रातोपाटी गेस्टरूममा एसिडकाण्डका पीडित संगीता र सीमा : तर पनि सम्हालिएर बाँचिरहेका छौं

रातोपाटी गेस्टरूममा एसिडकाण्डका पीडित संगीता र सीमा : तर पनि सम्हालिएर बाँचिरहेका छौं

संगीता पुलामी मगर र सीमा बस्नेतको जीवनमा १० फागुन, ०७१ त्यस्तो ‘टाइमलाइन’ हो, जसलाई चाहेर पनि बिर्सन सक्दैनन् उनीहरू । परिवारसहित झोछेँको ओडान चोक नजिकै भिन्ना–भिन्नै घरमा बसेर एसएलसीको तयारी गरिरहेका उनीहरूलाई जीवन बिकले ट्युसन सेन्टरमै पुगेर एसिड छ्यापे, जो संगीता बस्ने घरमै बस्ने गर्थे । त्यो घटनाले उनीहरूको अनुहारमात्रै होइन, जीवनको नक्सा नै परिवर्तन गरिदियो । डाक्टर बन्ने सपना बोकेकी संगीता स्वास्थ्यका कारण अहिलेसम्म कलेज जान सकिरहेकी छैनन् । तर पनि उनको सपना मरेको छैन । डाक्टर बनेर बिरामीको सेवा गर्ने अठोट बाँकी नै छ । संगीत क्षेत्रमा लाग्ने सपना बुन्दै गरेकी सीमा भने घटनापछि राजनीतिमा होमिने निर्णयमा पुगेकी छिन् । अहिले ११ कक्षाको परीक्षा तयारीमा जुटिरहेकी उनी फुर्सदमा राजनीतिक गतिविधिमा भाग लिन्छिन् ।

seema sangita acid victim (1)
घटनाको सवा एक वर्षपछि डिस्कभरी न्युज नेटवर्क कार्यालय, भनिमण्डल आइपुग्दा संगीताले आँखामात्रै देखिने गरी सलले टाउको ढाकेकी थिइन् । उनको आँखावरिपरिको आकार पनि सामान्य थिएन । सीमाको पनि अनुहारमा केही खत स्पष्टै देखिन्थे । उनीहरूले ‘रातोपाटी गेस्ट रुम’मा बसेर घटना र त्यसपछिका अनुभूति पालैपालो सुनाए :

संगीता पुलामी मगर

एसएलसी परीक्षा नजिकिइरहेको थियो । गणित र विज्ञानमा कमजोर थिएँ । त्यसैले बिहान ट्युसन पढ्थेँ । ट्युसन क्लास पाँच बजे नै सुरु हुन्थ्यो । तर त्यस दिन म पुग्दा साँढे पाँच भइसकेको थियो । त्यतिबेलसम्म पनि कक्षाको ढोका खुलेको थिएन । अरू साथी पनि आएका थिएनन् । एकैछिनमा हिमु आइपुगिन् । केही बेर बसेपछि उनले भनिन्, ‘सर आउनुभएन । मन्दिरतिर जाऊँ ।’
उनको कुरा मान्दै हामी नजिकैको ‘सानो पशुपति‘ गयौं । केहीबेर घुमेर आउँदा पनि कोही थिएनन् । म त्यहाँ निकै पहिलेदेखि ट्युसन पढ्ने भएका कारण कक्षाको चाबी राख्ने ठाउँ थाहा थियो । त्यसैले खोलेर भित्र बस्यौं । कक्षामा अँध्यारै थियो, त्यसैले त्यहाँ भएको ‘रिचार्जेबल लाइट’ बाल्यौं । एकैछिनमा सीमा पनि आइपुगिन् । sangita (3)उनले ‘एकाउन्ट’को हिसाबबारे सोध्दै थिइन्, त्यति नै बेला ढ्याङ्ग ढोका खुल्यो र एक्कासी मेरो अनुहार र जीउभरी पानीजस्तै केही छ्यापियो । म त आत्तिएँ । एकैछिनमा पोल्न थाल्यो । अनुहारबाट त धुवाँ आएजस्तो लाग्न थाल्यो । सीमाको पनि अनुहारमा परेछ । हिमुलाई चाहिँ थोरै परेको थियो । म रुन थालेँ, त्यसपछि सीमा र हिमु पनि रुन थाले । सीमा आत्तिदै घरतिर दौडिन थालेपछि म पनि दौडिएँ ।
घर पुग्दा धेरै नै आत्तिइसकेकी थिएँ । ज्याकेट बाटैमा फ्याँकेर दौडेकी थिएँ । ‘पोल्यो, पोल्यो’ भनेको भएर आमाले पानी हालिदिनुभयो । त्यसपछि त झनै पोल्न थाल्यो । मलाई असैह्य भएपछि अस्पताल लगिएछ । त्यसपछि म कति समय बेहोस भएँ थाहा नै भएन ।

होसमा आउँदा पूरै कालो भएको थियो अनुहार । पाखुराको मासु खसेको थियो । घाँटी, छाती र गोडामा पनि धेरै नै असर परेको थियो । पहिले वीर अस्पताल लगिएको थियो, त्यहाँबाट काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाइयो । त्यहाँ करिब तीन महिना बस्नुपर्यो । अहिले पनि स्वास्थ्यमा समस्या छ । रुघा लागेको बेलामा स्वास फेर्न निकै गाह्रो हुन्छ । जलेका ठाउँ धेरै कडा भएका कारण अपरेसनहरू रोकिएको छ । आँखा, नाक र कान मिलाउनुपर्छ भनेर डाक्टरले भनेका छन् । तर सर्जरी हुन सकिरहेको छैन । समय–समयमा घाउ भइरहन्छ । सुत्दा दायाँ फर्किन गाह्रो हुन्छ ।

मानिसहरूले मलाई जसरी हेर्छन्, त्यो देखेर नै डर लाग्छ । हस्पिटलमा कतिले यस्तो रूप हुनुभन्दा त मरेको भए बेस हुन्थ्यो भनेर भनेछन् । त्यसबेला आमा रुनुभएको थियो ।

०००

लामो समयपछि हामीमाथि अपराध गर्नेलाई प्रहरीले पक्राउ गर्यो र उसले सजाय पनि भोगिरहेको छ । तर दुःख लाग्दो कुराचाहिँ अहिलेसम्म पनि घटनाबारे जति कुरा बाहिर आइरहेको छ, त्योचाहिँ अपराधी प्रमाणित भइसकेको मानिसकै बोलीमा मात्रै आइरहेको छ । त्यही कुरामात्रै ‘हाइलाइट’ भइरहेको छ । हामी पीडित हौं, तर पीडितको भनाइचाहिँ के हो भनेर कसैले पनि सोधेका छैनन् । सोधे पनि अहिले कस्तो छ, अब के गर्ने भन्नेमात्रै सोधिन्छ, खासमा त्यो घटनामा के भएको थियो भनेर सोधिँदैन । त्यसैले अझै पनि सत्य कुराचाहिँ लुकेर नै बसेको छ । अपराधीले त आफ्नो अपराध लुकाउन वा सजाय कम गराउन जे पनि भन्न सक्छ, त्यही कुरालाई उचालिदिँदा हामी वास्तविक पीडितले चाहिँ सधैँ पीडाको अनुभूति गरिरहनु परेको छ ।
जीवन बिकले मसँग प्रेम सम्बन्ध थियो भनेर सार्वजनिक रूपमै भनेको छ । तर कसैले पनि यसबारे मेरो मत बुझ्न खोजेनन् । खासमा त्यस्तो कुनै सम्बन्ध नै थिएन । त्यो कुरा पूरै बनावटी हो । एउटै घरमा बस्ने भएका नाताले भएको सामान्य बोलचालबाहेक अन्य कुनै सम्बन्ध उसँग थिएन । वास्तवमा ऊ पनि धेरै बोल्ने स्वभावको थिएन । सोझोजस्तो लाग्थ्यो । अहिले मलाई त्यो मान्छेमात्रै होइन, जो कोही सोझो खालको मान्छे देख्यो कि ‘लास्टै’ डर लाग्छ । बाहिर सोझो देखिने मान्छे भित्रबाट अर्कै भावनाको हुन्छ कि झैं लाग्छ ।

उनीहरू हामी बसिरहेको घरमा कहिलेदेखि बस्न आए त मलाई याद छैन । तर आएको केही समयमात्रै राम्रोसँग बोलचाल भएको थियो, उनीहरूको परिवार र त्यस घरमा बस्ने अरू मानिसहरूबीच पनि । उनीहरूको परिवारमा जीवनको दिदी र भाइबाहेक अरूचाहिँ अलि झगडा गर्ने बानी भएका रहेछन् । स–साना कुरामा पनि झगडा गर्न तम्सिहाल्थे ।

sangita (2)

घरमा तीन तला र सात वटा कोठा थियो । सबैको ट्वाइलेट एउटै थियो । त्यसैले ट्वाइलेटको पालो र ट्वाइलेट गइरहेको बेला ढोका ढक्ढक् गरेको निहुँमा झगडा भइरहन्थ्यो ।

त्यसै सन्दर्भमा मेरो भाइसँग पनि जीवनको झगडा परेको थियो । जीवन ट्वाइलेट गएको बेला मेरो भाइले ढोका ढक्ढक् गरेछ । त्यसपछि निस्केर उसले मेरो भाइलाई हातपात गरेछ । घरमा बस्ने अर्को दाइ सुजनले छुट्याउन जाँदा झन् हल्लाखल्ला भएछ र चोकसम्म हल्ला फैलिएछ । त्यसपछि उल्टै उनीहरूले नै पुलिस बोलाएर चौकी लगेका थिए । उनीहरूले चाहिँ मेरो भाइलाई मात्रै पुुलिसले थुन्ला भन्ने सोचेका रहेछन् । तर जीवनलाई पनि लगेर थुन्यो । त्यसपछि उसले ‘तिमीहरूको परिवारलाई नै सकाउँछु’ भनेकोे थियो । तर हामीले वास्ता गरेनौं । त्यस्तो झगडा भएपछि हामी उनीहरूसँग राम्ररी बोल्दैनथ्यौं पनि ।

 झुटो कुरा नै बाहिर आइरहेको छ । यस्ता कुरा मिडियाले केही बुझेर लेखिदिएको भए हुन्थ्यो भन्ने लाग्छ । किनकि त्यहाँ चोकमा गएर सोध्दा थाहा भइहाल्छ कि कसको व्यवहार कस्तो थियो भनेर । तर त्यति दुःख पनि नगरिदिँदा हामीलाई पीडामाथि पीडा भइरहेको छ ।

अर्को कुरा, जातीय भेदभाव गरियो भनेको छ । एक त मलाई त्यस्तो जातको कुनै मतलव नै लाग्दैन । हामी साथीहरू धेरै जातका छौं । मिलेकै छौं । त्यो त एउटा कुरा भयो, मलाई त त्यो घटना हुन्जेल पनि उसको जात थाहा थिएन । त्यहाँ उनीहरूले खड्का हौं भनेका थिए । त्यसैले हस्पिटलमा प्रहरीले सोध्दा पनि झगडा परेको वा नराम्रो भएको कोही छन् वा कसैप्रति शंका छ भन्दा मैले जीवन खड्काको नाम लिएकी थिएँ । त्यही भएर प्रहरीले पनि जीवन खड्कालाई नै खोजेको थियो । पछि पक्राउ परेपछि पो ऊ बिक रहेछ भन्ने मलाई थाहा भयो ।

मैले उसको नाम पनि धेरै पछि लिएकी थिएँ । किनकि ऊ त्यसबेला त्यहाँ थिएन । इन्डियन आर्मीमा गएको छ भन्ने हल्ला थियो टोलमा । तर पनि हाम्रो कसैसँग झगडा नपरेको कारणले उसमाथि शंका गरेकी थिएँ ।

उसले पछिल्लो अदालतको बयानसम्म आइपुग्दा मलाई पाँच वर्ष ट्युसन पढाएको भनेको छ । तर उनीहरू त्यो घरमा बसेकै पाँच वर्ष भएको थिएन । मैले उसँग एक दिन पनि ट्युसन पढेकी थिइनँ । म बाहिर नै ट्युसन कक्षा लिन्थेँ र स्कुलमा कोचिङ कक्षा चलिरहेको थियो । त्यसैले मलाई फुर्सद पनि थिएन । उसले ममीसँग मलाई पनि ट्युसन पढाइदिन्छु चाहिँ भनेको थियो रे । तर मैले पढेको थिइनँ । त्यो पनि झुटो कुरा नै बाहिर आइरहेको छ ।

यस्ता कुरा मिडियाले केही बुझेर लेखिदिएको भए हुन्थ्यो भन्ने लाग्छ । किनकि त्यहाँ चोकमा गएर सोध्दा थाहा भइहाल्छ कि कसको व्यवहार कस्तो थियो भनेर । तर त्यति दुःख पनि नगरिदिँदा हामीलाई पीडामाथि पीडा भइरहेको छ ।

sangita (1)

हामी उसले भनेजसरी भन्न पनि सक्दैनौं । उसले त मिडियामा कथा भनेजसरी सबै मिलाएर भनेको छ । त्यसैले कतिलाई त्यो कुरा नै सत्य लाग्दो होला । आफू पीडित भएर पनि आफ्नो कुरा बाहिर नआउँदा अझ पीडा हुँदोरहेछ ।

०००

अहिले म घरमै बस्छु, टिभी हेर्छु । काम पर्यो भनेमात्रै बाहिर निस्कन्छु, नत्र हत्तपत्त निस्किन्न । मानिसहरूले मलाई जसरी हेर्छन्, त्यो देखेर नै डर लाग्छ । हस्पिटलमा कतिले यस्तो रूप हुनुभन्दा त मरेको भए बेस हुन्थ्यो भनेर भनेछन् । त्यसबेला आमा रुनुभएको थियो । मलाई अहिले पनि मानिसले त्यस्तो भन्छन् कि भनेर डर लाग्छ । त्यसैले जति नै सम्झाए पनि कहिलेकाहीँ निकै निराशा लाग्छ । यस्तो नभएको भए कहाँबाट कहाँ पुगिसक्थेँ हुँलाजस्तो लाग्छ । तर पनि सम्हालिएर बाँचिरहेकी छु ।

घटनाअघि जति पनि मिल्ने साथीहरू थिए, उनीहरूले फरक व्यवहार गरेका छैनन् । अहिले उनीहरू कलेज जान्छन्, काम गर्न थालेका छन् । त्यसैले भेटिरहन भ्याउँदैनन् । तर उनीहरूको व्यवहार भने परिवर्तन भएको छैन । फुर्सद भएको बेला भेट्छन्, कुराकानी गर्छन् । त्यसले पनि मलाई आत्मबल दिएको छ । अस्पतालमा हुँदा पनि धेरै साथी भेट्न आएका थिए । मेरो मिल्ने साथी शर्मिला तिमल्सिना त धेरैपटक आएकी थिइन् । त्यसले पनि मलाई निकै हौसला दिएको थियो ।
अहिले सोच्छु, जीवनसँग मेरो केही सम्बन्ध थिएन । तर पनि उसले मलाई बिगार्न खोज्यो । त्यसैले उसका अगाडि केही गरेर देखाउँछु भन्ने लागिरहन्छ ।

seema sangita acid victim (2)

सीमा बस्नेत

एसएलसी परीक्षा नजिकिइरहेको थियो । त्यसैले म बिहान सबेरै उठेर पढ्थेँ । ट्युसन क्लास पनि पाँच बजे नै सुरु हुन्थ्यो । त्यस दिन डेरा गरी बसेको घरमा पानी आउने पालो पनि थियो । पानी भरेँ । त्यसपछि ट्यूसनका लागि हिडेँ । पाँच मिनेटजति हिँडेपछि ट्युसन सेन्टर पुगिन्थ्यो । तर त्यहाँ पुग्दा कक्षामा बत्ती नै बलेको रहेनछ । त्यसैले फेरि फर्केर कोठामा गएर केही बेर पढेँ । छ बजे फेरि ट्युसन सेन्टर पुगेँ । बत्ति बलिरहेको थियो । संगीता र हिमु कक्षामा थिए । मैले संगीतलाई सोधें, ‘आज सर आउनुहुन्न संगीता ?’

‘खै हामीलाई पनि थाहा छैन । हामी पनि पर्खिरहेको । बस न ।’, संगीताले भनिन् ।

seema (2)
सर नआउन्जेल मैले ‘एकाउन्ट’को जर्नल भर्न ‘प्राक्टिस’ गरेँ । नआएको कुरा संगीतालाई पनि सोधिरहेको थिएँ । त्यति नै बेला हुक र मास्क लगाएको केटाले ढ्याङ्ग ढोका खोल्यो । ह्वात्तै पानीजस्तो केही हुत्यायो । संगीता ढोकाको छेउमै थिइन् । उनीलाई धेरै पर्यो । मलाई पनि अनुहार र हाततिर पर्यो । हिमु ढोकाबाट अलि छेलिएकोले कम पर्यो ।

होली आउन लागेको थियो, त्यसैले कसैले लोला हान्यो कि जस्तो लाग्यो । तर सोचेँ, ‘यति बिहानै नचिनेको मान्छेले ट्युसन सेन्टरमा कस्ले लोला हान्यो होला त ?’

एकैछिनपछि त पोल्न थाल्यो । पोल्न थालेपछि हामी रुन थाल्यौं । अनि मलाई एसिड हो भन्ने थाहा भइहाल्यो । हिन्दी च्यानलका कार्यक्रम हेरेर मैले एसिड आक्रमणबारे थाहा पाएकी थिएँ । त्यसपछि आत्तिएर म घरतिर दौडिएँ । घरमा पुगेर मलाई ‘एसिड हान्यो’ भनेर रोएँ । तर ममीलाई एसिड भनेकै थाहा रहेनछ । घरवरपरका सबै मानिस आत्तिएँ । कसैले गोलभेंडा दलिदिन गालेँ, कसैले मञ्जन । मैले हत्त न पत्त ऐना हेरेँ । रातो भएको थियो । तर धन्न मेरो अनुहार बचेछ भन्नेचाहिँ सोचेँ । धेरै पोल्न थालेपछि वीर अस्पताल लगियो । त्यहाँ पुग्दा संगीताको परिवार पुगिसेकेको रहेछ । उनीको आमासँग मेरो चिनजान थियो । तर संगीता उहाँकी छोरी हो भन्नेचाहिँ थाहा थिएन । त्यहीँ थाहा भयो ।

seema (1)
अस्पतालमा पुगेपछि धेरै साथी आएका थिए मलाई भेट्न । साथीहरू रोएको देखेर मैले नै उल्टो सम्झाएँ, ‘मलाई के भएको छ र ?’ अनि मैले सोध्थेँ, ‘मेरो फेस बिग्रेको छ हो ?’ उनीहरू पनि मलाई सान्त्वना दिँदै भन्थे, ‘होइन, केही भएको छैन । तिमीलाई ठिक हुन्छ ।’

नेपाली पढाउने ‘म्याम’ले मेरो परिचय सबै साथीहरूलाई गराउनुभयो । त्यसपछि साथीहरुले पनि चिने ‘एसिड काण्ड’मा परेकी’ सीमा बस्नेत भनेर । त्यसपछि त सबै साथीहरु बोले । पहिलो दिन नै रमाइलो भयो । अहिले पनि मैले राम्रो व्यवहार पाइरहेकी छु ।

म अस्पतालमा ३७ दिन उपचार गरेपछि घर फर्किएँ । अहिले घामबाट जोगिनुपर्छ, नत्र एलर्जी हुन्छ । अरू त खासै समस्या छैन ।
०००

म अहिले नोबल एकेडेमीमा पढिरहेकी छु । पहिलो दिन कलेज जाँदा भने मलाई निकै डर लागिरहेको थियो । मेरो अनुहार यस्तो भएको कारण कोही पनि बोल्दैन होला, मेरो नजिक कोही पनि आउँदैन होलाजस्तो अनुभूति भइरहेको थियो । जब म कलेजको कक्षाकोठामा गएँ । पहिलो कक्षा नेपालीको थियो । नेपाली पढाउने ‘म्याम’ले मेरो परिचय सबै साथीहरूलाई गराउनुभयो । त्यसपछि साथीहरुले पनि चिने ‘एसिड काण्ड’मा परेकी’ सीमा बस्नेत भनेर । त्यसपछि त सबै साथीहरु बोले । पहिलो दिन नै रमाइलो भयो । अहिले पनि मैले राम्रो व्यवहार पाइरहेकी छु । seema (4)
०००

जीवन बिकले प्रेम सम्बन्ध भएको र त्यसपछि जातीय विभेदका कारण सम्बन्ध टुटेर त्यसको प्रतिशोधमा एसिड हानेको भनेर भनेको छ । तर संगीता त भर्खर एसएलसी दिने उमेरको थिइन् । त्यसैले प्रेमको कुरा नै थियो भने पनि संगीताले परिपक्व निर्णय लिन सक्ने उमेर नै भएको थिएन । त्यसमाथि पनि संगीताले त त्यस्तो कुनै नजिकको सम्बन्ध नै नरहेको भनिरहेकी छिन् । यदि जातीय विभेदका कारण त्यस्तो भएको भए पनि कानुनी बाटो थियो । यसरी अरूको जीवन नै बर्वाद पार्ने सोच्नु भनेको अपराध नै हो । अझ एउटाको निहुँमा अर्कोलाई पनि चोट पुग्ने काम गर्नु भनेको त धेरै नै अपराधी काम हो भन्ने मलाई लाग्छ ।

मैले राजनीतिमा लाग्ने अठोट गरेकी छु । अस्पतालमा रहँदा मलाई लाग्यो– नेपालमा बालबालिका र महिला निकै पीडित छन् । उनीहरूमाथि हिंसा त भइरहेको छ नै, त्यो हिंसा हो भनेर बुझ्ने चेतना पनि कतिपयमा छैन ।

तर मैले यसलाई मान्छेको जीवनमा धेरै घटनामध्ये एकको रूपमा लिएकी छु । मेरो अनुहारमा अहिले पनि दाग छ । तर मेरो अनुहार यस्तो थियो भनेर बसेर हुँदैन । यो समाजमा केही गरेर देखाउनुपर्छ भन्ने लाग्छ । जसरी एउटा घटनामा पीडित भएर नेपालमा जसरी चिनियो । अवचाहिँ विश्वमै केही गरेर इतिहासमै केही नाम लेखाउन चाहन्छु । यो दुर्घटनालाई अवसरको रूपमा अघि बढाउन चाहन्छु ।

seema (3)
त्यसैले मैले राजनीतिमा लाग्ने अठोट गरेकी छु । अस्पतालमा रहँदा मलाई लाग्यो– नेपालमा बालबालिका र महिला निकै पीडित छन् । उनीहरूमाथि हिंसा त भइरहेको छ नै, त्यो हिंसा हो भनेर बुझ्ने चेतना पनि कतिपयमा छैन । त्यसैले आफ्नो अधिकार के हो भन्नेसम्म थाहा छैन । त्यसैले अधिकारको पक्षमा आवाज उठाउन राजनीति गर्नुपर्छ ।
त्यसो त म घटनाभन्दा पहिले पनि स्कुलमा अखिल (क्रान्तिकारी)मा आवद्ध थिएँ । घटनापछि चाहिँ अनेरास्ववियुमा आवद्ध भएकी छु । अहिले अध्ययनमा ध्यान दिएकी छु । तर पनि फुर्सदको बेला राजनीतिक कार्यक्रममा सहभागी हुने गरेकी छु ।

प्रस्तुति : कला अनुरागी
तस्बिर : अशोक दुलाल

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल