आमाले भन्नुहुन्थ्यो, ‘कि हिन्दी भाषामा माग्, नत्र भोकै बस्’

-  |   मोहना अन्सारी, आयुक्त, राष्ट्रिय मानवअधिकार आयोग

आमाले भन्नुहुन्थ्यो, ‘कि हिन्दी भाषामा माग्, नत्र भोकै बस्’

NPWjT4OQमध्यपश्चिमाञ्चल क्षेत्रमा पर्ने बाँके जिल्लाको नेपालगञ्जमा हो म जन्मेको । आमाबुवाका ५ सन्तान । मचाहिँ दोस्रो । मेरो बाल्यकाल त्यति सहज थिएन । हाम्रो परिवारको आर्थिक स्तर साह्रै नै कमजोर थियो । बुवाको सानोतिनो काम । फर्निचरको काम गर्नुहुन्थ्यो बुवा । बुवाको थोरै कमाइमा पूरै परिवारको पेट पालिन्थ्यो । हाम्रो मात्र होइन, त्यतिखेर नेपालगञ्जका मुस्लिम समुदायको आर्थिक अवस्था कमजोर नै भएको हामीले थाहा पाउँथ्यौँ । हुनलाई नेपालगञ्ज नगर नै थियो तर परिवेश गाउँकोझैँ थियो । त्यतिखेरको नेपालगञ्ज सम्झनुपर्दा अहिले मेरो मानसपटलमा धमिलो छाया मात्रै छ । त्यति विकसित थिएन नेपालगञ्ज । स्कुलहरू पनि त्यति थिएनन् ।

बुबा बुझ्ने, आमा नबुझ्ने
मुस्लिम समुदायमा छोरीलाई पनि पढाउनुपर्छ भन्ने मानसिकता थिएन । तर मेरो बुवा फरक हुनुहुन्थ्यो । भन्नुहुन्थ्यो, ‘मैले पढ्न नपाएर यत्रो दुःख पाएको छु, छोराछोरीहरूलाई जसरी पनि पढाउँछु ।’ मेरी जेठी दिदीलाई बुवाले स्कुलमा भर्ना गरिदिनुभयो । यस्ता कुरामा आमाको सहमति हुन्थेन, रिसाउनुहुन्थ्यो । छोरी भनेका अर्काको घर जाने जात हुन्, पढाएर लेखाएर काम छैन भन्ने आमाको विचार थियो । हाम्रो समुदायमा छोरीहरू घरको दैलो नाघेर निस्कँदैनथे । तर हामी स्वतन्त्र थियौँ । हाम्रो समुदायमा बाहुनक्षेत्रीका घरहरू पनि मिसिएका थिए । मेरो संगत उनीहरूसँगै बढी थियो । संगत गर्दागर्दै मेरो हाउभाउ बोलीचाली उनीहरूको झै बनेको थियो । घरमा पनि सबै जना हिन्दी बोल्थे, म नेपाली मात्र बोल्थेँ । मेरो यस्तो चाला आमालाई फिटिक्कै मन पर्दैनथ्यो । बुवा भने वास्ता गर्नुहुन्नथ्यो । नेपाली भाषामा खानेकुरा माग्दा आमाले भन्नुहुन्थ्यो, ‘हिन्दी भाषामा माग् अनि मात्रै दिन्छु, नत्र भोकै बस् ।’
परिवारमा अरू भन्दा बाठी थिएँ म, निकै चञ्चले । बुवाले मलाई तँ मेरो छोरी होइनस्, छोरा होस् भन्नुहुन्थ्यो । म फुरुक्क हुन्थेँ । कपडाहरू पनि मलाई त्यस्तै ल्याइदिनुहुन्थ्यो बुवाले । अरु दिदीबहिनीहरू फ्रक, कुर्तासुरुवाल लगाउँथे । मलाई भने दाइहरूकै जस्तो टी–सर्ट पाइन्ट ल्याइदिनुहुन्थ्यो । मलाई पनि त्यस्तै मात्र मन पर्थ्यो । आमाले भने फ्रकहरू सिलाइदिनुहुन्थ्यो, म लगाउन मान्दिनथेँ । छोरीलाई पाइन्ट ल्याइदिएको आमालाई ठिक लाग्थेन, गाली गरिरहनुहुन्थ्यो । बुवा हाँसेर उडाइदिनुहुन्थ्यो । मैले घरकाभित्रका काममा सीमित हुने होइन, बाहिर निस्केर केही उदाहरणीय काम गर्नुपर्छ भन्ने उहाँको धारणा थियो । यस्ता कुरा सुनेर आमा रिसले मुर्मुराउनुहुन्थ्यो । म देख्थेँ मेरी दिदी भने आमाले अह्राएका घरायसी कामहरू खुरुखुरु गर्थिन् । पढ्नलेख्न उनको त्यति ध्यान थिएन । घरका कामले फुर्सद पनि पाउँथिनन् । पाँच कक्षासम्म पढेपछि त स्कुल नै जान छोडिदिइन् । हाम्रो फर्निचर व्यवसायमा कामदारहरू पनि राखिएका थिए करिब ६० जना । तिनीहरूलाई दिनहुँ खाना पकाएर खुवाउनुपर्थ्यो । आमा र दिदीलाई त्यही कामले भ्याइनभ्याइ हुन्थ्यो । म भने बुवाको काममा सघाउँथेँ । स्कुल छुट्टी भएको दिन दिनभरि बुवाको काम गरिदिन्थेँ । हिसाबकिताबको जिम्मा मेरै हुन्थ्यो ।

मदरसा जाँदा आमाको पिटाइ
छरछिमेकमा छोरीले स्कुल जानुहुन्न भन्ने मानसिकताका मानिसमात्रै थिए । हामीलाई त मदरसासम्म गएर पढ्न पनि छुट थिएन । केटीहरू मात्रै पढ्ने मदरसा थिएन नेपालगञ्जमा । केटाहरूसँग मिसिएर पढ्नुहुन्न भन्थे । बुवाले हामीलाई घरमै मोल्वी साहेब (धर्मगुरु)को व्यवस्था गरिदिनुभयो । बिहानबेलुका हामी उहाँसँगै इस्लामका कुराहरू सिक्थ्यौँ । मलाई भने मदरसा नै गएर पढ्ने खुबै रहर थियो । पछि भागी–भागी भए पनि मदरसा नै गएर पढ्न थालेँ । केही महिनापछि घरमा त्यो कुरा थाहा पाए । घरमा थाहा भएको दिन बेस्सरी कुटाइ पनि खाएँ आमाको हातबाट । त्यसपछि मैले मदरसा जान छोडिदिएँ ।
मलाई स्कुल गएर पढ्ने मन हुन्थ्यो । आमा नमाने पनि बुवाका भने सहमति नै हुन्थ्यो । तर नाजुक आर्थिक अवस्था भएका कारण वार्षिक १५ सय फि तिर्ने हैसियत पनि थिएन हाम्रो । समयमा स्कुल फि तिर्न नसकेर स्कुलबाटै निकालिएका थुप्रै घटनाहरू हामीले थाहा पाउँथ्यौ । दुःख गरेर भए पनि भाइहरूलाई बोर्डिङ स्कुलमा हालिएको थियो, म भने सरकारी स्कुल जान्थेँ । घरबाट निकै टाढा थियो । एक घण्टा लागाएर भएपनि हिँड्दै जान्थेँ । कापी किताब किन्ने पैसा पनि हुन्थेन । अरले पढिसकेका थोत्रा किताब पढ्नुपर्थ्यो । साथीहरूका नयाँ किताब देख्दा मलाई पनि नयाँ किताबका पाना पल्टाउन बडो रहर लाग्थ्यो । तर नयाँ किताब पल्टाउँदा कस्तो हुन्छ ? स्कुल पढुन्जेल त्यो अनुभव कहिल्यै पनि गर्न पाइनँ । स्कुल जाँदा लगाउने ड्रेसमा पनि निकै विवाद हुन्थ्यो । सरकारी स्कुलको ड्रेस उहि त हो नि, फ्रक र कमिज । छोरीले पूरै शरीर ढाकिने कुर्ता सुरुवाल र कपाल छोप्ने हिजाब लगाउनुपर्छ भन्न मानसिकता बोकेको समाजमा फ्रक र कमिज लगाएर घरबाहिर हिँड्नु कम चुनौतीपूर्ण थिएन । स्कुलको ड्रेस न हो त्यही नलगाई नहुने बाध्यात्मकारी अवस्था पनि उस्तै । आमा भन्नुहुन्थ्यो, ‘फ्रक र कमिज लगाउने भए भए स्कुल नै जानु पर्दैन तँ ।’ तर बुवाको आड छँदै थियो, ठूली हुन्जेलसम्म म फ्रक नै लगाएर स्कुल गइरहेँ ।

photo: esamata

photo: esamata

गाउँलेको कुरा कटाइ
हाम्रो समाजमा केटाकेटीको एउटै भेला मन पराउँदैनन् । आमा भन्नु हुन्थ्यो, ‘गाउँलेले कुरा काटेर बस्नखान दिएका छैनन् । स्कुल नपढी नहुने भए कन्या स्कुल जा ।’ कन्या स्कुल नाम मात्रैको स्कुल थियो, राम्रो पढाइ हुन्थेन । त्यो स्कुलमा बुवाले पठाउनै मान्नुभएन । ठुली हुन्जेलसम्म फ्रकमै गाउँ डुल्दा कडा भन्दा कडा आलोचना हुन्थे । त्यतीखेरको मुस्लिम समुदायमा घरबाहिर केटीहरू देख्न त मुस्किल नै हुन्थ्यो । म त केटाका झैँ पहिरनमा हिँड्थे । पहिरनमा आफ्नै छनोट हुनुपर्छ, आफुलाई जे लगाउँदा सहज महसुुुस हुन्छ त्यहि लगाउनुपर्छ भन्ने मेरो सोच हुन्थ्यो । पहिरन हेरेर मात्रै मान्छेका बारेका धारणा बनाउने चलनको म चर्को विरोधी थिएँ ।
दशैँतिहारमा महिनौँ स्कुल छुट्टी हुने । हाम्रो चाड इदमा भने छुट्टी नै नहुने । कतिपटक त म साथीहरू बटुल्दै इदको पनि सार्वजनिक बिदा चाहियो भन्दै स्कुलमा आन्दोलन गर्थेँ । तर मेरो सुनुवाइ कहिल्यै पनि भएन । इदकै दिन परीक्षा पर्दा परीक्षा छुट्थ्यो ।
म कक्षा आठमा पुगेँ । स्कुल जाँदा आउँदा देख्थेँ– हाम्रो टोलका केही घनाढ्यका छोराहरू गाउँमा लठारिएर हिड्थे । गाउँको चियापसलमै उनीहरूको दिनभर बास हुन्थ्यो । म स्कुल आउँदाजाँदा तिनीहरू त्यहीँ हुन्थे । मलाई जिस्काउँथे । भेटेजति सबै केटीहरूलाई जिस्काउँथे । तर म डराउँदिनथेँ, उल्टै तिनीहरूसँग बाझ्थेँ । अति हुँदा एक–दुई झापड पनि लगाइदिएँ ।

गाउँलेहरूले छोरीहरू ठूल्ठूला भइसके, बिहे गर्दे हुन्छ, छोरीलाई पढाएर के गर्छौ ? जागिर गर्न पठाएर उनीहरूको कमाइ खान्छौ ? छोरीको कमाइ खानु हुन्नजस्ता कुराहरू गरेर बुवाआमालाई भड्काइरहन्थे । बुवाको भने छुट्टै अडान हुन्थ्यो, ‘छोरीहरूलाई पनि छोरा सरह राम्रो वातावरण र अवसर दिने हो भने उदाहरणीय कामहरू गर्न सक्छन्, सफल हुन सक्छन् । पछि तिनै छोरीहरूले परिवारलाई समुदायलाई चिनाउँछन् ।’

म अलि कालो वर्णकी । मेरो कालो रंगलाई लिएर धेरै जनाले होच्याउँथे । ती केटाहरू पनि काली–काली भन्दै गिज्याइरहन्थे । यस्ता कुराहरू सकेसम्म म आफैं सल्टाउँथेँ । घरमा कहिल्यै पनि भन्थिनँ । भन्नु पनि किन ? यस्तो हुन्छ भने तँ स्कुल नजा, सबै ठिक हुन्छ भन्थे । कहिलेकाहीँ त बुवा पनि दिक्क मान्नुहन्थ्यो र भो पर्दैन स्कुल नजा पनि भन्नुहुन्थ्यो । हप्तौँसम्म स्कुल जान बन्द गरिन्थ्यो । स्कुल जान्छु भनेर मैले जिद्धी गर्न थालेपछि बुवा आफैँ स्कुलसम्म पुर्याउन जानुहुन्थ्यो । आफ्नै कामले भ्याइनभ्याइ हुने उहाँलाई । धेरैदिनसम्म त्यो क्रम चलेन । म फेरि एक्लै स्कुल जान थालेँ । ती केटाहरूले जिस्काउन छाडेका थिएनन् । यस्ता घटनाहरू सकेसम्म म लुकाउँथे । कहिलेकाहीँ ती केटाहरूसँग ठूलै झगडा पर्दा गाउँलेहरू मार्फत घरसम्म कुरा पुग्थ्यो । गाली र कुटाइ खाइन्थ्यो । गाउँलेहरूले छोरीहरू ठूल्ठूला भइसके, बिहे गर्दे हुन्छ, छोरीलाई पढाएर के गर्छौ ? जागिर गर्न पठाएर उनीहरूको कमाइ खान्छौ ? छोरीको कमाइ खानु हुन्नजस्ता कुराहरू गरेर बुवाआमालाई भड्काइरहन्थे । बुवाको भने छुट्टै अडान हुन्थ्यो, ‘छोरीहरूलाई पनि छोरा सरह राम्रो वातावरण र अवसर दिने हो भने उदाहरणीय कामहरू गर्न सक्छन्, सफल हुन सक्छन् । पछि तिनै छोरीहरूले परिवारलाई समुदायलाई चिनाउँछन् ।’ बुबाको यस्तो विचारले मलाई दरिलो बनाइरहन्थ्यो । पछि त्यस्ता आलोचना गर्ने कुराहरूको वास्ता पनि हुन छाड्यो ।

नर्सिङको असफल सपना
मैले प्रवेशिका परीक्षा दिएँ । तेस्रो श्रेणीमा पास भएँ । लगत्तै म विभिन्न तालिमहरूमा व्यस्त हुन थालेँ । खाली हात बस्न मन लाग्दैनथ्यो । पहिलो तालिम व्यक्तित्व विकास सम्बन्धी लिएँ । त्यो तालिमपश्चात कलम चलाउन रहर लाग्यो । स्थानिय पत्रपत्रिकाहरूमा लेख्न सुरु गरेँ । महिला र बालबालिकासम्बन्धी धेरै लेखेँ, तर पारिश्रमिकको नाममा एक सुका पनि पाइँदैनथ्यो । स्थानीय रिपोर्टिङका लागि हिडिरहनुपर्थ्यो । आमाको गाली र पिटाइको त बानी नै परिसकेको थियो । बुवाले चाहिँ बाहिर हिँड्ने खर्च नै दिनुहुन्थ्यो । म पनि गाउँका बच्चाहरूलाई ट्युसन पढाउँथँे । केही आम्दानी हुन्थ्यो । पछि आफैँ पढेको स्कुलमा काम पाएँ । निकै थोरै आम्दानी हुन्थ्यो । एक सरो लुगा पनि किन्न नपुग्ने । हामी त एक जोर लुगाले नै दुई तीन वर्ष पुर्याउँथ्यौँ । कलेज खर्च आफैँ जोहो गर्नुपर्थ्यो । घरबाट पाइँदैनथ्यो ।
मैले नर्सिङ पढ्ने सोँचे । नाम पनि निकालेँ । तर सामान्य कलेज त पढाउने आर्थिक हैसियत थिएन, नर्सिङ पढ्न लाखौँ रुपैँया कहाँबाट आओस् ? कानुन विषय लिएर पढेँ बुवाकै सल्लाहमा । घरको छेउमा अदालत थियो । बुवाको संगत पनि अधिवक्ताहरूसँग नै थियो । तत्कालिन प्रमुख न्यायाधिश रामकुमार शाहसँग बुवाको घनिष्ट सम्बन्ध थियो । उनीबाटै प्रभावित भएर बुवाले मलाई कानुन पढाउने निर्णय गनुभएको थियो । मैले पनि ‘हुन्छ’ भनेँ । बिहान दुई घण्टा हिँडेर कलेज पुग्यो, कलेज सकेर स्कुल पढायो । ति संघर्षका दिनहरू सम्झिँदा मन नै गह्रुँगो भएर आउँछ ।

वकालतको यात्रा
०४९ सालमा मैले अभिवक्ताको लाइसेन्स प्राप्त गरेँ । अदालतमा काम पाएँ । अदालतभित्र तारिख लिने, लेख्नेजस्ता काम मलाई दिइन्थ्यो । त्यतिबेलासम्म पत्रकारिता र शिक्षणजस्ता पेशाहरू मैले छोडेँ । कामसँग आत्मीयता पनि हुन्थ्यो तर त्यस्ता कामलाई मैले निरन्तरता दिन सकिनँ । आर्थिक पाटो बलियो नबनेपछि म काम छोड्न बाध्य हुन्थेँ । अदालतको काममा पनि राम्रो आम्दानी भएन । नेपाल वाणले निःशुल्क कानुन सहायता कार्यक्रम चलाएको थियो । समय धेरै दिनुपर्ने आम्दानी कम । त्यसै परियोजना अन्र्तगत हामी गाउँघरमा कानुनी शिक्षा दिने काम गर्थ्यौँ । त्यसैबापत नेपाल बाणले हामीलाई केही पैसा दिन्थ्यो । थोरै आर्थिक राहत मिल्थ्यो । मैले सम्बन्धविच्छेद र अंशका मुद्दाहरू हेर्थें । मेरो पहिलो मुद्दा नै त्यही थियो । त्यहाँबाट पनि पार नलागेपछि मैले कानुनी काम छोडिदिएँ ।
घरमा विवाहका कुरा आइरहन्थे । म चाँडै विवाह गर्न चाहन्नथँे । पहिले आर्थिक तवरले बलियो बनाउने मेरो इच्छा थियो । धेरै गैरसरकारी संस्थाहरूमा काम गरेँ । अहँ, मेरो आर्थिक स्तर उकालो लाग्नै सकेन । त्यसै बीचमा मेरो भेट डा. शान्ता थपलियासँग भयो । उहाँ मलाई निकै माया गर्नुहुन्थ्यो । भन्नुहुन्थ्यो, ‘तिमीले जिवनमा केही गर्नुपर्छ । हिँड मसँग काठमाडौ ।’ उनलाई घरमा पनि लगेँ, बुवालाई सम्झाउन । तर बुवाआमाले मलाई काठमाडौँ जान दिनुभएन । मसँगै पढेका साथीहरू सुनौलो भविष्य खोज्न नेपालगञ्ज छोडेर हिँडिसकेका थिए । मेरो चाहिँ नेपालगञ्जमै खुम्चिएर बस्नुपर्नेे बाध्यता बन्यो । मेरा सपना मेरा लक्ष्य बुवाले राम्ररी बुझ्नुहुन्थ्यो । नेपालगञ्जमा मैले राम्रो र टिकाउ काम पाइनँ । बुवाले मलाई आफैँ काठमाडौँ पुर्याउन आउनुभयो । मेरी छोरी तपाईंकै जिम्मा भनेर डा. थपलियाको घरमा मलाई छोडेर बुवा फर्किनुभयो । कानुनी सहयोग तथा परामर्श केन्द्रले दिने ६ महिने तालिममा म सहभागी हुने भएँ । यसै बीचमा मैले डा. थपलियाको घर छाडेँ । बागबजारमा छुट्टै कोठा लिएर बस्न थालेँ । त्यहाँ पनि आर्थिक चुनौतीले घेर्न थाल्यो । बुबाले फर्निचर बेचेर पठाएको सीमित खर्चमा काठमाडौँको बसाई निकै गाह्रो हुन्थ्यो । जसोतसो पु्र्याउँथे । एक वर्षभन्दा बढी काठमाडौँमा टिक्नै मुस्किल भयो । म गाउँ फर्किन बाध्य भएँ । उतै सामाजिक क्षेत्रमा काम गर्न थालेँ । बुवाको काममा सघाउँथे । म १८ वर्षकी पुगेँ । गाउँमा मसँगैका साथीहरूले बिहे गरेर घरजम गरिसकेका थिए । बजारमा देखिने महिलामा पनि म एक्लै नै हुन्थेँ । त्यतिखेर नेपालगञ्जमा महिलाहरूको अवस्था निकै दयनीय थियो । दिनहुँ महिलाहरूमा ज्यादती हुने घरपरिवारबाटै कुटिने, निकालिने र मारिने घटनाहरू भइरहन्थे । तिनै महिलाहरूका हकहितमा काम गर्ने मेरो सपना बन्दै जान थाल्यो । मेरो लक्ष्यप्रति म दरिली बन्दै गएँ । नारी कल्याण समाज नामक संस्थासँग जोडिएर काम गर्न थालेँ । त्यतिखेर महम्मदिन सिद्दीकी नारी कल्याण समाजकी महासचिव थिइन् । नारी कल्याण समाजमा केही समय काम गरिसकेपछि हामीले मुस्लिम महिलाहरूका हकअधिकारका निमित्त काम गर्ने छुट्टै संस्था खोल्ने योजना बनायौँ । त्यत्तिकैमा ‘फातिमा फाउन्डेशन’ लाई हामीले जन्म दियौँ । सिद्दीकी संस्थाकी अध्यक्ष बनिन् । मुस्लिम समुदायका महिलाहरू खुलेर नबोलिदिँदा सार्वजनिक ठाउँहरूमा उपस्थित नभइदिँदा हामीलाई फातिमा फाउन्डेशनबाट काम गर्न गाह्रो भइदिन्थ्यो ।

स्वइच्छा बिबाह गरें
घरबाट बिहे गर्न दवाव आइरहन्थ्यो । बिहे गर्नु समस्या पनि थिएन । तर बुवाआमाले रोजेको केटा मलाई चित्त बुझ्दैनथ्यो । ती केटाहरू भारतका हुन्थे । मलाई स्वतन्त्रता दिने खालका हुँदैनथे ।
यसैबीच ०५२ मंसिरमा विवाह भयो । मैले स्वइच्छा बिबाह गरें । परिवारको सहमति भएन । भागेरै बिहे गर्नुपर्ने मेरो बाध्यता बन्यो । परिवारसँग मेरो बोलचाल नै बन्द भयो । एउटै सहरमा थियौँ, तर हाम्रो भेट हुन्थेन ।

हाम्रो संस्थाभित्र पुरुषहरूको वर्चस्व हुने गर्दथ्यो । एकदिन कार्यालयभित्रै एकजना महिलामाथि हिंसा भयो । हाम्रो संस्थालाई आर्थिक सहयोग गर्ने मान्छेले ति महिलामागि यौनहिंसाको प्रयास गरे । तर दाता हो भन्दै संस्थाले उक्त घटनालाई दबाए ।

मेरो श्रीमान मेरा सपनाहरूलाई माया गर्नुहुन्थ्यो । सम्मान गर्नुहुन्थ्यो । विवाहपश्चात पनि म बुहारीमात्रै भएर घरमा बस्दिनथेँ । बाहिर हिँड्थेँ । काम गर्थेँ । श्रीमानको पूरै सहयोग हुन्थ्यो । मुस्लिम परिवारकी बुहारीले काम र पढाइ गर्ने भन्ने कुरा कम चुनौतीपूर्ण थिएन । घरबाहिर हिँड्दा सासुआमा रिसाउँथिन्, श्रीमानले कुरा बुझाइदिनुहुन्थ्यो । ससुरा शिक्षित नै हुनुहुन्थ्यो । मैले गर्ने हरेक काममा उहाँको पनि साथ र सहयोग थियो । मैले पढाइलाई निरन्तरता दिने मौका पाएँ । यसैबीच छोरी जन्मिइन् । ४ महिनाकी छोरी सासुको जिम्मामा छोडेर म पढाइ र जागिरमा व्यस्त रहन्थेँ । घरपरिवार, पढाइ र जागिर सम्हाल्नु सजिलो काम थिएन । संयुक्त परिवार, घरका सबै काम भ्याएर काममा निस्कनुपर्थ्यो । फर्केर फेरि घरका सबै काम सिध्याउनु पर्थ्यो । शरीर त थाकेर लखतरान हुन्थ्यो तर सपनाहरूले सँधै मलाई उर्जा दिइरहन्थे ।
माइतीको सम्झनाले सताइरहन्थ्यो तर उहाँहरू मलाई भेट्न चाहनु हुन्थेन । भाइबहिनीहरू लुकी–लुकी भागी–भागी मलाई भेट्न आउँथे । पछि बुवाले थाहा पाएर उनीहरूलाई बेस्सरी कुटेछन् । त्यसपछि उनीहरूसँगको भेट पनि पातलिँदै गयो । कहिलेकाहीँ छोरीलाई भाइबहिनीहरूले आफुसँगै लैजान्थे । धेरै पटकसम्म मेरो बच्चा भनेर थाहा पाएनन् । थाहा पाएपछि मलाई पनि घरैमा बोलाए । परिवारसँग फेरि जोडिएँ ।
आन्दोलन यात्रा
नेपालगंजमा एउटा अन्र्तराष्ट्रिय संस्था थियो । मैले त्यहाँ काम गर्ने मौका पाएँ । काम निकै प्रतिस्पर्धात्मक हुन्थ्यो । हरेक काममा निखार खोजिन्थ्यो । संस्थाले लैगिंक समानताका मुद्दाहरू उठाउने गर्दथ्यो ।
०६२–६३ को जनआन्दोलन सुरु भयो । हामी पनि आन्दोलनमा होमियौँ । कार्यालय नै बन्द गरेर हामी सडकमा उत्रिन्थ्यौँ । मेरै अगाडि सेतु बिक सख्त घाइते भए । हामी उद्दारमा खटियौँ । ज्यान जोगाउन निकै गाह्रो थियो । ज्यानकै माया मारेर म आन्दोलनमा दौडिन्थेँ । मरिएला भन्ने कहिल्यै डर लाग्दैनथ्यो । जनयुद्धताका पनि म छोरी लिएर एक्लै बसेकी हुन्थेँ । शान्ति सम्झौताका बैठकहरूमा माओवादीहरूसँग मेरो संगत हुन्थ्यो । शंकाको दृष्टिकोणले गर्दा सेनाहरू रात–रातभर मेरो घर घेर्थे । अहँ, मलाई कहिल्यै पनि डर लागेन । म मानवअधिकार र न्यायको वकालत गर्ने मान्छे, डर भन्ने कुरा त न मलाई त्यतिखेर थियो न आज छ । आन्दोलनताका सासुुुससुरा बितिसक्नुभएको थियो, श्रीमान् आफ्नै काममा घरबाट बाहिर । सानी छोरीलाई माइतीको जिम्मा लगाएर म आन्दोलनमा सहभागी हुन जान्थेँ ।
हाम्रो संस्थाभित्र पुरुषहरूको वर्चस्व हुने गर्दथ्यो । एकदिन कार्यालयभित्रै एकजना महिलामाथि हिंसा भयो । हाम्रो संस्थालाई आर्थिक सहयोग गर्ने मान्छेले ति महिलामागि यौनहिंसाको प्रयास गरे । तर दाता हो भन्दै संस्थाले उक्त घटनालाई दबाए । महिलाका अधिकारका मुद्दा उठाउने संस्थामै महिला हिंसा हुने, महिलामाथि अन्याय हुने कुराको मैले धेरै विरोध गरेँ तर कसैले कुरा सुनेनन् । दोषीलाई कार्वाही भएन । ढोंगी संस्थामा काम गर्न मेरो स्वाभिमानले मानेन । मैले जागिरबाटै राजिनामा दिएँ ।
त्यसपछि द्वन्द्व व्यवस्थापनतिर लागेँ । परिवार गुमाएका व्यक्तिहरूलाई मनोसामाजिक परामर्श दिने काम गर्थें । द्वन्द्व प्रभावित समाजमै गएर म काम गर्थें । रुकुम, रोल्पा, बर्दिया र सुर्खेत जस्ता जिल्लाहरू मेरो कार्यक्षेत्र हुन्थे । महिनौं उतै बसेर म तालिम सञ्चालनमा अभ्यस्त रहन्थेँ ।

गहन जिम्मेवारी
देशमा शान्ति सम्झौता भयो । अन्तरिम संविधान जारी भयो । प्रचण्ड नेतृत्वको मन्त्रीमण्डल बन्यो । समावेशीकरण आयोग पनि गठन भयो । ०६६ सालतिर हो । म पूर्वलडाकु व्यवस्थापन प्रोजेक्टमा काम गर्न थालेकी थिएँ । एकदिन मलाई महिला मन्त्रालयबाट फोन आयो । महिला आयोगको सदस्यमा मेरो मेरो सिफारिस भएको खबर आयो । म अचम्ममा परेँ । एकछिन त विश्वास नै लागेन । किनकि म सोच्थेँ– यिनै झिनामसिना काममा मेरो जिन्दगी भौतारिन्छ होला । काम गरिरहेको संस्था छोडेर हिँड्न सजिलो पनि थिएन । निर्णय लिन नै एक हप्ता लगाएँ । मुस्लिम समुदायका कुनै सदस्य आयोगमा नियुक्त भएको इतिहासमै पहिलो घटना थियो त्यो । राष्ट्रियस्तरमा आफ्नो समुदायबाट महिलाको प्रतिनिधित्व गर्न पाउनु गौरवकै कुरा थियो । रचनात्मक केही गरेर देशको सेवा गर्न सकिएला भनी मैले महिला आयोगको प्रस्ताव स्वीकारेँ । सबै परिबन्ध मिलाएर हामी परिवारसहित काठमाडौँ आयौं । ०६७ साल जेठ १४ गते महिला आयोगमा मेरो नियुक्ति भयो । म हाजिर हुन पुगेँ ।

सरसर्ती हेर्दा महिलाको पहिलो मुख्य समस्या भनेको आर्थिक पाटो नै हो । जब महिला आर्थिक तवरले सम्पन्न हुन्छिन् अनि मात्र घरका दैला नाघेर आफ्नो योगदान दिन उनले हिम्मत जुटाउन सक्छिन् । होइन भने घरैभित्र साँघुरिन महिला बाध्य बन्छिन् । अर्को कुरा महिलाको शिक्षामा परिवारले कम लगानी गरिरहेको अवस्था छ । छोरीलाई पनि छोरासरह शिक्षित बनाउँदैनन् । महिलाहरू जसोतसो ठेलिएर पढिरहेका छन् ।

महिला आयोगका काम कम चुनौतीपूर्ण थिएनन् । महिलाहिंसाका धेरै घटनाहरू हामी सुल्झाउँथ्यौँ । कतिपय मुद्दा राजनीतिक दवाबमा हेर्नुपथ्र्यो ।। निष्पक्ष न्याय दिन नपाउँदा मलाई असह्य हुन्थ्यो । तर ममात्रैको एकल निर्णयले परिवर्तन गर्न गाह्रो कुरा नै हुन्थ्यो । तैपनि मेरो अडान थियो– महिलामहिंसाका मुद्दा राजनीतिक छलफलको विषय बनोस् तर मुद्दालाई राजनीतिक सहमतिमा टुग्याउनु हुँदैन भन्नेमा । यस्ता कुरामा धेरै विवाद हुन्थे । महिला हिंसालाई अपराध मान्ने हो भने राजनीतिले किन हस्तक्षेप गर्ने ? यसको छिनोफानोको अधिकार अदालतलाई दिनुपर्छ भन्ने मेरो अडान थियो तर थोरै मात्रै लागू हुन पाउँथ्यो । रञ्जन कोइरालादेखि बोक्सीको आरोपमा महिला कुटिने, मारिने, कोही बलात्कृत हुने घटनाहरूका निर्णयमा राजनीतिक हस्तक्षेप हुन खोज्दा मैले सधैँ विरोध गरिरहेँ । यस्तो बेलामा गुजारा पनि उस्तै गाह्रो थियो । नेपाल सरकारको जागिर खाएर मात्रै पाइने तलबले काठमाडौंमा टिक्न धौ–धौ नै हुन्थ्यो । आर्थिक पाटोमा श्रीमानले सहयोग नभएको भए मेरो काठमाडौँमा टिक्ने अवस्था हुने थिएन होला ।
महिला आयोगको चार वर्षीय कार्यकाल सकिँदै थियो । म घरै फर्किने तयारी गर्न लागेँ । त्यसपछिको पाइला कतातिर जाने हो कुनै ठेगान थिएन । देशमा दोस्रो संविधान बन्ने तरखर हुँदै थियो । संविधानमा महिलाका मुद्दा सम्बोधन गराउन हामी पनि लागिपर्न थाल्यौँ । आइडिया नेपालको सल्लाहकार बनेर मैले संविधानको क्षमता अभिवृद्धि समिति, मस्यौदा समितिलगायत विभिन्न समितिमा काम गर्ने मौका पाएँ ।
राज्यविहिन नागरिकका विषयको कामले म नेदरल्याण्ड पुगेको थिएँ । त्यहीँ मैले समाचारमार्फत थाहा पाएँ– मलाई राष्ट्रिय मानवअधिकार आयोगमा नियुक्ति गरिएको रहेछ । फेरी अर्को नयाँ अवसर प्राप्त भयो । म निकै हर्षित भएँ । दुःख, संघर्ष र चुनौतीहरूसँग पौठेजोरी खेल्ने हिम्मत गरेकै कारण आज म मानवअधिकारको सदस्य हुने अवसर प्राप्त गरेकी छु । देश र नागरिकहरूका सेवा गर्ने अवसर छ । सन्तुष्ट छु ।
सरसर्ती हेर्दा महिलाको पहिलो मुख्य समस्या भनेको आर्थिक पाटो नै हो । जब महिला आर्थिक तवरले सम्पन्न हुन्छिन् अनि मात्र घरका दैला नाघेर आफ्नो योगदान दिन उनले हिम्मत जुटाउन सक्छिन् । होइन भने घरैभित्र साँघुरिन महिला बाध्य बन्छिन् । अर्को कुरा महिलाको शिक्षामा परिवारले कम लगानी गरिरहेको अवस्था छ । छोरीलाई पनि छोरासरह शिक्षित बनाउँदैनन् । महिलाहरू जसोतसो ठेलिएर पढिरहेका छन् । छोरालाई ऋण गरेर भएपनि बोर्डिङ स्कुल पठाउँछन् छोरीलाई सरकारी । अनि महिला विकास भएन भनेर किन हल्ला गर्ने ? अवसर दिए महिलाहरू पनि पुरुष सरह अघि बढ्न सकिन्छ । उदाहरण, मेरै आफ्नै जीवन कथा बनेको छ । महिलामाथि हुने गरेका हिंसाका घटनाहरूले पनि महिलाका व्यक्तित्व विकासमा ह्रास ल्याइरहेको अवस्था छ । महिलाको प्रगति हुन पहिले मानसिकता बलियो बनाउनुपर्छ । महिलाले पनि उदाहरणीय काम गरेर देखाउन सकिन्छ भन्नेमा दुई मत छैन ।
प्रस्तुति : फातिमा बानु

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल