साताको AGENDA : एमाले सचिव योगेश भट्टराईको नजरमा महाधिवेशनपछिका ओली

साताको AGENDA : एमाले सचिव योगेश भट्टराईको नजरमा महाधिवेशनपछिका ओली

नेता छान्ने तरिका :
हाम्रो पार्टीमात्रै होइन, अन्य सबै वामपन्थी र गैरवामपन्थी पार्टीमा नेतृत्वबारे अहिले बहस भइरहेको छ । र, यस्तो दुनियाँमै भइरहेको छ । यसमा केही सैद्धान्तिक पक्षबाट हेर्ने हो भने खासगरी एमालेले जसरी नेतृत्वको चयन गरेको छ, त्यो खुला प्रतिस्पर्धाबाट नेतृत्व छानिराखेको अवस्था हो ।
सामूहिक नेतृत्व प्रणाली भनेर विधान बनाएका छौँ । नेता छानेका छौँ, प्रत्यक्ष प्रणालीबाट । यसले गर्दा केही अन्तरविरोध सिर्जना भएका छन् । हामीले भनेको सामूहिक नेतृत्व प्रणाली र अभ्यास गरेको प्रत्यक्ष नेतृत्व प्रणालीबीचमा तालमेल मिलिराखेको छैन ।
र, पार्टीका नेतालाई हेर्ने दृष्टिकोणमा पनि केही मतभिन्नता देखापर्छन् । अध्यक्ष जित्नेलाई आफूले यति धेरै ‘पपुलर’ मत ल्याएर अध्यक्ष बनेको हुँ भन्ने लाग्छ ।
यस्तो प्रतिस्पर्धाबाट आएको भएकाले आफ्नै कमान्डमा पार्टी चल्नुपर्छ भन्ने अध्यक्षमा अहमता हुन्छ । मैले जे भन्यो त्यही पार्टी हो भन्ने अध्यक्षले ठानेको हुन्छ । यो आजमात्रै होइन, आज हाम्रो अध्यक्ष केपी ओली हुनुहुन्छ भनेर मैले यस्तो भनेको होइन । विगतदेखि नै यस्ता परम्परा हाम्रो देश र अन्य देशका कम्युनिस्ट र गैरकम्युनिस्ट पार्टीमा देखिन्छ ।

yogesh bhattarai
अब हामी एमालेभित्र यो पनि छलफल गर्दै छौँ कि, दुनियाँमा के देखियो भने दुईप्रकारका नेतृत्व छनोट अभ्यास सफल भएका छन् । एउटा अमेरिकन मोडेल र अर्को चिनियाँ ।
अमेरिकन मोडेलले के गर्छ भने तपाईं शक्तिशाली हुनुहुन्छ, तपाईं साधन, स्रोतसम्पन्न हुनुहुन्छ, तपाईंलाई धेरै मानिसले पत्याउँछन् भने तपाईं नेता बनेर आउनुहुन्छ ।
नेता बनेर आइसकेपछि संविधानले नै सर्वोपरि अधिकार दिएको छ । एककिसिमले भन्ने हो भने नेतासँग असीमित अधिकार हुन्छ । अमेरिकाको राष्ट्रपति चयन हुने तरिका यही नै हो ।
अर्कोतर्फ, चिनियाँ मोडेल कस्तो छ भने यो सहमतिको मोडेल हो । पार्टीका अगुवा नेता बस्छन्, प्रतिनिधि बस्छन् । हामीभन्दा फलानो नेता योग्य छन् भनेर उनीहरूले सिफारिस गर्छन् ।

हामी कुनै न कुनै गुटमा परेर त आयौँ । तर, हामीजस्तो आलोचना गरिहाल्ने, मुख चलाउनेलाई नेताले छान्दै छान्दैनथ्यो ।
‘एस म्यान’ मात्रै छान्थे सायद । आफ्नो नजिकका मानिसलाई मात्रै छान्ने थिए । हामी कुनै गुटमा भए पनि त्यसभित्र आलोचना गर्छौं । माधव नेपालको सहयोगमा हामी आए पनि उहाँका कुरालाई पनि हामी टिप्पणी गर्छौं । उहाँप्रति हाम्रो आलोचनात्मक दृष्टिकोण हुन्छ । उहाँले गरेको सबै कुरा ‘एस’ भन्दैनौँ ।

सहमतिको तरिकाबाट नेतृत्व छान्ने यो मोडेल पनि निकै सफल देखिन्छ । चीनले आज जस्तो प्रगति गर्दै छ यो मोडेलको नेतृत्व प्रणालीको पनि मुख्य भूमिका छ ।
अब हामी नेपालका कम्युनिस्टहरूले चिनियाँ मोडेलमा जाने कि अमेरिकन मोडेलमा जाने । कता जाने भनेर ठेगान गर्नुपर्छ । मलाई लाग्छ– आजसम्म नेतृत्व चयन प्रणाली राम्ररी ठेगान लागिसकेको छैन ।
हामीले आठौँ र नवौँ महाधिवेशनमा पनि खुला तरिकाले नेतृत्व छनोट ग¥यौँ । आठौँमा केपी ओली हार्नुभयो झलनाथ जित्नुभयो । नवौँमा माधव नेपाल हार्नुभयो र केपी ओलीले जित्नुभयो ।
आठौँपछि नवौँसम्म केपी ओलीले जहिले पनि एउटै कुरा भन्दै आउनुभयो कि, पार्टी अध्यक्षले गुटबन्दी गर्नुभयो । उहाँले लगातार यही कुरा भन्दै आउनुभयो । पार्टीमा संस्थागत निर्णय भएन भनेर उहाँले दोहोर्याइरहनुभयो ।
अब अहिले नवौँबाट यता आइसकेपछि हामी फेरि पार्टी अध्यक्षलाई यही भन्दै आएका छौँ । पार्टीमा गुटबन्दी भयो । पार्टी अध्यक्षले गुटबन्दीलाई संस्थागत गर्नुभयो भनेर पार्टीदेखि राज्यसत्ताको समेत दुरुपयोग गर्नुभयो भनेर हामी भन्दै छौँ ।
अर्को पक्षलाई पेल्नुभएको छ । ‘स्पेस’ दिनुभएको छैन । हामीले यही भन्दै छौँ । हिजो उहाँले भन्नुभयो । आज हामी भन्दै छौँ ।
झलनाथ खनालजस्तो भलाद्मी नेता पार्टी अध्यक्ष भएको बेला पनि यही भयो । जब कि, उहाँले सत्ताको दुरुपयोग कहिल्यै गर्नुभएन ।
वास्तवमा सत्ता नै चलाउनुभएन उहाँले । उहाँको हातमा पार्टी सत्ता आयो । तर, चलाउनुभएन । त्यस्तो भद्र मानिस पार्टी अध्यक्ष भएको बेला पनि केपी कमरेडले यही आरोप लगाउनुभएको थियो ।
आज उहाँसँग सत्ता छ । र, त्यो उहाँले भरपूर परिचालन गर्नुभएको छ । भनेपछि यहाँ कहीँ न कहीँ प्रणालीमै ‘डिफेक्ट’ समस्या छ है भनेर हामीले पार्टीभित्र उठाएका छौँ ।
विचार यस्तै छलफलबाटै निर्धारण हुँदै जान्छन् । हामीलाई यी दुई महाधिवेशनको अभ्यासले प्रत्यक्ष नेतृत्व छानिसकेपछि के समस्या आयो भन्ने कुरा सिकायो ।
यद्यपि, यसका राम्रा पक्ष पनि छन् । ती के भने नेताचाहिँ लोकप्रिय हुन्छ । ऊ सबै कार्यकर्तासँग भेट्न जान्छ । सक्रिय हुन्छ र कार्यकर्तासँग पहुँच पनि बनाउँछ ।
अर्को कुरा नयाँपुस्तालाई नेता बन्न यसले ढोका खोलेको छ । यदि महाधिवेशनमा खुला प्रतिस्पर्धाको ढोका खोलेको भए हामीजस्ता व्यक्ति केन्द्रीय कमिटीमा आउनै सक्दैनथे । नेताको छनोटमा हामी पर्दैनथ्यौँ ।
हामी कुनै न कुनै गुटमा परेर त आयौँ । तर, हामीजस्तो आलोचना गरिहाल्ने, मुख चलाउनेलाई नेताले छान्दै छान्दैनथ्यो ।
‘एस म्यान’ मात्रै छान्थे सायद । आफ्नो नजिकका मानिसलाई मात्रै छान्ने थिए । हामी कुनै गुटमा भए पनि त्यसभित्र आलोचना गर्छौं । माधव नेपालको सहयोगमा हामी आए पनि उहाँका कुरालाई पनि हामी टिप्पणी गर्छौं । उहाँप्रति हाम्रो आलोचनात्मक दृष्टिकोण हुन्छ । उहाँले गरेको सबै कुरा ‘एस’ भन्दैनौँ ।
हामीजस्ता मानिसलाई पार्टीको केन्द्रमा आउने ढोका खोल्यो । त्यसैले हामीले विधानमै लेख्यौँ कि, पार्टीको सार्वभौमसत्ता पार्टी सदस्यसँग हुन्छ ।
अब यी दुई अभ्यासबाट राम्रा कुरा अनुशरण गर्ने र कमजोरी सच्याउने ‘फेज’मा आइपुगेका छौँ । सम्भवतः माओवादीभित्र र अन्य पार्टीमा पनि यस्तो बहस चल्न थालेको छ ।
महाधिवेशनपछि अध्यक्ष केपी ओली 
अध्यक्षमा जितेर आएपछि हामी सबैले उहाँलाई मान्छौँ । मानिराखेकै छौँ । हाम्रो प्रणालीअनुसार पनि त्योभन्दा अर्को विकल्प छैन । चिन्ता के हो भने उहाँले समग्र पार्टीको ‘लिडरसिप’ गर्नुपर्छ । धेरै उचाइबाट पार्टीलाई उहाँले हेर्नुपर्छ । हिजो एउटा समूह चलाउँदा थोरै मानिसलाई मात्रै चलाए हुन्थ्यो । थोरै मानिसका चाहना सम्बोधन गरेमात्रै हुन्थ्यो । आज सिंगो पार्टी चलाउनुपर्ने भएकाले माथिल्लो तहबाट उहाँले हेर्नुपर्छ ।
नवौँ महाधिवेशनमा उहाँसँग असहमत हुनेलाई पनि उहाँले नेतृत्व दिनुपर्छ । जिम्मेवारी दिनुपर्छ । हिजो हामी उहाँको विपक्षमा उभिएका हौँ भन्न हामीलाई कुनै अप्ठ्यारो पर्दैन ।
हामीले सकेको भए उहाँलाई अध्यक्ष नबनाउन खोजेका हौँ । र, उहाँले सकेको भए हामीलाई केन्द्रमा आउन नदिन खोज्नुभएको हो ।
यो त सत्य हो । फेरि त्यत्तिकै सत्य के पनि हो भने हामीले उहाँलाई नचाहे पनि उहाँले जितेर आउनुभएको हो । र, उहाँले नचाहँदानचाहँदै पनि हामीले पनि जितेरै आएका हौँ ।
सँगै हिँड्नुपर्ने एकखालको सम्झौता र बाध्यता छ । उहाँलाई हामी सबैलाई लिएर हिँड्नु है भनेर हामीले भनेका हौँ । एउटा बैठकमा त मैले उहाँलाई भने कि तपाईं ड्राइभर सिटमा हुनुहुन्छ । प्यासेन्जर सिटमा बसेजस्तो गर्नुहुँदैन । प्यासेन्जर सिटमा बस्नेलाई अगाडि मात्रै हेर्दा पुग्छ ।
तर, ड्राइभरले अगाडिमात्रै हेरेर हुँदैन । उसलाई अगाडि मात्रै हेर्ने छुट छैन । पछि पनि हेर्नुपर्ने हुन्छ । त्यसैले पछि हेर्न असुविधा होला भनेरै उसका लागि ‘साइड ग्लास’ पनि राखिएको हुन्छ । मैले उहाँलाई त्यही कुरा भनेँ कि ती ग्लास प्रयोग गरी पछि पनि हेर्नुहोस् ।

नवौँ महाधिवेशनपछि यता आउँदा अध्यक्षका अधिकांश निर्णय एकल छन् । तपाईंले आफ्ना निर्णय कमिटीगत रूपमा गर्नुहोस्, संस्थागत रूपमा वा सामूहिक रूपमा गराउनुस् भन्ने हाम्रो भनाइ हो ।
यतिसम्म भनेका छौँ कि, तपाईंसँग स्थायी कमिटीमा बहुमत छ । पोलिटव्युरोमा बहुमत छ । केन्द्रीय कमिटीमा बहुमत छ । भोटिङ नै गर्नुस् न तर निर्णयचाहिँ त्यहाँबाट गराउनुहोस् । हामीलाई मान्य हुनेछ ।

yogesh bhattarai (4)
मुख्यतः हाम्रो भनाइ के हो भने, नवौँ महाधिवेशनपछि यता आउँदा अध्यक्षका अधिकांश निर्णय एकल छन् । तपाईंले आफ्ना निर्णय कमिटीगत रूपमा गर्नुहोस्, संस्थागत रूपमा वा सामूहिक रूपमा गराउनुस् भन्ने हाम्रो भनाइ हो ।
यतिसम्म भनेका छौँ कि, तपाईंसँग स्थायी कमिटीमा बहुमत छ । पोलिटव्युरोमा बहुमत छ । केन्द्रीय कमिटीमा बहुमत छ ।
भोटिङ नै गर्नुस् न तर निर्णयचाहिँ त्यहाँबाट गराउनुहोस् । हामीलाई मान्य हुनेछ । हामीलाई मन परेन भने नोट अफ डिसेन्ट गर्छौं । तर, निर्णयमै सहभागी नगराउने कुरा नगर्नुहोस् ।
अध्यक्षलाई हाम्रो भनाइ के छ भने हामीलाई निर्णयमा सहभागी गराउन छाड्नुभयो । हामी सहभागिता खोज्छौँ । चित्त नबुझ्न सक्छ तर सहभागिता खोज्छौँ । पार्टीमा सहभागिता दिनुहोस् भन्ने हाम्रो भनाइ हो ।
बहुदलीय जनवादको मुख्य ‘इसेन्स’ पनि सहभागितामूलक जनवाद हो । त्यसैले तपाईं सहभागितामूलक जनवादको प्रवर्तक वा अगुवा भएको नाताले पार्टी संगठनमा पनि बहुदलीय जनवादको विचार र स्पिरिटलाई लागू गर्नुहोस् । यसको मतलब निर्णय प्रक्रिया परिभाषित बनोस् ।
ठीक छ मन्त्रीहरू छान्नुभयो । तर, पार्टीबाट निर्णय गराएर यिनै नेता मानिस छानेको भए पनि भइहाल्थ्यो नि । जुन निर्णय प्रक्रियामा हामी पनि सहभागी हुन पाउँथ्यौँ । उहाँले सांसद मनोनीत गर्नुभयो । हामीले पनि उहाँहरूलाई नै समर्थन गथ्र्यौं होला सायद ।
प्रक्रियालाई त स्वीकार गर्नुपर्छ र पारदर्शी बनाउनुपर्छ भन्ने हाम्रो भनाइ हो । मलाई लाग्छ– मिडियामा आएका हाम्रा टिप्पणीका आधारमा अध्यक्षले आफ्नो कार्यशैलीलाई सुधार्नुहुनेछ ।
उहाँ हामी सबैको अध्यक्ष हो । हामी उहाँलाई सफल बनाउनेछौँ । उहाँलाई सफल पार्ने भनेको एमालेलाई सफल बनाउने हो । उहाँलाई सफल बनाउनु भनेको मुलुकलाई नै सफल बनाउनु पनि हो ।
आजको दुनियाँमा एउटा नेताले विचार निर्माण गर्नुपर्छ । उसले व्यवस्थापन गर्न सक्नुपर्छ । प्रशासन चलाउन सक्नुपर्छ । ऊ एउटा ‘डिप्लोम्याट’ पनि हो । समग्रमा एउटा नेता सबैथोक हो ।
सबै कुरामा उसले ध्यान केन्द्रित पुर्याउनुपर्ने हुन्छ । नवौँ महाधिवेशनपछि धेरै साथीले काम पाउनुभएको छैन । यो सत्य कुरा हो ।

yogesh bhattarai (3)
३२/३३ विभाग छन् । प्रत्येक विभागमा २५ जना राख्न पाइन्छ । हिजो अञ्चल विभाग थिए । प्रत्येक अञ्चलमा झन्डै ३०/३५ जना मनोनीत गर्न मिल्थ्यो । केन्द्रीय निकाय थिए । ज्येष्ठ कम्युनिस्ट मञ्च छ । अनुशासन आयोग छ । सल्लाहकार परिषद्जस्ता निकायमा मानिसलाई संगठित गर्न पाइन्थ्यो । यसरी झन्डै तीन हजारभन्दा बढी कार्यकर्ता संगठित हुन पाउँथे ।
तर, यो अध्यक्षको कमजोरीमात्रै होइन, विभिन्न बाध्यताले पनि हामीले यसमा ध्यान दिन सकेनौँ । अध्यक्ष त यसमा जवाफदेही हुनुहुन्छ नै । म पनि जवाफदेही हुनुपर्छ । म पनि त पदाधिकारी छु ।
यद्यपि, म यसमा मुख्य जिम्मेवार होइन । मैले चाहँदैमा हुँदैन । तर, अध्यक्षले चाहेको खण्डमा हुन्थ्यो नि । उहाँले पनि यसमा उचित समय र ध्यान दिन सक्नुभएन । महाधिवेशनलगत्तै हामी संविधान निर्माणमा लाग्नुपर्ने भयो । संविधान बनाएपछि नाकाबन्दी र मधेस आन्दोलनले हाम्रो ध्यान खिच्यो । अब हाम्रो ध्यान भनेको संगठनलाई व्यवस्थित बनाउने हो । महाधिवेशनले निर्दिष्ट गरेका ढाँचाअनुसार सदस्यलाई जिम्मेवारी दिने । सरकारलाई स्थानीय निकाय निर्वाचन गर्न भनेका छौँ हामीले । स्थानीय निर्वाचनमा एमालेले आफ्नो विजय निश्चित गर्न संगठनमा सदस्यलाई जिम्मेवार बनाउन सकिन्छ । अब हाम्रो ध्यान मुख्यतः संगठनमै जानुपर्छ ।
नेतृत्वको अन्धसमर्थन र अन्धविरोध दुवै अतिवाद हुन् । म यी दुवै होइन । म एउटा माक्र्सवादी भएकाले आलोचनात्मक दृष्टि राख्छु । सही कुराको समर्थन र गलतको विरोध गर्नुपर्छ । सत्तामा पुगेपछि कहिलेकाहीँ आफ्नै मानिसबाट मात्रै घेरिन्छन् । त्यो जालोबाट मुक्त हुन नसक्दा उनीहरू असफल हुन्छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीमा लेङ पिआयो भन्ने एक नेता थिए । उनी समर्थन गर्ने नाममा माओ त्से तुङको यति नजिक पुगे कि माओले भनेकोभन्दा अरूले भनेको कुरा पत्याउनै छाडे । अन्ततः माओ त्से तुङको हत्याको षड्यन्त्रमा उनी संलग्न भए । पछि भाग्दै जाँदा दुर्घटनामा परी उनको मृत्यु भयो ।
त्यसैले कुनै पनि व्यक्ति लेङ पियाओ नबनून् । पार्टी नेताहरूले पनि मेरो नजिक बस्नेले के गर्दै छन् भन्ने राम्ररी ख्याल गर्नुपर्छ । लोकतन्त्रमा समर्थकको भन्दा आलोचकको धेरै कुरा सुन्नुपर्छ । म मेरो पार्टी अध्यक्षलाई पनि आग्रह गर्न चाहन्छु– तपाईंको आलोचना गर्नेको कुरा जति धेरै सुन्नुहुन्छ त्यति नै तपाईंको नेतृत्व प्रभावकारी र पूर्ण बन्दै जान्छ ।

अध्यक्षले रामराज्य नै चलाउनुपर्छ भन्ने मैले सोचेको छैन । अध्यक्षले पनि पक्षधरता राख्नुपर्छ । यतिमात्रै हो कि, पक्षधरता राख्दा न्यायोचित होस् । मलाई एउटा मापदन्ड र अर्कोलाई अर्कै मापदन्ड भयो भने तपाईंको पक्षधरता निषेधकारी हुनेछ ।

महाधिवेशनपछि कम्युनिस्ट पार्टीहरूमा राम्ररी आलोचना–आत्मालोचना गर्नुपर्ने हुन्छ । तर, हामीले त्यस्तो मज्जाले गरेका छैनौँ । हामी पनि बैठकमा भन्छौँ– अध्यक्षले जवाफ दिनुहुन्छ । कुनै जवाफ चित्त बुझ्छ, कुनै बुझ्दैन । नबुझे पनि यो कुरा मन परेन भनेर भन्ने समय पनि हुँदैन । उहाँ पनि हतारमा हुनुहुन्छ । कति धेरै एजेन्डाले थिचिरहेको हुन्छ । हामीबीचमा मन माझामाझ भएको छैन । यद्यपि, यतिसम्म भन्न सकिन्छ कि, हाम्रो अध्यक्ष केपी ओली महाधिवेशनको मनस्थितिबाट मुक्त भइसक्नुभएको छैन । अध्यक्षसँग महाधिवेशनका धङधङी अझै छन् । र, हामीसँग पनि छन् ।
तर, अध्यक्षले रामराज्य नै चलाउनुपर्छ भन्ने मैले सोचेको छैन । अध्यक्षले पनि पक्षधरता राख्नुपर्छ । यतिमात्रै हो कि, पक्षधरता राख्दा न्यायोचित होस् । मलाई एउटा मापदन्ड र अर्कोलाई अर्कै मापदन्ड भयो भने तपाईंको पक्षधरता निषेधकारी हुनेछ ।
मलाई जुन मापदन्ड राख्नुहुन्छ, तपाईंको पक्षधरलाई पनि त्यही मापदन्ड राखेर उसलाई अलिकति बढी ‘फेभर’ गर्नुभयो भने मलाई कुनै आपत्ति हुने छैन । किनकि तपाईंलाई जसले जिताएर ल्यायो स्वाभाविक रूपमा तपाईं उसप्रति थोरै बढी जवाफदेही हुनुहुन्छ । तर, जब घोर अन्याय गर्नुहुन्छ र अपारदर्शी काम गर्नुहुन्छ र असमान मापदन्ड लागू गर्नुहुन्छ, समर्थन गरेको नाममा जस्तो मानिसलाई पनि ‘लिफ्ट’ दिनुहुन्छ र अरूको मानमर्दन गर्नुहुन्छ भने त्यतिबेला हाम्रो आपत्ति हुन्छ ।
अर्को कुरा एमाले भनेको समाजवादी विचार बोकेको पार्टी हो । समाजवाद भनेको साधन, स्रोतमा सबैको समान पहुँच हुनुपर्छ । र, न्यायोचित वितरण हुनुपर्छ । यदि समाजवाद त्यही हो र हामी समाजवादी व्यवस्था कायम गर्न चाहन्छौँ भने पार्टीभित्रका साधन, स्रोतलाई पनि समान रूपमा वितरण गराउनुपर्छ । ती साधन, स्रोतमाथि सबैको पहुँच सिर्जना गराउनुपर्छ । भोलि म पनि पार्टीको अध्यक्ष भएँ भने मैले पनि त्यही गर्नुपर्छ । नत्र म पनि गुटको नेता नै हुनेछु ।
हिजो पार्टीको छलफलमा एक नेताले भन्नुभयो, ‘पार्टी हुन्छ । त्यसभन्दा तल विचार समूह वा मोर्चा हुन्छन् । त्यसभन्दा अझै तल गुट हुन्छ । त्योभन्दा पनि तल आएपछि गिरोह हुन्छन् ।’
हामी पार्टी बनाऊँ । अलि–अलि मोर्चा र गुट हुन सक्छ । तर, पार्टीको मोर्चालाई गिरोहमा परिणत हुन दिनुहुँदैन । गिरोहले सबै आफ्नो ह्यान्डिलमा बनाउँछ । उहाँले ‘सोले’ फिल्मको एउटा डाइलग पनि सुनाउनुभयो, ‘आपने मेरा क्या खाया ? नमक खाया । तो एक गोली भी खालो ।’

पञ्चायतमा जेलबाट छुट्नका लागि उहाँलाई धेरै ‘अफर’ आएका थिए । तर, उहाँले ती सबै लत्याउनुभयो । त्यो ‘कमिटमेन्ट’ बोकेर आएको नेताले यस्ता कुरामा फसेर मुलुक र पार्टीलाई बर्बाद गर्छ भन्ने म विश्वास गर्दिनँ ।

yogesh bhattarai (2)
बोसले नुन पनि खुवाउँछ र गोली पनि खुवाउँछ । चित्त बुझे नुन खुवाउँछ । चित्त नबुझे गोली पनि खुवाउँछ । पार्टी त्यस्तो हुनुहुँदैन ।
अध्यक्षलाई गिरोहले नफसाऊन्
गलत मनसाय भएका गिरोहले हाम्रो पार्टी अध्यक्षलाई प्रयोग गरी फाइदा लिन खोजेका होलान् । मलाई लाग्छ– हाम्रो अध्यक्षले ती सबै कुरालाई चिन्नुभएको छ । बुझ्नुभएको छ । उहाँ त्यस्तो जञ्जालमा फस्नुहुन्न । मैले मेरो पार्टीको अध्यक्षको इतिहास बुझेको छु । २०४१ सालमा म सानै हुँदा उहाँ जेल बस्नुभयो । उहाँले कति शिक्षा–दीक्षा दिनुभयो । मलाई पढाउनुभएको छ । एउटा राजनीतिक आदर्शबारे पढाउनुभएको छ । १४/१५ वर्ष मानिस जेल बस्दैन । एउटा ‘कमिटमेन्ट’ चाहिन्छ । पञ्चायतमा जेलबाट छुट्नका लागि उहाँलाई धेरै ‘अफर’ आएका थिए । तर, उहाँले ती सबै लत्याउनुभयो । त्यो ‘कमिटमेन्ट’ बोकेर आएको नेताले यस्ता कुरामा फसेर मुलुक र पार्टीलाई बर्बाद गर्छ भन्ने म विश्वास गर्दिनँ ।
अध्यक्ष ओली र पूर्वअध्यक्ष खनालको तुलना
झलनाथ खनाल भद्र मानिस हुन् । उहाँ एकेडेमिक र बौद्धिक पनि हुनुहुन्छ । र, राजनीतिक तथा वैचारिक बहस मन पराउने नेता हो । तर, मेरो विचारमा यो पार्टीको अति संकटपूर्ण अवस्थामा उहाँ दुईपटक पार्टी प्रमुख हुनुभयो । २०३९ मा महासचिव हुनुभयो । त्यसबेला पार्टीका लागि संकटकालजस्तै थियो । पछिल्लो अवस्थामा संविधानसभाको पहिलो चुनावमा पार्टीले अप्रत्याशित पराजय भोगेको बेला माधव नेपालले राजीनामा दिनुभयो । र, उहाँ अध्यक्ष बन्नुभयो । यो दुवै अवस्थामा पार्टीलाई वैचारिक हिसाबले सही ठाउँमा उभ्याउनुभयो ।
०३९ मा पनि हामीभित्रका उग्रवामपन्थी भड्कावलाई सही तरिकाले व्यवस्थापन गर्ने र त्यसलाई विकास गरी मदन भण्डारीले पाँचौँ महाधिवेशनमा कार्यदिशा ल्याउनुभएको हो । झलनाथ खनालले बनाएको बाटोबाटै उहाँ त्यहाँ आइपुग्नुभएको हो । त्यसबेलाका नीतिले हाम्रो पार्टीलाई राष्ट्रव्यापी बनायो । थोरै गतिविधि गर्दै आएको पार्टी राष्ट्रव्यापी पार्टी बन्यो । झलनाथ खनालको सुझबुझ र उहाँले अंगीकार गरेको नीतिको महत्वपूर्ण भुमिका छ ।
दोस्रो तहमा पार्टी संविधानसभामा अप्रत्याशित पराजय भएपछि उहाँ आउनुभयो । एमाओवादीको उग्रवादसँग जुध्ने नाममा पार्टी निरन्तर दक्षिणपन्थी दिशामा जाने खतरा पनि थियो । यस्तो बेला पार्टीलाई सही वामपन्थी धारमा उभ्याउने, माओवादीका उग्रवादी विचारविरुद्ध सैद्धान्तिक रूपमा कमजोर बनाउने र त्यही माओवादीसँग संघर्ष, एकता र सहकार्यको नीति पनि लिने परिस्थितिमा उहाँको योगदान छ ।

अहिलेका अध्यक्ष ओलीबारे भन्नुपर्दा, उहाँका केही अति राम्रा सवल पक्ष छन् । उहाँले आफ्ना कुरा एकदम दृढ रूपमा राख्नुहुन्छ । तर्क गर्नुहुन्छ । आफ्नो पक्षमा जनमत सिर्जना गर्न कोसिस गर्नुहुन्छ । आफूलाई मन नपरेका कुरालाई तर्कसंगत रूपमा खण्डन गर्नुहुन्छ । विरोधीसँग दृढतासाथ जुध्नुहुन्छ । नेतामा हुनपर्ने राम्रो गुण हो यो ।

साथै नेपाली समाजको चरित्रको व्याख्या, विश्लेषण गर्ने सवालमा पार्टीलाई सही ठाउँमा ल्याउनुभयो । नेपाली समाज पुँजीवादमा गइसक्यो । ०६२/६३ को क्रान्ति पुँजीवादी क्रान्ति नै हो भन्ने निष्कर्ष निकाल्नुभयो । यसरी पार्टीभित्र ठूलो वैचारिक नेतृत्व गर्नुभयो ।
दुई/दुईपटक त्यत्रो पार्टीको अध्यक्ष प्रधानमन्त्रीसमेत भएको मानिसले आफ्नै गुट सामान्यतः बनाउनुभएन । उहाँको कमजोरी वा राम्रो कुरा जे भन्नुहोस् । आजकल हेर्दा यो उहाँको कमजोरी हो कि जस्तो लाग्ने । गुट बनाउन नसक्ने । नेता हुन बलियो गुट बनाउनैपर्छ भन्ने तरिकाले हेर्दा उहाँको कमजोरी हो । अघिल्लोपटक पनि गुट बनाउनुभएन ।
अहिलेका अध्यक्ष ओलीबारे भन्नुपर्दा, उहाँका केही अति राम्रा सवल पक्ष छन् । उहाँले आफ्ना कुरा एकदम दृढ रूपमा राख्नुहुन्छ । तर्क गर्नुहुन्छ । आफ्नो पक्षमा जनमत सिर्जना गर्न कोसिस गर्नुहुन्छ । आफूलाई मन नपरेका कुरालाई तर्कसंगत रूपमा खण्डन गर्नुहुन्छ । विरोधीसँग दृढतासाथ जुध्नुहुन्छ । नेतामा हुनपर्ने राम्रो गुण हो यो । यसले आफ्ना कार्यकर्तालाई आत्मविश्वास दिन्छ । केपी ओली अध्यक्ष भएपछि त्यस हिसाबले एमालेको आत्मविश्वास बढ्यो । तर उहाँका कमजोरीबारे भन्दा उहाँले जे बोल्नुहुन्छ त्यसलाई सैद्धान्तिक र वैचारिक ढंगले पुष्टि गर्नुपर्ने हुन्छ । यस हिसाबले उहाँका कमजोरी छन् ।
अर्को अलिकति सानो घेरा र गुटबाट चलिरहनुभएको छ जस्तो लाग्छ । एमाले अध्यक्ष झन्डै तीन लाख पार्टी सदस्यको अध्यक्ष, २२ लाख भोट पाएको पार्टीको अध्यक्ष व्यवहार र छनोट कहिलेकाहीँ तालमेल मिलिराखेको छैन ।
एमालेमा विरोधी विचार
हाम्रो संगठनात्मक कार्यप्रणाली र विधानले नै विचार मिल्ले समूह बनाउन प्रेरित गरिराखेको छ । हाम्रो विधान र अभ्यासले नै यस्ता विरोधी विचारलाई स्वाभाविक मानेको छ । बहुमत भोट ल्याएर नेता बन्ने, राम्रो काम गरेर त्यसको मूल्यांकनका आधारमा भन्दा पनि ‘भोट ल्याऊ, जित र नेता बन’ भन्नेखालको अभ्यास चलिराखेको छ । यसैले महाधिवेशनदेखि महाधिवेशनसम्म । चुनावदेखि चुनावसम्म ।
विधान बनाएर प्रक्रिया त्यस्तै भएपछि विचार समूह बनाउनैपर्छ । किनकि तपाईं कहाँ बेपत्ता हुनुहुन्छ थाहा हुँदैन । एमाले एउटा समुद्र हो । त्यहाँ तपाईंले आफ्नो ‘एक्जिस्टेन्स’ खोज्नुभएन भने कसले कहाँ लगेर ठक्कर दिन्छ थाहा हुँदैन । कतिबेला कहाँ पुगिन्छ थाहै हुँदैन । माथि जानका लागि आफ्नो विचार समूह बनाउनुहुन्छ भने त्यो स्वाभाविक हो । त्यो हामीले बनाएका छौँ ।
हिजो महाधिवेशनमा बनायौँ । र, अहिले पनि त्यो जीवितै छ । यसलाई दुई पाटोबाट हेर्न सकिन्छ । आजको आधुनिक र सभ्य समाजमा कुनै पार्टीभित्र विविधता छ । बहुलवाद छ । हेराइ, सोचाइमा मतभिन्नता छ । त्यस्तो अवस्थामा ‘लाइट माइन्डेड’, मन मिल्नेहरू एक ठाउँमा आउँछन् । र, यसैलाई विचार समूह भन्ने हो ।

yogesh bhattarai (1)
आजमात्रै होइन, १९४७ सालमा कम्युनिस्ट लिग बन्दादेखिका कुरा हुन् । विचार समूह बनाउने अभ्यास त्यही बेलादेखि नै भएको हो । लेनिनले के भन्नुभयो भने पार्टीको चित्त नबुझेका कुरामा तपाईलाई आफ्नो कुरा भन्नु छ भने तपाईंले अलग समूह बनाएर आफ्नो समूहको प्रतिनिधित्व गर्दै पार्टीमा विचार प्रस्तुत गर्न पाउनुहुन्छ भनेपछि ‘बोल्सेभिक’ र ‘मेन्सेभिक’ एउटै पार्टी भयो ।
कम्युनिस्ट पार्टीभित्र आएका दुई लाइन संघर्षले कति मानिसले आफ्नो ज्यान गुमाए । लाख होइन, करोडौँ मानिसले गुमाए । चाहे सोभियत इतिहास हेर्नुहोस्, चाहे चीनको इतिहास । र, कति योग्य मानिस त्यो संघर्षमा जीवन गुमाउनु्पर्यो । कुनै शत्रुसँग होइन, आफ्नै कमरेड भनिनेबाट मारिएका थिए ।
तर, एमाले यस्तो पार्टी हो कि यसमा त्यो तहको वैमनस्य छैन । यसको इतिहास हेर्नुहोस् । आज एमालेभित्र तीन पार्टी प्रमुख भइसकेका मानिस यही केन्द्रीय कमिटीमा छन् । माधव नेपाल, झलनाथ खनाल र वामदेव । आज केपी ओली हुनुहुन्छ र उहाँको अवकाशपछि पनि अरू कोही अध्यक्ष होलान् । केपी ओली पनि यही पार्टीको केन्द्रीय सदस्य भएर बस्नुहुनेछ ।
विगतमा केन्द्रीय कमिटी सदस्य भएको र फेरि पनि अहिले पार्टी प्रमुखसँग सँगै बसेको अरू कुनै पार्टी छैन नेपालमा । यो एमालेको सुन्दर पक्ष हो । हामीमा नेतृत्व हस्तान्तरण अति सहज र शान्तिपूर्ण तरिकाले हुन्छ ।
झलनाथ खनालले पार्टीलाई त्यति धेरै गुण लगाउनुभयो । र, सहज ढंगले पार्टी नेतृत्व मदन भण्डारीलाई हस्तान्तरण गर्नुभयो । माधव नेपालले संविधानसभा चुनावमा पराजयपछि स्वेच्छाले हट्नुभयो । फेरि झलनाथ आउनुभयो । उहाँले आठौँ महाधिवेशनपछि नेतृत्व कब्जा गर्ने मनसाय देखाउनुभएन । दसौँ महाधिवेशनमा फेरि यस्तैगरी सहज रूपमा नेतृत्व हस्तान्तरण हुन्छ । यो एमालेको ज्यादै सुन्दर पक्ष हो । कुनै पार्टीमा यस्तो छैन ।
एमालेमा नयाँ पुस्ताको दबाब र हस्पक्षेप बढ्दै
हाम्रो पार्टीमा माथिल्लो तहमा भएका चार÷पाँचजनालाई पहिलो पुस्ताका नेताका रूपमा चिनिन्छ । त्यसभन्दा तल्लो तहमा रहेका अरू नेताहरूले अबको नेता बन्न हिम्मत गर्ने कि नगर्ने भन्ने मुख्य कुरा हो । हामीले अब नेता बन्न साहस गरेनौँ भने त्यो अरूको दोष होइन, हाम्रै दोष हो । म नेतृत्व गर्न तयार भइनँ भने त्यो मेरै अयोग्यता हुनेछ । फेरि पुरानो पुस्ताका नेताबाटै नेतृत्वको अपेक्षा गरियो भने हाम्रो दोष हुनेछ । मानौँ म माधव नेपाल, झलनाथ वा केपी कसैको पछि लाग्छु भने हाम्रो पार्टीले स्थापित गरेको प्रणालीको दोष होइन, मेरै अयोग्यता र कमजोरी हुनेछ ।
फेरि एमालेभित्र नयाँ पुस्ताका नेताको सशक्त हस्तक्षेपकारी भूमिका बढ्दै छ । अहिले पार्टीको १५ पदाधिकारीमध्ये हेर्ने हो भने धेरैजसो साथी नयाँ नेतृत्व पंक्तिबाट आएका छौँ । अनेरास्ववियुका हामी १४ पूर्व अध्यक्षमात्रै पार्टी केन्द्रीय कमिटीमा आएका छौँ । यो पार्टीभित्र नयाँ पुस्ताको दबाब, हस्पक्षेप, सहभागिता उपस्थिति बढ्दै छ । भोलि एमालेको दसौँ अधिवेशनमा अप्रत्याशित नतिजा पनि आउन सक्छ । त्यो भनेको पार्टीको अघिल्लो पुस्ता भनेर चार÷पाँचजना नेतालाई बुझ्छौँ । कि ती नेतालाई सहमतिमा सक्रिय राजनीतिबाट अवकाश लिने ठाउँमा पुर्याउँछौँ । कि अभिभावकत्वको भूमिकामा सीमित बनाउछौँ । र, हामी नेतृत्वमा आउँछौँ । कि त हामी उहाँहरूसँग प्रतिस्पर्धा गर्दै जितेर नेतृत्वमा आउनेछौँ ।

यस्तो परिस्थितिमा हामी एकठाउँमा आउनैपर्ने हुन्छ । भोलि चुनावमा सिट बाँडफाँट गरेर लडौँला । त्यो अभ्यास सफल भयो भने भोलि पार्टी एउटै हुन्छ । के भयो त आखिर माओवादी र एमालेको नेताहरू एकठाउँमा आइसकेपछि प्रचण्ड कमरेड अध्यक्ष भए पनि हामीलाई के आपत्ति ?

कम्युनिस्ट एकताको आवश्यकता, प्रचण्ड अध्यक्ष भए पनि हामीलाई के आपत्ति
हामीले त पटक–पटक भनिराखेका छौँ कि अब नेपालमा एउटै कम्युनिस्ट पार्टी बनाऊँ । जसले बाक्सामा मत माग्छ । र, त्यो भोटमार्फत समाज रूपान्तरणको कुरा गर्छ भने किन दसवटा बाक्सामा भोट माग्ने ?
एमाले र एमाओवादीलाई हिजोको अवस्थामा हेर्दा धेरै भिन्नता थिए । माओवादीको १० वर्षको ‘हिंसा’ लाई हेर्दा यी दुई पार्टी मिल्न सक्ने कुनै सम्भावना थिएन । तर, अबको दिशा अगाडि हेर्ने हो भने मिल्न सक्ने धेरै ठाउँ छन् । नेपालको मात्रै होइन, दुनियाँका कम्युनिस्ट आन्दोलनमा भिन्नता देखाउने हो भने ‘बालका खाल’ उतार्न सकिन्छ । तर, मोटो हिसाबले हेर्ने हो भने एमाले र एमाओवादीको कार्यदिशामा त्यति धेरै भिन्नता छैन । उहाँहरूले पनि हेटौँडा महाधिवेशनक्रममा ०६२/६३ को आन्दोलनलाई राजनीतिक क्रान्ति भन्नुभएको छ । हामीले पनि त्यही भनेका छौँ । उहाँहरूले पनि नेपाली समाज पुँजीवादी चरणमा गयो भन्नुभएको छ । हामीले पनि त्यही भनेका छौँ । हामीले अब नेपालका सबै दलको आगामी कार्यदिशा भनेको सामाजिक आर्थिक समृद्धि हो भनेका छौँ । माओवादीले पनि त्यही भनेको छ । हामीले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्दै राष्ट्रिय पुँजी विकास गरी समाजवादको आधार तय गर्ने हो भनेका छौँ । कमरेड प्रचण्डको डकुमेन्ट्स पनि लगभग त्यही छ ।
अब हाम्रा भिन्नता साँघुरिँदै आएका छन् । शैलीगत केही भिन्नता छन् । उहाँहरू युद्ध लडेर आउनुभयो भने हामी भोट मागेर आयौँ । व्यवहारमा केही भिन्नता होलान् । नेता बन्ने महत्वाकांक्षामा हाम्रा कुरा नमिल्लान् । तर, परिस्थितिले कम्युनिस्टलाई एकठाउँमा आउन बाध्य बनाइदिएको छ । हामीले नचाहेर पनि परिस्थितिले यस्तो दबाब सिर्जना गरिदिएको छ ।
हामी संसदीय मोडेलमा गइसकेका छौँ । र, संसद्बाटै प्रगतिशील सरकार बनाउने हो भने मिल्नुपर्ने शक्तिहरू कुन कुन हुन् त ? संविधानको कार्यान्वयन गर्ने सवालमा कांग्रेससँग पनि मिल्ने कुरा हामीले गरेका छौँ । तर, सधैँ कांग्रेससँग मिल्ने कुरा हुँदैन । कांग्रेससँग प्रतिस्पर्धा नै हुन्छ । कांग्रेस आफ्नै बाटोमा हुन्छ, हामी हाम्रो बाटोमा । यस्तो परिस्थितिमा हामी एकठाउँमा आउनैपर्ने हुन्छ । भोलि चुनावमा सिट बाँडफाँट गरेर लडौँला ।
त्यो अभ्यास सफल भयो भने भोलि पार्टी एउटै हुन्छ । के भयो त आखिर माओवादी र एमालेको नेताहरू एकठाउँमा आइसकेपछि प्रचण्ड कमरेड अध्यक्ष भए पनि हामीलाई के आपत्ति ?
अब त्यो ठाउँमा एमालेको कोही अध्यक्ष भए पनि माओवादीका साथीलाई के आपत्ति । जब हामी चियामा चिनी घोल्छौँ भने त्यो चिनीको कुन–कुन कण कुन–कुन थोपामा पर्यो भनेर छुट्याउने दुःख गर्नुहुँदैन । नेपाल कम्युनिटका लागि उर्वर भूमि हो । अब सही नीति लिएर । संसद्मा बहुमत ल्याएर पाँच वर्ष कम्युनिस्टको सरकार बनाएर राम्रा काम गरौँ । २५ वर्षसम्म हामीले चुनावका लागि नेमलिस्ट पठाइदिएमात्रै पुग्छ ।
प्रस्तुती : रमन पौडेल

प्रदीप पौडेलको AGENDA : यस्तो हुनुपर्छ अबको कांग्रेस

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल