कृषि वैज्ञानिक टीकाबहादुर कार्कीको सुझाव : यसरी सम्भव छ धेरै उत्पादन

-  |   टीकाबहादुर कार्की ,वरिष्ठ कृषि वैज्ञानिक

कृषि वैज्ञानिक टीकाबहादुर कार्कीको सुझाव : यसरी सम्भव छ धेरै उत्पादन

खेतबारीमा जति धेरै खनतजोत गरेर माटो धुल्यायो, त्यति राम्रो खेती हुन्छ भन्ने प्रचलन नेपालमा छ । कृषि प्राविधिक, अनुसन्धानकर्ताले सोहीअनुसार प्रशिक्षण दिन्छन् । त्यसैले किसानले सकेसम्म जमिन धुल्याएर माटो फुरफुर बनाउँछन् । तर, जमिन सकेसम्म खनजोत गरेर होइन कमसेकम खनजोत नगरी खेती गर्यो भने बढीभन्दा बढी उत्पादन हुने नयाँ अनुसन्धानले देखाएको छ । अहिले कृषि वैज्ञानिकले यो विषयलाई प्राथमिकतासाथ उठाउन थालेका छन् । कमसेकम खनजोत गरी गरिने खेती अर्थात् संरक्षण कृषिका अभियन्तामध्येका एक हुन्– वरिष्ठ कृषि वैज्ञानिक टीकाबहादुर कार्की । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा कार्यरत कार्की संरक्षण कृषि अभियन्ताका रूपमा नेपालमा अभियान चलाउनुपर्छ भन्छन् । कार्कीसँग रातोपाटीकर्मी भरत पाण्डेयले गरेको कुराकानी 

?

?

तपाईं संरक्षण कृषि अभियन्ता भनेर परिचय दिनुहुन्छ, के हो संरक्षण कृषि भनेको ?
विनाखनजोत वा कम खनजोत गरी बाली बिरुवाका नल, पराल, ढोड जमिनमै छाडेर गरिने खेती प्रविधिलाई संरक्षण कृषि भनिन्छ । जसमा बाली चक्रलाई विशेष महत्वसाथ अपनाइएको हुन्छ । अतः यो संरक्षण कृषि आर्थिक रूपले लाभदायक त हुने नै भयो वातावरणीय संरक्षणका हिसाबले पनि उत्तम पाइएको छ । झारपात प्रकोप पनि छापोका कारण विनाखनजोतको प्लटमा कम हुन्छ किनकि झारपातको बीउ उम्रन एकैछिनका लागि भए पनि सूर्यको प्रकाशको जरुरी पर्छ तर छापो राखेपछि सूर्यको प्रकाश नपर्ने भएकाले झारपातको बीउ बैंक नै नष्ट भइसकेको हुन्छ ।
संरक्षण कृषिका तीन मूलभूत सिद्धान्त छन् ।
१. जमिनलाई कमभन्दा कम खनजोत गर्ने ।
२. कमसेकम खनजोतको जमिनलाई छापो राख्ने वा नचलाउने ।
३. बाली लगाउँदा एउटै जमिनमा तीन सिजन एउटा बाली लगाएपछि चौथो बाली लगाउँदा कोसेबाली लगाउने, त्यसले वायुमण्डलबाट नाइट्रोजन सोसेर लिन्छ र आफैँ चाँडै कुहिने हुँदा नाइट्रोजन बढाउँछ ।

खनजोत नै नगरीकन पनि खेती हुन्छ र भन्ने नेपाली किसानको सोच छ । विश्वमा संरक्षण कृषिले सफलता कत्तिको पाएको ?
त्यही त हाम्रो सोचमा कमजोरी छ । हाम्रा अनुसन्धानकर्ता, कृषि प्राविधिक सबैले हामीलाई खनजोत नगरी हुँदैन भनेर सिकाएका छन् । तर, संरक्षण कृषि सन् १९९० को दशकबाट उत्तरी र दक्षिणी अमेरिकाबाट सुरु भएको हो । अहिले एसियामा पनि फैलिएको छ । जहाँ अत्यधिक भूक्षय छ, त्यसलाई रोक्न र माटोको उर्वरा शक्ति बढाउन, श्रमलाई घटाउन, कृषिमा लागत घटाउन, जलवायु परिवर्तनका नकारात्मक असर कम गर्न यस्तो प्रकृतिको खेती प्रभावकारी मानिन्छ ।
यसको ज्वलन्त उदाहरणका रूपमा विश्वभरि यसको क्षेत्रफल दिनानुदिन पैmलिँदै गइरहेको र हाल एफएओ (२०१४) का अनुसार एक अर्ब २९ करोड हेक्टर पुगेको छ । उत्तर र दक्षिण अमेरिकी मुलुक र अस्टे«लियामा यसकोे क्षेत्रफल तीव्र गतिमा बढ्दै गइरहेको पाइन्छ भने एसियाका चीन, कोरिया र अफ्रिकाका कैयन् विकासशील मुलुकमा यो लोकप्रिय बन्दै गइरहेको छ ।
त्यसमध्ये सबैभन्दा धेरै ब्राजिलमा छ । ब्राजिलमा करिब ९० प्रतिशत जमिनमा संरक्षण कृषि प्रणाली अपनाइएको छ । तपाईंलाई कत्तिको पत्यार लाग्छ उनीहरूले आलु खनजोत नगरीकनै लगाउँछन् । उनीहरूको अर्गानिक फर्ममा माटो हाम्रो जंगलको माटोजस्तै छ । खनजोतविना खेती गरिरहँदा र छापो लगाइँदा यस्तो भएको हो । यो परम्परागत कृषि प्रणालीको विकल्पका रूपमा प्रयोग भएको छ । इन्धन खपतका हिसाबले पनि खनजोत नगरिएकोमा खेतीमा ११ लिटर प्रतिहेक्टर र परम्परागत रूपमा खेती गरिएकोमा ३४ लिटर प्रतिहेक्टर इन्धन खर्च हुन्छ ।

नेपालमा खनजोत नगरीकनै गरिने कृषि किन आवश्यक छ ? यसबाट के फाइदा हुन्छ ?
नेपालमा अधिकांश कृषियोग्य जमिन भिरालोमा छ । ३० प्रतिशतभन्दा बढी भिरालो परेको ठाउँमा छ । त्यसको नकारात्मक असर भनेको भूस्खलन, भूक्षय हो । हामीलाई थाहा छ– एक सेन्टिमिटर बन्नका लागि कम्तीमा चार सय वर्ष लाग्छ । तर, हाम्रो परम्परागत कृषि प्रणालीका कारण र एकदम खनजोत गर्ने कारणले गर्दा माटो फुर्फुराउँदो हुन्छ । त्यस्तो माटोको भूस्खलन चाँडो हुन्छ । हाम्रो माटोको उर्वराशक्ति पनि एकदम कम भएको छ । अर्को कुरा, माटोबाट लिनेमात्र काम भएको छ । जसलाई न्युट्रेन माइनिङ भन्छ । तर, माटोमा दिने कुरा हामीले थपिरहेका छैनौँ । त्यसैले सबै कुराको सम्बोधन गर्न संरक्षण कृषि जरुरी छ । संरक्षण कृषि दुई कारणले आवश्यक छ ।
(१) कम हिलो धुलो हन्छ
नेपालमा नितान्त जरुरी छ । किनकि कृषितर्फ युवा आकर्षित छैनन् । यो अवस्थामा युवालाई कम हिलो, धूलोमा खेल्नेगरी कृषितर्फ आकर्षित गर्न जरुरी छ । कम खनजोत गर्ने भनेको कम हिलो धुलोमा खेल्ने भनेको हो । त्यसले गर्दा युवालाई पनि आकर्षित गर्न सकिन्छ ।
(२) जलवायु अनुकूल छ
जलवायु परिवर्तनको हिसाबले हामी एकदमै प्रभावित क्षेत्रमा पर्छौं । जलवायु परिवर्तनलाई यसले कसरी सम्बोधन गर्छ भन्दा धेरै बोटबिरुवा पातपतिङ्गर जब जमिनको सतहमा छाडिन्छ, त्यसले कार्बनडाइअस्साइड बढेर वायु्मण्डलमा जाँदैन । हामीले पातपतिङ्गर जमिनको सतहमा राख्याँै भने तलबाट कार्बनडाइअक्साइड उडेर जान पाउने भएन र त्यो कुहिएर जमिनमै रहने भएकाले त्यसले कार्बन उत्सर्जनलाई उल्लेख्य रूपमा घटाउँछ । त्यसैले यसलाई जलवायु परिवर्तन अनुकुलन कृषि प्रणाली भनिन्छ ।Karki-1

त्यसोभए नेपालमा अहिलेसम्म संरक्षण कृषिको प्रयोग कुन अवस्थामा छ ? अब प्रयोग बढाउन के गर्नुपर्ला ?
अहिले हामी अनुसन्धान चरणमा छौँ । लगभग प्रारम्भिक चरणमा छौँ । त्यसैले राज्यले यसलाई नीतिगत रूपमा सम्बोधन गर्ने चरणमा छौँ । संरक्षण कृषिको एउटा अंग मानिने विनाखनजोतसम्बन्धी अनुसन्धान नेपाल कृषि अनुसन्धान परिषद्, नार्कमा केही वर्ष पहिलेदेखि गहुँ बालीमा गरिँदै आएको भए पनि यसले खासै गति लिइरहेको पाइँदैन । र, यसका समग्र पक्षको प्रयोग गरेर भने सन् २०१० बाट राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम, रामपुर, चितवनमा धान तथा गह“ु बाली प्रणालीमा धानबालीपछि हिउँदे बालीका रूपमा मकै लगाएर गरिएको थियो । परीक्षण आजसम्म चलिरहेको छ ।
त्यसैगरी, मकैबालीमा आधारित बाली प्रणालीमा पनि संरक्षण कृषिको परीक्षण रामपुर, चितवनमा सन् २०१२ बाट सुरु भइसकेको छ । जसमा मकै–मकै बाली प्रणालीको सट्टा वर्षामा मकैसँग भटमास मिश्रित बाली लगाएर हिउँदमा गह“ु लगाइएको छ । यसरी नै मकै–मकै बाली प्रणालीमा एक बाली मकै र अर्को कोसेबाली (बोडी) को परीक्षण पनि भइरहेको छ । सन् २०१२ देखि मध्यपहाडको पाल्पा तथा गुल्मीमा मकै–तोरी बाली प्रणालीमा एकपटक परीक्षण गरिएको छ । मैले आफैँ गरेको एक अध्ययनमा रामपुरमै छापो नराखेकोमा भन्दा राखेकोमा पहिलो वर्ष नै मकैको उत्पादन बढी पाइएको छ । यसो हुनुमा छापोले झारपातलाई उम्रन र बढ्न नदिने र माटोमा चिस्यान संरक्षण गरेकाले हो ।

यसको प्रयोग बढाउन राज्यले गर्नुपर्ने केही छ कि ?
अब राज्यले त्यस्ता कृषि औजारमा अनुदान दिनुपर्यो, जुन औजार कमसेकम खनजोत होस् । जसले बीउ खसाल्ने ठाउँमा मात्र खन्छ, अन्यत्र माटो चलाउँदैन । अर्को हाम्रो कृषक, प्राविधिक, कृषि अनुसन्धानकर्ता सबैको सोच के छ भने जमिनलाई नचलाईकन, खनजोत नगरीकन, माटो फुर्फुराउँदो नबनाईकन बालीको उत्पादन हुँदैन भन्ने छ । यो अत्यन्त परम्परागत सोचाइमा परिवर्तन गर्न जरुरी छ । अनुसन्धानकर्तामा, नीति निर्माण तहमा रहेका मान्छे र किसानको चेतनास्तरमा परिवर्तन गर्न जरुरी छ । त्यसकारण हाम्रो ज्ञान कमी छ । त्यसैले अनुसन्धानर्ता, कृषि प्राविधि बसेर किसानको सहभागितामा यसको परीक्षण गरेर प्रमाणीकरण गर्न जरुरी छ ।
सबैभन्दा ठूलो कुरा हाम्रो माइन्डसेट छ, त्यसमा परिवर्तन जरुरी छ । विश्वविद्यालयमा संरक्षण कृषिको पाठ्यक्रम चालु भयो, त्यसैमा मास्टर्स, पीएचडी पढाइ सुरु भयो । त्यसैले हाम्रो कृषिमा प्रचार–प्रसार कमजोरी छ । जति पनि कृषि प्रसारमा सहभागी प्राविधिक हुनुुहुन्छ उहाँहरूको माइन्डसेट पनि खनजोत नगरीकन हुँदैन भन्ने छ । त्यसलाई परिवर्तन गरी अवस्था हेरेर परिवर्तन गर्नुपर्यो । जस्तो अत्यधिक खनजोत वा चारपटक खनजोत गर्ने ठाउँमा तीनचोटि गर्नुपर्यो । तीनचोटि गर्ने ठाउँमा दुईचोटि गर्नुपर्यो । किनकि सुरुमै खनजोतविना गर्नुपर्यो भन्दा त्यो सम्भव नहुन सक्छ । त्यसैले नेपालमा त्यहाँको परिस्थिति हेरेर त्यसलाई घटाउनुपर्छ । त्यसले गर्दा यसको विस्तारमा सहयोग पुग्छ । अन्तर्राष्ट्रिय रूपमा हेर्दा अन्तर्राष्ट्रिय गहुँ तथा मकै अनुसन्धान केन्द्र सीमित छ । यसको प्रधान कार्यालय मेक्सिकोमा छ । त्यसले अत्यधिक रूपमा यसमा काम गरिरेहेको छ । तिनीहरूको प्राविधिक सहयोग र हाम्रो प्राविधिक क्षमता प्रयोग गरेर यसलाई विस्तार गर्नुपर्नेछ– नेपालको परिवेशमा ।

उसोभए कृषकले संरक्षण कृषिको प्रयोग कसरी बढाउने त ?
त्यसका लागि सर्वप्रथमतः सदीयौँदेखि चल्दै आएको खनजोत विधिमा आधारित कृषि प्रणालीले हाम्रो मस्तिष्कमा गहिरो छाप बसालिसकेकाले र कृषि शिक्षा पनि त्यसैमा आधारित भएकाले यसका नराम्रा पक्ष उजागर गर्न र यसको वैकल्पिक कृषि प्रणालीका रूपमा संरक्षण कृषिलाई स्थापित गराउनुपर्नेमा कठिन भइरहेको छ । यसका लागि कृषि शिक्षा प्रदान गर्ने सबैखाले शैक्षिक संस्थाले कृषि र वन विश्वविद्यालय, रामपुर क्याम्पसले झैं अनिवार्य रूपमा सबै तहका पाठ्यक्रममा संरक्षण कृषि व्यवस्था गर्नुपर्छ । अनुसन्धान र प्रसारमा खटिने जेटी÷जेटीएलाई र अधिकृतस्तरका प्राविधिकलाई सेवाको आरम्भमै संरक्षण कृषिसम्बन्धी व्यावहारिक तालिम व्यवस्था गर्न«ुपर्छ । कृषि विभागको कृषि तालिम केन्द्र, कृषि सेवा केन्द्र र नार्कको बाह्य अनुसन्धान स्थलमा संरक्षण कृषि र परम्परागत कृषिसम्बन्धी तुलनात्मक अध्ययनका लागि एक प्रदर्शन प्लटको व्यवस्था गरिनुपर्छ । यही नै कृषक र प्राविधिकका लागि ज्ञान र सीपको आदान प्रदान गर्ने साझा कार्यशाला हुन सक्छ ।

Karki-3 यसमा छापो हाल्नुपर्ने कुरा प्रमुख भयो, पात पतिङ्गर प्रशस्तै भएन भने के गर्ने ?
यसमा दुई कुरा हुन्छन् । एउटा हामीसँग प्रशस्त प्रांगारिक पदार्थ राख्न सकिएन भने समस्या झारपात नियन्त्रण हो । झारपात नियन्त्रणका लागि झारनाशक विषादीको प्रयोग हो । दीर्घकालीन रूपमा सफल बनाउन प्रांगारिक पदार्थ बढाउने हो । अहिले त्यस्तो छैन भने वनमारालाई प्रयोग गर्न सकिन्छ । वनमारा नभएको त कुनै जंगल छैन होला । हामीले वनमारालाई कलिलैमा काटेर छापो हालियो भने त्यसले काम गर्छ । तराईतिर त मकैको ढोड, नलको पराल प्रयोग गर्न सकिन्छ । पहाडतिर त्यो बस्तुलाई खुवाउनुपर्छ । पहाडमा नल पराल गाईबस्तुलाई खुवाउनुपर्ने भएकोले जंगली झारलाई विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ ।

कुरा गर्दा त सहज छ, तर खनजोत नै नगरी कसरी खेती सम्भव छ ?
विनाखनजोत खेती गर्दा हामीले तराईमा ट्याक्टरद्वारा प्रयोग गर्छौं तर पहाडमा हातेप्लान्टर ज्याप प्लान्टर प्रयोग गर्नुपर्छ । प्लान्टरमा हामीले केको बीउ राख्ने हो, त्यो राख्ने र जहाँ खसाल्ने गर्नुपर्छ । त्यसरी बीउ रोप्न औँशी, पूर्णिमा हेर्नु परेन । गाउँमा गोरु छैनन् वा जोत्नलाई पुरुष युवा छैनन भन्नु परेन । महिलाले पनि रोप्न सक्ने भए ।
उदाहरणका लागि हामीले मकै रोप्दा अत्यन्तै कडा माटो भएको बेलामा तयारी गर्छौं । त्यहाँ तीन÷चारचोटि खनजोत गर्छौं । तर, त्यहाँ माटोमा सानो–सानो गिर्खा हुन्छ, त्यसलाई एग्रिगेट भनिन्छ । त्यो गिर्खामा खाद्यतत्व हुन्छ । पानी त्यहीँ जम्मा हुन्छ । सूक्ष्म जीवाणु त्यहीँ हुन्छ । माटो एकदमै जीवित पदार्थ हो । एक चिम्टी माटोमा करोडौँ सूक्ष्म जीव हुन्छन् । तर, हामीले खनजोत गर्ने बेलामा ती गिर्खालाई टुक्राटुक्रा पारेर फुर्फुराउँदो बनाउँछौँ । त्यसो हुँदा ति गिर्खामा भएको सबै पदार्थ हराउँछ । यदि हामीले कमसेकम खनजोत ग¥यौँ भने त त्यो एग्रिगेट डिस्टर्ब हुन पाएन । त्यसैले गर्दा त्यहाँ चिस्यान, खाद्य पदार्थ र सूक्ष्म जीवाणुको सञ्चिती हुने भयो । त्यसैले उर्वरा शक्ति कम भएको सुक्खा माटो भएको अफ्रिकाजस्तो देशमा यो प्रभावकारी भएको छ । उदाहरणका लागि यो प्रविधिमा हामीले जुनबेला पानी पर्छ, त्यो बेला मकैको बीउ रोपिन्छ । त्यसपछि छापो राख्ने वा छापो राख्न पातपतिङ्गर छैन भने त्यहाँ झारपातनाशक विषादी प्रयोग गर्ने । अनि झार पनि उम्रँदैन । पहिलो त हाम्रो चेतनाको स्तर परिवर्तन गर्नुपर्छ । त्यो भनेको ज्ञान नै हो । अनि नीतिगत रूपमा यसलाई राख्नुपर्छ । अनि कृषकलाई त्यसैप्रकारका कृषि औजारमा अनुदान दिने । अनि सुरुवातको वर्षमा चाहिनेजति गोबर मल प्रयोग गरेर पुर्ने ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल