दाह्रेढुंगा यसरी बन्यो सहिद स्तम्भ

दाह्रेढुंगा यसरी बन्यो सहिद स्तम्भ

नारदमणि हार्तम्छाली ललितकलाविज्ञ मानिन्छन् । २०६६/०६७ मा पेरिसडाँडास्थित एमाओवादी कार्यालय परिसरमा रहेको ऐतिहासिक सहिद स्तम्भ हार्तम्छालीको नेतृत्वमा बनेको हो । दाह्रेढुंगालाई कसरी उनले ऐतिहासिक स्तम्भ बनाए भन्नेबारे रातोपाटीकर्मी आस्था केसीले हार्तम्छालीसँग कुराकानी गरेकी छन् ।

dare dhunga (2)

भुताहाढुंगा सहिद स्तम्भमा परिणत

सहिद स्तम्भ बनाउने कुरा भएपछि ढुंगा खोज्न थालियो । खोजेजस्तो ढुंगा भेट्टाउन सकिएन । भारतबाट पो ल्याउने हो कि भन्ने छलफल चल्यो । तर, त्यसो गर्दा ढुवानी धेरै लाग्ने समस्या छँदै थियो । सकेसम्म स्वदेशकै ढुंगा प्रयोग गर्ने भन्ने हाम्रो मान्यता थियो । आफ्नै गाउँघरको स्रोत–साधन उपयोग गरियो भने लगानी खेर जाँदैन भन्नेमा पनि हामी उत्तिकै सचेत थियौं ।

कीर्तिपुरको मच्छेगाउँमा एउटा ढुंगा छ भन्ने खबर रामकृष्ण भण्डारीले ल्याउनुभयो । हामी हेर्न गयौँ । हुन्छ कि हुँदैन भनेर मैले त्यसलाई कोट्याएर हेरेँ । यो ढुंगा मूर्ति बनाउनका लागि हेर्न आएको हो भन्ने थाहा पाएपछि स्थानीयले हामीलाई गिज्याए । यो ढुंगा कसैले पनि चलाउन सक्दैनन् भन्ने उनीहरूलाई लागेको थियो ।

घर बनाउनका लागि आगो लगाएर, पानी तताएर फुटाउन खोज्दा पनि त्यो फुटेको रहेनछ । दाह्राजस्तो बलियो भएकाले त्यसको नामै दाह्रेढुंगा राखिएको रहेछ । कसैकसैले त त्यो भुताहाढुंगा हो, त्यसलाई चलाउनुहुँदैन भनेका थिए । कसैले काट्न नसकेको, फुटाउन नसकेको दाह्रेढुंगाबाट हामीले चाहेजस्तो स्तम्भ बनाउन सक्छौँ भन्ने मलाई लाग्यो ।

dare dhunga (3)कीर्तिपुरबाट पेरिसडाँडा पुर्याउन दुई महिना

ढुंगा विशाल थियो । हामीले चाहेजस्तो आकारमा ल्याउनका लागि कीर्तिपुरमै बसेर त्यसलाई काट्न सुरु गरियो । १६ टनको ढुंगोलाई ताछेर १२ टनमा झारियो । १० वटा टायर भएको ट्रकमा राखेर पेरिसडाँडा पुर्याउन दुई महिना लाग्यो । पेरिसडाँडा पुर्याएपछि अर्को समस्या आइलाग्यो । क्रेनले उचालेर माथि राख्न सकेन । त्यसलाई पल्टाएर फेरि ताछेर १० टनमा झारेपछि मात्र उचित ठाउँमा ठड्याउन सकियो ।
मार्बल र ग्रेनाइडबाट बनेको हुनाले यो निकै बलियो थियो । कतै–कतै मार्बलमात्र भएको ठाउँमा भने अलि कमजोर थियो । यस्तो ढुंगा कतै भेट्टाउन सकिएन । स्तम्भ बनाएर बचेको ढुंगाको पनि अन्यत्र मूर्ति बनाएको छ । मच्छेगाउँका स्थानीय आएर अहिले स्तम्भ हेरे भने अचम्म मान्छन् । कला र प्रतिभाले गर्दा दाह्रेढुंगाबाट ऐतिहासिक स्तम्भ बनाइयो ।

दैनिक १० घन्टा मिहिनेत

कडा ढुंगा हुनाले धेरै औजार प्रयोग गर्नुपरेको थियो । ६ महिनासम्म लगातार दैनिक १० घन्टा लगाएर काम गरिन्थ्यो । घन र छिनोको सहायताले ढुंगा ताछ्नुपथ्र्याे । हात रगताम्य भएका थिए । कपडा त धेरै च्यातिए । हातमा चोट लागेका कारण त्यसका खत बाँकी नै छन् । घामपानी नभनी काम गथ्र्यौं । नेताहरू आएर हामीलाई गम्लंग अँगालो हाल्नुहुन्थ्यो । त्यतिबेला गर्वले छाती चौडा हुन्थ्यो । हामी महान् काम गर्दै छौं भन्ने लाग्थ्यो ।

जब स्तम्भ तयार भयो, आफूले चाहेजस्तो आकृति कुँदियो । त्यतिबेला मनमा आएको आनन्दको अनुभूति शब्दमा व्यक्त गर्न सक्दिनँ । मच्छेगाउँका स्थानीय पार्टी कमिटीले पनि स्तम्भ निर्माणमा धेरै सहयोग गरेका थिए ।

dare dhunga sahid stambha(1)कसैले राक्षस, कसैले बौलाहा भने

त्यस्तो ढुंगो कसरी स्तम्भ बन्छ भनेर कतिपयले शंका गर्थे । बनेपछि कतिपयले मलाई मान्छे त राक्षसजस्तै रहेछ भने । कपडा च्यातिएका हुन्थे । हातमा ग्लोब हुन्थ्यो । दिउँसोको चर्को घाममा हामी निरन्तर काम गरिरहेका हुन्थ्यौँ । त्यस्तो देख्दा कतिपयले यो त बहुला नै हो कि पनि भनेका थिए । नेताहरूले हामीलाई हौस्याउँथे । यो स्तम्भजस्तै तपाईं पनि युग–युग अमर हुनुहुनेछ भनेर फुक्र्याउँथे । हामी दंग पथ्र्याैं ।

यसरी तयार भयो स्तम्भ

कलाले आदेश होइन अनुरोध गर्छ । त्यही सोचेर मैले एउटा आकृतिको विम्ब बनाएको थिएँ । कला जहिले पनि महिलाप्रधान हुन्छ । मैले यही कुरा जोडेर स्ट्याचुको रूपरेखा कोरेको हुँ । दसवर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको पृष्ठभूमि, सहिदको विम्ब र बेपत्ताको प्रतीक । तीन कुरालाई मिलाएर स्तम्भ बनाउने अनुरोध गरिएको थियो । मैले पार्कलाई दसर्षे जनयुद्ध र १९ दिने आन्दोलनको प्रतीकका रूपमा चित्रित गरेको छु । पाँच बाटो पनि देखाइएको छ । एउटा गोलो घेरालाई पृथ्वीका रूपमा चित्रित गरेको छु । माक्र्सवादको सन्देश पनि दिन खोजिएको छ ।

स्तम्भको भुइँतिर १० सन्देश दिन खोजिएको छ । त्यहाँ तीन तह छन् । ती जनयुद्धका तीन चरण हुन् । सुुरु, बीच र अन्तिमको अवस्था प्रतिविम्बित छ । त्यसपछि जनआन्दोलन झल्काउने केही सन्देश छन् । त्यहाँ १९ प्रतीक छन् । आपसमा हात समातेका गोला–गोला टाउका देखिन्छन् ।

त्यसैका आधारमा तीन बन्दुकलाई उठाइएको छ । पार्टीलाई नेतृत्व गर्ने विचारधाराका रूपमा ताराअंकित छ । यसैगरी, हँसिया र हथौडासमेत अंकित छन् । हथौडामा ताराअंकित फेटा बाँधिएको छ । त्यो भनेको मुक्तिका लागि युद्ध गरिरहेको योद्धाको प्रतीक हो । त्यो एकातिर केही झुकेको छ । झट्ट हेर्दा अलिकति झुकेर मुठ्ठी उठाएर अभिवादन गरिरहेको योद्धाजस्तो आकृति देख्न सकिन्छ ।
महिला र पुरुष दुवैको सहभागितामा जनयुद्ध भएको थियो भन्ने कुरा दर्शाउन दुवै आकृति कुँदिएको छ । स्तम्भबीचमा गोलो भुमरीको आकृति छ । त्यो बेपत्ताको प्रतीक हो । जनयुद्धमा बेपत्ता पारिएका हजारौँ नागरिकको सम्झनामा त्यो प्रतीक बनाइएको हो । त्यही भुमरीले निलेजस्तै वर्षौंदेखि बेपत्ता योद्धालाई स्तम्भमा चित्रित गरिएको छ ।

पञ्चायत, बहुदल र जनयुद्धकालको संश्लेषणमा उक्त स्तम्भ तयार पारिएको छ । ऐतिहासिक द्वन्द्ववाद र त्यसको पृष्ठभूमिलाई वर्गयुद्धसँग जोडेर स्तम्भमा प्रतिविम्बित गरिएको हो । यो स्तम्भ केवल जनयुद्धकालपछाडिको मात्र संश्लेषण होइन । यसमा तीन कुरालाई जोड दिइएको छ । स्तम्भ मानिसको अभिवादन, सहिदको बलिदान र त्यसको पनि भित्री तरंगले भरिएको अन्तध्र्यान गरिरहेको मूर्तिजस्तो देखिन्छ । त्यो ‘मेडिटेसन’ को विम्ब हो । जनयुद्ध र शान्तिको सन्देश स्तम्भमार्फत दिन खोजिएको छ ।

दुई महिना लगाएर डिजाइन

डिजाइन गर्नमात्रै मलाई दुई महिना लाग्यो । मैले त्यतिबेला निकै मिहिनेत गरेँ । कैयौँ रात ननिदाईकन स्तम्भबारे सोचिरहन्थें । जब मस्तिष्कमा ‘आइडिया’ आउँथ्यो म खुसीले गद्गद् हुन्थेँ । जनयुद्धमा सहिद भएको, य्ुद्धमा घाइते भएकाको ‘फिलिङ्स’ त्यतिबेला आएको थियो । पहिले एउटा वर्कसपमा भाग लिँदा मलाई केही नयाँ काम गरौँ भन्ने लागेको थियो । त्यसैले यस्तो मौलिक सिर्जना बनाउन सकिएको हो । रामकृष्ण भण्डारी, उत्तम डंगोल, गिरी सारूलगायतले स्तम्भ बनाउन मलाई सहयोग गर्नुभएको हो ।

dare dhunga (4)
अवसर र चुनौती

सहिद सप्ताहभित्र स्तम्भ तयार पारिसक्नुपथ्र्याे । सहिद सप्ताह आउन ६ महिना बाँकी थियो । स्तम्भलाई सोचेजस्तै आकृतिमा समयमै तयार पार्न सकिन्छ कि सकिँदैन भनेर चिन्ता लागेको थियो । मैले यसलाई अवसर र चुनौतीका रूपमा लिएको थिएँ ।

बिहान आठदेखि बेलुकी ६ बजेसम्म लगातार ६ महिना काम गर्दा स्तम्भ तयार भएको हो । ढुंगामा एकनाशले घनको सहायतामा छिनो चलाउनु सहज नभए पनि मलाई त्यसमै आनन्द लागेको थियो । आस्था र विश्वासले काम गरेका थियौँ । पैसाका लागि मात्र काम गरेको भए ६ महिनामा चाहेजस्तो आकृति बनाउन सकिँदैनथ्यो । कलाप्रतिको समर्पणले ऐतिहासिक युग झल्काउने स्तम्भ निर्माण गर्न पाउँदा गौरव लागेको छ ।

फोटो : बिजु महर्जन

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल