मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

-  |   चित्रबहादुर केसी, उपप्रधानमन्त्री तथा सहकारीमन्त्री

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

Chitra bahadur KC (4)-001 (1)१ मेरो खाना
मलाई सबैभन्दा मनपर्ने चीज दूध–दही हो । सबैभन्दा मन नपर्ने भन्ने त्यस्तो खासै केही छैन । रेस्टुरेन्ट जाने बानी छैन । लगभग कहिल्यै जान्न भन्दा पनि हुन्छ ।
खानाका रूपमा फास्टफुड खानेबानी पनि छैन । बजारमा पाइने फास्टफुड मन नै पर्दैन ।
पहिले–पहिले युवावस्थामा खाना पकाउने पनि गर्थें । सायद सहरिया जीवनको प्रभावले गर्दा होला अचेल पकाउँदिनँ ।

२ मेरो पोसाक
मेरो पोसाक नियमित रूपमा यस्तै भन्ने छैन । सामान्यतः आङ ढाक्न पाए हुन्छ । पोसाकका लागि वार्षिक रूपमा खर्च छुट्याउने गरेको छैन ।
कुनै रङविशेषप्रति रुचि पनि छैन । मन पर्ने र नपर्ने भन्ने रङ पनि छैन ।
कपडा किन्दा कहिलेकाहीं रेडिमेड किन्छु र कहिले सिलाउन दिन्छु ।
सिलाउनु परेमा प्रायः पुतलीसडकको डिजाइनर भन्ने सिलाइमा जान्छु । दुई÷चार वर्षमा एकपटक जान्छु होला । चिनजान भएका कारण त्यहाँ जाने गरेको हुँ । कपडामा ब्रान्ड कन्सस भने छैन म ।
ढाका टोपीचाहिँ नियमित लगाउँछु । यो मेरो सानैदेखिको आदत हो ।

३ मेरो फिटनेस
सामान्यतः ३० मिनेट जति मर्निङवाक गर्छु । फिटनेसका लागि डाइटिङ गर्दिनँ । र, योगा गर्ने पनि बानी छैन ।

४ मेरो अध्ययन
अहिले केही पढेको छैन । राजनीतिक र सामाजिक पुस्तक मेरो रुचिमा पर्छन् ।
मनपर्ने विशेष लेखक त्यस्तो कोही पनि छैनन् । विषयवस्तु वा पुस्तकका आधारमा लेखक मन पर्छ ।
लेख्ने खासै बानी त छैन तर कहिलेकाहीं डायरी टिप्छु । पहिले–पहिले धेरै पुस्तक संकलन गर्ने बानी थियो । आजकल त्यस्तो पनि गर्दिनँ । पुस्तककै लागि खर्च छुट्याउने गरेको पनि छैन ।

५ मेरो घुमफिर
घुमफिरमै जानका लागि भनेर गएको छैन । यसका लागि समय नै हुँदैन । बरु राजनीतिक कार्यक्रमको सिलसिलामा अधिकांश जिल्ला घुमेको छु । अब ५-६ जिल्लामात्रै बाँकी होला ।
म पुगेका ठाउँमध्ये सबैभन्दा मन परेको ठाउँ इलाम हो । त्यहाँको भौगोलिक अवस्थिति र सुन्दरताले लोभ्याउँछ । र, घुम्न जान पाए हुन्थ्यो भन्ने कुनै ठाउँ पनि छैन ।

Chitra bahadur KC (2)-001 (2)६ मेरो फुर्सद
फुर्सद खासै हुँदैन । राजनीतिक व्यस्तताबीच साताको कुनै दिन वा हप्ता फुर्सद छुट्याएको भन्ने नै याद छैन ।
प्रायः बिहानको समय फुर्सद हुन्छ । यही समयमा पत्रपत्रिका पढ्ने र साथीभाइसँग भेटघाट गरेको हुन्छु । अहिलेसम्म थाकेर केही दिन आराम गरेको भन्ने नै छैन ।

घर–परिवारका लागि पनि विशेष समय दिने गरेको छैन । बिरामी भए अस्पताल पुर्याइदिन्छु । त्यत्ति नै हो । यसभन्दा अरू समय परिवारका लागि छुट्याउनै पाएको छैन । श्रीमती र सन्तानसाथ घुम्न, रेस्टुरेन्टमा खान वा चलचित्र हेर्न जान्न ।

७ मेरो खेलकुद
मलाई सबैभन्दा मनपर्ने खेल भलिबल हो । सबैभन्दा मन नपर्ने खेलचाहिँ छैन ।
स्कुलमा छँदा भलिबल खेल्थें । पछि शिक्षक भएपछि पनि खेलें । अरू शिक्षक साथीलाई भेला पारेर भलिबल खेलिन्थ्यो । पछि राजनीतिमा लागेपछि भने खेल्न पनि छोडियो ।

८ मेरो मोबाइल
मेरो साथमा अहिले नेकिया कम्पनीको एउटा मोबाइल सेट छ । मोबाइल फेरि फेरि बोक्ने बानी छैन । यसमा भएका एप्लिकेसन्स चलाउन पनि आउँदैन ।
फेसबुक, ट्वीटर र अन्य इन्टरनेटका काम पनि मोबाइलमा गर्दिनँ । मोबाइलमा गेम पनि खेल्दिनँ ।

९ मेरो टेलिभिजन
घरमा एउटा टीभी छ । समय अनुकूलअनुसार टीभीमा समाचार र अन्य राजनीतिक घटनाक्रम हेर्छु । सिरियल त कहिल्यै हेर्दिनँ ।
साँझ सात बजेतिर र बिहान पनि त्यस्तै सात बजेतिर प्रायः टीभी हेर्ने गर्छु । घरमा भएको टीभी कुन ब्रान्डको हो भन्ने पनि थाहा छैन मलाई । र, यसको साइजको पनि याद छैन ।
टेलिभिजनमा आउने प्रस्तोता वा टीभी कलाकारविशेष भन्दा पनि त्यहाँ प्रसारण हुने विषयलाई प्रमुख मानेर हेर्छु ।

१० मेरो चलचित्र
म चलचित्र हेर्दिनँ भन्दा पनि हुन्छ । पछिल्लोपटक कहिले, कहाँ गएर कुन चलचित्र हेरें भन्ने पनि याद छैन ।
युवावस्थामा कहीं, कतै हेरियो होला । त्यो पनि कुनै सम्झना छैन मलाई । न कुनै चलचित्रको सम्झना छ न कुनै कलाकार नै ।



Chitra bahadur KC (1) (1)
११ मेरो रोग
मेरो शरीरमा पत्थरीको समस्या छ । हिजोमात्रै एमआरआई गराएँ ।
उच्च रक्तचापका कारण दुई वर्षदेखि औषधि सेवन गरिरहेको छु । नियमित चेकअप गर्छु । अहिलेचाहिँ कन्ट्रोलमै छ ।
यस्तो समस्या हुनुका कारणचाहिँ उमेर नै होला । खानपानका कारण भनौं भने पनि म साधारण खानपान गर्छु । शाकाहारी हो म । उमेर अवस्थाले गर्दा यस्तो समस्या आएकोजस्तो लाग्छ ।

१२ मेरो भाषण शैली
मेरो भाषण शैली कस्तो छ भन्ने म आफैंले थाहा पाउने कुरा भएन । यो त तपाईंहरूले थाहा पाउने कुरा हो ।
भाषण गर्दा कुनै थेगो पनि कहिलेकाहीं आइहाल्छ । आफ्नो कुरालाई जस्टिफिकेसन गर्नुपर्यो भने स्वाभाविक रूपमा यस्तो थेगो आउँदोरहेछ । ‘चाहिँ’ भन्ने शब्द दोहोरिन्छ । यो भन्छु भनेर हैन आफैं आइहाल्छ ।

परिस्थितिअनुसार मेरो कहिले आक्रामक हुन्छ र कहिले बौद्धिक पनि होला । साथै भाषणकै कारण म विवादमा पनि परिरहन्छु । संघीयताको विषयमा धेरैपटक मेरो भाषण विवादमा परेको छ ।
भाषण गर्नुअघि कुनै तयारी भने गर्दिनँ । स्वाभाविक आदतजस्तो छ, त्यसैअनुसार बोल्छु । बोलिसकेपछि राम्रो भयो कि नराम्रो भयो भन्नेचाहिँ महसुस हुन्छ मलाई ।

१३ मेरो मापसे
जीवनभरि अहिलेसम्म मादक पदार्थ पिएको गरेको छैन ।

१४ मेरो संगीत
संगीत सुन्न रुचाउँछु म । यस्तै किसिमका संगीत भन्ने छैन । तर, सामान्यतया संगीत सुन्दा आनन्द आउँछ । मनपर्ने गायक वा गायिकाविशेष भने कोही छैनन् ।
बैंसमा त गीत गाइन्थ्यो । तर, अचेल गाउँदिनँ । गाउन पनि आउँदैन । गीत गुनगुनाउने बानी पनि छैन । मान्छे ट्वाइलेटमा बसेर गाउने भन्छन् कोही । कोही एक्लै गुनगुनाइरहन्छन् । म त्यस्तो गर्दिनँ ।

१५ मेरो भूल
जिन्दगीमा गरेको कुनै भूल याद छैन । भूल गरेबापत पाएको कुनै सजाय पनि छैन होला सायद ।
सानैमा स्कुल पढ्दा गल्ती गरेर शिक्षकको कुटाइ खाइयो कि त्यो सम्झना छैन । तर, भुल नगरेर पनि मलाई सजाय दिन खोजिएको थियो । त्रि–चन्द्र कलेज पढ्दाको एउटा सम्झना छ । सजाय नै पाइहालेको त होइन । तर, मलाई सजाय दिन कोसिस गरिएको थियो । एउटी सोझी साथी थिइन् । गुरुले सधैं हतारमा हाजिर गर्नुहुन्थ्यो । ती साथी अगाडि बस्थिन् तर बोल्न सक्दिनथिन् । त्यसरी सधैं गयल भएपछि मैले उनको समस्या सरलाई भन्दा मलाई सजाय रेस्टिकेट नै गर्न खोजिएको थियो । अन्ततः मेरै कुराको सदर भयो । र, मलाई रेस्टिकेट गर्न खोज्ने शिक्षक आफैं लज्जित हुनुपर्यो ।
यति लामो राजनीतिक यात्राक्रममा हाम्रो पार्टीभित्र आत्मालोचना त गरियो होला । यस्तो गर्नु स्वाभाविक पनि हो । तर, उल्लेखनीय छैन ।

Chitra bahadur KC (2) (2)१६ मेरो घर
राजनीति प्रवेश गर्नुभन्दा अघि नै मास्टरी गरेर गाउँमै सानो घर बनाएको थिएँ । गाउँले शैलीको थियो त्यो घर । घर बनाउँदा कति लाग्यो भन्ने पनि ठ्याक्कै याद छैन ।

१७ राशि
मेरो राशि मीन हो । ग्रहदशा कस्तो छ भनेर सोध्न ज्योतिषीकहाँ कहिल्यै जान्न । ग्रह शान्ति पनि गराउँदिनँ ।
शरीरको कुनै अंगमा मणि, माणिक्य, औंठीजस्ता गहना पनि लगाउँदिनँ । र ग्रह–नक्षत्रको फलप्रति विश्वास पनि छैन ।

१८ मेरो सौन्दर्य चेत
राम्रो देखिनका लागि कपालमा तेल, जेल वा कालो वा पहे्रंलो मेहेन्दी केही लगाउँदिनँ । युवावस्थामा तेलसेल लगाइयो होला । फेसियल गर्ने, अनुहारमा क्रिम लगाउने, सेन्ट छर्कने कुनै पनि बानी छैन ।

१९ मेरो सपना
देशको समृद्धिका लागि अहिलेसम्म संघर्ष गरियो । सबैले खान पाऊन्, लगाउन पाऊन् । देश स्वतन्त्र भइरहोस् । कसैको हस्तक्षेप नहोस् । यही समृद्धिका लागि लड्दालड्दै जीवन गयो । यस्तै समृद्धिको सपना छ । तर, मलाई कहिल्यै मन्त्री, प्रधानमन्त्री बनौंला भन्ने लोभ पलाएन ।
म जन्मे हुर्केको गाउँमा शिक्षा, स्वास्थ्य सुविधाबाट कोही वञ्चित हुन नपरोस् भन्ने चाहना छ । शिक्षा, स्वास्थ्य सुविधासम्पन्न बनाउने सके हुन्थ्यो । तर, सबै पूरा भएको छैन । कोसिस गरिरहेको छु ।

२० मेरो प्रेम
बैंसको बेला जान–अन्जान परियो कि । तर, अहिले सम्झना छैन ।

२१ मेरो मृत्यु
मृत्यु एउटा स्वाभाविक प्रक्रियामात्रै हो । यसको विषयमा कहिल्यै सोच्दिनँ ।

प्रस्तुति : रमन पौडेल 

तस्वीर : अशोक दुलाल

यो पढनु छुट्टाउनु भयो कि ? 

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य 

 

मेरो जिन्दगी कोलम, समाजका विभिन्न क्षेत्रका चर्चित व्यक्तिका निजी जीवनका विविध रंग पाठकसमक्ष लैजाने डिस्कबरी न्युज नेटवर्क डीएनएनको प्रयास हो । यही प्रयासअनुसार हामीले हरेक आइतवार ‘मेरो जिन्दगी’ कोलम सुरु गरेका हौं । हामी हरेक आइतवार नयाँ–नयाँ अनुहारका जीवनका नयाँ–नयाँ रंग खोज्नेछौं ।

 

 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल