साहित्यवारे प्रधानमन्त्रीको धारणा : हामी विद्वान पुर्खाका सन्तान हौैं

–  |   केपी ओली, प्रधानमन्त्री

साहित्यवारे प्रधानमन्त्रीको धारणा : हामी विद्वान पुर्खाका सन्तान हौैं

सामान्यतः कुनै पनि सिर्जना विचार र उद्देश्यबाट निर्देशित हुने गरेको छ । यसै सन्दर्भमा ००७ सालको आन्दोलन, त्यस आन्दोलनले उब्जाएका विचार वा आन्दोलनका क्रममा खेलिएका भूमिका, त्यस आन्दोलनलाई प्रभावित गर्ने विचार, त्यस आन्दोलनलाई प्रभावित गर्ने त्यस अगाडिका साहित्य सिर्जना र तिनले पारेको प्रभावको जगमा यस संस्थाको सुरुवात भएको हामी सबैले बुझेका छौं ।

सात सालको आन्दोलन र त्यस आन्दोलनको रचनाको निम्ति नेपालमा कला साहित्यको क्षेत्रबाट जुन प्रकारका काम भए, ती आसाधारण थियो । तिनको असाधारण भूमिका थियो र त्यसलाई हराउन नदिन, तिनीहरूको सान्दर्भिकता समाप्त हुन नदिन, तिनको सान्दर्भिकतालाई सुसंगठित ढंगले लानका निम्ति नै यस संस्थाको स्थापना भयो । त्यसपछि छ दशकभन्दा लामो समयसम्म यस संस्थाले विभिन्न समयमा उतारचढावका बीचमा जुन काम गर्यो, त्यो सह्रानीय र प्रशंसनीय छ ।

आज यो संस्था जहाँ आइपुगेको छ, त्यहाँ धेरैको योगदान छ । केही लेखकीय ढाँचामा नपुगेका साहित्यकारको पनि योगदान छ । गाउँ–समाजलाई प्रभावित गर्ने, अलिखित, तत्काल सिर्जना गरिने, समाजसँग सोझै सरोकार भएका साहित्य हाम्रो समाजमा चल्दै आए । तिनीहरू पनि यसभित्र समेटिएको छन् । त्यसका महत्वपूर्ण बुँदा टिप्ने पनि गरिएको छ लेखकीय क्षेत्रभित्र भन्ने मलाई लाग्छ । घाँस काट्दा–काट्दै साहित्यको सिर्जना हुन्छ । दाउरा खोज्दा–खोज्दै साहित्यको सिर्जना हुन्छ । लेख्न पाएको हुँदैन, हँसियाले लेख्न भएन, कलम त्यहाँ हुँदैन । गाइदिन्छन्, त्यहीँ एउटा गीतको रचना हुन्छ । त्यही कुरालाई लेखक साहित्यकारले संकलन गरेर, टिपेर, एउटा बुँदालाई लिएर एउटा पुस्तक बनाइदिएको हुन्छ ।

हाम्रो देश अनेक हिसाबले असाधारण छ । मैले भन्ने गरेको पनि छु, हामी विद्वान पुर्खाकासन्तान हौैं भनेर गर्व गर्न सक्छौं । हाम्रा पुर्खाले बाँकी दुनियाँ अन्धकारमा हुँदा यहाँ असाधारण विकास गरेका हुन् । त्यसैकारण यस भूमिलाई तपोभूमि भनिन्थ्यो । ज्ञानभूमि भनिन्थ्यो । पूण्यभूमि भनिन्थ्यो । तर साधारणतया जे भूमि भनिन्थ्यो, अहिले हामीहरूमा ती पक्ष अलि कमी भएका हुन सक्छन् । तपोभूमि होइन कि जस्तो पारेर हामीले धूलो उडाएका हुन सक्छौं । अलिकति माडमुड गरेका हुनसक्छौं । परिवेश यस्तो छ । जसले तपोभूमिजस्तो लाग्दैन, ज्ञानभूमिजस्तो लाग्दैन । कहिले हाम्रा अभिव्यक्तिहरूबाट ज्ञानभूमिजस्ता नभएर पाखुराहरूको भूमि हो कि जस्तो लाग्छ । पाखुरा पनि आवश्यक चिज हो । तर विनाज्ञानको, विनाबुद्धिको, विनाउद्देश्यको पाखुरामात्रै भयो भने विध्वंशक हुन्छ । त्यो नोक्सानदायी हुन्छ ।lekhak

घाँस काट्दा–काट्दै साहित्यको सिर्जना हुन्छ । दाउरा खोज्दा–खोज्दै साहित्यको सिर्जना हुन्छ । लेख्न पाएको हुँदैन, हँसियाले लेख्न भएन, कलम त्यहाँ हुँदैन । गाइदिन्छन्, त्यहीँ एउटा गीतको रचना हुन्छ । त्यही कुरालाई लेखक साहित्यकारले संकलन गरेर, टिपेर, एउटा बुँदालाई लिएर एउटा पुस्तक बनाइदिएको हुन्छ ।

यस भूमिलाई चाहे कृषिको क्षेत्रमा होस्, चाहे अनेक प्रकारका अनुसन्धान, अन्वेषण, प्रयोग, परीक्षण र तिनका निष्कर्षमा होस्, चाहे ज्ञानका अनेक पक्षहरू होउन्, चाहे खगोलशाश्त्र, अन्तरिक्षविज्ञान आदिको सन्दर्भमा होस्, अथवा आयुर्वेद औषधी विज्ञानको सम्बन्धमा होस्, हाम्रो पुर्खाले असाधारण खोज, अन्वेषण र विष्लेषण गरेका थिए । त्यसैगरी साहित्यिक क्षेत्रमा, लेखकीय क्षेत्रमा पनि कलम नबन्दै कागज नबन्दै बाँसका खबडा वा भोजपत्रमा लेखेर विद्वत् र चिन्तक प्रवृत्तिको उजागर गरेका थिए । लिपी नै बनेको थिएन, तर पनि हजारौं बर्षदेखि श्रुतीपरम्परामार्फत ज्ञानको प्रसार गरेका थिए । त्यसरी अगाडि बढाउन सक्नुका पछाडि केही असाध्यै महत्वपूर्ण कुरा छन् । जसलाई हामीले अहिले अलिकति छोडेका छौंजस्तो लाग्छ मलाई । किन वेदहरू त्यसरी सुनेरै स्मृतिमा रहे र दोहोर्याउन सकियो भन्दा त्यसमा लयात्मकता र काव्यात्मकता थियो । कसैले एउटा कुरा भन्यो भने सम्झना हुँदैन । अहिले मैले भनेको कुरा तपाईंहरूले घरमा गएपछि सम्झनुहुन्न । तर एउटा गीत गायो भने लाइन ट्याक्कै सम्झनुहुन्छ । वेदमा त्यही थियो– लयबद्धता । संस्कृतमा त्यही थियो– लयबद्धता । दृष्टान्त, उपमा, विम्ब आदिको प्रयोगसाथ त्यसलाई रुचिकर बनाइएको थियो । अहिले त विम्बको प्रयोग गर्यो भने उखानटुक्का भइहाल्छ । अहिले त विम्ब भनेको के हो भन्ने थाहै छैन, दुईचार जनाले बुझेर त भएन नि ! विम्ब के हो, उपमा के हो, दृष्टान्त के हो, उपमेय वस्तुहरू के हुन् जस्ता कुरामा तपाईंहरूले बलै गर्नुपर्छ जस्तो लाग्छ मलाई ।

हामी अलि सजिलो–सजिलो खोज्न थाल्यौं । हुन त मेरो ४५ बर्षभन्दा लामो समयदेखिका साथी नरेश शाक्यजी यहाँ हुनुहुन्छ, गंगा उप्रेतीजी हुनुहुन्छ । त्यसबेलादेखि पनि नरेश शाक्य मुक्तक लेख्नुहुन्थ्यो, मलाई मुक्तक मीठो लाग्थ्यो । तर एउटा कुरामा उहाँ आफू पनि बेला–बेला कुरा गर्नुहुन्छ । कहाँ महाभारतजस्ता महान् ग्रन्थहरूको रचनाकारको सन्तान अब हामी हाइकूमा पुगिसक्यौं । दिक्क लाग्छ ।
हिँड्दाहिँड्दै ठेस लाग्यो
पुक्लुक्क लडेँ
लड्दा मजा आउँदोरहेछ
अलिकति दुख्यो
तैपनि मजा आयो
यस्तो खालको ।
मैले हाइकूलाई अपमान गरेको होइन है फेरि, म असाध्यै मन पराउँछु, नत्र किन भन्थेँ ? मलाई त छन्दमा लेख्न मन पर्छ, तर जाने पो ? वास्तवमा हामी अलि सजिलो बाटो खोजिरहेका छौं । सोझो बाटो खोजिरहेका छौं । अधिव्यक्ति छोटो बाटोबाट गर्न सकिएला, तर चिन्तन र साधनाबमे ‘सर्टकट’ हुँदैन ।

कसैले एउटा कुरा भन्यो भने सम्झना हुँदैन । अहिले मैले भनेको कुरा तपाईंहरूले घरमा गएपछि सम्झनुहुन्न । तर एउटा गीत गायो भने लाइन ट्याक्कै सम्झनुहुन्छ । वेदमा त्यही थियो– लयबद्धता । संस्कृतमा त्यही थियो– लयबद्धता । दृष्टान्त, उपमा, विम्ब आदिको प्रयोगसाथ त्यसलाई रुचिकर बनाइएको थियो । अहिले त विम्बको प्रयोग गर्यो भने उखानटुक्का भइहाल्छ ।

म राजनीति गर्ने मान्छेले साहित्यबारे यहाँ धेरै भनिरहनु पनि छैन । तर हाम्रा पुर्खाहरूको जुन योगदान छ, उहाँहरूले जुन उचाइमा पुर्याउनुभएको थियो । त्यसमा हामीले गर्व गर्नुपर्छ । साहित्यमा नवरस हाम्रा पुर्खाले सुरु गरे । नवरसबाट कसैले दशौंमा पुर्याओस् त दुनियाँमा ! हुँदैन । कता–कता घुम्छ, घुम्छ, फर्किन्छ, फेरि आएर त्यहीँ थामिन्छ । संगीतमा सप्त स्वर हाम्रा पुर्खाले बनाए । अष्टम् स्वर बनाओस् त कसैले ! जता लगेपनि त्यहीँभित्र पर्छ । किनभने हाम्रा पुर्खाले यत्तिकै बनाएका थिएनन् त्यो । हजारौं वर्ष लगाएर असाधारण आविस्कार गरेका थिए । तिनै आविस्कारको जगमा आजको आधुनिक शिक्षा, आधुनिक साहित्य, आधुनिकता, उत्तरआधुनिकता जे जे भने विकास भएका हुन् । त्यही श्रुतीपरम्परा, त्यही बाँसका कलम, तिनै भोजपत्रकै जगमा यो उठेको हो । हाम्रो समाजको परिवर्तन पनि त्यसैगरी साहित्यको कलाको विकाससँग सम्बन्धित भएर आएको छ । आज हामीले ती कुरालाई कायम राख्नुपर्नेछ र अगाडि बढाउनुपर्नेछ । यसबीचमा हाम्रा चिन्तक, लेखक, साहित्यकार, कलाकारहरूको भूमिका असाधारण रहेको छ, योगदान असाधारण रहेको छ । अबको परिवर्तित सन्दर्भमा झन् असाधारण भएर आओस् भन्ने मेरो आग्रह हो ।

kp oliप्रायः समाजलाई नेतृत्व गरेका नेताहरू समाज परिवर्तनको एक चरणपछि असान्दर्भिक हुन्छन् । किनकि तिनीहरूले अघिल्लो समयमा त काम गरेका हुन्छन्, तर अर्को समयको परिवर्तित परिस्थितिमा जाँदा अघिल्लो मानसिकताबाट यति धेरै ग्रस्त हुन्छन् कि नयाँ परिवेशलाई समाउन सक्दैनन् । जसले गर्दा नयाँ परिवेशलाई नेतृत्व दिन सक्दैनन् । तर साहित्यकार गतिशील हुन्छन् । नेताहरूभन्दा अलिक बढी दूरदृष्टि साहित्यकारमा हुन्छ । साहित्यकारहरू सिर्जना र चिन्तनमा व्यस्त भए पनि अरू काममा राजनीतिक नेताहरू जति व्यस्त हुँदैनन् । त्यसैले गर्दा सोच्ने र विचार गर्ने पनि समय हुन्छ । जसले छन्दहरू निर्माण गरे, लडाइँको मैदानमा निर्माण गरेको होइन । चिन्तन र सिर्जनाको सन्दर्भमा छन्द निर्माण भो । लडाइँमा सिर्जना बेग्लै प्रकारको हुन्छ, कसरी लड्ने भन्ने कुराको विकास हुन्छ ।

प्रायः समाजलाई नेतृत्व गरेका नेताहरू समाज परिवर्तनको एक चरणपछि असान्दर्भिक हुन्छन् । किनकि तिनीहरूले अघिल्लो समयमा त काम गरेका हुन्छन्, तर अर्को समयको परिवर्तित परिस्थितिमा जाँदा अघिल्लो मानसिकताबाट यति धेरै ग्रस्त हुन्छन् कि नयाँ परिवेशलाई समाउन सक्दैनन् । जसले गर्दा नयाँ परिवेशलाई नेतृत्व दिन सक्दैनन् । तर साहित्यकार गतिशील हुन्छन् । नेताहरूभन्दा अलिक बढी दूरदृष्टि साहित्यकारमा हुन्छ ।

परिवर्तित सन्दर्भमा हाम्रो साहित्य अबका निम्ति मार्गदर्शक हुनुपर्छ । हाम्रो साहित्य अबको आवश्यकताको निम्ति हुनुपर्दछ । हाम्रो साहित्य अबको विज्ञान प्रविधि, विकासका आवश्यकता, तीसँग सम्बन्धित हुनुपर्छ । अब हिजोको जस्तो साहित्यले मात्रै हुँदैन । हिजो हामी असन्तुष्ट समाजभित्र थियौं । जनता दमित थिए, असन्तुष्ट हुनु स्वाभाविक थियो । अब जनता दमित होइन, अधिकारप्राप्त छन् । त्यसैले आफ्नो अधिकार प्रयोग गरेर समुचित व्यवस्थामा समुचित स्तर हासिल गर्न लाग्नुपर्छ । त्यसकारण अहिले परिस्थिति भिन्न भएको छ । यस भिन्नतलाई प्रगतिशील लेखक संघले बुझेको छँदैछ । तैपनि मैले यसलाई स्मरण गराएको मात्रै हो ।

तपाईंहरूका आगामी योजनाहरू मैले पढें, बहुत राम्रा छन् । ती योजना कार्यान्वायनका सन्दर्भमासरकारका तर्फबाट म भन्न चाहन्छु– अहिलेको सरकार समाजलाई निर्देशित गर्न साहित्य, कला र चिन्तनको महत्वलाई बुझ्छ । त्यसकारण म भन्न चाहन्छु कि तपाईंहरूको प्रयासमा सरकार साथ हुन्छ । चाहे रुसी क्रान्ति वा अरू क्रान्तिको कुरा गरौं । त्यहाँ भएका परिवर्तनको कुरा गरौं । त्यसमा लेखकहरूको ठूलो महत्व थियो । आफ्नै स्थलमा पनि चाहे नेपालको एकीकरणमा होस्, चाहे पछिल्लो १८१५ को लडाइँमा राष्ट्र बचाउने सन्दर्भमा होस्, वा पछिल्ला सन्दर्भमा, आजको झैं व्यवस्थित हुन नसकेको भए पनि साहित्य, कला, संगीतले ठूलो काम गरेको थियो । साहित्य र लेखनको माध्यमबाट राष्ट्रको एकीकरण, भाषाको समृद्धि आदि पक्षमा असाधारण योगदान भएको छ । यस विषयमा लामो चर्चा गरिरहन चाहन्नँ । त्यसैले मेरो आग्रह छ, यहाँहरूले समयानुकूल ढंगले अघि बढ्ने कुरामा आफूलाई तयार राख्नुहुनेछ, समाजलाई अगाडि बढाउन उत्प्रेरकको भूमिका खेल्दै वैचारिक हिसाबले, साहित्यिक हिसाबले योगदान पुर्याउनुहुनेछ र यो सम्मेलन भव्यताका साथ सम्पन्न हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु र शुभकामना पनि दिन चाहन्छु ।

(प्रगतिशील लेखक संघको दशौं राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रधानमन्त्री ओलीले व्यक्त गरेको मन्तव्यको सम्पादित अंश)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल