परशुरामका दुःख : ३८ वर्षदेखि हात्तीपाइले, मागेर चल्छ जिन्दगी

-  |   दीपेन्द्र राई

परशुरामका दुःख : ३८ वर्षदेखि हात्तीपाइले, मागेर चल्छ जिन्दगी

hattipaileपरशुराम खड्काले आजसम्म हात्ती देखेका छैनन् । हात्ती कस्तो हुन्छ भनेर उनले कल्पनासमेत गर्न सक्दैनन् । हात्ती नदेखे पनि उनलाई हात्तीपाइले रोगले समातेको ३८ वर्ष भयो । गएको फागुन १३ गते ३९ वर्ष पुगेका खड्का जन्मेको वर्ष दिनपछि नै उनलाई यो रोगले समातेको हो । तालाबाङ–९ रोल्पानिवासी उनी हुर्कंदै जाँदा हात्तीपाइलेले समातेको देब्रेखुट्टा हात्तीको पाइलाजस्तै अस्वाभाविक रूपमा बढ्दै गयो ।

उपचार सम्भव नभएपछि डिस्चार्ज

हात्तीपाइलेले समातेको देब्रेखुट्टा अस्वाभाविक रूपमा बढ्दै गएपछि उनी जिल्ला अस्पताल रोल्पा पुगे । ‘जिल्ला अस्पताल रोल्पाले काठमाडौँमा रहेको वीर अस्पतालका लागि रेफर गर्यो,’ उनले सुनाए, ‘वीर अस्पताल भर्ना भएँ । तीन महिनापछि उपचार असम्भव भन्दै डिस्चार्ज गरे ।’ उत्साहित हुँदै उपचारका लागि काठमाडौँ आएका उनी निराश बने । उपचारका लागि ढिला भइसकेको भन्दै अस्पतालबाट डिस्चार्ज भएपछि उनी पुनः रोल्पा फर्के ।

जे गरे पनि अप्ठ्यारो

तीन महिनासम्म घर बसेपछि मन अडिएन । घरमा रहँदा भैंसीलाई घाँस हाल्ने र घर रुङ्ने उनी फेरि काठमाडौँ फर्के । काठमाडौँ गएर के गर्ने भनेर उनीसँग योजना थिएन । र पनि, उनी काठमाडौँ जान हौसिए । काठमाडौँ आएपछि वीर अस्पतालको बहिरङ विभागअगाडि सडकमा माग्न बसे । उनलाई बस्नसमेत त्यति सजिलो छैन । हिँड्न झनै अप्ठ्यारो । शौच गर्न शौचालय बस्दाको पीडा खनिखोस्री साध्य छैन । नुहाउन त्यस्तै अप्ठ्यारोे । प्रतिकुलतामा अनुकूलता खोज्ने प्रयास गरिरहेको उनले प्रस्ट्याए ।

बर्खा लागेपछि काठमाडौँलाई बाइबाइ

तीन वर्षदेखि उनी वीर अस्पतालअघि माग्दै आएका छन् । मौसम सफा रहँदा उनी बिहान आठ नबज्दै सडकपेटीमा पुगिसक्छन् । साँझ साढे पाँच बजे त्यहाँबाट हिँडिसक्छन् । हात्तीपाइलेले समातेको देब्रेखुट्टा देखाएर उनले दैनिक तीन सय रुपैयाँसम्म जम्मा पार्छन् । पानी परेको दिन भने उनलाई घाटा लाग्छ । ‘पानी पर्दा धुमधुम्ती बस्नुको विकल्प हुँदैन,’ उनले भने, ‘मलाई त पानी नपरेकै जाती ।’ पानी परिरहने भएकाले बर्खा लागेपछि घर फर्कने उनी तीन महिनाजस्तो घरमै बस्छन् । त्यसपछि पुनः काठमाडौँ आउँछन् । ओहोरदोहोर गरिरहने उनलाई काठमाडौँ–रोल्पा पानीपँधेरोजस्तै भएको छ । घर छाडेको तीन/चार महिनामा एकपटक घर पुगिरहने उनलाई गाउँघरको मायाले तानेको सुनाउँछन् । उनलाई लामो तथा छोटो दूरीको यात्रा गर्दा गाडीभाडा लाग्दैन । जिल्ला प्रशासन कार्यालय रोल्पाले शारीरिक रूपमा अशक्त भनेर परिचयपत्र बनाइदिएपछि उनले त्यो सुविधा उपभोग गर्न पाएका हुन् । काठमाडौँ रहँदा पनि उनी सपनामा गाउँघर पुगिरहेका हुन्छन् । गाउँकै साथीभाइसँग खेलिरहेका हुन्छन् । आफ्नो सालनाल गाडिएको माटो मन नपराउने सायदै भेटिएलान् ।

hattipaile 2बैंक खाता नभए पनि ‘ब्यालेन्स’

मागेरै जीविकोपार्जन गर्दै आएका रोल्पाली खड्काको आफ्नो नाममा बैंक खाता खोलेका छैनन् । ‘बैंकमा राख्ने पैसा पनि हुनुपर्यो नि,’ उनले खुसी व्यक्त गरे, ‘मागेरै भए पनि खाएर बचाएको केही पैसा जोगाएको छु ।’

दाजुभाउजूसहित सगोलमा बस्दै आएका उनलाई एउटा कोठा दिइएको छ । काठमाडौँ आउँदा कोठाको ढोका ढप्काएकामात्रै छैनन्, कोठामै राखेको पैसा दायाँबायाँ नहोस् भनेर भोटेताल्चा ठोकेका छन् । रुपैयाँ जोहो गर्नुका कारण सोध्दा उनले जवाफ दिए, ‘शारीरिक रूपमा अशक्त भए पनि हिजोआज त मागेरै भए पनि जीविकोपार्जन गर्दै आएको छु । जसोतसो काठमाडौँ–रोल्पा गरेको छु । हातपाउ रहेपछि मलाई कसले हेर्लान् ? त्यतिबेला पाउने दुःख सम्झेर बचत गर्ने बानी बसालेको हुँ ।’ दुई/चार पैसाले हुने त केही होइन तर ‘मनको लड्डु घिउसँग खानु’को मज्जाले पनि जिउन सिकाउने उनको बुझाइ छ ।

मासिक तीन सय चोखै

परशुराम खड्काले अपांग भत्ता भनेर मासिक तीन सय रुपैयाँ पाउने गर्छन् । खड्काले सो रुपैयाँसमेत बचत गरेका छन् । भोलिको चिन्ता सबैलाई हुन्छ । उनी अछुतो रहने कुरै भएन । उनलाई पुख्र्यौली सम्पत्तिप्रति लोभ छैन । लोभ छ त केवल हातपाउ रहेको बेला बसेर खान केही रुपैयाँ जोहो गर्न पाए हुन्थ्यो ।

एक सय ७५ ले धानेको जीवन

उनी अहिलेसम्म भोकै बस्नुपरेको छैन । ‘एक छाक सादा खानाको ६० रुपैयाँ पर्छ,’ उनले एक दिनको खर्च सुनाए, ‘चिया दुई कप पिउँछु, ३० रुपैयाँ चाहियोे । दैनिक २० रुपैयाँको एक लिटर मिनरल वाटर पिउँछु । २० रुपैयाँमा किनेको एक प्याकेट खैनी तीन दिनलाई पुग्छ ।’ खसी मासु भनेपछि हुरुक्कै हुने उनले सातामा दुईपटक मासुभात खाने बताए ।

सुत्नका लागि समस्या छैन । उनी वीर अस्पतालको भुइँमै सुत्छन् । कोठाभाडामा लिएर बस्ने हैसियत नभएपछि घामपानीबाट ओतिनसम्मचाहिँ वीर अस्पतालले सजिलो बनाइदिएको छ ।

रोल्पाली नेतासँग अनुरोध

दुई/दुईपटक संविधानसभा निर्वाचनमा मताधिकार प्रयोग गरेको बताउने उनले रोल्पाली नेतालाई चिन्दैनन् । जनमुक्ति सेनाका तात्कालिक डेपुटी कमान्डर नन्दकिशोर पुन ‘पासाङ’ अहिले उपराष्ट्रपति छन् । ओनसरी घर्ती सभामुख छिन् । एमाओवादी सचिव वर्षमान पुन ‘अनन्त’ दुई÷दुईपटक मन्त्री बने पनि उनलाई केही थाहा छैन । कुराकानीको पुछारमा उनले नचिने पनि रोल्पाली नेताहरूसँग बिन्ति बिसाए, ‘मेरो अवस्था हेरेर गासबासको मात्रै व्यवस्था मिलाइदिए म आफूलाई कति भाग्यमानी ठान्थेँ ।’

‘बुवाआमाले ऋणधन गरेर त्यति उपचार गरिदिएका भए मैले पनि सांगले जस्तै पसिनाको गीत गाएर खान्थेँ । यसरी आफ्नो दुःख देखाएर माग्न बस्न पर्दैनथ्यो,’ उनले सुस्केरा हाले, लेखेको भोग्नैपर्दोरहेछ । भोगिरहेको छु ।’

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल