वैद्यलाई सहयोद्धाको इमोशनल ‘डिभोर्स’ पत्र

-  |   रामदीप आचार्य

वैद्यलाई सहयोद्धाको इमोशनल ‘डिभोर्स’ पत्र

आदरणीय अध्यक्ष कमरेड लालसलाम,

लामो प्रतिक्षा गरेँ, स्थगित केन्द्रीय समितिको वैठक संचालन होला भनेर । बारम्वार तपाईंको विद्युतीय परिपत्र वैठक स्थगित भनेर मात्र आयो । सभामुखले सूचना टाँस गरी संसद वैठक स्थगित गरेजस्तै फेरि पनि तपाईंको एकल निर्णयद्धारा केन्द्रीय समितिको वैठक अनिश्चतकालका लागि स्थगित गर्नुभएको परिपत्र विद्युतीय हुलाकले क्षणभरमै मसम्म पुर्रायो । थुप्रै साथीहरुले त्यसलाई फेसवुकको भित्ताहरुमा सेयर गरे । अनलाइनमा समाचार बने र ट्वीट पनि गरिए ।

सडकको बहस पार्र्टीभित्र ल्याउनुपर्नेमा पार्र्टीभित्रको बहस सडकसम्म पुर्राउने काम भयो । पार्टी आन्दोलन र देशमा देखा परेको संकटको समाधान बहस, विधि र सामूहिक रुपमा खोजिनुपर्ने थियो । बिडम्वना, समस्यालाई पर धकेल्ने काम मात्र भयो, जसले पार्र्टीलाई विघटनको दिशातिर लैजादैछ । यस गंभीर स्थितिमा आफुलाई लागेका विषय यस पत्र मार्फत तपाईं समक्ष प्रस्तुत गर्दैछु ।

यसलाई अनुशासनको उल्घंन मान्नुहुने छैन । हुन् त पार्टी विधानमा न त अध्यक्षले एकल निर्णयद्धारा वारम्वार केन्द्रीय समिति वैठक स्थगित गर्नेवारे कुनै प्रावधान छ, न त विद्युतीय पत्र मार्फत यसरी सार्वजनिक बहस गर्ने वारेनै ।

मैले यस पत्रमा तपाईंसँग केही प्रश्न, केही जिज्ञासा र सुझावहरु राख्ने छु, जसले पार्टी आन्दोलन र स्वयं तपाईंलाई पनि राम्रो गर्ने अपेक्षा छ । यहाँको सजिलोको लागि राख्नुपर्ने विषयलाई बुँदागत रुपमा तयार पारेको छु ।

ram deep acharya (4)

१– कमरेड, जनवादी केन्द्रीयता भनेको के हो ?

तपाईंले भन्नुहुनेछ, यति पनि थाहा छैन । हुन त तिमीहरु बच्चै छौ । म लामो समय कम्युनिष्ट आन्दोलनमा योगदान गरेर सिद्धान्तको गहिरो अध्ययन गरेर आएको मान्छु हुँ । जनवादी केन्द्रीयता भनेको लेनिनले प्रतिपादन गरेको संगठन संचालन सम्बन्धी सिद्धान्त हो । यसका चार वटा नियम छन् । यस मध्येको एक प्रमुख नियम, ‘अल्पमतले बहुमतको निर्णय मान्ने छ, तर अल्पमतलाई सम्मान गरिने छ’ भन्ने हो ।

तर, तपाईंले ‘जनवादी केन्द्रीयताको मान्यता तथा अनधिकृत रुपमा पार्टी एकताका लागि एकीकृत माओवादीको मूल नेतृत्वसँग साँठगाँठ गरी कथित १२ बुँदे सहमति गरेको’ भनेर लेख्नुभएको छ । के जनवादी केन्द्रीयताको मर्म भनेको अल्पमतको कुरा बहुमतले मान्नुपर्ने भन्ने हो ? के जनवादी केन्द्रीयता भनेको आफ्नो बहुमत नपुगेसम्म महत्वपूर्ण एजेन्डामा छलफलका लागि बोलाइएको वैठक अनिश्चितकालका लागि स्थगित गरिरहनु हो ? जनवादी केन्द्रीयता आफुले पालना नगर्ने तर, अरुलाई पालना गरियोस भनेर एकताको शर्तका रुपमा थोर्पनु नैतिक बन्न जान्छ ? यसले सिद्धान्तनिष्ट एकता, पद्धतिको पालना र आन्तरिक पार्र्टी एकतामा गंभीर व्यवधान खडा गरेको छ । अध्यक्ष कमरेडलाई मेरो निवेदन छ, १९९ जनाको केन्द्रीय समिति मध्ये १३० भन्दा बढीले व्यक्त गरेको अत्यधिक मत र भावनाको कदर गरियोस ।

२–कमरेड, के सिद्धान्त धर्मशास्त्र हो ?

माक्र्स, लेनिन, माओ कसैले पनि माक्र्सवादी सिद्धान्तलाई पूर्ण, सही र अन्तिम सत्य घोषणा गर्नुभएन । बरु, गतिशिल विचारका रुपमा लिनुभयो, प्रयोग गर्नुभयो । माक्र्स, एंगेल्स आफैले ‘कम्युनिष्ट घोषणा पत्रको मुल सिद्धान्त सही रहेको तर कैयौ विषयहरु असान्र्दभिक भैसकेको’ आफ्नै अनुभवको निचोडमा लेख्नु भएको थियो । लेनिनले माक्र्सवादलाई रुसी माटोमा हुर्काउनुभयो । माक्र्स, एंगेल्सले घोषणा गरेजस्तै पहिला क्रान्ति बेलायत, जर्मनी, फ्रान्स र अमेरिकामा एकै साथ हुँनेछ भन्ने विश्लेषणलाई आदेशको रुपमा पर्खेर बस्नुभएन । सवै भन्दा विकसित देशहरुमा एकै साथ क्रान्ति हुनेछ भन्ने विश्लेषणका विपरित ‘साम्राज्यवादको सवैभन्दा कमजोर कडी भएको देशमा क्रान्ति हुनेछ’ भन्ने नयाँ मान्यता लेनिनले अगाडि सार्नुभयो । तर, गैरमाक्र्सवादी भएर चाहिँ होइन । माओले बारम्वार क्रान्तिलाई आयत र निर्यात नगर्न भन्नुभयो । रुसी क्रान्तिको नक्कल गरेर विद्रोहको आव्हान गर्दा चिनियाँ क्रान्तिले ठूला–ठूला क्षति व्यहोर्नुपर्यो । ‘माक्र्सवाद, लेनिनवादको सार्वभौमपक्ष बोकेर चिनियाँ क्रान्ति चिनियाँ विशेषताको हुनेछ’ माओले बारम्वार भन्नुभयो ।

mohan Baidhya

मालेमाका सार्वभौमपक्ष आत्मसाथ गर्दै जुन दिन हामीले नेपाली विशेषतासहितको क्रान्ति गर्नेछौँ, तव मात्र हामी सफल हुनेछौँ । रुसी र चिनियाँ क्रान्तिका सूत्रहरु कण्ठ पारेर, मालेमावादलाई वाइवल, कुरान र गीताजस्तै पवित्र ठान्दै सिरानीमा राखेर, यसलाई थपघट गर्दा नर्कमा पुगिएला कि भनेर डराएर, हाइगेट चिहानबाट माक्र्स रिसाउलान भनेर हामी बस्नु हुँदैन । व्यवहारसँग नगाँसीने हो भने सिद्धान्त उदेश्यहीन बन्न जान्छ, जसरी सिद्धान्तविनाको व्यवहार अध्यारोमा छामछाम–छुमछुम गरेजस्तो हुन्छ । सत्यको कसौटी पनि व्यवहार नै हो । माक्र्सवादलाई पुस्तकालयमा कैद गरिनु हुँदैन । ‘दार्शनिकहरुले विभिन्न तरिकाले दुनियाँको ब्याख्या गरेका छन् । मुख्य कुरा दुनियाँ बदल्नु हो ।’ भन्ने माक्र्सको विश्व प्रसिद्ध प्रस्तावनाबाट दर्शन शास्त्रको उच्च कोटीको अध्येयता तपाईं कमरेड अनविज्ञ हुनुहुन्छ जस्तो लाग्दैन ।
‘माक्र्सवादी दर्शन शास्त्रको सार अन्तरविरोधको नियम हो’ भनेर तपाईंले बारम्वार भन्नुभयो । तर, त्यहीँ नियम संचालन गर्ने मामलामा तपाईं चुक्नुभयो । जहिले पनि तपाईं ‘हो पनि, होइन पनि’ को दोधारमा बस्नुभयो । अकमण्र्यता र अनिर्णयको बन्दी बन्नुभयो । गुणात्मक निर्णय लिन डराउनुभयो । तपाईंको यही दार्शनिक कमजोरीको फाइदा उठाएर पार्टीभित्रका घोर दक्षिणपन्थी, अवसरवादी, पदलोलुपहरुले घिसारेर तपाईंलाई एकता विरोधी क्याम्पमा पु¥याए । यो नेपाली कम्युनिष्ट आन्दोलन मूलत क्रान्तिकारीहरुका लागि दूर्भाग्यपूर्ण छ । फेरि पनि तपाईं ठोस परिस्थितिको ठोस विश्लेषण गर्न चुक्नुभयो, जुन माक्र्सवादको सार कुरा हो ।

३–के तपाईंको नेतृत्व क्षमतामाथि प्रश्न उठेन ?

आफ्नो लामो राजनीतिक जीवनमा तपाईंले दुई पटक पार्र्टीको सर्वोच्च पद सम्हाल्नुभयो । सेक्टर काण्ड अगाडि र बौद्धमा पार्टी विभाजन भएपछि । तितो सत्य भन्नै पर्ने भयो, दुवै पटक तपाईं असफल देखिनुभयो । पछिल्लो पटक पार्र्टीको मुख्य नेतृत्व लिँदा देशभर र बाहिर पार्टीको विशाल संगठनात्मक संजाल थियो । आधासय बढी केन्द्रीय समिति सदस्यहरु साथमा थिए । झन्डै एक सय जना जति सभासद्, अधिकांश जनवर्गीय र मोर्चा संगठनका मुख्य नेतृत्व पनि तपाईंसँगै थिए । तपाईंले आफ्नै नेतृत्वको पार्टी विभाजनलाई रोक्न सक्नुभएन । न त आजको संकट सही समाधान दिने विचार दिनुभयो, न नेतृत्व । पार्टी विग्रनुमा तपाईं सहायक पदमा रहँदा मुख्य नेतृत्वलाई दोषी देख्नुभयो र, मुख्य नेतृत्वमा हुँदा चाहिँ सहायक नेतृत्वमाथि प्रश्न उठाउनुभयो । यो मुल्याङ्कनको दोहोरो मापदण्ड भएन र ? तपाईंलाई जस जसले विश्वास गर्नुभयो, उहाँहरुको भावना तपाईंले बुझ्न सक्नुभएन ।

mohan baidhya
४–क्रान्तिलाई को बाट खतरा, दक्षिणपन्थी कि जडसुत्रवादी ?

जसरी दक्षिणपन्थीहरुले यात क्रान्ति असम्भव छ भनेर यात पूँजीवादीपथलाई क्रान्ति हो भनेर क्रान्तिको गला रेटछन्, त्यसरी नै जडसुत्रवादीहरुले क्रान्तिलाई सूदुर भविष्यको कार्यसूचिमा धकेलिदिएर, मनोगत विश्लेषण गरेर र पार्र्टीलाई जनताबाट अलग थलग गरेर क्रान्तिको बन्ध्याकरण गर्छन । आजको प्रश्नको समाधान हिजोको उत्तरहरुबाट खोज्नु जडसुत्रवाद हो । आजको प्रश्नको समाधान आजको जीवन व्यवहारबाट, बर्गसंघर्षबाट खोज्नुपर्छ । तसर्थ, ‘संसदवादी बन्दिनँ’ भन्नुको अर्थ स्वतः क्रान्तिकारी हुनु होइन ।

कमरेड, तपाईंको बालहठको कारण सम्भवत : मेरो विद्युतीय पत्रसँगै संगठनात्मक सम्बन्ध विच्छेद पनि नजिक हुँदैछ । मेरो दिमागमा उथलपुथल छ । तपाईंको साथ छाड्नुपर्दा नमिठो अनुभूति हुँदैछ । जिन्दगीको सवै उर्जाशिल समय चाहे युद्धमा होस्, चाहे शान्तिमा, तपाईंहरुकै नेतृत्वमा व्यतित् गरेका छौँ । हाम्रो दिमागका प्रत्येक कुनामा, हाम्रो जीवनमा प्रत्येक पाइलामा, हाम्रो मुटुको प्रत्येक चालमा यतिसम्म कि हामीले भोगेको यातनाका प्रत्येक लठ्ठीहरुमा तपाईंहरु हुनुहुन्छ, जसले जनयुद्धको नेतृत्व गर्नुभयो । हामी चाहन्थ्यौँ, प्रचण्ड, किरण, बादल, बाबुरामसँगै रहुन् । तपाईंहरुलाई माया पनि सँगै गर्न पाइयोस र गाली–आलोचना पनि ।

सहीदहरुका लाशमाथि थुप्रै झारहरु उमे्रका होलान । तर, वेपत्ताका हड्डीहरु कता फर्केका होलान ? सोच्नुभएको छ । सग्लो शरीर भएका जनयोद्धाहरु अरव, कतारमा होलान । तर घाइते अपांगहरुको जिन्दगी कस्तो अबस्थामा होला ? कल्पना गर्नुभएको छ । जनयुद्धमा टुहुरा भएकाहरु त जवान भएका होलान । काख रित्तिएकाहरुको अबस्था कस्तो होला ? के हाम्रो सिद्धान्त र अडानले यीनका वारेमा केही बोल्ने कष्ट गर्ला ?

अन्तमा : आदरणीय कमरेडलाई मेरो निवेदन छ, जोखिमपूर्ण यात्रासँगसँगै गरौँ । तपाईंकै अगुवाइमा गरौँ । न भए हार्दिकतापूर्वक विदाई होऔँ । सहकार्य जारी राखौँ । साम्यवादसम्मको लामो यात्रामा कुनै न कुनै दिन भेट हुने नै छ । नयाँ यात्राको लागि तपाईंले अगुवाई नगरेकोमा जसरी मेरो मन दुखेको छ, त्यसरी नै साथ छाडेकोमा यहाँले चित्त नदुखाउनुहोला ।

क्रान्तिकारी अभिवादनसहित

लेखक नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हुन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल