सगरमाथा आधारशिविरमा भूकम्प : उनी घाँटीसम्म हिमपहिरोले पुरिए पनि बाँचे

सगरमाथा आधारशिविरमा भूकम्प : उनी घाँटीसम्म हिमपहिरोले पुरिए पनि बाँचे

गौरीशंकर दोलखाका फुर्वाठिले शेर्पा २८ वर्षदेखि हिमाल चढ्नेका लागि रेस्क्यु गाइड गर्दै आएका छन् । २०७२ वैशाख १२ गते भूकम्प जाँदा शेर्पा सगरमाथाको आधारशिविरमा थिए । हिमपहिरोमा मृत्युसँग पौँठेजोरी खेलेका उनले रातोपाटीकर्मी आस्था केसीसँग आफ्नो अनुभव यसरी सुनाए ।

sherpa interview (1)
घाँटीसम्म हिमपहिरोले पुरिए पनि बाँचेँ

गोरखा भूकम्प जाँदा म सगरमाथा आधारशिविरमा थिएँ । त्यहाँ पुगेको चार दिन भएको थियो । भूकम्प जाने दिन हामी क्याम्पमै आराम गरेर बसेका थियौँ । हाम्रो समूहमा ४० जना थियौँ । चीन, अस्टे«लिया, भारतलगायत देशका प्रतिनिधि हाम्रो समूहमा थिए । सबैभन्दा पहिले हामी तीनजना नेपाली साथीहरू हिमाल चढ्ने योजनामा थियौँ ।

त्यो दिन बिहानैदेखि मौसम खुलेको थिएन । म बिहानै उठेर भित्र, बाहिर, भित्र बाहिर गरिरहेको थिएँ । मनमा डर–डर लागिरहेको थियो । म बेचैन भइरहेको थिएँ । बिसन्चोजस्तो भैरहेको थियो । एकछिन बाहिर घुमेर आएपछि जुत्ता नखोली ओछ्यानमा के पल्टिएको थिएँ, हाम्रो क्याम्प हल्लिन थाल्यो ।

Shrerpa-Earthquake-story-4
हिउँका डल्ला खस्न थाले । त्यतिबेलासम्म भूकम्प गएको थाहै थिएन । जुरुक्क उठेर बाहिर हेरेँ । उत्तरपट्टिबाट हिमपहिरो खसिरहेको थियो । ज्यान जोगाउन केही सेकेन्डमात्र समय थियो । नजिकै विशाल ढुंगा थियो । म दौडेर ढुंगासँगै रहेको सानो ओडारजस्तो ठाउँमा लुकेँ । करिब पाँचदेखि आठ सेकेन्डमा म ओडार पुगिसकेको थिएँ ।

हिमपहिरोसँगै चलेको हावाहुरीले त्यसको हावाले केही पर धकेल्यो । चाइनिजहरू पहिले त हाँसिरहेका थिए । पछि सबै चिच्याएको सुनेँ ।

आफ्नै प्रयासमा पुनर्जन्म

हिमपहिरो थामिएपछि मैले आफूलाई नियाल्न खोजेँ । म सामान्य अवस्थामा आउन कम्तीमा दुई मिनेट लाग्यो । म उठ्न खोजेँ । हिउँले मलाई घाँटी–घाँटीसम्म ढाकेको थियो । मैले पहिले आफ्ना हात हिउँबाट बाहिर निकालेँ । अनि लगाइराखेको टी–सर्ट तानेर मुख छोपेँ । अनुहारबाट हिउँका कण हटाएँ । मलाई पुनर्जन्म पाएजस्तो लागिरहेको थियो ।

Shrerpa-Earthquake-story-1
बाहिर हेरेँ । मैले चार/पाँच मिटर पर केही पनि देख्न सकिरहेको थिइनँ । बाहिर अझै पनि हिउँका कण यत्रतत्र उडिरहेका थिए । अघिल्लो दिनमात्र पूजा गर्नका लागि हामीले ढुंगा बटुलेर एउटा मन्दिरको आकार बनाएका थियौं ।

सारा त्यागेर घाइतेको उद्धार

चिनियाँ एक पर्यटक त्यहीँ लुक्न गएका रहेछन् । ढुंगा पल्टेर उनी घाइते भएका थिए । चिच्याइरहेका थिए । उनी पूरै हिउँले पुरिएका थिए । उनको अनुहारमात्र बाहिर देखिएको थियो । मैले उनलाई त्यहाँबाट निकालेर सुरक्षित स्थानमा राखेँ । केही पर अर्की चिनियाँ एक महिला पल्टिरहेकी थिइन् । क्याम्पमा टेन्ट लगाउँदा प्रयोग गरिने रडले उनको घाँटी च्यापिएको थियो । उनलाई पनि उद्धार गरेँ । अझै पर अर्धनग्न एक मानिस हिँउमा पुरिएका थिए । एउटा ठूलो ढुंगाले त्यो मानिसको टाउको च्यापिइरहेको थियो । त्यो ढुंगा बल्ल–बल्ल निकालेँ ।

Shrerpa-Earthquake-story-2
मलाइ गाह्रो भइरहेको थियो । म एकदमै कमजोर महसुस गरिरहेको थिएँ । त्यसैबेला अर्को एक नेपाली साथी आइपुगे । ऊ र म मिलेर अर्धनग्न साथीको उद्धार गर्यौं । उसको एउटा आँखा बाहिर निस्किएको थियो । रगत पनि धेरै बगेको थियो । उसलाई हतार–हतार सुरक्षित स्थानमा पुर्यायौँ ।

sherpa earthquake story 3
बिस्तारै अन्य साथीहरू पनि जम्मा हुन थाले । हामी सद्दे रहेकाहरू मिलेर घाइतेको उद्धार गर्न थाल्यौँ । हाम्रा टेन्टहरू कहाँ पुगे कहाँ । हिउँपहिरोसँगै चलेको हावाले हाम्रा टेन्टमात्र होइन, सामान छारस्ट बनाइदिएको थियो । हतार–हतार एउटा पाल टाँगेर घाइतेको उद्धार र शव बटुल्न थाल्यौँ ।

भारतीयमूलकी अस्ट्रेलियन युवती हिउँले पूरै ढाकिएकी थिइन् । उनका खुट्टामात्र देखिएका थिए । हामीले उनलाई निकाल्यौँ । उनले प्राण त्यागिसकेकी थिइन् । अर्को जापानी पर्यटक अर्कोपट्टि चिच्चाइरहेका थिए । उनलाई साथीहरूले त्यति वास्ता गरेका रहेनछन् । मैले एउटा रेस्क्यु गाइड र मानवीय नाताले उनलाई पनि उद्धार गरेँ । मैले यो नेपाली यो विदेशी भनेर छुट्याउन लागिनँ । जो अगाडि पर्यो उसको उद्धार गरेँ ।

एड्स संक्रमितलाई छुन नमान्दा

पोखराका गोपाल नाम गरेका साथी थिए । उनी पनि चिच्याइरहेका थिए । उनलाइ चोट लागेको थियो । घाउबाट रगत बगिरहेको थियो । उनी एड्स संक्रमित रहेछन्, त्यही कारण उनको रगतबाट आफूलाई पनि एड्स सर्न सक्छ भनेर अरू साथीले उनलाई छुन मानेका रहेनछन् । मैले यस्तो आपतको बेलामा केही सोच्न हुँदैन भनेर उनलाई उठाएँ । उनी हिँड्न नसकेपछि मैले पिठ्यूँमा बोकेर मेडिकल क्याम्पसम्म पुर्याएँ । त्यहाँ जान आधा घन्टा ओह्रालो हिँड्नुपथ्र्याे ।

sherpa interview (2)
धेरै मान्छे घाइतेको उद्धारभन्दा हराएको सामान खोज्ने र अरूको सामान पनि लुकाउने गर्न थालेका थिए । तर, म सामान खोज्न जान सकिनँ । मेरो नैतिकताले त्यसो गर्न दिएन । मैले सामान त पछि पनि जुटाउन सक्छु, मानिसलाई बचाउनुपर्छ भन्ने लाग्यो । त्यस दिन मैले करिब २५ लाखजतिको सामान गुमाएँ । साथीहरूको उद्धार गर्न छाडेर सामान बटुल्न लागेको भए मैले त्यति सामान हराउनुपर्ने थिएन । हाम्रो समूहका पाँजजनाले ज्यान गुमाए । धेरैजना घाइते भए । विश्वका धेरै भन्दा धेरै देशका झन्डा सगरमाथामा फहराउने र विश्वमा शान्तिको सन्देश दिने उद्देश्य लिएर वैशाख १ गते काठमाडौँबाट हिँडेको म ज्यान जोगाएर २० गते काठमाडौँ फर्कें ।

भूकम्पले उठीबास

म हिम पहिरोमा परेँ । यता गाउँमा रहेको घर भूकम्पले भत्काइदिएको छ । अहिलेसम्म कतैबाट केही राहत पाउन सकिनँ । भूकम्पले मेरो गाउँका सबैको उठीबास लगाइदियो ।

sherpa earthquake story 5

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल