मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

कवि तथा आख्यानकार उपेन्द्र सुब्बा पछिल्लो समय फिल्मको स्क्रिप्ट लेखनमा व्यस्त छन् । पहिचानको पक्षमा सिर्जनशील सुब्बाले लेखनमा जस्तो अलग धार बनाएका छन्, उनको जीवनशैली पनि पृथक र अनौठो छ । राजनीति, प्रेम, मदिरासहित उनको जीवनका रहस्यबारे रमन पौडेलले गरेको कुराकानी :

upendra subba (1)
मेरो खाना
मलाई सबैभन्दा मनपर्ने खाना साग र भात हो । अचेल प्रायः उसिनेको खाना खाने गरेको छु । र, यही मन पर्छ पनि । मलाई मासु मन पर्दैन ।
कहिलेकाहीं परिवारलाई लिएर रेष्टुरेन्ट पनि जान्छु । त्यहाँ गएर प्रायः कफी वा केक खान्छु म । मलाई मन पर्ने स्न्याक्स फिंगर चिप्स हो । परिवारका सदस्य अरू खान्छन् । मचाहिँ जानेबित्तिकै फिंगर चिप्स खान्छु ।
खाना पकाउन पनि मलाई निकै रुचि लाग्छ । किचनमा प्रशस्त समय बिताउँछु म । घरमा एक्लै हुँदा वा तनाव भएको बेला म किचन छिर्छु । यो मेरो पुरानै आदत पनि हो । किचनमा छिरेर प्रायः तरकारी, अचार बनाउँछु । तरकारी पकाउँदा डढ्छ कि भनेर सोच्नै नपाइने भएकाले पनि तनाव भएको बेला यसो गर्नु उपयुक्त लाग्छ ।

मेरो पोसाक
पोसाकमा म निकै सौखिन छु । धेरै भेराइटीका कपडा लगाउँछु । यतिसम्म कि, साथीभाइले मेरो निश्चित गेटअप नै आँकलन गर्न सक्दैनन् । कहिले टी–सर्ट–प्यान्टमा हुन्छु भने कहिले हाफप्यान्ट र चप्पलमै पनि बाहिर निस्कन्छु । कुर्तासुरुवाल, दौरासुरुवाल र सर्टप्यान्ट पनि मसँग थुप्रै थान छन् । भेराइटी कलरमा किसिम–किसिमका कपडा छन् मसँग ।
पोसाकमा मलाई मन पर्ने रंग कालो हो । कालोटोपी खुबै लगाउँछु । कालोटोपीमात्रै सातवटा छन् मेरो घरमा ।
कपडामा ब्रान्ड कन्सस भने छैन । बरु जुत्तामा चाहिँ म ब्रान्ड कन्सस छु । प्रायः एडिडास नै लगाउँछु ।

कुनै पनि पुस्तक एक बसाइमा जति पढें त्यति नै पढ्छु । मानिसहरू आधी पढेर पाना दोब्य्राएर राख्छन् । वा बुक मार्क राखेका हुन्छन् । मेरो त्यस्तो बानी छैन ।
निरन्तर पढ्न सकें भने बिहान, दिउँसो र राति गरेर भए पनि सकिहाल्छु । बरु दुई/तीन दिन लगाएरै पनि पढिसक्छु । तर, पढाइमा अवरोध आयो भने पढ्न सक्दिनँ ।

मेरो फिटनेस
म अलि अल्छी छु । तैपनि मर्निङवाकचाहिँ गर्छु । बिहान साढे पाँचदेखि साढे सात बजेसम्म मर्निङवाकमै व्यस्त हुन्छु । यसबाहेक योगा गर्न पनि रुचि छ । तर, विभिन्न कामले गर्दा मेसो मिलिराखेको छैन ।
केही साथी फिटनेसका लागि डाइटिङ पनि गर्छन् । म शाकाहारी भएकाले गर्दा पनि डाइटिङ भने गर्नुपरेको छैन ।
मेरो अध्ययन
अध्ययनमा रुचि भएको तर पढ्न फिटिक्कै नसक्ने मानिसमा पर्छु म । कुनै पनि पुस्तक एक बसाइमा जति पढें त्यति नै पढ्छु । मानिसहरू आधी पढेर पाना दोब्य्राएर राख्छन् । वा बुक मार्क राखेका हुन्छन् । मेरो त्यस्तो बानी छैन ।
निरन्तर पढ्न सकें भने बिहान, दिउँसो र राति गरेर भए पनि सकिहाल्छु । बरु दुई/तीन दिन लगाएरै पनि पढिसक्छु । तर, पढाइमा अवरोध आयो भने पढ्न सक्दिनँ ।
केही वर्षअघिसम्म म आध्यात्मिक पुस्तक बढी पढ्थें । मेरो संकलनमा पनि प्रायः आध्यात्मिक पुस्तक नै बढी छन् । आध्यात्मिक पुस्तकबाहेक तन्त्रमन्त्रका पुस्तक पनि थुप्रै पढें ।
२०७० पछि भने धेरै निबन्ध पढ्दै आएको छु । पछिल्लो केही महिनायता धेरै पढेको छैन । पछिल्लो मंसिरदेखि लगभग एउटै पनि पुस्तक पढ्न पाएको छैन ।
रजनिश ओशोका पुस्तकमा मेरो विशेष रुचि छ । उनका अधिकांश पुस्तक पढेको छु । अहिले पनि मलाई सरल लाग्ने लेखक ओशो नै हो । यसभन्दा गहिराइमा बुझ्न पनि सक्दिनँ म ।
पुस्तक संकलन गर्ने मोह खासै छैन मलाई । राखेको भए त थुप्रै हुन्थ्यो होला । यसो भन्दा पनि केही संकलन त छन् । तर ती सबै काम लाग्ने छैनन् ।
अब छिट्टै उपन्यास लेख्ने योजनामा छु । तर, लेखिराखेको भने छैन । घरमा बसेर लेख्न सक्दिनँ । त्यसैले बाहिर जानुपर्ने हुन्छ । अनेक व्यावहारिक कठिनाइले गर्दा लेख्नका लागि बाहिर जान मिलेको छैन अहिले ।

upendra subba (2)
मेरो घुमफिर
मेरो जीवनको लक्ष्य वा उद्देश्य भनेकै घुम्ने हो । यो संसारलाई चारतिरबाट टेक्न चाहन्छु म । यो पृथ्वीलाई सानो भकुन्डोजस्तो बनाएर पर राखेर हेर्न चाहन्छु । यहाँका मानिस यस्ता रहेछन्, उनीहरूका सभ्यता यसरी निर्माण भएर आएछ भन्ने कुरा घुमेरै जान्न चाहन्छु म । यो सिंगो पृथ्वीलाई ग्लोब बनाएर बाहिरबाट अवलोकन गर्न चाहन्छु ।
घुमफिरक्रममा धेरै जिल्ला पुगेको छु । हुम्ला, जुम्लासहित कर्णालीका केही जिल्लाबाहेक अधिकांश जिल्ला घुमिसकेको छु । तर, मेरो अहिलेसम्मको विदेश भ्रमण भने हङकङमात्रै हो । घुम्नेक्रममा मलाई एकदम मन परेको ठाउँ मुस्ताङ हो । अरू केही ठाउँ सुन्दर छन् भन्ने सुनेर पनि जान पाएको छैन । सगरमाथा बेस क्याम्प, मानसरोवर र फक्ताङलुङ यात्रा गर्ने औधी चाहना छ । अब केही वर्षैभित्र यी ठाउँ पनि पुग्नेछु ।

खेलकुदमा म साह्रै अनुदार मानिस हुँ । मेरो जीवनमा खेलकुद भन्ने नै आएन भन्दा हुन्छ । खेलकुदमा मैले केही पनि सिकिनँ ।
किशोरावस्थामा पनि केही खेल खेलिनँ । यद्यपि, हेर्नका लागि मलाई लङटेनिस धेरै मन पर्छ ।

मेरो फुर्सद
त्यति धेरै व्यस्त पनि छैन म । तर, फिल्म वा पुस्तकको काम प¥यो भने व्यस्त हुन्छु ।
फुर्सदको समय भने दिनभरि घरमै बस्छु । सानी छोरीसँग खेलेरै दिनभरि घर बस्छु । कहिले उसलाई ट्याक्सीमा लिएर बाहिर घुम्न लैजान्छु । कहिले परिवारलाई नै साथ लिएर रेष्टुरेन्ट जाने गर्छु ।
मेरो खेलकुद
खेलकुदमा म साह्रै अनुदार मानिस हुँ । मेरो जीवनमा खेलकुद भन्ने नै आएन भन्दा हुन्छ । खेलकुदमा मैले केही पनि सिकिनँ ।
किशोरावस्थामा पनि केही खेल खेलिनँ । यद्यपि, हेर्नका लागि मलाई लङटेनिस धेरै मन पर्छ । क्रिकेट र फुटबल पनि कहिलेकाहीँ हेरिबस्छु । अर्जेन्टिना साह्रै मन पर्ने फुटबल टिम हो । अर्जेन्टिनाले वल्र्डकप जितेर मेस्सी महान् खेलाडी भएको हेर्ने धोको छ मेरो । सानो छँदा रेस्लिङ पनि धेरै हेर्थें तर बुझ्ने भएपछि यति घिन लाग्न थाल्यो । टीभीमा रेस्लिङ आयो कि रिस उठ्छ ।

upendra subba (3)
मेरो मोबाइल
मेरो साथमा अहिले दुई मोबाइल छन् । एलजी–२ र अर्को आइफोन–५ । यी दुवै सेट विदेशबाट आफन्त र साथीले गिफ्ट पठाइदिएका हुन् । तर, यी मोबाइलको बजारमूल्य भने मलाई थाहा छैन ।
मोबाइलमा हुने एप्समध्ये धेरैजसो युट्युब, फेसबुक र जिमेल प्रयोग गर्छु । कहिलेकाहीँ फुर्सदको समय गेम पनि खेल्ने बानी छ ।
मेरो टेलिभिजन
आफ्नै चाहनाअनुसार टीभी हेर्न पाउँदिनँ म । प्रायः छोरीहरूको साथमा हेर्छु । उनीहरू कार्टुन हेरेको बेला म पनि कार्टुन हेरिदिन्छु । साँझ अरूले सिरियल हेरेको बेला म पनि सिरियल हेरिदिन्छु । छोरीहरूको चाहनाअनुसार टीभी हेर्दा यस्तो बानी बस्यो कि मलाई पनि मोटु–पत्लु र शिवा मन पर्न थाल्यो ।
मेरो चलचित्र
पछिल्लोपटक मैले हेरेको हिन्दी फिल्म ‘फितुर’ हो । नेपालीचाहिँ ‘प्रेमगीत’ । फिल्म हेर्दा प्रायः फिल्म हलमै पुगेर हेर्छु । कुनै छुटेका फिल्मचाहिँ घरमै बसेर हेर्छु । मनपर्ने फिल्म धेरै छन् । त्यसमा धेरैजसो क्लासिकल फिल्म पर्छन् । म फिल्म मेकरलाई बुझेर पनि फिल्म हेर्ने गर्छु । याङ यिमोउ, किम कि दुक, मजिद माजिदी, आङ ली मलाई मनपर्ने फिल्म मेकर हुन् । उनीहरूका प्रायः फिल्म हेर्छु । र, नेपाली सिनेमा हेर्ने हो भने दयाहाङ राई, सौगात मल्ललगायत कलाकार धेरै मन पर्छ ।
मेरो रोग
युरिक एसिडको बिरामी हुँ म । यसले गर्दा क्रिटिना बढेर आएको छ । डा. ऋषि काफ्लेसँग नियमित चेकअप पनि गराउँदै आएको छु । त्यस्तै ब्लडप्रेसर पनि हाइ छ ।
पहिले अनियन्त्रित खानपानका कारण यस्तो समस्या आयो कि जस्तो लागेर खानपानमा सुधार गरें । तैपनि पूर्ण रूपमा सन्चो भइसकेको छैन । खानपानमा सतर्क हुन थालेको पनि आठ÷दस वर्ष भइसक्यो । घरमा बस्दा त सामान्य नै हुन्छ । तर, फिल्म सुटिङका लागि घरबाहिर जाँदा होटलमा खानुपर्ने हुँदा समस्या बल्झिन्छ ।

कुनै समय म दारु यसरी खान्थेँ कि, यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो । ती दिनहरूमा सधैं त पिउँदिनथेँ । तर, पिएको बेला यसरी पिउँथेँ कि मानौँ त्यो नै अन्तिम हो ।

upendra subba (4)
मेरो मापसे
मैले १२/१३ वर्षको उमेरदेखि नै रक्सी खान थालेको थिएँ । मेरो संस्कृति पनि त्यस्तै किसिमको थियो । मेला, हाट–बजार जाँड खाएरै बिताएँ मैले ।
कुनै समय म दारु यसरी खान्थेँ कि, यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो । ती दिनहरूमा सधैं त पिउँदिनथेँ । तर, पिएको बेला यसरी पिउँथेँ कि मानौँ त्यो नै अन्तिम हो । म धेरै नबोल्ने मानिस । तर, पिएपछि औधी रमाइलो गर्थें । मातेपछि निकै रमाइलो गर्थें म । म मातेर झगडा गरेको कसैलाई थाहा छैन । मातेपछि म जोक्स भन्थें । कसै गर्दा पनि नरिसाउनेखालको थिएँ । बरु फ्रेस भएको बेला रिसाउँथे तर मातेको बेला रिसाउँदैनथेँ । ठीक उल्टोखालको स्वभाव । मैले रमाइलो गरेको हेर्नकै लागि साथीभाइले मलाई मताउन तोङ्बामा खुकुरी रम मिसाएरसमेत पियाउँथे ।
तर, रक्सी छाडेको पनि १० वर्ष भइसकेछ । किड्नीमै समस्या देखिएपछि डाक्टरको सल्लाहअनुसार मासु र रक्सी पिउनै छाडिदिएको हुँ ।
मेरो संगीत
गीत–संगीतको म पारखी नै हुँ । भजन र सुफी गीत पनि सुन्छु । मलाई मनपर्ने गीतचाहिँ भक्तराज आचार्यको ‘हजार सपनाहरूको माया लागेर आउँछ’ । मनपर्ने रोमान्टिक गीत गुलाम अलीको ‘दिलमे एक लेहर सी उठी हे अभी’ ।

मैले जिद्दीमै बिहे गरेको हुँ । त्यस भुलप्रति जीवनभरि पश्चाताप हुनेछ । म उनलाई मन पराउँथे तर सही तरिकाले नफकाएर धम्कीको शैलीमा फकाएँ । बिहे गर्न दबाब नै दिएको थिएँ मैले । अचेल पनि उनलाई यी कुराहरू भन्छु । उनलाई मन पराउनु र बिहे गर्नु त राम्रो कुरा थियो तर जुन शैली मैले अपनाएँ त्यसप्रति पश्चाताप छ ।

म प्रायः एक्लै हुँदा गीत गुनगुनाउँछु पनि । अनुप जलोटाको ‘मट्टी कुम्हाल से तु क्या रौंदे मोहे एक दिन ऐसा आएका में रौंदुँंगी तु’ र ‘तेरे सहरका मौसम..’ धेरैजसो मैले गुनगुनाउने गीत हुन् । साँझको समय गीत गुनगुनाउन मन लाग्छ । प्रायः साँझ घर बस्न सक्दिनँ । जस्तै घाम डुब्दै गर्दा वरिपरि हरियाली भएका पार्क वा साना जंगल र खोलाछेउतिर गएर गीत गुनगुनाउँछु । कहिले छततिर गएर बस्छु । गीत सुन्छु र गाउँछु ।
मेरो भुल
जिन्दगीमा भुल त भए नै । दुई/चारवटा जिद्दी गरेको थिएँ । जो अहिले पनि सम्झन्छु ।
मैले जिद्दीमै बिहे गरेको हुँ । त्यस भुलप्रति जीवनभरि पश्चाताप हुनेछ । म उनलाई मन पराउँथे तर सही तरिकाले नफकाएर धम्कीको शैलीमा फकाएँ । बिहे गर्न दबाब नै दिएको थिएँ मैले । अचेल पनि उनलाई यी कुराहरू भन्छु । उनलाई मन पराउनु र बिहे गर्नु त राम्रो कुरा थियो तर जुन शैली मैले अपनाएँ त्यसप्रति पश्चाताप छ ।
त्यस्तै नौ कक्षा पढ्दा साथीहरूसँग मिलेर ‘आईएस्सी सर’ (म्याथ/साइन्स पढाउने शिक्षक) लाई पिटें मैले । अहिले सम्झन्छु, सायद त्यसबेला उन्माद थियो होला ।
ठ्याक्कै कारण त अहिले पनि सम्झना छैन । तर, बाहिरबाट आउनुभएका ती सरलाई स्कुलमै पिटियो । यो मेरो अर्को ठूलो भुल थियो । यी कुराप्रति जीवनभरि पश्चाताप रहनेछ ।
मेरो घर
पाँचथरमा मेरो बाबुको बाजेले बनाएको घुमाउने घर अझै छ । किराती परम्परागत शैलीको त्यो घर साह्रै ठूलो थियो । छाउन गाह्रो भएपछि मेरो बाबुले छाउन गाह्रो भयो भनेर घरको आधा भाग काटेर फाल्दा पनि अझै ठूलै छ ।
र, त्यही घरछेउमा म आफैँले कमाएर सानो अर्को घर बनाएको छु । तीन वर्षअघि दुई लाख जतिको खर्चमा टिनले छाएको घर बनाएको हुँ ।

upendra subba (5)
राशि
मेरो राशि वृष हो । ग्रहदशा र समग्र ज्योतिषविज्ञानमा मलाई पूर्ण विश्वास छ । तर, पशुपतितिर ग्रहदशा हेराउन बस्नेहरूमा भने कुनै विश्वास लाग्दैन । विश्वास गरे पनि शरीरमा कुनै पत्थर, मणि वा गहना लगाएको छैन । ग्रहशान्ति गराउने वा हात हेराउन जाने पनि गर्दिनँ ।
मेरो सौन्दर्यचेत
सानैदेखि म कुरूप छु भन्ने हीनताबोधले डिप्रेसनमा गुज्रिएर आएको हुँ । म नराम्रो छु । मेरो यो थोपडा नराम्रो छ भन्ने हीनताबोधले म कहिल्यै केटीहरूसँग नजिक हुनै सकिनँ । २२ वर्षको उमेरमा पनि मसँग प्रेमिका थिएनन् ।
म नराम्रो छु भन्ने कुण्ठालाई जाँड–रक्सीको माध्यमबाट व्यक्त गरें । यसले गर्दा सानैदेखि रक्सी पिउने बानी भयो । रक्सीले मातेपछि मेरो हीनताबोधलाई कम गर्छ भन्ने लाग्थ्यो मलाई ।
र, म राम्रो देखिन कविता लेख्न थालें । अनुहार र शरीर सुन्दर बनाउने ध्याउन्नमा कहिल्यै लागिनँ । बरु कविता लेख्न थालें । अरूलाई आफूप्रति आकर्षित गर्नकै लागि कविता लेखेको थिएँ । मेरो अचेतन मनदेखि यस्तो आएको हुन सक्थ्यो ।
कुनै कुराको क्षतिपूर्तिस्वरूप मानिस सिर्जना गर्छन् भन्ने भनाइ छ । यही कारण मैले पनि कविता लेख्न थालें हुँला । मलाई लाग्यो– म कुरूप छु । यस्तो तरिकाले त कसैलाई आकर्षित गर्न सक्दिनँ भन्ने लागेपछि कविता लेख्न थालें । केहीअघि एउटा कार्यक्रममा त सिधै भनिदिएँ तरुनी फकाउन कविता लेखेको भनेर । पछि मानिसले गाली गरे । सत्य बोल्यो गाली गर्छन् ।
मेरो प्रेम
म नराम्रो छु भन्ने हीनताबोधले नै मेरो जीवनमा प्रेम कहिल्यै भएन । यतिसम्म कि कसैलाई एकतर्फी मन पराउने पनि आँट आएन । बिहे गर्ने उमेरमा मन पराएको भनेको अहिलेको श्रीमती नै हो । तर, त्यतिबेला उनैले पनि मन पराइनन् । मेरो प्रस्ताव ठाडै अस्वीकार भयो । त्यसपछि मैले अनेक किसिमका उटपट्याङ काम गर्न थालें । र ती सबै काम उनैलाई पाउनका लागि थिए । अन्ततः पाएँ पनि । तर, केही वर्षअघि त पश्चाताप पनि भयो । कसैको जीवनलाई मैले यस्तो बनाउनु त हुँदैनथ्यो भन्ने ग्लानि पनि भयो ।
तर, जीवनको उत्तराद्र्धमा हालसालै कसैलाई बेहद मन पराएँ । यति पवित्र मनले चाहें तर मेरो दुर्भाग्य उनले पलाई मन पराइनन् । लाग्छ– यो जन्म प्रेमका लागि नै होइन ।

म ठूला सपना देख्ने मानिस होइन । अति निजी सपनामात्रै देख्छु म । लोकहितका सपना कमै देख्छु । र, कुनै महान् कामका लागि म जन्मिएको भन्ने पनि लाग्दैन मलाई ।

मेरो राजनीति
मेरो बुवा तत्कालीन पञ्चायती नेता पद्मसुन्दर लावतीको हनुमाने कार्यकर्ता हुनुन्थ्यो । यही कारण पनि त्यसबेला म कम्युनिस्ट हुन सकिनँ । र, कम्युनिस्ट भने पनि कसैले पत्याएनन् ।
स्कुल लेभलमै एउटा विद्यार्थी संगठन (नाम नभनौं) ले मलाई उपाध्यक्ष बनाएको थियो । भाषण गर्नुपर्ने भयो भनेर त्यो सभादेखि भागेको कहिल्यै फर्केर राजनीतिमा आइनँ । त्यसपछि कुनै पनि संगठनमा लागिनँ । त्यसैबेलादेखि भागेको । भागेको भाग्यै भएको छ ।
इलामको महेन्द्र बहुमुखी कलेज पुगेपछि होस्टल बस्थें । त्यहाँ अखिलका साथीहरूसँग नजिक भएँ । म ठूलो ज्यानको भएको । अलि दह्रो देखेर हो कि कसो हो, झगडा पर्दा र आन्दोलनको बेलामात्रै खोज्थे । अरू बेला मेरो आवश्यकता नै थिएन । त्यसरी दुई वर्षजति बित्यो । तर, कुनै कमिटीमा पनि राखेनन् ।
पछि जिल्लामै धर्मेन्द्रविक्रम नेम्वाङजीले कांग्रेसको क्रियाशील सदस्य भरिदिए । र, अहिले पनि मैले गाउँ पुगेर ‘रिन्यु’ गर्नुपर्दैन । गाउँको नेताहरूले नै मेरो नाममा कांग्रेसको सदस्यता रिन्यु गरिदिन्छन् । १२/१३ वर्षभन्दा पनि धेरै भइसक्यो मेरो सदस्यता आफैँ रिन्यु हुन्छ । त्यही देखाएर गाउँका नेताहरूले प्रतिनिधि जान्छन् होला ।
अस्ति मात्रै कांग्रेसको महाधिवेशनमा हेरेको मेरो नाम पनि क्रियाशील सदस्य सूचीमा थियो ।
अघिल्लो साल गाउँ जाँदा काका पर्ने गाउँ कमिटी अध्यक्षले रिन्यु गरेको सदस्यता ल्याएर दिएर भने, ‘भतिज प्लेन÷स्लेन चढ्दा काम लाग्छ यो कार्ड राखिराख्नुस् ।’ त्यो कार्ड घरमै छाडेर काठमाडौं आएँ ।
राष्ट्रिय राजनीतिमा भने मैले जुन उम्मेदवारलाई भोट दिएँ उसैले हार्यो । यतिसम्म कि, तीनपटक मतदान गरें, तीनैपटक मैले मतदान गरेका उम्मेदवारले जित्न सकेनन् ।
यद्यपि, मेरो लेखन चेतनाको आफ्नै राजनीतिक धरातल छ । म पहिचानको पक्षमा लेख्छु । र अहिलेको आवश्यकता पनि यही हो ।
मेरो सपना
म ठूला सपना देख्ने मानिस होइन । अति निजी सपनामात्रै देख्छु म । लोकहितका सपना कमै देख्छु । र, कुनै महान् कामका लागि म जन्मिएको भन्ने पनि लाग्दैन मलाई ।
मैले जति काम गरेको छु ती आफ्नै फाइदा र स्वार्थका लागि मात्रै हुन् । त्यसो त, मेरा सिर्जनाले सायद लोकहितमा काम गरे भने त त्यो ठिकै छ । र, जीवनभरि मैले सरकारको नियुक्ति पनि खाने छैन । बरु देश–विदेश घुम्ने उद्देश्य भने छ ।
यसबाहेक, केही सपना छन् । केही त्यस्ता कुरा जो मैले नलेखी हुँदैन । दुई/तीनवटा फिल्म बनाउनु छ । जो मैले नबनाए अरू कसैले बनाउने छैन । ती काम पूरा गरेपछि लगभग मेरा सपना पनि पूरा हुनेछन् ।

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल