२०७२ का अपराध : यी हुन्– सेक्स र पैसाले जन्माएका चर्चित १२ अपराध

चैत ३०  |   राजेश भण्डारी

२०७२ का अपराध : यी हुन्– सेक्स र पैसाले जन्माएका चर्चित १२ अपराध

काठमाडौँ– पहिले–पहिले खेतको आली र पानीको पालो मिचेको निहुँमा हुने अपराध अहिले पैसा र सेक्ससँग जोडिने गरेका छन् । २०७२ सालका धेरै आपराधिक घटना पैसा र सेक्ससँग जोडिएका छन् । नुवाकोटका कुमार घैंटे पैसाका लागि गुन्डागर्दी गर्थे, आफ्नी धर्म बहिनीसँग सेक्स गर्न खोज्दा प्रतिकार गरेपछि पोखराका कृतन खड्गीले नेहा पुनको हत्या गरे ।
सागर थापासहितका राष्ट्रिय फुटबल टिमका होनहार खेलाडी पैसाका लागि ‘म्याच फिक्सिङ’ जस्तो कार्यमा संलग्न भए । संखुवासभाका जीवन तामाङले नक्कली अमेरिकन लाहुरे बनेर १८ युवतीसँग लाखौँ ठगे । ०७२ सालमा यस्ता धेरै घटना घटे, जसको असर नेपाली समाजमा पछिसम्म रहनेछ ।
यस्ता थिए, ०७२ का चर्चित १२ अपराध


घटना नं १ : इन्काउन्टरमा मारिए कुमार घैंटे

राजधानीको सामाखुसीमा सर्च अभियान चलिरहेका बेला स्कुटरमा आएका घैँटेलाई रोकेर ०७२ भदौ ३ गते प्रहरीले सोधपुछ गरेको थियो । सोधपुछक्रममा पेस्तोल झिकेपछि नुवाकोटका कुमार श्रेष्ठ ‘घैंटे’ विरुद्ध महानगरीय प्रहरी अपराध महाशाखाले जवाफी फायरिङ गर्यो । प्रहरीको गोली लागेर घाइते उनको शिक्षण अस्पतालमा उपचारक्रममा मृत्यु भयो ।

Kumar-Ghaite
प्रहरीका अनुसार सामाखुसीस्थित कपुरधारानजिकै बालकुमारी चोक सडकभित्रको भागसम्म हतियार चेक–जाँचका लागि रोक्न खोज्दा घैंटेले प्रहरीलाई मार्ने उद्देश्यले फायर गरेका थिए ।
चन्दा असुली र आपराधिक घटनामा संलग्न घैँटेलाई प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेको थियो । सामाखुसी क्षेत्रमा गुन्डागर्दी गर्दै आएका घैँटेले यसअघि पनि काठमाडौँको बागबजारमा प्रहरीमाथि आक्रमण गरेका थिए । उनको साथबाट प्रहरीले चार राउन्ड गोली र एकथान इटालियन पेस्तोल बरामद गरेको थियो । यो विषय मानवअधिकार आयोगसम्म पुग्यो । काँग्रेसका केही नेताले इन्काउन्टरको विरोध नै गरे ।

घटना नं २ : सेक्स प्रस्ताव अस्वीकार गर्दा नेहा पुन मारिइन्
मगर भाषाको चलचित्रमा अभिनय गरेकी १९ वर्र्षीया योरुना पुन ‘नेहा’ पोखराको स्माइल क्याफेमा जागिरे थिइन् । पोखराको न्युरोडमा रहेको क्याफेको काउन्टरमा कार्यरत नेहालाई आफ्नै धर्म दाइले ०७२ माघ १८ गते हत्या गरेर घरनजिकै फाले ।

neha-pun-murder-case-pokhara-10-arrested
प्रहरीका अनुसार आफ्नै धर्म दाइ सतिश भनिने कीर्तन खड्गीले नेहासँग सेक्स प्रस्ताव राखेका थिए । खड्गीको सेक्स प्रस्ताव अस्वीकार गरेपछि रिसको झोँकमा उनले नेहालाई हेल्मेट प्रहार गरेर हत्या गरेका थिए । नेहालाई हत्या गरेको एक सातामा पक्राउ परेका सतिशले प्रहरीसँगको बयानमा हेल्मेटले हिर्काएर उनलाई मारेको स्वीकार गरे ।
माघ १८ गते राति नेहा र अन्य साथीसँग भेला भएर सतिशले न्युरोडको ओपन टेबुल नामक रेष्टुरेन्टमा बसेर मादक पदार्थ पिएका थिए । राति नौ बजे नेहालाई घर पुर्याइदिने भन्दै मोटरसाइकलको पछाडि राखेर नयाँगाउँतर्फ हिँडेका खड्गीले नेहालाई ‘आज तिमी घर नजाऊ, लेकसाइडतिर घुमौँ र त्यहीँको लजमा बसेर रमाइलो गरौँ’ भन्दै सेक्स प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई नेहाले अस्वीकार गर्दा अचानक मोटरसाइकल रोकेका खड्गीले आफ्नो हेल्मेट खोलेर अपशब्द प्रयोग गर्दै नेहामाथि प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । हेल्मेट प्रहारपछि ढलेकी नेहामाथि यौन सम्पर्क गर्न खोज्दा नाक र कानबाट रगत बगेको देखेपछि आफू भागेको उनले प्रहरीलाई बयान दिएका थिए । यो घटनाले पोखरालाई हल्लाएको थियो ।

घटना ३ : पैसाका लागि ‘म्याच फिक्सिङ’
नेपालको झन्डा बोकेर अन्तर्राष्ट्रिय मैदानमा प्रतिस्पर्धा गर्न गएका नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहितका पाँच खेलाडी म्याच फिक्सिङमा संलग्न भएको आरोपमा पक्राउ परे । ०७२ असोज २७ गते फक्राउ परेका सागर थापा, रितेश थापा, सन्दीप राई, पूर्वखेलाडी विकाससिंह क्षेत्री र अञ्जन केसीले विभिन्न ६ अन्तर्राष्ट्रिय प्रतियोगितामा मोटो रकम लिएर फिक्सिङ खेलेको प्रहरीले जनाएको छ । उनीहरूले म्याच फिक्सिङ गरी नेपाली फुटवल टिमलाई हराउँदै मोटो रकम लिएर खाने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

match fixing @ bishesh adalat (7)
उनीहरूले २००८ को मोर्डेका कप, २००९ को साफ च्याम्पियनसिप, २०११ मा मलेसियासँग भएको मैत्रीपूर्ण खेल, सन् २०१२ को नेहरू कप र सन् २०१४ मा कोरियामा भएको यु–२३ एसियन च्याम्पियनसिप हार्ने सर्तमा पैसा लिएका थिए । फिक्सिङमा संलग्न खेलाडीलाई राज्यविरुद्धको अपराधअन्तर्गत मुद्दा चलाइएको छ । यो प्रकरणले नेपालको खेलजगत्लाई तरंगित पार्यो ।

घटना ४ः सामूहिक सेक्स प्रस्ताव अस्वीकार गर्दा भेनिसाको ज्यान गयो
उमेरले २० टेकेकी भेनिसा लिम्बूले दस जोड दुई सकेकी थिइन् । लिम्बू कपन बस्थिन् । चाबहिलको हेरिटेज हाइस्कुलमा पढाउँथिन् । धनकुटा स्थायी घर भएकी उनका बा–आमा त्यतिबेला कामविशेषले धरान गएका थिए । घटना गत फागुन ८ गतेको हो । उनी भाइ, बहिनी र एक दिदीको साथमा काठमाडौँमै थिइन् ।
राजन राई र भेनिसा लिम्बू फेसबुकमा साथी बनेको करिब तीन महिना भएको थियो । ‘हाई सोल्टिनी’ भन्दै च्याटिङ सुरु गरेका राजन बारम्बार म्यासेन्जरमार्फत भेनिसाको सम्पर्कमा रहे । भेनिसाले उनको म्यासेज बक्समा आउने हरेक प्रश्नको उत्तर दिइरहिन् । गएको फागुन ८ गते राजनले भेनिसासँग डराइ–डराइ मोबाइल नम्बर मागे । भेनिसाले केही मिनेटमै नम्बर दिइन् । त्यतिबेला दिउँसोको तीन बजेको थियो, भेनिसा कपनमा थिइन् । नम्बर पाउनासाथ राजनले फोन गरेर बौद्धमा भेट्ने प्रस्ताव राखे ।
भेनिसा तयार भएर बौद्धगेट पुगिन् । राजनले उनलाई कतै बसेर चिया खाऔँ भन्दै ‘आजी’ नाम गरेको भट्टी पसलमा पुर्याए । भट्टी पसलमा राजनका साथी सनी लामा र सजित लामा पनि सँगै थिए । प्रहरीका अनुसार अर्का फरार अभियुक्त सोही भट्टीमा थिए । सबैले मादक पदार्थ पिएका थिए । भेनिसाले भने चिया पिउँदै केटाका कुरा सुनिन् ।
भट्टीमा सँगै मापसे गरेका फरार अभियुक्त कारमा हिँड्थे । करिब ६ बजेपछि सबैले डिस्को गएर रमाइलो गर्ने सल्लाह गर्दै भट्टी पसलबाट बाहिरिए । साँझ ११ बजेसम्म उनीहरू ठमेलको हार्ड रक नामक डिस्कोमा नाचेका थिए । पहिले चिया खाएकी भेनिसालाई केटाहरूले कर गरेर बियर खुवाए । बियर खाँदा उनीहरूले भेनिसालाई पकट–पटक किस खाए । हग गरे । ११ बजेपछि उनीहरू फरार अभियुक्तको गाडीमा निस्किए । फरार अभियुक्तले सजित लामा र राजन राईलाई बौद्धगेटमा लगेर छाडिदिए । सनी र भेनिसालाई आफ्नो अपार्टमेन्टमा लिएर गए ।
अपार्टमेन्टमा पुगेपछि फरार अभियुक्तले सनी र भेनिसालाई एउटा कोठामा सुत्न भनी उनी आफ्नै कोठामा छिरे । २८ वर्षीय सनीले भेनिसासँग बसेर थप एक बोतल बियर खाएर पहिलोपटक शारीरिक सम्पर्क गरे । अर्को कोठामा सुत्न गएका फरार अभियुक्तले ढोका ढकढकाएपछि सनीले ढोका खोले । फरार अभियुक्तले भेनिसासँग सेक्स गर्ने मनसायले सनी लामालाई कोठाबाहिर जान आग्रह गरेपछि उनीहरूबीच केही समय विवाद भयो । त्यतिन्जेल रातको करिब १२ बजिसकेको थियो ।
फरार अभियुक्तले भेनिसालाई जबर्जस्ती करणी गर्न खोजे तर एउटै बेडमा दुईजनासँग शरीर सुम्पन भेनिसा तयार भइनन् । भेनिसा ट्वाइलेट पसिन् । सनीको साथी (फरार अभियुक्त) ले तान्न थाले । केहीबेर तानातान हुँदा फरार अभियुक्तले ट्वाइलेटको झ्यालबाट भेनिसालाई धकेलिदिए । भेनिसा ६ तलामाथिको अपार्टमेन्टबाट भुइँमा पछारिइन् । त्यतिन्जेल भेनिसाको ज्यान गइसकेको थिएन । धुकधुकीको भरमा बाँच्न विवश भेनिसालाई सनी र फरार अभियुक्तले पुनः गाडीमा राखे तर हस्पिटल लगेनन् । नगरकोट जाने भन्दै उनीहरूले गाडी अगाडि बढाए । कोटेश्वर नकाट्दै भेनिसाले संसार छाडिसकेकी थिइन् । उनीहरूले भेनिसाको शवलाई नगरकोट जाने बाटोमुनि बाँसघारीमा फालेर फर्के ।
घटना ५ : ल्हारक्यालको लकरमा गोलीको पोको
अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार छानबिनमा परेको एमाओवादी सांसद ल्हारक्याल लामाको लकर जाँच गर्दा गोलीको पोको भेटिएपछि अख्तियारको टोली झस्कियो । ०७२ फागुन ३० गते इन्भेस्टमेन्ट बैंकको दरबारमार्ग शाखामा उनको लकर खोल्दा चाइनिज पेस्तोलमा प्रयोग हुने १४ राउन्ड गोली फेलापरेको थियो ।

lyarkyal (1)
सुन, चाँदी र गरगहना राख्ने ठाउँमा खादामा पोको पारेको गोली फेलापरेपछि दरबारमार्ग प्रहरीले लामालाई तत्काल नियन्त्रणमा लिएको थियो । गोलीकाण्डमा आठ दिन हिरासतमा बसेर धरौटीमा निस्केका लामाले पोलिग्राफ गर्न अस्वीकार गरेका थिए । त्यस्तै प्रहरीसँगको बयानक्रममा गोली आफ्नो नभएको भन्दै साथीको गोली राखिदिएको जिकिर गरेका लामा धरौटीमा छुटे । लगत्तै मेनपावर ठगी प्रकरणमा पक्राउ परे । मेनपावर ठगी प्रकरणमा थप दुई रात हिरासतमा बसेका लामा वैदेशिक रोजगार विभागमा ३० लाख धरौटी बुझाएर बाहिरिए ।
आपराधिक गतिविधिमा संलग्न भएको प्रमाण फेलापारेपछि पक्राउ परेका लामा संसद् सदस्यबाट निलम्वनमा परे । उनको निलम्वन अझै फुकुवा भएको छैन । राजनीतिवृत्तमा यो ठूलो विषय बन्यो ।

घटना ६ : पाहुनाघरमा पेस्तोलको सिरानी
एसएलआर बोकेर भागेका नेपाल प्रहरीका जवान छोटेलाल ठाकुर लामो समयदेखि लुटपाट र फिरौतीमा सक्रिय थिए । रौतहट स्थायी घर भएका ठाकुर काठमाडौँको सुन्धारास्थित लुम्बिनी पाहुनाघरमा पेस्तोलसहित बसिरहेको सूचना आएपछि उनलाई खोज्दै महानगरीय प्रहरी अपराध महाशाखाको टोली त्यहाँ पुग्यो । प्रहरी आएको देखपछि उनले आफ्नो सिरानीमुनि रहेको पेस्तोल निकाल्न खोजे । प्रहरीले फायर खोल्दा ठाकुर घाइते भए । खुट्टामा चोट लागेका ठाकुरसहित पाहुनाघरबाट उनको एक सहयोगीलाई प्रहरीले ०७२ मंसिर १३ मा पक्राउ गर्यो । उनीहरूको साथबाट प्रहरीले लोड गरिएको चाइनिज पेस्तोल बरामद गरेको थियो ।
घटना ७ :  लाहुरे बनेर १८ युवती ठगे
संखुवासभाका जीवन तामाङले आफूलाई कहिल्यै सक्कली नामले चिनाएनन् । बिल क्लिन्टन, जर्ज डब्लु बुस तथा बाराक ओबामासँगको फोटो आफ्नो बेडरुम र मिटिङ रुममा सजाएका जीवनले आफूलाई कहिले अमित भन्थे, कहिले काभ्रेली विष्णुकुमार तामाङ ।
चाबहिलमा आलिसान महलको फ्ल्याट भाडामा लिएर बसेका जीवनले नुवाकोटको सामरी गाविसकी सुवि तामाङसँग विवाह गरेका थिए । उनी काठमाडौँबाहिर हिँडिरहन्थे । चाबहिलमा उनको सात वर्षीय छोरा र श्रीमती सुवि बस्थिन् । टहलिएको भरमा मासिक लाखौँ कमाउने जीवनसँग सुवि पनि मख्ख थिइन् । जिन्दगी शानले चल्दै थियो ।

आफूलाई अमेरिकी आर्मी बताउने तिनै खाइलाग्दो ज्यानका जीवन तामाङविरुद्ध ०७२ असोजतिर महानगरीय प्रहरी परिसर काठमाडौँjivan thagi (15)मा ठगीको उजुरी पर्यो । काठमाडौँ प्रहरीमा आएको जीवनविरुद्धको पहिलो उजुरीमा ‘अमित लामाले आफूलाई अमेरिकन लाहुरे हुँ, तिमीसँग विवाह गर्छु भन्दै झुक्याएर दुई लाख ५० हजार ठगेको’ उल्लेख थियो ।
त्यस्ता उजुरी एकपछि अर्को बढ्न थाले । कसैले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिन्थे, कसैले परिसरमा । एउटै व्यक्तिविरुद्ध पढेलेखेका युवतीले पटक–पटक उजुरी गर्न थालेपछि काठमाडौँ प्रहरीले खोज्न थाल्यो, ‘आखिर को हो जीवन तामाङ ?’
‘ग्रे कलरको एचपी ल्यापटप’ बोकेर हिँड्ने जीवन प्रविधिमा पोख्त थिए । इमेल, इन्टरनेट र फेसबुक चलाइरहन्थे । अमेरिकी दूतावास र अमेरिकी सेनाका हरेक गतिविधिबारे अपडेट भइरहने तामाङले सिंगो अमेरिकन आर्मीको नाम बेचेर लाखौँ कमाए ।
उनको फेसबुक चलाउने शैली नेपालका उच्चपदस्थ सरकारी अधिकारी र ठूला घरानियाँ व्यापारीको भन्दा फरक थिएन । कुनै स्मार्ट युवतीको पूरै पृष्ठभूमि थाहा पाएपछि उनी फ्रेन्ड रिक्वेस्ट पठाउँथे । केटीले फ्रेन्ड रिक्वेस्ट एसेप्ट नगरेसम्म लगातार मेसेज गर्थे अनि साथी स्वीकार्न बाध्य बनाउँथे । केटीहरूले साथी स्वीकार्दा उनले केटीहरूको परिवारसमेतको सालाखाला विवरण तयार पारिसकेका हुन्थे । एउटी केटी पट्याउन उनले छुट्टै सिमकार्ड लिन्थे । घरमा राम्री श्रीमती थिइन्, जसकारण उनी केटीहरूको शारीरिक संरचना देखेर कहिल्यै लोभिँदैनथे, बरु उनलाई देखेर केटी मोहित हुन्थे ।
यस्तोमा १८ भन्दा बढी जनजाति युवती ठगे । अझै ठग्दै थिए, ठग्दाठग्दै उनी ०७२ चैतमा प्रहरीको फन्दामा परे । प्रहरीका अनुसार उनले १८ भन्दा बढी युवतीलाई ‘म अमेरिकन आर्मी हुँ, तिमीलाई आफ्नी बनाएर अमेरिका लैजान्छु’ भन्दै लाखौँ ठगेका थिए ।

घटना ८ : साउदी कूटनीतिज्ञलाई नेपाली चेली
मोरङ र बाग्लुङका दुई महिला साउदी अरबमा घरेलु कामदारका रूपमा काम गर्दा राम्रो तलब पाउने आश्वासनमा दिल्ली पुर्र्याइए । सडकमार्ग हुँदै दिल्ली लगेर भारतीय दलालको गिरोहलाई जिम्मा लगाइएका ती महिलालाई बन्धक बनाएर भारतको गुडगाँउस्थित साउदी अरेबियाका मजिद नामका कूटनीतिज्ञको अपार्टमेन्टमा राखिएको थियो ।
साउदी कूटनीतिज्ञ र उनका पाहुनाले लगातार यौनशोषण गरेको खबर पाएपछि ०७२ भदौ २१ गते नेपाली चेलीलाई भारतीय प्रहरीले गुडगाउँबाट उद्धार गरेको थियो । उद्धारपछि उनीहरूलाई नेपाल ल्याइयो । त्यसरी नेपाली चेलीलाई साउदी अरेबियन कूटनीतिज्ञ ‘मजिद’ सम्म पुर्याउने कल्पना परियार र कृष्ण भन्ने जितबहादुर दर्जीलाई नेपाल प्रहरीले ०७२ भदौ ३० मा पक्राउ गरेको थियो ।
उनीहरूले नेपाली युवती भारतीय दलालसम्म पुर्याएबापत एक÷एक लाख लिएको प्रहरीले जनाएको छ ।
पीडितलाई मुम्बई, श्रीलंका हुँदै साउदी अरेबिया पुर्र्याएर एक महिना होटलमा राखी पुनः नयाँदिल्ली पुर्याएर गुडगाउँको अपार्टमेन्टमा राखिएको थियो । गुडगाउँको अपार्टमेन्टमा राखेर उनीहरूलाई यौन शोषण गर्दै लामो समयसम्म राम्रोसँग खानसमेत नदिई तीन महिना बन्धक बनाएर राखिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ ।

yog-Narayan-yadavघटना ९ : ज्यान मुद्दामा एमाले नेता जेल
धनुषाको सबैला नगरपालिका–१ मा रहेको मदन–आश्रित निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन विवादमा दुईतर्फ भीडन्त भयो । ०७१ चैत ८ गते स्थानीय रामसेवक राउत गडेरी र रामप्रगास यादवको मृत्यु भयो ।
दसजना भन्दा बढी घाइते भएको सो घटनामा संलग्न रहेको भन्दै पक्राउ परेका नेकपा एमालेका वैकल्पिक पोलिटव्युरो सदस्य योगनारायण यादव जेल परेका छन् । जिल्ला अदालत धनुषाले ०७२ चैत २६ गते उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
हत्या आरोपमा जेल परेका नेता यादवविरुद्ध परेको हातहतियार तथा खरखजाना मुद्दाको सुनुवाइ पनि चलिरहेको छ । विगत एक वर्षदेखि एमाले शीर्षनेताको संरक्षणमा उनी लुकीछिपी बस्दै आएका थिए ।
घटना १०ः फरार पूर्वडीएसपी प्रहरी फन्दामा
सञ्चार उद्यमी जमिम शाहको हत्यामा संलग्न पूर्वडीएसपी जगदीश चन्द यसै वर्ष प्रहरीको फन्दामा परे । ०७२ असार १२ गते लुकीछिपी बसेको अवस्थामा महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको थियो । ०६६ माघ २४ गते भएको जमिम हत्यामा संलग्न भारतीय अपराधीसँग उनको पटक–पटक सम्पर्क भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । नक्कली सर्टिफिकेटका आधारमा प्रहरीमा भर्ना भएको खुलेपछि चन्दले जागिर छाडेका थिए ।

घटना ११ः न्यायाधीशलाई गोली

०६९ जेठ १८ गते सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई पहिलो गोली हान्ने रामेछापका सञ्जय एस्माली केन्द्रीय अनुसन्धान व्युरोको फन्दामा परे । बममाथि पहिलो गोली हान्ने सञ्जय एस्मालीलाई प्रहरीले साउदी अरबबाट पक्राउ गरेर ०७२ भदौ ६ गते काठमाडौँ ल्याएको थियो । प्रहरी अनुसन्धानकै क्रममा संविधानसभा चुनाव लडेका एस्माली चुनावकै बीचमा माओवादीमा प्रवेश गरेका थिए । दोस्रो संविधानसभा निर्वाचनपछि रोजागारीका लागि साउदी अरब पुगेका एस्मालीलाई केन्द्रीय अनुसन्धान व्युरोले साउदी अरबबाट पक्राउ गरेर नेपाल ल्याएको थियो ।

घटना १२ :  स्याम्पुमा कोकिन, अटैँचीमा भारु

विश्वकै महँगोमध्ये मानिने अवैध लागूऔषध कोकिन प्याक गरेको पाँचवटा स्याम्पुका बट्टासहित दुई विदेशी महिला ०७२ मा प्रहरीको फन्दामा परे । ०७२ चैत १५ गते स्याम्पुको बट्टामा प्याक गरिएको दुई किलो झोल कोकिन नियन्त्रण व्युरोले पक्राउ गर्यो । नेपाल हुँदै अन्यत्र लैजान लागेको अवस्थामा प्रहरीले समातेको झोल कोकिनको मूल्य पाँच करोड ४० लाखभन्दा बढी रहेको लागूऔषध नियन्त्रण व्युरोले जनाएको छ ।
लागूऔषध कारोबारमा संलग्न दक्षिण अफ्रिकाकी एमपाथोनी एमसानी र भारत नागाल्यान्डकी मिर्सीलाई प्रहरीले पक्राउ गरेको थियो ।

मोहम्मद नदिमको हुलिया हेर्दा उनी नक्कली भारुको कारोबार गर्ने व्यक्ति हुन् भनेर सजिलै पत्यार नलाग्न सक्छ । तर, उनैले दुई सुटकेशमा पाकिस्तानको कराँचीबाट कतार हुँदै काठमाडौँ ल्याएको एक करोड नक्कली भारतीय रुपैयाँ नेपाल प्रहरीको विशेष व्युरो र काठमाडौँ प्रहरीको संयुक्त टोलीले ०७२ चैतमा पक्राउ गर्यो ।
कराँचीबाट दुई अटैँची बोकेर कतार उडेका नदिम दोहाबाट कतार एरयवेजको जहाज समातेर त्रिभुवन विमानस्थल ओर्लेका थिए । प्रहरीका अनुसार नदिम पाँच सय अमेरिकी डलर कमाउने लोभमा नक्कली भारु बोकेर नेपाल उडेका थिए । उनले बोकेको अटैँचीमा फल्स बटन लगाइएको थियो । जसकारण उनी त्रिभुवन विमानस्थलबाट सजिलै बाहिरिए ।
०७२ चैतको अन्तिम साता नदिमसहित पक्राउ परेकी ५५ वर्षीय उमादेवी पाण्डेले नदिमसँग लिएको ५० लाख नक्कली भारु वीरगन्जबाट आएका महादेव तिमल्सिनालाई हस्तान्तरण गरिसकेकी थिइन् । त्यसबापत उमादेवीलाई भारु तस्करले नेपाली पाँच हजार दिने वाचा गरेका थिए । महादेव तिमल्सिनासहित दिलबहादुर थापा, परमानन्द यादव र ईश्वरप्रसाद शाहलाई नक्कली भारु कारोबार संलग्नतामा प्रहरीको फन्दामा परेका थिए ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल