मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो

एमाले स्थायी समिति सदस्य शंकर पोखरेल अध्ययनशील र बौद्धिक नेता मानिन्छन् । पार्टीको नवौँ महाधिवेशनमा उपमहासचिवमा पराजितपछि पार्टीका विभिन्न गतिविधिमा क्रियाशील छन् । अन्तरमुखी स्वभावका पोखरेलको जीवनका अनेक आयामबारे रातोपाटीका लागि रमन पौडेलले गरेको अन्तरङ कुराकानी :

मेरो खाना

नेपाली स्वादका सबै परिकार मन पर्छ मलाई । पछिल्लो समयमा मिलेसम्म रोटी र ढिँडोमा जोड दिने गर्छु ।
दाल, भात, तरकारी, रोटीजस्ता परिकारबाहेक लगातार एउटै परिकार नियमित खानुपरेमा बिस्तारै मन पर्न छाड्छ । कहिलेकाहीँ रेस्टुरेन्ट जाने बानी पनि छ मेरो । कहिलेकाहीँ र थोरै लिँदा सबै किसिमका स्न्याक्स मन पर्छ ।

खाने पकाउने रुचि त खासै छैन । तर, कहिलेकाहीँ पकाउनैपर्ने हुन्छ । त्यस्तो बेला खाना पनि पकाउने गर्छु ।

Shankar Pokharel (1)
मेरो पोसाक

आम रूपमा लगाउने सर्ट, पाइन्ट र कोट नै म नियमितजस्तै लगाउँछु । योसँगै जाडोमा ज्याकेट, स्वेटर र अन्य बाक्लो कपडा । कुनै विशेष रंग भन्ने छैन । तर, जुनसुकै रंगमा पनि गाढाभन्दा हल्का रंग मन पर्छ । कपडा किन्दा प्रायः रेडिमेड नै किन्ने गर्छु । कहिलेकाहीँ सिलाउन पनि दिने गरेको छु । सिलाउने ठाउँ विशेष छैन । जहाँ पायक पर्छ, त्यतै जान्छु । कपडामा ब्रान्ड खोजी गर्दिनँ । तर, कतै घुम्न जाँदा वा सपिङक्रममा साह्रै मन पर्यो भने ब्रान्डेड पनि किन्छु । मेरो टोपी नभई नहुने बानी छैन । तर, जाडोमा ढाकाटोपी लगाउँछु ।

१४/१५ वर्षमा ५/६ मोबाइल सेट फेरेंँ
घरमा सानो–सानो पुस्तकालय छ
जेल बस्दा चेस र क्यारेमबोर्ड खेलेँ
सचिन तेन्दुल्कर धेरै मनपथ्र्यो

मेरो फिटनेस

फिटनेसका लागि योगासहितका हल्का व्यायाम गर्छु । खानामा सामान्यतः ख्लाल गर्छु । मर्निङवाक नियमित छैन । बरु कहिलेकाहीँ हाइकिङ जान मन लाग्छ ।

मेरो अध्ययन

आम रूपमा मेरो पढाइ जिम्मेवारी वा मिसनमा आधारित हुन्छ । इतिहास, अर्थशास्त्र, राजनीतिशास्त्र, समाजशास्त्र, संस्कृति, जीवनी मेरो रुचिका विधा हुन् । यसबाहेक साहित्यमा पनि रुचि छ । कथा, उपन्यास, कविता, यात्रा संस्मरण पनि पढ्ने गर्छु । मनपर्ने लेखक विषयवस्तुअनुसार भिन्न–भिन्न छन् ।
अध्ययनबाहेक मैले जिम्मेवारीकै रूपमा पनि नियमित रूपमा लेख, कार्यपत्र र प्रशिक्षण सामग्री तयार गरिरहनुपर्छ । तर, किताब प्रकाशनकै रूपमा लेख्न सुरु गरेको छैन ।
मलाई पुस्तक संग्रह गर्ने रुचि छ । किताबको आफ्नै संकलनबाट सानो पुस्तकालय नै बन्न पुगेको छ घरमा । वार्षिक वा मासिक रूपमा खर्च नै छुट्याएर पुस्तक किन्ने गर्दिनँ । तर, मेरो समग्र खर्चको एउटा महत्वपूर्ण हिस्सा पुस्तकमा प्रयोग हुन्छ ।

मेरो घुमफिर

मलाई घुम्न मन पर्छ । तर, प्रायः राजनीतिक यात्रामै चित्त बुझाउनुपरेको छ । नेपालका एक÷दुई जिल्लाबाहेक सबै ठाउँ पुगेको छु । पुगेकामध्ये जिल्लामा एकभन्दा धेरैपटक पुगेको छु ।
यस्तै १८/१९ जति देश पुगेको छु । केही देशमा चाहिँ दोहोर्याएर पनि गएको छु ।
घुम्नेक्रममा प्रायः ऐतिहासिक तथा प्राचीन सम्पदा, हरियाली क्षेत्र, हिमाल, पहाड, उपत्यका, नदी तथा समुद्री किनारा बढी मन पर्छ मलाई । घुम्न असाध्यै मन लागेका ठाउँ थुप्रै छन् । देशभित्र र बाहिर त्यस्ता ठाउँ त धेरै छन् । तर, अघाउन्जेल घुम्न पाइँदैन र पो ।

मेरो फुर्सद

त्यस्तो खास समय छुट्याउने गरिएको छैन । लामो बिदाको समयमा चाहिँ राजनीतिक काम केही हल्का हुन पुग्छ । अहिलेसम्म लामो समयसम्म आराम गरेर बसेको भन्ने त खासै अनुभव छैन । लामो यात्रापछि कहिलेकाहीँ एकाध दिन आराम गरिन्छ होला ।
फुर्सदका क्षण किताब पढेर वा हिजोआज अनलाइनमा आफूलाई मन पर्ने कुरा सर्च गरेर पनि बिताउने गर्छु । उपत्यकामा रहँदा काम सकिएपछि प्रायः घरमै फर्कन्छु । खाना बाहिरभन्दा घरमै खान मन पराउँछु ।
फुर्सदको समयमा श्रीमती र सन्तानका साथ घुम्न, रेस्टुरेन्टमा खान वा चलचित्र हेर्न पनि जान्छु तर कहिलेकाहीँमात्रै ।

मेरो खेलकुद

मलाई सबैभन्दा मनपर्ने खेल फुटबल र क्रिकेट नै हो । सबैभन्दा मन नपर्ने खेलचाहिँ भन्ने त खासै छैन होला । सानो छँदा रमाइलोका लागि केही खेल खेलियो । जेलमा बस्दा चेस र क्यारेमबोर्ड खेलियो । तर, खेलाडीको पहिचान बनाएर कहिल्यै खेलिनँ ।

अन्तर्राष्ट्रिय खेलका समयमा मनपर्ने क्लब र देश पनि छनोट तय गर्छु । एसियाली टिम अघि बढ्दा खुसी लाग्छ । तर, फाइनलमा चाहिँ अहिलेसम्म ब्राजिल र अर्जेन्टिनाको टिमप्रति सहानुभूति वा समर्थन गरेको छु । मनपर्ने क्रिकेट टिम भने खासै कुनै छैन । दक्षिण एसियाली टिममध्ये समयअनुसार छनोट फरक परेको हुन्छ । क्रिकेट खेलाडीमा सचिन तेन्दुल्कर धेरै मनपथ्र्यो ।

मेरो मोबाइल

अहिले मसँग आइफोन छ । सेकेन्ड ह्यान्ड भएकाले त्यति महँगो मूल्य परेन । मोबाइल फेरी–फेरी बोक्ने बानी त होइन । तर, पहिले नोकिया, सामसुङ र अहिले आइफोन प्रयोग गर्दै छु । १४÷१५ वर्षमा ५÷६ वटा मोबाइल सेट फेरेंँ होला ।

मोबाइलका एप्लिकेसन सामान्य रूपमा चलाउन आउँछ । ती एप्स घरबाहिर हुँदा प्रयोग गर्छु । घरमै भएको बेला ल्यापटप नै प्रयोग गर्छु । मोबाइलमा गेम खेल्ने खासै रुचि छैन अहिले । सुरु–सुरुमा अलि–अलि खेलियो । अहिलेचाहिँ खासै रुचि हुँदैन । सायद फुर्सद कम भएर पनि होला ।

मेरो टेलिभिजन

घरमा २४ इन्चको सामसुङको टीभी सेट छ । समय मिले रातिको समयमा टीभी हेर्छु । प्रायः समाचार र टक सो नै बढी हेर्छु । तर, त्यसलाई पनि नियमितता दिन पाउँदिनँ । सिरियल पनि कहिलेकाहीँ हेर्ने बानी थियो । तर, सिरियलमा खासै छनोट छैन । सुरुमा महाभारतले आँखा तानेकोचाहिँ हो । मनपर्ने टीभी कलाकारहरू मदनकृष्ण र हरिवंश नै हुन् ।

मेरो चलचित्र

पछिल्लोपटक हेरेको चलचित्र ठ्याक्कै भन्न सक्दिनँ । बिर्सिएँ होला । क्रान्ति, सोलेमध्ये कुनै होला । ३५ वर्षअघि हलमा गएर फिल्म हेरेको थिएँ ।

फुर्सदको बेला संयोग मिले टीभी/भिसिडी दुवैमा फिल्म हेर्छु । तर, साह्रै कममात्र । नेपालमा बनेको ‘क्याराभान’ र ‘बलिदान’ साह्रै मन परेका फिल्म हुन् । हिन्दीमा ‘तारे जमिन पर’ भन्ने फिल्म मन परेको थियो ।
बलिउडका कलाकार अमिताभ बच्चन सबैभन्दा लोकप्रिय सदावहार कलाकार हुन् जस्तो लाग्छ । नेपालीमा त मदनकृष्ण र हरिवंशको तुलना अरूसँग हुन्छ जस्तो लाग्दैन । उनीहरू पनि सदावहार नै हुन् ।

मेरो रोग

मेरो ज्यानमा बिसन्चो छैन । ठिकै छ । सुगरको असर केही मात्रामा देखिएको थियो । अहिले कन्ट्रोलमै छ । बेलाबेलामा स्वास्थ्य जाँच गराउने गरेको छु ।
रक्तचाप अहिलेसम्म सुन्तुलित नै छ । शारीरिक रूपमा साह्रै फिट भन्न त मिल्दैन । तर, नियमित काममै असर पर्ने समस्या पनि छैन ।

मेरो भाषण शैली

श्रोतालाई केन्द्रमा राखेर आफूलाई लागेको कुरा राख्न समस्या हुँदैन । भाषणक्रममा मेरो खास थेगो छैन जस्तो लाग्छ । समय परिस्थितिअनुसार भाषणक्रममा आक्रामक वा बौद्धिक दुवै तरिका प्रयोग गर्नुपर्ने हुँदोरहेछ ।

मेरो भाषणका कारण त्यति धेरै विवादमा परेको महसुस भएको छैन ।

भाषणको परिस्थिति हेरेर तयारी गर्ने वा नगर्ने निर्धारण हुन्छ । प्रशिक्षण कक्षा हो भने तयारी गर्नुपर्छ । भाषणका लागि मात्र हो भने समय, परिवेश र ठाउँ हेरेर प्रस्तुत हुने कुरामा सचेत रहन्छु ।

मेरो मापसे

मेरो अहिलेसम्म मापसे बानी छैन । सानैदेखि यसप्रति रहर नै भएन ।

मेरो संगीत

फुर्सदको समयमा गीत–संगीत पनि सुन्ने गर्छु । पुराना सदावहार गीत बढी मन पर्छ । केही नयाँ सुन्दा आनन्द आउँछ । गीत गुनगुनाउने गरेको छैन । गाउन पनि खासै आउँदैन ।

मेरो भूल

सानो छँदा केही गल्ती पनि गरियो होला । अहिले खासै सम्झना छैन । भूल गरेरै सजाय पाएको सम्झना छैन । स्कुलमा म राम्रो विद्यार्थी थिएँ, त्यसैले कुटाइ खानुपरेन ।

राजनीतिमा लागेका कारण भूल नगरीकन थुप्रै सजाय पाइयो । र, आरोप वा आक्षेप पनि लाग्यो । तर, आत्मालोचना नै गर्नुपर्ने तरिकाले गल्ती गरिएको अनुभूति छैन ।

मेरो घर

मैले २०६० तिरघर बनाएँ । पुख्र्यौली सम्पत्ति र पारिवारिक आर्जन दुवैबाट घर बनाएको थिएँ । घरको स्टाइल वा डिजाइन विशेष किसिमको छैन । सामान्य पक्की घर नै हो । मानिस वास्तुशास्त्रअनुसार घर निर्माण गर्छन् । मैले त्यस्तो गरिनँ । निर्माणक्रममा त्यतिवेलाको हिसाबले २०÷२५ लाखजति पर्यो होला ।

राशि

राशि, ग्रहदशा, ग्रह शान्ति, मणि माणिक्य, औंठी, ग्रह र नक्षत्रको फलप्रति कहिल्यै रुचि नै लागेन ।

मेरो सौन्दर्य

कपालमा कहिलेकाहीँ कालो मेहन्दी लगाउने बानी छ । फेसियल गर्ने बानी छैन । अनुहारमा कुन क्रिम लगाउने बानी छैन । शरीरमा सेन्ट छर्कने वा प्रर्फयुम पनि प्रयोग गर्दिनँ । साउना बाथ, स्टिम, बडी मसाज कहिलेकाहीँ गर्छु ।

मेरो प्रेम

अफेयर्सका रूपमा मेरो प्रेमसम्बन्ध कसैसँग रहेन । विवाहचाहिँ समझदारीका रूपमा अन्तरजातीय हो ।

मेरो सपना

मलाई समृद्ध नेपाल निर्माण गर्न सम्भव छ । आफ्नै जीवनकालमा देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने मान्यता राख्छु । म मेरो व्यक्तिगत पदलाई भन्दा जिम्मेवारीलाई केन्द्रबिन्दुमा राख्नुपर्छ भन्ने लाग्छ ।
मेरो जिल्ला दाङलाई नमुना जिल्ला बनाउन सकिन्छ भन्ने विश्वास छ । त्यसो त मेरो गाउँ औसतमा राम्रै छ । नगरउन्मुख छ । अझ राम्रो बनाउन सकिन्छ भन्ने लाग्छ । कार्यक्रमविशेषका लागि विदेश पनि गइएला । तर, मुलुक छाडेर विदेश जाने कुरा कल्पना नै गर्न सक्दिनँ ।

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल