महिनावारी बार्ने चलनविरुद्ध राधाको लडाइँ

-  |   DNN

महिनावारी बार्ने चलनविरुद्ध राधाको लडाइँ

राधा पौडेल, पेसाले नर्स हुन् । उनी महिनावारी बार्ने चलन हटाउने अभियानमा छिन्, जसका लागि उनी सहरदेखि ग्रामीण भेगसम्म पुग्छिन् । महिनावारी बार्ने चलन हटाउन उनले आफ्नै घरैबाट संघर्ष गरिन् । पौडेलको महिनावारी बार्ने अनुभवबारे रातोपाटीकर्मी फातिमा बानूले उनैसँग गरेको कुराकानी :

radha poudel (3)
म सानै छँदादेखि घरमा आमा र दिदीहरू महिनावारी भएको मैले थाहा पाउँथे । हाम्रो गाउँमा महिनावारी हुनुलाई पर सर्नु भन्थे । आमाले म पर सरेकी छु भनिरहँदा उहाँका कपडामा रगत लागेको मैले देख्थेँ । महिनावारी भनेको थाहा थियो तर महिनावारी हुँदा के हुन्छ, कसरी स्याहार–सुसार गर्नुपर्छ मलाई थाहा थिएन । तीन दशकअगाडि गाउँघरमा महिनावारीबारे खुलेर कुराकानी गर्ने चलन थिएन । स्वास्थ्य विषयमा महिनावारीका पाठ हुन्थे । त्यसबारे राम्ररी पढाइ हुन्थेन । कक्षामा ९४ विद्यार्थीमध्ये हामी चारजना मात्रै केटी थियौँ । महिनावारीबारे नबुझेका कुरा हामी सोध्न हिच्किचाउँथ्यौँ । शिक्षकले जति पढाए हामी त्यतिमै सीमित हुन्थ्यौँ ।

दिदीहरू पहिलोपटक महिनावारी हुँदा २१ दिनसम्म छिमेकीको धन्सारमा गएर बस्थे । महिनावारी हुने महिलाले घाम हेर्न हुँदैन, लोग्नेलाई हेर्न र छुन हुँदैन भन्ने चलन थियो । हाम्रो धन्सार थिएन । घर पनि सानो थियो । छुट्टै बसेर लुक्ने ठाउँ थिएन । दिदीहरू धन्सार बस्दा मैले खाना पु्र्याउन जान्थेँ । धनीका छोरीहरू पनि त्यहाँ बस्न आउँथे उनीहरू मिठो र पोसिलो खाना खान्थे । उनीहरूका अगाडि दिदीहरू मकैको भात र सागको झोलमात्रै खान हिच्किचाउँथे । दिदीहरूले हीनताबोध मान्दै लुकीलुकी खान्थे । हाम्रो घरमा दिदीबहिनीमात्रै थियौँ । महिनावारी हुँदा दिदीहरूले घाम उदाउनुअगावै नुहाउने, लुगा धुने र घरबाहिर निस्केर गर्नुपर्ने सबै काम भ्याइसक्नुपथ्र्याे । गल्तीले कुनै बिरुवा छोइदिँदा पनि धन्सारधनीले ‘किन छोइस्?’ भन्दै दिदीहरूलाई गाली गर्थे । धन्सारमा बास बस्न दिएबापत उनीहरूका काम गर्न लगाउँथे । त्यस्ता घटना देखेपछि म सोच्थेँेँ, ‘म पनि महिला हुँ, एक दिन महिनावारी हुन्छु । तर, कुनै पनि हालतमा म महिनावारी बार्दिनँ ।’

त्यस्तै, ऋषि पञ्चमीका दिन महिनावारी हुँदा अशुद्ध भएको शरीर शुद्ध बनाउनुपर्छ भन्थे । म सात÷आठ वर्षकी हुँदा आमा नारायणी नदीमा पूजा गर्न जानुहुन्थ्यो । म पनि आमासँगै जान्थेँ । आमा नुहाउन जानुहुन्थ्यो । म आमाको लुगा कुर्दै बस्थेँ । उहाँहरूले कुरा गरेको सुन्थेँ ‘तीन सय ६५ दिन अशुद्ध भएको शरीर ऋषि पञ्चमीमा नुहाउँदा शुद्ध हुन्छ’ । हुन पनि हो– एक दिन नुहाएर वर्ष दिनको फोहोर सफा हुँदो हो त ?

गाउँमा पहिलोपटक महिनावारी भएका महिलाले घैंटेपूजा लगाउँथे । त्यतिबेला पाका महिला र पण्डितले भर्खरै महिनावारी भएका किशोरीलाई जिस्काउँथे । हीनताबोधले ती किशोरीहरू शिर निहुराएको मैले अवलोकन गरिरहेकी हुन्थेँ । पूजा लगाउँदा कथा पनि उस्तै हाँसोलाग्दा हुन्थे । पूजा नगरे आमाबुवा कुकुरकुकुरनी हुन्छन् भन्ने अन्धविश्वास थियो । आफू महिनावारी हुँदा घैंटेपूजा नलगाउने मैले सोचेँ । ती सबै घटना देखेपछि महिनावारी नबार्ने मेरो संकल्प बलियो हुँदै गयो ।

म कक्षा १० मा पुगेँ । भर्खर १४ वर्षमा पाइला टेक्दै थिएँ । बर्खे बिदाका दिइएको थियो । चितवनमा गर्मी मौसमभरि बिहान पढाइ हुन्थ्यो । एक दिन म स्कुलबाट फर्कंदै थिएँ । अरू दिनभन्दा कता–कता छुट्टैखाले अप्ठेरो महसुस भइरहेको थियो । भित्रभित्रै उकुसमुकुस भइरहेको थियो । मैले बेवास्ता गरिरहेँ । छिटो–छिटो हिँडेर घर पुगँे । झोला राखेर शौचालय पसेँ । अनि थाहा भयो– म महिनावारी भएछु । बुवाआमा घरमा थिएनन् । माइली दिदीमात्रै थिइन् । घरमा अनुशासन कडा थियो । बुवाआमालाई नसोधी कतै जान पाइँदैनथ्यो । म त्यत्तिकै घरबाट निस्किएँ । कहाँ जान लागेकी भनेर दिदीले बाटो छेकिन् ? ठूली दिदीको घर जान्छु भन्दै म हिँडिहालेँ । त्यतिखेर ठूली दिदीको भर्खर बिहे भएको थियो । हाम्रो घर गौरीगन्जबाट दिदीको घर भोजाड पुग्न दुई घन्टा लाग्थ्यो । जसरी पनि पुग्छु भनेर म लागिहालेँ । डरले मुटु काँपिरहेको थियो । बुवा दूध बेच्न जानुभएको थियो । बाटोमा भेट भयो भने कहाँ जान लागेकी भनी सोध्लान् भनेर म डराएकी थिएँ ।

radha poudel (1)
हिँड्न त हिँडे दिदीको घर कसरी पुग्ने हो म अलमल्ल परेँ । त्यतिबेला मोबाइल बोक्ने चलन पनि आएको थिएन । खबर गर्ने माध्यम भएन । बाटोभरि दिदीको घर भेटिएला कि नभेटिएला भेट्टाइहाले पनि दिदीलाई के भन्ने होला भन्ने चिन्ताले सताइरह्यो ।

दिदीको घर भेटियो । भेट भयो । तर, म बोल्नै सकिनँ । दिदीले अनेकौँ प्रश्न गरिन्, मैले कुनै प्रश्नको जवाफ फर्काउन सकिनँ । दिदी आत्तिन थालिन् । दिदीले सोधिन्– पर सरेकी होस् ? मैले टाउकोमात्रै हल्लाएँ । हतारिँदै दिदीले कपडा व्यवस्था गरिदिइन् । मैले बार्न मानिनँ । भिनाजु शिक्षक हुनुहुन्थ्यो । महिनावारी बार्ने चलनमा विश्वास राख्नुहुन्थेन । मलाई सजिलो भयो ।

पाँचौँ दिन भिनाजुले मलाई घर पुर्याइदिए । बुवाआमाले केही भनेनन् । म फेरि आफ्नै दिनचर्यामा फर्किएँ । दोस्रोपटक पनि महिनावारी भएँ । मलाई प्याड कसरी लगाउने थाहा थिएन । दिदीहरूले पनि कहिल्यै सिकाएनन् । म लुक्न पनि गइनँ । भान्साको काम र पूजापाठचाहिँ गरिनँ । अरू केही पनि बारिनँ । त्यसपछि आजसम्म मैले महिनावारी बारेकी छैन ।

एसएलसीपश्चात् मैले स्टार्फ नर्स पढेँ । मैले महिनावारीसम्बन्धी विस्तृतमा थाहा पाएँ । महिनावारी भनेको महिलामा हुने प्राकृतिक प्रक्रियामात्रै हो, महिलालाई हेप्ने उद्देश्यले मात्रै मानिसले यसलाई गलत व्याख्या गरेका रहेछन् । यसबारे काम गर्नुपर्छ, अभियान चलाउनुपर्छ भन्ने मैले सोचेँ । महिनावारी बार्ने प्रथा हटाउने लक्ष्य बनाएँ ।

जाडो बिदामा घर आएकी थिएँ । मैले घरमा महिनावारीका गतल धारणाबारे कुरा गरेँ । यसलाई हटाउनुपर्छ भन्दै बुवाआमालाई सम्झाएँ । चित्र कोर्दै बुझाएँ । म बच्चैबाट यस्तै थिएँ । आफूले पढेका कुरा घर आएर बुवाआमालाई बुझाउँथेँ । नमान्दा मैले भनेको नमान्ने भए मलाई स्कुल किन पठाएको भन्दै रिसाउँथेँ । उहाँहरू मान्नुहुन्थ्यो । त्यही अभ्यासले घरमा महिनावारीबारे बुझाउन मलाई सघायो । विस्तारै हाम्रो घरबाट महिनावारी बार्ने चलन हट्यो ।

गाउँमा मेरै उमेरका साथीहरू भने महिनावारी बार्ने चलनमा कट्टर थिए । अस्पतालमा काम गर्थे । नर्स साथीहरू पनि थिए । दाजुभाइ र बुवा बिरामी भएर अस्पताल भर्ना हुन्थे । नर्सहरू छुन मान्थेनन् । मलाई हाँसो लाग्थ्यो । म भने महिनावारी भइरहेकी हुन्थेँ, तिनै नर्सका दाजुभाइको उपचार गरिरहेकी हुन्थेँ । पढेका मान्छे पनि त्यस्तो अन्धविश्वासमा अल्मलिएको भन्दै म उनीहरूलाई गाली गर्थें ।

नर्सिङमा स्नातक गर्दै थिएँ । थेसिस गर्न म नयाँ विषय खोज्दै थिएँ । थेसिसका लागि मैले महिनावारी बार्ने प्रथा नै रोजेँ । ग्रामीण भेगमा मात्रै महिनावारी बार्ने चलन होला भन्ने मलाई लागेको थियो । सहरतिर के रहेछ बुझ्न मन लाग्यो । पहिलो अनुसन्धान मैले काठमाडौंको गोकर्णबाट सुरु गरेँ । मैले सोचेजस्तो थिएन काठमाडौँ ।

महिनावारी बार्ने चलनले त काठमाडौँ पनि गाँजिएको रहेछ । त्यतिखेर महिलाहरू महिनावारी हुँदा कपडाका प्याड लगाउँथे । गोकर्णमा एक घरकी महिला पालैपालो एउटै प्याड लगाउँदारहेछन् । सेनेटरी प्याडबारे उनीहरूलाई थाहा रहेनछ । बाहिर सुकाउन लाज लाग्छ भन्दै ती कपडा लुकाएर सुकाउने गरेको मैले थाहा पाएँ । चितवन र गोकर्णमा मैले केही फरक पाइनँ । गोकर्णमै मैले पहिलोपटक छाउपडीप्रथाबारे पनि थाहा पाएँ । यसै विषयमा काम गर्ने मेरो उद्देश्य बन्यो । एमएडको पढाइ सकेर म जुम्लातिर लागेँ । मेरो अभियान सुरु भयो ।

यो २०५८ तिरको कुरा हो । जुम्ला पुगेँ । छाउपडीप्रथाबारे किताबमा मात्रै पढेकी थिएँ । कस्तो होला, के होला भनेर मनमा खुल्दुली थियो । सुरुका दिनमा मलाई त्यहाँ पागल भन्थेँ । महिनावारी बार्नुहुँदैन भन्दा म सबैको आँखाको कसिंगर बन्थेँ । स्थानीय मेरो विरोधमा उत्रन्थे । मलाई त खाना खानसमेत अप्ठेरो पथ्र्यो । स्थानीयसँग मेरो झगडा पथ्र्याे । महिलाहरू खुलेर बोल्न लजाउँथे । महिनावारी र सुत्केरी हुँदा महिला गोठमै सुत्थे । मेरो मन पोल्थ्यो । काम कहाँबाट सुरु गर्ने भनेर अलमल्ल परेँ । जुम्ला अन्धविश्वासमा मात्रै जकडिएको थियो । स्थानीय महिला गोठमा गएर एक्लै सुत्केरी हुन्थेँ । दोस्रो बच्चा जन्माउने सुत्केरीले पहिलो बच्चा पनि गोठमै लिएर बस्थे । उनीहरू आफैँ पकाएर खान्थे । कसैले तिनको वास्ता गदैनथे ।

महिनावारी भएका महिलाको अवस्था पनि उस्तै दयनीय । सबैका घरमा गोठ हुन्थेनन् । ती महिला हिउँ परेको रातमा पनि परालभित्र लुकेर बसेको मेरै आँखाले देखेँ । भात खाँदा पाप लाग्छ भन्ने अन्धविश्वासमा बाँधिएका तिनीहरूले महिनावारी भएकी महिलालाई दुई÷तीन दिनको बासी रोटी र नुनमात्रै खान दिँदारहेछन् । दूध, दही खाँदा गाई, भैँसी बिरामी पर्छन्, मर्छन भन्ने जुम्लावासीको विश्वास थियो ।

जुम्लापछि म मुगु पुगेँ । त्यहाँ पनि उस्तै अवस्था थियो । एउटै स्कुलमा आफ्ना दाजुभाइ पनि पढेका हुन्छन्, छोइन्छ भन्दै स्कुल नजाँदारहेछन् । स्कुल मन्दिर हो, स्कुल जानुहुँदैन भन्ने उनीहरूको विश्वास थियो ।

radha poudel (2)
कतिपय जिल्लामा धामीझाँक्री सक्रिय भएर लागेका छन् । मैले उनीहरूसँग कुरा गर्दा महिनावारी बार्ने चलन रामको पालादेखि चल्दै आएको चलन हो, नबारे भगवान् रिसाउँछन्, अनिष्ट भन्ने जवाफ पाएँ । अहिले तिनै धामीझाँक्री मसँगै अभियानमा हिँड्छन् । तालिम दिन्छन् । जिल्लाका ग्रामीण भेगका अधिकांश स्थानीय नेपाली भाषा प्रस्ट नबुझ्ने भएकाले महिनावारी बार्ने चलनबारे बुझाउन चुनौती छ ।

यसै अभियानका लागि म फेरि जुम्ला पुगेँ । आफँैलाई पनि उही व्यवहार गरे । एउटा घरमा मैले रोटी मागेँ । खान बोलाए । भान्सामै गएँ । दही खानुहुन्छ भनेर सोधे । मैले खान्छु भनेँ । महिनावारी भएको भए दिन्न भनिन् । म महिनावारी भएकी थिइनँ । तर पनि भएकी छु भन्दिएँ । तपाईंको भान्सा पनि छोइदिएँ के गर्न हुन्छ भन्दै जिस्काएँ । तिनी महिलाले मलाई दही खान दिइनन् । फर्किने बेलामा मैले भनेँ, ‘मैले छोएकै कारणले घरमा मान्छे, गाई, भैँसी बिरामी भएमा तुरुन्त मलाई खबर गर्नू, म सबै उपचार गरिदिन्छु ।’

कति ठाउँमा त एउटै कोठामा बस्ने परिवार पनि महिनावारी बार्छन् । एक–अर्कालाई छुँदैनन् । काठमाडौंमै यस्ता चलन विद्यमान छन् । परिवर्तन हुन्छ सम्भव छ । समस्या शिक्षितवर्गमै छ । शिक्षतभन्दा अशिक्षितलाई बुझाउन सजिलो छ । शिक्षक, नेता र अधिकारकर्मीलाई परिवर्तन गर्न बढी कसरत गर्नुपरेको अनुभव छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल