त्यो जमानाको पत्रकारिता : प्रशासनको आँखाको कसिंगर, जनताको आँखाको नानी

-  |   -

त्यो जमानाको पत्रकारिता : प्रशासनको आँखाको कसिंगर, जनताको आँखाको नानी

संखुवासभाको आर्सीभूर्इंमा ००४ सालमा जन्मिएका चक्रपाणी नेपालले ०२८ बाट पत्रकारिता सुरु गरे र अहिले पनि उत्तिकै सक्रिय छन् । गोरखापत्र, मधुपर्क र नेपालीपत्रमा लेखिरहेका छन् । आफूले पत्रकारिताको सुरुवात गर्दा र अहिलेको समयको पत्रकारिताका फरक समस्या र संघर्ष उनले अनुभव गरेका छन् । रातोपाटीकर्मी आस्था केसीसँग उनले आफ्नो त्यसबेलाको पत्रकारिताको संघर्ष र समस्याबारे कुराकानी गरेका छन् :

chakrapani-nepal

–सही कुरा लेख्दा जेल उपहार !
त्यसबेला समाजमा पत्रकारको इज्जत थियो
–समाचार चिट्ठीजसरी हुलाकबाट पठाउने गरिन्थ्यो
–कैयौं दिन त भोकभोकै बस्नुपथ्र्यो ।
–अहिले ब्रोडसिटका आधाजसो ‘न्युज’ ‘डेडन्युज’ हुन्छन्
–अहिलेका अधिकांश पत्रकार अल्छी भएका छौं

डा. बल्लभमणि दाहाल मेरा गुरु हुनुहुन्छ, वासु शाक्य दौंतरी । उहाँहरूकै सर–सल्लाहमा म पत्रकार बनेको हुँ । तीसको दशकमा मदन भण्डारीले पनि प्रेरणा दिनुभयो । विराटनगरको कोशेली दैनिक पत्रिकाबाट मैले मैले ०२८ सालबाट पत्रकारिता शुरु गरेको हुँ । त्यतिबेला पत्रिकाको प्रधानसम्पादक कुमारबहादुर श्रेष्ठ हुनुहुन्थ्यो । पछि कोषराम रेग्मी हुनुभयो । मलाई पत्रकारिता सिकाउने गुरु उहाँहरू नै हो । अहिले अहिले दुवैजनाको निधन भइसक्यो ।

प्रशासनको आँखाको कसिंगर
त्यसबेलाको पत्रकारिता अहिलेजस्तो सहज थिएन । सबै काम लेटरप्रेसमा गर्नुपथ्र्यो । त्यसमा पनि ‘लेटर’ पनि नेपालमा पाइँदैनथ्यो, पटना र बनारसबाट ल्याउनुपथ्र्याे । त्यसको फलाम खिइने हुँदा पटक–पटक ‘रिकन्ट्रक्ट’ गरेर ल्याउनुपथ्र्यो । एक–एक अक्षर टिपेर कम्पोज गर्दै पत्रिका निकालदा निकै दुःख पाउँथ्यौं । त्यसबेला राजा वा अन्य उच्चपदस्थबारे कुनै केही पनि तलमाथि भयो भने मुद्दा लाग्थ्यो । त्यसो हुँदा म दसौंपटक हिरासतमा बस्नुपरेको छ, जरिवाना तिरेको छु । प्रशासनको आँखामा कसिंगर बने पनि त्यसबेला समाजमा पत्रकारको इज्जत थियो । पत्रकार जनताको आँखाका नानीजस्तै थिए ।

चिट्ठीजस्तै समाचार
त्यतिबेला समाचार चिट्ठीजसरी हुलाकबाट पठाउने गरिन्थ्यो । पछि कुरियर आयो । तिनदेखि चारदिनमा बल्ला पत्रिकाको कार्यालयमा समाचार पुग्थ्यो र सात दिनमा प्रकाशित हुन्थ्यो । त्यसैले निकै गाह«ो थियो ।
मेरो अहिलेसम्म पनि फेसबुक आइडी छैन । इमेल पनि बनाएको छैन । मोबाइल पनि फोन गर्न मात्र मिल्ने खालको बोकेको छु । अहिले प्रविधिले फड्को मारेको छ, तर यसमा म अलि पछि नै छु । तर यो सिक्ने झण्झटतिर म लागिनँ, यत्तिकै ठिक छु भन्ने लाग्यो । त्यसो त अहिले प्रविधिको दुरुपयोग पनि भइरहेको छ । मोबाइल र फेसबुकले युवापुस्तामा ‘डिप्रेसन’ बढाएको छ । युवाहरू समाज होइन, आफूकेन्द्रीत बनिरहेका छन् ।

ब्लकको दुःख
त्यतिबेला अहिलेजसरी फोटो छाप्न सकिँदैनथ्यो । राजारानीलगायत उच्चपदस्थको फोटो चाहिए ‘ब्लक’ बनाउनुपथ्र्यो । आल्मुनियमको पातामा बनाइएको त्यस्तो ‘ब्लक’ बनाउन काठमाडौं नै आउनुपथ्र्यो । विराटनगर र जनकपुरबाट काठमाडौं आउथेँ । सूचना विभागको भवनमुनि ब्लक बनाउने सानो उद्योग थियो । त्यहाँ आफूले चाहेको फोटोको ब्लक बनाउन दिनुपथ्र्यो । त्यो पनि तुरुन्तै हुँदैनथ्यो, पालो कुर्नुपथ्र्यो कम्तीमा चार–पाँच दिन ।
त्यसबेला राजमार्ग बन्न सुरुमात्रै भएको थियो । त्यसैले जोगवनीबाट रक्सौल हुँदै काठमाडौ आउनुपथ्र्यो । पछि बाटो बनेपछि अलि सहज भयो ।

हालत उस्तै–उस्तै
त्यतिबेलाको राज्यव्यवस्था निरंकुश थियो । त्यसविरुद्ध एक शब्द पनि तलमाथि भयो भने कारबाही भइहाल्थ्यो । अर्कातिर अहिलेजस्तो कर्पोरेट व्यवस्था पनि थिएन । सीमित अड्डा थिए । विज्ञापन पनि सीमित नै आउँथ्यो । त्यसैआधारमा आफ्नो जीवन चलाउनुपथ्र्यो । कैयौं दिन त भोकभोकै बस्नुपथ्र्यो ।
अहिलेजस्तो सुविधा थिएन । कहिलेकाहीँ किन यो पेशामा लागेछु भन्ने पनि लाग्थ्यो । तर देश र जनताप्रतिको जिम्मेवारीबोधले जित्थ्यो । तथापि मलाई त्यो जमानाको पत्रकारिता र अहिलेको पत्रकारितामा खासै फरक छैनजस्तो लाग्छ । लेटरप्रेसमा काम गर्नुपरेको छैन, त्यति हो । साप्ताहिक पत्रिकामा काम गर्नेको हालत त उस्तै–उस्तै छ ।
त्यतिबेला महिलाहरू घरबाट बाहिर निस्कन पनि सक्दैनथे । कपडा लगाउँदा गोलीगाँठो पनि देखिनु हुँदैन भन्ने मान्यता थियो । त्यस्तो जमानामा महिला पत्रकार हुने कुरा कल्पना भन्दा पनि टाढाको कुरा थियो ।

बल्ल–बल्ल गुजारा
त्यतिबेलाको कमाइ असाध्यै कम थियो । जेनतेन बाँच्नमात्रै पुग्थ्यो । मैले १ सय ५० रुपैयाँ मासिक तलबमा काम सुरु गरेको हुँ । पछि जनकपुरमा गएर ‘नयाँ पाइला’ पत्रिकामा मासिक ३ सय ५० रुपैयाँमा काम गरेँ । ६ रुपैयाँमा पेटभरि दालभात, तरकारी खान पाइने त्यो समयमा त्यति तलबले मलाई गुजारा गर्न सहज भएको थियो ।
म आफ्नो विचारमा सम्झौता गर्दैनथें । त्यसैले राज्यको निकायसँग ‘टसल’ परिबस्थ्यो । त्यसैले अञ्चलाधिशले मलाई ‘नयाँ पाइला’बाट निकाला गर्न लगाए । त्यसपछि म बाँके गएँ । त्यहाँ डेढ बर्षसम्म गोपालबहादुर सिंहको ‘भेरी सन्देश’मा काम गरेँ । त्यहाँ पनि उही कथा दोहोरियो, प्रशासनसँग खटपट भयो । त्यसपछि ०३९ सालमा काठमाडौं आएँ । त्यसपछि यतै छु । साप्ताहिक मञ्च, विमर्श हुँदै नेपालीपत्रमा काम गरिरहेको छु ।

सही कुरा लेख्दा जेल उपहार !
पञ्चायतकालीन समयमा सबैभन्दा ठूलो समस्या नै प्रशासनको हुन्थ्यो । एउटा घटना सम्झन्छु, रसियामा ‘टर्मबिल’ दुर्घटना भएको थियो । विकिरण फुटेको थियो । त्यसको नजिकै पाउडर दूधको कारखाना रहेछ । त्यसमा उत्पादन हुने ‘पाउडर’ दूधमा पनि विकिरण मिसिएको थियो । तत्कालिन मरिचमान सिंह नेतृत्वको सरकारले त्यही दूध किनेर दूग्ध विकास संस्थानमा ल्यायो । मैले ‘प्रकाश साप्ताहिक’मा उक्त दूध विषादीयुक्त छ, खानु हुँदैन भनेर लेखेँ । त्यहीवापत भृकुटीमण्डपको अहिलेको प्रहरी पोस्ट अगाडिबाट प्रहरीले समातेर धादिङमा लगेर ३१ दिनसम्म राख्यो । तर पछि मैले लेखेको समाचार सत्य नै प्रमाणित भयो । दूध बिषादीयुक्त नै ठहरियो । त्यसपछि म रिहा भएँ ।
त्यतिबेला ‘समय दैनिक’का सम्पादक पन्नालाल श्रेष्ठ नेपाल पत्रकार महासंघका नेता थिए । उनी दरबार वरिपरिका मान्छे थिए । पत्रकारको हकहितबारे केही बोल्दैनथे । मेरो लागि पनि कसैले पहल गरेन ।
०४५ सालतिर कोशी अञ्चलको रिपोर्टिङमा धनकुटा गएको थिएँ । ०४६ मा आन्दोलन भयो । आन्दोलन सफल हुनु ७ दिन अघि म लगायत ५ जनालाई प्रहरीले गिरफ्तार गरेर हिलेमा लगेर गोदाममा राख्यो । आन्दोलन सफल भएर बहुदल घोषणा पनि भएछ । तर मैले त्यो खबर तीन दिनपछि मात्र थाहा पाएँ । चिया खुवाउन लैजाने मान्छेले देशमा बहुदल आइसक्यो, तपाइँहरूलाई किन थुनिराख्या छ भनेपछि त्यहाँबाट छुट्न पहल गरियो र छुटेर काठमाडौं आइयो ।

chakrapani-2पहिले प्रभाव ठूलो, अहिले प्रभावशुन्य
मेरो पत्रकारिता जीवनलाई फर्केर हेर्दा आफूलाई सफल नै पाउँछु । किनभने मेरो पत्रकारिता जीवनमा कसले औंला ठड्याएको छैन । आफूलाई सक्षम, मिहिनेती र श्रमजीवि पत्रकार हुँ भन्नुमा गौरव गर्छु ।
मैले लेखेको समाचारले कति कर्मचारीको जागिर गएको पनि छ । घटुवामा परेका पनि छन् र बढुवा भएका पनि छन् । त्यस्ता धेरै घटना छन् । तर ०४८ सालयता जसले जे लेखे पनि भएको छ । कसैले किन भनेर प्रश्न पनि गर्दैन र त्यसको प्रभाव पनि देखिँदैन ।
पछिल्लो समय पत्रकारितामा देखिएको विकृतिका कारण पनि यस्तो भएको हो । त्यसो त विकृति पत्रकारितामा मात्र होइन, सबैतिर छ । प्रजातन्त्र र लोकतन्त्रका नाममा जुन प्रणाली यहाँ हावी हुँदै गएको छ, त्यसलाइ नियन्त्रण गर्ने कुनै संयन्त्र विकास हुन सकेको छैन ।
अहिले ब्रोडसिटका आधाजसो ‘न्युज’ ‘डेडन्युज’ हुन्छन् । यस्तो ‘न्युज’ बनाउने तरिका भारतबाट भित्रिएको हो । पत्रकारहरू सबै नेतामुखी भएका छन्, नेताका पछाडि लागेका छन् । राष्ट्रियस्तरमा चिनिएका हरेक नेताका पछाडि एक–दुई पत्रकार त लागेकै हुन्छन् ।
पत्रकारले उजागर गर्ने आजका मूख्य बिषय के–के हुन् भनेर कसैले खोजेकै छैन । अहिले भुँईचालोको कुरा छ । पुननिर्माण प्राधिकरणको प्रसंग चलिरहेको छ । प्राधिकरणले जुन खालको नीति तथा कार्यक्रम बनाएर पठाइरहेको छ । त्यो कुनै हालतमा सफल हुने कार्यक्रम छैन । यस्तो बेलामा भूकम्प प्रभावित ठाउँमा गएर त्यहाँको वास्तविक कुरा उजागर गर्न आवश्यक छ । सरकारलाई दवाव दिन जरुरी छ । एउटा गाउँको मध्यमवर्गीय परिवार, जसको मिलेको जमिन छ भने उसले प्राधिकरणले दिएको नक्साअनुसार चट्ट मिलेको घर बनाउन सक्ला रे । तर बारीको कान्लामा घर भएको गरिवले कसरी नक्सा हेरेर घर बनाउँछ ? तल खौलो छ, माथि भिर छ, नक्सा हेर्न पनि जान्दैन, अक्षर पनि चिन्दैन । उसले कसरी प्राधिकरणले भने अनुसारको घर बनाउन सक्छ ? यी र यस्ता राष्ट्रिय विषयमा कसैले पनि समाचार लेख्दैन । आफूलाई नम्बर एक दावी गर्ने मिडियाले यी सवालमा या त आँखा चिम्लिएका छन् या त वेवास्ता गर्ने नीति लिएका छन्, नजरअन्दाज गरेका छन् ।
अहिले सरकारको कुरा एकातिर छ, काम अर्को भइरहेको छ । यस्तो विषयमा मिडियाले बाटो देखाउन सक्नुपर्छ । तर त्यसो हुन सकेको छैन । कतिपय पत्रकारहरू त कुनै विचार नै नभएका अल्लारेको जमातजस्तो लाग्छ । कतिपयले जानी–जानी पितपत्रकारिता गरिरहेका छन् ।
अहिलेका अधिकांश पत्रकार अल्छी भएका छौं । रत्नपार्कबाट भृकुटीमण्डपसम्म हिंडेर जान सक्दैनौं । काठमाडौं बसेर महाकालीको पत्रकारिता हुँदैन । कर्णालीको पत्रकारिता गर्न त्यहीं पुग्नुपर्छ । तर त्यसो हुन सकेको छैन ।

वेवास्तामा पत्रकारिता
पत्रकारिता पेशा गर्नेलाई सरकारले गम्भीरतापूर्वक लिइरहेको छैन । श्रमजीवी पत्रकारलाई सरकारले तोकिदिएको न्यूनतम पारिश्रमिक सरकारी स्वामित्वकै मिडिया हाउसमा लागू हुन सकेको छैन भने अन्त कहाँ आशा गर्न सकिन्छ र ?
पत्रकार महासंघको नेतृत्वले पनि सरकारलाई यो कुरा राम्रोसँग बुझाउन सकेको छैन । आवश्यकता अनुसार दवाव दिन सकेको छैन । त्यसैले श्रमजीवि पत्रकारको अवस्था दयनीय नै छ । साढे १० हजारको नियुक्तिपत्र नभइ सुचना विभागले कार्ड दिंदैन । मैले पनि साढे १० हजारको नियुक्तिपत्र सिरानीमा राखेर सुतेको छु । तर लिने कुराचाहिँ न्यूनतम पारिश्रमिक निर्धारण समितिले कहिले पो दिलाउने हो, पर्खेर बसेको छु ।
अरु पेशामा कर्मचारी सेवानिवृत भएपछि पेन्सनको व्यवस्था हुन्छ । हामीजस्ता जीवनभरी अरू पेशा नगरेर पत्रकारितामै जीवन निर्वाह गरिरहेकाका लागि उमेर पुगेपछि जीवनवृत्तिको व्यवस्था गर्नुपर्छ । साठी वर्ष उमेर पुगेका र नियमित पत्रकारिता गरिरहेकालाई तिनको आर्थिक अवस्थासमेत हेरेर राज्यले वृत्तिको व्यवस्था गरिदिनुपर्छ । अहिले सामाजिक भत्ता भनेर जेष्ठ नागरिकलाई केही रकम दिने गरेको छ तर त्यो एकदमै कम छ । उनीहरूलाई बाँच्नको लागि आजको अवस्थामा कम्तीमा पनि ६ हजार रुपैयाँ दिनुपर्छ । त्यसोभयो भने मात्र उनीहरूको जीवन सुरक्षित हुन्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल