म आफैं आश्चर्यमा परेको त्यो दिन

-  |   प्रचण्ड, अध्यक्ष, एमाओवादी

कर्णाली भ्रमणपछि प्रचण्डको अनुभूति

म आफैं आश्चर्यमा परेको त्यो दिन

prachnada (2)यसपाली नयाँ वर्ष रारामा मनाउन त्यहाँका प्रदेश समितिका इन्चार्ज र साथीहरूको निम्तो थियो । एक गते नै त्यता जाने तयारीमा थिएँ । तर एकातिर मौसम खराब भयो । अर्कातिर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास कार्यक्रममा सहभागी हुनुपर्यो । त्यसैले एक गते नै चाहिँ पुग्न सकिनँ ।

मुगु हरेक दृष्टिकोणले पछि पारिएको जिल्लाभित्र पर्छ । आर्थिक विकासको हिसाबले र अरू सबै मानव विकासको सूचकांकको हिसाबले पनि । त्यसैले त्यहाँ जाने, त्यहाँको अवस्था बुझ्ने, रारा हेर्ने, प्रदेश सम्मेलन र जनसभा पनि गर्ने उद्देश्यका साथ कर्णाली गएको हुँ ।

त्यहाँका विभिन्न कार्यक्रममा सहभागी हुँदा जनताको उपस्थिति राम्रो थियो । त्यहाँका समस्याबारे पनि नजिकबाट अवगत भयो । त्यहाँ यसपाला खाद्यान्न संकट चर्को हुनेवाला छ भन्ने गहिरोगरी बोध भयो । यसपाला खँडेरी परेर बालीनाली केही भएको छैन । पानी परेको खण्डमा त खाद्यसंकट हुने जिल्ला होइन रहेछ, तर पानी नपरेपछि संकट हुँदोरहेछ । त्यो बोध भएपछि मैले आपूर्ति मन्त्रालय र नेपाल सरकारलाई भनेर खाद्यान्नको संकट तत्काल समाधान गर्न पहल गर्छु भनेर विश्वास दिलाएर आएको छु ।

दीर्घकालीन आर्थिक, राजनीतिक र सामरिक महत्वका हिसाबले नाक्चे लाद्मा भन्ने चीनसँगको नाका खोलेर बाटो जोड्नु आवश्यक देखियो । त्यसको लागि नेपाल सरकारको तर्फबाट पहल बढाएर चीन सरकारसँग कुरा गर्ने प्रतिवद्धता व्यक्त गरेको छु । मलाई पनि चीन सरकारले बोलाइरहेको सन्दर्भमा त्यहाँ गएर चिनियाँ नेताहरूसँग कुरा गर्न सकिन्छ । त्यसो भयो भने कर्णाली अञ्चलकै आर्थिक जीवनमा ठूलो क्रान्ति आउँछ, आर्थिक र विकासको हिसाबले पनि ।

prachnada (1)
कार्यक्रम सकिएपछि हामी रारा गयौं । सबैले बुझेकै कुरा हो– रारा नेपालको सबैभन्दा उचाइमा भएको नेपालकै सबैभन्दा ठूला ताल हो । धेरै रमणीय छ भन्ने पनि सबैले थाहा पाएकै कुरा हो । मैले हेलिकोप्टरबाट पहिले पनि घुमेर हेरेको थिएँ त्यो ठाउँ । तर त्यहाँ बसेको भने थिइनँ । एक रात हामी त्यहीँ बस्यौं तालको आडमै । डुंगामा घुमेर पनि हेरियो ताललाई । त्यसका विशेषता धेरै छन् । धेरै किंवदन्ती पनि छन् । त्यहाँ बस्दा, भू–बनोट हेर्दा, तालको समग्र प्रकृति हेर्दा त्यो विश्वस्तरकै एउटा पर्यटन केन्द्र हुनसक्छ भन्ने अनुभूत भयो । त्यो ठाउँमा एकचोटि मान्छे पुग्यो भने स्वर्गकै आनन्द भन्छन् नि मान्छेहरूले, त्यस्तै आनन्द लिन सक्ने खालको वातावरण छ । हामीले थोरै भौतिक पूर्वाधार निर्माण गर्न सक्ने र होटल व्यवस्थापनलगायतका काम गर्ने हो भने राष्ट्रिय राजश्वमा नै टेवा पुर्याउन सक्ने केन्द्र हुन्छ । तसर्थ राराले पर्यटनको विकास र नेपालको समग्र आर्थिक विकासमा नै रणनैतिक महत्व राख्छ भन्ने महसुस गरेँ । र, यो विषयमा अहिले नै सरकारले केही कदम चाल्नुपर्छ भन्ने लागेको छ । त्यसबारे सरकारसँग कुरा गर्दै पनि छु ।

रारापछि जुम्लाको सिंजा पुगियो । त्यहाँको सभा देखेर म आफैं आश्चर्यमा परेँ । अहिलेको परिस्थितिमा माओवादीले आयोजना गर्दा त्यत्रो सभा हुन्छ भन्ने मैले कल्पना पनि गरेको थिइनँ । दशौं हजार मान्छे उपस्थित थिए । राती हुँदा पनि मान्छे आइराखेकै थिए । न चुनाव, न त ठूलो संघर्षको कार्यक्रम । तर पनि त्यत्रा मानिस सहभागी भएको देखेर मैले सभामा पनि उत्साह व्यक्त गरेको थिएँ । जनताको उपस्थितिको लागि धन्यवाद पनि दिएको थिएँ ।

एक रात हामी त्यहीँ बस्यौं तालको आडमै । डुंगामा घुमेर पनि हेरियो ताललाई । त्यसका विशेषता धेरै छन् । धेरै किंवदन्ती पनि छन् । त्यहाँ बस्दा, भू–बनोट हेर्दा, तालको समग्र प्रकृति हेर्दा त्यो विश्वस्तरकै एउटा पर्यटन केन्द्र हुनसक्छ भन्ने अनुभूत भयो । त्यो ठाउँमा एकचोटि मान्छे पुग्यो भने स्वर्गकै आनन्द भन्छन् नि मान्छेहरूले, त्यस्तै आनन्द लिन सक्ने खालको वातावरण छ ।

अन्यत्र सबैतिर महिलाको संख्या घट्दै गएको छ । जनयुद्ध र जनआन्दोलनको बेलामा महिलाको जस्तो सहभागिता हुन्थ्यो राजनीतिक गतिविधिहरूमा, अहिले त्यस्तो छैन । तर सिंजामा त उपस्थितिको आधा महिला थिए । त्यत्रो व्यापक महिला कसरी परिचालन गरेछन् साथीहरूले भनेर मलाई अनौठो लाग्यो ।

सिंजा खस् भाषा र संस्कृतिको उद्गम्स्थल भयो । बाटो खन्दाखेरि पनि थुप्रै ऐतिहासिक कलाकृतिहरू त्यहाँ भेटिएका रहेछन् । त्यसो भएको हुनाले त्यहाँ सिंजा सभ्यताको अध्ययन गर्न केही न केही राज्यका तर्फबाट पहल हुनुपर्छ भन्ने महसुस भयो ।

त्यहाँ विचित्रको के भयो भने, एउटै सभामा दुई चोटी भाषण गरेँ । त्यस्तो कहिल्यै कहीँ पनि भएको थिएन । कहीँ पनि सामान्यतः हुँदैन । तीन बजेबाट आमसभा सुरु भयो । पहिला प्रदेश इन्चार्ज जनार्दन शर्मा प्रभाकरले बोल्नुभयो । त्यसपछि मैले चारबजेबाट पाँच बजेसम्म एक घन्टा बोलेँ । तर मैले भाषण सक्नेबित्तिकै हजारौं सदरमुकामतिरबाट नारा लाउँदै, बाजा बजाउँदै आए । त्यसपछि उनीहरूले फेरि बोल्नुपर्ने माग गरे । त्यसपछि फेरि भाषण गरेँ । भनेपछि कर्णालीमा एउटा लहर सुरु भएको छ माओवादीमा । यो प्रष्टै देखेँ । प्रदेश कमिटी बनाएपछि जिल्लाहरूमा तीव्र गतिमा गाउँगाउँमा जाने लहर देखिएको छ । त्यहाँ त माओवादीबीचको एकता पनि सुरू भइसकेछ । माओवादी एक भएरमात्रै अघि बढ्न सकिन्छ भन्ने भावना त्यहाँ पैदा भएको देखियो ।prachnada (3)

त्यहाँ सभा सकेर हामी जुम्ला सदरमुकाम पुग्यौं । सदरमुकाममा पनि धेरै कार्यक्रम भए । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेँ । डाक्टर र बिरामीहरूसँग अन्तरक्रिया भयो । स्याउ अनुसन्धानसम्बन्धि जुम्लाको केन्द्र पनि हेरेँ । त्यहाँ पनि अन्तरक्रिया भयो । अन्तरक्रियामा हुम्लाको नाका खोल्नेबारे पनि चर्चा भयो । समग्रमा हुम्ला र मुगुको नाका खोल्यो भने कर्णालीमा क्रान्ति हुन्छ भन्ने अनुभूति भएको छ ।

अहिले नयाँ बजेट बनाउने, नयाँ नीति कार्यक्रम बनाउने कुरा चलिरहेको छ । कर्णाली अञ्चललाई विशेष जोड दिएर विकासको विशेष प्याकेज नबनाइकन नेपालको समग्र विकास हुँदैन । हिजोको राज्यले जसलाई पछि पार्यो, जसलाई अलि बढी विभेद गर्यो, त्यसलाई माथि ल्याउन बल गरेर मात्रै नयाँ संविधानको मर्म र भावनाअनुसार, संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनाअनुसार विकासलाई गति दिन सकिन्छ । त्यसैले त्यहाँको प्रत्यक्ष अवस्था कस्तो छ भन्ने बुझ्नलाई पनि म गएको थिएँ । तीन दिन त्यहाँ बिताएर फर्किएको भोलिपल्ट बिहानै मैले अर्थमन्त्रीलाई बोलाएर ‘ल है कर्णालीमा मैले यति–यति कुरा बोलेको छु । त्यो विशेष प्याकेजचाहिँ कर्णालीमा जानुपर्छ’ भनेर लेखेर दिएको छु । यसरी समग्रमा कर्णाली भ्रमण मेरो लागि त महत्वपूर्ण भयो नै । मलाई लाग्छ, कर्णालीका जनताका लागि पनि महत्वपूर्ण भयो । (कुराकानीमा आधारित)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल