मेरो गुजारा : यसरी चल्छ लोकेन्द्र विष्ट मगरको गुजारा

-  |   लोकेन्द्र विष्ट मगरको गुजारा

मेरो गुजारा : यसरी चल्छ लोकेन्द्र विष्ट मगरको गुजारा
lokendra-bista-(3)

फाइल तस्वीर

तत्कालीन माओवादीले १० वर्षसम्म सञ्चालन गरेको जनयुद्धमा प्रत्यक्ष सहभागी नेता मध्येका एक हुन्, लोकेन्द्र विष्टमगर । उनी यही आन्दोलनबाट मूलधारको राजनीतिमा उदाय र मन्त्रीसमेत बने । तर, विष्ट यो स्थानमा चानचुने संघर्ष र मेहनतका बलले आइपुगेका छैनन् । बुबा–आमालाई सानै उमेरमा गुमाएका विष्टले कलिलै उमेरमा पारिवारिक जिम्मेवारी सम्हालेका छन् भने राजनीतिक आन्दोलनका क्रममा वर्षौंको जेल जीवन गुजारेका छन् । यस्तोमा उनले पारिवारिक गुजाराका लागि पनि उत्तिकै कष्ट भोगेका छन् । उनले संघर्षमय दिनदेखि अहिलेसम्मको आफ्नो गुजाराबारे यसरी सुनाएः

मेरो घर रुकुम जिल्लाको मुरु गाविस वडा नं. १ धौलावाङ हो । म मध्यम किसान परिवारमा बुबा हस्तराम विष्ट र आमा पुतला विष्टको सन्तानका रुपमा जन्मेको हुँ । मेरो बाजे बुबाको गुजारा कृषि कर्मबाटै हुन्थ्यो, बुबा–आमाले पनि कृषिबाटै आफ्नो जीविकोपार्जन गर्नु भयो । पुरानै खालको खेतीकिसानी भए पनि स्वाबलम्बी थियो हाम्रो परिवार । कृषिकर्मबाटै बुबा–आमाले गुजारा चलाउनु हुन्थ्यो ।
मेरो परिवारमा चारवटा बहिनी र म थियौं । सानैमा हाम्रो आमा बित्नु भयो । बुबा पनि मेलाबाट फर्कंदै गर्दा कसैबाट मारिनुभयो । आमा र बुबा दुवै जना नभएकाले स्वभविक रुपमा हाम्रो जीवनमा धेरै कठिनाइहरु आए । म जेठो भएकाले मेरो काँधमा धेरै दायित्व थियो । सबै कुरा मिलाएर मैले अध्ययन र राजनीति अघि बढाएँ ।

एक त गाउँमा उत्पादन नै बिक्री हुँदैनथ्यो, अर्कातिर हामीसँग जीविकोपार्जनका लागि मात्रै ठीक हुने उत्पादन हुन्थ्यो । औसत ग्रामीण किसानहरुले जसरी नै हाम्रो गुजारा चल्यो ।
विद्यार्थीकाल गुजाराका लागि कठीन हुन्छ, त्यसमा पनि बुबा–आमा नभएकाले मलाई गुजारा गर्न गाह्रो भयो । विद्यार्थी जीवनमा जसोतसो आफ्नो गुजारा चलाएँ ।
राजनीतिमा नै आफ्नो जीवन समर्पण गर्ने प्रतिज्ञासहित म विद्यार्थीकाल देखि नै राजनीतिमा लागेँ । पैत्रिक सम्पत्ति सकेरै भए पनि राजनीति गर्छु भनेर म राजनीतिमा होमिएँ । राजनीतिमै लागेर करिब–करिब मेरो सबै पैत्तृक सम्पत्ति सकियो । बाँकी रहेको केही जग्गा जमिन बहिनीहरुलाई दिएँ ।

पछि मैले विवाह गरेँ । विवाहपछि थप दायित्व थपिने भैहाल्यो । छोरी जन्मिएपछि गुजाराको विषय थप पेचिलो बन्यो । संगठन गर्दै, श्रम र उत्पादनका काम गर्दै , गुजारा चलाएँ । यहीबीचमा अध्ययन पनि छाडिनँ, अघि बढाएँ ।
२०५१ सालमा केन्द्रीय कमिटिमा आएँ । सेन्ट्रल कमिटिमा आएको ३–४ महिनापछि म जेल परेँ । त्यतिबेला छोरी १ वर्षकी थिइन्, अहिले उनी ब्याचलर पढ्दै छिन् । यस्तो बेला जेल पर्दा मेरो परिवारमा कठीनाई पर्ने भैहामल्यो, त्यस्तो कुरा के गर्नु । कसैलाई भनिरहने कुरा होइन यो ।
रुकुम जेलमा मैले सात वर्ष गुजारेँ । म जेल परेपछि मेरो परिवारले खेती–किसानी गरेर नै गुजारा चलाए । जेलमा परेको मेरो व्यक्तिगत गुजारा भने सरकारले नै चलाउने भैहाल्यो, कुनै चिन्ता हुने कुरै भएन ।
मेरो पैत्रिक सम्पत्ति सके पनि मेरो श्रीमतीको जग्गा जमिन थियो । श्रीमतीका ४ बहिनी अंशबन्डा गरेर माइतीमा बसेका थिए । यसले जेलमा बस्दा पनि मलाई उनीहरुको गुजारालाई लिएर चिन्ता गर्नु परेन, सहज ढंगले नै मेरो अनुपस्थितमा गुजारा चलाए ।
संघर्षका दिनहरु सजिला हुँदैनन् । निश्चयन संघर्षका दिन अप्ठ्यारा हुन्छन् । जेलभित्र र बाहिर दुवैतिर दुःख कष्ट सहेर म बाँचेको हुँ ।
यातनापूर्ण ढंगले लामो जेल जीवन गुजारेर रिहाइ भएपछि म फेरि पार्टी राजनीतिमा नै सक्रिय भएँ । ०६० सम्म केन्द्रीय सदस्य भएर राप्तीतिरै काम गरेँ । पार्टीको काम गरेपछि मेरो गुजारा पार्टीकै सहयोगमा चल्यो । परिवार त मेरो मात्रै होइन, सबै पूर्णकालीनको सकसका साथ नै चल्यो । यो सबैलाई थाहा भएको कुरा भैहाल्यो ।
०६० मा पार्टीले सरुवा गरेर भ्याली कमान्डमा पठायो,मलाई । मकवानपुर, काभ्रे र सिन्धुपाल्चोकको इन्चार्ज भएँ । काँधमा जिम्मेवारी भएकाले पार्टी र आफ्नै सक्रियतामा सेना, कार्यकर्ता र आफ्नो गुजारा चलाइयो ।
०६१मा पोलिटब्युरोमा बढुवा भएँ । पार्टी काम र उपचारका लागि भारत जाँदा ११ जना पटनामा गिरफ्तारमा पर्यौं । यसरी गिरफ्तारमा पर्नेमा सोनाम, चित्रबहादुर केसीलगायत थियौं । हामीलाई बेहोर जेलमा राखियो । सवा २ वर्ष त्यहाँ बसेपछि बक्सरको जेल गोलघरमा लगियो । त्यहाँ हामी ५ जना थियौं । लोकतान्त्रिक गणतन्त्रको लाइन पार्टीले लिएपछि म त्यहाँबाट छुटेँ ।

शान्ति प्रक्रियामा आएपछि केही न केही काम गरेर म गुजारा गर्दै आइरहेको छु । गत साल मात्रै पनि मैले काभ्रेको भकुन्डेबेसीमा कालो धानको खेती गरेको थिएँ, औपचारिक रुपमा । भकुण्डेबेसीमा आफूलाई र पार्टीलाई पनि काम लाग्ने भनेर ४ बिघा जमिन भाडामा लिएर खेती गरेको थिएँ । कालोधान , खुमलचार धान, कालोभटमासलगायत ३–४ वटा बाली मैले लगाएँ । यसमा म सफल भएँ, सन्तुष्ट छु । यसको प्रतिफलबाट अहिले मेरो राम्रै गुजारा चलिरहेको छ ।
काभ्रेमा गरेका खेतीले मलाई केही कुरामा फाइदा गर्यो । पहिलो त मेरो गुजारामा यसले निकै मद्दत गर्यो । भौैतिक रुपमा म परिश्रममा गए, मलाई चिन्ने झन्डै ९९ प्रतिशत जनताले विष्टको कदम ठीक हो भनेका छन् । कसैले गलत गर्यो भनेका छैनन् ।

lokendra-bista-(4)

फाइल तस्वीर

श्रमप्रिय संस्कृतिमा कम्युनिष्टहरुले विश्वास गर्नुपर्छ । सर्वहारा वर्गको नेतृत्व गर्ने पार्टीहरुले श्रमप्रिय संस्कृतिमा विश्वास गर्दै आफैंले श्रम गर्नु जायज हुन्छ । अरुलाई उपदेश बाँड्ने , अरन खटन गर्ने र कासन गर्ने हो भने अरुले पत्याउँदैनन् । त्यसैले श्रम सबैले गर्नुपर्छ । उत्पादनसँग जोडिएर राजनीति गर्नुपर्छ ।

डन्डा ठटाएर, चन्दा उठाएर धेरै दिन पार्टी र क्रान्तिको झन्डा फहराउँदैन । मैले पार्टीभित्र यो कुरा बारबार राख्ने गरेको छु । सबैले अदृश्य शक्तिबाट पैसा पाउन सक्दैनन्, पाए पनि यसरी राजनीतिसँग जोडिनु जायज हुनै सक्दैन । त्यसैले उत्पादनसँग जोडिएर गुजारा गर्नुपर्छ भनेर आफूले उत्पादनको काम गर्दै आइरहेको छु भने पार्टी र कार्यकर्तालाई पनि मैले यसरी नै राजनीतिमा लाग्न सुझाव दिइरहेको छु ।

पार्टीले उत्पादन र सहकारीको जिम्मा पनि मलाई नै दिएको छ । पार्टीका सबै नेता र कार्यकर्ताहरु पनि अब उत्पादनमा लागेर गुजारा गर्नुपर्छ भनेर म लागिरहेको छु ।

आउँदा दिनमा पनि राजनीति प्रधान भएर कृषि कर्म नै गर्ने मेरो सोच छ । अहिले त्यसैका लागि म जग्गा खोजिरहेको छु । तर, जग्गा पाउन सकिरहेको छैन । मजस्ता दुःख गरेर पसिना पोखेर खाने मान्छेलाई यहाँ जग्गा पाउन धेरै गाह्रो छ । हाम्रो देशमा अरु धेरै गाह्रा–साह्रा कृषि कर्म गर्नेलाई छ ।
कृषि कर्म गरेर बाँच्न किन पनि गाह्रो छ भने एकातिर सरकारले कृषिलाई पहिलो एजेन्डामा राखेको छैन । अर्कातिर अर्कातिर कृषि सम्बन्धी नीति पनि राम्रो छैन । हुन त अहिले अली सुधार हुन थालेको छ । विगतका भन्दा केही राम्रा पोलिसी पनि बनेका छन् । तर, यो पर्याप्त छैन । कृषकलाई प्रोत्साहन गर्ने नीति राज्यले तत्काल लिन जरुरी छ । अरु कुरा त छाडौं किसान आफैंले स्वग स्फूर्त रुपमा गरेको उत्पादनले समेत बजार पाउन सकिरहेका छैनन् । बजार नहुँदा किसान समस्यामा पर्दै आइरहेका छन् । सरकारले कृषकले उत्पादन गरेको वस्तु आफैंले किन्ने वातावरण बनाएर किसानको जीविकोपार्जनमा सहयोगी भूमिका खेल्न ढिला भइसकेको छ ।
अनुदान दिने, मेसिनको व्यवस्थ गर्ने, नयाँनयाँ तालिम, भ्रमण, किसानलाई चेतना जागृत गर्ने र सामूहिकतमा अगाडि बढ भन्ने, जग्गा चक्लाबन्दी गर्ने, जग्गा खण्डीकरण गर्न नदिने जस्ता काम पनि सरकारले उत्तिकै तदारुकता र प्राथमिकताका साथ गर्न जरुरी छ । कृषिप्रधान देश भन्ने तर कृषिको आधुनिकीकरणका लागि सिन्को पनि नभाँच्ने कामले धेरै जनता आश्रित यो क्षेत्र पछि परेको छ । सरकारले पोलिसी बनाएर कृषि क्षेत्रलाई विकास गर्ने हो भने मेरो मात्र होइन, सम्पूर्ण जनताको गुजारा नै सहज ढंगले चल्छ ।

प्रस्तुति : सुयोग शर्मा

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल