मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

प्रदीप पौडेल, कांग्रेसका युवा नेता, १३ औं महाधिवेशनमा धेरै भोट ल्याएर केन्द्रीय सदस्यका लागि चुनाव जित्ने मध्येका एक हुन् । यही कारण उनी यतिबेला चर्चामा छन् । अविवाहीत यी युवा नेताको जीवनशैली, रुचि र जीवनका अन्य पाटामाथि रातोपाटीले कुराकानी गरेको छ ।

मेरो खाना
मलाई सबैभन्दा मनपर्ने खाना दाल–भात नै हो । मन नपर्ने खासै केही छैन । खानका लागि रेष्टुरेन्ट जाने गर्छु । व्यस्तताले गर्दा प्रायः रेस्टुरेन्टमै खाने गर्छु ।
मन पराउने स्न्याक्सचाहिँ मःमः हो ।
पहिले–पहिले कलेज लाइफमा आफैँले पकाएर खाने गर्थें । हिजोआज फुर्सद पनि हुँदैन । खाना पकाउनै बिर्सिएँ कि जस्तो लाग्छ ।

pradeep poudel (2)

मेरो पोसाक
कोही फर्मल ड्रेस लगाउनुपर्छ भन्छन् । मलाई नर्मल रेडिमेड लुगा नै मन पर्छ ।
तर, म आफैँले कपडा किन्नु पर्दैन । प्रायः गिफ्टबाटै चल्छ । दाइले अमेरिकाबाट पठाइरहनुहुन्छ । र, साथीभाइले पनि गिफ्ट दिइरहन्छन् ।
कपडामा कुनै विशेष रङ छैन मेरो । छान्नैपर्दा सेतो रङ मन पर्छ । किनकि यसले उज्यालो देखिन्छ ।
यही ब्रान्ड चाहिन्छ भन्ने लाग्दैन । तर, गिफ्ट दिनेले आफैँ ब्रान्डेड नै दिन्छन् ।

मेरो फिटनेस
फिटनेसप्रति चनाखो छु । तर, फिट हुन नियमित केही गरेको छैन । मर्निङवाक जान्छु तर कहिलेकाहीँमात्रै । बरु २०६२÷६३ सालको जनआन्दोलनक्रममा जेल परेको बेला योगाचाहिँ गरिन्थ्यो । काम पनि नहुने । र, समय कटाउने उपाय पनि हुन्थ्यो योगा । व्यस्तताले गर्दा पनि नियमित फिटनेसका लागि निश्चित तालिका नमिल्दोरहेछ ।

मेरो अध्ययन
कांग्रेसको अधिवेशनअघि कांग्रेसका सबै ‘डकुमेन्ट्स’ पढेँ । अहिले केही पढिरहेको छैन । बजारमा आएका पुस्तकमध्ये साथीहरूले सिफारिस गरेका पुस्तक खोजेरै पढ्छु । त्यसमध्ये संसारका संघर्षशील वा सफल व्यक्तिका आत्मकथा र सफलताको कथाजस्ता पुस्तक बढी मन पर्छ मलाई । जस्तै एक सामान्य व्यक्ति संघर्ष गरेर कसरी विश्वभरि प्रख्यात बन्यो भन्नेजस्ता विषयका पुस्तकले मलाई बढी तान्ने गर्छ । तर, मनपर्ने ‘आइडल’ मन पर्ने वा नपर्ने लेखकचाहिँ छैन ।

मेरो लेख्ने बानी पनि छ । कहिलेकाहीँ डायरी र राजनीतिक विषयमा पनि लेखिरहन्छु । तर, संकलन भने गरेको छैन ।
यस्तै पुस्तक संकलन गर्ने बानी छ मेरो । बाटो वा पसलमा कुनै मन परेको पुस्तक देखेँ भने किनिहाल्छु । तर, समस्या कस्तो हुँदोरहेछ भनेपछि पढौँला भनी घरमा राखिएका पुस्तक कैयौं साथीले लिएर हिँडिदिने । कति धेरै पुस्तक त मैले किनेर पनि पढ्नै नपाईकन साथीभाइले लगिदिएका छन् ।
वार्षिक वा मासिक रूपमा बजेटकै रूपमा नछुट्याए पनि पुस्तक संकलन गर्ने बानी छ मेरो । भलै किनेका सबै पुस्तक पढिएको भने हुँदैन । दराजमा संकलन गरिराख्ने बानीचाहिँ छ ।

केही दिन फुर्सद निकाल्न पाए पनि हुन्थ्योजस्तो त लाग्छ । तर, मोबाइलले फुर्सद नै दिँदैन । मोबाइल उठाएपछि अनेक काम परिहाल्छ । कसैलाई भेट्नैपर्ने । कसैको काम गरिदिनुपर्ने हुन्छ । मोबाइल र सञ्चारमाध्यमले गर्दा चाहेर पनि फुर्सद नमिल्दोरहेछ ।

pradeep poudel (1)

मेरो घुमफिर
नयाँ ठाउँ घुम्नकै लागि भनेर कतै गएको सम्झना छैन मलाई । तर, राजनीतिक गतिविधिक्रममा जाँदा पनि घुमिदोरहेछ ।
यस्तै सिलसिलामा दार्चुलाबाहेक अन्य सबै जिल्ला पुगिसकेको छु । साथै २७÷२८ देश घुमेँ ।
घुम्नेक्रममा सबैभन्दा मनपर्ने ठाउ“ प्राकृतिक रूपले नेपालका विभिन्न ठाउँ छन् ।
अमेरिका घुम्नुअघि मलाई निकै उत्सुकता थियो । यो त भयंकर होला भन्ने कुरा दिमागमा आइरहन्थ्यो । तर, त्यस्तो खासै केही पनि लागेन । स्वाभाविक रूपमा ‘इन्फ्रास्ट्रक्चर’ हिसाबले त राम्रो छ नै । प्राकृतिक रूपमा हाम्रै देश राम्रो ।
बरु विकासको दृष्टिकोणले भन्दा पनि त्यहाँको विपन्नता हेर्नका लागि अफ्रिकन मुलुक जाने रहर छ ।

मेरो फुर्सद
केही दिन फुर्सद निकाल्न पाए पनि हुन्थ्योजस्तो त लाग्छ । तर, मोबाइलले फुर्सद नै दिँदैन । मोबाइल उठाएपछि अनेक काम परिहाल्छ । कसैलाई भेट्नैपर्ने । कसैको काम गरिदिनुपर्ने हुन्छ । मोबाइल र सञ्चारमाध्यमले गर्दा चाहेर पनि फुर्सद नमिल्दोरहेछ ।
‘विकेन्ड’ मनाउने वा योजनाबद्ध रूपमा बिदा मनाउँ भन्ने पनि चलन छैन । पूर्ण राजनीतिकर्मीका रूपमा व्यस्त भएको छु ।
राजनीतिक जीवनबाट थाकेर आरामकै लागि समय छुट्याउने बानी पनि छैन । कहिलेकाहीँ फुर्सद मिल्यो भने गर्नैपर्ने छुटेका काम छन् भने ती काम सिध्याइहाल्छु ।
बुवा–आमा र आफन्तका लागि पनि समय कति दिनुपर्छ भन्ने अनुभूति त हुन्छ । कहिले के मिल्दैन । कहिले के मिल्दैन । परिवारसाथ घुम्न, रेस्टुरेन्टमा खान वा चलचित्र हेर्न जाने पनि गरेको छैन ।
मेरो खेलकुद
मलाई सबैभन्दा मनपर्ने खेल भलिबल हो । स्कुल तहमा खेल्थेँ पनि । सबैभन्दा मन नपर्ने खेल त छैन । बरु पहिले नबुझ्दा क्रिकेट मन पर्दैनथ्यो । अचेल बुझ्न थालेपछि क्रिकेट पनि मन पर्छ । र, कहिलेकाहीँ त किन बुझियो होलाजस्तो लाग्छ ।
वल्र्डकप हेर्ने बेला पहिले–पहिले कुनै देशको समर्थन गरिन्थ्यो । यति धेरै भावनात्मक भइएछ कि, उनीहरू असफल हुँदा पनि आफैँ असफल भएझैँ लाग्थ्यो ।
मेरो मोबाइल
मेरो साथमा आई फाइभ मोबाइल छ । केही वर्षअघि जनसम्पर्क समिति गठन गर्न चीन जाँदा त्यहाँ व्यवसाय गरी बस्ने साथीले उपहारस्वरूप दिएको मोबाइल हो यो । यसको बजार मूल्य त मलाई पनि थाहा छैन ।
यति एउटामात्रै मोबाइल हो । फेरी–फेरी बोक्ने बानी छैन मेरो । काम चलिराखेकै हुन्छ । यही मोबाइल सेट चाहिन्छ भन्नेखालको ‘चुजी’ छैन म ।
मोबाइलका सबै एप्लिकेसन चलाउँदिनँ । सबै चलाउन पनि आउँदैन । चार्जको पनि समस्या हुँदोरहेछ । कहिलेकाहीँ मोबाइलमा फेसबुक, ट्वीटर र अन्य इन्टरनेटका काम गरेको हुन्छु ।

आफूलाई खानेगरी होइन, आफूले रक्सी खानेगरी मापसे गर्छु म । सधैँ ब्रान्ड उपलब्ध हुँदैन । परिस्थितिअनुसार उपलब्ध जे छ त्यसमै ‘कम्प्रोमाइज’ गर्नुपर्छ ।
तर, नियमित पिउने बानी छैन । आफैँ पैसा खर्च गरेर ‘ल आज पिउँ’ भन्ने वा ‘आज पिउने मन छ’ भनेर कहिल्यै तयारी गर्दिनँ ।

मेरो टेलिभिजन
घरमा सामसुङ कम्पनीको एउटा टीभी छ । साँझको समय म सामाचार र अन्य राजनीतिक–सामाजिक विषय हेर्छु । कहिलेकाहीँ टीभीमा फिल्म पनि हेर्छु । हास्य सिरियल पनि मलाई खुबै मन पर्छ ।
टीभीमा विजयकुमार (पहिले), भूषण दाहाल, टीकाराम यात्रीलगायत प्रस्तोताको अन्तर्वार्ता मन पर्छ ।
मेरो चलचित्र
पछिल्लोपटक हेरेको चलचित्रको ठ्याक्कै सम्झना छैन । तर, म फिल्म हेरिरहन्छु । हलमै पुगेर फिल्म हेर्दिनँ । टीभीमै आएका पुराना हिन्दी फिल्मचाहिँ हेर्छु ।
पहिले–पहिले शिव श्रेष्ठ, राजेश हमाल, करिश्मालगायत नेपाली कलाकार मन पथ्र्यो । अचेल धेरै नयाँ कलाकार आएका छन् ।
मेरो रोग
मेरो शरीर मेडिकल्ली अनफिट छैन । तर, मोटोपन बढेको छ । कुनै दीर्घरोग छैन । नियमित चेकअप त गर्दिनँ तर स्वास्थ्य समस्या छ भने ‘सेन्स’ चाहिँ हुन्छ ।
आक्कलझुक्कल बडी चेकअप गर्छु । कहिलेकाहीँ वर्षमा एकचोटि होला सायद । रक्तचाप ठीक छ । अहिलेसम्म अस्वस्थ देखिएको छैन ।

pradeep poudel (4)
मेरो भाषणशैली
मेरो भाषणशैली सामान्यस्तरको छ । टोनमा समस्या छ । मञ्चमा उभिएपछि विषयवस्तु जोडेर बोल्न गाह्रो हुन्छ । अध्ययन कमीले पनि होला । भाषणक्रममा कुनै थेगो छैन । विषय र अवस्थाअनुसार भाषण कहिले आक्रामक हुन्छ, कहिले बौद्धिक किसिमको हुन्छ । भाषण सकिएपछि कसैले एकदमै राम्रो भयो भन्छन् । कहिले ठिकै भयो भन्छन् । ठिकै भयो भन्नुको अर्थ नराम्रो भन्ने बुझ्छु म । सिधै नराम्रो भन्दैनन् ।
मेरा भाषण विवादमा पनि परेका छन् । कांग्रेसको आन्तरिक राजनीति वा गुटगत विषयमा बोलेका भाषण विवादमा परे । भाषण गर्नुअघि तयारी गर्ने कोसिस गर्छु । तर, सधैँ तयारी गर्न सकिँदैन ।
मेरो मापसे
आफूलाई खानेगरी होइन, आफूले रक्सी खानेगरी मापसे गर्छु म । सधैँ ब्रान्ड उपलब्ध हुँदैन । परिस्थितिअनुसार उपलब्ध जे छ त्यसमै ‘कम्प्रोमाइज’ गर्नुपर्छ ।
तर, नियमित पिउने बानी छैन । आफैँ पैसा खर्च गरेर ‘ल आज पिउँ’ भन्ने वा ‘आज पिउने मन छ’ भनेर कहिल्यै तयारी गर्दिनँ । कसैलाई भेट्न पर्यो र भेट्नेले पनि त्यस्तै तयारी गरेको भयो भने पिउने बानी छ । कहिले हप्तैभरि पिइँदैन । कहिले हप्तैभरि पनि पिइन्छ । त्यसैले रक्सी पिउनका लागि निश्चित तालिका बनाउँदिनँ ।
पिएको बेला म आफूचाहिँ दुई पेगमै टुंग्याउनुपर्छ भन्छु । तर, सधैं त्यस्तो हुँदैन । लामो समयपछि भेटिएको बेला वा विशेष अवसरमा रोक्न पनि सकिँदैन ।
मेरो घाँटीमा चिसो लाग्ने भएकाले रक्सीमा आइस राख्ने बानी छैन । थोरै मदिरा र धेरै पानी राखेर पिउँछु । सकेसम्म यसलाई धेरै पानी पिउने अवसरका रूपमा लिन्छु ।
मात्नेगरी नै रक्सी पिएको खास घटना सम्झना छैन मलाई । तर, कलेज लाइफमा राजनीति गर्ने बेलाचाहिँ मातेरै पिइयो । अचेल त आफैँ सचेत हुनुपर्छ जस्तो लाग्छ ।
को र कस्तो मान्छेसँग पिउँदैछु र ऊसँग कस्तो सम्बन्ध छ ? भन्ने जस्ता कुराले पनि कति र कसरी पिउने भन्ने निर्धारण गर्छ । सम्बन्ध धेरै प्रगाढ छैन भने अलि धेरै रक्सी पिएर गाली गर्ने, भोलिपल्ट अलि बढी नै भयोजस्तो लागेमा रक्सी खाइएको थियो अलि बढी भएछ भन्न पाइयो नि । यसले साहस पनि दिन्छ ।
मेरो संगीत
गीत–संगीत सुन्ने बानी छ मेरो । प्रायः ‘सेन्टिमेन्टल’ गीत सुन्छु । नारायण गोपालले गाएका र कालीप्रसाद रिजालले लेखेका धेरैजसो गीतले मन छुन्छ ।
मन छोएको र गुनगुनाइरहने धेरै गीत छन् । म राम्रो गाउने मानिस त होइन तर गीत गुनगुनाउने बानी छ । पहिले मानिस भगवान्को नाम लिएर नुहाउँथे । बाथरुममा म गुनगुनाउँदै नुहाउँछु । ‘गहिराइमा डुब्दै नडुब, डुबिसकेका छौ भने मोती नटिपी नफर्क’ बोलको गीत गुनगुनाउँछु । अञ्जु पन्तले गाएको ‘तिमी फुल्यौ कतै म फुलेँ कतै’ पनि मन पर्छ ।
मेरो भूल
बा–आमाले जे बन्ला भनेर मेरा लागि मिहिनेत गर्नुभयो, त्यस्तो हुन सकिएन । सायद यही भूल भयो कि जस्तो लाग्छ । यद्यपि, समग्र रूपमा सन्तुष्ट छु । पश्चाताप गर्नुपर्ने भूल गरेको छैन ।
०४६ सालको जनआन्दोलनको बेला वनस्थली स्कुल पढ्दा स्कुलबाटै रेस्टिकेट भएको घटनाचाहिँ सम्झन्छु । स्कुलले त्यतिबेला मेरो गल्ती सम्झियो ।
आन्दोलनको समर्थनस्वरूप शिक्षक संघको कालोझन्डा देखाउने कार्यक्रम थियो । वनस्थली स्कुलमा मलाई विद्यार्थी संगठन अध्यक्ष बनाइएको थियो । क्लास–क्लासमा कालोझन्डा टाँग्न एक÷एक विद्यार्थी तयार पारियो । भोलिपल्ट कालोझन्डाको विषयमा ठूलो तनाव भयो । एकथरी विद्यार्थी आन्दोलनको समर्थक थिए । अर्काथरी होमवर्क नगर्ने र पढाइ नभइदिए हुन्थ्यो भन्नेखालका । ती दुवै एकठाउँमा मिलेपछि स्कुललाई दबाब पर्यो । सोही बेला स्कुलमा थप तनाव बढ्ला भनेर मलाई कार्यक्रम हुनुअघि नै रेस्टिकेट गरियो । गल्ती नगरेरै पनि मैले पाएको सजाय थियो त्यो । अन्यथा स्कुल अवधिभर मैले कहिल्यै पनि गल्ती गरेर कुटाइ खाइनँ । किनकि म मेधावी विद्यार्थी थिएँ ।
pradeep poudel (3)
मेरो घर
मेरो बुवा पहिले शिक्षण गर्नुहुन्थ्यो । उहाँकै कमाइले धेरै वर्षअघि काठमाडौँको सामाखुसीमा एउटा घर किन्नुभएको थियो । त्यो घर बेचेर बुवाले पछि बानियाँटारमा नयाँ घर बनाउनुभयो ।
घरको डिजाइन राम्रो र आकर्षक छ । वास्तुशास्त्रको दृष्टिकोणबाट घर ठीक छ कि छैन भन्नेचाहिँ मलाई थाहा छैन ।
र, बुवाले कति खर्च गरेर घर बनाउनुभयो भन्ने पनि मलाई राम्ररी थाहा छैन ।
राशि
मेरो वृश्चिक राशि हो । ग्रहदशा कस्तो छ भनेर म आफैँ हेराउन कतै गएको छैन । बरु आमाले आफैँ हेराउनुहुँदोरहेछ ।
मलाई चिनेर हो कि के हो, ग्रहदशा हेर्नेले मेरोबारे राम्रो भनेछ । राजनीति गर्छ । राजकाज चलाउँछ रे । राम्रो नेता बन्छ भनेको आमाले सुनाउनुहुन्छ ।
म आफैँ ग्रह शान्ति गराउन वा हेराउन जान्न । सबै कुरा आमाले हेराउनुहुन्छ । आमालाई रोक्न पनि सकिँदैन । शरीरका कुनै अंगमा मणि, माणिक्य, औँठीजस्ता गहना लगाउँदिनँ । ग्रह र नक्षत्रको फलप्रति विश्वास लाग्दैन मलाई । कसैको विश्वास छ भने पनि गलत भन्न चाहन्न ।
मेरो विवाह
हाम्रो समाज वा परिवारको बनोट अलग किसिमको छ । विवाहलाई मुख्य प्राथमिकतामा राखेर हेरिन्छ । मेरो उमेरमा सिंगल रहँदा धेरैले अनौठो मान्ने गर्छन् । विवाहको विषयमा हाम्रो समाज नै यस्तै छ । अस्थायी विवाह गर्ने, डिभोर्स गर्ने कुरालाई अस्वाभाविक रूपमा लिने गरिन्छ ।
मेरो सौन्दर्यचेत
कपालमा कहिलेकाहीँ तेल लगाउँछु । अरु केही पनि लगाउँदिनँ । सौन्दर्यका लागि म मेन्टेन गरिराख्दिनँ । प्रायः झुस्स दाह्री पालिराखेको हुन्छु । फेसियल गर्ने, अनुहारमा क्रिम लगाउने, शरीरमा सेन्ट छर्कने वा कुन पफ्र्युम केही पनि प्रयोग गर्दिनँ ।
मेरो सपना
जानी–नजानी लक्ष नबनाईकन राजनीतिमै लागियो । बरु म यसको सार्थकता खोज्ने प्रयासमा । भोलि जीवनको उत्तराद्र्धमा आफैँलाई प्रश्न गर्दा आफैँले उत्तर दिन सकियोस् । मैले समाजलाई देशलाई के दिन सकेँ भन्ने कुराको उत्तर आफैँ पाउनुपर्छ भन्ने लागेको छ ।
नत्र यही स्थितिमा गुज्रिने मन छैन मेरो । यस्तै गर्छु भन्ने ठ्याक्कै भन्न त सकिँदैन तर केही न केही नयाँ काम गर्ने, ‘इमेजको फ्रेम’मा आफूलाई उभ्याउने चाहना छ ।
कार्यकारी पदमा जान चाहने त छ, अवस्य धेरैलाई हुन्छ । राजनीति विज्ञान हो । तथ्यरहित हुनै सक्दैन यो । प्रयोगको विषय हो यो । प्रयोगमा केही गर्न सक्नुपर्छ भन्ने लालसा छ । यसलाई स्वार्थ मान्ने कि लालसा भन्ने अर्को कुरा हो ।
मेरो प्रेम
एउटा इमोसनल मानिससँग प्रेम हुन्छ । यो स्वाभाविक हो । तर, कुनै सन्दर्भमा प्रेममात्रै प्राथमिकतामा परेन । कहिले आफैँ डराइयो । त्यस्तो समय पनि हुँदोरहेछ । कसैप्रति आफैँ ‘वान साइडेड’ बनियो । कोही आफैँसँग ‘वान साइडेड’ थिए । र, ती मानिसप्रति कस्तो–कस्तो भिन्नखालको भावना जाग्दोरहेछ अहिले पनि ।
र, मृत्युबार
आजै (गत साता) वीरगन्जबाट काठमाडौँ आउँदा जहाजले यस्तो हल्लायो कि सबै मानिस आतंकित देखिए । डराए । मैलेचाहिँ जबर्जस्त दबाउने कोसिस गरेँ । मानिसलाई मृत्युको डर कहीँ न कहीँ हुन्छ जस्तो लाग्छ । मृत्युसँग सबै डराउँछन् । मरिन्छ भनेरै मान्छे क्रियाशील हुन्छ ।
मलाई धेरै अशक्त भएर बाँच्ने मन छैन । आफ्नो हेरचाहनिम्ति अरूले दुःख पाओस् भन्ने पनि लाग्दैन । जीवन लामो भइदेओस्, स्वस्थ भइयोस् भन्ने चाहना त छ ।
माओवादी जनयुद्धको समयमा आफ्नै आँखाअघि मेरो बुवामाथि आक्रमण हुन लागेको थियो । त्यो घटनाले बाबुप्रतिको श्रद्धा पनि बढायो । मृत्युको भयले पनि सतायो ।

प्रस्तुति : रमन पौडेल

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

 

 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल