सुशीलकै बाटोमा देउवा

सुशीलकै बाटोमा देउवा

काठमाडौँ – १३औँ महाधिवेशनअगाडिसम्म कांग्रेसमा नेता शेरबहादुर देउवाले सधैँ भन्ने गर्थे, ‘सभापतिले पार्टीलाई विधि र विधानअनुरूप चलाएनन् । पार्टीमा संस्थागत रूपमा निर्णय गरिएन ।’ २० देखि २३ फागुनसम्म चलेको कांग्रेसको १३आँै महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएका छन् । अहिले देउवालाई अरूले गर्न सकेन भन्दै पन्छने होइन, आफैँले विधानअनुरूप संस्थागत रूपमा पार्टी निर्णय गरेर देखाउनुपर्ने भएको छ । सधैँ अर्कालाई काम गर्न सकेन भन्दै हिँडेका देउवालाई आफू नेतृत्वमा पुगेपछि सबैको चित्त बुझाएर संस्थागत निर्णय गर्न ‘फलामको चिउरा’ चपाएजस्तै भएको छ ।

sher bahadur
१३औँ महाधिवेशनमा आफ्नो चुनावी नारा नै ‘पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्ने, कार्यकर्ताको मर्म र भावनाअनुरूप अघि बढ्ने’ बनाएका देउवा सभापतिमा निर्वाचित भएपछि भने आफ्ना प्रतिबद्धता पूरा गर्न लागिपरेका छैनन् । सभापति भएको दुई महिनाभित्र पार्टी विधानमा उल्लेख भएबमोजिमको काम गर्न देउवा चुकेका छन् । कांग्रेसको विधानमा निर्वाचन सम्पन्न भएको दुई महिनाभित्र केन्द्रीय कार्यसमिति, केन्द्रका विभाग, आयोग र समितिलाई पूर्णता दिनुपर्ने उल्लेख छ । तर, देउवाले ती कुनै पनि काम पूरा गर्नु त परै जाओस्, प्रक्रियासमेत सुरु गरेका छैनन् । देउवा २४ फागुनमा दोस्रो चरणको निर्वाचनमा नेता रामचन्द्र पौडेललाई हराउँदै सभापतिमा निर्वाचित भएका थिए । उनी सभापति भएपछि कांग्रेसको पहिलो बैठक ४ चैतमा बसेको थियो । पहिलो बैठक बसेको समयबाट समयको गणना भए पनि दुई महिना पुगिसकेको छ । तर, गर्नुपर्ने काम कुनै पनि पूरा भएका छैनन् ।

पार्टी विधानको धारा ४९ को उपधारा १९ मा महाधिवेशन सम्पन्न भएकोे दुई महिनाभित्र केन्द्रीय समितिसहित सबै तहका समिति, विभाग र आयोग गठन गरी पूर्णता दिइसक्नुपर्ने उल्लेख छ ।

विधानमा केन्द्रीय समिति ८५ सदस्यीय हुने उल्लेख छ । त्यसमध्ये सभापति, महामन्त्री र कोषाध्यक्षसहित ६४ सदस्य निर्वाचित हुने र बा“की २१ सदस्य सभापतिले मनोनीत गर्ने विधानमा उल्लेख छ । अहिलेसम्म देउवाले आफूले पदभार ग्रहण गर्दाको दिन आफूसँग सभापतिमा पराजित भएका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, महामन्त्रीमा पराजित अर्जुननरसिंह केसी, कोषाध्यक्षमा पराजित चित्रलेखा यादव र उमाकान्त चौधरी र हृदयाघात भई उपचाररत नेता नरहरि आचार्यसहित सातजनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । केन्द्रीय समितिले पूर्णता पाउनका लागि अझै १४ केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ । सभापतिको प्रस्तावमा केन्द्रीय समितिले अनुमोदन गर्ने एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र प्रवक्ताको प्रस्ताव पनि देउवाले केन्द्रीय समितिमा गर्न सकेका छैनन् । विधानमा केन्द्रीय समितिमा निर्वाचितलाई मात्रै पदाधिकारीमा सभापतिले प्रस्ताव गर्नुपर्ने उल्लेख रहेकाले यसले भने संख्यामा कुनै असर पार्दैन ।

पार्टी विधानमा उल्लेख रहेका ४४ विभागका संयोजक तोक्ने र तिनलाई पूर्णता दिने कार्यको पनि प्रक्रिया सुरु भएको छैन । ४४ मध्ये ४२ विभागको संयोजक सभापतिले तोक्ने विधानले व्यवस्था गरेको छ । दुई विभागको संयोजक पदेन हुने विधानमा व्यवस्था छ । पहिला ३२ विभाग रहेकोमा १२औँ महाधिवेशनमा सभापति बनेका सुशील कोइरालाले १२ विभाग थपी ४४ पुर्याएका थिए ।

sher bahadur deuba (10)
विधानले तोकेको समय घर्किए पनि सभापति देउवाले पदाधिकारी, विभाग र समितिलाई पूर्णता विषयमा जिज्ञासा राख्दा ध्यान अकैतर्फ मोड्ने गरेको एक केन्द्रीय सदस्यले गुनासो गरे । उनले भने, ‘हामीले मनोनयन र प्रस्तावको विषयमा कुरा राख्दा सुनेको नसुन्यै गर्नुहुन्छ । उहाँलाई अहिले पार्टी संगठनलाई चुस्त–दुरुस्त बनाउनेभन्दा सत्ताको चिन्ता देखिन्छ ।’

देउवाले केन्द्रीय समितिबाहेक संसदीय समिति, कार्यसम्पादन समिति, ज्येष्ठ राजनीतिज्ञसभा पनि गठन गर्नुपर्नेछ । १२औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित कोइरालाले कार्यसम्पादन समिति र ज्येष्ठ राजनीतिज्ञसभा गठन गर्न सकेका थिएनन भने सभापतिमा निर्वाचित भएको २२ महिनापछि विभाग संयोजक तोकेका थिए । तत्कालीन देउवा पक्षले आफूहरूसँग सल्लाह नै नगरी विभाग संयोजक तोकेको भन्दै असन्तुष्टि जनाएर आफ्नो पक्षबाट संयोजक चयन भएका नेताको सामूहिक राजीनामा बुझाएको थियो । त्यसपछि कुनै पनि विभागले राम्रोसँग काम गर्न पाएका थिएनन् । १३औँ महाधिवेशनपछि पनि त्यस्तै हुने हो कि भन्ने शंका बढ्न थालेको छ ।

सभापतिमा निर्वाचित हुनका लागि महाधिवेशनमा धेरै नेतालाई विभिन्न आश्वासन बाँडेका देउवालाई अहिले आफ्नो वचन पूरा गर्नका लागि समस्या भएर केन्द्रीय समिति, पदाधिकारी, विभाग, समिति गठनमा समस्या परिरहेको सूत्रहरू बताउँछन् । तर, उनीपक्षीय नेताहरू भने नेता रामचन्द्र पौडेल विदेश भ्रमणमा रहेकाले सल्लाह गर्न नपाएर ढिलाइ भइरहेको बताउँछन् । देउवापक्षीय केन्द्रीय सदस्य बालकृष्ण खाणले पार्टीभित्र सल्लाह गरेर पूर्णता दिने तयारीमा सभापति देउवा रहेकाले नेता रामचन्द्र पौडेल मुलुकबाहिर हुँदा केही ढिलाइ भएको बताउँछन् । ‘विधानअनुरूप संस्थागत रूपमा पार्टी चलाउने विषयमा सभापति प्रतिबद्ध हुनुहुन्छ,’ सदस्य खाण भन्छन्, ‘सल्लाहमा केन्द्रीय समितिलगायत अन्य विभागलाई पूर्णता दिने तयारीमा उहाँ हुनुहुन्छ । तर, सल्लाह गर्नुपर्ने भएकाले केही ढिला भइरहेको छ । नेता पौडेल फर्किएपछि सबै काम हुन्छन् ।’

आमनेता तथा कार्यकर्ता भने देउवा पनि सुशीलकै लाइनमा अघि बढेको र पार्टी व्यक्तिगत तवरले अघि बढाउन खोजेको आरोप लगाउन थालेका छन् । केन्द्रीय सदस्य बलबहादुर केसी सुशीललाई व्यक्तिगत तवरमा पार्टी चलायो भनेर आरोप लगाउने देउवाजी अहिले आफू पनि त्यही बाटोमा अघि बढ्न थाल्नुभएको छ । ‘संस्थागत र विधिसम्मत तरिकाले पार्टी अघि बढाउने छाँटकाँट देखिएको छैन्,’ केसीले भने, ‘सुशील कोइरालाकै पारामा पार्टी अघि बढ्लाजस्तो छ ।’

उपसभापति दिने आश्वासन दिएका खुमबहादुर खड्कालाई महाधिवेशनपछि उक्त पद दिन देउवालाई अप्ठ्यारो भइरहेकाले पनि पदाधिकारीमा प्रस्ताव गर्न सकस परेको उनीनिकट नेताहरू बताउँछन् । खड्काले विगतमा भएको समझदारी कार्यान्वयन गर्न दबाब दिइरहेको तर अन्य नेताहरूले खड्कालाई उपसभापति बनाउन नहुने बताइरहेकाले देउवा अप्ठ्यारोेमा परेका छन् । उपसभापतिमा खड्काबाहेक कुलबहादुर गुरुङ, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले दाबी गरिरहेका छन् । त्यस्तै, महामन्त्रीका लागि ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाणलगायतले दाबी गरिरहेकाले देउवा अप्ठ्यारोेमा परेका छन् । सहमहामन्त्री र प्रवक्ताका लागि पनि नेताहरूबीच हानथाप रहेकाले उनी अप्ठ्यारोमा परेका छन् । १२औँ महाधिवेशनमा संस्थापन बनेको पक्षले देउवालाई सहमहामन्त्री दिएकाले अहिले अर्को पक्षलाई सहमहामन्त्री दिनुपर्ने भएकाले अप्ठ्यारोे परेको छ । अर्को पक्षबाट सहमहामन्त्रीमा महेश आचार्य, बलबहादुर केसीलगायत नेताहरूले दाबी गरिरहेका छन् । देउवा पक्षबाटै सहमहामन्त्रीमा डा. प्रकाशशरण महत र रमेश लेखक दावी गरिरहेका बताइन्छ । महिलालाई पनि पदाधिकारीमा ल्याउनुपर्ने दबाब दिइरहेका छन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल