कला समीक्षा २०७२ : खस्किँदो साहित्य, चल्दो सिनेमा र फैलिँदो रंगमञ्च

वैशाख १  |   कला अनुरागी

कला समीक्षा २०७२ : खस्किँदो साहित्य, चल्दो सिनेमा र फैलिँदो रंगमञ्च

खस्किएको लेखन
आख्यानकार नारायण ढकालको चौथो उपन्यास सार्वजनिक हुने हल्ला चलिसकेको थियो । आख्यान बजारमा मौलिक ‘सिग्नेचर’ भएका ढकालको कृति प्रतीक्षित थियो, त्यसैले प्रकाशक फाइन प्रिन्टले ०७२ को सुरुमै पुस्तक बजारमा पठाउने योजना बनाएको थियो । तर बैशाख १२ गते आएको भूकम्पले योजनामात्रै भत्काएन, पाठकको मनस्थिति पनि भत्काइदियो । त्यसैले ढकालको उपन्यास एक महिनापछिमात्रै सार्वजनिक भयो, त्यो पनि कुनै सार्वजनिक कार्यक्रम नगरीकन । प्रकाशन संस्थाले सञ्चारमाध्यमलाई पठाएको ‘इमेल’मा लेखिएको थियो, ‘महाभूकम्पको असरका कारण विमोचन नै नगरिकन पुस्तक बजारमा पठाइएको छ ।’
बैशाख ११ गते डिकुरा प्रकाशन र रिड एण्ड ग्रो रिच संस्थाको आयोजनामा भृकुटीमण्डपमा पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सव सुरु भएको थियो । तर दोस्रो दिनमा आएको भूकम्पले प्रदर्शनी स्थल आश्रयस्थलमा रूपान्तरण भयो । ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसले हरेक वर्ष जेठमा आयोजना गर्ने पुस्तक प्रदर्शनी पनि समयमा हुन सकेन, भदौमा पुग्यो ।

BOOK (14)
यसैबाट देखिन्छ नेपाली साहित्यका लागि ०७२ को सुरुवात उत्साहजनक रहेन । बर्षको मध्यतिर अलिकति चहलपहल सुरु भएको थियो । भदौ चारदेखि नौ दिने पुस्तक प्रदर्शनी भयो । केही प्रकाशकले पुस्तक प्रकाशन गर्न थाले । तर एउटा बहुप्रतीक्षित र धेरै लगानी भएको पुस्तक ‘नेपालको संविधान–२०७१’ सार्वजनिक भएपछि अरू पुस्तक बजारमा संकट थपियो । असोज ३ मा संविधानको घोषणा भयो । लगत्तै मधेस आन्दोलन चर्कियो । त्यसैको बहानामा भारतले नाकाबन्दी गर्यो । छाप्नका लागि भारत पठाइएका पुस्तक ल्याउन समस्या भयो । त्यसको मारमा प्रतीक्षित पुस्तक पनि परे । त्यति हुँदाहुँदै पनि नेपाली साहित्यको बजार सुनसान नै चाहिँ भएन । विविध बाधा झेल्दै पुस्तकहरू प्रकाशित भए ।
वर्षको सुरुवातमै नारायण ढकालको चौथो उपन्यास फाइन प्रिन्टबाट ‘वृषभ वध’ आयो । फाइनबाटै अमर न्यौपानेको दोस्रो उपन्यास तथा तेस्रो कृति ‘करोडौं कस्तूरी’ पनि प्रकाशित भयो । बर्षको अन्तिमतिर बुद्धिसागरको उपन्यास ‘फिरफिरे’ आयो । तीन वटै पुस्तकलाई पाठकले स्वागत गरे । तर लेखकका पहिलेका कृतिजस्तो नभएको प्रतिक्रिया रह्यो । बुक हिल्सले बजारमा ल्याएको कुमार नगरकोटीको पहिलो उपन्यास ‘मिस्टिका’को पनि बजार चर्चा र पाठक प्रतिक्रिया उस्तै रह्यो । धेरै आशा गर्ने पाठक नगरकोटीबाट निराश भए । तर पनि उनको उपन्यास मन पराउने पाठक पनि उत्तिकै देखिए । हिल्सबाटै ब्रजेशको ‘जुनेली’ पनि यसै वर्ष बजारमा आयो । बुद्धिसागरको फिरफिरे र ब्रजेशको जुनेली नाकाबन्दीका कारण पाठकमाझ ढिलो आइपुगे ।
अस्ट्रेलिया बसिरहेका निष्प्रभ सजी ‘डार्लिङ हार्बर’ उपन्यास लिएर काठमाडौं आए । हिल्सबाट प्रकाशित भएको उनको उपन्यासले भने त्यति चर्चा पाउन सकेन । बरू भूकम्पलगत्तै प्रकाशित अश्विनी कोइरालाको कथा संग्रह ‘जुकरबर्ग क्याफे’ले भने बिक्रिमा हिल्सलाई राहत दियो । बर्षको अन्तिमतिर प्रकाशति भूपिनको कविता संग्रह ‘सुप्लाको हवाइजहाज’ले चर्चा पाइरहेको छ ।
सांग्रिला बुक्सबाट प्रकाशित रमेशनाथ पाण्डेको आत्मकथा ‘कूटनीति र राजनीति’ले पनि मनग्गे चर्चा पायो । सरिता तिवारीको कविता संग्रह ‘प्रश्नहरूको कारखाना’ले राम्रै बहस चलाउन समर्थ भयो । सांग्रिलाबाटै प्रकाशित चन्द्र घिमिरेको कविता कृति ‘काठको बाकस’ले पनि कविहरूको ध्यान तान्यो ।
यसै वर्ष पत्रकार नेत्र पन्थीको पुस्तक ‘डिभोर्स बजारमा आयो । प्रचण्ड र बाबुरामको सम्बन्ध र छुटानलाई लिएर लेखिएको कृतिले अझै चर्चा पाइरहेको छ । राजनीतिक घटनाक्रमलाई पनि आख्यानात्मक शैलीमा लेखिएको कारण पुस्तक पाठकले रुचाए । माओवादी राजनीतिमा केन्द्रीत रहेर विष्णु भण्डारीले लेखेको उपन्यास ‘पहेँलो घाम’ प्राइम बुक्सले प्रकाशित गर्यो । भूकम्पले सुस्ताएको पुस्तक बजारमा केही समय ‘पहेँलो घाम’मात्रै देखियो । यसमार्फत कवि भण्डारीले आख्यानकारको पहिचान निर्माण गरे । प्रकाश सायमीले आफ्ना प्रकाशित निबन्धहरूको संकलन ‘काठमाडौं सेल्फी’ पाठकमाझ पस्के शब्दहार क्रियसन्समार्फत । त्यसअघि डा. अभि सुबेदीको निबन्धहरूको संकलन ‘फ्लानरको डायरी’ बिएन पुस्तक संसारले प्रकाशित गरेको थियो ।
शिखा बुक्सले प्रकाशित गरेको रेशम विरहीको निबन्ध संग्रह ‘देब्रे आँखा’ पाठकको आँखामा परिरहेको छ । शिखाले दोस्रो प्रकाशनको रूपमा युवा कथाकार दीपक नेपालको कथा संग्रह ‘रित्तो आकाश’ प्रकाशित गरेको छ ।
हरि अधिकारीले केही वर्षअघि नै प्रकाशित भइसक्छ भनेर वाचा गरेको कृष्णप्रसाद भट्टराईको जीवनमा आधारित उपन्यास ‘एक्लो नायक’ यसबर्ष सके । डा. सञ्जीव उप्रेतीका बुबासमेत रहेका शंकरप्रसाद उप्रेतीको आत्मकथा ‘जीवन एक सपना’ले पनि यसै वर्ष प्रकाशित भयो । दामोदर पुडासैनीको कृति ‘सिमानाको रंग, सिमानाको तरंग’ले पनि चर्चा पाइरहेको छ । मञ्जरी प्रकाशनले शारदा भूसालको आत्मकथा ‘धरातल’ प्रकाशित गर्यो । मोदनाथ प्रश्रितको ‘यौनकाण्ड’ पर्दाफास गरेको भन्दै यसको चर्चा भइरहेको छ । मञ्जरीले प्रकाशन गरेको रोशन दाहालको उपन्यास ‘काँचुली’ले पनि बिक्रीमा आफूलाई अगाडि नै राखेको छ । यस वर्ष फिनिक्स बुक्स भने पुराना पुस्तक पुनर्मुद्रणमा बढी केन्द्रीत देखियो । मोहन मैनालीको कृति ‘उपल्लो थलो’ र पारिजातका कृतिहरू फिनिक्सले पुनर्मुद्रण गरेर बजारमा ल्याएको छ । नेपालयबाट आएको पत्रकार गिरीश गिरीको पुस्तक ‘वीरगञ्ज’ एउटा वृत्तमा राम्रो चर्चा पायो । त्यसअघि पत्रकार तथा म्युजिक भिडियो निर्देशक संगीता श्रेष्ठका प्रेमकथाको संकलन ‘कथामा अल्झिएका प्रेम’ प्रकाशित भयो । खेम थपलियाको नाटक संग्रह ‘उनी मरेका छैनन्’ पनि यसै वर्ष प्रकाशित भयो ।
समग्रमा ०७२ पुस्तक प्रकाशनका दृष्टिले धेरै कमजोर देखिएन । तर पाठकको मत सुन्ने हो भने उम्दा पुस्तक भने कम नै आए ।

कमाउने सिनेमा
‘जालमा’ गीत ‘भाइरल’ भएपछि चलचित्र ‘रेशम फिलिली’ अतिप्रतिक्षित सिनेमा बनेको थियो । तर सिनेमा रिलिज भएको भोलिपल्टै भूकम्प आयो । त्यसले गर्दा वर्षको मध्यतिरमात्रै सिनेमाले फेरि दर्शकमा जान पायो । त्यसैले अपेक्षित व्यापार गर्न सकेन ।

pashupati prasad (15)-001
तर यो वर्ष सिनेमाको व्यापारको दृष्टिकोणले हेर्ने हो भने उपलब्धीमूलक रह्यो । नारायण रायमाझी निर्देशित ‘परदेशी’, भुवन केसी निर्देशित ‘ड्रिम्स’ र रामबाबु गुरुङ निर्देशित ‘कबड्डी–कबड्डी’ले करोड क्लबमा आफूलाई सामेल गराए । त्यही लयमा ‘वडा नम्बर छ’ र ‘पशुपतिप्रसाद’ देखिए । ‘होस्टल रिर्टन्स’, ‘प्रेमगीत’, ‘रेशम फिलिली’, ‘भैरव’जस्ता सिनेमाले आफूलाई सावित गरे । त्यसो त ‘फन्को’, ‘अधकट्टी’, ‘राहदानी’, ‘फूलैफूलको मौसम तिमीलाई’, ‘भाग् सानी भाग्’जस्ता सिनेमाबाट दर्शकले अपेक्षा गरेजति पाएनन् । ‘काफल पाक्यो’, ‘को आफ्नो’, विन्दास–३’, ‘चंखे शंखे प्रखे’जस्ता सिनेमाको त हालत खराब नै भयो । ‘नोटिस’ नै हुन नसक्ने सिनेमा पनि यस वर्ष नबनेका होइनन् । ठूलो हल्लाखल्लासहित आएको ‘वागमती’को हालतसमेत त्यस्तै भयो । तर पनि यस वर्ष नेपाली सिनेमाले राम्रो व्यापार गर्न सक्छ भन्ने प्रमाणितचाहिँ गर्यो ।
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, नम्रता श्रेष्ठ, दीपाश्री निरौला, रेखा थापा, निशा अधिकारी, नीता ढुंगाना, पूजा शर्मा, केकी अधिकारी, रजनी केसी, शिल्पा पोखरेल, प्रियंका कार्कीलगायतले यो वर्ष दर्शकको माया पाए । दयाहाङ राई, अनमोल केसी, आर्यन सिग्देल, प्रदीप खड्का, दीपकराज गिरी, निखिल उप्रेती, सौगात मल्ला, जीवन लुइँटेल, विनय श्रेष्ठ, सविन श्रेष्ठलगायतको वर्चश्व कायमै रह्यो ।

फैलिँदै नाटक
सुरुवातमा भूकम्प र नाकाबन्दीको असर नाटकमा सबैभन्दा बढी परेको देखियो । परकम्प गइरहँदा दर्शक र कलाकार दुवैले नाटकमा ध्यान केन्द्रित गर्न गाह्रो हुने नै भयो । त्यसैले भूकम्पपछिका केही महिना नाटक मञ्चन नै भएनन् । त्यसपछि नाकाबन्दीका कारण सवारी साधन नपाइने हुँदा नाटक प्रदर्शनको समय प्रभावित हुन पुग्यो । तर बिस्तारै नाटकले आफ्नो गतिचाहिँ लियो । त्यसैले यो वर्ष पनि थुप्रै नाटक मञ्चन भए ।
भूकम्पले सबैभन्दा संकटमा कान्छो थिएटर ‘थिएटर मल’लाई पार्यो । किनकि यो काठमाडौं मलको सातौं तलामा छ । तर दर्शकले माया गरे । त्यसैले त्यहाँ पनि थुपै्र नाटक मञ्चन भए । अभि सुवेदी लिखित र घनश्याम खड्का निर्देशित ‘बिम्बाका सपना’, टिकाभक्त जिरेलको लेखन तथा निर्देशनमा ‘छिद्र क्यानभास’, गोविन्दबहादुर मल्ल गोठाले लिखित तथा सुदाम सिके निर्देशित ‘च्यातिएको पर्दा’, किशोर अनुरागको लेखन तथा निर्देशनमा ‘कथा सारंगी गाउँको’, केदार श्रेष्ठ लिखित तथा निर्देशित ‘मान भर्सेस मती’लगायतका नाटक थिएटर मलमा मञ्चन भए । mailo (11)
सर्वनाम थिएटरमा ‘रोल नम्बर १’, ‘बादलका आकारहरू’लगायत प्रशिक्षार्थी समूहका केही नाटक मञ्चन भए । प्रणव आकाशको ‘मान्छे पोल्ने भट्टी’ अशेष मल्लको ‘हराएका मान्छेहरू’ पछि अहिले मल्लकै लेखन तथा निर्देशनमा ‘भिक्षाम् देही’ मञ्चन भइरहेको छ ।
मण्डलामा पुस्कर शमशेरको लेखन र प्रवीण खतिवडाको निर्देशन रहेको ‘सरजमिन’, सरुभक्त लिखित तथा दयाहाङ राई निर्देशित ‘सिरुमारानी’, राईकै लेखन र निर्देशन रहेको ‘जिरो जिरो जेड’ र ‘वैतरणी क्याफे’, राजन खतिवडा लिखित तथा निर्देशित ‘माथापञ्चर’, जोन ओस्बर्न लिखित तथा शंकर रिजाल निर्देशित ‘लुक व्याक इन एंगर’, जाँ अनाँईलिखित तथा सोमनाथ खनाल निर्देशित ‘र माइलो’, नयनराज पाण्डेलिखित तीन कथा मिलाएर बनेको आशान्त शर्माले निर्देशित ‘कथा एक्सप्रेस’, सुलक्षण भारती लिखित तथा निर्देशित ‘बिल गेट्स पण्डित’, एफ ए हायकको कृति ‘द रोड टु सर्फडम’मा आधारित भएर सुरेश सापकोटा लिखित तथा बुद्धि तामाङ निर्देशित ‘योजनापार्क’लगायत नाटक मण्डलामा मञ्चन भए । ‘भि डे’को सन्दर्भमा मञ्चन भएको इभ एन्सलरको नाटक ‘दी भजाइना मोनोलग’को नेपाली रूपान्तरण ‘योनीका कथाहरू’ले विशेष चर्चा पायो । आकांक्षा कार्की र गुञ्जन दिक्षित निर्देशित नाटक नारी दिवसको दिन रातो बंगला स्कुल, पाटनमा पनि मञ्चन भयो ।
शिल्पी थिएटर पनि नाटक मञ्चनमा सक्रिय नै रह्यो । उपेन्द्र सुब्बाका कथामा आधारित नाटक ‘लाटो पहाड’ किरण चाम्लिङ राईको निर्देशनमा मञ्चन भयो । शिल्पीको तेस्रो व्याचको कलाकार लिएर घिमिरे युवराजले ‘एलो कमेडी’ तयार पारे । मोलियरको नाटक ‘तार्तुफ’लाई नेपालीकरणगरे ‘झलेन्द्रप्रसादको लीला’ बनाइयो, जसको निर्देशन गंगाप्रसाद तिवारी गरे । घिमिरे युवराजकै निर्देशनमा हेनरिक इब्सेनको नाटक ‘समाजका नाइके’ मञ्चन गरियो । अहिले सेक्सपियरको नाटक ‘द मिडसमर नाइट्स् सपना’ सुनिल पोखरेलको निर्देशनमा मञ्चन भइरहेको छ ।
थिएटर भिलेजमा अजय शुक्लाको लेखन र दिलिप रानाभाटको निर्देशनमा ‘सिंहदरबारको टेन्डर’, अनुप बरालको निर्देशनमा निर्मल वर्माको ‘तीन एकान्त’ र महेश दत्तानीको ‘थर्टी डेज इन सेप्टेम्बर’
विमल सुवेदीको निर्देशनमा अभि सुवेदीको ‘सान्दाजुको महाभारत’, सञ्जीव उप्रेतीको ‘मकैको अर्कै खेती’ र रविन्द्रनाथ टैगोरको ‘मालिनी’, खगेन्द्र लामिछाने लिखित तथा निर्देशित ‘दाँतका डोबहरू’ र निलो क्रुजको लेखन तथा डेबोरा मेरोलाको निर्देशन रहेको ‘अन्ना इन दी ट्रोपिक्स’लगायत नाटक मञ्चन भए । अहिले सेक्सपियरको नाटक ‘ह्याम्लेट’ मञ्चन भइरहेको छ ।
डुलाउने रंगमञ्चअन्तर्गत राजकुमार पुडासैनीको निर्देशनमा वाल्मिकी क्याम्पसमा मञ्चन भएको नाटक ‘जीवन चलिरहेछ’ले पनि चर्चा पायो ।
यसै वर्ष मण्डला थिएटरले मोबाइल थिएटरको लागि गाडी तयार गरेको छ । ‘जूनकिरी’ नाम दिइएको उक्त गाडी थिएटर नभएको स्थानमा लगेर नाटक देखाउन प्रयोग हुनेछ । त्यसको पहिलो चरणमा काठमाडौंका भूकम्पप्रभावित स्थानमा नाटक ‘मनचिन्ते फिरन्ते’ देखाइने छ ।
भूकम्प र नाकाबन्दीबीच पनि रंगमञ्चले भने आफूलाई यो बर्ष अझ फराकिलो बनाएको छ । यसै वर्ष दयाहाङ राईले झण्डै दुई वर्षपछि नाटक खेले भने पुराना रंगकर्मी हरिहर शर्मा दुई दशकपछि नाटकमा देखिए, त्यो पनि मूख्य भूमिकामा । त्यस्तै देशभक्त खनाल र सरोज खनालदेखि पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ पनि यसै वर्ष नाटकमा देखिए । यसले रंगमञ्चलाई थप उत्साहित बनाएको छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल