दलित युवाको कथा : जसले आरानको काम गर्दै पढे र विद्यावारिधि गर्दै छन्

दलित युवाको कथा : जसले आरानको काम गर्दै पढे र विद्यावारिधि गर्दै छन्

संसारकै मुख्य विश्वविद्यालयमा गनिने अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयमा ‘नेपालको राज्य पुनःसंरचना, पहिचानको राजनीति तथा दलित प्रतिनिधित्व’ बारे विद्यावारिधि गरिरहेका मोम विश्वकर्मा दलित समुदायका प्रभावशाली प्राज्ञिक व्यक्तित्व हुन् । गुल्मी, बडागाउँस्थित उपल्लो दजाकोटमा आमा टिकी विश्वकर्मा तथा बाबा नरसिंह विश्वकर्माबाट २०३९ सालमा जन्मेका विश्वकर्मासँग नेपालस्थित संयुक्त राष्ट्रसंघीय निकाय युएनडीपी, युनिसेफ, अनमिन, दलित गैरसरकारी महासंघ तथा जातीय विभेदविरुद्ध अन्तर्राष्ट्रिय मञ्चका विभिन्न पदमा रही सफलतापूर्वक जिम्मेवारी वहन गरेको अनुभव छ । अध्ययनक्रममा विश्वकर्माले अमेरिका, युके, अस्ट्रेलियालगायत अन्य मुलुकमा भएका विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको संघीयता, दलित अधिकारलगायत विषयमा कार्यपत्र प्रस्तुत गर्नुका साथै अन्तर्राष्ट्रिय प्राज्ञिक पत्रिकामा समेत अनुसन्धानमूलक लेख लेख्दै आएका छन् । हाल सिड्नी विश्वविद्यालयमा अध्ययनका साथै अध्यापनसमेत गरिरहेका मोम विश्वकर्मासँग रातोपाटीका लागि अस्ट्रेलियाबाट सीता बिश्वकर्मा  ले गरेको कुराकानीमा आधारित उनको संघर्षशील जीवनयात्रा ।

mom

आरन चलाउँदै विद्यालयमा सधैँ प्रथम

सामन्यतया बाल्यावस्था राम्रै रहे पनि २०५१ मा बाबाको असामायिक निधनले उनको परिवारले चरम गरिबी झेल्नुपर्यो । जसले गर्दा कक्षा ६ पढ्दै परम्परागत बालीघरे काम गर्न बाध्य भएँ । आर्थिक उपार्जनको एकमात्र स्रोत नै बाबा नहुँदा उनलाई बिहान, बेलुका आरनमा भाँडा बनाउने काम गर्नैपर्ने भयो । छिमेकी दाइको सहयोगमा आरनमा भाँडा बनाउने, गोल काट्न जंगल जान पर्ने तथा चाडबाडमा बाली उठाउनसमेत जानपर्ने भएकाले निरन्तर विद्यालयमा उपस्थित हुनसमेत गाह्रो पथ्र्यो । कापी, कलम तथा विद्यालयको शुल्क तिर्नसमेत आर्थिक अभावका कारण उनले कृषि औजार जस्तै हँसिया, स–साना छुरी, खुकुरी बनाएर बिक्री गर्ने र त्यसबाट आएको पैसाले कापी, कलम किन्ने गर्थें । जस्तोसुकै समस्या परे पनि उनी कक्षा १ देखि नै कहिल्यै दोस्रो हुन परेन । सधैँ कक्षामा प्रथम भइरहने भएकाले पनि उनलाई पढाइमा विशेष रुचि रह्यो । एसएलसीमा पनि करिब विद्यालयका ७२ जना विद्यार्थी मध्ये ७० प्रतिशत अंक ल्याई २०५६ मा विद्यालयकै एकमात्र प्रथम श्रेणी प्राप्त गर्ने विद्यार्थी भए भने गुल्मी जिल्लाको दस उत्कृष्ट विद्यार्थीको स्थान हासिल गर्न सफल भए । यसर्थ, चरम आर्थिक अभाव तथा गरिबीमा पिल्सनुपरे पनि लगनशीलताका कारण सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण हो– मोम विश्वकर्मा ।

–आरानको काम गर्दै पढे पनि सधैँ प्रथम
–आफू कार्यरत कार्यालयमा कार्यलय सहयोगीदेखि कार्यक्रम अधिकृतसम्म
–राज्यको पुनःसंरचना, संघीयता तथा दलित न्यायका सन्दर्भमा विद्यावारिधि गर्दै
–जातीय विभेद तथा दलित अधिकारलाई अन्तर्राष्ट्रियकरण
–अस्टे«लियामा समेत जातीय विभेद देखे

संघर्षशील जागिर र कलेज जीवन

आर्थिक अभाव र चरम गरिबीका कारण एसएलसीमा प्रथम श्रेणीमा पास भए पनि कलेज पढ्न सक्ने क्षमता थिएन । तर, गाउँका केही पढेलेखेका अग्रजको सल्लाहमा काठमाडौँमा सानोतिनो जागिर गर्दै पढ्न सकिन्छ भन्ने सल्लाहका कारण ऋण खोजी काठमाडौँ आए पनि सुरुका केही महिना उनका लागि निकै चुनौती पूर्ण रहे । कामको खोजीमा दिनभरि भौँतारिँदै गर्दा दलित विकास उत्थान समितिमा पुगेर सरकारी छात्रवृत्तिका लागि पहल गरे पनि नातावादका कारण पाउन सकिनँ । तर पनि विकास समितिको निरन्तर आवातजावत भने उनका लागि सफलताको कडी बन्यो । जहाँ दलित गैरसरकारी संस्थामा सक्रिय एक सदस्यसँग भेट भयो । उनीमार्फत दलित गैरसरकारी संस्था महासंघमा कार्यालय सहयोगीको काम मिल्यो । कार्यालय सहयोगीका रूपमा सामान्य काम गर्न परे पनि उनलाई बिस्तारै अन्य कार्यक्रमसम्बन्धी जानकारी लिने र सिक्ने मौका प्राप्त भयो, जस्ले सो संस्थामा उनलाई कार्यक्रम अधिकृत तहसम्मको बढुवाको बाटो खोल्यो ।

mom2

यो जागिर नै यस्तो महत्वपूर्ण रह्यो कि जसले उनलाई काठमाडौँमा खान, बस्न र कलेजको पढाइलाई निरन्तरता दिन सजिलो भयो । पढाइमा सधैँ प्रथम भइरहने तथा एसएलसीमा समेत प्रथम श्रेणी हासिल गरेका कारण कलेजमा विज्ञान विषय लिई अध्ययन गर्ने रुचि भने पूरा हुन सकेन । जसकारण उनले जागिर र पढाइको समय व्यवस्थापन गर्दै अंगे्रजी साहित्य लिएर आईए, बीए पास गरे । जसले उनलाई संयुक्त राष्ट्रसंघमा जागिर प्राप्त गर्ने बाटो तय भएको थियो । दलित गैरसरकारी संस्था महासंघको करिब पाँच वर्षको अनुभव तथा अध्ययन योग्यताका कारण युनिसेफमा काम गर्ने अवसर प्राप्त भयो । युनिसेफपश्चात् अनमिन तथा युएनडीपीमा करिब पाँच वर्ष विभिन्न तहमा सेवा गरेपश्चात् उनमा थप अध्ययन गर्ने रुचि जाग्यो । समाजशास्त्रमा स्नातकोत्तर, करिब १० वर्षको सामाजिक सेवामा कार्यअनुभव तथा अनुसन्धनात्मक अनुभवका कारण उनी अस्ट्रेलियन दूतावासबाट प्रदान गरिने छात्रवृत्तिमा विद्यावारिधि अध्ययनका लागि छनोट भए । उनी दुई छोरी र श्रीमतीका साथमा सन् २०१३ देखि अस्ट्रेलियामा अध्ययनरत छन् ।

विद्यावारिधिको अस्टे«लिया यात्रा

अस्ट्रेलियन दूतावासबाट प्रदान गरिने छात्रवृत्तिमा छनोट हुनु आफैँमा चुनौतीपूर्ण थियो । उक्त छात्रवृत्तिमार्फत नेपालको राज्य पुनःसंरचना, संघीयता तथा दलित न्यायका सन्दर्भमा अनुसन्धान गर्दै गरेका विश्वकर्मा विद्यावारिधिको अन्तिम चरणमा छन् । ‘के कस्तो संस्थागत पुनःसंरचना भयो भने दलित समुदायले सामाजिक न्याय प्राप्त गर्न सक्छन्’ भन्ने प्रमुख अनुसन्धान प्रश्नमा केन्द्रित उनको विद्यावारिधि थेसिस यो समुदायको समस्या समाधानमा एक अन्तर्राष्ट्रियस्तरको खोज हुनेछ, जसले नेपालका नीति निर्माणकर्तालाई समेत नीतिनिर्देश गर्नेछ भने पश्चिमा प्राज्ञिक जगत्मा दक्षिण एसियाको जातीय व्यवस्था तथा दलित अधिकारका सन्दर्भमा जानकारी गराउँदै थप अध्ययन अनुसन्धानका लागि समेत प्रेरित गर्नेछ भन्ने उनको विश्वास छ । नियमित अध्ययन अनुसन्धानबाहेक उनले विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको राज्य पुनःसंरचना, संघीयता तथा दलित अधिकारबारे कार्यपत्र प्रस्तुतीकरण गर्नुका साथै समाजशास्त्रीय सिद्धान्तलगायत दलित मानवअधिकार र सामाजिक न्यायका सन्दर्भमा सिड्नी विश्वविद्यालयमा आंशिक रूपमा अध्यापनसमेत गरिरहेका छन् ।

जातीय विभेद तथा दलित अधिकारको अन्तर्राष्ट्रियकरण

बाल्यकालदेखि नै जातीय विभेद प्रत्यक्ष रूपमा भोगेका मोम विश्वकर्माले अस्ट्रेलियामा समेत जातीय विभेद महसुस गर्नु परेको छ । खासगरी नेपाली जनसमुदायको बढ्दो विदेश पलायनसँगै नेपाली भाषा, संस्कृतिका साथै जातीय व्यवस्था पालना गर्ने भएकाले जातीय विभेद दक्षिण एसियामा मात्र सीमित छैन । सभ्य तथा विकसित मुलुकमा समेत जातीय विभेद खेप्नुपर्दाको क्षणलाई सम्झँदै विश्वकर्माले आफ्नै जीवनकालमा विभेद अन्त्य गर्न सहयोग पुगोस् भन्ने हेतुले अन्तर्राष्ट्रियस्तरमा प्रयास गरिरहेका छन् । तीमध्ये अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलनमा जातीय विभेद र दलित अधिकारबारे अनुसन्धानमूलक कार्यपत्र प्रस्तुति गर्नु, अन्तर्राष्ट्रिय प्राज्ञिक जर्नलमा लेख छपाउनु, विकसित मुलुक जस्तै अमेरिका, अस्टे«लिया तथा युकेमा दलित अधिकार तथा जातीय विभेदविरुद्ध अन्तक्र्रिया तथा छलफल कार्यक्रम गर्नुका साथै सिड्नी विश्वविद्यालयमा एमए तहका विद्यार्थीलाई दक्षिण एसियाको जातिप्रथा तथा दलित मानवअधिकार सन्दर्भमा अध्यापन गर्नु केही महत्वपूर्ण प्रयास हुन्, जसले यो विषयमा प्राज्ञिक तहबाट सोच्न बाध्य पारिरहेको छ ।
जातीय विभेदविरुद्ध निरन्तर संघर्ष गर्न स्थापित अन्तर्राष्ट्रिय मञ्च महासचिवको भूमिका निर्वाह गरिरहेका विश्वकर्माले सामाजिक अध्ययन अनुसन्धान गर्दै निरन्तर जनवकालत गर्ने योजना बनाएका छन् । विद्यावारिधिको थेसिस लेखन अन्तिम चरणमा पुगेकाले उनी चाँडै स्वदेश फर्की अनुसन्धानलाई निरन्तरता दिने तयारीमा छन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल