यो । डिभोर्सपछि प्रचण्ड तेस्रो पार्टीमा झरे । चुनाव वहिस्कार गरेका वैद्यलाई राजनीति फाइदा हुन सकेन । बरु, संगठन कमजोर बन्दै गयो । यहीबाट दुवैलाई एकताको खाँचो महसुस भयो ।

Prachanda badal laddu

जव बौद्धमा राष्ट्रिय कार्यकर्ता भेला बोलाइयो, सवैको नजर बादलमाथि थियो । प्रचण्डलाई टक्कर दिने नेताको रुपमा उनको छवि प्रचार गरियो । पार्टीमा उनी महासचिव भए । तर, चार बर्ष राष्ट्रिय राजनीतिमा उनी ओझेलमा परे । न सडकमा उनी अग्रपंक्तिमा देखिए, न सदनमै रहे । दोस्रो संविधानसभा बहिस्कारको कार्यनीति ‘आत्मघाती’ नै बन्यो । प्रचण्डलाई ‘देखाईदिने’ बाहेक यो कार्यनीतिको कुनै औचित्य देखिएन ।

जनयुद्धको त्यो रापतापबाट राजनीतिमा आफ्नो हैसियत बनाएका बादलका लागि वैद्य माओवादीमा रहँदाका चार बर्ष न व्यक्तिगत रुपमा न राजनीति रुपमा नै फलदायी बने । उनी संगठन विस्तारमा लागेनन् । सडक आन्दोलनको अगुवाई गर्न कतै गएनन् । बरु, बुद्धनगर हेडक्वाटरमा १० देखि ५ बजेसम्म रुटिङमा चले ।

प्रचण्डसँग डिभोर्स गरेर हिड्दा क्रान्ति गर्ने सपना थिए । जनविद्रोहको कार्यदिशा थियो । तर, चार बर्षमा यो कोर्समा कहीँकतै पनि प्रगति भएन । बरु, वैद्य र बादलसहितका नेतालाइ संकेत गर्दै विप्लवले ‘बुढाले क्रान्ति गर्न सक्दैनन्’ भनेर आफ्नो बाटो रोजे । विप्लवको यो कदमले वैद्य माओवादीभित्र थप निराशा र पलायन बढायो । यो कुरा बादलले बुझे र थाले एकताको कोर्स । बादल वैद्यसहितको एकताको पक्षमा थिए । अन्तिमसम्म प्रयास पनि गरे । तर, राजनीतिक–वैचारिक कार्यदिशा नमिलेसम्म एकतामा जान नसकिने वैद्यको लाइन आयो । बादल महाधिवेशनबाट यसलाई अन्तिम रुप दिने र अहिले संक्रमणकालीन कार्यदिशाको जगमा पार्टी एकताको पक्षमा थिए ।

यही मतभेदले वैद्य र बादलबीच डिभोर्स भयो भने प्रचण्ड र बादलवीच पुनर्मिलन । हुन् त फाट्टफुट्ट वैद्य माओवादीका नेता कार्यकर्ता यस अघि पनि फेरिसडाँडा फर्केका थिए । तर, बादलको कमान्डमा फेरिसडाँडा फर्कदा यसको राजनीतिक महत्व भयो, संगठनात्मक महत्व भयो र यहीस्तरको चर्चा र परिचर्चा पनि । नारायणकाजीदेखि लक्की शेर्पासम्मलाई नेता मानेका पेरिसडाँडामा अरु नेता–कार्यकर्ताले पूर्वसहकर्मीलाई घर ल्याउँदा खुसी नै माने ।

चितवनको अध्ययन मण्डलबाट सुरु भएको सम्बन्धलाई उनीहरूले भीमसेननगरदेखि रामपुर क्याम्पस र कर्णालीको किनारदेखि रुकुम–रोल्पासम्म पु¥याएका थिए । तर, धोविघाट हुँदै अगाडि बढदा सम्बन्ध दुर्घटानमा प¥यो र आ–आफ्नो बाटो हिडनुपर्ने भयो । घुम्तीहरु पार गर्दै फेरि एउटै ठाँउमा पुगिन्छ कि भनेर आशा पनि कायम राखेका थिए छन् । संवाद पनि गरेका थिए । टुटेको आत्मीय सम्बन्धलाई जोडन चाहेका थिए । यसका लागि ‘रसायन’ खोजेका थिए । अहिले भेटाए ।

mohan-baidhya-badal
भारतीय लाहुरे कर्णबहादुर थापा र नन्दकुमारी थापाका छोरा बादल इन्जिनियर पढ्न तात्कालीन सोभियत युनियन गएका थिए । नेपालबाट आइएस्सीएजी गरेर रूस गएका थिए बादल । तर, नेपालमा जनवादी क्रान्ति सपना उनेर बीचमै अध्ययन छाडेर नेपाल आए । ०३७ देखि राजनीतिमा लागेका बादलले ०६३ सम्म भूमिगत राजनीतिक जीवन बिताए ।

संविधानसभा–१ को चुनावपछि प्रचण्ड प्रधानमन्त्री र बादल रक्षामन्त्री बनेका थिए । अव एकीकृत माओवादीको रक्षामा लाग्ने दायित्व बोकेर बादल पेरिसडाँडा फर्केका छन् ।

प्रचण्ड र बादलवीचको डिभोर्स अगाडिसम्म निकै घनिष्ठता थियो । कहिलेकाही देखिने आशकांबाहेक उनीहरुवीचको आत्मीयता लोभलाग्दो थियो । प्रचण्ड–बादलबीच आत्मीय सम्बन्ध जतिवेला शुरु भयो त्यसबेला नेपालीे कम्युनिस्ट आन्दोलन विभिन्न गुट, उपगुट र ‘संशोधनवाद’ को समस्या थियो । त्यसका विरुद्ध लड्नका लागि माक्र्सवादको गहिरो अध्ययन गर्न भन्दै चितवनमा अध्ययन समूह बन्यो ०३१ मा ।

त्यो अध्ययन समूहमा उस्तै–उस्तै उमेरका प्रचण्ड, बादल, मित्रराज दवाडी, खेम भण्डारी र पुष्प भुत्र्यालजस्ता युवाहरू थिए । यहीबाट प्रचण्ड–बादलसँगसँगै राजनीतिमा सक्रिय हुन थाले । त्यहाँ उनीहरूले नारायणीको तिरमा गएर माक्र्सवादलाई गम्भीर ढंगले अध्ययन गर्ने प्रतिबद्धता र प्रतिज्ञा गरेका थिए । उनीहरू पार्टीमा मोहनविक्रम सिंहको एकलौटी तोड्न यस्तो अध्ययन गरिरहेका थिए । हप्ताहप्ता दिनमा जसले जे अध्ययन गरेको छ, त्यो विषयमा सबैलाई बताउनुपर्ने, अध्ययन गरेकोमा प्रश्न उत्तर हुने, छलफल हुने र अध्ययनलाई तिखार्ने पद्धति बनाएका थिए । यो तहबाट शुरु भएको उनीहरुको राजनीतिक सम्बन्ध ०६९ असारमा तोडिएको थियो । तर, परिस्थितिले उनीहरुलाई फेरि जोडेको छ ।

प्रचण्ड–बादल कुनै बेला आफुलाई चिनियाँ सांस्कृतिक क्रान्तिका पक्षपाति ठान्थे । कुनै वेला प्रचण्ड–बादलले माक्र्स र एंगेल्सजस्तो सम्बन्ध बनाउन खोजेका थिए । तर, यस्तो वेला पनि आयो, केन्द्रीय समिति बैठकमै बादलले आत्मालोचना गर्नुप¥यो । सम्बन्धकै विषयलाई लिएर प्रचण्ड–बादल रुनु पनि प¥यो ।

उनीहरु दुवै विज्ञान विषय पढेका नेता हुन् । एउटै विषय पढेका यी दुई नेता एउटै उद्देश्य राखेर राजनीतिमा पनि होमिएका हुन् । त्यो उद्देश्य हो, ‘नेपालमा नौलो जनवादी क्रान्ति सम्पन्न गर्ने ।’ तर, उदेश्य प्राप्तीपूर्व नै मतभेद देखिएपछि डिभोर्स गरे । फेरि फुटेर होइन, जुटेर केही गर्न सकिन्छ भन्ने सोचे र पुनर्मिलन गरे ।

०२८ मै कम्युनिस्ट पार्टीको सदस्यता लिएका प्रचण्ड र ०३७ देखि पार्टी सदस्यता लिएर पूर्णकालीन भएका बादलबीच घनिष्ट सम्बन्ध थियो । मिठो सम्बन्ध तितो भयो । तर, मिल्दा लड्डू खाएर सम्बन्धलाइ गुलियो बनाउनुपर्यो । प्रचण्डले आफुहरुसँगको सहकार्यमा विश्वास नगरेको भन्दै ०६७ तिर बादल एक पटक निकै रोएका थिए ।

mohan baidhya protest indian embassy (11)
पार्टी विभाजन पूर्व पछिल्लोपटक उनीहरूको सम्बन्ध सेना समायोजनसम्बन्धी निर्णयले विगारेको थियो । जब बाबुराम प्रधानमन्त्री भएलगत्तै लडाकुका शिविरमा रहेका हतियार राखिएका कन्टेनर बुझाउने निर्णय भयो, त्यसप्रति बादलले कडा आपत्ति जनाए । घोबीघाट मोर्चापछि सैन्य आयोगका प्रमुख बनेका बादललाई सेनासम्बन्धी महत्वूपर्ण विषयमा निर्णय गर्दासमेत जानकारी दिएनन् प्रचण्डले । यही नै डिभोर्सको टर्निङ पोइन्ट थियो । राजनीतिमा असम्भव भन्ने केही हुँदैन भन्ने कुरा देखाए । यसबेला बादललले ‘पार्टी नेतृत्व दक्षिणपन्थी बिसर्जनवादमा फसेको’ आरोप लगाएका थिए । तर, इतिहासका ती घटनाक्रमलाई समीक्षा गर्ने बुँदामा राखेर प्रचण्ड र बादलले पुनर्मिलन गरे । घोविघाटमा आफु विरुद्ध मोर्चा कसेको बादलको कमद प्रचण्डलाई मन परेको थिएन ।

मगर जातिबाट आएका बादल र ब्राह्मण जातिका प्रचण्डबीचको झगडा डिभोर्समा पुगेपनि उनीहरुकै महसुसपछि पुनर्मिलन हुन सम्भव भयो । नारायणी नदीका दुई किनारजस्तै बनेका उनीहरु अहिले भने मिल्न सम्भव भयो । जनयुद्धकालमा पनि उनीहरुवीच बेला बेला खटपट हुन्थ्यो । श्रीमतिहरु सम्बन्ध मिलाउन र भत्काउन भूमिका खेल्थे ।

एक पटक बादललाई ‘लिनप्याओवाद प्रवृत्ति’ देखा परेको आरोप पनि लगाइयो । मुल नेतृत्वलाई सिद्धाउने प्रवृति मानिन्छ कम्युनिष्ट विचारधारमा । आरोप मात्र होइन, बादलले कारवाही पनि भोगे तर, आन्दोलनबाट पलाएन भएनन् ।

कुनैवेला उनीहरूबीच सम्बन्ध यति आत्मीय थियो कि बादलले चुनावाङमा भनेका थिए ‘म उचाइ वा शिखर होइन, म शिखर हुन चाहन्नँ र मेरो त्यो विशेषता पनि होइन । म त आधार हो कमरेड, म एउटा जग हो । उचाइलाई कायम राख्न म जग मजबुत हुनुपर्छ । जग मजबुत भएन भने उचाइ रहँदैन, त्यो गल्र्यामगुर्लुम ट्विनटावर जसरी ढल्छ, उचाइ धेरै भयो भने जग पनि भासिन्छ भन्ने हामी मूल्यांकन गथ्र्यौं ।’

र भयो पनि यस्तै । प्रचण्ड–बैद्य, प्रचण्ड–बादल, प्रचण्ड–बाबुराम सम्बन्ध विच्छेदले माओवादी ‘टावर’ को जग भत्काईदियो । भूकम्पले भत्काएजस्तो भत्केको पार्टी बनाउन प्रचण्ड कस्सिएर लागेका थिए । यहीबेलामा उनले बादललाई जगका रुपमा पाएका छन् । पार्टी बन्छ कि बन्दैन त्यो भने भविष्यको विषय हो ।

सिंगो पार्टी आर्थिक मामलामा बदनाम हुँदा पनि बादलले आफ्नो छवि बचाए । यो पेरिसडाँडाका लागि सम्पती होला । भावी चुनावमा प्रधानमन्त्रीको उम्मेदवार बनाउन सकिएला । जनजाती समूदायको त्यो तहको नेता अहिले नै अन्य पार्टीमा देखिदैनन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल