म पनि प्रगतिशील भएँ !

–  |   खगेन्द्र संग्रौला, लेखक

म पनि प्रगतिशील भएँ !

khagendra-sangraulaमित्र मित्रलाल पंज्ञानी अन्तर्यामी हुनुहुन्छ । उहाँलाई र सायद उहाँहरूलाई लाग्यो– खगेन्द्र संग्रौला सम्मान लिन आउला ?

यसमा मित्रलालले कल्पना गर्नुभएजस्तै मेरो पनि दुविधाहरू थिए । तैपनि म तपाईंहरूको बीचमा आएको छु । प्रगतिशील लेखक संघ मेरो पनि मातृसंस्था हो । श्यामप्रसादजीको नेतृत्वमा यसको स्थापना भयो । श्यामजीले ‘लेखक कसरी बन्ने ?’ लेख्नुभो, ‘तँ, तिमी, तपाईं, हजूर’ लेख्नुभो, लेखक संघको शिलान्यास गर्नुभो र हाम्रो लागि उभिने चौतारी बनाउनुभो । यो चौतारी मेरो लागि अत्यन्तै प्रिय छ । जीवनको यात्रामा तपाईंलाई अगाडि डोर्याउने विचारहरू हुन्छन्, व्यक्तिहरू पनि हुन्छन् । तिनका प्रति हामीमा कृतज्ञता हुनुपर्छ भन्ने मलाई लाग्छ ।

सम्मान गर्न मलाई निम्ता गरियो । मैले आफैंलाई सोधेँ– प्रगतिशील लेखक संघले मलाई सम्मान गर्नका निम्ति मेरो प्रगतिशीलताको आधिकारिकता के छ ? म आफूलाई लेखक ठान्छु, म लेखक हुँ भन्ने कुरामा मलाई र धेरैलाई दुविधा छैन । तर म कस्तो लेखक ? म प्रगतिशील लेखक हो कि बुर्जुवा हो ? म क्रान्तिकारी हो कि प्रतिक्रियावादी हो ? म निष्ठावान् हो कि विचलनवादी हो ? मलाई थाहा छैन । त्यसको निरूपण कल्ले गर्छ, मलाई त्यो पनि थाहा छैन । हामीकहाँ प्रगतिशील लेखक बन्न सजिलो छ । तपाईं कम्युनिष्ट पार्टीको सदस्य बन्नुस्, तपाईंलाई प्रगतिशीलताको स्वतः आधिकारिकता प्राप्त भयो । तपाईंको चिन्तन वा सिर्जना प्रगतिशील हुनुपर्छ भन्ने केही छैन । तपाईं प्रगतिशील लेखक संघको सदस्य बन्नुस्, प्रगतिशीलताको प्रमाणपत्र तपाईंलाई स्वतः प्राप्त भयो । मसँग प्रगतिशीलताका आधिकारिक यी दुइटै प्रमाणपत्र छैनन् । तथापि प्रगतिशील लेखक संघ, जो मेरो मातृसंस्था हो, जुन चौतारीमा उभिँदै म यहाँसम्म आइपुगेको छु, मलाई निम्ता गरियो, सम्मान गरियो, प्रगतिशील लेखक संघप्रति म कृतज्ञ छु ।

हामीकहाँ प्रगतिशील लेखक बन्न सजिलो छ । तपाईं कम्युनिष्ट पार्टीको सदस्य बन्नुस्, तपाईंलाई प्रगतिशीलताको स्वतः आधिकारिकता प्राप्त भयो । तपाईंको चिन्तन वा सिर्जना प्रगतिशील हुनुपर्छ भन्ने केही छैन । तपाईं प्रगतिशील लेखक संघको सदस्य बन्नुस्, प्रगतिशीलताको प्रमाणपत्र तपाईंलाई स्वतः प्राप्त भयो ।

आउनुपर्छ भन्ने लागेपछि प्रगतिशील लेखक संघ कुन अवस्थामा छ ? त्यसको यति–गति के छ ? त्यसको लय के छ ? त्यसका चिन्तन र सिर्जनाहरू के छन् भन्ने कुरामा मलाई खुल्दुली भयो । संयोगले ‘प्रलेस–०७१’ मलाई प्राप्त भयो । मैले बडो प्रेमपूर्वक पहिलो शब्ददेखि अन्तिम शब्दसम्म पढेँ । त्यो पढेपछि प्रगतिशील लेखक संघको अवस्था, त्यसका चिन्तन प्रवृत्तिहरू, त्यसको स्थान, त्यसको दिशाबारेमा मलाई केही कुरा ज्ञान भो । तपाईं प्रगतिशील लेखक संघको सम्मेलनमा हुनुहुन्छ । सम्मेलनले नेतृत्व चयन गर्नेछ । आगामी कार्यकालको निम्ति कार्यक्रम, नीतिको पनि तय गर्नेछ । त्यसैले मैले ‘प्रलेस’ पढेपछि प्रलेस मलाई कस्तो लाग्यो, त्यसबारेमा मेरो केही टिप्पणी तपाईंहरूका अगाडि राख्छु ।

यो पढिसकेपछि मलाई सबैभन्दा पहिलो भएको अनुभूति के हो भने प्रगतिशील लेखक संघ बूढो भएछ । यो पढिसकेपछि इमानसाथ मैले भन्नुपर्छ । तपाईंहरूबाट सम्मानित भएको हुनाले मैले मेरो मनका कुरा लुकाउँदिनँ, लुकाउनु हुँदैन । मेरो कुरा तपाईंलाई मन पर्लान्, मन नपर्लान् । त्यो तपाईंको आफ्नो मामिला हो ।

मैले यो पढिसकेँ । मलाई लाग्यो– प्रगतिशील लेखक संघ बूढो भएछ । यसभित्र जे जति लेखकहरू छन्, त्यो वृद्ध प्रगतिशील लेखक संघको वृद्धाश्रमको कैदीजस्तो मलाई लाग्यो । त्यसमा मूख्यतः भानुभक्तमाथि विमर्श गरिएको छ । भानुभक्तमाथि ४९ पेजको विमर्श छ । समय धेरै अगाडि बढिसकेको छ । मेरो मनमा स्वभाविक प्रश्न किन उठ्यो भने अझै पनि प्रगतिशील लेखक संघ भानुभक्तको वरिपरि घुमिरहन किन अभिशप्त छ ? भानुभक्तमा के त्यस्तो चिज छ ? जबकि भानुभक्तको नाम हामीले जपिरहनुपर्छ, कार्यपत्र लेखिरहनुपर्छ, टिप्पणी गरिरहनुपर्छ, समयको अपव्यय गर्नुपर्छ र पानाहरू भर्नुपर्छ ।
भानुभक्तबारे पर्याप्त लेखिएको छ । रामकृष्ण शर्मा, इतिहासकार नेपाल, गोविन्द भट्ट, मोदनाथ प्रश्रित, निनु चापागाईं । भानुभक्तमाथिका यतिजनाका मिमांशाहरू, विमर्श पढेपछि भानुभक्तबारे थप पढ्नुपर्दैन । ती विवेचनामध्ये कुन ग्रहण गर्ने भन्ने लेखकको आ–आफ्नो कुरा हो । कुण्ड–कुण्ड पानी, मुण्ड–मुण्ड बुद्धि भनिन्छ । तैपनि प्रगतिशील लेखक संघलाई भानुभक्तै चाहियो । किन चाहिएको होला ? व्यक्तिकेन्द्रीत विमर्श नै गर्ने हो भने पारिजातमाथि गर्न सकिँदो हो, गोविन्द भट्टमाथि गर्न सकिँदो हो, प्रगतिवादले जीवित व्यक्तिमाथि विमर्श गर्न अनुमति दिन्छ भने निनु चापागाईंमाथि गर्न सकिँदो हो । निनु चापागाईंको सौन्दर्यचिन्तनमाथि गरिएको भए त्यो बृहत् वृत्तमा भानुभक्त पनि पर्दा हुन्, विमल निभा पनि पर्दा हुन् ।

प्रगतिशील लेखक संघलाई भानुभक्तै चाहियो । किन चाहिएको होला ? व्यक्तिकेन्द्रीत विमर्श नै गर्ने हो भने पारिजातमाथि गर्न सकिँदो हो, गोविन्द भट्टमाथि गर्न सकिँदो हो, प्रगतिवादले जीवित व्यक्तिमाथि विमर्श गर्न अनुमति दिन्छ भने निनु चापागाईंमाथि गर्न सकिँदो हो । निनु चापागाईंको सौन्दर्यचिन्तनमाथि गरिएको भए त्यो बृहत् वृत्तमा भानुभक्त पनि पर्दा हुन्, विमल निभा पनि पर्दा हुन् ।

प्रत्युष वन्तको थेसिसमा नेपालको वीरगाथा, भक्तिगाथाको जुन गम्भीर विवेचना छ, त्यसलाई नेपालीमा अनुवाद गर्ने हो भने भानुभक्त पर्याप्त बुझिन्छ । त्यसैले भानुभक्तको चयन प्रगतिशील लेखक संघको अतीतमुखी मोह, एक किसिमको नोस्टाल्जिया हो किजस्तो मलाई लाग्यो । र, मलाई के लाग्यो भने समाज त धेरै अगाडि बढिसकेको छ । नेपाली समाजमा यति धेरै अन्तरविरोधहरू छन्, यति धेरै समस्याहरू छन् । लेख्नका लागि, सोच्नका लागि यति धेरै सामग्रीहरू छन् । त्यो सबै हुँदा–हुँदै पनि इतिहासको गुफामा हामीले किन गइरहनुपर्छ होला ? मेरो पहिलो प्रश्न ।

दोस्रो, यो ‘प्रलेस’ भन्ने पत्रिकामा केही शास्त्रीय कुराहरू छन्, केही अर्ती उपदेशका कुराहरू छन् । कविताका लक्षणहरू, आख्यानका लक्षणहरू, माक्र्सवादी सौन्दर्यचिन्तनका मानकहरू, सन्दर्भहरूबारेमा धेरै लेखहरू छन् । ती धेरै लेख प्रोफेसरहरूबाट लेखिएका छन्, डाक्टरहरूबाट लेखिएका छन् । त्यो सबै पढेपछि मलाई के लाग्यो भने क्याम्पसमा पढाउने मास्टरसँग ‘नोट’ त यसै पनि हुन्छ । कक्षामा विद्यार्थीलार्ई पढाएका ‘नोट’हरूबाट टाक्क–टुक्क केही कुरा लेखिएको छ । माक्र्सवादी दर्शनबारेमा, माक्र्सवादी सौन्दर्यशाश्त्रबारेमा हिन्दीमा पर्याप्त पुस्तकहरू छन् । हामीमध्ये धेरै ती पुस्तक पढ्न सक्छौं । कुनै अत्यन्त प्रासंगिक छ भने हामी त्यसलाई अनुवाद पनि गर्न सक्छौं । यहाँ लेखिएका चिजहरू एक किसिमको ‘प्याराफेजिङ’जस्ता लाग्छन्, भाषाटीकाजस्ता छन्, ती कुनै गम्भीर छैनन् । प्रासंगिक पनि छैनन् । त्यसले तपाईंलाई कुनै उद्दीपन, कुनै प्रकाश केही पनि दिँदैनन् । ती पढ्दा के लाग्छ भने यथार्थका तीव्रतम् प्रक्रियाबाट विमुख भएका मान्छेहरू, थकित भएका मान्छेहरू, एक्ला मानिसहरूले ती लेखेकोजस्तो लाग्छ । म मास्टर थिएँ, मलाई आफ्नो कक्षामा पढाएको याद आयो ।

अर्को, ती रचनाहरू पढिरहँदा मलाई के अनुभव भो भने एकजना विवेचक छ, मन्तव्यदाता छ, ऊ फूलबारीको अगाडि उभिएको छ । फूलबारी बाँझो छ । जोतिएको छैन । बाँझो फूलबारीको डिलमा उभिएर उसले विमर्श गर्छ, उसले मन्तव्य दिन्छ, विरुवा कसरी रोप्ने, पानी कसरी हाल्ने, फूल कसरी फुलाउने ? यो बगैंचालाई हराभरा सुन्दर कसरी बनाउने भन्ने कुरा जीवनको डिलमा उभिएर उसले मन्तव्य दिन्छ । त्यो बाँझो फोर्न उसले केही पनि गर्दैन । बाँझो फोर्ने प्रयत्न पनि गर्दैन । उसले फूल पनि रोप्दैन, पानी पनि हाल्दैन । मन्तव्यमात्रै दिइरहन्छ ।
कार्ल माक्र्सले भनेका थिए– दार्शनिकहरूले जगत्को विवेचनामात्रै गरिरहे, अबको काम त संसार फेर्ने हो ।तर त्यहाँ समेटिएका रचना सबै सिर्जना–चिन्तनबाट विमुख एक्लो मानिसहरूको आत्मविमर्र्श जस्तो लाग्छ ।

मलाई के लाग्छ भने लेख्ने भनेको आफूसँग सहमत भएकाहरूलाई सम्बोधन गर्न लेख्ने होइन । प्रगतिशील र प्रतिक्रियावादीहरूको बीचमा एउटा ठूलो जमात हुन्छ । चुनावको बेला त्यसले कसैलाई भोट त हाल्छ, तर बाँकी समयमा राजनीतिदेखि, दर्शनदेखि एककिसिमले त्यो विमुख, अलक्कै हुन्छ । त्यो न्युट्रल मासजस्तो हुन्छ । सम्बोधन गर्ने भनेको त्यसलाई हो । जो मसँग यसै पनि सहमत छ, त्यसलाई मैले सम्बोधन गर्नुपर्दैन । सम्बोधन त्यसलाई गर्नुपर्छ, जो मसँग असहमत छ, जो प्रतिक्रियावादी होइन ।

त्यसपछि मैले भाषाबारे विचार गरेँ । आजको बजारमा पढ्नका निम्ति विविध किसिमका सामग्रीहरू उपलब्ध छन् । विविध किसिमका शैलीहरू, विविध किसिमका प्रस्तुतिहरू छन् । तपाईंले लेख्नका निम्ति कुनै विषय चयन गरेपछि आफ्नो दृष्टिकोणका आधारमा त्यो विषयमा केही परिकल्पनाको निर्माण गरेपछि तपाईंले लेख्ने चिज कस्तो हुन्छ भन्ने कुरा तपाईंको भाषाशैलीले निर्धारण गर्छ । त्यो सबै पढिरहँदा कस्तो लाग्छ भने भाषाशैलीबारेमा यसमा परेका प्रायशः लेखकहरूलाई कुनै चिन्ता नै छैन । तपाईंको भाषा राम्रो भएन भने, प्रस्तुति राम्रो भएन भने, त्यसमा चुम्बकीय आकर्षण भएन भने शब्दले शब्दतिर, वाक्यले वाक्यतिर डोर्याएन भने, अनुच्छेदले अनुच्छेदतिर डोर्याएन भने अनिकालको अन्न खाएर कसैले पनि तपाईंको चिज पढ्दैन । प्रगतिशीलतामा शैलीको कुरा हुँदैन ? तपाईंको भन्ने कुरा आकर्षक छैन भने म त्यो पढ्दिनँ । कसैले पनि पढ्दैन । एक समय थियो, जबकि पढ्नका निम्ति सामग्री अत्यन्त कम थिए । म इतिहासको त्यो कालखण्डमा हुर्किएँ, जुनबेला नेपालीमा पढ्नका निम्ति पर्याप्त सामग्री थिएन । मैले भण्डारमा उपलब्ध भएका सबै चिजहरू पढेँ । मैले हनुमान चालिसा पढेँ, सत्यनारायणको कथा पढेँ, भानुभक्तको रामायण पढेँ । ती सबै मैले किन पढेँ भने पढ्ने चिज धेरै थिएनन् । आज पढ्ने चिजको विविधता छ । बहुलता छ । त्यो बहुलताको प्रतिष्पर्धामा तपाईंले आफ्नो विचारलाई सुक्ष्म ढंगले मिहीन ढंगले प्रशोधन गर्नुभएन भने त्यसलाई सुन्दर बनाउनु भएन भने, त्यसलाई मनमोहक बनाउनुभएन भने मान्छेले पढ्दैन । प्रगतिशील लेखक संघले भाषा, शैली, प्रस्तुतिमाथि ध्यान दिनुपर्दैन ? के भाषा, शैली, प्रस्तुतिमा ध्यान दियो भने कार्ल माक्र्सले हामीलाई दण्डित गर्छन् ? कार्ल माक्र्सका ग्रन्थहरूमा दण्डव्यवस्था मैले कहीँ पनि पढेको छैन ।

अर्को अत्यन्त रोचक कुरा के छ भने यहाँभित्रका प्रगतिशील लेखकहरू आफ्ना वरिपरि एउटा गोलो वृत्तको लछुमन रेखा निर्माण गर्छन् । मैले पहिल्यै उल्लेख गरेँ, दुइटा सदस्यता भएपछि प्रगतिशीलताको प्रमाणपत्र त यसै पनि छँदै छ । र, तिनीहरू अख्तियारजस्ता लाग्छन् । वृत्तभन्दा बाहिर भएका मानिसहरूमाथि अहिलेको अख्तियारले जस्तै अनेक आरोप लगाउँछन् । फलानो संशोधनवादी, फलानो मिहीन संशोधनवादी, फलानो बर्जुवा, फलानो आत्मविज्ञापनवादी । बाहिरका धेरै मानिसहरूमाथि तिनका आफ्ना आरोप हुन्छन् । तर कम्युनिष्ट पार्टी जतिसुकै ठूलो होस्, समग्र समाजको जनसंख्यामा त्यो धेरै सानो हुन्छ । प्रगतिशील लेखक संघ धेरै ठूलो छ । लगभग तीन सय प्रतिनिधि यहाँ आउनुभएको छ । तर, कूल जनसंख्याको सापेक्षमा यो धेरै सानो संख्या छ । विशाल संसार कम्युनिष्ट पार्टीभन्दा बाहिर छ । विशाल संसार प्रगतिशील लेखक संघभन्दा बाहिर छ । मलाई के लाग्छ भने लेख्ने भनेको आफूसँग सहमत भएकाहरूलाई सम्बोधन गर्न लेख्ने होइन । प्रगतिशील र प्रतिक्रियावादीहरूको बीचमा एउटा ठूलो जमात हुन्छ । चुनावको बेला त्यसले कसैलाई भोट त हाल्छ, तर बाँकी समयमा राजनीतिदेखि, दर्शनदेखि एककिसिमले त्यो विमुख, अलक्कै हुन्छ । त्यो न्युट्रल मासजस्तो हुन्छ । सम्बोधन गर्ने भनेको त्यसलाई हो । जो मसँग यसै पनि सहमत छ, त्यसलाई मैले सम्बोधन गर्नुपर्दैन । सम्बोधन त्यसलाई गर्नुपर्छ, जो मसँग असहमत छ, जो प्रतिक्रियावादी होइन । प्रगतिशील लेखकको सम्बोधन आफ्नो वृत्तभन्दा बाहिरसम्म पुगे हाम्रा प्रयत्नहरू योभन्दा वेश हुन्थे कि !

साहित्य र सत्ताको सम्बन्धबारे प्रगतिशील लेखक संघसँग मेरो गम्भीर असहमतिहरू छन् । प्रगतिशील लेखक संघको नेतृत्व पोलिटब्यूरोले बनाउँदैन । प्रगतिशील लेखक संघको नेतृत्व विवेकवान्, जागरूक लेखकहरूले बनाउँछन् । तर हाम्रो नेतृत्व कसले बनाउँछ ? पोलिटब्यूरोले बनाउँछ । पोलिटब्यूरोले नेतृत्व बनाएपछि तपाईंले त्यो पोलिटब्यूरोमा आफ्नो विवेकलाई बन्धक राख्नुपर्ने हुन्छ । लेखक र लेखक संघ सत्ताबाट निश्चित दूरीमा बस्नुपर्छ भन्ने मलाई लाग्छ । तपाईंले पुस्तक लेखेर पार्टीको अध्यक्षबाट जब विमोचन गराउनुहुन्छ, त्योबेला धेरै क्यामेराहरू आउँछन् । तपाईंलाई के लाग्छ भने यी सारा क्यामेराहरू मेरो प्रतिभा हेर्न, मेरो अनुहार खिच्नलाई आएका हुन् । ती क्यामेरा किन आएका हुन् ? अध्यक्षका लागि । अध्यक्ष व्यक्तिका लागि पनि आएको होइनन्, त्यो पूर्व भिआइपी भएको हुनाले, भोलि देशको भिआइपी बन्ने सम्भावना पनि भएको हुनाले, सत्ताको निम्ति ती क्यामेरा आएका हुन्छन् । त्यसैले लेखनलाई, चिन्तनलाई सत्ताबाट टाढा राख्नुपर्छ ।

आजमात्रै शासकको हातबाट प्रगतिशील लेखक संघको महाधिवेशनको उद्घाटन भयो । तपाईंले श्रद्धापूर्वक निम्ता गरेर उद्घाटन गराइसकेपछि त्यो सत्ताको बारेमा बोल्ने तपाईंलाई कुनै पनि नैतिक अधिकार हुँदैन । तपाईंमा साहस हुँदैन, तपाईंको विवेकले काम गर्दैन । त्यसैले साहित्य जब सत्तासँग टाँसिन्छ, साहित्यकार जब सत्तासँग टाँसिन्छ । साहित्यिक संस्थालाई जब सत्ताको अधिनस्थ बनाइन्छ । त्यो संस्थाअन्तर्गत लेखक त थोरै हुन्छन्, लेखन्दासको ठूलै जंगल हुन्छ ।

आजमात्रै शासकको हातबाट प्रगतिशील लेखक संघको महाधिवेशनको उद्घाटन भयो । तपाईंले श्रद्धापूर्वक निम्ता गरेर उद्घाटन गराइसकेपछि त्यो सत्ताको बारेमा बोल्ने तपाईंलाई कुनै पनि नैतिक अधिकार हुँदैन । तपाईंमा साहस हुँदैन, तपाईंको विवेकले काम गर्दैन । त्यसैले साहित्य जब सत्तासँग टाँसिन्छ, साहित्यकार जब सत्तासँग टाँसिन्छ । साहित्यिक संस्थालाई जब सत्ताको अधिनस्थ बनाइन्छ । त्यो संस्थाअन्तर्गत लेखक त थोरै हुन्छन्, लेखन्दासको ठूलै जंगल हुन्छ । यो विचार गर्नुपर्ने कुरा हो ।

तपाईंहरू यति धेरै हुनुहुन्छ, सबै निष्ठावान् हुनुहुन्छ । प्रतिबद्ध हुनुहुन्छ । चिन्तनको माध्यमले, सिर्जनाको माध्यमले नेपाली समाजमा प्रकाश छरौं । निमुखाहरूको मुख खोलौं, यो समाजलाई यो भन्दा अलि जिउनलायकको बनाऔं । जीवनलाई सम्मानपूर्ण, प्रतिष्ठापूण बनाऔं । समाजमा भएका विभेदहरू निमूल गरौं । तपाईंका अभिप्रायहरू सबै असल छन् । तर सबै अभिप्रायहरूका परिणतिहरू असल हुँदैनन् । तपाईंका माध्यमहरू, पद्धतिहरू, सामग्रीहरू प्रासंगिक र उपयुक्त भएमा मात्र तपाईंका अभिप्रायहरू अनुदित हुँदोखेरि असल हुन्छन् ।

त्यसैले प्रगतिशील लेखक संघको यो सम्मेलनमा तपाईंहरू उपस्थित हुनुभएको छ । मैले यी सबै कुरा भनेको मेरो विचारमा तपाईंको सहमतिको अपेक्षा गर्न होइन । मेरो विचारहरूमा म तपाईंको सहमतिको अपेक्षा गर्दिनँ । तर मेरो विचारमा केही प्रासंगिकता छ भने यो महासम्मेलनले सोचिदिनेछ ।

तपाईंहरूले सम्मानपूर्वक, प्रेमपूर्वक निम्ता गर्नुभो, आजदेखि म पनि प्रगतिशील भएको छु । प्रगतिशील लेखक संघले औपचारिक रूपमा, विधिवत् रूपमा पत्र नै काटेर यत्रो मान्छेको बीचमा सम्मान गरिसकेपछि आजदेखि म पनि प्रगतिशील भएँ । मलाई प्रगतिशील बनाइदिनुभएकोमा प्रगतिशील लेखक संघका मित्रहरूलाई धन्यवाद दिन्छु, म सलाम गर्छु । जय नेपाल !

(प्रगतिशील लेखक संघको दशौं राष्ट्रिय सम्मेलनमा सम्मानित लेखक संग्रौलाले व्यक्त गरेको मन्तव्य । सम्मेलनको सन्दर्भमा संघले संग्रौलाका साथै विमल निभा, कविता पौडेल, राम विनय र झपेन्द्र वैद्यलाई सम्मान गरेको थियो ।)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल