किन भुसको आगोजस्तै बन्दैछ पूर्वी तथा मध्य तराईमा आत्महत्या ?

जेठ २  |   राजकरण महतो

किन भुसको आगोजस्तै बन्दैछ पूर्वी तथा मध्य तराईमा आत्महत्या ?

महोत्तरी–तराईमा–मधेशको आन्दोलनमा झन्डै ६० जनाको ज्यान गयो । यसले देशको राजनीति हल्लाइदियो, देशकै अर्थतन्त्रलाई धक्का दियो । अहिले पनि आन्दोलन जारी छ ।
अधिकार प्राप्तीका लागि गरिएका संघर्षमा भन्दा तराई–मधेशमा अरु कारणले ज्यान गुमाउनेहरुको सख्याँ निकै धेरै छ । पूर्वी तथा मध्य तराई–मधेशमा तीन बर्षमा १२ सय भन्दा बढीले आत्महत्या गरेका छन् । तर, भयानक रुपमा फैलदै गएको आत्महत्या रोक्न न समाज गंभीर बनेको छ न त राज्य नै । आत्महत्याको यो भयानक रोगलाई रोक्न राजनीति दल पनि गंभीर छैनन्, जसले तराई–मधेशको सामाजिक संरचना नै भत्काउने खतरा बढेको छ । अपराध रोक्नुपर्ने प्रहरीले आत्महत्याको घटना हेर्दै समय र जनशक्ति खर्च गर्न बाध्य भएको छ ।

suicide
घटना १
श्रीमती अर्कैसँग हिडेपछि महोत्तरीको गौशाला नगरपालिका–५ मा एक युवाले आत्महत्या गरे । २०७२ को जेठमा २६ बर्षीय लालबहादुर आले मगरले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय गौशालाका पूर्व प्रहरी निरीक्षक मछिन्द्रबाबु केसी बताउँछन् ।

घटना २

महोत्तरीकै सुन्दरपुर–५ की २७ बर्षीय सहिस्ता खातुनले श्रीमान्ले कान्छी ल्याएको रिसमा आत्महत्या गरिन् । खातुनका श्रीमानले वहुविवाह गरे । खातुनले त्यसको झोकमा गएको २०७० कोे माघ १४ मा आत्महत्या गरिन् ।

घटना ३

महोत्तरीकै औरही–१ की २६ बर्षीया सुनिता सहनीले श्रीमान्सँगको घरायसी विवादकै कारण आत्महत्या गरिन । इन्देश्वर सहनीकी श्रीमती सुनिताले गएको १७ बैशाख २०७२ मा आत्महत्या गरेकी इलाका प्रहरी कार्यलय गौशलाले जनाएको छ ।

घटना ४

महोत्तरीकै श्रीपुर ३ बस्ने रामएकवाल यादवकी १३ बर्षीय छोरी पिंकी कुमारी यादवले पनि आत्म हत्या गरिन । वुवा आमाले बजारबाट नयाँ लुगा नल्याइदिएको झोकमा उनले आत्महत्या गरिन् । २०७१ को फागुन ३० मा उनले विष सेवन गरी आत्म हत्या गरेको प्रहरीले जनाएको छ ।

घटना ५

नयाँ संविधानमा मधेशी अधिकार कुण्ठित भएको भन्दै महोत्तरीको गौशाला–५ का ५२ बर्षीय रामप्रदिप महतो नुनीयाले आत्महत्या गरे । गरिब तथा विपन्न वर्गका नुनीया जारी मधेश आन्दोलनमा रोजिरोटी छाडेर अधिकारका निम्ति आन्दोलनमा होमिएका थिए । ४ असोज २०७२ सालमा घर नजिकैको आँपको बोटमा उनले झुन्डिएर आत्म हत्या गरे ।

घटना ६
महोत्तरीकै बर्दिबास नगरपालिका–१ का १७ बर्षीय निरज कार्कीले प्रेममा असफल भएपछि २०६९ को फागुन २२ मा झुन्डिएर आत्महत्या गरे । बर्दिबासस्थित देउराली उच्च माविमा कक्षा ११ मा अध्ययन गर्ने कार्कीले बर्दिबासकै नवक्षितीज उच्च माविको कक्षा कोठाको पंखामा झुन्डिएर आत्म हत्या गरेका थिए । आफ्नो हातको पाखुरामा रगतले ‘आइ लभ यु……..’ लेखेर कार्कीले आत्महत्या गरेका इलाका प्रहरी कार्यालय बर्दिवासले जनायो ।

माथिका यी घटनाले तराई–मधेशमा बढ्दो आत्महत्याको प्रवृति देखाउँछन् । यी घटनालाई नजिकबाट हेर्ने हो भने आत्महत्याका कारण र प्रवृति पनि फरक–फरक छन् । पुरुषको तुलनामा महिला बढि रहेको प्रहरी तथ्याँकमा देखिन्छ । मानिस कुनै न कुनै समस्याबाट मानसिक रुपमा विक्षिप्त भएपछि आत्म हत्या गर्ने गरेको मनोविज्ञहरु बताउँछन् ।

पूर्वी र मध्य तराईका ८ जिल्लमा १ हजार २ सय ३७ गरे आत्महत्या

बारा—पर्सा देखि सिरहा—सप्तरी तराई–मधेशमा भएको आन्दोलनका कारण चर्चामा छन् । आन्दोलनबाट चर्चामा आएका यी जिल्लाको सामाजिक सम्बन्धहरु भने दिनदिनै भत्किँदै गएको जस्तो देखिन्छ । यी जिल्लाका भित्री दुःख भने निकै कहालीलाग्दा छन । दुई नम्बर प्रदेशमा पर्ने पूर्वी र मध्य तराईमा गरी ८ जिल्लामा आत्महत्या गंभीर समस्या बन्दै गएको छ ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौत्तहट, बारा र पर्सा गरी यी आठ जिल्लमा तीन बर्षको अवधिमा १ हजार २ सय ३७ जनाले आत्महत्या गरेको डर लाग्दो तथ्याँक सार्वजनिक भएको छ । दिनानुदिन बढ्दै गरेको आत्महत्याको भित्रीपक्षवारे मनोवैज्ञानिक खोजि चाहिँ भएको देखिदैन ।

गएको तीन बर्षमा महोत्तरीमा १५९ जनाले आत्महत्या गरे ।

महोत्तरीमा १५९ जनाले आत्महत्या गरे ।
धनुषामा २३१ आत्महत्या गरे ।
सिरहामा २२७ आत्महत्या गरे ।
सप्तरीमा ११८ आत्महत्या गरे ।
सर्लाहीमा १९७ आत्महत्या गरे ।
रौत्तहटमा ३२ आत्महत्या गरे ।
बारामा १४४ आत्महत्या गरे ।
पर्सामा १२९ आत्महत्या गरे ।

महोत्तरीमा
–आर्थिक बर्ष २०६९—०७० मा ६४ जनाले आत्महत्या गरे ।
–२०७०—०७१ मा ४९ जनाले आत्महत्या गरे ।
–२०७१—०७२ मा ४६ जनाले आत्महत्या गरे ।

धनुषामा
–आर्थिक बर्ष २०६९—०७० मा ७२ जनाले आत्महत्या गरे ।
–२०­७०—०७१ मा ९४जनाले आत्महत्या गरे ।
–२०७१—२०७२ मा ६५ जनाले आत्महत्या गरे ।

सर्लाहीमा
–आर्थिक बर्ष २०६९—०७० मा ५० जनाले आत्महत्या गरे ।
–२०७०—०७१ मा ८२ जनाले आत्महत्या गरे ।
–२०७१—२०७२ मा ६५ जनाले आत्महत्या गरे ।

रौतहटमा
आर्थिक बर्ष २०६९—०७० मा १५ जनाले आत्महत्या गरे ।
– २०७०—०७१ मा ११ जनाले आत्महत्या गरे ।
–२०७१—२०७२ मा ६ जनाले आत्महत्या गरे ।

बारामा
–आर्थिक बर्ष २०६९—०७० मा ३५ जनाले आत्महत्या गरे ।
–२०७०—०७१ मा ५८ जनाले आत्महत्या गरे ।
–२०७१—२०७२ मा ५१ जनाले आत्महत्या गरे ।

पर्सामा
–आर्थिक बर्ष २०६९—०७० मा ३६ जनाले आत्महत्या गरे ।
–२०७०—०७१ मा ४४ जनाले आत्महत्या गरे ।
–२०७१—२०७२ मा ४९ जनाले आत्महत्या गरे ।

सिरहामा
–आर्थिक बर्ष २०६९—०७० मा ६४ जनाले आत्महत्या गरे ।
–२०७०—०७१ मा ८३ जनाले आत्महत्या गरे ।
–२०७१—२०७२ मा ८० जनाले आत्महत्या गरे ।

सप्तरीमा
–आर्थिक बर्ष २०६९—०७० मा ४९ जनाले आत्महत्या गरे ।
२०७०—०७१ मा ५५ जनाले आत्महत्या गरे ।
–२०७१—२०७२ मा १४ जनाले आत्महत्या गरे ।

suicideआत्महत्याको प्रकृति
आत्महत्या गर्ने धेरैले झुण्डिएर र वा विष सेवन गरेर आत्महत्या गरेका छन् । प्रहरी अनुसन्धानमा छिटफुट रुपमा आगो लगाएर, हाम फालेर, आत्म हत्या गरेका घटना पनि देखिएका छन् ।

आत्महत्याको कारण
पर्साको बीरंजगदेखि सिरहाको लाहान सम्म मानसिक रोगको विशेष सेवा दिदै मानसिक रोग बिशेषज्ञ डा. भरत कुमार गोइत भन्छन् ः
हाम्रो समुदायमा २५ प्रतिशत मानिसहरु कुनै न कुनै रुपमा मानसिक रुपमा पीडित छन् । तराइका जिल्लाहरुमा हेलचेक्रयाइका कारण मानसिक रोगको समस्या विकराल बन्दै छ । मानिस मानसिक रोगबाट पीडित भएमा उसलाई हाम्रो समाजले पागल भन्ने चलन छ । कतिपय अवस्थामा मानसिक रोगिलाई घर परिवारहरुले बदनाम हुने समस्याले उपचार गराउन हस्पिटल आउँदैनन् । विस्तारै विरारी गम्भिर हुने र उपचार गर्न बढि रकम खर्चिनु पर्ने हुन्छ । विमारीको उपचारको रकम जोहो गर्न नसक्दा मानसिक रोगिहरु वा उनिहरुको घर परिवारका मानिसहरु कुनै न कुनै रुपले पनि मानसिक रोगि हुन्छ । मानसिक रोगिले समयमा उपचार, हौसल्ला, सरसल्लाह, प्रेम पाएन भने मानसिक रुपमा विक्षिप्त भएर आत्म हत्या गर्ने गर्छ ।
मानिसहरु विशेष रुपमा रातीमा ग्यारेन्टी मरिन्छ भनेर विष सेवन गर्ने, झुन्डिने गर्छन । कसैले नदेख्ने कोठामा झुन्डिन्छन् । विष सेवन गर्छन् । मानिस आर्थिक, समाजिक , गरिवी , प्रेममा असफल घरायसी विवादले तनाबमा पर्छन् ।

७५ प्रतिशत विरामीहरु तनावपूर्ण अवस्थामा अस्पताल आउँछन्
एमविविएस/ एमडिजिपी डा.सिताराम पराजुली भन्छन् :
मानिस मानसिक रुपमा कमजोर हुदैं गएपछि शारीरिक समस्या उत्पन्न हुन्छन । कुनै पनि समस्या मानसिक रुपमा हुँदैं त्यसको प्रभाव शारीरिक रुपमा पनि देखापर्छ । घरको एक जना मान्छे विमारी भयो भने घरका अरु मान्छेले कहाँ उपचार गराउने ?, के हुन्छ ? जस्ता कारणबाट मानसिक रुपमा तनाबमा हुन्छन् । सानो भन्दा सानो समस्यालाई जति खेरपनि दिमागमा खेलाएर तिललाई पहाड बनाउँदा मानसिक रुपमा तनाब हुन्छ यो हो की त्यो हो भन्दै घोत्लिदा दिमागमा भार पर्छ । विरामीले यस्तो दिमागमा अस्पतालमा जानु भन्दा अघि भावनात्मक कुरा खेलाएर तनाब खेप्न बाध्य छन् । ७५ प्रतिशत विरामी तनावपूर्ण अवस्थामा अस्पतालमा जाँच गराउँछन् ।

आत्महत्या गर्नेहरुको संख्या कम छैन्
जिल्ला प्रहरी कार्यालय महोत्तरी एसपी जनक भट्टराई भन्छन् :
सामान्यतया मानसिक तनाव, मानसिक रोगी, गरिवी, वैदेशिक रोजगारीबाट घरपरिवारमा उत्पन्न कलह, सामाजिक समस्या, प्रेममा धोका, पढाइमा असफल जस्ता कारणले आत्महत्या गर्ने गरेको पाइन्छ । तुलनात्मक रुपमा १६ बर्षदेखि ५० बर्ष सम्मका मानिस बढि आत्महत्या गर्ने गरेको तथ्यांक छ । निकै गरिव भन्दा पनि मध्यम वर्गका मानिसले बढि आत्महत्या गर्ने गर्छन् । जहीतही विष किन्न पाइन्छ । जस्को कारणले मान्छेले बढी विष सेवन गरेर आत्महत्या गर्छन् । अर्को झुन्डिएर पनि आत्महत्या गर्छन् ।

मानसिक यातनाले महिलाले गर्छिन् आत्महत्या
मधेशमा महिलाहरुले आत्महत्या गर्ने मुख्य कारण अहिले दाईजो नै रहेको ओरेक नेपाल धनुषा जिल्ला परियोजना संयोजक रेखा दत्त बताउँछिन् । सासु ससुरा श्रीमान् लगायतले दाईजोमा यो दिएन त्यो दिएन भन्दै दिनहुँ गालीगलौज कुटपिट गरेर शारिरिक एवं मानसिंक यातना दिने गरेको कैयौं घटना आफुहरुकहाँ आएको उनी बताउँछिन् ।

रेखा दत्त भन्छिन् :
मेरो छोरालाई १० लाख दिने थियो तेरो बुवाले ५ लाख मात्रै दियो भन्दै मानसिक टर्चर दिँदा महिलाहरु सहन नसकी आत्महत्या गर्ने गरेका छन् । मानिसहरु बैदेशिक रोजगारीमा गएका छन् । लाखौको दाइजो आज पनि तराईमा समस्या बनेको छ । श्रीमान बैदेशिक रोजगारीमा गएका महिलाहरु घरपरिवारबाट बढी तनावमा पर्ने गरेका छन् । घरमा आईपर्ने कामकाज देखि लिएर श्रीमानले बिदेशबाट पठाएको पैसा झिक्नसम्म तराईका महिलाले चिनजानका अन्य पुरुषको सहारा लिन्छ । घरपरिवार र समाजले बिभिन्न लालञ्छना लगाई मानसिक रुपमा टर्चर दिन्छन् । यसले पनि महिलाहरुलाई आत्महत्या गर्न बाध्य बनाउँछ ।
तराई मधेशमा बहुविहाह पनि आत्महत्याको कारण बनेको देखिन्छ । महिलाले छोरी मात्र जन्माएका कारण पनि अपहेलित हुने अबस्था छ । मधेशमा महिला आत्महत्या गर्ने अर्को प्रमुख कारण भनेको भुरुणहत्या पनि हो । घर परिवारले छोरी भुरुणमा रहेको थाहा पाएपछि महिलाले नचाहदै नचाहदै गर्भपतन गराउन दवाव दिन्छ । अन्ततः उनी मन नहुदाँ नहुदै गर्भपतन गराउन बाध्य हुन्छिन् । यसबाट महिलामा पर्ने मानसिक असर आत्महत्याको तहमा पुग्छ । सानो उमेरमै भागेर विवाह गर्ने प्रवृति मधेशमा बढेको छ । यसले पनि आत्महत्यालाई भित्राएको देखिन्छ । प्रेमका बेला खिचिएका अस्लील भिडियो र फोटो पनि कुनै बेला आत्म हत्याको कारण बन्न गएको पाइन्छ ।

शिक्षक राम सेवक महतो भन्छन् :
छात्र छात्राले आत्महत्या गरेको कुनै नौलो विषय होइन । सालै पिच्छे आत्महत्याका घटना भयावह बन्दै गइरहेको छ । आत्महत्या किन बढ्दैछन भनेर खास अनुसन्धान भएको छैन । केटा –केटी प्रेम गर्छन् । तर, अधिकास केटाले धोका दिएपछि केटीले आत्महत्या गर्दछन् । कतिपय अवस्थामा छात्रछात्राले स्कूलमै आत्म हत्या गरेको पाइन्छ । पढाईमा कमजोर भई परिक्षामा अनुतिर्ण हुने निकै सम्भावना हुन्छ । यदाकदा विद्यार्थी फेल भएपछि साथीहरुको हेपाइले विद्याथी मानसिक रुपमा विक्षिप्त भएर आत्महत्या गर्छन अभिभावकले किन राम्रो प्रतिफल नल्याएको भन्दै विद्यार्थीलाई दवाव दिदाको अवस्थामा पनि कहिले काही नसोचेको घटना हुनेको पाइन्छ । छोरालाई बोडिंङ पढाउने र छोरीलाई सरकारी विद्यालयमा पढाउदाँ असन्तुष्टि भएर छोरीहरुले आत्महत्या गर्ने गर्छ ।

पत्रकार श्यामसुन्दर शशी भन्छन् :
श्रीमान बैदेशिक रोजगारीमा गएपछि श्रीमतीले प्रेमी बनाएर परपुरुषसंग राख्ने अनैतिक सम्बन्धले आत्महत्याका घटना बढेको मैले बुझेको छु । आफ्नो श्रीमतीले परपुरुषसँग अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि कमजोर आत्मबल भएका पुरुषले आत्महत्या गर्छन् । कतिपय अवस्थामा परपुरुषसंगको अनैतिक सम्बन्ध वैदेशीक रोगजारीमा गएका श्रीमानले थाहापाएपछि पनि महिलाले मानसिक रुपमा विक्षिप्त भएर आत्महत्या गर्ने गर्छिन । मैले कतारमा बसेर काम गर्दा पुरुषहरुले वुवाआमा भन्दा श्रीमतीको नाममा कमाएको रकम पठाउने गर्ने गरेको अवस्था पाएँ । श्रीमानले रकम पठाउन जेल सम्म घरमा बस्ने र स्वदेश फर्किने एक हप्ता बाँकी रहदाँ परपुरुषसँग भागेर जाने अवस्था पनि देखिएको छ । जब छोरा छोरी छाडेर श्रीमती अर्कैसंग गएको पुरुषले थाहा पाउँछ, उसले विदेशमै आत्महत्या गर्ने गरेको घटना पनि छन् ।

साहित्यकार डा. राजेन्द्र विमल भन्छन् :
जीवन जीउनु भन्दा मानिसले जब मृत्यु नै प्यारो र आनन्दित ठान्छन् तब आत्महत्या गर्छन् । त्यो समाजिक, आर्थिक, राजनीतिक, साँस्कृति कारण किन नहोस् । अहिले समाजिक, आर्थिक, साँस्कृतिक जस्ता क्षेत्र कुनै रुपले पनि उत्साह जनक अवस्थामा छैन । युवा अवस्थाका केटा भन्दा केटी बढी आत्महत्या गर्छन । यातनाले मानसिक रुपमा पीडित भएका युवाती आत्महत्या गर्छिन् । न समाज पूर्णरपमा परम्परागत छ न त आधुनिक नै भएको छ । बीचको भुलभुलैमा समाज रुमलिएको छ । नयाँ पुस्ता आधुनक बन्न अघि बढ्छन् भने पुरानो पुस्ताले खुट्टा समातेर पछाडी तानिदिने गरेका छन् । केटाकेटी अन्तर जातीय प्रेम विवाह गर्दा नयाँ पुस्ता स्वागत गर्दछ, पुरानो पुस्ता फलानोको छोरी–छोराले वुवा–आमाको नाकै कटाए भन्छ । यो समाजमा समस्या बन्छ । अपमानको जीन्दगी उराठलाग्दो भएपछि उनी मृत्यु प्रति प्रफुलित हुदैं आत्महत्या गर्छन् । खुल्ला समाजमा आत्महत्या कम हुन्छन् ।

समाजमा भ्रष्ट व्यक्तिहरुकै हाली मुहाली छ । पढेलेखेका राम्रो मान्छेहरुको मुल्य छैन । खराब मानिहरुको भेलु समाजले सुनिरहेको अवस्था छ । यसले नैराश्यता बढाएको छ । हिन्दीमा एउटा भनाइ छ, ‘जीतना बढा वैमान , उतना बडा मकाम’ जस्ता भ्रष्टाचारी प्रवृत्ति छ । राम्रो काम गर्नेहरु कहिले अघि बढ्न सकिरहेका छैन । समाजले उसालाई ढवाएर राखेको छ ।

समाजलाई रोलमोडल दिन सकिएको छैन । समाज कस्तो बनाउने ? बारे कसैले सोचेका छैनन् । जीवनमा पाँच चिजको अवश्यकता मान्छेलाई पर्दछ । त्यो भनेको पैसा, पावर, सम्मान, पद र उच्च शिक्षा नै हो । यो भन्दा अरु कुनै चिज म देख्दिनँ ।

सप्तरीका वरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झा भन्छन् :

सामान्य तथा चार जनामा एक जना मानिस कुनै न कुनै रुपमा मानसिक समस्याबाट पीडित हुन्छ । एकसय देखि दुई सयको बीचमा केही कडा मानसिक रोगी भेटिन्छन् । समुदायमा काम गर्ने स्वास्थ्यकर्मीलाई मानसिक रोग बारे सरकारले तालिमको व्यवस्था गर्नुपर्छ । गाँउघर देखि स्वास्थ्य संस्थामा आउने विरामीलाई लक्षण र चिन्हको आधारमा मानसिक रोगी हो –होइन पहिचान गर्नुपर्छ । अहिले त मानसिक रोगबारे धेरै स्वास्थ्यकर्मीहरुलाई थाहा छैन । किन भने सरकारले यस सम्बन्धमा तालिम नै दिएको छैन । मानसिक रोगको बारेमा मावि निमावि स्तरका स्वास्थय शिक्षाको पाठयक्रममा विशेष रुपमा लागु गर्नु पर्छ । विद्यालयमा स्वास्थ्य शिक्षा अध्यापन गराउने शिक्षकलाई पनि मानसिक रोगको बारेमा तालिम दिई जानकारी गाराउनु पर्छ । खास गरेर स्वास्थ्य संघ संस्था, स्कूल, क्लवहरु मिलेर मानसिक रोग बारे समुदायका मानिसहरुलाई जानकारीको लागि सेमिनार गोष्ठी जस्ता कार्यक्रमको गाँउस्तर सम्म लानुपर्छ । स्थानीय एफएम रेडियोबाट मानसिक रोगबारे सूचनामुलक सन्देश प्रसारगर्न सरकारले नीति लिनु पर्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल