एमालेलाई फर्किएर हेर्दा : एमाले प्रतिगमनको वकिल भयो, न्यायाधीश बन्न सक्दैन : अशोक राई

एमालेलाई फर्किएर हेर्दा : एमाले प्रतिगमनको वकिल भयो, न्यायाधीश बन्न सक्दैन : अशोक राई

झन्डै पाँच दशकयता कम्युनिस्ट राजनीतिमा सक्रिय नेता अशोक राई संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता हुन् । ४० वर्ष भन्दा लामो समय एमालेमै बिताएका राईले त्यहाँका आदिवासी जनजाति सबै नेतालाई समेट्न सकेनन् । केही कार्यकर्ता त एमालेमै फर्किए । नेता राईसँग रातोपाटीका लागि रमन पौडेलले गरेको कुराकानी

ashok rai (3)
नेताको भूमिका पदले मात्रै निश्चित गर्दैन । पदले भूमिका दिन्छ तर त्यसले मात्रै भूमिकालाई निश्चित गर्दैन । नेताको राजनीतिक भूमिका आफैँले आफ्नो क्षमता, योग्यता र सक्रियताद्वारा प्रदर्शन गर्ने हो ।

नेकपा एमाले परित्याग गरेर आइसकेपछि मैले मेरो भूमिका विस्तारित भएको महसुस गरेको छु । त्यहाँभित्र म उपाध्यक्ष थिएँ । उपाध्यक्षका रूपमा मलाई दिइएका जिम्मेवारीभित्र म सीमित हुनुपथ्र्यो ।

सीमाभन्दा अलि बाहिर जान खोज्दा अरू साथीलाई दुख्ने वा बिझ्ने पनि हुन्थ्यो । त्यस्तो भइरहेको पनि थियो । एमालेबाट बाहिर आइसकेपछि मैले आफूलाई स्वतन्त्र महसुस गरेँ । स्वतन्त्र ढंगले मैले मेरो क्षमता राष्ट्रिय राजनीतिमा पोख्न सक्छु भन्ने आत्मविश्वासको मानसिकता तयार भयो । र, त्यसले मेरो भूमिकालाई अलि फराकिलो बनाएको महसुस गरेको छु ।

एकतापछि मलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ । राष्ट्रिय राजनीतिमा पार्टीको तर्फबाट भूमिका खेल्न कुनै किसिमको सीमा तोकिएको छैन ।

यस अर्थमा मैले मेची–महाकाली, तराई–पहाड–हिमाल जहाँसुकै र जुन पार्टीसँग हाम्रो आन्दोलनको हितमा काम गर्न सक्ने अवस्था छ ।

एमालेभित्र मेरो भूमिका संकीर्ण हुँदै गएको थियो । किनभने मैले उठाएको विषयलाई पार्टीले अस्वीकार गर्यो । अहिले त त्यसलाई ‘विद ड्र’ नै गरिसक्यो । त्यस्तो अवस्थामा मैले आफ्नो भूमिकालाई त्यहाँ प्रदर्शन गर्न सक्ने अवस्था थिएन । यही कुरालाई प्रस्ट महसुस गरेर म बाहिर आएको हुँ । एमालेभित्र कुनै किसिमको भाव राखेर आएको होइन । सबै नेतासँग मेरो हार्दिकता थियो । कार्यकर्ताले त मलाई अत्यधिक प्रेम गरेको अवस्था थियो । पार्टीभित्र मलाई पोजिसनको हिसाबले सम्मानित पोजिसन दिइएको थियो । सवाल के हो भने मैले जुन दृष्टिकोण अघि सारेँ वा देशलाई जुन दृष्टिकोणबाट लैजानुपर्छ भनेर मैले भने त्यो दृष्टिकोणलाई उहाँहरूले जातिवाद भनिदिनुभयो ।

उहाँहरूले नकारात्मक ढंगले हेरेर पार्टीलाई सच्याउन पनि तयार हुनुभएन । मैले नौबुँदे प्रस्ताव पनि राखेको थिएँ । तर, उहाँहरूले इन्कार गरेपछि मैले सोचेँ, एमालेलाई सच्याउन आफ्नो तागत लगाउने कि आफैँसँग भएको ऊर्जा, क्षमता नयाँ आन्दोलन सिर्जना गर्न लगाउने ।

यी दुई विकल्पलाई छान्नुपर्ने भएपछि दोस्रो विकल्प रोजेँ । एमालेलाई सच्याउनका लागि लडाइँ लड्नु र संघर्ष गर्न मेरो जति ऊर्जा खर्च हुन्छ, त्यो ऊर्जालाई नयाँ आन्दोलन उठाउन लगाएँ भने त्यसको उपलब्धि राष्ट्र र जनताले पाउँछन् भन्ने लाग्यो ।

ashok rai (4)

त्यहाँ म स्वतन्त्र भूमिका खेल्न सक्छु । मेरो भूमिकालाई सीमाबद्ध गर्ने समस्या हुँदैन । स्वतन्त्रतापूर्वक लाग्नका लागि नै मैले छाडेको हुँ । र, मैले त्यो निर्णय अति सही समयमा गर्न सकेँ भन्ने सन्तोष भइराखेको छ । खासगरी अन्तरिम संविधान जारी भइसकेपछि त्यो कुराको पुष्टि भएको छ ।

–मेरो भूमिका संकीर्ण हुँदै गएको थियो
–उहाँहरूले इन्कार गरेपछि मसँग दुई विकल्पमात्रै बाँकी थिए
–उत्कर्षमा छँदा जम्प गरेँ, गरिहाल्यो स्खलन भएपछि सक्दैन
–जसले सुरुमा हतार गर्नुभयो, उहाँहरू चुनावपछि फर्किनुभयो

एमालेमा रहेका आदिवासी जनजाति 

नेकपा एमालेमा आदिवासी जनजातिको मात्रै छैनन् । खस जाति, आर्य, शिल्पी समुदाय, मधेसी, मुस्लिम र साथमा आदिवासी जनजाति पनि छन् । त्यहाँ भएका सबै साथी मप्रति सकारात्मक छन् । उहाँहरूले अहिले पनि मलाई प्रेम र सद्भावका दृष्टिले हेर्नुहुन्छ ।

जहाँसम्म पछिल्लो समय सहकार्य गर्ने सन्दर्भमा चार किसिमका दृष्टिकोण देखिए । एमालेभित्रै बसेर संघर्ष गर्ने सवालमा म दृढतापूर्वक लाग्छु तर एमाले पार्टी त्याग्न सक्दिनँ भन्ने एउटा दृष्टिकोण थियो ।

दोस्रो दृष्टिकोण, परेको बेला पार्टी तोड्नु पनि पर्छ । पार्टी तोड्नुपर्ने हो । यो एमालेले गर्दैन भन्ने प्रस्ट छ । तर, एमाले तोडेर अर्को पार्टी चलाउन सकिँदैन त्यसैले म रहन सक्दिनँ भन्ने थियो ।

तेस्रो दृष्टिकोण, अहिले नै तत्कालै फुटाइहाल्नुपर्यो । ढिलो गर्ने कुरै छैन भन्ने थियो ।

चौथो दृष्टिकोण तोड्नुपर्छ । तर, उत्ताउलो भएर होइन । सकेसम्म हाम्रो दृष्टिकोणलाई अंगीकार गर्छ भने एमालेभित्रै अटाउनुपर्छ । होइन भने नौबुँदे प्रस्ताव अस्वीकार गर्छ भने वातावरण अनुकूल बनाएर निस्कनुपर्छ ।

ashok rai (6)
अन्ततः मेरै दृष्टिकोणले निर्णय लिएँ । तर, तुरुन्तै तोडपर्छ भन्ने साथीहरू जो हुनुहुन्थ्यो उहाँहरू फर्किनुभयो । प्रकृतिको नियम छ । ‘एक्सन इज इक्वेल टु रियाक्सन’ । तपाईं जति धेरै कस्सिएर भित्तालाई हिर्काउनुहुन्छ त्यति नै तपाईंको मुड्कीलाई पनि दुख्छ । जहिले पनि उग्र र चरमपन्थीखालको सोच राख्ने मानिस उत्तिकै छिटो ब्याक हुन्छ ।

जसले सुरुदेखि नै जान्न भन्नुभयो, उहाँहरूले आफ्नो इमानदारी देखाउनुभयो । उहाँहरूलाई जोड पनि गरिनँ ।

जो जानु त पर्ने हो तर पार्टी चलाउन सकिँदैन भन्नुभयो उहाँहरूलाई पार्टी चलाउन सक्ने विश्वास दिएँ ।

किनकि पार्टी विचार र सिद्धान्तले बन्ने हो । जो हामीसँग छ ।

छिट्टै तोडिहालौँ, जाने जान्छन् नजाने जाँदैनन् भन्ने साथीहरूलाई कन्भिन्स गरेँ । र, मेरो दृष्टिकोणअनुसार नै एमाले परित्याग गरिएको हो ।

जो साथीहरू तत्कालै छाडिहाल्नुपर्यो भन्नुभयो उहाँहरू पछिल्लो निर्वाचनको परिणाम आएपछि फर्किनुभयो । मैले त्यसबेलै भनेको थिएँ– कम्तीमा १५ वर्ष संघर्ष गर्नुपर्छ भनेको थिएँ । चुनावको परिणाम आएपछि हतार गर्ने साथीहरूको विचारमा स्खलन आयो । र, फर्किनुभयो ।

उहाँहरूले गल्ती गरेको कुरा महसुस गर्नुभएको छ । तर, व्यक्त गर्न सक्नुहुन्न । मसँग भन्नुहुन्छ । यो संविधान जारी हुनेक्रममा उहाँहरूले भन्नुभयो– हामीले एमालेबाट विद्रोह नगरेर गम्भीर गल्ती गर्यौँ भन्ने कुरा हृदयदेखि महसुस गर्नुभएको छ ।

मान्छेले उत्कर्षमा विचार पुगेको बेला जम्प गर्यो भने गरिहाल्यो । पछि उसको विचार स्खलित भएपछि उसले कोसिस गर्नै सक्दैन । यो त प्रकृतिको नियम हो ।
उहाँहरूले घुटन महसुस गरेर, कुण्ठा बोकेर भए पनि हामीमाथि यति अन्याय भएको छ भने पनि विद्रोहमा आउन सक्ने अवस्था छैन ।
तपाईं निस्किसकेपछि हाम्रो बार्गेनिङ पावर कम भयो । अब हामीलाई कसैले टेर्दैन । सुन्दैन एमाले पूरै पहिचानविरोधी शक्तिका रूपमा फेरियो । एमालेमा जातीय संगठनसमेत बन्द गर्नुपर्ने विचार आएको थियो ।
यतिसम्म थेगेर राखेका छौँ तर यो पनि बन्देज गर्छ होला भनेर गुनासो गर्नुहुन्छ । हामी त केही गर्न नसक्ने अवस्थामा छौँ भनेर निराशा व्यक्त गर्नुहुन्छ ।

हिजो विद्रोही मानसिकता भएको बेलामा त मैले तपाईंहरूलाई एल्क्याइन । कसैलाई उल्क्याएर, फकाएर, लोभ्याएर राजनीतिमा लगाइन मैले । अब तपाईंहरू आफ्नो निर्णय गर्नुस् भनेर मैले सुझाव दिन्छु ।
एमालेमा मेरो ४० वर्ष बित्यो । त्यसप्रति कुनै पश्चाताप छैन । एमाले पार्टी गणतन्त्रको घोषणा गर्ने दिनसम्म प्रगतिशील भूमिकामै थियो । गणतन्त्र घोषणापछि नेपाली समाजलाई समतामूलक बनाएर लैजान, उत्पीडितको मुक्तिका लागि जसरी काम गर्नुपथ्र्यो त्यो गर्न नसकेकोमात्रै होइन नसक्ने मान्यतामा गइसकेको छ ।

ashok rai (7)
प्रयत्न गर्दा गर्दै नसक्ने एउटा कुरा हो । तर, नगर्ने वा नचाहने अर्को कुरा हो । नेपालमा समग्र कम्युनिस्ट सिद्धान्तको सन्दर्भमा कुरा गर्दा नेपाली कम्युनिस्टले माक्सिजमलाई जस्ताको त्यस्तै मेकानिकल्ली लागू गर्न खोजेका छन् । तर, त्यसले काम गर्दैन ।

युरोपमा जतिबेला जातीय राज्य स्थापना भइसकेको थियो । जतिबेला राष्ट्रिय राज्य स्थापना भइसकेका थिए । वा जातीय उत्पीडन प्रमुख विषय थिएनन् । र पुँजीवाद चरम उत्कर्षमा पुगेको बेला माक्र्सले वर्गसंघर्षद्वारा समाजमा आर्थिक समानता कायम गर्ने कुरा गरेका हुन् ।

युरोपेली समाज वर्ण विभाजन भएको समाज थिएन । र, जातिमाथि, भाषामाथि, संस्कृतिमाथि उत्पीडन हुने अवस्था अन्त्य भइसकेको थियो ।

भाषिक आधारमा राष्ट्रिय राज्य बनिसकेका थिए । जहाँ बहुभाषिक स्थिति थियो, त्यहाँ संघीयता आइसकेको थियो । स्वीट्जरल्यान्डजस्तो देशमा संघीयता आइसकेको थियो । त्यस्तो ठाउँमा जन्मिएको माक्सिजम र वर्गसंघर्षबाट परिवर्तनको सिद्धान्तलाई नेपालजस्तो मुलुक जहाँ वर्ण व्यवस्थाले जरोसम्म समातेको छ । जहाँ दुई सय ४६ वर्षदेखि एउटा जाति, भाषा, धर्म, संस्कृति र एउटा क्षेत्र र लैंगिक हिसाबले पुरुषप्रधान रहेको राज्यमा वर्गसंघर्षको नाराबाट परिवर्तन सम्भव थिएन र छैन ।

त्यो कुरालाई १० वर्षको जनयुद्धले देखाइसक्यो । जनयुद्धमा बन्दुक बोक्न युवा यसकारण तयार भए कि, उनीहरूले आफ्नो जातीय मुक्तिको सम्भावना देखे । यो कुरालाई कम्युनिजमले बुझ्नुपर्छ । एमालेले त्यो कुरा बुझ्न अस्वीकार गर्यो । मैले बारम्बार यो कुरा उठाउँदा अस्वीकार गरियो ।

यस्तो स्थितिमा जातीय दंगातिर मुलुक जाने सम्भावना देखियो । त्यो सम्भावनालाई जातीय प्रेम, जातीय समानतातर्फ उन्मुख गर्न नयाँ आन्दोलनको आवश्यकता देखेँ मेले । त्यो आन्दोलनको नेतृत्व गर्न नयाँ पार्टी बनाइयो । त्यस्तै भावना र विचार बोकेका पार्टीलाई संघीय समाजवादी फोरमका रूपमा रूपान्तरिक गरियो ।

ashok rai (5)
एमालेको पछिल्लो समीक्षा :

एमालेको पछिल्लो गतिविधि हेर्ने हो भने बिल्कुल असफलतातिर छ । लोकतन्त्रको नाममा जोकतन्त्र चलिराखेको छ एमालेमा । ठोकतन्त्र चलिराखेको छ । ओलीजीको जे क्षमता हो, त्यही प्रदर्शन गरिराख्नुभएको छ ।

र, यो सरकार हरक्षेत्रमा असफल भएको कुरा मैले भनिरहनु पर्दैन । एमालेको बैठकमै यो कुरा उठिसकेको थियो ।

एमालेको नेतृत्वको कार्यकालमा राज्य पनि कमजोर बनेको छ । नेकपा एमाले अब परिवर्तनको वाहक बन्न सक्दैन । नेकपा एमाले यथास्थिति र प्रतिगमनको वकिल भइसकेको छ ।

यो न्यायाधीश बन्न सक्दैन अब । आफ्नो क्लाइन्टको पक्षमा जस्तोसुकै तर्क गरेर त्यो क्लाइन्टलाई मुद्दा जिताउन तयार छ । एमाले अब सबै जनताको नेतृत्व गर्ने पार्टी हुन सकेन ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल